सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘फरिसीहरूको खमिरदेखि होसियार रहो’

‘फरिसीहरूको खमिरदेखि होसियार रहो’

‘फरिसीहरूको खमिरदेखि होसियार रहो’

येशूले आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुभयो: “फरिसीहरूको खमिर अर्थात्‌ कपटदेखि होसियार रहो।” (लूका १२:१) यस्तै खालको अर्को विवरण केलाउने हो भने येशूले फरिसीहरूको “शिक्षा”-लाई निन्दा गरिरहनुभएको थियो भनेर स्पष्ट हुन्छ।—मत्ती १६:१२.

बाइबलले भ्रष्ट कार्यलाई बुझाउन कहिलेकाहीं “खमिर” शब्द प्रयोग गरेको छ। फरिसीहरूको शिक्षा अनि मनोवृत्ति दुवैले नै श्रोताहरूमा भ्रष्ट प्रभाव पारेको थियो भन्‍नेमा कुनै शङ्‌का छैन। फरिसीहरूको शिक्षा किन हानिकारक थियो?

१ फरिसीहरू आफूलाई असल सम्झन्थे र सर्वसाधारणलाई तुच्छ ठान्थे।

आफूले आफूलाई असल सम्झने मनोभावबारे येशूले एउटा दृष्टान्तमा बताउनुभयो। उहाँले भन्‍नुभयो: “फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्न थाल्यो: ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसहरूजस्तो लुटाहा, बेइमान अनि चरित्रहीन छैन र यो कर उठाउने मानिसजस्तो पनि छैन। म हप्ताको दुई चोटि उपवास बस्छु अनि आफ्नो सबै आम्दानीको दशांश दिन्छु।’ तर कर उठाउने मानिस भने टाढै उभियो र उसले आफ्नो नजरसमेत स्वर्गतिर उचाल्ने आँट गरेन। अनि छाती पिटीपिटी उसले यसो भन्यो: ‘हे परमेश्‍वर, म पापीमाथि कृपा गर्नुहोस्‌।’”—लूका १८:११-१३.

कर उठाउने मानिसको नम्र मनोभावको प्रशंसा गर्दै येशूले यसो भन्‍नुभयो: “म तिमीहरूलाई भन्छु, त्यो [फरिसीभन्दा] यो मानिस परमेश्‍वरको नजरमा अझ असल ठहरियो र आफ्नो घर गयो। किनकि जसले आफूलाई उचाल्छ, ऊ खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ।” (लूका १८:१४) कर उठाउने मानिसहरूलाई बेइमान ठानिन्थ्यो तर येशूले भने तिनीहरूमध्ये जसले उहाँको शिक्षा स्वीकारे, तिनीहरूलाई मदत गर्न खोज्नुभयो। यस्तो काम गर्ने कम्तीमा पनि दुई जना मानिस—मत्ती र जक्कै—येशूका अनुयायी बने।

सायद हामीले अरूसित नभएको खुबी जन्मजातै पाएका छौं होला अथवा यहोवाको सङ्‌गठनमा जिम्मेवारीहरू पाएका छौं होला। हामीले अरूको कमीकमजोरी पनि याद गरेका हुन सक्छौं। यसले गर्दा हामीले आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍न थालेका छौं भने के गर्नुपर्छ? हामीले तुरुन्तै त्यस्तो विचार त्याग्नुपर्छ। किनभने बाइबल यसो भन्छ: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, फुर्ती लगाउँदैन, घमन्डले फुल्दैन, अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन, आवेशमा आउँदैन। यसले खराबीको हिसाब राख्दैन। यो कुकर्ममा खुसी हुँदैन तर सत्यमा खुसी हुन्छ।”—१ कोरि. १३:४-६.

प्रेषित पावलले यसो भने: “ख्रीष्ट येशू यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो।” तिनले अझै यसो भने: “यिनीहरूमध्ये मचाहिं मुख्य हुँ।” (१ तिमो. १:१५) हाम्रो मनोभाव पनि पावलको जस्तै हुनुपर्छ।

मननका लागि प्रश्‍नहरू:

के म आफू पापी हुँ र मेरो उद्धार यहोवाको असीम अनुग्रहद्वारा मात्र सम्भव छ भनेर स्वीकार्छु? अथवा लामो समयसम्म यहोवाको सेवा गरेको, उहाँको सङ्‌गठनमा सुअवसरहरू पाएको अनि जन्मजातै विशेष खुबीहरू पाएकोले गर्दा आफूलाई अरूभन्दा श्रेष्ठ ठान्छु?

