सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मेरो सपना साकार भएको छ”

“मेरो सपना साकार भएको छ”

“मेरो सपना साकार भएको छ”

पन्ध्र वर्षअघि एमेलिया नियमित अग्रगामी सेवा गर्दै थिइन्‌। तर पछि उनले अग्रगामी सेवा छोड्‌नुपऱ्‍यो। हालै उनले पहिलाका रमाइला क्षणहरूबारे मनन गरिन्‌ र फेरि नियमित अग्रगामी सेवा गर्ने सोच राखिन्‌।

तथापि, कामले धेरै समय खाएकोले गर्दा एमेलियाले आफ्नो आनन्द गुमाइरहेकी थिइन्‌। एकचोटि उनले आफ्ना सहकर्मीहरूसामु यसरी दुखेसो पोखिन्‌: “अलि थोरै समय काम गर्न पाए पनि हुन्थ्यो नि!” यो कुरा हाकिमको कानमा परेपछि तिनले एमेलियालाई यसरी सोधिन्‌, ‘के तपाईं साँच्चै यस्तै चाहनुहुन्छ?’ एमेलियाले ‘चाहन्छु’ भनेर जवाफ दिइन्‌। तर कम्पनीको नीतिअनुसार सबै कर्मचारीले पूर्ण समय काम गर्नुपर्थ्यो। त्यसैले थोरै समय काम गर्नको लागि एमेलियाले त्यहाँको एक जना निर्देशकको अनुमति लिनुपर्थ्यो। उनले निर्देशकसित भेट्‌नको लागि तयारी गरिन्‌ अनि शान्तपूर्वक र साहससाथ कुरा गर्न प्रार्थना गरिन्‌।

निर्देशकसितको भेटमा एमेलियाले शिष्टतासाथ तर साहसी भई आफ्नो कामको समय कटौती गर्न आग्रह गरिन्‌। त्यो समय अरूलाई मदत गर्न सदुपयोग गर्ने कुरा उनले बताइन्‌। उनले यसो भनिन्‌: “म एक जना यहोवाको साक्षी हुँ र मानिसहरूलाई आध्यात्मिक रूपमा मदत गर्छु। अहिले थुप्रै मानिसको नैतिकता खस्किएको छ। तिनीहरूलाई सुस्पष्ट स्तर र मूल्यमान्यताको आवश्‍यकता छ अनि मैले मानिसहरूसित बाइबलबाट बाँड्‌ने बुद्धिका कुराहरू तिनीहरूको लागि मदतकारी छन्‌। मैले अफिसको समयबाहेक अरू समयमा गर्ने क्रियाकलापले गर्दा मेरो कामको गुणस्तर घटेको म चाहन्‍न तर मानिसहरूलाई मदत गर्नको लागि थप समय चाहन्छु। त्यसैले कामको समय कटौती गर्न चाहेकी हुँ।”

निर्देशकले उनको कुरा ध्यान दिएर सुने अनि विगतमा आफूले पनि परोपकारी काम गर्ने सोच राखेको कुरा बताए। त्यसपछि तिनले यसो भने: “तपाईंको तर्क सुन्दा त मलाई अनुमति दिनै पर्छ जस्तो लाग्यो। तर तपाईंले थोरै मात्र पैसा पाउनुहुन्छ नि, थाह छ?” एमेलियाले यो कुरा थाह भएको अनि आवश्‍यक परेमा आफ्नो जीवन सरल बनाउने कुरा बताइन्‌। उनले अझै यसो भनिन्‌: “मेरो मुख्य लक्ष्य भनेकै मानिसहरूलाई मदत गर्नु हो।” निर्देशकले उनलाई भने: “कुनै स्वार्थ नराखी अरूको लागि आफ्नो समय खर्चनेहरूको म कदर गर्छु।”

त्यस कम्पनीमा काम गर्ने कुनै कर्मचारीलाई यस्तो सुविधा पहिला कहिल्यै दिइएको थिएन। अबदेखि एमेलियाले हप्ताको चार दिन मात्र काम गरे पुग्ने भयो। त्यतिमात्र होइन, तलब पनि बढाइँदा उनी छक्क परिन्‌। अब उनले थोरै काम गरेर पहिले जत्तिकै कमाउन सक्छिन्‌। उनी भन्छिन्‌: “मेरो सपना साकार भएको छ, मैले फेरि नियमित अग्रगामी सेवा गर्न सकेकी छु।”

के तपाईं आफ्नो परिस्थिति छाँटकाँट गरेर नियमित अग्रगामी सेवा सुरु गर्न सक्नुहुन्छ? अथवा पहिला गर्नुभएको थियो तर अहिले छोड्‌नुभएको छ भने फेरि यो सेवा सुरु गर्न सक्नुहुन्छ कि?

[पृष्ठ ३२-मा भएको ठूलो अक्षरको क्याप्सन]

निर्देशकले उनलाई भने: “कुनै स्वार्थ नराखी अरूको लागि आफ्नो समय खर्चनेहरूको म कदर गर्छु”