सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं यहोवाको गौरव प्रतिबिम्बित गर्दै हुनुहुन्छ?

के तपाईं यहोवाको गौरव प्रतिबिम्बित गर्दै हुनुहुन्छ?

के तपाईं यहोवाको गौरव प्रतिबिम्बित गर्दै हुनुहुन्छ?

“हामी सबै ऐनाले जस्तै यहोवाको गौरव प्रतिबिम्बित गर्छौं।”—२ कोरि. ३:१८.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

पापी भए तापनि हामी कसरी यहोवाको गौरव प्रतिबिम्बित गर्न सक्छौं?

प्रार्थना अनि ख्रीष्टियन सभाले परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्न कसरी मदत गर्छ?

यहोवाको गौरव प्रतिबिम्बित गरिरहन हामीलाई कुन कुराले मदत गर्न सक्छ?

१, २. हामीले यहोवाका गुणहरू अनुकरण गर्न सक्नुको कारण के हो?

 हामी सबै नै कुनै न कुनै तरिकामा आफ्ना आमाबाबुजस्तै छौं। त्यसकारण कसै-कसैले यसो भनेको सुन्‍नु अचम्मको कुरा होइन: ‘तिमी काटीकुटी तिम्रो बुबाजस्तै छौ’ अथवा ‘तिमी त ठ्याक्कै तिम्री आमाजस्तै छ्यौ।’ आमाबाबुले जे गर्छन्‌ छोराछोरीले पनि प्रायः त्यसै गरिरहेका हुन्छन्‌। हामीबारेचाहिं के भन्‍न सकिन्छ? के हामी स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवाको अनुकरण गर्न सक्छौं? हामीले उहाँलाई देखेका त छैनौं तैपनि उहाँको वचन बाइबल अध्ययन गरेर, उहाँले सृष्टि गरेका कुरा हेरेर अनि बाइबलमा लेखिएका कुराहरू, अझ विशेषगरि उहाँको छोरा येशू ख्रीष्टले भनेका र गरेका कामहरूमा मनन गरेर हामी उहाँका मनमोहक गुणहरू थाह पाउन सक्छौं। (यूह. १:१८; रोमी १:२०) हो, हामीले यहोवाको गौरव प्रतिबिम्बित गर्नु सम्भव छ।

आदम र हव्वा सृष्टि हुनुअघिदेखि नै, मानिसहरूले उहाँको इच्छा पूरा गर्नेछन्‌, उहाँका गुणहरू झल्काउनेछन्‌ अनि उहाँको गौरव प्रतिबिम्बित गर्नेछन्‌ भन्‍ने कुरामा यहोवा पक्का हुनुहुन्थ्यो। (उत्पत्ति १:२६, २७ पढ्‌नुहोस्‌) परमेश्‍वरको उपासक भएकोले हामीले सृष्टिकर्ताको गुणहरू झल्काउनुपर्छ। यसो गऱ्‍यौं भने हाम्रो संस्कृति, शिक्षा अनि जातीय पृष्ठभूमि जस्तोसुकै भए तापनि परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्ने ठूलो सुअवसर पाउँछौं। किन? किनभने “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।”—प्रेषि. १०:३४, ३५.

३. यहोवाको सेवा गर्दा ख्रीष्टियनहरू कस्तो अनुभव गर्छन्‌?

अभिषिक्‍त ख्रीष्टियनहरू यहोवाको गौरव प्रतिबिम्बित गर्छन्‌। त्यसकारण परमेश्‍वरद्वारा अभिषिक्‍त प्रेषित पावलले यस्तो लेखे: “घुम्टो नलागेको मुहारद्वारा हामी सबै ऐनाले जस्तै यहोवाको गौरव प्रतिबिम्बित गर्छौं अनि थोरै गौरवबाट धेरै गौरव पाएर उहाँकै प्रतिरूपमा परिवर्तन हुन्छौं।” (२ कोरि. ३:१८) भविष्यवक्‍ता मोशा दस आज्ञा भएका पाटीहरू लिएर सीनै पर्वतबाट ओर्लेर आउँदा तिनको मोहडा चम्क्यो किनभने परमेश्‍वरले तिनीसित कुरा गर्नुभएको थियो। (प्रस्थ. ३४:२९, ३०) हुन त ख्रीष्टियनहरूले मोशाले जस्तै अनुभव गरेका छैनन्‌ अनि तिनीहरूको अनुहार त्यसरी चम्किंदैन पनि। तथापि यहोवाबारे, उहाँका गुणहरूबारे अनि उहाँले मानिसजातिको लागि राख्नुभएको अद्‌भुत उद्देश्‍यबारे अरूलाई बताउँदा तिनीहरूको खुसी अनुहारमा झल्किन्छ। ऐनाले जस्तै अभिषिक्‍त जनहरूले र तिनीहरूका पार्थिव सहयोगीहरूले आफ्नो जीवनमा अनि सेवाको काममा यहोवाको गौरव प्रतिबिम्बित गर्छन्‌। (२ कोरि. ४:१) के तपाईं पनि राम्रो आचरण देखाएर अनि राज्य उद्‌घोषकको रूपमा सेवाको काममा नियमित भएर यहोवाको गौरव प्रतिबिम्बित गर्दै हुनुहुन्छ?

