सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो परिवारलाई जम्मा गर्ने “परमेश्‍वर एउटै हुनुहुन्छ!”

आफ्नो परिवारलाई जम्मा गर्ने “परमेश्‍वर एउटै हुनुहुन्छ!”

आफ्नो परिवारलाई जम्मा गर्ने “परमेश्‍वर एउटै हुनुहुन्छ!”

‘म तिमीहरूलाई बिन्ती गर्छु, पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहो।’ —एफि. ४:१, ३.

तपाईं कसरी व्याख्या गर्नुहुन्छ?

परमेश्‍वरको प्रबन्धको उद्देश्‍य के हो?

हामी कसरी “पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन” सक्छौं?

‘एक-अर्काप्रति दयालु हुन’ हामीलाई केले मदत गर्नेछ?

१, २. पृथ्वी र मानिसजातिको लागि यहोवाले कस्तो उद्देश्‍य राख्नुभएको छ?

 परिवार। यो शब्द सुन्‍नेबित्तिकै तपाईंको मनमा कस्तो कुरा आउँछ? के तपाईं प्रेम र आनन्दबारे सोच्नुहुन्छ? कुनै लक्ष्य हासिल गर्न परिवारसितै मिलेर काम गरेको सोच्नुहुन्छ कि? अथवा आफू हुर्कन, केही कुरा सिक्न अनि आफ्नो विचार आदानप्रदान गर्न सक्ने एउटा सुरक्षित ठाउँबारे सोच्नुहुन्छ? यदि तपाईंको परिवार मायालु छ भने यस्तै कुरा मनमा आउँछ होला। परिवारको सुरुवातकर्ता यहोवा हुनुहुन्छ। (एफि. ३:१४, १५) उहाँको उद्देश्‍य स्वर्ग र पृथ्वीका आफ्ना सबै सृष्टिले सुरक्षित महसुस गरून्‌, एक-अर्कालाई भरोसा गरून्‌ र साँचो एकता कायम राखून्‌ भन्‍ने थियो।

आदम र हव्वाले पाप गरेपछि मानिसजाति परमेश्‍वरको परिवारको भाग हुन सकेनन्‌ तर उहाँको उद्देश्‍य परिवर्तन भएन। पछि उहाँले आदम र हव्वाको सन्तानद्वारा प्रमोदवनरूपी पृथ्वी भर्नुहुनेछ। (उत्प. १:२८; यशै. ४५:१८) उहाँले आफ्नो उद्देश्‍य पूरा गर्न सबै कुराको तयारी गर्नुभएको छ। यीमध्ये थुप्रै प्रबन्धबारे बाइबलको एफिसीको पुस्तकमा उल्लेख गरिएको पाउँछौं। यस पुस्तकमा एकताबारे जोड दिइएको छ। अब हामी यस पुस्तकका केही पदहरू छलफल गरौं र सृष्टिलाई एकतामा ल्याउने यहोवाको उद्देश्‍यलाई साथ दिन हामी के गर्न सक्छौं, विचार गरौं।

परमेश्‍वरको प्रबन्ध र त्यसको काम

३. एफिसी १:१० मा चर्चा गरिएको परमेश्‍वरको प्रबन्धले केलाई बुझाउँछ अनि यसको पहिलो चरण कहिले सुरु भयो?

मोशाले इस्राएलीहरूलाई यसो भने: “परमप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ!” (व्यव. ६:४) यहोवाको हरेक काम उहाँको उद्देश्‍यसित मेल खान्छ। स्वर्ग र पृथ्वीमा भएका सबैलाई एउटै परिवारको रूपमा जम्मा गर्नको लागि परमेश्‍वरले तयारी सुरु गरिसक्नुभएको छ। बाइबलमा यस तयारीलाई “एउटा प्रबन्ध” भनिएको छ। (एफिसी १:८-१० पढ्‌नुहोस्‌) यस प्रबन्धले दुई चरणमा आफ्नो उद्देश्‍य पूरा गर्नेछ। पहिलो चरणले अभिषिक्‍त ख्रीष्टियनहरूलाई स्वर्गीय जीवनको लागि तयार पार्छ। उनीहरू येशू ख्रीष्टको अधीनमा बस्नेछन्‌। यो चरण इस्वी संवत्‌ ३३ मा सुरु भयो जतिबेला यहोवाले स्वर्गमा ख्रीष्टसित शासन गर्नेहरूलाई जम्मा गर्न थाल्नुभयो। (प्रेषि. २:१-४) यी अभिषिक्‍त ख्रीष्टियनहरू ख्रीष्टको फिरौतीको बलिदानको आधारमा असल ठहरिसकेको हुनाले उनीहरूलाई आफूहरू “परमेश्‍वरका सन्तान”-को रूपमा स्वीकारिएको कुरा थाह छ।—रोमी ३:२३, २४; ५:१; ८:१५-१७.

