सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—इक्वेडरमा

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—इक्वेडरमा

तिनीहरूले राजीखुसीले आफैलाई अर्पण गरे—इक्वेडरमा

इटाली-का जवान भाइ ब्रुनोले जीवनमा एउटा ठूलो निर्णय गर्नुपर्ने भयो। तिनले भर्खरै मात्र कक्षामा उत्कृष्ट अङ्‌क हासिल गरेर हाई स्कुल सिध्याएका थिए। तिनलाई आफन्त तथा शिक्षकहरूले उच्च शिक्षा हासिल गर्न दबाब दिइरहेका थिए। तर ब्रुनोले केही वर्ष अघि मात्र आफ्नो जीवन यहोवामा समर्पण गरेका थिए र उहाँको इच्छालाई जीवनमा पहिलो स्थान दिने वाचा गरेका थिए। त्यसोभए तिनले कस्तो निर्णय गरे? तिनी भन्छन्‌: “आफ्नो समर्पणअनुरूपै जीवन बिताउँछु र यहोवालाई जीवनमा पहिलो स्थान दिन्छु भनेर प्रार्थना गरें। साथै म आफ्नो जीवन निरस भएको चाहन्‍नँ, बरु विभिन्‍न तरिकामा उहाँको सेवा गरेर रमाइलो जीवन बिताउन चाहन्छु भनेर पनि इमानदार भई बताएँ।”

केही वर्षपछि ब्रुनो दक्षिण अमेरिकाको इक्वेडरमा बस्न गए। तिनी भन्छन्‌: “यहोवाले मेरो प्रार्थनाको जवाफ मैले आशा गरेभन्दा राम्रो तरिकामा दिनुभयो।” यहोवाको अझ धेरै सेवा गर्न त्यहाँ आएका थुप्रै युवाहरूलाई भेट्‌दा तिनी छक्क परे।

‘यहोवालाई जाँचेर हेर्ने’ युवाहरू

संसारभरका हजारौं युवाहरूले जस्तै ब्रुनोले पनि यहोवाको यो निम्तो स्वीकारे: “मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ।” (मला. ३:१०) परमेश्‍वरप्रतिको प्रेमले उत्प्रेरित भएर यो निम्तो स्वीकार्ने युवाहरूले राज्य उद्‌घोषकहरूको आवश्‍यकता धेरै भएको मुलुकमा सेवा गर्न आफ्नो समय, शक्‍ति र स्रोतसाधन राजीखुसीले खर्च गर्ने निर्णय गरेका छन्‌। यसरी तिनीहरूले ‘यहोवालाई जाँचेर हेरेका छन्‌।’

नयाँ ठाउँमा आउनेबित्तिकै यी इच्छुक खेतालाहरूले “फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌” भन्‍ने यथार्थलाई प्रत्यक्ष अनुभव गरेका छन्‌। (मत्ती ९:३७) उदाहरणको लागि, जर्मनीकी याक्लीनले उत्साहित हुँदै इक्वेडर शाखालाई यस्तो पत्र पठाइन्‌: “मैले इक्वेडरमा सेवा गरेको भर्खरै दुई वर्ष नाघ्यो। तर मैले १३ जनासित बाइबल अध्ययन गर्न सकेकी छु, जसमध्ये ४ जना त नियमित रूपमा सभा आउँछन्‌। कत्ति खुसीको कुरा नि, होइन र?” क्यानाडाकी स्यान्टल यसो भन्छिन्‌: “सन्‌ २००८ मा म इक्वेडरको समुद्री तटमा अवस्थित इलाकामा सरें। त्यहाँ एउटा मात्र मण्डली थियो। तर अहिले तीनवटा मण्डली र ३० जनाभन्दा धेरै अग्रगामी छन्‌। यत्ति धेरै नयाँ मानिसहरूले प्रगति गरेको देख्न पाउनुभन्दा खुसीको कुरा अरू केही छैन।” तिनी यसो पनि भन्छिन्‌: “म हालै ९,००० फिट (२,७४३ मि) उचाइमा अवस्थित एण्डीज पर्वतको एउटा सहरमा बसाइँ सरें। त्यस सहरमा ७५,००० भन्दा धेरै मानिसहरू छन्‌ तर एउटा मात्र मण्डली छ। यो एकदमै फलदायी इलाका हो। मैले प्रचारकार्यबाट साँच्चै आनन्द उठाइरहेकी छु।”

