सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सारा हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌

सारा हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌

सारा हृदयले यहोवाको सेवा गरिरहनुहोस्‌

‘हे मेरो छोरो, तिम्रा पिताका परमेश्‍वरलाई आफ्नै ईश्‍वर मान र सारा हृदयले उहाँको सेवा गर।’—१ इति. २८:९.

यी प्रश्‍नहरूको जवाफ खोज्नुहोस्‌:

लाक्षणिक हृदय भनेको के हो?

आफ्नो हृदय जाँच्न हामी कुन तरिका अपनाउन सक्छौं?

हामी कसरी सारा हृदयले यहोवाको सेवा गरिरहन सक्छौं?

१, २. (क) बाइबलले कुन अङ्‌गलाई अरू अङ्‌गलाई भन्दा धेरै पटक लाक्षणिक तवरमा प्रयोग गरेको छ? (ख) हामीले लाक्षणिक हृदयको अर्थ बुझ्नु किन महत्त्वपूर्ण छ?

 मानव शरीरका विभिन्‍न अङ्‌गलाई बाइबलले प्रायजसो लाक्षणिक तवरमा प्रयोग गरेको छ। उदाहरणका लागि, कुलपिता अय्यूबले यसो भने: “मेरो हात उपद्रवमा लागेको छैन।” बाइबलमा यहोवाले घृणा गर्नुहुने कुराहरूको सूची दिइएको छ, जसमा “दुष्ट काम गर्न अग्रसर हुने खुट्टा” पनि पर्छ। साथै यहोवाले इजकिएललाई यसो भन्‍नुभयो: “तेरो निधार दर्शन ढुङ्‌गाभन्दा कडा . . . पारिदिएको छु।” अनि प्रेषित पावलले तिमोथीलाई यस्तो लेखेका थिए: “तिनीहरूले सत्य सुन्‍न नपरोस्‌ भनेर कान थुन्‍नेछन्‌।”—अय्यू. १६:१७; हितो. ६:१६-१९; इज. ३:९; २ तिमो. ४:४.

तर मानव शरीरको एउटा अङ्‌गलाई भने बाइबलले अरू अङ्‌गलाई भन्दा धेरै पटक लाक्षणिक तवरमा प्रयोग गरेको छ। त्यो अङ्‌गबारे विश्‍वासी हन्‍नाले प्रार्थनामा यसरी उल्लेख गरिन्‌: “मेरो हृदयले परमप्रभुमा आनन्द गर्दछ।” (१ शमू. २:१) वास्तवमा बाइबल लेखकहरूले हृदय अर्थ लाग्ने शब्द लगभग हजार चोटि प्रयोग गरेका छन्‌, प्रायजसो लाक्षणिक अर्थमा। हृदयले केलाई बुझाउँछ भनेर बुझ्नु एकदमै महत्त्वपूर्ण छ किनभने बाइबलमा हामीलाई हृदय सुरक्षित राख्न भनिएको छ।—हितोपदेश ४:२३ पढ्‌नुहोस्‌।

लाक्षणिक हृदय भनेको के हो?

३. हामी बाइबलमा प्रयोग गरिएको “हृदय” शब्दको अर्थ कसरी बुझ्न सक्छौं? उदाहरण दिनुहोस्‌।

हुनत परमेश्‍वरको वचनमा “हृदयको” परिभाषा दिइएको छैन तैपनि हामी यसको अर्थ बुझ्न सक्छौं। कसरी? पत्थरका हजारौं स-साना टुक्रा जोडेर भित्तामा बनाइएको तस्विरलाई विचार गर्नुहोस्‌। भित्तामा बनाइएको त्यो आकृति हेर्न एक/दुई कदम पछाडि सरेमा होसियारीसाथ राखिएका ती पत्थरका टुक्राहरू मिलेर कसरी पूरा तस्विर बनेको छ भनेर देख्न सकिन्छ। त्यसैगरि बाइबलमा प्रयोग गरिएको “हृदय” शब्दको अर्थ बुझ्ने हो भने विभिन्‍न पदमा यसलाई कसरी प्रयोग गरिएको छ, सो बुझ्नुपर्छ। त्यसोभए लाक्षणिक हृदयले केलाई बुझाउँछ?

