सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वतन्त्रता दिनुहुने परमेश्‍वरको सेवा गर्नुहोस्‌

स्वतन्त्रता दिनुहुने परमेश्‍वरको सेवा गर्नुहोस्‌

स्वतन्त्रता दिनुहुने परमेश्‍वरको सेवा गर्नुहोस्‌

“परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।”—१ यूह. ५:३.

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

सैतानले कसरी परमेश्‍वरको व्यवस्था बोझिलो देखाउन खोज्छ?

सङ्‌गतको विषयमा हामी किन एकदमै होसियार हुनुपर्छ?

स्वतन्त्रता दिनुहुने परमेश्‍वरप्रति वफादार रहन हामीलाई कुन कुराले मदत गर्नेछ?

१. यहोवा आफ्नो स्वतन्त्रता कसरी प्रयोग गर्नुहुन्छ? अनि उहाँले आदम र हव्वालाई कस्तो स्वतन्त्रता दिनुभयो?

 सीमित स्वतन्त्रता भएको एक मात्र व्यक्‍ति यहोवा हुनुहुन्छ। तैपनि उहाँ आफ्नो स्वतन्त्रताको कहिल्यै दुरुपयोग गर्नुहुन्‍न अनि आफ्ना सेवकहरूले गर्ने स-सानो कुरालाई हस्तक्षेप पनि गर्नुहुन्‍न। बरु, आफ्ना सेवकहरूले आफ्नो निर्णय आफै गर्न सकून्‌ र उचित चाहनाहरू पूरा गर्न सकून्‌ भनेर तिनीहरूलाई स्वतन्त्र इच्छा दिनुभएको छ। आदम र हव्वाको उदाहरण विचार गर्नुहोस्‌। यहोवाले तिनीहरूलाई एउटा मात्र निषेधित आज्ञा दिनुभएको थियो। उहाँले तिनीहरूलाई “असल र खराबको ज्ञान दिने रूखको” फल खान निषेध गर्नुभएको थियो। (उत्प. २:१७) त्यसैले परमेश्‍वरबाट पाएको अद्‌भुत स्वतन्त्रताको आनन्द उठाउँदै उहाँको इच्छा पूरा गर्नु तिनीहरूको लागि सम्भव थियो।

२. परमेश्‍वरले दिनुभएको स्वतन्त्रता हाम्रा प्रथम आमाबाबुले किन गुमाए?

परमेश्‍वरले हाम्रा प्रथम आमाबाबुलाई किन यत्ति धेरै स्वतन्त्रता दिनुभयो? किनभने उहाँले तिनीहरूलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको थियो र तिनीहरूलाई अन्तस्करण पनि दिनुभएको थियो। यहोवाले आफू सृष्टिकर्ता भएकोले तिनीहरूले आफूलाई माया गर्नेछन्‌ र त्यही मायाले गर्दा तिनीहरू सही काम गर्न उत्प्रेरित हुनेछन्‌ भन्‍ने आशा राख्नुभएको थियो। (उत्प. १:२७; रोमी २:१५) तर दुःखको कुरा, आदम र हव्वाले आफ्नो मायालु सृष्टिकर्ताको अनि उहाँले दिनुभएको स्वतन्त्रताको मोल गरेनन्‌। बरु, के सही अनि के गलत भनेर आफैले छनौट गर्ने निर्णय गरे। तिनीहरूले यसो गर्दा थप स्वतन्त्रता पाइन्छ भन्‍ने सोचेका थिए। तर वास्तवमा तिनीहरूको त्यस्तो छनौटले तिनीहरू स्वयम्‌लाई अनि तिनीहरूका सन्तानलाई पापको दास बनायो। फलस्वरूप, दुःख अनि मृत्यु निम्तियो।—रोमी ५:१२.

३, ४. हामीले यहोवाको स्तरबारे कस्तो सोचोस्‌ भन्‍ने सैतान चाहन्छ?

