सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो अभिलेखालयबाट

“कल्पोर्टर कामलाई झन्‌-झनै माया गर्न सिक्दैछु”

“कल्पोर्टर कामलाई झन्‌-झनै माया गर्न सिक्दैछु”

सन्‌ १८८६ मा अमेरिकाको पेन्सिलभेनियास्थित एलेगेनीमा रहेको बाइबल हाउसबाट सहस्र वर्षीय प्रभात (अङ्‌ग्रेजी), खण्ड १ किताबको १०० प्रति इलेनोइको सिकागोको लागि पठाइयो। चार्ल्स टेज रसलले ती किताबहरू पुस्तक-पसलहरूमा वितरण गर्ने सोच राखेका थिए। धार्मिक किताबहरू वितरण गर्ने अमेरिकाको ठूलो संस्थामध्ये एउटाले सहस्र वर्षीय प्रभात लिने मन्जुरी त गऱ्‍यो तर बिक्री नभएमा फेरि फिर्ता गर्ने सम्झौतासहित। नभन्दै दुई हप्तापछि पूरै किताब बाइबल हाउसमा फिर्ता आयो।

एउटा रिपोर्टले बताएअनुसार, वितरणको लागि राखिएका आफ्ना किताबहरूसँगै सहस्र वर्षीय प्रभात देखेर चर्चको एक जना प्रख्यात प्रचारक रिसले मुरमुरिए। तखताबाट त्यो किताब नहटाएमा आफू र आफ्ना नाम चलेका साथीहरूले आफ्नो सबै किताब लैजाने र अन्तै सार्ने धम्की दिए। त्यसकारण ती वितरकले मन नलागी-नलागी प्रभात किताबका प्रतिहरू फिर्ता गरे। यस किताबको विषयमा अखबारहरूमा पनि विज्ञापनहरू छापिएको थियो। तर विरोधीहरूले विज्ञापनदाताहरूसित गरिएको सम्झौता रद्द गरिदिए। त्यसोभए सत्यको खोजी गर्नेहरूसम्म यो नयाँ प्रकाशन कसरी पुग्नेथियो?

कल्पोर्टरहरूमार्फत। a हो, तिनीहरूले नै यो प्रकाशन विभिन्‍न ठाउँमा पुऱ्‍याउने थिए। सन्‌ १८८१ मा जायन्स्‌ वाच टावर-ले बाइबल साहित्य विवरण गर्न पूर्ण-समय दिन सक्ने १,००० जना प्रचारक चाहिएको सूचना जारी गऱ्‍यो। कल्पोर्टरहरू मुठीभर मात्र थिए तैपनि तिनीहरूले हाम्रा साहित्यहरूमार्फत सत्यको बीउ टाढा-टाढासम्म छरे। सन्‌ १८९७ सम्ममा त प्रभात किताबको लगभग दस लाख प्रति वितरण भइसकेको थियो। धेरैजसो किताब कल्पोर्टरहरूले वितरण गरेका थिए। तिनीहरूमध्ये धेरैले वाच टावर-को ग्राहक बनाएबापत वा किताब वितरण गरेबापत पाउने थोरै रकमबाट गुजारा चलाउँथे।

ती साहसी कल्पोर्टरहरू कस्ता थिए? कोही किशोरावस्थाका थिए, कोही अलि उमेर ढल्केकाहरू। कोही अविवाहित थिए भने कोही बालबच्चा नभएका विवाहित जोडीहरू। यो काममा भाग नलिनेहरू थोरै मात्र थिए। नियमित कल्पोर्टरहरू यो कामको लागि दिनमा धेरै घण्टा बिताउँथे भने सहायक कल्पोर्टरहरू एक/दुई घण्टा मात्र। कल्पोर्टर काम गर्नको लागि सबैलाई स्वास्थ्य वा परिस्थितिले साथ दिंदैनथ्यो। तर यो काम गर्न सक्नेहरू “धेरै पढेलेखेको, प्रतिभाशाली अनि स्वर्गदूतको भाषा बोल्न जान्‍ने” हुनुपर्दैन भनेर सन्‌ १९०६ को अधिवेशनमा बताइयो।

लगभग सबै महादेशमा नै साधारण मानिसहरूले असाधारण काम पूरा गरे। एक जना भाइले अनुमान गरेअनुसार तिनले सात वर्षमा १५,००० किताब वितरण गरे। तैपनि तिनले यसो भने: “म पुस्तक-विक्रेता बन्‍नको लागि कल्पोर्टर बनेको होइन। बरु यहोवाबारे र उहाँको सत्यबारे साक्षी दिन यो काममा लागेको हुँ।” कल्पोर्टरहरू जहाँ-जहाँ गए त्यहाँ-त्यहाँ सत्यको जरा गाडियो र बाइबल विद्यार्थीहरूको सङ्‌ख्या वृद्धि हुँदै गयो।