४. (क) “हृदय” शब्दले कुन कुरालाई बुझाउँछ? (ख) मत्ती २२:३७ मा उल्लिखित येशूको भनाइको अर्थ के हो?

बाइबल लेखकहरूले मानिसको भित्री व्यक्‍तित्व बुझाउन “हृदय” शब्द प्रयोग गरेका छन्‌। यसमा हाम्रो चाहना, विचार, आनीबानी, मनोवृत्ति, क्षमता, उत्प्रेरणा, लक्ष्य आदि मुछिएको छ। (भजन ९५:८; हितोपदेश १६:९, NRV; प्रेषित २:२६ पढ्‌नुहोस्‌) एउटा सन्दर्भ सामग्रीअनुसार लाक्षणिक हृदयले “मानिस वास्तवमा भित्र कस्तो छ भन्‍ने कुरा देखाउँछ।” तर कुनै-कुनै अवस्थामा भने “हृदय”-ले माथि उल्लिखित सबै पक्षलाई समेट्‌दैन। उदाहरणको लागि, येशूले यसो भन्‍नुभयो: “तिमीले यहोवा तिम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।” (मत्ती २२:३७) यो प्रसङ्‌गमा “मन” अर्थात्‌ हृदयले मानिसको भित्री चाहना, भावना अनि चेतनालाई बुझाउँछ। येशूले मन, ज्यान अनि दिमाग भन्‍ने शब्दलाई छुट्टाछुट्टै प्रयोग गरेर हामीले आफ्नो भावनाका साथै आफ्नो जीवन बिताउने र दिमाग प्रयोग गर्ने तरिकामा पनि परमेश्‍वरलाई प्रेम गर्नुपर्ने कुरालाई जोड दिनुभयो। (यूह. १७:३; एफि. ६:६) तर “हृदय” भन्‍ने शब्द मात्र उल्लेख गरिएको छ भने यसले मानिसको भित्री व्यक्‍तित्वलाई बुझाउँछ।

हामीले हृदयलाई किन सुरक्षित राख्नुपर्छ?

५. सारा हृदयले यहोवाको सेवा गर्न हामी यथासक्दो गर्न चाहन्छौं, किन?

राजा दाऊदले सुलेमानलाई यसरी सम्झाए: “तिम्रा पिताका परमेश्‍वरलाई आफ्नै ईश्‍वर मान, र सारा हृदय र इच्छुक मनले उहाँको सेवा गर। किनभने परमप्रभुले सबै हृदय जाँच्नुहुन्छ र मानिसको हरेक विचारलाई थाहा पाउनुहुन्छ।” (१ इति. २८:९) साँच्चै नै यहोवाले सबै हृदय जाँच्नुहुन्छ, अनि यसमा हाम्रो हृदय पनि समावेश छ। (हितो. १७:३; २१:२) उहाँले हाम्रो हृदयमा जे पाउनुहुन्छ, त्यसले उहाँसितको हाम्रो सम्बन्धलाई अनि हाम्रो भविष्यलाई असर गर्छ। त्यसकारण सारा हृदयले यहोवाको सेवा गर्न यथासक्दो गरेर हामीले दाऊदको प्रेरित सल्लाह पालन गर्नुपर्छ।

६. यहोवाको सेवा गर्ने आफ्नो सङ्‌कल्पबारे हामीले कुन कुरा पक्का गर्नुपर्छ?

यहोवाको जनको रूपमा हामीले गरेको जोसिलो कार्यले हामीमा सारा हृदयले परमेश्‍वरको सेवा गर्ने गहिरो इच्छा छ भनी देखाउँछ। साथै सैतानको दुष्ट संसारबाट आउने दबाबले गर्दा अनि आफ्नै पापी झुकावले गर्दा पूर्ण हृदयले यहोवाको सेवा गर्ने हाम्रो सङ्‌कल्पलाई कमजोर बनाउन सक्छ भनेर पनि हामीले अनुभव गरेका छौं। (यर्मि. १७:९; एफि. २:२) त्यसैले परमेश्‍वरको सेवा गर्ने हाम्रो सङ्‌कल्प कमजोर भएको छ कि छैन भनी पक्का गर्न हामीले नियमित रूपमा आफ्नो हृदय जाँच्नै पर्छ। हामी कसरी यसो गर्न सक्छौं?

