सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“समय र ऋतुहरू”-का परमेश्‍वर यहोवामा भरोसा राख्नुहोस्‌

“समय र ऋतुहरू”-का परमेश्‍वर यहोवामा भरोसा राख्नुहोस्‌

“समय र ऋतुहरू”-का परमेश्‍वर यहोवामा भरोसा राख्नुहोस्‌

“उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई हटाउनु र बसाल्नुहुन्छ।”—दानि. २:२१.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

यहोवाले तोकेकै समयमा आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ भनेर सृष्टिले अनि पूरा भएका भविष्यवाणीहरूले कसरी देखाउँछ?

यहोवा “समय र ऋतुहरू”-का परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

यहोवाको समयतालिकालाई संसारका घटनाहरूले अनि मानव योजनाहरूले किन असर गर्दैन?

१, २. यहोवा समयलाई पूर्ण रूपमा बुझ्नुहुन्छ भनेर हामी किन भन्‍न सक्छौं?

 मा निस सृष्टि गर्नुभन्दा धेरै अघि नै यहोवा परमेश्‍वरले समय मापन गर्न सम्भव तुल्याउनुभयो। सृष्टिको चौथो दिनमा परमेश्‍वरले यसो भन्‍नुभयो: “आकाशको अन्तरमा दिन र रात छुट्ट्याउनलाई ज्योतिहरू होऊन्‌। औ चिन्हहरू, ठहराइएका चाडहरू, दिनहरू र वर्षहरूका निम्ति ती होऊन्‌।” (उत्प. १:१४, १९, २६) अनि यहोवाको इच्छाबमोजिम ठीक त्यस्तै भयो।

वैज्ञानिकहरूले समय भनेको वास्तवमा के हो भनेर अहिलेसम्म पनि बताउन सकेका छैनन्‌। एउटा विश्‍वकोश यसो भन्छ: “समय संसारको गहिरो रहस्यमध्ये एक हो। समय भनेको वास्तवमा के हो, कसैले पनि बताउन सक्दैन।” तर यहोवा भने समयलाई पूर्ण रूपमा बुझ्नुहुन्छ। किनभने उहाँले नै ‘स्वर्ग सृजनुभयो अनि पृथ्वी रच्नुभयो र बनाउनुभयो।’ साथै उहाँ ‘आदिदेखि अन्तसम्मको र प्राचीन समयदेखि अहिलेसम्म नभएका कुराहरू पनि घोषणा गर्नुहुन्छ।’ (यशै. ४५:१८; ४६:१०) यहोवा आफूले तोकेको समयमा आफ्ना उद्देश्‍यहरू पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर सृष्टि र पूरा भएका भविष्यवाणीहरूले कसरी देखाउँछ, आउनुहोस्‌ बुझौं। यो कुरा बुझ्दा हामी उहाँ र उहाँको वचन बाइबलप्रति आफ्नो विश्‍वास बलियो बनाउन सक्छौं।

यहोवाले सृष्टि गर्नुभएका कुराहरूले विश्‍वास बलियो बनाउँछ

३. निश्‍चित समयअनुसार चल्ने केही कुराको उदाहरण दिनुहोस्‌।

यहोवाले बनाउनुभएका थुप्रै कुराहरू, चाहे त्यो आँखाले देख्न सकिने होस्‌ या नसकिने, निश्‍चित समयअनुसार चल्छन्‌। उदाहरणको लागि, परमाणुहरू एउटै गतिमा चलायमान हुन्छन्‌। परमाणुद्वारा चल्ने विशेष घडीहरू आठ करोड वर्षमा एक सेकेन्ड पनि फरक पर्दैन। ग्रह तथा नक्षत्रहरूले पनि निश्‍चित समयमा गति लिन्छन्‌। आकाशमा तिनीहरू कुन ठाउँमा अवस्थित हुनेछन्‌ भन्‍ने कुराको पूर्वानुमानले मानिसहरूलाई ऋतु पत्ता लगाउन र यात्रा गर्दा सही दिशा पत्ता लगाउन मदत मिलेको छ। यहोवाले नै यी परमाणु र नक्षत्रहरू बनाउनुभएकोले उहाँ निश्‍चय नै “सामर्थ्यमा बलियो” हुनुहुन्छ र हाम्रो प्रशंसा पाउन योग्य हुनुहुन्छ।—यशैया ४०:२६ पढ्‌नुहोस्‌।

४. जीवित थोकहरू निश्‍चित समयअनुसार चल्छन्‌ भन्‍ने कुराले कसरी परमेश्‍वरको बुद्धि प्रकट गर्छ?

