सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दृढ भई खडा हुनुहोस्‌ र सैतानको पासोको प्रतिरोध गर्नुहोस्‌!

दृढ भई खडा हुनुहोस्‌ र सैतानको पासोको प्रतिरोध गर्नुहोस्‌!

दृढ भई खडा हुनुहोस्‌ र सैतानको पासोको प्रतिरोध गर्नुहोस्‌!

‘दियाबलका दाउपेचहरूविरुद्ध दृढ भई खडा होओ।’—एफि. ६:११.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

यहोवाका सेवकहरू भौतिकवादको पासोमा पर्नदेखि कसरी जोगिन सक्छन्‌?

आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोमा नपर्न विवाहित ख्रीष्टियनहरूलाई केले मदत गर्न सक्छ?

भौतिकवाद र अवैध यौनसम्बन्धविरुद्ध दृढ भई खडा हुँदा कस्तो आशिष्‌ पाइन्छ?

१, २. (क) सैतानले अभिषिक्‍त ख्रीष्टियन र “अरू भेडा”-लाई किन फिटिक्कै दया देखाउँदैन? (ख) यस लेखमा सैतानको कुन-कुन पासोबारे छलफल गरिनेछ?

 सैतान अर्थात्‌ दियाबलले मानिसहरूलाई फिटिक्कै दया देखाउँदैन, अझ विशेषगरि यहोवाका सेवकहरूलाई। वास्तवमा भन्‍नुपर्दा सैतानले शेष अभिषिक्‍त ख्रीष्टियनहरूविरुद्ध लडाइँ लडिरहेको छ। (प्रका. १२:१७) यी साहसी ख्रीष्टियनहरूले अहिले राज्य-प्रचारकार्यमा नेतृत्व लिइरहेका छन्‌ र यस संसारको शासक सैतान हो भनेर उदाङ्‌ग पारेका छन्‌। अभिषिक्‍त ख्रीष्टियनहरूलाई साथ दिंदै अनन्त जीवनको आशा राख्ने “अरू भेडा”-लाई पनि दियाबलले पटक्कै माया गर्दैन। (यूह. १०:१६) सधैंभरि बाँच्ने आशा सैतानले गुमाइसकेको छ। त्यसैले ऊ असाध्यै क्रोधित छ। हाम्रो आशा स्वर्गको होस्‌ वा पृथ्वीको, हाम्रो हितमा सैतानको कुनै चासो छैन। उसको लक्ष्य भनेकै हामीलाई आफ्नो शिकार बनाउनु हो।—१ पत्रु. ५:८.

आफ्नो उद्देश्‍य हासिल गर्न सैतानले विभिन्‍न पासो थापेको छ। विश्‍वास नगर्नेहरूको ‘दिमागलाई त्यसले अन्धो तुल्याइदिएको छ।’ त्यसैले तिनीहरू सुसमाचार स्वीकार्दैनन्‌ र त्यसले थापेको पासो देख्न सक्दैनन्‌। तथापि, राज्य सन्देश स्वीकारेका केही व्यक्‍तिलाई समेत दियाबलले आफ्नो पासोमा पारेको छ। (२ कोरि. ४:३, ४) अघिल्लो लेखमा, सैतानका तीनवटा पासोको कसरी प्रतिरोध गर्न सक्छौं भनेर सिक्यौं। ती पासो थिए: (१) बेलगाम बोली, (२) डर र दबाब अनि (३) अचाक्ली दोषी महसुस गर्नु। सैतानका थप दुईवटा पासोविरुद्ध हामी कसरी दृढ भई खडा हुन सक्छौं, आउनुहोस्‌ विचार गरौं। ती पासो हुन्‌: भौतिकवाद र आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने प्रलोभन।

भौतिकवाद—निसासिदिने पासो

३, ४. यस संसारको फिक्रीले कसरी भौतिकवादतर्फ पुऱ्‍याउन सक्छ?