७. हृदयको अवस्था कस्तो छ भनी केले प्रकट गर्छ?

रूखको भित्री भाग देख्न नसकेझैं हाम्रो भित्री व्यक्‍तित्व पनि देख्न सकिंदैन। तर येशूले डाँडाको उपदेशमा बताएझैं जसरी फलले रूखको अवस्था प्रकट गर्छ, त्यसरी नै हाम्रो कामले हाम्रो हृदयको वास्तविक अवस्था प्रकट गर्छ। (मत्ती ७:१७-२०) अब हामी त्यस्तै एउटा कामबारे चर्चा गरौं।

हृदय जाँच्ने एउटा तरिका

८. येशूले मत्ती ६:३३ मा बताएअनुसार हाम्रो हृदयमा के छ भनी हामी कसरी देखाउँछौं?

पूर्ण हृदयले यहोवाको सेवा गर्ने भित्री चाहना मानिसको कस्ता कामहरूबाट देखिन्छ भनेर येशूले सोही डाँडाको उपदेशमा आफ्ना श्रोताहरूलाई बताइसक्नुभएको थियो। उहाँले भन्‍नुभयो: “यसकारण उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।” (मत्ती ६:३३) वास्तवमा हामी जीवनमा जुन कुरालाई प्राथमिकता दिन्छौं, त्यसले हाम्रो भित्री चाहना, विचार अनि योजना प्रकट गर्छ। त्यसैले सारा हृदयले यहोवाको सेवा गरिरहेका छौं कि छैनौं भनेर जाँच्ने एउटा तरिका आफ्ना प्राथमिकताहरूलाई जाँच्नु हो।

९. येशूले केही मानिसलाई कस्तो निमन्त्रणा दिनुभयो र तिनीहरूको प्रतिक्रियाले कुन कुरा देखायो?

येशूले आफ्ना अनुयायीहरूलाई “राज्यलाई . . . पहिलो स्थान दिइरहो” भन्‍नुभएको केही समय नबित्दै, मानिसको हृदयको अवस्था उसले जीवनमा केलाई प्राथमिकता दिन्छ भन्‍ने कुराबाट कसरी प्रकट हुन्छ भनी देखाउने एउटा घटना घट्‌छ। यरूशलेममा आफूले सामना गर्नुपर्ने अवस्थाबारे राम्ररी थाह भए तापनि “[येशूले] यरूशलेम जाने अठोट गर्नुभयो” भनी सुसमाचारका लेखक लूकाले बताए। येशू र उहाँका प्रेषितहरू “बाटोमा जाँदै गर्दा” उहाँले केही मानिसलाई भेट्‌नुभयो र यस्तो निमन्त्रणा दिनुभयो: “मेरो पछि लाग।” ती मानिसहरू येशूको निमन्त्रणा स्वीकार्न चाहन्थे। तर तिनीहरूले सर्तहरू राखे। तिनीहरूमध्ये एक जनाले यसो भन्यो: “पहिला मलाई गएर मेरो बुबालाई गाड्‌न दिनुहोस्‌।” अर्कोले चाहिं यसो भन्यो: “हे प्रभु, म तपाईंको पछि लाग्नेछु तर पहिला मेरो घरपरिवारसित बिदा माग्न दिनुहोस्‌।” (लूका ९:५१, ५७-६१) येशूको दृढ अठोट अनि ती मानिसहरूको कमजोर सर्तहरूबीच कत्ति ठूलो भिन्‍नता! राज्य गतिविधिलाई भन्दा आफ्नै चिन्तालाई प्राथमिकता दिएर तिनीहरूले सारा हृदयले परमेश्‍वरको सेवा नगरेको देखाए।

१०. (क) हामीले येशूको निमन्त्रणाप्रति कस्तो प्रतिक्रिया देखाएका छौं? (ख) येशूले कस्तो दृष्टान्त बताउनुभयो?