जीवित थोकहरू पनि समयको अधीनमा छन्‌। थुप्रै वनस्पति र जनावरको जीवनचक्र आन्तरिक घडीद्वारा चल्छ। त्यसैले चराहरूले पनि बसाइँ सर्ने समय उनीहरूमा भएको सहज ज्ञानद्वारा थाह पाउँछन्‌। (यर्मि. ८:७) मानिसहरू पनि आन्तरिक घडीद्वारा चल्छन्‌। उदाहरणका लागि, हामी दिन र रात थाह पाउन सक्छौं। कुनै यात्रु विमानबाट सात समुद्रपारिको देशमा यात्रा गर्दा उसलाई त्यहाँको नयाँ समयअनुसार आफूलाई ढाल्न केही दिन लाग्न सक्छ। त्यसैले यहोवाले सृष्टि गर्नुभएका कुराहरूमा उहाँ “समय र ऋतुहरू”-का परमेश्‍वर हुनुहुन्छ अनि उहाँ अत्यन्तै शक्‍तिशाली र बुद्धिमान्‌ हुनुहुन्छ भनी प्रमाणित गर्ने थुप्रै उदाहरण छन्‌। (भजन १०४:२४ पढ्‌नुहोस्‌) हो, यहोवा सबैभन्दा बुद्धिमान्‌ र सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ। आफ्नो उद्देश्‍य पूरा गर्न उहाँ सक्षम हुनुहुन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौं।

ठीक समयमा पूरा भएका भविष्यवाणीले विश्‍वास बलियो बनाउँछ

५. (क) मानिसजातिको भविष्यबारे थाह पाउन सक्ने एक मात्र तरिका के हो? (ख) भविष्यमा हुने घटना र त्यसको समयबारे यहोवाले किन भविष्यवाणी गर्न सक्नुहुन्छ?

सृष्टिले हामीलाई यहोवाका “अदृश्‍य गुणहरू”-बारे थुप्रै कुरा सिकाउँछ। तर ‘मानिसजातिको भविष्य कस्तो छ?’ भन्‍ने महत्त्वपूर्ण प्रश्‍नको जवाफ भने दिंदैन। (रोमी १:२०) यसको जवाफ पाउन हामीले परमेश्‍वरले आफ्नो वचन बाइबलमा बताउनुभएको कुरा अध्ययन गर्नुपर्छ। बाइबल जाँच्दा हामी ठीक-ठीक समयमै पूरा भएका भविष्यवाणीहरू पाउँछौं। अब के-के हुन बाँकी छ, त्यो पनि यहोवा प्रकट गर्न सक्नुहुन्छ किनकि उहाँलाई भविष्यबारे राम्ररी थाह छ। साथै, बाइबलले भविष्यवाणी गरेको कुरा ठीक समयमै पूरा हुन्छ किनकि यहोवा आफ्नो उद्देश्‍य र समयतालिकाअनुसारै घटनालाई मोड्‌न सक्नुहुन्छ।

६. हामीले बाइबलका भविष्यवाणीहरू बुझेको यहोवा चाहनुहुन्छ भनेर केले देखाउँछ?

यहोवा आफ्ना उपासकहरूले बाइबलका भविष्यवाणीहरू बुझेको र त्यसबाट लाभ उठाएको चाहनुहुन्छ। समयबारे परमेश्‍वरको दृष्टिकोण हाम्रोजस्तो नभए तापनि कुनै घटना हुने निश्‍चित समय तोक्दा उहाँ हामीले बुझ्ने भाषा प्रयोग गर्नुहुन्छ। (भजन ९०:४ पढ्‌नुहोस्‌) उदाहरणको लागि, प्रकाशको पुस्तकले “समय, दिन, महिना र वर्षका लागि तयार पारिएका” “चार वटा स्वर्गदूत”-बारे बताएको छ। समय, दिन, महिना र वर्ष भनेको के हो हामी बुझ्न सक्छौं। (प्रका. ९:१४, १५) तोकिएकै समयमा भविष्यवाणीहरू कसरी पूरा भए भनी बुझ्दा “समय र ऋतुहरू”-का परमेश्‍वरप्रतिको र उहाँको वचन बाइबलप्रतिको हाम्रो विश्‍वास बलियो हुन्छ। आउनुहोस्‌, हामी केही उदाहरण विचार गरौं।

७. यहोवाले सधैं नै आफूले तोकेकै समयमा उद्देश्‍य पूरा गर्नुहुन्छ भनेर यरूशलेम र यहूदाबारे यर्मियाले गरेको भविष्यवाणीको पूर्तिले कसरी देखाउँछ?