एउटा दृष्टान्तमा येशूले काँडाहरूको बीचमा छरिएको बीउबारे बताउनुभयो। उहाँले बताएअनुसार कुनै मानिसले वचन त सुन्छ “तर यस संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्‍तिले गर्दा वचन निसासिन्छ र उसले फल फलाउँदैन।” (मत्ती १३:२२) हो, हाम्रो शत्रु सैतानले प्रयोग गर्ने एउटा पासो भौतिकवाद हो।

वचनलाई निसासिदिने दुईवटा कुरा छन्‌। एउटा हो, “यस संसारको फिक्री।” यस “असाध्यै कठिन समय”-मा फिक्री जगाउने कुरा थुप्रै छन्‌। (२ तिमो. ३:१) महँगी र बेरोजगारी समस्याले जीवन धान्‍नै गाह्रो बनाउन सक्छ। तपाईंलाई भविष्यको पनि चिन्ता लाग्न सक्छ। त्यसैले मनमा यस्तो प्रश्‍न आउन सक्छ: ‘काम गर्न नसक्ने उमेरमा पुगेपछि कसरी जीवन धान्‍ने?’ यस्ता फिक्रीहरूले गर्दा कोही-कोही धनसम्पत्ति प्राप्त गर्न लागिपरेका छन्‌। तिनीहरू पैसा भयो भने सब कुरा हुन्छ भन्‍ने सोचाइ राख्छन्‌।

५. कुन अर्थमा ‘धनसम्पत्तिको शक्‍ति’ भ्रामक हुन सक्छ?

येशूले बताउनुभएको अर्को कुरा हो, “धनसम्पत्तिको भ्रामक शक्‍ति।” धनसम्पत्तिको भ्रामक शक्‍ति र यसले निम्त्याउने फिक्रीले गर्दा वचन निसासिन सक्छ। बाइबलले “रुपियाँपैसा एउटा आश्रय हो” भनी बताउँछ। (उप. ७:१२, NRV) तर धनसम्पत्तिको पछि लाग्नु बुद्धिमानी होइन। थुप्रैले अनुभव गरेअनुसार धनसम्पत्ति प्राप्त गर्न मरिमेट्‌दा झनझनै भौतिकवादको पासोमा परिन्छ। कतिपय त धनसम्पत्तिको दाससमेत बनेका छन्‌।—मत्ती ६:२४.

६, ७. (क) कस्तो अवस्थाले तपाईंलाई काम गर्ने ठाउँमा धनी बन्‍ने चाहना उत्पन्‍न गराउन सक्छ? (ख) ओभरटाइम गर्ने प्रस्ताव आउँदा ख्रीष्टियनले कुन कुरा विचार गर्नुपर्छ?

धनी बन्‍ने चाहना पत्तै नपाई सुरु हुन सक्छ। यस उदाहरणलाई विचार गर्नुहोस्‌। हाकिम आएर तपाईंलाई यसो भन्छन्‌: “एउटा राम्रो समाचार छ! हाम्रो कम्पनीले एउटा ठूलो काम पाएको छ। यसको मतलब अब तपाईंले केही महिनाको लागि ओभरटाइम गर्नुपर्ने हुन्छ। तर चिन्ता नगर्नुहोस्‌, तपाईंले दाम पनि उत्तिकै पाउनुहुन्छ।” यस्तो प्रस्ताव आउँदा तपाईं के गर्नुहुन्छ? हुन त परिवारको भौतिक आवश्‍यकता पूरा गर्नु तपाईंको महत्त्वपूर्ण जिम्मेवारी हो। तर तपाईंको जिम्मेवारी त्यो मात्र त निश्‍चय पनि होइन। (१ तिमो. ५:८) तपाईंले विचार गर्नुपर्ने अन्य कुराहरू पनि छन्‌। ओभरटाइम कति गर्नुपर्छ? कतै यस कामले मण्डलीका सभा, साँझको पारिवारिक उपासनाजस्ता कुरामा बाधा पुऱ्‍याएर परमेश्‍वरको सेवा गर्न गाह्रो बनाउने पो हो कि?

निर्णय गर्दा तपाईं कुन कुरालाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ—ओभरटाइम गर्दा पाउने थप पैसालाई वा यहोवासितको सम्बन्धलाई? अझ धेरै पैसा कमाउने ध्याउन्‍नमा लागेर के तपाईं राज्य गतिविधिलाई पहिलो स्थान दिनदेखि पछि पर्नुहुनेछ? आफ्नो र आफ्नो परिवारको यहोवासितको सम्बन्धलाई बेवास्ता गरेमा यसले कस्तो असर पार्नेछ, के तपाईंले विचार गर्नुभएको छ? अहिले तपाईं यस्तै अवस्थामा हुनुहुन्छ भने तपाईं कसरी दृढ भई खडा हुन र भौतिकवादको कारण निसासिनदेखि जोगिन सक्नुहुन्छ?१ तिमोथी ६:९, १० पढ्‌नुहोस्‌।

८. बाइबलमा पाइने कस्ता उदाहरणले हामीलाई आफ्नो जीवनशैली केलाउन मदत गर्न सक्छ?