१० हामीले ती मानिसहरूको भन्दा फरक प्रतिक्रिया देखाएका छौं। येशूको चेला बन्‍ने निमन्त्रणालाई हामीले खुसीसाथ स्वीकारेका छौं र अहिले दिनहुँ यहोवाको सेवा गरिरहेका छौं। यसरी हामी आफ्नो हृदयमा यहोवाप्रतिको भावना कस्तो छ भनेर देखाउँछौं। तर मण्डलीमा सक्रिय भए तापनि हाम्रो हृदय खतरनाक अवस्थामा पर्न सक्ने कुरामा हामी सजग हुनुपर्छ। त्यो खतरा के हो? येशूले आफ्नो चेला बन्‍न निमन्त्रणा दिएका ती मानिसहरूसित कुरा गर्दा उक्‍त खतराबारे यसरी बताउनुभयो: “आफ्नो हात हलोमा राखेर पछाडि फर्केर हेर्ने कोही पनि परमेश्‍वरको राज्यको लायक हुँदैन।” (लूका ९:६२) यो दृष्टान्तबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

के हामी ‘जे कुरा असल छ, त्यससित टाँसिरहन्छौं’?

११. येशूले दृष्टान्तमा बताउनुभएको खेतालाको काम के हुन्छ र किन?

११ येशूको यस दृष्टान्तबाट सिक्न सकिने पाठलाई अझ राम्ररी बुझ्न यसमा केही विवरण जोडौं। एक जना खेताला खेत जोत्न निकै व्यस्त छ। तर यतिबेला ऊ आफ्नो परिवार, साथीभाइ, खानपिन, सङ्‌गीत, उनीहरूसँगको रमाइलो क्षण अनि घरभित्रको शीतल छहारीबारे नसोची बस्नै सक्दैन। यी कुराहरू पाउन ऊ एकदमै इच्छुक छ। उसले आफ्नो इच्छालाई दबाउनै सक्दैन। त्यसैले केही बेर खेत जोतेपछि उसले “पछाडि फर्केर” हेर्छ। खेत रोप्नुअघि गर्नुपर्ने काम थुप्रै भए तापनि यो खेतालाको ध्यान अन्तैतिर जान्छ र उसको काममा बाधा पुग्छ। आफ्नो कामदार धीरजी नभएकोमा यो खेतालाको मालिक पक्कै पनि रुष्ट हुन्छ।

१२. येशूले बताउनुभएको दृष्टान्तको खेताला र अहिलेका केही ख्रीष्टियनबीच कुन कुरा समान छ?

१२ आज पनि यस्तै अवस्था कसरी सृजना हुन सक्छ, विचार गरौं। उक्‍त खेतालाले बाहिरबाट हेर्दा सक्रिय देखिने तर भित्र-भित्रै आध्यात्मिक खतरामा परेका ख्रीष्टियनहरूलाई सङ्‌केत गर्छ। उदाहरणको लागि, एक जना यस्तो भाइलाई कल्पना गरौं जो सेवाको काममा एकदमै व्यस्त छन्‌। सभा अनि प्रचारमा नियमित भए तापनि उनी संसारमा भएका आफूलाई मन पर्ने कुराबारे नसोची बस्नै सक्दैनन्‌। भित्र-भित्रै ती कुराहरू पाउन उनी एकदमै लालायित छन्‌। सेवाको काममा केही वर्ष बिताइसकेपछि उनी आफ्नो चाहनालाई थाम्नै सक्दैनन्‌। उनको चाहना यति प्रबल हुन्छ, उनी “पछाडि फर्केर” हेर्छन्‌। सेवाको काममा अझ थुप्रै कुरा गर्न बाँकी भए तापनि उनले ‘जीवनको वचनलाई बलियोसित पक्रिराख्दैनन्‌’ जसले गर्दा उनी पहिलेजस्तो राम्ररी यहोवाको सेवा गर्न सक्दैनन्‌। (फिलि. २:१६) यसरी अधीर हुँदा “फसलका मालिक” यहोवालाई दुःख लाग्छ।—लूका १०:२.

