सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यस संसारको अन्त कसरी हुनेछ?

यस संसारको अन्त कसरी हुनेछ?

“तिमीहरू अन्धकारमा छैनौ; त्यसैले चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा तिमीहरू छक्क पर्न नपरोस्‌।” —१ थिस्स. ५:४.

१. जागा रहन र सङ्‌कष्ट सहन हामीलाई केले मदत गर्नेछ?

 संसारलाई हल्लाउने घटनाहरू चाँडै हुनेछन्‌। बाइबल भविष्यवाणीहरूको पूर्तिले यसको पुष्टि गर्छ। त्यसैले हामी जागा रहनुपर्छ। जागा रहन हामीलाई केले मदत गर्नेछ? प्रेषित पावल हामीलाई “आफ्नो नजर . . . नदेखिने कुराहरूमा” राख्न आग्रह गर्छन्‌। हाम्रो इनाम चाहे स्वर्गमा होस्‌ वा पृथ्वीमा, अनन्त जीवनको इनामलाई बिर्सनु हुँदैन। यस पदमा पावलले आफ्ना सङ्‌गी उपासकहरूलाई वफादार भई जीवन बिताउँदा पाउने सुखद परिणाममा ध्यान केन्द्रित गर्न प्रोत्साहन दिंदै थिए। त्यसो गर्दा तिनीहरूले सङ्‌कष्ट र खेदो सहन पनि बल पाउनेथिए।—२ कोरि. ४:८, ९, १६-१८; ५:७.

२. (क) आफ्नो आशालाई बलियो बनाइराख्न हामीले के गर्नुपर्छ? (ख) यो र यसपछिको लेखमा हामी कुन कुरा विचार गर्नेछौं?

पावलले दिएको सल्लाहमा एउटा महत्त्वपूर्ण सिद्धान्त लुकेको छ: आफ्नो आशालाई बलियो बनाइराख्न आँखाले देख्ने कुराहरूमा मात्र ध्यान केन्द्रित गर्नु हुँदैन। अहिले नदेखिएका तर भविष्यमा हुने उल्लेखनीय घटनाहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। (हिब्रू ११:१; १२:१, २) त्यसैले आउनुहोस्‌, यो र यसपछिको लेखमा अनन्त जीवनको आशासित सम्बन्धित भविष्यमा हुने दसवटा घटनालाई विचार गरौं।

अन्त हुनुभन्दा ठीकअघि के हुनेछ?

३. (क) पहिलो थिस्सलोनिकी ५:२, ३ मा उल्लेख गरिएको कुन घटना हुन बाँकी छ? (ख) त्यतिबेला राजनैतिक नेताहरूले के गर्नेछन्‌ र तिनीहरूलाई सम्भवतः कसले साथ दिनेछन्‌?

थिस्सलोनिकीहरूलाई लेखेको पत्रमा पावलले भविष्यमा हुने एउटा घटनाबारे बताए। (१ थिस्सलोनिकी ५:२, ३ पढ्‌नुहोस्‌) तिनले “यहोवाको दिन”-बारे उल्लेख गरे। यस पदमा उल्लेख गरिएको “यहोवाको दिन”-ले एउटा समयावधिलाई बुझाउँछ, जसको सुरुमा झूटो धर्मको विनाश हुनेछ र अन्तमा आरमागेडोनको युद्ध हुनेछ। तर यहोवाको त्यो दिन सुरु हुनुभन्दा ठीकअघि विश्‍व नेताहरू “शान्ति र सुरक्षा!” भनिरहेका हुनेछन्‌। यो कुनै एउटा खास घटना वा एकपछि अर्को गरी हुने घटनाक्रम हुन सक्छ। विश्‍वले सामना गरिरहेका केही ठूलठूला समस्याको समाधान गर्नै लागेका छौं भन्ठानेर राष्ट्रहरूले त्यसो भनिरहेका हुनेछन्‌। धर्मगुरुहरू नि? तिनीहरू यसै संसारका भाग हुन्‌। त्यसैले सम्भवतः तिनीहरूले पनि राजनैतिक नेताहरूसित मिलेर “शान्ति र सुरक्षा!” भन्‍नेछन्‌। (प्रका. १७:१, २) यसरी यी धर्मगुरुहरूले पुरातन यहूदाका झूटा अगमवक्‍ताहरूले जे गरेका थिए, त्यही गरिरहेका हुनेछन्‌। यहोवाले यसो भन्‍नुभएको थियो: ‘शान्ति नै नहुँदा पनि तिनीहरू “शान्ति, शान्ति” भनिरहेका छन्‌।’—यर्मि. ६:१४; २३:१६, १७.