भौतिकवादको कारण निसासिनदेखि जोगिन समय-समयमा आफ्नो जीवनशैली केलाउनुहोस्‌। हामी कहिल्यै पनि पवित्र कुराहरूको कदर गर्न चुक्ने एसावजस्तो हुनु हुँदैन। (उत्प. २५:३४; हिब्रू १२:१६) अनि आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदिन र येशूको पछि लाग्न निम्तो पाएको धनी मानिसजस्तो पनि हुनु हुँदैन। यसो गर्न तयार हुनुको सट्टा त्यो मानिस “दुःखी हुँदै आफ्नो बाटो लाग्यो, किनकि ऊसित धेरै धनसम्पत्ति थियो।” (मत्ती १९:२१, २२) धनसम्पत्तिको पासोमा परेकोले त्यस मानिसले सबैभन्दा महान्‌ पुरुषको पछि लाग्ने मौका गुमायो! येशू ख्रीष्टको चेला बन्‍न पाएको मौका नगुमाउन होसियार हुनुहोस्‌।

९, १०. भौतिक चिजबीजप्रति बाइबलको दृष्टिकोण कस्तो छ?

भौतिक चिजबीजप्रतिको अनावश्‍यक चिन्तालाई हटाउन येशूको यो सल्लाह पालन गर्नुहोस्‌: “‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर। किनकि अन्यजातिका मानिसहरू यिनै कुराका लागि दौडधूप गर्छन्‌। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ।”—मत्ती ६:३१, ३२; लूका २१:३४, ३५.

१० धनसम्पत्तिको भ्रामक शक्‍तिको शिकार हुनुको सट्टा बाइबल लेखक आगूरको जस्तै दृष्टिकोण राख्नुहोस्‌। तिनले यसो भने: “मलाई नता दरिद्र बनाउनुहोस्‌, न मलाई धन दिनुहोस्‌। मलाई चाहिंदो भोजन मात्र जुटाइ दिनुहोस्‌।” (हितो. ३०:८) स्पष्ट छ, आगूरले पैसाको महत्त्व तथा धनसम्पत्तिको भ्रामक शक्‍तिबारे बुझेका थिए। यस संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्‍तिले यहोवासितको सम्बन्ध तहसनहस पार्न सक्छ भन्‍ने कुरा बुझ्नुहोस्‌। भौतिक चिजबीजबारे अचाक्ली चिन्ता गर्नुभयो भने राज्य गतिविधिलाई पहिलो स्थानमा राख्ने समय, शक्‍ति र चाहना नै नहुन सक्छ। त्यसैले सैतानले थापेको भौतिकवादको पासोमा नपर्न कटिबद्ध हुनुहोस्‌!हिब्रू १३:५ पढ्‌नुहोस्‌।

आफ्नो पति वा पत्नीबाहेक अरूसितको यौनसम्बन्ध—चालै नपाउने खाडल

११, १२. कुनै ख्रीष्टियन आफू काम गर्ने ठाउँमा कसरी आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोमा पर्न सक्छन्‌?

११ कुनै-कुनै जनावरलाई पक्रन शिकारीले जनावरहरू अक्सर ओहोरदोहोर गर्ने बाटोमा खाडल खन्छ। त्यसपछि शिकारीले त्यो खाडललाई माथिबाट झिक्राझिक्री तथा घुऱ्‍यानहरूले ढाकिदिन्छ। सैतानले प्रयोग गर्ने एउटा अत्यन्तै प्रभावकारी प्रलोभन यस्तै किसिमको छ। त्यो हो, अवैध यौनसम्बन्ध राख्ने प्रलोभन। (हितो. २२:१४; २३:२७) अवैध यौनसम्बन्ध राख्न सक्ने अवस्थामा पुगेर केही ख्रीष्टियन त्यो खाडलमा परेका छन्‌। केही विवाहित ख्रीष्टियन आफ्नो जोडीबाहेक अरूसित रोमान्टिक सम्बन्ध गाँसेकाले अवैध यौनसम्बन्ध राख्न पुगेका छन्‌।