१३. सारा हृदयले यहोवाको सेवा गर्नुमा कुन कुरा मुछिएको छ?

१३ यसबाट हामीले सिक्न सक्ने पाठ स्पष्टै छ। सभा धाउने अनि प्रचारमा भाग लिने जस्ता स्वस्थकर अनि सन्तोषजनक गतिविधिहरूमा नियमित रूपमा भाग लिन्छौं भने यो प्रशंसनीय कुरा हो। तर सारा हृदयले यहोवाको सेवा गर्न यति मात्र गरेर पुग्दैन। (२ इति. २५:१, २, २७) यदि कुनै ख्रीष्टियनले भित्र-भित्रै “पछाडि”-का कुराहरूलाई अर्थात्‌ यस संसारको जीवनशैलीको कुनै-कुनै पक्षलाई माया गरिरहन्छन्‌ भने तिनले परमेश्‍वरसितको सम्बन्धलाई खतरामा पार्छन्‌। (लूका १७:३२) ‘जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर्छौं र जे कुरा असल छ, त्यससित टाँसिरहन्छौं’ भने मात्र “परमेश्‍वरको राज्यको लायक” हुनेछौं। (रोमी १२:९; लूका ९:६२) त्यसकारण सैतानको संसारमा एकदमै उपयोगी वा आनन्ददायी देखिने कुराहरू नै किन नहोस्‌, कतै त्यसले हामीलाई राज्य गतिविधिमा पूर्ण हृदयले लाग्नदेखि बाधा पुऱ्‍याइरहेको छ कि भनेर पक्का गर्नुपर्छ।—२ कोरि. ११:१४; फिलिप्पी ३:१३, १४ पढ्‌नुहोस्‌।

सचेत रहनुहोस्‌!

१४, १५. (क) सैतानले हाम्रो हृदयको अवस्थालाई कसरी प्रभाव पार्न खोजिरहेको छ? (ख) सैतानको तरिका किन खतरनाक छ, उदाहरण दिनुहोस्‌।

१४ यहोवाप्रतिको प्रेमले हामीलाई उहाँमा समर्पित हुन उत्प्रेरित गऱ्‍यो। त्यसदेखि यता हामीमध्ये धेरै जनाले पूर्ण हृदयले उहाँको सेवा गर्ने आफ्नो सङ्‌कल्पलाई प्रमाणित गरेर देखाएका छौं। तर सैतानले हार मानेको छैन। त्यसले अझै पनि हाम्रो हृदयलाई निसाना बनाइरहेको छ। (एफि. ६:१२) हामी रातारात यहोवाको सेवा गर्न छोड्‌दैनौं भन्‍ने कुरा सैतानलाई राम्ररी थाह छ। त्यसकारण यहोवाको सेवा गर्ने हाम्रो जोसलाई बिस्तारै कमजोर बनाउन त्यसले धूर्तता साथ “यस संसारको” कुराहरू चलाउँछ। (मर्कूस ४:१८, १९ पढ्‌नुहोस्‌) सैतानले चलाउने यो तरिका किन प्रभावकारी छ?