सैतानले त्रुटिरहित दुई व्यक्‍ति अनि असङ्‌ख्य स्वर्गदूतलाई त परमेश्‍वरको सार्वभौमिकता उल्लङ्‌घन गर्न लगायो भने हामीलाई त झन्‌ के बाँकी राख्ला! सैतानको रणनीति परिवर्तन भएको छैन। परमेश्‍वरको स्तर बोझिलो छ, यसले हाम्रो खुसी र आनन्द खोस्छ भन्‍ने सोच्न लगाएर सैतानले हामीलाई बहकाउन खोज्छ। (१ यूह. ५:३) अहिले संसारका धेरैजसो मानिसहरू यस्तै सोचाइ राख्छन्‌। उनीहरूसँग हिमचिम बढायौं भने हामी पनि त्यस्तै सोचाइ राख्न पुग्छौं। यौन अनैतिकतामा मुछिन पुगेकी २४ वर्षीया बहिनी यसो भन्छिन्‌: “खराब सङ्‌गतले मलाई एकदमै असर गऱ्‍यो। विशेषगरि मलाई साथीहरूभन्दा फरक देखिनुपर्ला भनेर डर लाग्थ्यो।” सायद तपाईंले पनि साथीहरूको यस्तै दबाब सामना गरिरहनुभएको होला।

दुःखको कुरा, कहिलेकाहीं ख्रीष्टियन मण्डलीभित्रैबाट पनि यस्तो दबाब आइपर्न सक्छ। एक जवान साक्षी यसो भन्छन्‌, “बेग्लै विश्‍वास भएका व्यक्‍तिहरूसित डेटिङ गर्ने केही जवानहरूलाई म चिन्छु। तर पछि मैले के कुरा थाह पाएँ भने जति-जति म उनीहरूसित समय बिताउँथें, त्यति-त्यति नै उनीहरूजस्तै हुन्थें। यहोवासितको मेरो सम्बन्ध कमजोर हुँदै गयो। सभामा गए पनि मैले आध्यात्मिक भोजनबाट लाभ उठाउन छोडिसकेको थिएँ। म कहिलेकाहीं मात्र प्रचार जान्थें। मलाई ती साथीहरूसित सङ्‌गत गर्न छोड्‌नुपर्छ जस्तो लाग्यो र मैले त्यसै गरें।” सङ्‌गतले कत्तिको असर गर्छ भन्‍ने कुरा के तपाईंलाई थाह छ? आज हामीलाई पनि मदत गर्न सक्ने बाइबलको एउटा उदाहरण विचार गर्नुहोस्‌।—रोमी १५:४.

तिनले उनीहरूको प्यार आफूतिर खिचे

५, ६. अब्शालोमले अरूलाई कसरी बहकाए अनि के तिनको चाल सफल भयो?

अरूलाई खराब प्रभाव पार्ने थुप्रै व्यक्‍तिको उदाहरण बाइबलमा पाइन्छ। त्यसैमध्ये एउटा उदाहरण अब्शालोमको हो। तिनी राजा दाऊदका छोरा थिए। तिनी बिछट्टै सुन्दर थिए। तर पछि सैतानले जस्तै तिनले पनि आफ्नो मनमा लालच बढ्‌न दिए। तिनी आफ्नो बुबाको सिंहासन हडप्न चाहन्थे जसमा तिनको कुनै अधिकार थिएन। a आफ्नो चाहना पूरा गर्न तिनले राजालाई इस्राएलीहरूको कुनै वास्ता नभएको तर आफूले भने उनीहरूलाई असाध्यै माया गरेको भान पार्न खोजे। हो, अदनको बगैंचामा दियाबलले जे गऱ्‍यो, अब्शालोमले पनि त्यस्तै गरे। तिनले आफूलाई अरूको भलो चाहने व्यक्‍तिको रूपमा प्रस्तुत गरे अनि आफ्नै बुबाको विषयमा भएनभएको कुरा गरे।—२ शमू. १५:१-५.