१२ काम गर्ने ठाउँमा त्यस्तो अनुचित रोमान्टिक सम्बन्ध सुरु हुन सक्छ। एउटा अध्ययनले देखाएअनुसार यस्तो अवैध यौनसम्बन्ध राख्ने आधाभन्दा धेरै महिला र चार जनामध्ये तीन जना पुरुषले आफ्नै सहकर्मीसित त्यस्तो सम्बन्ध राखेका थिए। के तपाईंले पनि विपरीत लिङ्‌गको व्यक्‍तिसँगै काम गर्नुपर्छ? पर्छ भने तिनीहरूसित तपाईंको सम्बन्ध कस्तो छ? त्यो ठाउँ काम गर्ने ठाउँबाहेक अरू केही हुन नपाओस्‌ भनेर के तपाईं सीमा तोक्नुहुन्छ? उदाहरणको लागि, पुरुष सहकर्मीसित बारम्बार गफगाफ गर्दा ख्रीष्टियन बहिनीले तिनलाई नै आफ्नो विश्‍वासपात्र बनाउलिन्‌। उनले तिनलाई आफ्ना वैवाहिक समस्यासमेत बताउलिन्‌। अथवा अवस्था यस्तो पनि हुन सक्छ, महिला सहकर्मीसित मित्रता गाँसेपछि ख्रीष्टियन पुरुषले यस्तो सोचाइ राख्लान्‌: “तिनी मेरो विचारको कदर गर्छिन्‌ अनि मैले कुरा गर्दा ध्यान दिएर सुन्छिन्‌। अनि तिनी मेरो आदर पनि गर्छिन्‌। घरमा पनि यस्तै भइदिए त!” यस्तो अवस्थाले गर्दा कुनै ख्रीष्टियन कसरी आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोमा पर्न सक्छन्‌, के तपाईंले बुझ्नुभयो?

१३. मण्डलीभित्र कसरी अनुचित रोमान्टिक सम्बन्ध सुरु हुन सक्छ?

१३ मण्डलीभित्र पनि त्यस्तो अनुचित रोमान्टिक सम्बन्ध सुरु हुन सक्छ। एउटा सत्य घटनालाई विचार गर्नुहोस्‌। शैलेन्द्र र उनकी पत्नी रमिता a नियमित अग्रगामी थिए। शैलेन्द्रकै शब्दमा भन्‍ने हो भने उनी “कहिल्यै नाइँ नभन्‍ने एल्डर” थिए। उनी मण्डलीको जुनसुकै जिम्मेवारी खुसीसाथ स्वीकार्थे। उनले पाँच जना केटासित अध्ययन गर्न थाले जसमध्ये तीन जनाले पछि गएर बप्तिस्मा गरे। यी नयाँ भाइहरूलाई धेरै मदत चाहिन्थ्यो। शैलेन्द्र मण्डलीको काममा व्यस्त हुँदा अक्सर रमिताले नै तिनीहरूलाई मदत गर्थिन्‌। तर भर्खरै बप्तिस्मा गरेका ती भाइहरूलाई भावनात्मक मदतको खाँचो थियो। यो मदत पनि तिनीहरूले रमिताबाटै पाए। रमितालाई पनि आफ्नो ख्याल गर्ने व्यक्‍ति चाहिएको थियो र तिनको यो आवश्‍यकतालाई शैलेन्द्रका बाइबल विद्यार्थीहरूले पूरा गर्न थाले। त्यो अवस्था एउटा खतरनाक पासो साबित भयो। शैलेन्द्र भन्छन्‌: ‘महिनौंसम्म अरूलाई मदत गर्न मात्र ध्यान दिएकीले मेरी श्रीमती आध्यात्मिक र भावनात्मक तवरमा लखतरान भएकी थिइन्‌। त्यतिबेला मैले तिनको ख्याल गर्न सकिनँ। त्यसले गर्दा ठूलो विपत्ति आइपऱ्‍यो। मेरी श्रीमतीले पहिला मैले बाइबल अध्ययन गराएको ती पाँच जना केटामध्ये एक जनासित यौनसम्बन्ध राखिन्‌। म यत्ति व्यस्त भएँ, यहोवासितको तिनको सम्बन्ध कमजोर भएको यादै गरिनँ।’ यस्तो दुर्दशा नभोग्न तपाईं के गर्न सक्नुहुन्छ?

१४, १५. आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोदेखि जोगिन विवाहित ख्रीष्टियनहरूलाई केले मदत गर्न सक्छ?