४, ५. परमेश्‍वरको प्रबन्धको दोस्रो चरणले के गर्छ?

दोस्रो चरणले ख्रीष्टको राज्यअन्तर्गत पार्थिव प्रमोदवनमा रहनेहरूलाई तयार पार्छ। प्रमोदवनमा बस्ने पहिलो समूह “ठूलो भीड” हुनेछ। (प्रका. ७:९, १३-१७; २१:१-५) हजार वर्षीय शासनको दौडान अरबौं मानिसहरू पुनर्जीवित हुनेछन्‌ र त्यो समूहमा सामेल हुनेछन्‌। (प्रका. २०:१२, १३) त्यतिबेला हामीले एकतामा रहेको कुरा देखाउने कत्ति धेरै मौका पाउनेछौं, सोच्नुहोस्‌ त! हजार वर्षीय शासनको अन्तमा “पृथ्वीमा भएका कुराहरू”-को अन्तिम जाँच हुनेछ। विश्‍वासी साबित हुनेहरूलाई पृथ्वीमा “परमेश्‍वरको सन्तानको” रूपमा स्वीकारिनेछ।—रोमी ८:२१; प्रका. २०:७, ८.

आज यहोवाले अभिषिक्‍त ख्रीष्टियनहरूलाई स्वर्गीय जीवनको लागि अनि अरू भेडालाई पार्थिव प्रमोदवनमा जीवन बिताउनको लागि तयार पार्दै हुनुहुन्छ। तर हामी प्रत्येकले अहिले परमेश्‍वरको प्रबन्धलाई कसरी साथ दिन सक्छौं?

‘पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहनुहोस्‌’

६. ख्रीष्टियनहरूले एकअर्कासित सङ्‌गत गर्नुपर्छ भनेर कस्ता बाइबल पदहरूले देखाउँछ?

बाइबलले ख्रीष्टियनहरू एक साथ भेला हुनै पर्छ भनेर बताउँछ। (१ कोरि. १४:२३; हिब्रू १०:२४, २५) तर यसको मतलब, बजारमा वा रङ्‌गशालामा भेला भएका मानिसहरूले जस्तो एक ठाउँमा बसेर केही समय बिताउनु मात्र होइन। साँचो एकतामा अरू कुरा पनि मुछिएको छ। यहोवाको निर्देशन लागू गऱ्‍यौं अनि उहाँको पवित्र शक्‍तिद्वारा आफूलाई डोरिन दियौं भने मात्र हामी साँचो एकता प्राप्त गर्न सक्छौं।

७. ‘पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहनुको’ अर्थ के हो?

यहोवाले ख्रीष्टको फिरौतीको बलिदानको आधारमा अभिषिक्‍त ख्रीष्टियनहरूलाई आफ्नो छोराको रूपमा असल ठहराउनुभएको छ अनि ठूलो भीडलाई मित्रको रूपमा असल ठहराउनुभएको छ। तैपनि यस युगमा बाँचुन्जेल व्यक्‍तिगत मतभिन्‍नता देखा परिरहन्छ। (रोमी ५:९; याकू. २:२३) त्यसो नहुँदो हो त बाइबलले हामीलाई ‘एक-अर्कालाई सहिरहो’ भन्‍ने थिएन। सङ्‌गी विश्‍वासीहरूसित एकतामा रहन हामी के गर्न सक्छौं? हामीले “सधैं विनम्र र कोमल” हुन सिक्नुपर्छ। साथै पावलले हामीलाई “शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास” गरिरहन आग्रह गरे। (एफिसी ४:१-३ पढ्‌नुहोस्‌) यो सल्लाह लागू गर्ने एउटा तरिका परमेश्‍वरको शक्‍तिद्वारा आफूलाई डोरिन दिनु अनि यसको फल फलाउनु हो। शरीरका कामहरू अर्थात्‌ परमेश्‍वरले घृणा गर्ने कुराहरूबाट पनि हामी टाढै बस्नुपर्छ। पवित्र शक्‍तिको फलले अरूसितको समस्या समाधान गर्न मदत गर्छ र एकतामा बाँध्छ। तर शरीरका कामहरूले हामीमा फूट ल्याउँछ।