१५ जवाफको लागि एउटा उदाहरण विचार गर्नुहोस्‌। मानौं तपाईं १०० वाटको चिम बालेर किताब पढ्‌दै हुनुहुन्छ। तर अचानक चिम जल्छ। चारैतिर अन्धकार छाएकोले तपाईंले तुरुन्तै चाल पाउनुहुन्छ र तुरुन्तै चिम फेर्नुहुन्छ। त्यसपछि कोठा फेरि झलमल्ल हुन्छ। अर्को साँझ पनि तपाईं त्यही बत्तीको सहायताले किताब पढ्‌दै हुनुहुन्छ। तर तपाईंले थाहै नपाउनेगरि कसैले १०० वाटको चिमको ठाउँमा ९५ वाटको चिम राखिदिएछ। के तपाईंले यो कुरा चाल पाउनुहुन्छ? सायद पाउनुहुन्‍न। अर्को दिन पनि कसैले ९५ वाटको साटो ९० वाटको चिम राखिदियो भने नि? के तपाईं चाल पाउनुहुन्छ? सायद अझै पनि पाउनुहुन्‍न। किन? किनकि बत्तीको उज्यालो तपाईंले चालै नपाउनेगरि बिस्तारै घट्‌दै गएको छ। त्यसैगरि सैतानको संसारमा व्याप्त प्रभावले हाम्रो जोसलाई बिस्तारै-बिस्तारै घटाउँदै लैजान सक्छ। यसो भएमा यहोवाको सेवा गर्ने हाम्रो १०० वाटको जोसलाई कम गर्न सैतान सफल हुन्छ। सचेत नभएमा कुनै ख्रीष्टियनले आफूमा बिस्तारै भइरहेको परिवर्तनबारे पत्तोसमेत नपाउन सक्छ।—मत्ती २४:४२; १ पत्रु. ५:८.

प्रार्थना गर्नु महत्त्वपूर्ण छ

१६. सैतानका दाउपेचहरूबाट हामी आफूलाई कसरी सुरक्षित राख्न सक्छौं?

१६ सैतानका यस्ता दाउपेचहरूबाट आफूलाई सुरक्षित राखेर हामी कसरी सारा हृदयले यहोवाको सेवा गरिरहन सक्छौं? (२ कोरि. २:११) यसको लागि प्रार्थना गर्नु महत्त्वपूर्ण छ। पावलले सँगी विश्‍वासीहरूलाई “दियाबलका दाउपेचहरूविरुद्ध दृढ भई खडा हुन” प्रोत्साहन दिए। त्यसपछि तिनले उनीहरूलाई यस्तो आग्रह गरे: “हरकिसिमका प्रार्थना अनि उत्कट बिन्ती चढाएर . . . हरबखत प्रार्थना गरिरहो।”—एफि. ६:११, १८; १ पत्रु. ४:७.

१७. येशूको प्रार्थनाले हामीलाई के पाठ सिकाउँछ?

१७ सैतानका दाउपेचहरूविरुद्ध दृढ भई खडा हुन हामीले प्रार्थना गर्ने सन्दर्भमा येशूको मनोवृत्ति अनुकरण गर्नु बुद्धिमानी हुन्छ। यस्तो मनोवृत्तिले सारा हृदयले यहोवाको सेवा गर्ने उहाँको तीव्र इच्छा प्रकट गऱ्‍यो। उदाहरणका लागि, येशूको मृत्युको अघिल्लो रात उहाँले गर्नुभएको प्रार्थनाबारे लूकाले के लेखे, याद गर्नुहोस्‌: “उहाँ असह्‍य वेदनामा पर्नुभयो र झन्‌ व्यग्रता साथ प्रार्थना गरिरहनुभयो।” (लूका २२:४४) येशूले यसभन्दा अघि पनि व्यग्रता साथ प्रार्थना गर्नुभएको थियो तर अहिले भने पार्थिव जीवनमा कहिल्यै नभोगेको कठोर परीक्षा भोग्नुपर्ने भएकोले उहाँले “झन्‌ व्यग्रता साथ” प्रार्थना गर्नुभयो। अनि उहाँको प्रार्थनाको सुनुवाइ पनि भयो। येशूको उदाहरणले देखाएअनुसार कुनै-कुनै प्रार्थना अन्य प्रार्थनाभन्दा व्यग्र हुन्छ। त्यसकारण हाम्रो परीक्षा जति कठोर हुन्छ अनि सैतानको दाउपेच जति कुटिल हुन्छ, यहोवाले दिनुहुने सुरक्षाको लागि “झन्‌ व्यग्रता साथ” प्रार्थना गर्नुपर्छ।

१८. (क) प्रार्थनाबारे हामीले आफैलाई कस्तो प्रश्‍न सोध्नुपर्छ र किन? (ख) कुन-कुन कुराले हाम्रो हृदयलाई असर गर्छ र कसरी? ( पृष्ठ १६ मा भएको पेटी हेर्नुहोस्‌।)