१४ आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोदेखि जोगिन आफ्नो जोडीप्रति वफादार हुनुको अर्थ विचार गर्नुहोस्‌। येशूले भन्‍नुभयो: “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ती १९:६) आफ्नो जोडीभन्दा मण्डलीको काम ठूलो हो भनेर कहिल्यै नसोच्नुहोस्‌। साथै आफ्नो पति वा पत्नीलाई ध्यान नदिई अनावश्‍यक कामकुराको लागि समय बिताउँदा तपाईंको वैवाहिक बन्धन कमजोर हुन सक्छ र यसले गम्भीर गल्ती गर्ने हदसम्म पुऱ्‍याउन सक्छ भन्‍ने कुरामा सजग हुनुहोस्‌।

१५ यदि तपाईं एल्डर हुनुहुन्छ भने बगालको हेरचाह गर्ने विषयमा चाहिं के भन्‍न सकिन्छ? प्रेषित पत्रुसले लेखे: “तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्‍वरको बगाललाई गोठालोले झैं हेरविचार गर, करमा परेर होइन तर स्वेच्छाले; बेइमानीद्वारा केही हासिल गर्ने लोभले होइन तर तत्परता साथ।” (१ पत्रु. ५:२) हो, तपाईंको जिम्मामा सुम्पिइएको मण्डलीका सदस्यहरूलाई बेवास्ता गर्न मिल्दैन। तर पतिको जिम्मेवारीलाई बेवास्ता गरेर गोठालोको जिम्मेवारी पूरा गर्नु उचित होइन। मण्डलीका भाइबहिनीहरूका लागि दौडधूप गर्नु तर आफ्नी पत्नीलाई भने बेवास्ता गर्नु बेकार छ, अझ भन्‍नुपर्दा यसो गर्नु खतरनाकसमेत छ। शैलेन्द्र भन्छन्‌: ‘मण्डलीको जिम्मेवारी पूरा गर्ने नाममा आफ्नो परिवारलाई कहिल्यै बेवास्ता नगर्नुहोस्‌।’

१६, १७. (क) कसैसित पनि रोमान्टिक सम्बन्ध गाँस्न तयार नभएको कुराको स्पष्ट सङ्‌केत दिन विवाहित ख्रीष्टियनहरूले काम गर्ने ठाउँमा कस्तो व्यावहारिक कदम चाल्न सक्छन्‌? (ख) आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नदेखि जोगिन ख्रीष्टियनहरूलाई मदत गर्ने हाम्रो प्रकाशनमा छापिएको कुनै एउटा लेखबारे बताउनुहोस्‌।

१६ आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने पासोको प्रतिरोध गर्न विवाहित ख्रीष्टियनहरूलाई मदत दिन प्रहरीधरहराब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी) पत्रिकामा थुप्रै मदतकारी सल्लाह उपलब्ध छ। उदाहरणको लागि, अक्टोबर १, २००६ अङ्‌कको प्रहरीधरहरा-मा यस्तो सुझाव दिइएको थियो: “काम गर्ने ठाउँमा होस्‌ वा अन्त कतै, अनावश्‍यक हिमचिम बढ्‌न सक्ने अवस्थाहरू सिर्जना हुँदा सतर्क हुनुहोस्‌। उदाहरणको लागि, काम गर्ने समय सिद्धिएपछि पनि कामकै सिलसिलामा महिलाले पुरुषसित र पुरुषले महिलासित नजिकिएर धेरै समय सँगै बिताउँदा प्रलोभनमा पर्न सकिन्छ। तपाईं विवाहित हुनुहुन्छ भने, आफ्नो श्रीमान्‌ वा श्रीमतीबाहेक अरूसितको प्रेमप्रसंग गाँस्न चाहन्‍नँ भनेर आफ्नो बोलीवचन र बानीबेहोराबाट प्रस्टै देखाउनुहोस्‌। यहोवालाई खुसी पार्न चाहने व्यक्‍ति भएकोले तपाईं अरूसित जिस्केर वा उत्ताउलो लुगाफाटा लगाएर अथवा बढी सिंगारपटार गरेर अनावश्‍यक ध्यान खिच्न पक्कै चाहनुहुन्‍न। . . . काम गर्ने ठाउँमा आफ्नो श्रीमान्‌ वा श्रीमतीको अनि छोराछोरीको फोटो राख्नुभएको छ भने पनि आफ्नो परिवारलाई कदापि धोका दिनु हुँदैन भनेर तपाईं अनि तपाईंका सहकर्मीहरूलाई सतर्क गराउनेछ। कसैले तपाईंलाई प्रेम प्रस्ताव राख्न सजिलो हुने खालको व्यवहार नगर्न र प्रेम प्रस्ताव राख्दा मख्ख नपर्न दृढ संकल्प गर्नुहोस्‌।”