८. शरीरका कामहरूले कुन अर्थमा फूट ल्याउँछ?

“शरीरका कामहरू”-ले कसरी फूट ल्याउँछ, याद गर्नुहोस्‌। (गलाती ५:१९-२१ पढ्‌नुहोस्‌) कुनै व्यक्‍तिले अवैध यौनसम्बन्ध राखेमा यहोवा र उहाँको सङ्‌गठनसितको उसको सम्बन्ध टुट्‌छ। अनि पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्दा यसले परिवारलाई ठूलो पीडा दिन्छ अनि छोराछोरीलाई आमाबाबुबाट र निर्दोष जोडीलाई आफ्नो पति वा पत्नीबाट अलग्याउन सक्छ। अशुद्धपनले कुनै व्यक्‍तिलाई परमेश्‍वरसित र उसलाई प्रेम गर्नेहरूसित एकतामा रहन गाह्रो बनाउँछ। दुई वस्तु आपसमा टाँस्ने हो भने ती दुवै वस्तु सफा हुनुपर्छ नि, होइन र? छाडा आचरण भएको व्यक्‍तिले परमेश्‍वरको स्तरलाई पूर्णतया अनादर गर्छ। शरीरका अन्य कामहरूले पनि मानिसहरूलाई एक-अर्काबाट अनि परमेश्‍वरबाट अलग्याउँछ। यस्तो आचरण परमेश्‍वरको व्यक्‍तित्वसित पटक्कै मेल खाँदैन।

९. “पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास” गरिरहेका छौं कि छैनौं भनेर हामी आफैलाई कसरी जाँच्न सक्छौं?

त्यसैले हामी प्रत्येकले आफैलाई यी प्रश्‍नहरू सोध्नुपर्छ: “‘शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन’ म कत्तिको उत्कट प्रयास गर्दैछु? अरूसितको सम्बन्धमा समस्या खडा हुँदा म कस्तो प्रतिक्रिया देखाउँछु? के म धेरै जनाको समर्थन पाउने आशामा दुखेसो पोख्दै हिंड्‌छु? शान्तिमय सम्बन्ध बनाउन आफैले अथक प्रयास गर्नुको साटो एल्डरहरूले नै समस्या सुल्झाइदिएको पो चाहन्छु कि? कुनै व्यक्‍तिको मसित केही समस्या छ भने उसले गुनासो गर्ला भनेर तर्की-तर्की हिंड्‌छु कि?” यसो गर्छौं भने सबै कुरालाई ख्रीष्टमा फेरि जम्मा गर्ने यहोवाको उद्देश्‍यअनुरूप चलिरहेका हुन्छौं र?

१०, ११. (क) भाइबहिनीहरूसित शान्तिमा रहनु कत्तिको महत्त्वपूर्ण छ? (ख) शान्ति कायम गर्न अनि यहोवाको आशिष्‌ पाउन हामी के गर्न सक्छौं?