सामना गर्नुपर्ने चुनौतीहरू

विदेशमा गएर सेवा गर्नु पक्कै पनि सजिलो छैन। वास्तवमा भन्‍नुपर्दा, केही जवानहरूले नयाँ ठाउँमा सर्नुअघि नै चुनौतीहरू सामना गर्छन्‌। अमेरिकाकी केला यसो भन्छिन्‌: “मण्डलीका केही भाइबहिनीले असलै सोच राखेर नकारात्मक प्रतिक्रिया देखाउँदा म निराश भएँ। अग्रगामी सेवा गर्न म किन विदेश जान खोज्दैछु भनेर उनीहरूले बुझेनन्‌। कहिलेकाहीं म यस्तो सोच्ने गर्थें, ‘के म सही निर्णय गर्दैछु?’” तैपनि केलाले बसाइँ सर्ने निधो गरिन्‌। तिनी भन्छिन्‌: “थुप्रै पटक यहोवालाई प्रार्थना गरेपछि र परिपक्व भाइबहिनीहरूसित कुराकानी गरेपछि यहोवाले इच्छुक मनोभावलाई आशिष्‌ दिनुहुन्छ भनेर बुझ्न सकें।”

थुप्रैका लागि नयाँ भाषा सिक्नु अर्को चुनौती हो। आयरल्याण्डकी साबोन यसरी सम्झन्छिन्‌: “मनको कुरा व्यक्‍त गर्न नसक्दा मलाई गाह्रो हुन्थ्यो। मैले धीरजी हुन सिक्नुपऱ्‍यो, लगनशील भएर भाषा अध्ययन गर्नुपऱ्‍यो अनि उल्टोपाल्टो बोल्दा आफै देखेर हाँस्नुपऱ्‍यो।” इस्टोनियाकी आन्‍ना पनि यसो भन्छिन्‌: “स्पेनिस भाषा सिक्नु साह्रै गाह्रो थियो। यसको तुलनामा उखरमाउलो गर्मी, धुलाम्मे वातावरण, नुहाउनको लागि तातो पानीको अभावजस्ता कुराहरू केही थिएनन्‌। कहिलेकाहीं त म हरेस खान्थें। मैले आफ्नो गल्तीमा होइन तर आफ्नो उन्‍नतिमा ध्यान दिन सिक्नुपऱ्‍यो।”

घरपरिवार तथा साथीभाइको यादले सताउनु अर्को चुनौती हो। अमेरिकाका जोनाथन यसरी स्वीकार्छन्‌: “आफ्नो साथीभाइ र परिवारबाट छुट्टिनुपरेकोले यहाँ आएको केही समयपछि नै निराश भएँ। तर व्यक्‍तिगत बाइबल अध्ययन र प्रचारकार्यमा ध्यान केन्द्रित गरेर यस्ता भावनासित डट्‌न सकें। क्षेत्र सेवामा बटुलेका रोचक अनुभवहरूले र मण्डलीमा नयाँ साथीहरू बनाएकोले केही समयपछि नै फेरि आनन्दित हुन सकें।”

