यहोवाको सेवालाई किन पहिलो स्थान दिनुपर्छ?
यहोवाको सेवालाई किन पहिलो स्थान दिनुपर्छ?
“मेरो मुखले तपाईंको धार्मिकता र तपाईंबाट हुने उद्धारको विषयमा दिनभरि बोल्नेछ।”—भज. ७१:१५.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
नूह, मोशा, यर्मिया अनि पावलले यहोवाको सेवालाई किन पहिलो स्थान दिए?
जीवनमा के गर्ने भनी निर्णय गर्न तपाईंलाई कुन कुराले मदत गर्नेछ?
यहोवाको सेवालाई पहिलो स्थान दिन तपाईं किन कटिबद्ध हुनुहुन्छ?
१, २. (क) यहोवाप्रति समर्पित हुनुको अर्थ के हो? (ख) नूह, मोशा, यर्मिया अनि पावलले गरेको छनौट विचार गर्दा हामी कसरी लाभ उठाउन सक्छौं?
आफूलाई परमेश्वरमा समर्पण गरेर येशूको बप्तिस्माप्राप्त अनुयायी बन्दा तपाईंले जीवनमा सबैभन्दा गम्भीर निर्णय गरिरहनुभएको हुन्छ। एक अर्थमा तपाईंले यहोवालाई यसो भनिरहनुभएको हुनेछ: ‘यहोवा, मेरो जीवनको हरेक पक्षमा तपाईं मेरो मालिक भएको म चाहन्छु। म तपाईंको दास हुँ। आफ्नो समय कसरी चलाउने, कुन कुरालाई प्राथमिकता दिने अनि मेरो क्षमता र मसित भएका कुराहरू कसरी चलाउने भन्ने सन्दर्भमा म तपाईंबाटै निर्देशन चाहन्छु।’
२ तपाईं समर्पित ख्रीष्टियन हुनुहुन्छ भने तपाईंले यहोवासित यस्तै प्रतिज्ञा गर्नुभएको थियो। तपाईंले गर्नुभएको निर्णयको लागि तपाईंको प्रशंसा गर्नैपर्छ। किनकि यसो गरेर तपाईंले सही र बुद्धिमानी कदम चाल्नुभयो। तर अहिले यहोवालाई आफ्नो मालिकको रूपमा स्वीकारिसकेकोले तपाईं आफ्नो समयको प्रयोग कसरी गर्दै हुनुहुन्छ? नूह, मोशा, यर्मिया र प्रेषित पावलको उदाहरणले हामीलाई आफ्नो अवस्था जाँच्न मदत गर्नेछ। तिनीहरू सबैले यहोवाको सेवामा यथासक्दो गरे। हाम्रो अवस्था पनि तिनीहरूको जस्तै छ। तिनीहरूले गरेको निर्णयले तिनीहरू कुन कुरालाई प्रथम स्थान दिन्थे भनी देखाउँछ। अनि हामी आफ्नो समय कसरी प्रयोग गर्दैछौं भनी जाँच्न उत्प्रेरित गर्छ।—मत्ती २८:१९, २०; २ तिमो. ३:१.
जलप्रलयअघि
३. हाम्रो समय कसरी नूहको समयसित मिल्दोजुल्दो छ?
३ येशूले हाम्रो समयलाई नूहको समयसित तुलना गर्नुभयो। उहाँले भन्नुभयो: “नूहको दिन जस्तो थियो, मानिसको छोराको उपस्थिति पनि त्यस्तै हुनेछ। . . . तिनीहरू खाँदै अनि पिउँदै थिए, विवाह गर्दै अनि गराउँदै थिए। अनि जलप्रलय आएर तिनीहरू सबैलाई स्वात्तै नलगेसम्म तिनीहरूले यादै गरेनन्।” (मत्ती २४:३७-३९) आज अधिकांश मानिसहरू यो ढिलासुस्ती गर्ने समय होइन भन्ने कुरालाई वास्तै नगरी आफ्नो जीवन बिताउँछन्। परमेश्वरका जनहरूले घोषणा गर्ने चेतावनीलाई बेवास्ता गर्छन्। अझ थुप्रैले त, परमेश्वरले मानिसजातिको गतिविधिमा हस्तक्षेप गर्नुहुन्छ भन्ने कुरालाई नूहको समयका मानिसहरूले जस्तै गिल्ला गर्छन्। (२ पत्रु. ३:३-७) त्यस्तो कठिन अवस्थामा नूहले आफ्नो समयको प्रयोग कसरी गरे?