के अब्शालोमको धूर्त चाल सफल भयो? केही हदसम्म भयो, किनभने बाइबल विवरण यसो भन्छ: “अब्शालोमले इस्राएलीहरूका प्यार आफूतिर खिचे।” (२ शमू. १५:६) घमन्डले गर्दा अन्ततः तिनको हार भयो। तिनी र तिनको बहकाउमा परेका हजारौं व्यक्‍तिहरू मारिए।—२ शमू. १८:७, १४-१७.

७. अब्शालोमको उदाहरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं? (पृष्ठ १४ मा भएको चित्र हेर्नुहोस्‌।)

ती इस्राएलीहरू किन यत्ति सजिलै बहकिए? अब्शालोमले प्रतिज्ञा गरेको कुरा तिनीहरूलाई मन परेको हुन सक्छ। अथवा अब्शालोमको सुन्दरताले गर्दा तिनीहरू प्रभावित भएका हुन सक्छन्‌। कुरा जेसुकै होस्‌, हामी यो कुरामा चाहिं पक्का हुन सक्छौं: तिनीहरू यहोवा र उहाँले नियुक्‍त गर्नुभएको राजाप्रति वफादार थिएनन्‌। आज पनि सैतानले यहोवाका सेवकहरूको मन चोर्न आधुनिक समयका “अब्शालोमहरूलाई” चलाउँछ। तिनीहरूले यसो भन्‍न सक्छन्‌: ‘परमेश्‍वरको व्यवस्था साह्रै कडा छ! उहाँको सेवा नगर्नेहरूलाई हेर त! तिनीहरूलाई कस्तो मोज छ।’ कसैले यस्तै कुरा गरेको सुन्‍नुभयो भने ती घीनलाग्दा झूट हुन्‌ भनी बुझेर के तपाईं परमेश्‍वरप्रति वफादार रहिरहनुहुनेछ? यहोवाको “पूर्ण व्यवस्था” अर्थात्‌ ख्रीष्टको व्यवस्थाले मात्र साँचो स्वतन्त्रतातर्फ डोऱ्‍याउन सक्छ भनेर के तपाईंले बुझ्नुहुनेछ? (याकू. १:२५) त्यसो हो भने त्यो व्यवस्थाको मोल गरेको देखाउनुहोस्‌ र ख्रीष्टियन स्वतन्त्रताको दुरुपयोग गर्ने प्रलोभनमा कहिल्यै नपर्नुहोस्‌।—१ पत्रुस २:१६ पढ्‌नुहोस्‌।

८. यहोवाको स्तरलाई उल्लङ्‌घन गरेर खुसी प्राप्त गर्न सकिंदैन भनेर कुन-कुन उदाहरणले देखाउँछ?

सैतानले विशेषगरि जवानहरूलाई आफ्नो तारो बनाउँछ। तीस वर्ष काटेका एक भाइले आफ्नो किशोरावस्थाका दिनहरू सम्झँदै यसो भने: “नैतिकतासम्बन्धी यहोवाका नियमहरूलाई म बन्देजको रूपमा हेर्थें, सुरक्षाको रूपमा होइन।” यसको परिणाम के भयो? तिनी यौन अनैतिकतामा मुछिन पुगे। तर यसले तिनलाई खुसी दिन सकेन। तिनले यसो भने: “दोषी अनि पछुतो भावले मलाई वर्षौंसम्म पिरोल्यो।” आफ्नो किशोरावस्थालाई सम्झँदै एक जना बहिनीले यस्तो लेखिन्‌: “अनैतिकतामा मुछिएपछि तपाईंले दुःखी अनि खोक्रो महसुस गर्नुहुन्छ। अहिले १९ वर्ष बितिसक्यो तैपनि विगतका ती तीता क्षणहरूले मलाई सताइरहन्छ।” अर्की बहिनीले यसो भनिन्‌: “मेरो आचरणले मैले माया गर्ने मानिसहरूलाई चोट पुऱ्‍यायो। यो कुरा बुझ्दा मलाई मानसिक, आध्यात्मिक र भावनात्मक रूपमा नराम्ररी असर गऱ्‍यो। यहोवाको साथ नपाई जीवन बिताउनु साह्रै कठिन हुँदो रहेछ।” तपाईंले यस्ता परिणामबारे सोचेको सैतान चाहँदैन।

९. (क) कस्ता प्रश्‍नहरूले हामीलाई यहोवा अनि उहाँको व्यवस्था तथा सिद्धान्तप्रतिको दृष्टिकोण केलाउन मदत गर्न सक्छ? (ख) परमेश्‍वरलाई राम्ररी चिन्‍नु किन जरुरी छ?