सर्वप्रथम हामी ईसापूर्व सातौं शताब्दीमा के भयो, विचार गरौं। “योशियाहको छोरो यहूदाका राजा यहोयाकीमको शासनकालको चौथो वर्षमा” यहोवाको वचन “यर्मिया अगमवक्‍ताकहाँ आयो।” (यर्मि. २५:१) यहोवाले यरूशलेमको विनाशबारे र यहूदीहरू यहूदाबाट बेबिलोनको निर्वासनमा लगिनेबारे भविष्यवाणी गर्नुभयो। त्यहाँ तिनीहरूले “सत्तरी वर्षसम्म बाबेलको राजाको सेवा” गर्नेथिए। बेबिलोनी सेनाले ईसापूर्व ६०७ मा यरूशलेम विनाश गऱ्‍यो अनि नभन्दै यहूदीहरूलाई यहूदाबाटै बेबिलोनको निर्वासनमा लगियो। तर ७० वर्षपछि के हुनेथियो? यर्मियाले यस्तो भविष्यवाणी गरेका थिए: “परमप्रभु भन्‍नुहुन्छ, ‘बाबेलको सत्तरी वर्ष पूरा भएपछि म तिमीहरूको सुधि लिनेछु र मेरो प्रतिज्ञा म पूरा गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु।’” (यर्मि. २५:११, १२; २९:१०) यो भविष्यवाणी ठीक समयमै अर्थात्‌ ईसापूर्व ५३७ मा मादी र फारसले यहूदीहरूलाई बेबिलोनबाट मुक्‍त गर्दा पूरा भयो।

८, ९. मसीह देखा पर्नेबारे र स्वर्गीय राज्यको स्थापनाबारे दानियलले गरेका भविष्यवाणीहरूले यहोवा “समय र ऋतुहरू”-का परमेश्‍वर हुनुहुन्छ भनेर कसरी देखाउँछ?

प्राचीन समयका परमेश्‍वरका जनहरूलाई असर गर्ने विषयमा गरिएको अर्को भविष्यवाणी पनि विचार गर्नुहोस्‌। यरूशलेमको पुनर्निर्माण हुने आदेश दिइएको ४८३ वर्षपछि मसीह देखा पर्नेछन्‌ भनेर परमेश्‍वरले दानियलमार्फत भविष्यवाणी गर्नुभयो। यो भविष्यवाणी यहूदीहरूले बेबिलोन छोड्‌नुभन्दा करिब दुई वर्षअघि गरिएको थियो। ईसापूर्व ४५५ मा मादी-फारसी राजाले यरूशलेमको पुनर्निर्माण गर्ने आदेश दिए। त्यसको ठ्याक्कै ४८३ वर्षपछि अर्थात्‌ इस्वी संवत्‌ २९ मा नासरतका येशूले बप्तिस्मा गर्दा उहाँ पवित्र शक्‍तिद्वारा अभिषेक हुनुभयो र यसप्रकार उहाँ मसीह हुनुभयो। aनहे. २:१, ५-८; दानि. ९:२४, २५; लूका ३:१, २, २१, २२.

बाइबलले परमेश्‍वरको राज्यबारे गरेको भविष्यवाणी पनि विचार गर्नुहोस्‌। बाइबल भविष्यवाणीले सन्‌ १९१४ मा स्वर्गमा मसीही राज्य स्थापना हुने विषयमा सङ्‌केत गऱ्‍यो। उदाहरणको लागि, बाइबलले येशूको उपस्थितिको “चिन्ह” दियो र सैतानलाई स्वर्गबाट फ्याँकिने हुनाले पृथ्वीमा ठूलो कष्ट हुनेछ भनी बतायो। (मत्ती २४:३-१४; प्रका. १२:९, १२) साथै, बाइबलका अरू भविष्यवाणीले पनि “राष्ट्रहरूलाई दिइएको समय” ठ्याक्कै सन्‌ १९१४ मा पूरा हुनेछ अनि येशूले स्वर्गमा शासन गर्न थाल्नुहुनेछ भनेर सङ्‌केत गऱ्‍यो।—लूका २१:२४; दानि. ४:१०-१७. b

१०. भविष्यमा कस्तो घटनाहरू तोकिएकै समयमा हुनेछ?