४. यहोवाबाट आज्ञा पाएपछि नूहले आफ्नो समय कसरी प्रयोग गरे अनि किन?
४ परमेश्वरले दुष्टहरूलाई नाश गर्नुहुनेछ भनी बुझेपछि अनि उहाँबाट आज्ञा पाएपछि नूहले मानिसहरू र जनावरहरूलाई बचाउन जहाज बनाए। (उत्प. ६:१३, १४, २२) यहोवाले ल्याउन लाग्नुभएको न्यायबारे पनि नूहले घोषणा गरे। प्रेषित पत्रुसले नूहलाई “परमेश्वरको न्यायोचित स्तरबारे प्रचार गर्ने” मानिस भनी बताए। नूहले आफू वरपरका मानिसहरूलाई तिनीहरूको अवस्था कत्तिको गम्भीर छ भनी बुझ्न मदत गरेको कुरा यसबाट देखिन्छ। (२ पत्रुस २:५ पढ्नुहोस्) के नूह अनि तिनको परिवारले आफ्नो व्यापार बढाउन, आफू वरपरका मानिसहरूले भन्दा धेरै सफलता हासिल गर्न अथवा आरामदायी जीवनशैली बिताउन खोज्नु बुद्धिमानी हुनेथियो? पटक्कै हुने थिएन। भविष्यमा के हुनेछ भनी थाह पाएकोले तिनीहरूले आफूलाई अलमलिन दिएनन्।
मिश्री राजकुमारले गरेको छनौट
५, ६. (क) मोशाले पाएको शिक्षाले सम्भवतः तिनलाई कुन कुराको लागि तयार बनाउनेथियो? (ख) मिश्रमा पाउन सक्ने अवसरहरूलाई मोशाले किन लत्याए?
५ अब हामी मोशाको उदाहरण विचार गरौं। तिनी फिरऊनकी छोरीको छोराको रूपमा मिश्री दरबारमा हुर्के। जवान राजकुमारको हैसियतमा तिनी ‘मिश्रीहरूको सारा विद्यामा निपुण’ थिए। (प्रेषि. ७:२२; प्रस्थ. २:९, १०) यस शिक्षाले तिनलाई फिरऊनको दरबारमा सेवा गर्न तयार बनाउनेथियो। तिनी त्यस समयको सबैभन्दा शक्तिशाली सरकारको गण्यमान्य मानिस हुन सक्थे। त्यो ओहदामा रहेर तिनले सुखसुविधा तथा मान-सम्मान पाउन सक्थे। तर के मोशाको उद्देश्य यी कुराहरू प्राप्त गर्नु थियो?
६ मोशाले सानैमा आफ्नो आमाबाबुबाट प्रशिक्षण पाएका थिए। यसकारण यहोवाले तिनका पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित गर्नुभएको प्रतिज्ञाबारे तिनलाई थाह भएको हुनुपर्छ। तिनले ती प्रतिज्ञाहरूमा विश्वास गरे। तिनले आफ्नो भविष्यबारे र यहोवाप्रतिको आफ्नो वफादारीबारे राम्ररी सोचेको हुनुपर्छ। त्यसैले मिश्रका राजकुमार बन्ने कि इस्राएली दास बन्ने भनी छनौट गर्नुपर्दा मोशाले के गरे? मोशाले “पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।” (हिब्रू ११:२४-२६ पढ्नुहोस्) पछि तिनले जीवन बिताउने सन्दर्भमा यहोवाको डोऱ्याइ पछ्याए। (प्रस्थ. ३:२, ६-१०) मोशाले किन त्यसो गरे? किनकि तिनी परमेश्वरको प्रतिज्ञामाथि विश्वास गर्थे अनि तिनलाई मिश्रमा पाउने सफलता लामो समयसम्म टिक्नेछैन भनी थाह थियो। हुन पनि केही समय नबित्दै त्यो राष्ट्रमाथि परमेश्वरले दस विपत्ति ल्याउनुभयो। यहोवाप्रति समर्पित सेवकहरूले यसबाट कस्तो पाठ सिक्न सक्छन्? आफ्नो भविष्य बनाउने अथवा यस संसारको सुखसुविधा प्राप्त गर्ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा हामीले यहोवा र उहाँको सेवा गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ।
यर्मियालाई भविष्यमा हुन लागेको कुरा थाह थियो
७. यर्मियाको अवस्था कसरी हाम्रो अवस्थासित मिल्दोजुल्दो थियो?
