सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको के तपाईं साँच्चै मोल गर्नुहुन्छ?

परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको के तपाईं साँच्चै मोल गर्नुहुन्छ?

परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको के तपाईं साँच्चै मोल गर्नुहुन्छ?

“यहोवाले तिमीहरूलाई उपहार देऊन्‌ र तिमीहरू दुवै आ-आफ्नो पतिको घरमा राम्ररी बस्न पाओ।”—रूथ १:९, NW.

जवाफ खोज्नुहोस्‌:

परमेश्‍वरका विगतका सेवकहरूले उहाँले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको मोल गरे भनी हामी किन भन्‍न सक्छौं?

जीवनसाथी रोज्ने हाम्रो छनौटप्रति यहोवा चासो राख्नुहुन्छ भनेर हामी कसरी थाह पाउन सक्छौं?

विवाहबारे बाइबलले दिएको कुन सल्लाह लागू गर्ने सोचमा हुनुहुन्छ?

१. पत्नी पाएपछि आदमले कस्तो प्रतिक्रिया देखाए, बताउनुहोस्‌।

 “योता मेरै हाडको हाड र मासुको मासु हो। उसलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।” (उत्प. २:२३) प्रथम पुरुष आदम पत्नी पाएकोमा एकदमै खुसी थिए। त्यसैले तिनले रमाउँदै कविता रचे। आदमलाई गहिरो निद्रामा पारेपछि यहोवाले तिनको करङबाट एउटी सुन्दरी स्त्री बनाउनुभयो। पछि आदमले ती स्त्रीको नाम हव्वा राखे। परमेश्‍वरले ती दुईलाई विवाह बन्धनमा बाँधिदिनुभयो। यहोवाले आदमको करङबाट ती स्त्री बनाउनुभएकोले उक्‍त दम्पती वर्तमान समयका कुनै पनि पति-पत्नीभन्दा घनिष्ठ थिए।

२. पुरुष र स्त्री आपसमा किन आकर्षित हुन्छन्‌?

यहोवाले आफ्नो अतुलनीय बुद्धिको कारण मानिसजातिमा रोमान्टिक प्रेम हालिदिनुभयो। यो एउटा यस्तो गुण हो जसले पुरुष र स्त्रीलाई एकअर्काप्रति आकर्षित गर्छ। एउटा विश्‍वकोश यसो भन्छ: “विवाह बन्धनमा बाँधिएका पुरुष र स्त्रीले यौनसम्बन्ध राख्ने र एक-अर्काप्रति सधैंभरि रोमान्टिक भाव साटासाट गर्ने आशा राख्छन्‌।” धेरै समयअघिका यहोवाका जनहरूले पनि यस्तै अनुभव गरेका थिए।

उपहारस्वरूप पाएको विवाहप्रति तिनीहरू धन्यवादी थिए

३. इसहाकले कसरी पत्नी पाए?

विश्‍वासी अब्राहाम विवाहको प्रबन्धको निकै कदर गर्थे। त्यसैले तिनले आफ्नो छोरा इसहाकको लागि पत्नी खोज्न आफ्नो सबैभन्दा पुरानो दासलाई मेसोपोटामिया पठाए। त्यस दासले गरेको प्रार्थनाले राम्रो नतिजा ल्यायो। परमेश्‍वरको डर राख्ने रिबेका इसहाककी प्रिय पत्नी भइन्‌ र उनले अब्राहामको वंश कायमै राख्ने यहोवाको प्रबन्धमा ठूलो भूमिका खेलिन्‌। (उत्प. २२:१८; २४:१२-१४, ६७) तर आजकल भने धेरैले आफ्नो जोडी आफै खोज्छन्‌। कहिलेकाहींचाहिं मानिसहरू अरूको निम्ति जोडी खोजिदिन अग्रसर हुन्छन्‌। तर अरूले मदत मागेकै छैन भने त्यसो गर्नुहुँदैन। साथै परमेश्‍वरले पनि कसैको लागि जोडी छानिदिनुहुन्‍न। तर उहाँको निर्देशन र पवित्र शक्‍तिको डोऱ्‍याइको लागि प्रार्थना गरेमा उहाँले विवाहलगायत जीवनका अन्य पक्षमा मदत गर्न सक्नुहुन्छ।—गला. ५:१८, २५.