अर्को चुनौती जीवनस्तर पनि हो। सायद नयाँ ठाउँको जीवनस्तर तपाईंलाई बानी परिसकेको ठाउँको भन्दा फरक हुन सक्छ। क्यानाडाको बो यसो भन्छन्‌: “विद्युत, पानीजस्ता आधारभूत कुराहरू आफ्नो देशमा सजिलै पाउन सकिने भएकोले तपाईंलाई यी कुराहरू साधारण लाग्ला। तर यहाँ भने यी कुराहरूको ठेगानै छैन।” थुप्रै विकासोन्मुख देशहरूमा गरिबी, यातायातको असुविधा र असाक्षरताजस्ता कुराहरू पनि सामान्य छन्‌। अस्ट्रियाकी इनास स्थानीय मानिसहरूको सकारात्मक गुणहरूमा ध्यान केन्द्रित गरेर यस्ता अवस्थाहरूसित डट्‌छिन्‌। तिनी भन्छिन्‌: “यी मानिसहरू पाहुना सत्कार गर्ने, भद्र, मदतकारी र नम्र छन्‌। सबैभन्दा ठूलो कुरा, यिनीहरू परमेश्‍वरबारे अझ धेरै कुरा सिक्न उत्सुक छन्‌।”

“अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌”

इक्वेडरमा सेवा गर्न आएका यी सबै युवाले त्याग गरेका छन्‌। तर यहोवाले तिनीहरूलाई “मागे वा सोचेभन्दा कता हो कता धेरै” कुरा दिनुभएको छ। (एफि. ३:२०) तिनीहरूले “अटाउने ठाउँ पनि नहुनेसम्मका आशिष्‌” पाएको अनुभव गरेका छन्‌। (मला. ३:१०) प्रचारकार्यबारे तिनीहरू कस्तो महसुस गर्छन्‌, हेरौं।

ब्रुनो: “मैले इक्वेडरको सुन्दर अमेजन प्रान्तमा सेवाको काम सुरु गरें। पछि मैले इक्वेडरको शाखा कार्यालय निर्माणमा सहयोग गरें। अहिले म बेथेलमा सेवा गर्दैछु। इटालीमा हुँदा मैले यहोवाको सेवालाई पहिलो स्थान दिने छनौट गरेको थिएँ र विभिन्‍न तरिकामा उहाँको सेवा गर्ने मेरो चाहनालाई उहाँले अहिले पूरा गरिरहनुभएको छ।”

बो: “इक्वेडरमा आफ्नो सम्पूर्ण समय परमेश्‍वरको सेवासित सम्बन्धित गतिविधिमा बिताउन सकेकोले म उहाँसित अझ नजिक भएको छु। त्यति मात्र होइन, मैले रमाइलो ठाउँहरूमा घुम्ने मौका पनि पाएको छु, जुन मेरो पहिल्यैदेखिको चाहना थियो।”

आन्‍ना: “मिसनरीझैं जीवन बिताउनु मजस्तो अविवाहित बहिनीको लागि ‘आकासको फलजस्तै’ हो भन्‍ने लाग्थ्यो। तर यो सम्भव छ भनेर अहिले बुझेकी छु। चेलाहरू बनाउन, राज्यभवनहरू निर्माण गर्न र नयाँ साथीहरू बनाउन पाएकीमा म औधी खुसी छु र यहोवालाई मुरीमुरी धन्यवाद दिन्छु।”

एल्का: “आफ्नो देश अस्ट्रियामा छँदा एउटा मात्र भए पनि बाइबल अध्ययन भेट्टाउन सकूँ भनेर यहोवालाई बारम्बार प्रार्थना गर्थें। तर अहिले मेरो १५ वटा बाइबल अध्ययन छ! प्रगतिशील विद्यार्थीहरूको उज्यालो अनुहार देख्दा मलाई गहिरो सन्तुष्टि मिल्छ।”

जोएल: “बिरानो ठाउँमा आएर यहोवाको सेवा गर्न पाउनु रमाइलो अनुभव हो। तपाईंले यहोवामा अझ धेरै भर पर्न सिक्नुहुन्छ र आफ्नो प्रयासमा यहोवाले आशिष्‌ दिनुभएको देख्दा तपाईंलाई रमाइलो लाग्छ। अमेरिकाबाट यहाँ आएको पहिलो वर्षमै मैले सङ्‌गत गरेको समूहको प्रकाशकको सङ्‌ख्या ६ जनाबाट बढेर २१ जना पुग्यो। अनि स्मरणार्थमा ११० जना उपस्थित भए।”

तपाईं नि?