१८ यस्तो प्रार्थनाले हामीलाई कसरी असर गर्छ? पावलले यसो भने: “हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। अनि परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले . . . तिमीहरूको मन[को] . . . रक्षा गर्नेछ।” (फिलि. ४:६, ७) हो, सारा हृदयले यहोवाको सेवा गरिरहन व्यग्रता साथ अनि बारम्बार प्रार्थना गर्नुपर्छ। (लूका ६:१२) त्यसैले आफैलाई सोध्नुहोस्‌, ‘म कत्तिको व्यग्रता साथ प्रार्थना गर्छु? अनि म कति पटक प्रार्थना गर्छु?’ (मत्ती ७:७; रोमी १२:१२) तपाईंको जवाफले सारा हृदयले यहोवाको सेवा गर्ने तपाईंको इच्छा कत्तिको गहिरो छ, त्यो प्रकट गर्छ।

१९. सारा हृदयले यहोवाको सेवा गरिरहन तपाईं के गर्नुहुनेछ?

१९ हामीले चर्चा गरेझैं जीवनमा जुन कुरालाई प्राथमिकता दिन्छौं, त्यसले हाम्रो हृदयको अवस्था प्रकट गर्छ। हामीले पछाडि छोडेका कुराहरूले होस्‌ वा सैतानका दाउपेचहरूले, सारा हृदयले यहोवाको सेवा गर्ने हाम्रो सङ्‌कल्पलाई यसले कमजोर बनाउनेछैन भन्‍ने कुरामा हामी पक्का हुन चाहन्छौं। (लूका २१:१९, ३४-३६ पढ्‌नुहोस्‌) त्यसकारण दाऊदजस्तै हामी पनि यहोवालाई यस्तो बिन्ती गरिरहन्छौं: “मेरो मन एक चित्तको पार्नुहोस्‌।”—भज. ८६:११.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको पेटी]

 हाम्रो हृदयलाई असर गर्ने तीनवटा कुरा

आफ्नो मुटु अर्थात्‌ हृदयलाई स्वस्थ राख्न केही कदम चालेझैं आफ्नो लाक्षणिक हृदयलाई स्वस्थ राख्न पनि हामी केही तरिका अपनाउन सक्छौं। यी तीन कुराहरू विचार गर्नुहोस्‌:

१ पोषण: हाम्रो मुटुलाई पर्याप्त मात्रामा पोषण चाहिएजस्तै हाम्रो लाक्षणिक हृदयलाई पनि पर्याप्त मात्रामा स्वस्थकर आध्यात्मिक आहार चाहिन्छ। त्यसकारण व्यक्‍तिगत अध्ययन, मनन अनि सभाद्वारा हाम्रो लाक्षणिक हृदयले स्वस्थकर आध्यात्मिक आहार पाइरहेको छ कि छैन, त्यो कुरा हामीले पक्का गर्नुपर्छ।—भज. १:१, २; हितो. १५:२८; हिब्रू १०:२४, २५.

२ व्यायाम: मुटु स्वस्थ राख्न कहिलेकाहीं त्यसले बेस्सरी रगत पम्प गर्नुपर्छ। व्यायामले यसो गर्न मदत गर्छ। त्यसैगरि सेवाको काममा जोसिलो भई भाग लिएर अनि सकिन्छ भने सेवाको काममा अझ धेरै समय बिताएर हामी आफ्नो लाक्षणिक हृदयलाई स्वस्थ अवस्थामा राख्न सक्छौं।—लूका १३:२४; फिलि. ३:१२.

३ वातावरण: यस अभक्‍त संसारमा जीवन बिताउनुपर्ने र काम गर्नुपर्ने भएकोले साँच्चैको मुटु अनि लाक्षणिक हृदयमा ठूलो भार पर्न सक्छ। यस्तो भार हामी कसरी कम गर्न सक्छौं? हाम्रो साँचो चासो राख्ने र सारा हृदयले परमेश्‍वरको सेवा गर्ने सँगी विश्‍वासीहरूसित धेरैभन्दा धेरै सङ्‌गत गरेर।—भज. ११९:६३; हितो. १३:२०.