सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वार्षिक सभाको रिपोर्ट

एकता अनि रोमाञ्चक योजनाले भरपूर सभा

एकता अनि रोमाञ्चक योजनाले भरपूर सभा

वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाको वार्षिक सभा सधैं नै उत्साहजनक हुन्छ। अक्टोबर १, २०११, शनिबारको दिन आयोजित १२७ औं वार्षिक सभा पनि त्यस्तै थियो। अमेरिकाको न्यु जर्सीस्थित जर्सी सहरमा रहेको यहोवाका साक्षीहरूको सम्मेलन भवनमा संसारका विभिन्‍न ठाउँबाट बोलाइएका अतिथिहरू भेला भएका थिए।

परिचालक निकायका सदस्य गेरिट लोशले आनन्दित जनसमुदायलाई स्वागत गरे। लगभग ८५ वटा देशबाट आएका प्रतिनिधिहरूलाई तिनले हामीमाझ बेजोड अन्तरराष्ट्रिय एकता छ भनेर बताए। त्यस्तो एकताले राम्रो साक्षी दिनुका साथै यहोवाको महिमा पनि गर्छ। वास्तवमा त्यस सभामा एकताबारे बारम्बार उल्लेख गरिएको थियो।

मेक्सिकोबाट राम्रो रिपोर्ट

कार्यक्रमको पहिलो भागमा यहोवाका साक्षीहरूमाझ भएको एकताको राम्रो उदाहरण प्रस्तुत गरियो। बाल्टासर पर्लाले छवटा शाखा कार्यालय मेक्सिको शाखा कार्यालयमा गाभिएको विषयमा मेक्सिको बेथेल परिवारका तीन जना सदस्यसित अन्तरवार्ता लिए। यसरी गाभिएकोले मेक्सिकोमा रहेको बेथेल परिवार बहुसांस्कृतिक र अन्तरराष्ट्रिय भएको छ। सँगी भाइबहिनीहरू विभिन्‍न मुलुकबाट आएकोले प्रोत्साहन आदानप्रदान गर्न सकिएको छ। परमेश्‍वरले एउटा ठूलो रबर लिएर भौगोलिक सिमानालाई मेट्‌नुभएको जस्तो देखिन्छ।

यसरी गाभिदा उत्पन्‍न भएको एउटा चुनौती भनेको आफ्नो देशमा शाखा कार्यालय नभए तापनि यहोवाको सङ्‌गठनबाट अलग्गिएको होइन भनेर प्रकाशकहरूलाई महसुस गराउनु थियो। त्यसैले प्रत्येक मण्डलीले शाखा कार्यालयसित इमेलद्वारा सम्पर्क गर्ने प्रबन्ध मिलाइएको छ जसले गर्दा विकट ठाउँमा रहेकाहरूले समेत शाखा कार्यालयसित सीधै सम्पर्क राख्न सक्छन्‌।

जापानबाट ताजा खबर

जापान शाखाका जेम्स लिन्टनले मार्च २०११ मा जापानमा गएको भूकम्प र सुनामीले भाइबहिनीलाई पारेको असरबारे बताए। थुप्रै साक्षीले आफ्ना प्रियजन अनि सर-सम्पत्ति गुमाए। भूकम्प र सुनामीले असर नगरेको इलाकामा बस्ने साक्षीहरूले ३,१०० भन्दा बढी घर अनि सयौं गाडी उपलब्ध गराए। क्षेत्रीय निर्माण समितिमा काम गर्ने स्वयम्‌सेवकहरू हाम्रा भाइबहिनीको घर मर्मत गर्न दिनरात खटिए। आवश्‍यकता परेको जुनसुकै ठाउँमा जान तयार १,७०० भन्दा धेरै भाइबहिनीले स्वयम्‌सेवकको रूपमा सेवा गरे। अमेरिकाबाट आएको स्वयम्‌सेवकको एउटा समूहले राज्यभवन पुनर्निर्माणमा मदत गऱ्‍यो। यस काममा ५७५ जना स्वयम्‌सेवकले भाग लिए।