४, ५. शूलम्मेनी र गोठालोले एक-अर्कालाई मन पराउँथे भनी तपाईं किन भन्‍न सक्नुहुन्छ?

पुरातन इस्राएलकी राम्री शूलम्मेनी युवतीलाई तिनका साथीहरूले राजा सुलेमानका धेरै पत्नीमध्ये एक हुन दबाब दिन्थे। तर यो कुरा तिनलाई मन पर्दैनथ्यो। तिनले भनिन्‌: “यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई आज्ञा गर्छु: आफूले [मैले] नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।” (श्रेष्ठ. ८:४, NRV) शूलम्मेनीले एक जना गोठालोलाई मन पराउँथिन्‌। नम्र हुँदै तिनले यसो भनिन्‌: “म ता शारोनको गुलाफ, बेंसीमा उम्रने लिली फूल हुँ।” तर गोठालाले यस्तो जवाफ दिए: “होइन, तर स्त्रीहरूमा मेरी प्रियेचाहिं काँढाहरूका बीचमा उम्रेको लिली फूल हो!” (श्रेष्ठ. २:१, २) तिनीहरू एक-अर्कालाई साँचो प्रेम गर्थे।

शूलम्मेनी र गोठालोले अरू जुनसुकै कुरालाई भन्दा परमेश्‍वरलाई प्रेम गर्थे। त्यसकारण तिनीहरूको वैवाहिक सम्बन्ध निश्‍चय नै बलियो हुनेथियो। वास्तवमा शूलम्मेनीले आफ्नो प्रेमी गोठालोलाई यसो भनिन्‌: “मलाई तपाईंको हृदयमा एउटा छापजस्तै लगाउनुहोस्‌, तपाईंको पाखुरामा एउटा छापजस्तै, किनभने प्रेमचाहिं मृत्युजस्तै प्रबल हुन्छ, अनि ऐकान्तिक भक्‍तिमा अडिग रहनु शिओलजस्तै निश्‍चित! यसको ज्वाला आगोको ज्वाला हो, याहको ज्वाला [किनभने यो उहाँबाट आएको हो]। पानीका भलले प्रेमलाई निभाउन सक्दैन, खोलाहरूले पनि यसलाई कदापि बगाउन सक्दैन। कुनै मानिसले प्रेमको सट्टा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि त्यसलाई मानिसहरूले बिलकुलै तिरस्कार गर्नेछन्‌।” (श्रेष्ठ. ८:६, ७, NW) परमेश्‍वरका सेवकहरूले पनि आफ्नो विवाहित जोडीबाट यस्तै स्तर र प्रतिबद्धता आशा गर्नुपर्दैन र?

तपाईंको छनौटप्रति परमेश्‍वर चासो राख्नुहुन्छ

६, ७. हामी आफ्नो लागि कस्तो जोडी छान्छौं, यहोवा त्यसमा चासो लिनुहुन्छ भनी कसरी थाह पाउन सक्छौं?

तपाईं आफ्नो लागि कस्तो जोडी छान्‍नुहुन्छ, यहोवा चासो राख्नुहुन्छ। कनानका बासिन्दाहरूको सन्दर्भमा इस्राएलीहरूलाई यस्तो आज्ञा दिइएको थियो: “तिनीहरूसँग बिहेबारी नगर्नू। तिमीहरूका छोरा-छोरीहरूले तिनीहरूका छोराछोरीहरूका बीच बिहेबारीको सम्बन्धै नराखून्‌। किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताका पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई तत्कालै नाश पार्नुहुनेछ।” (व्यव. ७:३, ४) वर्षौंपछि पुजारी एज्राले यसो भने: “तिमीहरूले विदेशी पत्नीहरू विवाह गरेर अपराध गरेका छौ, र इस्राएलको दोष बढाएका छौ।” (एज्रा १०:१०) अनि प्रेषित पावलले सँगी ख्रीष्टियनहरूलाई यसो भने: “आफ्नो पति जीवित छउन्जेल पत्नी आफ्नो पतिकै बन्धनमा हुन्छे। तर उसको पति मऱ्‍यो भने उसले जोसित चाहन्छे, उसैसित विवाह गर्न सक्छे, तर प्रभुको चेलासित मात्र।”१ कोरि. ७:३९.