यी उदाहरणहरूले परमेश्‍वरप्रति अनाज्ञाकारी हुँदा नतिजा दुःखदायी हुन्छ भनी देखाउँछ। सच्चाइमा हुर्केका जवानहरू अनि उमेर काटिसकेकाहरूले समेत यो कुरा आफ्नै अनुभवबाट सिक्नुपरेको छ। (गला. ६:७, ८) त्यसैले आफैलाई सोध्नुहोस्‌, ‘मलाई बहकाउन सैतानले कस्तो चाल चल्छ, के मैले बुझेको छु? के म यहोवालाई सधैं सत्य बोल्ने र मेरो हित चाहने नजिकको साथीको रूपमा हेर्छु? मेरो हित गर्ने असल कुराहरूबाट यहोवाले मलाई कहिल्यै वञ्चित गर्नुहुन्‍न भनी के म ढुक्क छु?’ (यशैया ४८:१७, १८ पढ्‌नुहोस्‌) मनैदेखि सकारात्मक जवाफ दिन तपाईंले यहोवाबारे सतही ज्ञान लिएर मात्र पुग्दैन। तपाईंले उहाँलाई राम्ररी चिन्‍नुपर्छ अनि तपाईंप्रतिको प्रेमले गर्दा नै उहाँले तपाईंलाई बाइबलका व्यवस्था तथा सिद्धान्तहरू दिनुभएको हो, तपाईंको स्वतन्त्रता हनन गर्न होइन भनेर पनि बुझ्नुपर्छ।—भज. २५:१४.

बुद्धिले भरिएको र आज्ञाकारी मनको लागि प्रार्थना गर्नुहोस्‌

१०. हामीले जवान राजा सुलेमानको अनुकरण गर्ने प्रयास किन गर्नुपर्छ?

१० जवान छँदा सुलेमानले प्रार्थनामा यसो भने: ‘म सानै बालक मात्र छु र अगुवाइ गर्नमा निपुण छैन।’ त्यसपछि तिनले बुद्धिले भरिएको र आज्ञाकारी मनको लागि बिन्ती गरे। (१ राजा ३:७-९, १२) यहोवाले त्यो निष्कपट प्रार्थनाको जवाफ दिनुभयो। त्यसैगरि तपाईं जवान अथवा उमेर काटिसकेको, जस्तोसुकै भए तापनि उहाँले तपाईंको पनि प्रार्थना सुन्‍नुहुनेछ। हुनत हो, यहोवाले तपाईंलाई चमत्कारपूर्ण तरिकामा अन्तरदृष्टि र बुद्धि दिनुहुन्‍न। तैपनि उहाँको वचन अध्ययन गर्न उत्कट प्रयास गर्नुभयो, पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुभयो अनि ख्रीष्टियन मण्डलीमार्फत पस्किइने आध्यात्मिक आहारबाट पूरापूर लाभ उठाउनुभयो भने उहाँले तपाईंलाई बुद्धिमान्‌ बनाउनुहुनेछ। (याकू. १:५) वास्तवमा, यहोवाले आफ्ना जनहरू जवानै भए तापनि तिनीहरूलाई उहाँको सल्लाह नस्वीकार्ने सबै मानिसहरूभन्दा बुद्धिमान्‌ तुल्याउनुहुन्छ। यहाँसम्म कि, उहाँले ती जवान सेवकहरूलाई “बुद्धिमान्‌ र बुद्धिजीवी” कहलिएका सांसारिक मानिसहरूभन्दा पनि बुद्धिमान्‌ तुल्याउनुहुन्छ।—लूका १०:२१; भजन ११९:९८-१०० पढ्‌नुहोस्‌।

११-१३. (क) भजन २६:४, हितोपदेश १३:२० अनि १ कोरिन्थी १५:३३ बाट हामी कस्तो बहुमूल्य पाठ सिक्न सक्छौं? (ख) यी धर्मशास्त्रीय सिद्धान्तहरू तपाईं कसरी लागू गर्नुहुन्छ?