१७ अर्को एउटा लेखले b आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने विषयमा कल्पना गर्नुको खतराबारे चेतावनी दिएको थियो। यस्तो कल्पना गर्दा आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने सम्भावना बढ्‌छ भनेर उक्‍त लेखमा बताइएको थियो। (याकू. १:१४, १५) तपाईं विवाहित हुनुहुन्छ भने समय-समयमा पति-पत्नी सँगै बसेर यस्तो जानकारी पुनरावलोकन गर्नु राम्रो हो। विवाह भनेको यहोवा स्वयम्‌ले सुरुवात गर्नुभएको प्रबन्ध हो र यो पवित्र बन्धन हो। आफ्नो वैवाहिक सम्बन्धबारे आपसमा कुराकानी गर्न समय छुट्याउनु तपाईं पवित्र कुराको मोल गर्नुहुन्छ भनेर देखाउने एउटा राम्रो तरिका हो।—उत्प. २:२१-२४.

१८, १९. (क) आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्दा परिणाम कस्तो हुन्छ? (ख) आफ्नो जोडीप्रति वफादार हुँदा कस्तो आशिष्‌ पाइन्छ?

१८ अनुचित रोमान्टिक सम्बन्ध गाँस्ने प्रलोभनमा पर्नुभयो भने आफ्नो पति वा पत्नीबाहेक अरूसितको यौनसम्बन्धले वा अन्य प्रकारका अवैध यौनसम्बन्धले निम्त्याउने हानिबारे गहिरिएर सोच्नुहोस्‌। (हितो. ७:२२, २३; गला. ६:७) अवैध यौनसम्बन्ध राख्ने मानिसले यहोवालाई अप्रसन्‍न तुल्याउँछ अनि आफू र आफ्नो जोडीलाई आघात पुऱ्‍याउँछ। (मलाकी २:१३, १४ पढ्‌नुहोस्‌) तर पवित्र आचरण कायम राख्नेहरूले पाउने आशिष्‌बारे चिन्तन गर्नुहोस्‌। तिनीहरूले सधैंभरि बाँच्ने आशा पाउनेछन्‌। यति मात्र होइन, अहिल्यै तिनीहरूले सर्वोत्तम जीवनको आनन्द उठाउन र सफा अन्तस्करण कायम राख्न सक्नेछन्‌।हितोपदेश ३:१, २ पढ्‌नुहोस्‌।

१९ भजनरचयिताले यसरी गाए: “तपाईंको [अर्थात्‌ परमेश्‍वरको] व्यवस्थामा प्रेम राख्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारणै रहँदैन।” (भज. ११९:१६५) त्यसैले सत्यलाई प्रेम गर्नुहोस्‌ र ‘कसरी हिंडिरहनुभएको छ, होसियार भई ध्यान दिनुहोस्‌, निर्बुद्धि मानिस जसरी होइन तर बुद्धिमान्‌ मानिस जसरी हिंड्‌नुहोस्‌।’ (एफि. ५:१५, १६) परमेश्‍वरका साँचो उपासकहरूलाई फसाउन सैतानले हामी हिंड्‌ने बाटोभरि पासो थापेको छ। तर त्यसको पासोमा नपर्न हामीलाई सम्पूर्ण हातहतियार उपलब्ध गराइएको छ। “दृढ भई खडा हुन” र “त्यस दुष्टका सबै अग्निबाणहरू निभाउन” हामीलाई चाहिने सबै कुरा यहोवाले दिनुभएको छ।—एफि. ६:११, १६.

[फुटनोटहरू]

a नाम परिवर्तन गरिएका छन्‌।

b अप्रिल २००९ अङ्‌कको ब्यूँझनुहोस्‌! (अङ्‌ग्रेजी)-को “वैवाहिक जीवनमा वफादार हुनु—यसको वास्तविक अर्थ के हो?” भन्‍ने लेख।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

भौतिकवादले यहोवासित तपाईंको सम्बन्ध बिगार्न सक्छ। त्यस्तो कहिल्यै नहोस्‌!

[पृष्ठ २९-मा भएको चित्र]

अरूसित बेमतलबले जिस्कनुभयो वा अरूले जिस्काउँदा मक्ख पर्नुभयो भने आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने सम्भावना बढ्‌छ