यहोवाका समर्पित सेवकहरूले बेग्लै विश्‍वास भएका व्यक्‍तिसित विवाह गरेमा तिनीहरू परमेश्‍वरप्रति अनाज्ञाकारी भइरहेका हुन्छन्‌। एज्राको समयका इस्राएलीहरूले “विदेशी पत्नीहरू विवाह गरेर” विश्‍वास नभएको देखाए। हामीले पनि धर्मशास्त्रको स्पष्ट सल्लाहलाई हल्का रूपमा लिन खोज्नु गलत हुनेछ। (एज्रा १०:१०; २ कोरि. ६:१४, १५) बेग्लै विश्‍वास भएका व्यक्‍तिसित विवाह गर्ने ख्रीष्टियन उदाहरणीय हुँदैनन्‌ र तिनले परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको साँचो कदर गरिरहेका पनि हुँदैनन्‌। बप्तिस्माप्राप्त ख्रीष्टियनले त्यसो गरेमा मण्डलीमा पाइरहेका सुअवसरहरू गुमाउन सक्छन्‌। एकातिर परमेश्‍वरलाई आशिष्‌को लागि प्रार्थना गर्ने अनि अर्कोतिर ‘यहोवा म जानाजानी तपाईंप्रति अनाज्ञाकारी भएँ तर जसरी भए पनि मलाई आशिष्‌ दिनुहोस्‌’ भन्‍नु अतार्किक हुनेछ।

यहोवालाई सर्वोत्तम हित थाह छ

८. हामीले विवाहको सन्दर्भमा परमेश्‍वरको डोऱ्‍याइ किन खोज्नुपर्छ?

मेसिनले कसरी काम गर्छ, मेसिन बनाउनेलाई सबै थाह हुन्छ। मेसिनको पार्टपुर्जा जडान गर्नुपरेमा तिनले आवश्‍यक निर्देशन दिन सक्छन्‌। तर हामीले त्यो निर्देशन बेवास्ता गरेर आफ्नै तरिकाले जडान गर्न खोज्यौं भने के हुन्छ? परिणाम विध्वंसक हुन सक्छ। हामी पनि सुखी वैवाहिक जीवन चाहन्छौं भने यसको सुरुवातकर्ता यहोवाले दिनुभएको निर्देशन पालन गर्नुपर्छ।

९. यहोवाले किन उपहारस्वरूप विवाहको प्रबन्ध गरिदिनुभयो?

यहोवालाई मानिसजाति र विवाहबारे सबै कुरा थाह छ। मानिसहरू “फल्दै-फुल्दै, वृद्धि हुँदै” जाऊन्‌ भनेर उहाँले तिनीहरूलाई यौन आवश्‍यकतासहित सृष्टि गर्नुभयो। (उत्प. १:२८) एक्लो महसुस हुँदा कस्तो हुन्छ, यहोवालाई थाह छ। किनभने प्रथम स्त्री बनाउनुअघि नै उहाँले यसो भन्‍नुभएको थियो: “मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।” (उत्प. २:१८) विवाहबाट आनन्द उठाउन सकिन्छ भनेर पनि यहोवालाई थाह छ।—हितोपदेश ५:१५-१८ पढ्‌नुहोस्‌।

१०. विवाहित ख्रीष्टियनहरूले यौनसम्बन्धको सन्दर्भमा यहोवालाई कसरी प्रसन्‍न बनाउन सक्छन्‌?