११ यहोवालाई नजिकबाट चिन्‍नको लागि बाइबल अध्ययन गर्नु अनि पढेको कुरा मनन गर्नु कत्तिको महत्त्वपूर्ण छ, त्यो बुझ्न निम्न पदहरू विचार गर्नुहोस्‌। तलको सबै पदमा साथी छान्‍ने विषयसित सम्बन्धित महत्त्वपूर्ण सिद्धान्त लुकेको छ:- “म व्यर्थका मानिसहरूसँग बसेको छैनँ। नता म कपटीहरूको साथमा जानेछु।” (भज. २६:४) “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ।” (हितो. १३:२०) “नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरि. १५:३३.

१२ यी बाइबल पदहरूबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौं? (१) साथी छान्‍ने सन्दर्भमा हामी होसियार भएको यहोवा चाहनुहुन्छ। उहाँ हामीलाई नैतिक अनि आध्यात्मिक रूपमा सुरक्षित राख्न चाहनुहुन्छ। (२) हामी जस्तो मानिसहरूसित सङ्‌गत गर्छौं, त्यस्तै काम गर्छौं। यो जीवनको वास्तविकता नै हो। माथिका पदहरू लेखिएको तरिकाले यहोवा हाम्रो मन छुन खोज्दै हुनुहुन्छ भनेर देखाउँछ। कसरी? याद गर्नुहोस्‌, यी पदहरू साधारण तथ्यको रूपमा लेखिएका छन्‌, नियमको रूपमा होइन। किनभने यी पदहरूमा “यस्तो नगर्नू/उस्तो नगर्नू” भन्‍नेजस्ता शब्दहरू चलाइएका छैनन्‌। मानौं यी पदहरूमार्फत यहोवा यसो भन्दै हुनुहुन्छ: ‘तथ्य यही हो। तिमी के गर्छौं? तिमीलाई कस्तो लाग्छ?’

१३ जेहोस्‌, यी तीन पदमा उल्लेख गरिएका कुराहरू साधारण तथ्यको रूपमा लेखिएको कारण आज पनि उत्तिकै सत्य र उपयोगी छ। आफैलाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: म “कपटीहरू”-सित सङ्‌गत गर्नदेखि कसरी बच्न सक्छु? कस्ता परिस्थितिले मलाई यस्ता मानिसहरूको सम्पर्कमा ल्याउन सक्छ? (हितो. ३:३२; ६:१२) मैले सङ्‌गत गरोस्‌ भनेर यहोवाले चाहने ‘बुद्धिमान्‌’ मानिसहरू को हुन्‌? मैले सङ्‌गत नगरोस्‌ भनेर उहाँले चाहने “मूर्ख” मानिसहरू को हुन्‌? (भज. १११:१०; ११२:१; हितो. १:७) खराब सङ्‌गतले मेरो कस्तो “राम्रो आनीबानीलाई” बिगार्छ? के खराब साथीहरू संसारमा मात्र भेटिन्छन्‌? (२ पत्रु. २:१-३) तपाईं यी प्रश्‍नहरूको जवाफ कसरी दिनुहुन्छ?

१४. तपाईं साँझको पारिवारिक उपासनालाई कसरी अझ राम्रो बनाउन सक्नुहुन्छ?