७ यहोवाको सेवालाई पहिलो स्थान दिने अर्का व्यक्ति भविष्यवक्ता यर्मिया थिए। धर्मत्यागी यरूशलेम र यहूदामाथि न्यायदण्ड घोषणा गर्न यहोवाले यर्मियालाई भविष्यवक्ताको रूपमा छान्नुभयो। एक अर्थमा भन्ने हो भने, यर्मिया “पछिल्ला दिनमा” बाँचिरहेका थिए। (यर्मि. २३:१९, २०) तिनलाई आफू बाँचिरहेको संसार रहिरहने छैन भनी राम्ररी थाह थियो।
८, ९. (क) बारूकको सोचाइ किन सच्याउनुपऱ्यो? (ख) योजनाहरू बनाउँदा हामीले कुन कुरा मनमा राख्नुपर्छ?
८ आफ्नो विश्वासको कारण यर्मिया कस्तो कुराबाट अलग बसे? विनाश हुनै लागेको संसारमा तिनले भविष्य बनाउने प्रयास गरेनन्। त्यसो गर्नु त मूर्खता मात्र हुनेथियो। तर यर्मियाको सचिव बारूकले भने फरक तरिकाले सोच्न थाले। त्यसकारण उनलाई यसो भन्नू भनी परमेश्वरले यर्मियालाई अह्राउनुभयो: “हेर, जे मैले बनाएको छु, त्यो म भत्काइरहेछु। औ जे मैले रोपेको छु, त्यो म उखेलिरहेछु—अर्थात् यो सारा देशनै। के तँचाहिं आफ्नै निम्ति ठूला कुराहरू खोज्छस्? ती नखोज्। किनकि हेर्, म सबै प्राणीमाथि विपत्ति ल्याइरहेछु, तर तँ जहाँ जान्छस् ती सबै ठाउँमा तेरो प्राण म तँलाई युद्धको लूटको धनसरह छोडिदिनेछु।”—यर्मि. ४५:४, ५.
९ बारूकले आफ्ना लागि कस्ता “ठूला कुराहरू” खोजिरहेका थिए भनेर हामी पक्का छैनौं। a तर तिनले खोजिरहेका कुराहरू सधैंभरि रहिरहने थिएनन् भनेरचाहिं हामीलाई थाह छ। ती कुराहरू ईसापूर्व ६०७ मा बेबिलोनीहरूले यरूशलेममाथि विजय हासिल गर्दा नष्ट हुनेथिए। यसबाट तपाईं कस्तो पाठ सिक्न सक्नुहुन्छ? भविष्यको लागि हामीले केही योजना बनाउनुपर्ने हुन सक्छ। (हितो. ६:६-११) तर सधैंभरि नरहने कुराहरूको लागि अत्यधिक समय र शक्ति खर्च गर्नु कत्तिको बुद्धिमानी हो? हुनत हो, यहोवाको सङ्गठनले नयाँ राज्यभवन, शाखा कार्यालय अनि अरू ईश्वरतान्त्रिक गतिविधिको योजना बनाउने कामलाई निरन्तरता दिइरहेको छ। तर यसको उद्देश्य भने फरक छ। यी कुराहरूले राज्य गतिविधि अघि बढाउन मदत गर्छ। त्यसैले यहोवामा समर्पित सेवकहरूले योजना बनाउँदा परमेश्वरको राज्यले प्राथमिकता पाएको हुनुपर्छ। के तपाईंले “उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान” दिइरहनुभएको छ?—मत्ती ६:३३.