जवान भाइबहिनीहरू हो, के तपाईंको परिस्थितिले तपाईंलाई राज्य उद्‌घोषकहरूको अझ धेरै आवश्‍यकता भएको ठाउँमा सेवा गर्न दिन्छ? हो, यस्तो ठूलो निर्णय गर्नुअघि होसियारीपूर्वक योजना बनाउनुपर्छ। अनि सबैभन्दा ठूलो कुरा, यसरी बसाइँ सर्न यहोवा र छिमेकीप्रति गहिरो प्रेम हुनुपर्छ। यदि तपाईंसित त्यस्तो प्रेम छ र बसाइँ सर्न सक्ने अवस्थामा हुनुहुन्छ भने विदेशमा गएर यहोवाको सेवा गर्ने विषयमा व्यग्रतासाथ उहाँलाई प्रार्थना गर्नुहोस्‌। साथै, आफ्नो इच्छाबारे ख्रीष्टियन आमाबाबु र मण्डलीका एल्डरहरूसित कुराकानी गर्नुहोस्‌। सायद तपाईं ‘म पनि यस्तो रमाइलो र सन्तोषजनक पवित्र सेवा गर्न सक्छु’ भन्‍ने निष्कर्षमा पुग्नुहोला।

[पृष्ठ ३-मा भएको चित्र]

“थुप्रै पटक यहोवालाई प्रार्थना गर्दा र परिपक्व भाइबहिनीहरूसित कुराकानी गर्दा यहोवाले इच्छुक मनोभावलाई आशिष्‌ दिनुहुन्छ भनेर बुझ्न सकें।”—केला, अमेरिका

[पृष्ठ ६-मा भएको चित्र]

विदेशी भूमिमा सेवा गर्नको लागि कसरी तयारी गर्न सकिन्छ?

• नियमित रूपमा व्यक्‍तिगत अध्ययन गर्ने बानी बसाल्नुहोस्‌

जुलाई १५, २००३ को प्रहरीधरहरा, पृष्ठ २० मा भएको ‘के तपाईं बसाइँ सर्न सक्नुहुन्छ?’ उपशीर्षक हेर्नुहोस्‌

• विदेशी भूमिमा सेवा गरेकाहरूसित कुराकानी गर्नुहोस्‌

• त्यस देशको संस्कृति र इतिहासबारे अनुसन्धान गर्नुहोस्‌

• भाषासम्बन्धी आधारभूत ज्ञान लिनुहोस्‌

[पृष्ठ ६-मा भएको चित्र]

विदेशी भूमिमा सेवा गर्ने कतिपयले निम्न तरिकामा खर्च बेहोर्छन्‌ . . .

• प्रत्येक वर्ष आफ्नो देश फर्केर केही महिना काम गर्छन्‌

• आफ्नो घर, अपार्टमेन्ट भाडामा दिन्छन्‌

• आफ्नो व्यवसाय अरूलाई चलाउन दिन्छन्‌

• इन्टरनेटमार्फत काम गर्छन्‌

[पृष्ठ ४,५-मा भएको चित्र]

१ याक्लीन, जर्मनी

२ ब्रुनो, इटाली

३ बो, क्यानाडा

४ साबोन, आयरल्याण्ड

५ जोएल, अमेरिका

६ जोनाथन, अमेरिका

७ आन्‍ना, इस्टोनिया

८ एल्का, अस्ट्रिया

९ स्यान्टल, क्यानाडा

१० इनास, अस्ट्रिया