प्रभावित क्षेत्रका भाइबहिनीहरूको परमेश्‍वरसितको सम्बन्ध र तिनीहरूको भावनात्मक हितलाई एकदमै ध्यान दिइएको छ। गोठालो भेट गर्न आवश्‍यक परेकाहरूलाई ४०० भन्दा धेरै एल्डरहरूले मदत गरे। विश्‍व मुख्यालयबाट दुई जना प्रान्तीय निरीक्षक सान्त्वना दिनका लागि प्रभावित क्षेत्रहरूमा गए। यसबाट परिचालक निकायको चासो देखियो। विश्‍वभरिका यहोवाका साक्षीहरूले यस्तो चासो देखाएकोले त्यहाँका भाइबहिनीहरूले ठूलो सान्त्वना पाएका छन्‌।

कानुनी जित

बेलायत शाखाका स्टिफन हार्डीले हालै भएका कानुनी जितहरूबारे बताउँदा श्रोताहरूले एकाग्र भई सुने। उदाहरणको लागि, फ्रान्समा यहोवाका साक्षीहरूको कानुनी संस्थासित त्यहाँको सरकारले ८२ करोड अमेरिकी डलर कर माग गऱ्‍यो। मानवअधिकारसम्बन्धी युरोपेली अदालतले हाम्रो पक्षमा फैसला सुनाउँदा यो विवाद सुल्झियो। उक्‍त फैसलाअनुसार फ्रान्स सरकारले युरोपेली महासन्धिको धारा ९ मा भएको धार्मिक स्वतन्त्रतासम्बन्धी अधिकार उल्लङ्‌घन गरेको थियो। अदालतले गरेको फैसलामा प्रयोग गरिएका शब्दहरूले यो मामिला पैसाबारे थिएन भनेर देखाउँछ। त्यो फैसला यस्तो थियो: “धार्मिक संस्थालाई मान्यता नदिनु, त्यसको विघटन गर्नु, त्यसको कामप्रति अपमानजनक शब्द प्रयोग गर्नु—यी सबै युरोपेली महासन्धिको धारा ९ ले दिएको अधिकारको ठाडो उल्लङ्‌घनको उदाहरण हुन्‌।”

आर्मेनियाको एउटा मुद्दामा पनि मानवअधिकारसम्बन्धी युरोपेली अदालतले हाम्रो पक्षमा फैसला सुनायो। अनिवार्य सैन्य सेवामा भाग लिन नचाहनेहरूको अधिकारलाई युरोपेली महासन्धिले मान्यता दिएको छैन भनेर सन्‌ १९६५ देखि नै मानवअधिकारसम्बन्धी युरोपेली अदालतले भन्दै आएको थियो। “एकदमै गम्भीर निर्णय अनि कुनै हालतमा तोड्‌न नसकिने अडानको कारण यदि कसैले सैन्य सेवामा भाग लिंदैन” भने त्यसलाई युरोपेली महासन्धिले मान्यता दिनुपर्छ भनेर युरोपेली अदालतको माथिल्लो निकायले (ग्रान्ड च्याम्बर) फैसला गऱ्‍यो। यस फैसलाले आर्मेनियालाई मात्र होइन अजरबइजान र टर्कीलाई पनि असर गर्छ।

निर्माण परियोजना

परिचालक निकायका सदस्य गाइ पियर्सले न्यु योर्क राज्यमा गरिने निर्माणकार्यबारे सुन्‍न सबै जना उत्सुक हुनुहुन्छ होला भन्दै आफ्नो भाषण सुरु गरे। तिनले वाल्किल र प्याटर्सनमा भइरहेको निर्माणकार्य अनि न्यु योर्क राज्यको वारविक र टक्सिडोमा हालै किनेको जग्गाको भिडियो देखाए। सन्‌ २०१४ सम्ममा वाल्किलमा थप ३०० वटा कोठा भएको नयाँ भवन तयार पारिनेछ।