“ती कुराहरूलाई रद्दी ठान्छु”
१०, ११. (क) ख्रीष्टियन हुनुअघि पावलले कुन कुरामा ध्यान केन्द्रित गरेका थिए? (ख) पावलको प्राथमिकता किन पूर्णतया परिवर्तन भयो?
१० अन्तमा पावलको उदाहरण विचार गरौं। तिनी ख्रीष्टियन हुनुअघि मानिसहरूको नजरमा तिनको भविष्य उज्ज्वल देखिन्थ्यो। तिनले त्यतिबेलाको प्रख्यात शिक्षकमध्ये एक जनाबाट यहूदी व्यवस्था सिकेका थिए। तिनले यहूदी प्रधान पुजारीबाट अख्तियार पाएका थिए। यहूदी धर्ममा आफ्ना दौंतरीहरूले भन्दा धेरै उन्नति गरेका थिए। (प्रेषि. ९:१, २; २२:३; २६:१०; गला. १:१३, १४) तर यहोवाले यहूदीहरूलाई राष्ट्रको रूपमा आशिष् दिन छोडिसक्नुभयो भनी थाह पाउँदा पावलको जीवनमा पूरै परिवर्तन आयो।
११ यहूदी समाजमा भविष्य बनाउनु यहोवाको दृष्टिमा बेकार हो भनी पावलले बुझे। त्यस राष्ट्रको कुनै भविष्य थिएन। (मत्ती २४:२) पावलले परमेश्वरको उद्देश्य बुझेका थिए र प्रचार गर्नु ठूलो सुअवसर हो भनी तिनलाई थाह थियो। आफूले पहिला प्राथमिकता दिने गरेको कुरालाई तिनले “रद्दी” अर्थात् फोहोरसमेत भने। तिनले यहूदी धर्म छोडे र बाँकी जीवन सुसमाचार प्रचार गर्नमा लगाए।—फिलिप्पी ३:४-८, १५ पढ्नुहोस्; प्रेषि. ९:१५.
प्राथमिकता केलाउनुहोस्
१२. बप्तिस्मापछि येशूले आफ्नो ध्यान कुन कुरामा लगाउनुभयो?
१२ नूह, मोशा, यर्मिया, पावल अनि अरू थुप्रैले आफ्नो धेरै समय र शक्ति ईश्वरतान्त्रिक गतिविधिमा लगाए। तिनीहरू हाम्रो लागि राम्रा उदाहरण हुन्। तर यहोवाका समर्पित सेवकहरूमध्ये सबैभन्दा उत्कृष्ट उदाहरण येशू हुनुहुन्छ। (१ पत्रु. २:२१) बप्तिस्मापछि येशूले पृथ्वीको आफ्नो बाँकी जीवन सुसमाचार प्रचार गर्न र यहोवाको महिमा गर्न प्रयोग गर्नुभयो। त्यसैले येशूको उदाहरण अनुकरण गर्ने अनि यहोवालाई आफ्नो मालिकको रूपमा स्वीकार्ने प्रत्येक ख्रीष्टियनले यहोवाको सेवालाई प्राथमिकता दिनुपर्छ। के तपाईं पनि यहोवाको सेवालाई प्राथमिकता दिनुहुन्छ? तपाईं कसरी यहोवाको सेवा गर्दै अरू जिम्मेवारी पनि पूरा गर्न सक्नुहुन्छ?—भजन ७१:१५; १४५:२ पढ्नुहोस्।
१३, १४. (क) सबै समर्पित ख्रीष्टियनलाई कुन कुरा विचार गर्न प्रोत्साहन दिइएको छ? (ख) परमेश्वरका जनहरूले कस्तो सन्तुष्टि अनुभव गर्न सक्छन्?