१० येशूले भविष्यवाणी गर्नुभएको “महासङ्‌कष्ट” अब चाँडै आउनेछ। त्यसपछि हजार वर्षीय राज्य सुरु हुनेछ। यी सब कुरा तोकिएकै समयमा हुनेछ भन्‍ने कुरामा कुनै शङ्‌का छैन। येशू यस पृथ्वीमा हुनुअघि नै यहोवाले यी घटनाहरू हुने “दिन र समय” तोकिसक्नुभएको थियो।—मत्ती २४:२१, ३६; प्रका. २०:६.

“समयको पूर्ण सदुपयोग गर”

११. हामी अन्तको समयमा बाँचिरहेका छौं भन्‍ने बुझाइले हामीलाई कस्तो असर गर्नुपर्छ?

११ राज्य-शासन सुरु भइसकेको छ र हामी “अन्तको समय”-मा बाँचिरहेका छौं भन्‍ने बुझाइले हामीलाई कस्तो असर गर्नुपर्छ? (दानि. १२:४) संसारको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको कुरा थुप्रैले देखेका छन्‌ तर यसले अन्तको दिनबारे बाइबलले गरेको भविष्यवाणी पूरा गर्दैछ भनेर मानिसहरू बुझ्दैनन्‌। तिनीहरूमध्ये कतिले कुनै न कुनै दिन मानिसले नियन्त्रण नै गर्न नसक्नेगरि अवस्था बिग्रनेछ भनी सोच्छन्‌। अनि अरू कतिचाहिं मानिसको प्रयासले “शान्ति र सुरक्षा” ल्याउनेछ भन्‍ने विश्‍वास गर्छन्‌। (१ थिस्स. ५:३) तर हामी नि? सैतानको संसार अन्त हुनै लागेको समयमा बाँचिरहेका छौं भनेर विश्‍वास गर्छौं भने के हामीले बाँकी रहेको समयलाई “समय र ऋतुहरू”-का परमेश्‍वरको सेवा गर्न र अरूलाई पनि उहाँबारे सिकाउन प्रयोग गर्नुपर्दैन र? (२ तिमो. ३:१) हामी आफ्नो समयको प्रयोग कसरी गर्छौं, त्यसबारे बुद्धिमानी निर्णय गर्नुपर्छ।—एफिसी ५:१५-१७ पढ्‌नुहोस्‌।

१२. नूहको दिनबारे येशूले भन्‍नुभएको कुराबाट हामी के सिक्न सक्छौं?

१२ अलमल्याउने कुराहरू संसारमा थुप्रै भएकोले ‘समयको पूर्ण सदुपयोग गर्नु’ सजिलो छैन। येशूले यस्तो चेतावनी दिनुभयो: “नूहको दिन जस्तो थियो, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ।” नूहको दिन कस्तो थियो? त्यस समयको संसार अन्त हुनेछ भनेर भविष्यवाणी गरिएको थियो। दुष्ट मानिसहरू विश्‍वव्यापी जलप्रलयमा डुब्नेथिए। “परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार गर्ने” व्यक्‍तिको रूपमा नूहले आफ्नो समयका मानिसहरूलाई विश्‍वासी भई परमेश्‍वरको सन्देश सुनाए। (मत्ती २४:३७; २ पत्रु. २:५) तर तिनीहरू “खाँदै अनि पिउँदै थिए, विवाह गर्दै अनि गराउँदै थिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगेसम्म तिनीहरूले यादै गरेनन्‌।” त्यसकारण येशूले आफ्ना अनुयायीहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिमीहरूले पनि आफू तयार रहेको प्रमाण देओ, किनकि तिमीहरूले नचिताएको समयमा मानिसको छोरा आउँदैछ।” (मत्ती २४:३८, ३९, ४४) हामीले नूहजस्तै हुने प्रयास गर्नुपर्छ, त्यतिबेलाका मानिसहरूजस्तो होइन। तयार रहन हामीलाई कुन कुराले मदत गर्छ?

१३, १४. यहोवाबारे कुन कुरा सम्झ्यौं भने मानिसको छोरा आउने दिन पर्खंदै गर्दा विश्‍वासी भई यहोवाको सेवा गर्न सक्नेछौं?