हामी यहोवाको गौरव प्रतिबिम्बित गर्न चाहन्छौं

४, ५. (क) पावलले जस्तै हामीले कस्तो सङ्‌घर्ष गर्नुपर्छ? (ख) पापले हामीलाई कस्तो असर गरेको छ?

यहोवाको सेवक भएकोले हामी हरेक काममा आफ्नो सृष्टिकर्ताको आदर गर्न र उहाँको गौरव प्रतिबिम्बित गर्न चाहन्छौं। तर हामी अक्सर आफूले चाहेजस्तो गर्नदेखि चुक्छौं। पावलले पनि यस्तै समस्याको सामना गर्नुपरेको थियो। (रोमी ७:२१-२५ पढ्‌नुहोस्‌) हामीले यस्तो सङ्‌घर्ष गर्नुको कारण खुलाउँदै पावलले यस्तो लेखे: “सबैले पाप गरेका छन्‌ अनि परमेश्‍वरका गौरवशाली गुणहरू प्रकट गर्न चुकेका छन्‌।” (रोमी ३:२३) हो, पापी आदमको सन्तान भएकोले सम्पूर्ण मानवजाति ‘राजाले झैं राज गर्ने पापको’ वशमा परे।—रोमी ५:१२; ६:१२.

पाप भनेको के हो? यहोवाको व्यक्‍तित्व, मार्ग, स्तर अनि इच्छाविपरीतको जुनसुकै कुरा पनि पाप हो। पापले परमेश्‍वर र मानिसजातिबीचको सम्बन्धलाई बिगार्छ। धनुर्धारी काँड हान्‍न चुकेझैं हामी पनि पापले गर्दा परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्न चुक्छौं। हामी जानाजानी अथवा अनजानमै पाप गर्न पुग्छौं। (गन्ती १५:२७-३१) पापले मानिसहरूमा गहिरो जरा गाडेको छ अनि यसले यहोवा र तिनीहरूको सम्बन्धमा तगारो हालेको छ। (भज. ५१:५; यशै. ५९:२; कल. १:२१) त्यसकारण धेरैजसो मानिस यहोवाको इच्छाविपरीत चल्छन्‌ र उनीहरूले उहाँको गौरव प्रतिबिम्बित गर्ने अमूल्य सुअवसर गुमाउँछन्‌। पापले जत्तिको नराम्रो असर मानिसलाई अरू केहीले गरेको छैन भन्‍ने कुरामा कुनै सन्देह छैन।

६. पापी भए तापनि हामी कसरी परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्न सक्छौं?

हाम्रो पापपूर्ण अवस्थाको बाबजुद यहोवा “आशा दिनुहुने परमेश्‍वर” साबित हुनुभएको छ। (रोमी १५:१३) उहाँले पापको नामोनिसान हटाउने प्रबन्ध अर्थात्‌ येशू ख्रीष्टको फिरौतीको बलिदानको प्रबन्ध गरिदिनुभएको छ। येशूको बलिदानमा विश्‍वास गरेको कारण हामी ‘पापको दासत्वबाट’ मुक्‍त भएका छौं र यहोवाको गौरव प्रतिबिम्बित गर्ने स्थितिमा छौं। (रोमी ५:१९; ६:६; यूह. ३:१६) यहोवासितको सुमधुर सम्बन्धलाई कायम राख्यौं भने हामीले अहिल्यै पनि उहाँबाट आशिष्‌ पाउनेछौं अनि भविष्यमा त्रुटिरहित अनन्त जीवन! अहिले हामी पापी नै भए तापनि यहोवाले हामीलाई उहाँको गौरव प्रतिबिम्बित गर्न सक्ने व्यक्‍तिको रूपमा हेर्नु कत्ति ठूलो आशिष्‌को कुरा!

परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्नुहोस्‌

७. परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्ने हो भने हामीले आफूबारे के कुरा स्वीकार्नै पर्छ?

राम्ररी यहोवाको गौरव प्रतिबिम्बित गर्न हामीले इमानदार भई आफ्नो पापी झुकाव स्वीकार्नुपर्छ। (२ इति. ६:३६) आफूमा भएको पापी झुकाव स्वीकारेपछि हामीले त्यसलाई नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ। यसो गर्दा हामी परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्न सक्छौं। उदाहरणका लागि, हामी अश्‍लील सामग्री हेर्ने कुलतमा फसेका छौं भने आफूलाई एल्डरहरूको मदत चाहिएको कुरा मानिलिनै पर्छ र उनीहरूको मदत लिनुपर्छ। (याकू. ५:१४, १५) हामी परमेश्‍वरको गौरव साँच्चै प्रतिबिम्बित गर्न चाहन्छौं भने हामीले चाल्नुपर्ने पहिलो कदम यही हो। यहोवाको उपासक भएकोले हामी उहाँको स्तरबमोजिम चलिरहेका छौं कि छैनौं भन्‍ने कुरालाई हामीले सधैं जाँच्नुपर्छ। (हितो. २८:१८; १ कोरि. १०:१२) हाम्रो पापी झुकाव जस्तोसुकै किन नहोस्‌, हामीले त्यसविरुद्ध सङ्‌घर्ष गर्न छोड्‌नुहुँदैन। यसो गरेमा हामी परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्न सक्छौं।

८. त्रुटिपूर्ण भए तापनि हामीले के गर्नुपर्छ?

सधैं नै परमेश्‍वरलाई खुसी तुल्याउने काम गर्ने र अचूक तरिकामा उहाँको गौरव प्रतिबिम्बित गर्ने एक मात्र मानव येशू हुनुहुन्थ्यो। हामी उहाँजस्तो त्रुटिरहित त छैनौं, तैपनि हामी उहाँको उदाहरण पछ्याउन सक्छौं र हामीले यसो गर्ने प्रयास पनि गर्नुपर्छ। (१ पत्रु. २:२१) हामीले गरेको उन्‍नतिलाई मात्र होइन तर यहोवाको गौरव प्रतिबिम्बित गर्ने हाम्रो प्रयासलाई पनि यहोवा याद गर्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ।

९. परमेश्‍वरको इच्छाअनुसार चल्न चाहने ख्रीष्टियनहरूलाई बाइबलले कस्तो मदत दिन्छ?

यहोवाको गौरव अझ राम्ररी कसरी प्रतिबिम्बित गर्न सक्छौं भनी बुझ्न हामीलाई उहाँको वचन बाइबलले मदत गर्न सक्छ। बाइबलको गहिरो अध्ययन गर्नु र पढेको कुरा मनन गर्नु नितान्त आवश्‍यक छ। (भज. १:१-३) दिनदिनै बाइबल पढ्यौं भने त्यसले हामीलाई प्रगति गर्न मदत गर्छ। (याकूब १:२२-२५ पढ्‌नुहोस्‌) बाइबलबाट सिकेको कुराले हाम्रो विश्‍वास बलियो बनाउँछ। साथै गम्भीर पाप गर्नबाट अलग रहने अनि यहोवालाई खुसी तुल्याउने हाम्रो चाहनालाई पनि मजबुत बनाउँछ।—भज. ११९:११, ४७, ४८.

१०. यहोवाको सेवा अझ राम्ररी गर्न हामीलाई प्रार्थनाले कसरी मदत गर्छ?

१० परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्न हामी ‘प्रार्थनामा पनि लागिरहनुपर्छ।’ (रोमी १२:१२) परमेश्‍वरले स्वीकार्ने तरिकामा उहाँको सेवा गर्न हामी प्रार्थना गर्न सक्छौं र हामीले त्यसो गर्नु पनि पर्छ। हामी प्रार्थनामार्फत उहाँसित पवित्र शक्‍ति, बलियो विश्‍वास, प्रलोभनको प्रतिरोध गर्ने शक्‍ति अनि “सत्यको वचन ठीकसित प्रयोग गर्ने” क्षमता माग्न सक्छौं। (२ तिमो. २:१५; मत्ती ६:१३; लूका ११:१३; १७:५) बच्चाले आफ्नो बुबामाथि भरोसा राखेजस्तै हामीले पनि स्वर्गमा बस्नुहुने बुबा यहोवामाथि भरोसा राख्नुपर्छ। उहाँको सेवा अझ राम्रोसँग गर्न सकियोस्‌ भनेर प्रार्थना गऱ्‍यौं भने उहाँले मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं। हाम्रो प्रार्थना सुन्दा उहाँलाई झिजो लाग्ला भनेर कहिल्यै नसोचौं। बरु प्रार्थनामा यहोवाको प्रशंसा गरौं, उहाँलाई धन्यवाद देऔं, विशेषगरि परीक्षामा पर्दा उहाँको डोऱ्‍याइ खोजौं अनि उहाँको पवित्र नाम गौरवान्वित पार्ने तरिकामा उहाँको सेवा गर्न उहाँसित मदत मागौं।—भज. ८६:१२; याकू. १:५-७.

११. परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्न मण्डलीका सभाहरूले हामीलाई कसरी मदत गर्छ?

११ परमेश्‍वरले आफ्ना बहुमूल्य भेडाको हेरचाह गर्ने जिम्मेवारी “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई सुम्पनुभएको छ। (मत्ती २४:४५-४७; भज. १००:३) सँगी विश्‍वासीहरूले यहोवाको गौरव कसरी प्रतिबिम्बित गरिरहेका छन्‌, त्यसप्रति दास वर्गले एकदमै चासो राख्छ। दास वर्गले यस्तो चासो देखाउने एउटा माध्यम हाम्रो सभाहरूमार्फत हो। हामीलाई राम्रो देखाउन सूचीकारले नमिलेको लुगा फेरि मिलाएर सिलाएझैं सभाहरूले हाम्रो जीवन र ख्रीष्टियन गुणहरूमा छाँटकाँट गर्न मदत गर्छ। (हिब्रू १०:२४, २५) त्यसैले सभामा हामी समयमै उपस्थित हुनुपर्छ। यदि सभामा ढिलो जाने बानी नै परिसकेको छ भने हामीले सभाबाट पूरापूर लाभ उठाउन सक्दैनौं।

परमेश्‍वरको देखासिकी गरौं

१२. हामी परमेश्‍वरको देखासिकी कसरी गर्न सक्छौं?

१२ यहोवाको गौरव प्रतिबिम्बित गर्ने हो भने हामी “परमेश्‍वरको देखासिकी गर्नेहरू” हुनै पर्छ। (एफि. ५:१) यहोवाको देखासिकी गर्ने एउटा तरिका उहाँको जस्तै दृष्टिकोण अपनाउनु हो। परमेश्‍वरको स्तरभन्दा बेग्लै तरिकामा जिउन खोज्दा हामीले उहाँको अनादर गरिरहेका हुन्छौं र यसले हामीलाई पनि हानि गर्छ। हामी वरपरको संसार दुष्ट सैतानको प्रभावमा परेको कारण हामीले यहोवाले घृणा गर्ने कुरालाई घृणा गर्न अनि उहाँले प्रेम गर्ने कुरालाई प्रेम गर्न कडा प्रयास गर्नै पर्छ। (भज. ९७:१०; १ यूह. ५:१९) परमेश्‍वरको सेवा गर्ने एक मात्र सही तरिका भनेको सबै थोक परमेश्‍वरकै महिमाको निम्ति गर्नु हो भन्‍ने कुरामा हामी मनदेखि नै विश्‍वस्त हुनुपर्छ।—१ कोरिन्थी १०:३१ पढ्‌नुहोस्‌।

१३. हामीले पापलाई किन घृणा गर्नै पर्छ र यसो गर्दा हामी के गर्न उत्प्रेरित हुनेछौं?