४. आम मानिसले नबुझेको कुन कुरा हामीले बुझेका छौं?

“शान्ति र सुरक्षा!” भन्‍नेहरू जोसुकै किन नहोऊन्‌, त्यस घटनाले यहोवाको दिन सुरु हुनै लागेको सङ्‌केत गर्नेछ। त्यसकारण पावलले यसो भन्‍न सके: “भाइहरू हो, तिमीहरू अन्धकारमा छैनौ; त्यसैले चालै नपाई उज्यालो हुँदा चोर छक्क परेजस्तै त्यो दिन आउँदा तिमीहरू छक्क पर्न नपरोस्‌, किनकि तिमीहरू सबै जना उज्यालोका सन्तान . . . हौ।” (१ थिस्स. ५:४, ५) आम मानिसले हाल भइरहेका घटनाको अर्थ बुझेका छैनन्‌, तर हामीले भने यी घटनाहरूबारे बाइबलले बताएको कुरा बुझेका छौं। “शान्ति र सुरक्षा!” भन्‍ने भविष्यवाणी ठ्याक्क कसरी पूरा हुनेछ? त्यो त समयले नै बताउनेछ। त्यसैले “जागा बसौं अनि सचेत रहौं।”—१ थिस्स. ५:६; सप. ३:८.

आफ्नो विनाश हुनेछैन भन्ठानेकी “महारानी”

५. (क) “महासङ्‌कष्ट”-को सुरुवात कसरी हुनेछ? (ख) आफ्नो विनाश हुनेछैन भन्ठानेकी “महारानी” को हो?

भविष्यमा हुने अर्को घटना के हो? पावलले यसो भने: “जब तिनीहरूले ‘शान्ति र सुरक्षा!’ भनिरहेका हुन्छन्‌, तब . . . तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ।” यस विनाशको पहिलो चरणमा झूटो धर्मको विश्‍व साम्राज्य “महान्‌ बेबिलोन,” जसलाई वेश्‍या पनि भनिएको छ, त्यसमाथि आक्रमण हुनेछ। (प्रका. १७:५, ६, १५) चर्चजगत्‌ लगायत सम्पूर्ण झूटो धर्ममाथि हुने त्यो आक्रमण “महासङ्‌कष्ट”-को सुरुवात हो। (मत्ती २४:२१; २ थिस्स. २:८) यो घटना हुँदा धेरै जना छक्क पर्नेछन्‌। किन? किनभने त्यतिबेलासम्म त्यस वेश्‍याले आफूलाई ‘कहिल्यै शोक गर्नु नपर्ने’ “महारानी” ठानिरहेकी हुनेछे। तर यस्तो सोचाइ राख्नु महाभूल हो भनेर त्यसले अचानक थाह पाउनेछे। मानौं “एकै दिनमा” त्यसको विनाश हुनेछ।—प्रका. १८:७, ८.

६. झूटो धर्मलाई कसले विनाश गर्नेछ?

त्यस वेश्‍यालाई “दस वटा सिङ” भएको “जङ्‌गली जनावर”-ले आक्रमण गर्नेछ भनी बाइबल बताउँछ। प्रकाशको पुस्तक अध्ययन गर्दा त्यो जङ्‌गली जनावर संयुक्‍त राष्ट्र संघ हो भनेर थाह पाउँछौं। “दस वटा सिङ”-ले त्यो “चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर”-लाई समर्थन गर्ने अहिलेका सबै राजनैतिक शक्‍तिलाई बुझाउँछ। a (प्रका. १७:३, ५, ११, १२) त्यो आक्रमण कत्तिको विनाशकारी हुनेछ? संयुक्‍त राष्ट्र संघका सदस्य राष्ट्रहरूले त्यस वेश्‍यालाई लुट्‌नेछन्‌, त्यसको वास्तविक चरित्र उदाङ्‌ग पार्नेछन्‌, त्यसलाई खानेछन्‌ र “त्यसलाई आगोमा भस्म पार्नेछन्‌।” त्यो सदाका लागि नामेट हुनेछे।प्रकाश १७:१६ पढ्‌नुहोस्‌।

७. “जङ्‌गली जनावर”-को आक्रमण कसरी सुरु हुनेछ?