१३ मानिसको छोरा हामीले नचिताएको समयमा आउने भए तापनि यहोवाले तोकेकै समयमा आफ्नो उद्देश्‍य पूरा गर्नुहुन्छ भन्‍ने कुरा हामीले बिर्सनुहुँदैन। संसारमा घट्‌ने घटना तथा मानव योजनाहरूले उहाँको समयतालिकालाई असर गर्दैन। आफ्नो उद्देश्‍य पूरा गर्न कुनै घटना कहिले घटाउने र त्यसको नतिजा कस्तो निकाल्ने उहाँ निर्णय गर्न सक्नुहुन्छ। (दानियल २:२१ पढ्‌नुहोस्‌) वास्तवमा हितोपदेश २१:१ यसो भन्छ: “राजाको हृदय परमप्रभुको हातमा हुन्छ, खोलाको पानीझैं जता मन लाए उतै उहाँले फर्काउनुहुन्छ।”

१४ आफ्नो उद्देश्‍य ठीक समयमै पूरा गर्न यहोवाले घटनालाई नियन्त्रणमा लिन सक्नुहुन्छ। संसारका विभिन्‍न महत्त्वपूर्ण घटनाले बाइबल भविष्यवाणीलाई पूरा गरिरहेको छ, विशेषगरि परमेश्‍वरको राज्यबारे गरिने विश्‍वव्यापी प्रचारसम्बन्धी भविष्यवाणीलाई। उदाहरणका लागि, तानाशाह वा साम्यवादी सरकारहरूले शासन गरेका मुलुकहरूमा के भयो, विचार गर्नुहोस्‌। यी मुलुकहरूमा एकाएक ठूलो राजनैतिक परिवर्तन होला भनेर सायद कमैले मात्र सोचेका थिए होलान्‌। तर यस्ता परिवर्तनले गर्दा पहिला प्रतिबन्ध लगाइएका मुलुकहरूमा समेत अहिले सुसमाचार प्रचार भइरहेको छ। त्यसकारण “समय र ऋतुहरू”-का परमेश्‍वर यहोवाको विश्‍वासी भई सेवा गर्न समयको पूर्ण सदुपयोग गरौं।

यहोवाको समयतालिकामा विश्‍वास गर्नुहोस्‌

१५. यहोवाको सङ्‌गठनले केही परिवर्तन गर्दा हामी कसरी विश्‍वास देखाउन सक्छौं?

१५ यस अन्तको समयमा राज्य प्रचारकार्यमा लागिरहन यहोवाको समयतालिकामाथि विश्‍वास गर्नु आवश्‍यक छ। संसारको अवस्था परिवर्तन हुँदै जाँदा चेला बनाउने काम पूरा गर्न केही परिवर्तन गर्नुपर्ने हुन सक्छ। प्रभावकारी तरिकामा सुसमाचार प्रचार गर्नको लागि यहोवाको सङ्‌गठनले कहिलेकाहीं केही परिवर्तन गर्न सक्छ। यी परिवर्तनलाई पूर्ण समर्थन गरेर अनि “मण्डलीको शिर” येशूको अधीनमा बस्दै सेवाको काममा लागेर हामी “समय र ऋतुहरू”-का परमेश्‍वरप्रति विश्‍वास गरेको देखाउँछौं।—एफि. ५:२३.

१६. यहोवाले चाहिएकै बेला मदत गर्नुहुनेछ भन्‍ने कुरामा हामी किन ढुक्क हुन सक्छौं?

१६ यहोवाले “चाहिएकै बेला मदत” गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्क हुँदै हामीले जुनसुकै समयमा पनि प्रार्थना गरेको उहाँ चाहनुहुन्छ। (हिब्रू ४:१६) के यसले यहोवा हामी व्यक्‍तिविशेषप्रति मायालु चासो राख्नुहुन्छ भनेर देखाउँदैन र? (मत्ती ६:८; १०:२९-३१) मदतको लागि नियमित रूपमा यहोवालाई प्रार्थना गरेर अनि उहाँको निर्देशन पछ्याएर हामी उहाँलाई विश्‍वास गरेको देखाउँछौं। साथै, हामी सँगी विश्‍वासीहरूको निम्ति पनि प्रार्थना गर्न बिर्संदैनौं।

१७, १८. (क) यहोवाले चाँडै नै आफ्ना शत्रुहरूविरुद्ध कस्तो कदम चाल्नुहुनेछ? (ख) हामीले कस्तो सोचाइ राख्नुहुँदैन?