पादरीहरूले कल्पोर्टरहरूलाई किताब बेच्ने मान्छे भन्थे र घृणा गर्थे। सन्‌ १८९२ को वाच टावर-ले यस्तो टिप्पणी गऱ्‍यो: “थोरैले मात्र तिनीहरूलाई प्रभुको साँचो प्रतिनिधिको रूपमा स्वीकारे अनि प्रभुले तिनीहरूमा भएको नम्रता र आत्मत्यागको मोल गरेको कुरा मानिलिए।” कल्पोर्टर काममा लागेकी एउटी बहिनीले कल्पोर्टरहरूको जीवन “फूलैफूलको संसार” होइन भनी बताइन्‌। तिनीहरूको यातायातको मुख्य साधन भनेकै बलियो जुत्ता अनि साइकल थियो। पैसा अपुग हुँदा तिनीहरू खाना र किताब साटासाट गर्थे। दिनभरि सेवाको काममा बिताइसकेपछि लखतरान तर आनन्दित प्रचारकहरू पाल अथवा भाडामा लिएको कोठामा फर्कन्थे। पछि तिनीहरूले यताउता गुडाएर लैजान मिल्ने घर बनाए, जसले तिनीहरूको समय र पैसा दुवैको बचत गऱ्‍यो। b

सन्‌ १८९३ मा सिकागोमा आयोजना गरेको अधिवेशनदेखि यता कल्पोर्टरहरूको लागि विशेष कार्यक्रम पनि समावेश गर्न थालियो। त्यो कार्यक्रममा जीवन्त अनुभवहरू साटासाट गर्ने, प्रचार गर्ने तरिका सिकाउने अनि व्यावहारिक सल्लाह दिने गरिन्थ्यो। एकचोटि भाइ रसलले मेहनती प्रचारकहरूलाई बिहानको खाजा प्रशस्त खान, प्रचारको दौडान समय निकालेर दूध खान अनि गर्मीयाममा चिसो आइसक्रिम सोडा खान आग्रह गर्नुभयो।

प्रचार गर्ने साथी खोजिरहेका कल्पोर्टरहरूले कोटमा पहेंलो रङ्‌गको रिबन लगाउँथे। नयाँ कल्पोर्टरहरूको साथीको रूपमा अनुभवी कल्पोर्टरहरूलाई खटाइन्थ्यो। यस्तो तालिम नितान्त आवश्‍यक थियो किनभने एक जना नयाँ कल्पोर्टरले हाम्रा साहित्यहरू प्रस्तुत गर्दा हडबडिंदै यसो भनिन्‌: “तपाईं यो चाहनुहुन्‍न नि, होइन?” तर खुसीको कुरा ती घरधनीले उक्‍त साहित्य स्वीकारिन्‌ र पछि साक्षी बनिन्‌।

एक जना भाइले यस्तो सोचे: ‘अहिलेकै आरामदायी जीवनलाई निरन्तरता दिएर कल्पोर्टर कामको लागि वर्षेनी १,००० (अमेरिकी) डलर अनुदान दिऊँ अथवा आफै नै कल्पोर्टर बनूँ?’ जुनसुकै मार्ग अपनाए तापनि प्रभुले कदर गर्नुहुनेछ तर प्रभुको लागि समय खर्च गर्दाचाहिं अझ धेरै आशिष्‌ पाइन्छ भनेर तिनलाई बताइयो। मेरी हिन्ड्‌सले कल्पोर्टरको कामलाई “धेरै मानिसको लागि गरिने सबैभन्दा राम्रो काम” भनेर बताइन्‌। डराउने स्वभावकी अल्बर्टा क्रोजवी नामकी बहिनीले यसो भनिन्‌: “कल्पोर्टर कामलाई झन्‌-झनै माया गर्न सिक्दैछु।”

जोसिला कल्पोर्टरका थुप्रै शारीरिक तथा आध्यात्मिक सन्तानहरूले परमेश्‍वरको यो कामलाई आज पनि निरन्तरता दिइरहेका छन्‌। यदि तपाईंको परिवारमा कल्पोर्टर काम गर्ने अर्थात्‌ अग्रगामी सेवा गर्ने कोही पनि छैन भने तपाईंले नै सुरु गरेर यो परम्परा बसाले कसो होला? तपाईंले पनि पूर्ण-समय प्रचारकार्यलाई झन्‌-झनै माया गर्न सिक्नुहुनेछ।

[फुटनोटहरू]

a सन्‌ १९३१ पछि “कल्पोर्टर” शब्दको सट्टा “अग्रगामी” शब्द प्रयोग गर्न थालियो।

b यताउता गुडाएर लैजान मिल्ने घरको विषयमा पछिको कुनै अङ्‌कमा विस्तृत छलफल गरिनेछ।

[पृष्ठ ३२-मा भएको ठूलो अक्षरको क्याप्सन]

तिनीहरू “धेरै पढेलेखेको, प्रतिभाशाली अनि स्वर्गदूतको भाषा बोल्न जान्‍ने” हुनुपर्दैनथ्यो

[पृष्ठ ३१-मा भएको चित्र]

कल्पोर्टर ए. डब्लू. ओसा, सन्‌ १९३० तिर घानामा

[पृष्ठ ३२-मा भएको चित्र]

माथि: कल्पोर्टर एडीथ किन्‌ र गट्रुड मोरिस्‌, सन्‌ १९१८ तिर इङ्‌गल्यान्डमा; तल: स्टान्ली कोसाबुम र हेन्री नोन्केस अमेरिकामा, वितरण गरिसकेका किताबहरूको खाली बाकससहित