वारविकमा १०० हेक्टर जमिनमा निर्माणकार्य गर्ने योजना छ। भाइ पियर्सले यसो भने, “हुन त वारविकबारे यहोवाको इच्छा कस्तो छ, अहिले हामी पक्का छैनौं। तैपनि यहोवाका साक्षीहरूको मुख्यालयलाई त्यहाँ सार्ने उद्देश्‍यका साथ निर्माण योजना अघि बढाउँदै छौं।” मेसिन तथा निर्माण सामग्री राख्नको लागि वारविकबाट १० किलोमिटर उत्तरमा पर्ने २० हेक्टर जमिन प्रयोग गर्ने योजना पनि छ। भाइ पियर्सले भने, “निर्माणकार्यको लागि अनुमति पाएपछि सम्पूर्ण निर्माण परियोजना चार वर्षभित्र सिध्याउने लक्ष्य राखेका छौं। त्यसपछि ब्रूक्लिनमा रहेका हाम्रा भवनहरू बेच्न सक्छौं।”

भाइ पियर्सले यस्तो प्रश्‍न सोधे, “के यसको मतलब परिचालक निकायले महासङ्‌कष्ट त्यति नजिक छैन भन्‍न खोजेको हो?” तिनले जवाफ दिए, “त्यसो त पटक्कै होइन। यदि महासङ्‌कष्टले गर्दा हाम्रो काम रोक्नुपऱ्‍यो भने त्यो त झनै बेस!”

गर्जने सिंहदेखि होसियार!

परिचालक निकायका अर्का सदस्य स्टिफन लेट्‌ले १ पत्रुस ५:८ बारे बताए जहाँ यस्तो लेखिएको छ, “सचेत रहो, जागा बस। तिमीहरूको शत्रु दियाबल कसलाई निलूँ भनेर गर्जने सिंहझैं घुमेर हिंड्‌छ।” सिंहको केही विशेषताले गर्दा पत्रुसले दियाबललाई सिंहसित तुलना गर्नु एकदमै उपयुक्‍त छ भनेर भाइ लेट्‌ले बताए।

सिंह मानिसभन्दा बलियो हुन्छ अनि छिटो दौडन सक्छ। त्यसैले आफ्नै बलमा भर परेर सैतानभन्दा छिटो दौडन वा त्यसलाई जित्न खोज्नु हुँदैन। हामीलाई यहोवाको मदत चाहिन्छ। (यशैया ४०:३१) सिंहले चालै नपाउने गरी शिकार गर्छ। त्यसैले सैतानले शिकार बनाउन सक्ने अवस्थामा नपर्न हामी होसियार हुनुपर्छ। सिंहले निस्सहाय मृग वा सुतिरहेको पाजीलाई मारेझैं सैतान पनि हामीलाई मार्न चाहन्छ किनभने त्यो निर्दयी छ। भोक मेटिएपछि सिंहले शिकारलाई चिन्‍न नसकिने हालतमा छोड्‌छ। त्यसरी नै सैतानले शिकार बनाएकाहरूको “पछिल्लो अवस्था पहिलेको भन्दा झनै खराब हुन्छ।” (२ पत्रुस २:२०) त्यसैले हामी सैतानविरुद्ध खडा हुनुपर्छ र आफूले सिकेका बाइबल सिद्धान्तहरूलाई दह्रोगरि पक्रिराख्नुपर्छ।—१ पत्रु. ५:९.

यहोवाको भवनमा आफ्नो स्थानको कदर गर्नुहोस्‌

अर्को वक्‍ता, परिचालक निकायका सदस्य, स्यामूएल हर्डले यसो भने, “यहोवाको भवनमा हामी सबैको आ-आफ्नै स्थान छ।” परमेश्‍वरको भवन अर्थात्‌ उहाँको प्रतीकात्मक मन्दिरमा प्रत्येक ख्रीष्टियनको आ-आफ्नै स्थान छ। यो मन्दिर येशूको फिरौतीको बलिदानको आधारमा यहोवाको उपासना गर्ने प्रबन्ध हो। परमेश्‍वरको भवनमा पाएको स्थानलाई हामीले अनमोल सुअवसर ठान्‍नुपर्छ। दाऊदजस्तै हामी पनि ‘जीवनभर परमप्रभुको भवनमा रहने’ इच्छा गर्छौं।—भज. २७:४.