१७ अहिलेको समय ‘विश्‍वास डगमगिन दिने’ समय होइन; विश्‍वासमा अझ दह्रो हुने समय हो। (रोमी ४:२०) परमेश्‍वरको शत्रु सैतान र त्यसको प्रभावमा परेकाहरू, येशूले हामीलाई सुम्पनुभएको काम रोक्न लागिपरेका छन्‌। (मत्ती २८:१९, २०) सैतानले हामीलाई आक्रमण गरे तापनि यहोवा ‘सबै किसिमका मानिसहरू र अझ विशेष गरी विश्‍वासी जनहरूको उद्धार’ गर्ने “जीवित परमेश्‍वर” हुनुहुन्छ भनेर हामीलाई थाह छ। “परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट जोगाउने . . . सो यहोवा जान्‍नुहुन्छ।”—१ तिमो. ४:१०; २ पत्रु. २:९.

१८ चाँडै नै यहोवाले यस दुष्ट युगको अन्त गर्नुहुनेछ। यो कहिले र कसरी हुनेछ भन्‍नेबारे हामीलाई ठ्याक्कै त थाह छैन तर तोकिएकै समयमा येशूले परमेश्‍वरका शत्रुहरूलाई नाश गर्नुहुनेछ र शासन गर्ने यहोवाको अधिकारलाई प्रमाणित गर्नुहुनेछ भनेर चाहिं हामीलाई थाह छ। त्यसैले हामी बाँचिरहेको “समय र बेला” बुझ्न नसक्नु कत्ति ठूलो भुल हुनेछ! “सृष्टिको सुरुवातदेखि सबै कुरा जसरी चल्दै आएको थियो, . . . त्यसरी नै चलिरहेको छ” भन्‍ने सोचाइ कहिल्यै नराखौं।—१ थिस्स. ५:१; २ पत्रु. ३:३, ४.

‘परमेश्‍वरको बाटो हेर्दै बस्नुहोस्‌’

१९, २०. हामीले किन पर्खने मनोवृत्ति राख्नुपर्छ?

१९ मानिसलाई सृष्टि गर्दा यहोवा परमेश्‍वरले तिनीहरू सधैंभरि बाँचून्‌ र उहाँबारे अनि उहाँको सृष्टिबारे धेरै कुरा सिकून्‌ भन्‍ने उद्देश्‍य राख्नुभएको थियो। उपदेशक ३:११ यसो भन्छ: “सबै काम त्यसको समयानुकुल उहाँले [यहोवाले] बनाउनुभएको छ। त्यसबाहेक उहाँले मानिसलाई बितेको समय र आउने समयको चेतना दिनुभएको छ, तर शुरुदेखि अन्तसम्म परमेश्‍वरको कार्य बुझ्ने शक्‍ति दिनुभएको छैन।”

२० यहोवाले मानिसजातिको लागि राखेको उद्देश्‍य परिवर्तन गर्नुभएको छैन भनेर थाह पाउनु कत्ति खुसीको कुरा! (मला. ३:६) परमेश्‍वर “सरिरहने छायाजस्तो . . . परिवर्तन भइरहनुहुन्‍न।” (याकू. १:१७) पृथ्वी घुम्दा छाया सर्छ तर यहोवालाई त्यसले कुनै फरक पार्दैन। उहाँ “युगयुगका महाराजा” हुनुहुन्छ। (१ तिमो. १:१७) त्यसकारण आउनुहोस्‌, ‘हामीलाई बचाउनुहुने परमेश्‍वरको बाटो हेरौं।’ (मीका ७:७) अनि बाइबलमा बताइएजस्तै ‘परमप्रभुमा आशा राखौं, बलियो होऔं, र हाम्रो हृदयमा साहस आओस्‌।’—भज. ३१:२४.

[फुटनोटहरू]

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १९-मा भएको चित्र]

परमेश्‍वरले गर्नुभएको भविष्यवाणी पूरा हुनेछ भनेर दानियल विश्‍वास गर्थे

[पृष्ठ २१-मा भएको चित्र]

यहोवाको इच्छा पूरा गर्न के तपाईं समयको सही सदुपयोग गर्नुहुन्छ?