१० येशूले भन्‍नुभयो: “तिमीले वेदीमा आफ्नो भेटी चढाउन ल्याउँदा तिम्रो विरुद्धमा तिम्रो भाइसित केही गुनासो छ भन्‍ने तिमीलाई झल्याँस्स याद आयो भने आफ्नो भेटी त्यहीं वेदीअगाडि छोड र गएर पहिले आफ्नो भाइसित मिलाप गर अनि फर्केर आएपछि आफ्नो भेटी चढाऊ। तिमीलाई मुद्दा लगाउने मानिससित बाटोमा छँदै तुरुन्तै सम्झौता गरिहाल।” (मत्ती ५:२३-२५) “जसले शान्ति कायम गर्छ, उसले शान्तिपूर्ण अवस्थामा त्यसको बीउ छर्छ र त्यसबाट असल फल बटुल्छ” भनी याकूबले लेखे। (याकू. ३:१७, १८) त्यसैले शान्ति कायम नगरिकन हामी असल कामलाई निरन्तरता दिन सक्दैनौं।

११ यो कुरा बुझ्न एउटा उदाहरण विचार गर्नुहोस्‌। युद्ध भइरहने केही देशमा जमिनमुनि बिछ्याइएको विष्फोटक पदार्थको चिन्ता लिनु नपरेको भए किसानहरूले हालको भन्दा ३५ प्रतिशत बढी जमिन उत्पादनको लागि प्रयोग गर्न सक्थे। जमिनमुनि बिछ्याइएका त्यस्ता पदार्थ विष्फोट भएपछि किसानहरूले त्यहाँ खेतीपाती लगाउनै छोड्‌छन्‌। यसो हुँदा गाउँका मानिसहरूले काम पाउँदैनन्‌ अनि सहरमा पनि खानेकुराको सङ्‌कट हुन्छ। त्यसैगरि हामीमा भाइबहिनीसितको शान्ति भङ्‌ग गर्ने खालको व्यक्‍तित्व छ भने हाम्रो आध्यात्मिकता प्रगति हुन सक्दैन। तर हामीले अरूलाई तुरुन्तै क्षमा गऱ्‍यौं अनि अरूको भलाइ हुने तरिकामा काम गऱ्‍यौं भने शान्ति कायम गर्न र यहोवाको आशिष्‌ पाउन सक्छौं।

१२. एकतामा रहन एल्डरहरूले हामीलाई कसरी मदत गर्न सक्छन्‌?

१२ परमेश्‍वरले ‘वरदानको रूपमा दिनुभएको पुरुषहरूले’ पनि हामीलाई ‘विश्‍वासमा एकरूपता हासिल गर्न’ मदत गर्छन्‌। (एफि. ४:८, १३) एल्डरहरूले हामीसित पवित्र सेवामा भाग लिंदा अनि हामीलाई परमेश्‍वरको वचनमा आधारित सल्लाह दिंदा तिनीहरूले हामीलाई नयाँ व्यक्‍तित्व धारण गर्न मदत गरिरहेका हुन्छन्‌। (एफि. ४:२२-२४) तिनीहरूको सल्लाहद्वारा यहोवाले तपाईंलाई नयाँ संसारको लागि तयार पार्दै हुनुहुन्छ भनेर नबिर्सनुहोस्‌। एल्डरहरू हो, के तपाईं यही उद्देश्‍य मनमा राखेर अरूलाई सच्याउनुहुन्छ?—गला. ६:१.

“एक-अर्काप्रति दयालु होओ”

१३. एफिसी ४:२५-३२ मा दिइएको सल्लाह पालन नगरेमा के हुन्छ?

१३ एफिसी ४:२५-२९ ले हामी अलग रहनै पर्ने आचरणहरूबारे बताउँछ। हामीले झूट बोल्नु हुँदैन, क्रोध गर्नु हुँदैन अनि अल्छी हुनु हुँदैन। साथै सडेको वचन निकाल्नुको साटो हामीले असल वा उत्थानदायी कुरा बोल्नुपर्छ। कसैले यो सल्लाह पालन गर्दैन भने उसले परमेश्‍वरको पवित्र शक्‍तिलाई दुःखी बनाइरहेको हुन्छ किनकि पवित्र शक्‍ति त मानिसहरूलाई एकतामा बाँध्ने शक्‍ति हो। (एफि. ४:३०) शान्ति र एकता कायम राख्न पावलले लेखेको अर्को कुरा पनि हामीले लागू गर्नुपर्छ: “हरकिसिमको कटुता, रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने बानीका साथै सबै किसिमका खराबी त्याग। बरु एक-अर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा देखाओ। त्यसैगरि, परमेश्‍वरले ख्रीष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एक-अर्कालाई खुला मनले क्षमा गर।”—एफि. ४:३१, ३२.