१३ यहोवा पापलाई घृणा गर्नुहुन्छ, त्यसैले हामीले पनि घृणा गर्नुपर्छ। यदि हामी पापलाई घृणा गर्छौं भने त्यसतर्फ धकेल्न सक्ने हरेक कुराबाट हामी सकेसम्म टाढा बस्नेछौं। उदाहरणका लागि, हामी धर्मत्यागबाट अलग बस्नै पर्छ। धर्मत्यागीहरूले परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्दैनन्‌। (व्यव. १३:६-९) त्यसकारण धर्मत्यागीहरू अथवा आफूलाई साक्षी भन्‍ने तर परमेश्‍वरको अनादर गर्ने व्यक्‍तिहरूसित कुनै सम्बन्ध नराखौं। यदि उक्‍त व्यक्‍ति परिवारकै सदस्य हो भने पनि यो कुरा लागू हुन्छ। (१ कोरि. ५:११) धर्मत्यागीहरूलाई वा यहोवाको सङ्‌गठनको आलोचना गर्नेहरूलाई गलत साबित गर्न खोज्नु बेकार हो। साँच्चै भन्‍ने हो भने, त्यस्ता व्यक्‍तिहरूको लेख-रचना पढ्‌दा वा तिनीहरूले इन्टरनेटमा राखेको जानकारी हासिल गर्दा त्यसले परमेश्‍वरसितको हाम्रो सम्बन्धलाई खतरामा पार्छ।—यशैया ५:२०; मत्ती ७:६ पढ्‌नुहोस्‌।

१४. परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्नको लागि हामीमा कुन महत्त्वपूर्ण गुण हुनु आवश्‍यक छ र किन?

१४ स्वर्गमा बस्नुहुने बुबाको देखासिकी गर्ने एउटा उल्लेखनीय तरिका प्रेम देखाउनु हो। साँच्चै भन्‍ने हो भने हामी उहाँजस्तै मायालु हुनुपर्छ। (१ यूह. ४:१६-१९) वास्तवमा हामीबीचको प्रेमले हामीलाई येशूका चेलाहरू अनि यहोवाका सेवकहरूको रूपमा चिनाउँछ। (यूह. १३:३४, ३५) जन्मजातै पापी भएकोले कहिलेकाहीं हामी प्रेम देखाउनदेखि चुक्छौं होला तैपनि हामीले हरसमय प्रेम देखाउने प्रयास गर्नुपर्छ। प्रेम अनि अरू ईश्‍वरीय गुण खेती गर्दा त्यसले हामीलाई निष्ठुर अनि पापी काम गर्नदेखि जोगाउनेछ।—२ पत्रु. १:५-७.

१५. अरूसितको हाम्रो सम्बन्धलाई प्रेमले कसरी असर गर्छ?

१५ प्रेमले हामीलाई अरूको भलो हुने काम गर्न उत्प्रेरित गर्छ। (रोमी १३:८-१०) उदाहरणका लागि, आफ्नो विवाहित जोडीलाई प्रेम गर्ने व्यक्‍तिले आफ्नो वैवाहिक सम्बन्धलाई बिटुलो पार्नेछैन। एल्डरहरूप्रतिको प्रेम अनि तिनीहरूको कामप्रतिको आदरले हामीलाई तिनीहरूको निर्देशनप्रति आज्ञाकारी हुन अनि त्यसको अधीनमा बस्न मदत गर्नेछ। आफ्नो आमाबाबुलाई प्रेम गर्ने छोरीछोरीले तिनीहरूको आज्ञा मान्छन्‌ र तिनीहरूको आदर गर्छन्‌ अनि तिनीहरूबारे नकारात्मक कुरा गर्दैनन्‌। सँगी मानवलाई प्रेम गर्छौं भने हामी तिनीहरूलाई तुच्छ ठान्‍नेछैनौं र तिनीहरूलाई होच्याएर कुरा गर्नेछैनौं। (याकू. ३:९) अनि परमेश्‍वरको बगाललाई प्रेम गर्ने एल्डरहरूले उनीहरूलाई कोमल व्यवहार गर्नेछन्‌।—प्रेषि. २०:२८, २९.

१६. प्रेमले हामीलाई प्रचारकार्यमा कसरी मदत गर्नेछ?

१६ प्रचार गर्दा पनि हामीले अरूलाई प्रेम देखाउनुपर्छ। हामी यहोवालाई औधी प्रेम गर्छौं, त्यसैले मानिसहरूले हाम्रो कुरा नसुन्दा वा चासो नदेखाउँदा निराश हुनेछैनौं। हामी सुसमाचार सुनाइरहनेछौं। प्रेमले हामीलाई प्रचारकार्यको लागि राम्ररी तयारी गर्न अनि अझै प्रभावकारी हुन उत्प्रेरित गर्नेछ। यदि हामी परमेश्‍वरलाई र छिमेकीलाई साँच्चै प्रेम गर्छौं भने हामी प्रचारकार्यलाई कर्तव्यको रूपमा मात्र लिनेछैनौं। बरु यसलाई ठूलो सुअवसर ठान्‍नेछौं अनि रमाउँदै यसमा भाग लिनेछौं।—मत्ती १०:७.