१३ वर्षौंदेखि यहोवाको सङ्गठनले ख्रीष्टियनहरूलाई अग्रगामी सेवा गर्न सकिन्छ कि भनी प्रार्थनापूर्वक विचार गर्न पटक-पटक प्रोत्साहन दिएको छ। तर विभिन्न परिस्थितिले गर्दा यहोवाका केही विश्वासी सेवकले महिनाको ७० घण्टा प्रचारकार्यमा बिताउन सकेका छैनन्। तर तिनीहरू निराश हुनुपर्दैन। (१ तिमो. ५:८) तपाईंको अवस्थाचाहिं कस्तो छ? के तपाईं अग्रगामी सेवा गर्न सक्नुहुन्छ?
१४ यस वर्षको स्मरणार्थको महिनामा परमेश्वरका थुप्रै जनले महसुस गरेको आनन्दबारे सोच्नुहोस्। मार्च महिनामा गरिएको एउटा विशेष प्रबन्धबाट सहायक अग्रगामीहरूले क्षेत्र सेवामा ३० घण्टा बिताउने कि ५० घण्टा बिताउने भनेर छनौट गर्न पाए। (भज. ११०:३) लाखौंले सहायक अग्रगामी सेवा गरे अनि तपाईं आफैले पनि मण्डलीमा खुसी, उमङ्ग छाएको महसुस गर्नुभयो होला। समय-समयमा सहायक अग्रगामी सेवा गर्न के तपाईं आफ्नो तालिकामा छाँटकाँट गर्न सक्नुहुन्छ? अग्रगामी सेवा गर्ने ख्रीष्टियनले हरेक दिनको अन्तमा ठूलो सन्तुष्टिका साथ यसो भन्न सक्नेछन्: “यहोवा, तपाईंको सेवामा मैले गर्न सक्ने जत्ति सबै गरें।”
१५. ख्रीष्टियन जवानहरूले कस्तो लक्ष्य राखेर सांसारिक शिक्षा हासिल गर्नुपर्छ?
१५ यदि तपाईं स्कूले जीवन सिद्धिन लागेको जवान हुनुहुन्छ भने सायद तपाईंको स्वास्थ्य राम्रो होला अनि जिम्मेवारी पनि धेरै नहोला। के तपाईंले नियमित अग्रगामी सेवा सुरु गर्ने विषयमा गम्भीर भई सोच्नुभएको छ? हुनत तपाईंका स्कूलका शिक्षकहरू उच्च शिक्षा हासिल गर्नु भनेको भविष्यको राम्रो जग बसाल्नु हो भन्ने सोचाइ राख्लान्। तर तिनीहरूको भरोसा अनन्त भविष्य नभएको सामाजिक र आर्थिक प्रणालीमा आधारित छ। अर्कोतर्फ तपाईंले यहोवाको सेवालाई नै आफ्नो करिअर बनाउनुभएको छ भने तपाईंले समयको सदुपयोग गरिरहनुभएको हुनेछ र अनन्त भविष्य पनि पाउनुहुनेछ। अनि तपाईंले येशूको उत्कृष्ट उदाहरण पछ्याइरहनुभएको हुनेछ। यस्तो बुद्धिमानी निर्णयले तपाईंलाई आनन्दित तुल्याउनेछ। यसले तपाईंलाई सुरक्षा दिनेछ। अनि यसले तपाईं यहोवाप्रतिको समर्पणअनुरूपै जीवन बिताउन कटिबद्ध हुनुहुन्छ भन्ने कुरा पनि देखाउनेछ।—मत्ती ६:१९-२१; १ तिमो. ६:९-१२.
१६, १७. काम अनि अन्य गतिविधिको सन्दर्भमा कस्ता प्रश्नहरू उठ्छन्?
१६ आज परमेश्वरका थुप्रै सेवकले आफ्नो परिवारको आधारभूत आवश्यकता पूरा गर्न घण्टौं काम गर्छन्। तर कतिले चाहिं चाहिनेभन्दा बढी काम गरिरहेका हुन सक्छन्। (१ तिमो. ६:८) अनि व्यापार-जगत्ले पनि बजारमा आउने प्रत्येक नयाँ सरसामान हाम्रो लागि नभई नहुने कुरा हो भनी विश्वस्त पार्न भरमग्दुर प्रयास गर्छ। तर साँचो ख्रीष्टियनहरू सैतानको संसारले आफ्नो प्राथमिकता निर्धारण गरिदिएको चाहँदैनन्। (१ यूह. २:१५-१७) अनि कामबाट अवकाश पाएका व्यक्तिहरूका लागि अग्रगामी सेवा गरेर यहोवाको सेवालाई पहिलो स्थान दिनुभन्दा उत्तम कुरा अरू के नै होला र?