१० पापी आदमले मानिसजातिमा पाप र त्रुटिपूर्ण अवस्था सारिदिएकोले अहिले कुनै पनि विवाह समस्यारहित छैन। तथापि परमेश्‍वरको वचन पालन गरेमा यहोवाका सेवकहरूबीच विवाह बन्धनले साँचो आनन्द ल्याउन सक्छ। उदाहरणको लागि, पति-पत्नीबीचको यौनसम्बन्धबारे पावलले के बताए, विचार गर्नुहोस्‌। (१ कोरिन्थी ७:१-५ पढ्‌नुहोस्‌) विवाहित जोडीहरूले सन्तान जन्माउनकै लागि मात्र यौनसम्बन्ध राख्नुपर्छ भनेर बाइबलले भनेको छैन। यस्तो सम्बन्धले तिनीहरूको भावनात्मक र शारीरिक आवश्‍यकता पूरा गर्न सक्छ। तर विकृत यौन क्रीडाले परमेश्‍वरलाई कुनै हालतमा खुसी बनाउँदैन। निश्‍चय पनि, ख्रीष्टियन पति-पत्नीले जीवनको यो महत्त्वपूर्ण पक्षलाई एक-अर्काप्रति कोमल स्नेह र साँचो माया देखाउँदै पूरा गर्न चाहनेछन्‌। साथै यहोवा अप्रसन्‍न हुने कुनै पनि कुरा गर्नदेखि तिनीहरू टाढै बस्नुपर्छ।

११. यहोवाप्रति विश्‍वासी भएकीले रूथले कस्तो आशिष्‌ पाइन्‌?

११ विवाह आनन्दले भरिएको हुनुपर्छ, दुःख अनि टन्टाले होइन। विशेषगरि ख्रीष्टियनहरूको घरमा चैन र शान्ति हुनुपर्छ। करिब ३,००० वर्षअघिको घटना विचार गर्नुहोस्‌। बूढी भइसकेकी विधवा नाओमी र तिनका दुई विधवा बुहारी ओर्पा र रूथ मोआबबाट यहूदा जाँदै थिए। नाओमीले ती जवान स्त्रीहरूलाई आफ्ना मानिसहरूकहाँ फर्कन आग्रह गरिन्‌। तर मोआबी रूथ नाओमीसितै टाँसिरहिन्‌। तिनी साँचो परमेश्‍वरमा विश्‍वास गर्थिन्‌। त्यसैले ‘जसको छत्रछायामुनि तिनी शरण लिन आएकी थिइन्‌, उनै यहोवाबाट आफूले पाउनुपर्ने सबै कुरा पाउने’ आश्‍वासन तिनलाई दिइयो। (रूथ १:९; २:१२) परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको मोल गर्दै रूथले पाको उमेरका बोअजसित विवाह गरिन्‌, जो परमेश्‍वरको साँचो उपासक थिए। परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारमा पुनर्जीवित भएपछि, येशूको पुर्खा बनेको कुरा थाह पाउँदा रूथ खुसी हुनेछिन्‌। (मत्ती १:१, ५, ६; लूका ३:२३, ३२) तिनी यहोवाप्रति विश्‍वासी भइन्‌ र तिनले ठूलो आशिष्‌ पाइन्‌!

सफल विवाहको लागि असल सल्लाह

१२. विवाहसम्बन्धी असल सल्लाह कहाँ पाउन सकिन्छ?