१४. (क) “दयालु होओ” भन्‍ने अभिव्यक्‍तिले केलाई सङ्‌केत गर्छ? (ख) दयालु हुन हामीलाई कुन कुराले मदत गर्छ?

१४ “दयालु होओ” भन्‍ने अभिव्यक्‍तिले हामी दया देखाउन कतै न कतै चुकिरहेका छौं र उन्‍नति गर्नुपर्ने ठाउँ अझै छ भनी सङ्‌केत गर्छ। हामीले आफ्नो होइन तर अरूको भावनालाई महत्त्व दिन सिक्नु नितान्त जरुरी छ। (फिलि. २:४) कहिलेकाहीं हामी अरूलाई हँसाउन वा आफूलाई बुद्धिमान्‌ जस्तो देखाउन केही कुरा भन्‍न चाहन्छौं होला। तर के यसो गर्नु दयालु कुरा हो? यस्तो कुरा पहिल्यै विचार गर्दा हामी ‘दयालु हुने’ मदत पाउँछौं।

परिवारमा प्रेम र आदर देखाउन सिक्नुहोस्‌

१५. एफिसी ५:२८ ले पतिहरूलाई ख्रीष्टको अनुकरण गर्न कसरी मदत गर्छ?

१५ बाइबलले येशू र मण्डलीको सम्बन्धलाई पति र पत्नीको सम्बन्धसित तुलना गरेको छ। यो तुलनाले पतिले आफ्नी पत्नीलाई डोऱ्‍याउनु, प्रेम गर्नु र हेरविचार गर्नु आवश्‍यक छ भनी बुझाउँछ भने पत्नीहरू पनि पतिको अधीनमा बस्नुपर्छ भनेर बुझाउँछ। (एफि. ५:२२-३३) पावलले यस्तो पनि लेखे: “त्यसैगरि, पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।” “त्यसैगरि” भनेर पावलले के भन्‍न खोजिरहेका थिए? (एफि. ५:२८) तिनले यसभन्दा अघि उल्लेख गरेका शब्दहरूमा हामी यसको जवाफ पाउँछौं। “परमेश्‍वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस्‌” भनेर “ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो” भनी तिनले लेखे। वास्तवमा सबै कुरा ख्रीष्टमा फेरि जम्मा गर्ने यहोवाको उद्देश्‍यअनुरूप चल्न पतिले परिवारलाई आध्यात्मिक रूपमा पालन पोषण गर्नै पर्छ।

१६. आमाबाबुले आफ्नो धर्मशास्त्रीय जिम्मेवारी पूरा गर्दा नतिजा कस्तो हुन्छ?

१६ छोराछोरीको रेखदेख गर्ने जिम्मेवारी यहोवाले नै दिनुभएको हो भनेर आमाबाबुले सम्झनुपर्छ। तर दुःखको कुरा, आजको संसारमा धेरै जनासित “स्वाभाविक स्नेह” छैन। (२ तिमो. ३:१, ३) थुप्रै बुबाले आफ्नो जिम्मेवारी पूरा गरेका छैनन्‌। यसले गर्दा छोराछोरीमा नराम्रो असर परेको छ र तिनीहरू निराश भएका छन्‌। तर पावलले ख्रीष्टियन बुबाहरूलाई यस्तो सल्लाह दिए: “आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, बरु यहोवाको डोऱ्‍याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।” (एफि. ६:४) छोराछोरीले प्रेम गर्न सिक्ने र अख्तियारको अधीनमा बस्न सिक्ने सबैभन्दा राम्रो वातावरण परिवारमा बाहेक अन्त कहाँ पाउलान्‌ र? छोराछोरीलाई यस्तो शिक्षा राम्ररी सिकाउने आमाबाबुहरू यहोवाको प्रबन्धअनुरूप चलिरहेका हुन्छन्‌। सबै रिस, क्रोध अनि दुर्वचनबाट अलग बसेर घरलाई मायालु छहारी बनाउँदा आमाबाबुले छोराछोरीलाई प्रेम देखाउन र अख्तियारप्रति आदर देखाउन सिकाइरहेका हुन्छन्‌। यसले छोराछोरीलाई नयाँ संसारको लागि तयार बनाउनेछ।

१७. दियाबलको प्रतिरोध गर्न कुन कुरा आवश्‍यक छ?