२ आफू असल छु भनेर देखाउन फरिसीहरू राम्रा-राम्रा काम गर्थे। तिनीहरू प्रतिष्ठा अनि विशेष उपाधि चाहन्थे।

तर येशूले तिनीहरूबारे यसो भन्‍नुभयो: “तिनीहरू जे-जति गर्छन्‌, ती सब मानिसहरूले देखून्‌ भनेर गर्छन्‌, किनकि तिनीहरू आफ्ना जन्तर ठूलठूला बनाउँछन्‌ अनि आफ्ना लुगाको झुम्का लामा-लामा पार्छन्‌। तिनीहरू रात्रि-भोजहरूमा मुख्य-मुख्य आसन खोज्छन्‌, सभाघरहरूमा सबैभन्दा अगाडि बस्न रुचाउँछन्‌, बजारहरूमा विशेष अभिवादन चाहन्छन्‌ अनि मानिसहरूले रब्बी भनेर बोलाएको मन पराउँछन्‌।” (मत्ती २३:५-७) येशूको मनोभाव तिनीहरूको मनोभावभन्दा ठीक उल्टो थियो। परमेश्‍वरको त्रुटिरहित छोरा भए तापनि उहाँ नम्र हुनुहुन्थ्यो। एक जना मानिसले उहाँलाई “असल गुरु” भनेर बोलाउँदा उहाँले यसो भन्‍नुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्‍वरबाहेक अरू कोही छैन।” (मर्कू. १०:१८) अर्को पटक येशूले आफ्ना चेलाहरूको खुट्टा धोइदिएर तिनीहरूलाई नम्रताको पाठ सिकाउनुभयो।—यूह. १३:१-१५.

साँचो ख्रीष्टियनहरूले सँगी विश्‍वासीहरूको सेवा गर्नुपर्छ। (गला. ५:१३) यो कुरा विशेषगरि मण्डलीको निरीक्षक बन्‍न चाहनेहरूलाई लागू हुन्छ। ‘निरीक्षक बन्‍न अघि बढ्‌नु’ राम्रो कुरा हो तर अरूलाई मदत गर्ने चाहनासहित यस्तो उद्देश्‍य राखेको हुनुपर्छ। “निरीक्षक” बन्‍नु भनेको प्रतिष्ठा वा शक्‍ति प्राप्त गर्नु होइन। निरीक्षकको रूपमा सेवा गर्नेहरू येशूजस्तै “नम्र मनको” हुनुपर्छ।—१ तिमो. ३:१, ६; मत्ती ११:२९.

मननका लागि प्रश्‍नहरू:

मण्डलीका जिम्मेवार भाइहरूले थप सुअवसर देलान्‌ भन्‍ने आसमा के म अरूलाई भन्दा तिनीहरूलाई राम्रो व्यवहार गर्छु? अरूले झट्टै याद गर्ने वा प्रशंसा गर्ने खालको सेवा पो रोज्न चाहन्छु कि? के म भाइबहिनीहरूसामु चम्किन चाहन्छु?

३ फरिसीहरूको नियम र परम्पराले सर्वसाधारणलाई यहोवाको व्यवस्था पालन गर्न गाह्रो बनाइदियो।

यहोवाको उपासना कसरी गर्ने भनी देखाउन उहाँले इस्राएलीहरूलाई मोशाको व्यवस्था दिनुभयो। तर उहाँले स-सानो विवरणचाहिं दिनुभएन। उदाहरणका लागि, व्यवस्थाले विश्राम दिनमा काम गर्न निषेध गरेको थियो तर त्यस दिनमा गर्न हुने र गर्न नहुने कामको सूची भने दिएको थिएन। (प्रस्थ. २०:१०) यहोवाको व्यवस्थामा पर्याप्त जानकारी दिइएको छैन भन्‍ने सोचाइ राखेर फरिसीहरूले आ-आफ्नै नियम र परम्पराहरू थपे। तिनीहरूले मनपरी तरिकामा बनाएको नियमहरू येशूले पालन गर्नुभएन तर मोशाको व्यवस्था भने पालन गर्नुभयो। (मत्ती ५:१७, १८; २३:२३) उहाँले मोशाको व्यवस्थामा दिइएका नियमहरू पछाडि कस्तो कारण लुकेको छ, त्यो बुझ्नुभयो। अनि परमेश्‍वर आफ्ना जनहरूले कृपा र दया देखाएको चाहनुहुन्छ भनेर पनि उहाँलाई थाह थियो। आफ्ना चेलाहरूले निराश बनाउँदासमेत उहाँले दया देखाउनुभयो। उदाहरणका लागि, उहाँलाई पक्रने रात येशूले आफ्ना तीन प्रेषितलाई जागा रहन बारम्बार आग्रह गर्नुभयो तर तिनीहरू निदाइरहे। तैपनि सहानुभूति देखाउँदै उहाँले यसो भन्‍नुभयो: “मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।”—मर्कू. १४:३४-४२.

मननका लागि प्रश्‍नहरू:

के म मनपरी अनि कडा नियमहरू बनाएर मानिसहरूमाथि आफ्नै नियम लाद्‌न खोज्छु? अरूबाट माग गर्ने कुरामा के म व्यावहारिक छु?

येशूको शिक्षा र फरिसीहरूको शिक्षाबीचको भिन्‍नता विचार गर्नुहोस्‌। तपाईंले उन्‍नति गर्नुपर्ने कुनै ठाउँ छ कि? त्यसो हो भने कदम चाल्न अघि बढे कसो होला?

[पृष्ठ २८-मा भएको चित्र]

फरिसीहरूले धर्मशास्त्रका केही अंशहरू लेखेर राखिएको जन्तर लगाउँथे।—मत्ती २३:२, ५.

[पृष्ठ २९-मा भएको चित्र]

हठी फरिसीहरूजस्तो नभई नम्र ख्रीष्टियन एल्डरहरू अरूको सेवा गर्छन्‌

[पृष्ठ ३०-मा भएको चित्र]

अरूबाट माग गर्ने कुरामा के तपाईं येशूजस्तै व्यावहारिक हुनुहुन्छ?