१२ विवाह सफल बनाउन हामीले जुन कुरा थाह पाउनुपर्छ, त्यो परमेश्‍वरले बताउनुभएको छ। विवाहबारे उहाँलाई जत्तिको कुनै मानिसलाई थाह छैन। विवाहबारे असल सल्लाह पाइने एक मात्र स्रोत बाइबल हो। अनि यो सधैं सही छ। उदाहरणका लागि, प्रेषित पावलले परमेश्‍वरको प्रेरणा पाएर यस्तो लेखे: “तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्‌।” (एफि. ५:३३) बाइबलमा दिइएको स्पष्ट सल्लाहलाई परिपक्व ख्रीष्टियनहरूले सजिलै बुझ्न सक्छन्‌। तर प्रश्‍नचाहिं यो हो, के तिनीहरूले उक्‍त सल्लाह लागू गर्नेछन्‌? हो, परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको साँच्चै मोल गर्छन्‌ भने तिनीहरूले त्यो सल्लाह लागू गर्नेछन्‌। a

१३. पहिलो पत्रुस ३:७ मा दिइएको सल्लाह लागू नगर्दा नतिजा कस्तो हुन सक्छ?

१३ ख्रीष्टियन पतिले आफ्नी पत्नीलाई मायालु व्यवहार गर्नुपर्छ। प्रेषित पत्रुसले लेखे: “हे पतिहरू हो, आ-आफ्ना पत्नीको मनको कुरा राम्ररी बुझेर तिनीहरूसित जीवन बिताइरहो। स्त्रीजातिलाई आफूभन्दा कोमल पात्र सम्झेर आदर गर, किनकि तिनीहरू पनि तिमीहरूजस्तै परमेश्‍वरले आफ्नो असीम अनुग्रहद्वारा दिनुहुने जीवनका उत्तराधिकारीहरू हुन्‌। यसो गऱ्‍यौ भने तिमीहरूको प्रार्थनामा बाधा पुग्नेछैन।” (१ पत्रु. ३:७) यहोवाको सल्लाह लागू नगरेमा पतिको प्रार्थनामा बाधा पुग्न सक्छ। तिनीहरू दुवैको यहोवासितको सम्बन्ध कमजोर हुन सक्छ। साथै तिनीहरूबीच तनाव, झैझगडा हुनुका साथै तिनीहरूले एक-अर्कालाई कठोर व्यवहारसमेत गर्न सक्छन्‌।

१४. मायालु पत्नीले आफ्नो परिवारमा कस्तो राम्रो प्रभाव पार्न सक्छिन्‌?

१४ यहोवाको वचन र उहाँको पवित्र शक्‍तिको निर्देशनअनुसार चल्ने पत्नीले आफ्नो घरमा शान्ति र आनन्दमय वातावरण सृजना गर्न थुप्रै कुरा गर्न सक्छिन्‌। परमेश्‍वरको डर राख्ने पतिले आफ्नी पत्नीलाई प्रेम गर्नु अनि तिनलाई शारीरिक र आध्यात्मिक सुरक्षा दिनु स्वाभाविकै हो। पत्नी आफ्नो पतिबाट माया चाहन्छिन्‌ अनि यस्तो माया पाउन तिनी पनि मायालु स्वभावको हुनुपर्छ। हितोपदेश १४:१ यसो भन्छ: “बुद्धिमान्‌ स्त्रीले आफ्नो घर निर्माण गर्छे, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे।” बुद्धिमान्‌ तथा मायालु पत्नीले सफल र आनन्दित परिवार बनाउन ठूलो योगदान दिन्छिन्‌। परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको साँच्चै मोल गरेको कुरा पनि तिनी देखाउँछिन्‌।

१५. एफिसी ५:२२-२५ मा कस्तो सल्लाह पाइन्छ?

१५ मण्डलीलाई व्यवहार गर्दा येशूले देखाउनुभएको उदाहरण अनुकरण गर्ने पति-पत्नीले परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको मोल गरेको कुरा देखाउँछन्‌। (एफिसी ५:२२-२५ पढ्‌नुहोस्‌) एक-अर्कालाई साँचो प्रेम गर्ने विवाहित व्यक्‍तिहरू नम्र हुन्छन्‌ र कुराकानी नगरी ठुस्केर बस्दैनन्‌ अनि वैवाहिक जीवनलाई असर गर्ने कुनै पनि खराब गुणहरू देखाउँदैनन्‌। यहोवाले यस्ता जोडीहरूलाई आशिष्‌ दिनुहुन्छ!