भाइ हर्डले भजन ९२:१२-१४ उल्लेख गर्दै यो प्रश्‍न सोधे, “यहोवाले हामीलाई कसरी लहलह बढ्‌न मदत गर्नुहुन्छ?” तिनले यस्तो जवाफ दिए, “हाम्रो विश्‍वव्यापी भाइचारा अद्‌भुत छ र यसमार्फत परमेश्‍वरले हामीलाई न्यानो संगति दिनुहुन्छ, सुरक्षा दिनुहुन्छ अनि सत्यको स्फूर्तिदायी पानी दिनुहुन्छ।” त्यसपछि तिनले सबैलाई आग्रह गरे, “यसको लागि यहोवालाई धन्यवाद देऔं। छोटो समयको लागि होइन, सधैंभरि परमेश्‍वरको भवनमा रहिरहौं।”

ख्रीष्टियनहरू परमेश्‍वरको वचनलाई आदर गर्छन्‌

परिचालक निकायका अर्को सदस्य डेभिड स्प्लेनले साँचो ख्रीष्टियनहरूले सधैं परमेश्‍वरको वचनलाई आदर गरेका छन्‌ भनेर बताए। प्रथम शताब्दीमा खतनासम्बन्धी विवाद सुल्झाउन तिनीहरू परमेश्‍वरको वचनमा भर परे। (प्रेषि. १५:१६, १७) तर ग्रीक दर्शनमा शिक्षा हासिल गरेका दोस्रो शताब्दीका केही ख्रीष्टियन भनौदाले बाइबललाई वास्ता गर्नुको सट्टा आफ्नै बौद्धिक ज्ञान बढाउन खोजे। पछि अरूले पनि बाइबल शिक्षाहरूको सट्टामा चर्चका पादरी भनौदाहरू र रोमी सम्राट्‌हरूको विचारधारा सिकाए। यसरी झूटा शिक्षाहरू फैलन थाले।

सत्यको रक्षा गर्ने निष्कपट अभिषिक्‍त ख्रीष्टियनहरू पृथ्वीमा पछिसम्म रहनेछन्‌ भनी येशूले एउटा दृष्टान्तमार्फत सङ्‌केत गर्नुभएको कुरा पनि भाइ स्प्लेनले उल्लेख गरे। (मत्ती १३:२४-३०) तिनीहरू को थिए भनेर हामी यकिनका साथ भन्‍न सक्दैनौं। तर शताब्दियौंको दौडान थुप्रैले गैर धर्मशास्त्रीय विश्‍वास अनि प्रचलनहरूको विरोध गरे। तिनीहरूमध्ये केहीको नाम यसप्रकार छ: नवौं शताब्दीमा लियोन्सका आर्कबिशप एगोबार्ड, १२ औं शताब्दीमा ब्रुजका पिटर, लोजानका हेन्री र वाल्डेस (अर्थात्‌ वाल्डो), १४ औं शताब्दीमा जोन विक्लिफ, १६ औं शताब्दीमा विलियम टिन्डेल अनि १९ औं शताब्दीमा हेन्री ग्रू र जर्ज स्टोर्स। आज पनि यहोवाका साक्षीहरू बाइबलको स्तरअनुसार चल्छन्‌ र बाइबललाई सत्यको आधार मान्छन्‌। त्यसैकारण परिचालक निकायले सन्‌ २०१२ को वार्षिक पदको रूपमा यूहन्‍ना १७:१७ छानेको छ। त्यहाँ यस्तो लेखिएको छ, “तपाईंको वचन सत्य हो।”