१७ विश्‍वव्यापी शान्तिमा खलल पुऱ्‍याउने दियाबलले परमेश्‍वरको इच्छा पूरा गर्ने हाम्रो प्रयासको पनि तीव्र विरोध गर्छ भनेर हामीले थाह पाउनुपर्छ। आज मानिसहरूले सम्बन्धविच्छेद गरेर, विवाह नगरिकन सँगै बसेर अनि समलिङ्‌गी विवाह स्वीकारेर सैतानको चाहना पूरा गरिरहेका छन्‌। तर संसार जता-जता जान्छ, हामी त्यतै-त्यतै जान चाहँदैनौं। हाम्रो नमुना ख्रीष्ट हुनुहुन्छ। (एफि. ४:१७-२१) त्यसैले सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूको प्रतिरोध गर्न हामीलाई “परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण” गर्न सल्लाह दिइएको छ।एफिसी ६:१०-१३ पढ्‌नुहोस्‌।

“प्रेमको बाटोमा हिंडिरहो”

१८. एकतामा रहन के गर्नुपर्छ?

१८ एकतामा रहने हो भने हामीले प्रेम धारण गर्नुपर्छ। हामी “एकै जना प्रभु” येशू ख्रीष्टलाई, ‘एकै जना परमेश्‍वर’ यहोवालाई अनि एक-अर्कालाई प्रगाढ प्रेम गर्छौं। त्यसैले हामी “शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन” कटिबद्ध छौं। (एफि. ४:३-६) येशूले त्यस्तो प्रेमबारे यसरी प्रार्थना गर्नुभयो: “म यिनीहरूको निम्ति मात्र होइन तर यिनीहरूको वचनमार्फत ममाथि विश्‍वास गर्नेहरूको निम्ति पनि बिन्ती गर्छु, ताकि तिनीहरू सबै एक होऊन्‌। हे बुबा, जसरी तपाईं मसित एकतामा हुनुहुन्छ अनि म तपाईंसित एकतामा छु, त्यसैगरि तिनीहरू पनि हामीसित एकतामा होऊन्‌ . . . साथै, मैले तिनीहरूलाई तपाईंको नाम प्रकट गरेको छु र प्रकट गर्नेछु, ताकि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै तिनीहरूले पनि प्रेम गरून्‌ र म तिनीहरूसित एकतामा हुन सकूँ।”—यूह. १७:२०, २१, २६.

१९. तपाईं के गर्न कटिबद्ध हुनुहुन्छ?

१९ हामीले आफ्नो व्यक्‍तित्वमा छाँटकाँट गर्नुपर्ने केही कुरा हुन सक्छ। त्यस्तो छाँटकाँट गर्न गाह्रो भए तापनि प्रेमले हामीलाई दाऊदले जस्तै यसरी प्रार्थना गर्न उत्प्रेरित गर्छ: “तपाईंको नाउँको डर राख्न मेरो मन एक चित्तको पार्नुहोस्‌।” (भज. ८६:११) हाम्रो मायालु बुबा यहोवाबाट र उहाँको अनुमोदन पाएकाहरूबाट हामीलाई अलग्याउने दियाबलको प्रयासलाई प्रतिरोध गर्न कटिबद्ध होऔं। “प्यारा केटाकेटीहरूझैं परमेश्‍वरको देखासिकी” गर्न कडा प्रयत्न गरौं र परिवारमा, प्रचारकार्यमा अनि मण्डलीमा “प्रेमको बाटोमा” हिंडिरहौं।—एफि. ५:१, २.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २९-मा भएको चित्र]

आफ्नो भेटी वेदीअगाडि छोडेर भाइसित मिलाप गर्न जाँदै

[पृष्ठ ३१-मा भएको चित्र]

आमाबाबु हो, आफ्ना छोराछोरीलाई अरूको आदर गर्न सिकाउनुहोस्‌