यहोवाको गौरव प्रतिबिम्बित गरिरहनुहोस्‌

१७. परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्नदेखि चुक्छौं भनेर स्वीकार्दा हामी लाभ उठाउन सक्छौं, किन?

१७ पापको गम्भीरताबारे संसारका धेरैजसो मानिसहरू अनभिज्ञ छन्‌ तर हामी भने छैनौं। त्यसैले पापी झुकावविरुद्ध सङ्‌घर्ष गर्नुपर्ने आवश्‍यकता हामीले राम्ररी बुझेका छौं। हाम्रो पापी झुकावलाई स्वीकार्दा हाम्रो अन्तस्करणले तालिम पाउँछ, जसले गर्दा हाम्रो मन र दिमागमा पापी विचारहरू उब्जिंदा सही कदम चाल्न उत्प्रेरित हुनेछौं। (रोमी ७:२२, २३) हो, हामी कमजोर हुन सक्छौं तर सही कदम चाल्न परमेश्‍वरले हामीलाई जस्तोसुकै अवस्थामा पनि बल दिन सक्नुहुन्छ।—२ कोरि. १२:१०.

१८, १९. (क) सैतान अनि त्यसका दुष्ट स्वर्गदूतहरूविरुद्धको युद्धमा सफल हुन हामीलाई केले मदत गर्छ? (ख) हाम्रो सङ्‌कल्प कस्तो हुनुपर्छ?

१८ यहोवाको गौरव प्रतिबिम्बित गर्ने हो भने हामीले सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूविरुद्ध पनि युद्ध गर्नै पर्छ। परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गरेर हामी यो युद्धमा सफल हुन सक्छौं। (एफि. ६:११-१३) यहोवाले मात्र पाउनुपर्ने गौरव खोस्न सैतान निरन्तर लागिपरेको छ। साथै यहोवासितको हाम्रो सम्बन्धलाई बिगार्न पनि सैतान मरिमेटी लागेको छ। तर हामी अनि लाखौं त्रुटिपूर्ण पुरुष, स्त्री अनि केटाकेटीले सत्यनिष्ठा कायम राख्नु र यहोवाको गौरव प्रतिबिम्बित गर्नु सैतानको लागि कत्ति ठूलो हार हुनेछ! त्यसकारण स्वर्गमा बस्ने प्राणीहरूले यसरी यहोवाको प्रशंसा गरेजस्तै हामी पनि गरिरहौं: “हे यहोवा हाम्रा परमेश्‍वर, तपाईं महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।”—प्रका. ४:११.

१९ जस्तोसुकै परिस्थितिमा पनि यहोवाको गौरव प्रतिबिम्बित गर्ने सङ्‌कल्प गरौं। थुप्रै वफादार जनहरूले उहाँको देखासिकी गर्ने र उहाँको गौरव प्रतिबिम्बित गर्ने भरमग्दुर प्रयास गरिरहेको देख्दा यहोवा औधी खुसी हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (हितो. २७:११) हामीले पनि दाऊदले जस्तै महसुस गर्नुपर्छ जसले यस्तो भजन गाए: “हे परमप्रभु मेरा परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। र म तपाईंको नाउँको महिमा सदाको निम्ति गर्नेछु।” (भज. ८६:१२) यहोवाको गौरव सतप्रतिशत प्रतिबिम्बित गर्ने अनि सधैं-सधैं उहाँको प्रशंसा गर्ने दिनको हामी तीव्र चाह गर्छौं! त्यस्तो संसारमा बस्न पाउनु यहोवाप्रति आज्ञाकारी मानिसहरूका लागि साँच्चै रोमाञ्चक हुनेछ। के तपाईं सधैंभरि यहोवा परमेश्‍वरको गौरव प्रतिबिम्बित गर्ने आशा राख्दै अहिले पनि त्यसो गर्दै हुनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको चित्र]

के तपाईं पनि यसरी नै यहोवाको गौरव प्रतिबिम्बित गर्दै हुनुहुन्छ?