१४ यी बाइबल पदहरू होसियारीसाथ विचार गरेझैं अरू पद पनि जाँचेर हेरे कसो होला? यसो गर्नुभयो भने तपाईंले आफूलाई अनि आफ्नो परिवारलाई असर गर्ने विषयमा परमेश्‍वरको सोचाइ बुझ्न सक्नुहुन्छ। b आमाबाबु हो, साँझको पारिवारिक उपासनामा यस्ता विषयहरू छलफल गर्नुहोस्‌। यसो गर्नुको उद्देश्‍य यहोवा हामीलाई धेरै माया गर्नुहुन्छ भनेर उहाँका व्यवस्था तथा सिद्धान्तहरूले कसरी देखाउँछ, त्यसबारे परिवारका प्रत्येक सदस्यलाई बुझ्न मदत गर्नु हो। (भज. ११९:७२) यस्तो अध्ययनले परिवारका प्रत्येक सदस्यलाई यहोवासित अनि एकअर्कासित नजिक बनाउँछ।

१५. तपाईंले बुद्धिले भरिएको र आज्ञाकारी मन विकास गर्दै हुनुहुन्छ कि हुनुहुन्‍न कसरी थाह पाउन सक्नुहुन्छ?

१५ तपाईंले बुद्धिले भरिएको र आज्ञाकारी मन विकास गर्दै हुनुहुन्छ कि हुनुहुन्‍न कसरी थाह पाउन सक्नुहुन्छ? एउटा तरिका आफ्नो सोचाइलाई पुरातन समयका विश्‍वासी जनहरूसित तुलना गरेर हेर्नु हो। त्यस्ता विश्‍वासी जनमध्ये एक जना राजा दाऊद थिए। तिनले यस्तो लेखे: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।” (भज. ४०:८) त्यसैगरि भजन ११९ का लेखकले पनि यसो भने: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” (भज. ११९:९७) यस्तो प्रेम विकास गर्नको लागि तपाईंले कडा परिश्रम गर्नुपर्छ। गम्भीर भएर बाइबल अध्ययन गर्नुभयो, प्रार्थना गर्नुभयो अनि मनन गर्नुभयो भने मात्र यस्तो प्रेम विकास हुन्छ। साथै परमेश्‍वरको स्तर पालन गर्दा कस्तो आशिष्‌हरू पाइन्छ, त्यो कुरा याद गर्नुभयो भने पनि यस्तो प्रेम विकास हुन्छ।—भज. ३४:८.

ख्रीष्टियन स्वतन्त्रताको लागि लड्‌नुहोस्‌

१६. साँचो स्वतन्त्रताको लडाइँमा विजयी हुने हो भने हामीले कुन कुरा मनमा राख्नै पर्छ?

१६ इतिहास केलाउने हो भने राष्ट्रहरूले स्वतन्त्रताको नाममा कैयौं लडाइँ लडेका छन्‌। त्यसोभए ख्रीष्टियन स्वतन्त्रताको लागि आध्यात्मिक लडाइँ लड्‌न हामी झन्‌ कत्ति इच्छुक हुनुपर्ला! सैतान, यो संसार अनि यसको विषाक्‍त मनोभाव मात्र तपाईंको शत्रु होइन भन्‍ने कुरा मनमा राख्नुहोस्‌। तपाईंले आफ्नै त्रुटिपूर्ण अवस्थाविरुद्ध पनि लड्‌नुपर्छ, जसमा छली हृदय पनि समावेश छ। (यर्मि. १७:९; एफि. २:३) तर यहोवाको मदत पाएर तपाईं यो लडाइँमा विजयी हुन सक्नुहुन्छ। तपाईंको जित सानो होस्‌ वा ठूलो, त्यसले तपाईंलाई दुई तरिकामा राम्रो प्रभाव पार्छ। पहिलो, तपाईंले यहोवाको मनलाई आनन्दित तुल्याउनुहुनेछ। (हितो. २७:११) दोस्रो, ‘स्वतन्त्रता दिने परमेश्‍वरको पूर्ण व्यवस्थामा’ भएको शक्‍ति जाँचेर हेर्नुभयो भने अनन्त जीवनतर्फ डोऱ्‍याउने ‘साँघुरो बाटोमा’ हिंडिरहने तपाईंको अठोट झनै बलियो हुनेछ। भविष्यमा यहोवाले आफ्ना वफादार जनहरूलाई दिनुहुने अझ ठूलो स्वतन्त्रता पनि अनुभव गर्नुहुनेछ।—याकू. १:२५; मत्ती ७:१३, १४.