कुनै मानिसले तिनीहरूलाई नछुट्ट्याओस्‌

१६. कतिपय ख्रीष्टियनहरू किन अविवाहित रहन्छन्‌?

१६ थुप्रै व्यक्‍तिले जीवनको कुनै न कुनै मोडमा आएर विवाह गर्ने योजना बनाएका हुन्छन्‌। तर आफूलाई र यहोवालाई मन पर्ने किसिमको व्यक्‍ति भेट्टाउन नसक्दा भने यहोवाका केही सेवक अविवाहितै रहन्छन्‌। कतिले भने विवाह गर्नुपर्ने आवश्‍यकतै महसुस गर्दैनन्‌। यसरी अविवाहित रहँदा तिनीहरूले यहोवाको सेवामा धेरै समय बिताउन सक्छन्‌ र यहोवाले तोक्नुभएको सीमाभित्र रहेर अविवाहित अवस्थाको आनन्द उठाउन सक्छन्‌।—मत्ती १९:१०-१२; १ कोरि. ७:१, ६, ७, १७.

१७. (क) विवाहसम्बन्धी येशूले भन्‍नुभएको कुन कुरा हामीले मनमा राख्नुपर्छ? (ख) कुनै ख्रीष्टियनले अरूको पति वा पत्नीको लालच गर्न थालेमा तिनले तुरुन्तै के गर्नुपर्छ?

१७ विवाहित होऔं वा अविवाहित, हामी सबैले नै येशूका यी वचनहरू मनमा राख्नुपर्छ: “के तिमीहरूले पढेका छैनौ, जसले [परमेश्‍वर] मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै नर र नारी बनाउनुभयो र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌नेछ अनि आफ्नी पत्नीसित बस्नेछ र ती दुई एउटै शरीर हुनेछन्‌’? त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण, जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ती १९:४-६) अरूको पति वा पत्नीको लालच गर्नु पाप हो। (व्यव. ५:२१) कुनै ख्रीष्टियनको मनमा यस्तो लालची चाहना उब्जिएमा तिनले त्यस्तो अशुद्ध चाहना हटाउन तुरुन्तै कदम चाल्नुपर्छ। यस्तो स्वार्थी चाहना विकास हुन दिएकोले त्यस्तो कदम चाल्दा ठूलो भावनात्मक पीडा त महसुस गर्नुपर्ला तैपनि तिनले त्यो कदम चाल्नै पर्छ। (मत्ती ५:२७-३०) यस्तो सोचाइलाई बदल्नु र छली हृदयको पापी चाहनालाई दबाउनु अत्यावश्‍यक छ।—यर्मि. १७:९.

१८. यहोवाले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धप्रति हामीले कस्तो महसुस गर्नुपर्छ?

१८ यहोवा परमेश्‍वर र उहाँले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धबारे अलिकति मात्र थाह भएका अथवा थाहै नभएका मानिसहरूले समेत केही हदसम्म विवाह बन्धनप्रति कृतज्ञता देखाएका छन्‌। त्यसो हो भने “आनन्दित परमेश्‍वर” यहोवाप्रति समर्पित हामी साक्षीहरूले उहाँको सबै प्रबन्धप्रति झन्‌ कत्ति धेरै रमाहट गर्नुपर्ला अनि उहाँले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको झन्‌ कत्ति धेरै मोल गर्नुपर्ला!—१ तिमो. १:११.

[फुटनोट]

a विवाहसम्बन्धी विस्तृत जानकारीको लागि आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबको अध्याय १०११ हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

राम्रो वैवाहिक सम्बन्धले यहोवाको आदर गर्छ र परिवारका सबै सदस्यलाई अपार आनन्द दिन सक्छ

[पृष्ठ ५-मा भएको चित्र]

परमेश्‍वरले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको रूथले मोल गरिन्‌

[पृष्ठ ७-मा भएको चित्र]

के तपाईं यहोवाले उपहारस्वरूप दिनुभएको विवाहको प्रबन्धको साँच्चै मोल गरेको देखाउनुहुन्छ?