तालिम र सेवाको लागि रोमाञ्चकारी छाँटकाँट

परिचालक निकायका अर्को सदस्य एन्थोनी मोरिस्‌ले मिसनरी र विशेष अग्रगामीको लागि गरिएको छाँटकाँटबारे घोषणा गरे। ख्रीष्टियन दम्पतीहरूका लागि सुरु गरिएको बाइबल स्कूल सन्‌ २०१२ सेप्टेम्बर महिनादेखि अरू देशमा पनि सञ्चालन गरिनेछ। गत वर्षको अक्टोबर महिनादेखि गिलियड स्कूलको उद्देश्‍यमा केही छाँटकाँट गरिएको छ। कुनै न कुनै प्रकारको विशेष पूर्ण-समय सेवामा लागिरहेका व्यक्‍तिहरूलाई नै गिलियड स्कूलमा बोलाइनेछ। जस्तै: गिलियड स्कूलमा नगएका मिसनरी, विशेष अग्रगामी, परिभ्रमण निरीक्षक वा बेथेल सेवक। त्यसपछि ती तालिमप्राप्त व्यक्‍तिहरूलाई शाखा कार्यालयमा, परिभ्रमण कार्यमा वा ठूलो सहरको कुनै मण्डलीमा खटाइनेछ। तिनीहरूले सँगी भाइबहिनीलाई बलियो अनि स्थिर बनाउनुका साथै तालिम पनि दिनेछन्‌।

‘अविवाहित भाइहरूका लागि बाइबल स्कूल’ अनि ‘ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कूल’-बाट तालिम पाएका केहीले जनवरी १, २०१२ देखि अस्थायी विशेष अग्रगामीको रूपमा सेवा गर्नेछन्‌ भनेर घोषणा गरिएको थियो। तिनीहरूले प्रकाशकहरू थोरै भएका वा हुँदै नभएका ठाउँहरूमा गएर प्रचार गर्नेछन्‌। तिनीहरूलाई एक चोटिमा एक वर्षको लागि विशेष अग्रगामीको रूपमा खटाइनेछ। लगातार तीन वर्षसम्म सेवा गरेर प्रभावकारी साबित हुनेहरूलाई स्थायी विशेष अग्रगामीको रूपमा खटाइन सक्छ।

सन्‌ २०११ को वार्षिक सभा रमाइलो थियो। प्रचारकार्यसम्बन्धी गतिविधि अझ तीव्र पार्न अनि हाम्रो भाइचारा अझ बलियो पार्न गरिएका यी नयाँ प्रबन्धहरूमा यहोवाको आशिष्‌ रहोस्‌ अनि यसले यहोवाको महिमा र प्रशंसा गरोस्‌!

[पृष्ठ १८-मा भएको पेटी/चित्रहरू]

अझ राम्ररी चिन्‍नुहोस्‌

यस कार्यक्रममा परिचालक निकायका सदस्यहरूको पाँच जना विधवा पत्नीको अन्तरवार्ता पनि लिइयो। उनीहरू मरिना सिडलिक, एडिथ सुटर, मेलिटा जारास, मेल्बा ब्यारी र सीड्‌नी बार्बर थिए। उनीहरूले कसरी सत्य सिके अनि पूर्ण-समय सेवामा लागे भनेर आफ्नो अनुभव सुनाए। पाँचै जनाले आफ्नो अविस्मरणीय क्षणबारे, आफ्नो पतिबारे र यहोवाको सेवामा सँगै बिताएको समयबारे बताए। मन छुने अन्तरवार्ताको अन्तमा सबैले गीत नम्बर ८६ गाए जसको शीर्षक थियो, “वफादार स्त्रीहरू, ख्रीष्टियन बहिनीहरू।”

[चित्रहरू]

(माथि) डानियल र मरिना सिडलिक; ग्रान्ट र एडिथ सुटर; थिओडर र मेलिटा जारास

(तल) लोइड र मेल्बा ब्यारी; क्यारी र सीड्‌नी बार्बर

[पृष्ठ १६-मा भएको नक्सा]

छवटा शाखा मेक्सिको शाखासित गाभिए

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

मेक्सिको

ग्वाटेमाला

होण्डुरस

एल साल्भाडोर

निकारागुआ

कोस्टा रिका

पानामा

[पृष्ठ १७-मा भएको चित्र]

न्यु योर्क राज्यको वारविकमा निर्माण हुने यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयको भावी नमुना