१७. गल्ती गर्दा हामी किन निराश हुनुपर्दैन अनि यहोवाले कस्तो मदत उपलब्ध गराउनुभएको छ?

१७ हो, कहिलेकाहीं हामी सबै जना गल्ती गर्छौं। (उप. ७:२०) यस्तो भएमा आफूलाई बेकम्मा नठान्‍नुहोस्‌ अनि औधी निराश पनि नहुनुहोस्‌। गल्ती गरिहाल्नुभयो भने गल्ती सुधार्न जे-जस्तो गर्नुपर्छ गर्नुहोस्‌, सायद यसको लागि एल्डरहरूको मदतसमेत लिनुपर्ने हुन सक्छ। चेला याकूबले लेखेअनुसार तिनीहरूद्वारा “विश्‍वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ र यहोवाले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।” (याकू. ५:१५) यहोवा साँच्चै नै दयालु हुनुहुन्छ अनि तपाईंमा केही न केही असल कुरा देखेकोले नै उहाँले तपाईंलाई मण्डलीमा खिच्नुभएको हो भनेर कहिल्यै नबिर्सनुहोस्‌। (भजन १०३:८, ९ पढ्‌नुहोस्‌) पूर्ण हृदयले सेवा गरेसम्म यहोवाले तपाईंलाई त्याग्नुहुनेछैन।—१ इति. २८:९.

१८. यहोवाको सुरक्षा पाउन हामीले के गर्नै पर्छ?

१८ आफू मर्नुअघिको रात ११ प्रेषितहरूसित प्रार्थना गर्दा येशूले तिनीहरूका खातिर यी अविस्मरणीय शब्दहरू भन्‍नुभयो: “त्यस दुष्टको कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्‌।” (यूह. १७:१५) उहाँले आफ्ना प्रेषितहरूलाई हेरविचार गरेझैं अहिलेका आफ्ना अनुयायीहरूलाई पनि हेरविचार गर्नुहुन्छ। त्यसकारण अहिलेको कठिन समयमा हाम्रो हेरचाह गरेर यहोवाले येशूको प्रार्थनाको जवाफ दिनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुन सक्छौं। “निर्दोष जीवन व्यतीत गर्नेहरूको निम्ति [यहोवा] ढाल हुनुहुन्छ . . . र आफ्ना भक्‍त सेवकहरूको बाटोको हेरचाह गर्नुहुन्छ।” (हितो. २:७, ८) हो, निर्दोष जीवन बिताउँदा चुनौतीहरू आइपर्छ तर अनन्त जीवन र साँचो स्वतन्त्रता दिने एक मात्र मार्ग यही नै हो। (रोमी ८:२१) यस मार्गबाट तपाईंलाई कसैले नबहकाओस्‌!

[फुटनोटहरू]

a यहोवाले अब्शालोमको जन्म भइसकेपछि मात्र सिंहासनमा बस्ने ‘छोरा’ अर्थात्‌ भावी सन्तानको विषयमा दाऊदसित प्रतिज्ञा गर्नुभएको थियो। त्यसकारण यहोवाले दाऊदको उत्तराधिकारीको रूपमा छान्‍नुभएको व्यक्‍ति आफू होइन भनेर अब्शालोमले थाह पाएको हुनुपर्छ।—२ शमू. ३:३; ७:१२.

b तपाईंले आफ्नो परिवारसित छलफल गर्न सक्ने राम्रा बाइबल पदहरूमध्ये एउटा १ कोरिन्थी १३:४-८ हो। यसमा प्रेषित पावलले प्रेमको वर्णन गरेका छन्‌। अर्को पद भजन १९:७-११ हो। यसमा यहोवाको व्यवस्था पालन गर्दा कस्तो आशिष्‌ पाइन्छ, त्यसबारे चर्चा गरिएको छ।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १४-मा भएको चित्र]

अहिलेका अब्शालोमहरूलाई हामी कसरी चिन्‍न सक्छौं र तिनीहरूबाट कसरी जोगिन सक्छौं?