१७ यहोवाका सबै समर्पित सेवकहरूले आफूलाई यस्तो प्रश्न गर्न सक्छन्: ‘मेरो जीवनमा सबैभन्दा मुख्य कुरा के हो? के मैले राज्य गतिविधिलाई पहिलो स्थान दिइरहेको छु? के म येशूको आत्मत्यागी मनोभाव अनुकरण गर्छु? के म येशूको सल्लाह पालन गर्दै उहाँको पछि लाग्छु? राज्य प्रचारकार्यमा अथवा अन्य ईश्वरतान्त्रिक गतिविधिमा अझ धेरै समय दिन के म आफ्नो तालिकामा छाँटकाँट गर्न सक्छु? अहिले मेरो परिस्थितिको कारण सेवाको काममा धेरै समय दिन नसके पनि के म आत्मत्यागी मनोभाव देखाइरहन्छु?’
“इच्छा गर्न र त्यसअनुसार काम गर्न सकोस्”
१८, १९. तपाईं केको लागि प्रार्थना गर्न सक्नुहुन्छ र यस्तो बिन्तीले यहोवालाई किन खुसी बनाउनेछ?
१८ परमेश्वरका जनहरू जोसिलो भएको हेर्न पाउनु साँच्चै आनन्दको कुरा हो। तर कोही-कोहीचाहिं परिस्थितिले साथ दिए पनि अग्रगामी सेवा गर्न चाहँदैनन् वा अग्रगामी सेवा गर्न आफू योग्य नभएको महसुस गर्छन्। (प्रस्थ. ४:१०; यर्मि. १:६) तपाईं पनि त्यस्तै महसुस गर्नुहुन्छ भने नि? के यसलाई प्रार्थनामा समावेश गर्नु उपयुक्त होइन र? पक्कै पनि हो। पावलले सँगी विश्वासीहरूलाई यसो भने: “तिमीहरूले इच्छा गर्न र त्यसअनुसार काम गर्न सकोस् भनेर परमेश्वरले नै आफूले चाहेअनुसार तिमीहरूभित्र काम गरिरहनुभएको छ।” (फिलि. २:१३) यदि तपाईंमा सेवाको काममा अझ धेरै समय बिताउने चाहना छैन भने त्यस्तो चाहना र क्षमता प्राप्त गर्न यहोवालाई प्रार्थना गर्नुहोस्।—२ पत्रु. ३:९, ११.
१९ नूह, मोशा, यर्मिया, पावल अनि येशू यहोवाप्रति समर्पित व्यक्तिहरू थिए। तिनीहरूले आफ्नो समय र शक्ति यहोवाको चेतावनीमूलक सन्देश घोषणा गर्नमा लगाए। तिनीहरूले आफूलाई अलमलिन दिएनन्। यस युगको अन्त नजिकै छ। त्यसैले परमेश्वरप्रति समर्पित हामी सबैले बाइबलमा उल्लिखित यी व्यक्तिहरूको उत्कृष्ट उदाहरण पछ्याउन सक्दो गरिरहेका छौं कि छैनौं भनी पक्का गर्नुपर्छ। (मत्ती २४:४२; २ तिमो. २:१५) यसो गरेर हामी यहोवालाई खुसी बनाउन सक्छौं र उहाँबाट आशिष् पाउन सक्छौं।—मलाकी ३:१० पढ्नुहोस्।
[फुटनोट]
a अक्टोबर १, २००८ को प्रहरीधरहरा, पृष्ठ १३, अनुच्छेद ७-९ हेर्नुहोस्।
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ २१-मा भएको चित्र]
मानिसहरूले नूहको चेतावनी सुनेनन्
[पृष्ठ २४-मा भएको चित्र]
के तपाईंले नियमित अग्रगामी सेवा सुरु गर्ने विषयमा गम्भीर भई सोच्नुभएको छ?