यो आक्रमण कसरी सुरु हुनेछ भनेर पनि बाइबल भविष्यवाणीले सङ्‌केत गर्छ। यहोवाले “आफ्नो सोच पूरा गर्न” कुनै न कुनै तरिकामा ती राजनैतिक नेताहरूको मनमा त्यस वेश्‍यालाई विनाश गर्ने सोचाइ हालिदिनुहुनेछ। (प्रका. १७:१७) धर्मले गर्दा युद्ध भएको छ अनि संसारमा थुप्रै समस्या निम्तिएको छ। यसकारण ती राष्ट्रहरूले त्यस वेश्‍यालाई विनाश गर्नुमा आफ्नै फाइदा छ भन्ठान्‍नेछन्‌। भनौं भने, यसरी आक्रमण गर्दा ती शासकहरूले “आफ्नो साझा सोच पूरा” गरेको भन्ठान्‍नेछन्‌। तर वास्तवमा तिनीहरूले झूटो धर्मलाई विनाश गर्न परमेश्‍वरको माध्यमको रूपमा काम गरिरहेका हुनेछन्‌। यसरी आसै नगरेको ढङ्‌गमा सैतानको संसारको एउटा भागले अर्को भागलाई आक्रमण गर्नेछ अनि सैतानले कुनै हालतमा त्यस आक्रमणलाई रोक्न सक्नेछैन।—मत्ती १२:२५, २६.

परमेश्‍वरका सेवकहरूमाथि आक्रमण

८. ‘मागोग देशको गोगको’ आक्रमण के हो?

झूटो धर्मको विनाशपछि परमेश्‍वरका सेवकहरूचाहिं “पर्खालविनाका” ठाउँमा “ढुक्कसित” बसिरहेका हुनेछन्‌। (इज. ३८:११, १४) निस्सहायजस्तो देखिने र यहोवाको सेवामा लागिरहने यस समूहलाई के हुनेछ? तिनीहरू “धेरै जातिहरू”-बाट चौतर्फी आक्रमणको तारो हुनेछन्‌ जस्तो देखिन्छ। त्यस घटनालाई बाइबलले ‘मागोग देशको गोगको’ आक्रमण भनी बताउँछ। (इजकिएल ३८:२, १५, १६ पढ्‌नुहोस्‌) त्यस आक्रमणलाई हामीले कसरी हेर्नुपर्छ?

९. (क) परमेश्‍वरको सेवकको मुख्य चिन्ताको विषय के हो? (ख) विश्‍वास बलियो बनाउन अहिले के गर्नुपर्छ?

परमेश्‍वरका सेवकहरूमाथि यस्तो आक्रमण हुनेछ भनी हामीलाई थाह छ, तैपनि हामी असाध्यै चिन्तित हुँदैनौं। बरु हाम्रो मुख्य चिन्ताको विषय यहोवाको नाम पवित्र पार्नु र उहाँको सार्वभौमिकता उच्च पार्नु हो, आफूले उद्धार पाउनु होइन। यहोवाले इजकिएलको पुस्तकमा ६० पटकभन्दा बढी यसो भन्‍नुभयो: “तिमीहरूले जान्‍नेछौ कि मनै परमप्रभु [“यहोवा,” NW] हुँ।” (इज. ६:७) त्यसैले इजकिएलको भविष्यवाणीको यो उल्लेखनीय पक्ष पूरा भएको हेर्न हामी उत्सुक छौं। अनि “परमेश्‍वरको भक्‍ति गर्ने मानिसहरूलाई कसरी परीक्षाबाट जोगाउने . . . , सो यहोवा जान्‍नुहुन्छ” भनेर हामी ढुक्क छौं। (२ पत्रु. २:९) तर त्यतिन्जेल आफ्नो विश्‍वास बलियो बनाउन हरेक मौकाको सदुपयोग गर्न चाहन्छौं। यसो गऱ्‍यौं भने जस्तोसुकै परीक्षा सामना गर्नु परे तापनि यहोवाप्रति निष्ठा कायम गर्न सक्नेछौं। हामीले के गर्नुपर्छ? प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको वचन अध्ययन गर्नुका साथै त्यसमा मनन गर्नुपर्छ अनि परमेश्‍वरको राज्यबारे अरूलाई बताउनुपर्छ। यसो गर्दा अनन्त जीवनको आशालाई “लङ्‌गर”-जस्तै दह्रोगरि पक्रिराख्न सक्नेछौं।—हिब्रू ६:१९; भज. २५:२१.

राष्ट्रहरू यहोवालाई स्वीकार्न बाध्य हुनेछन्‌

१०, ११. आरमागेडोन कसरी सुरु हुनेछ? त्यतिबेला के हुनेछ?

१० यहोवाका सेवकहरूमाथि आक्रमण हुँदा के हुनेछ? येशू र स्वर्गका दललाई प्रयोग गरेर यहोवाले आफ्ना जनको पक्षमा हस्तक्षेप गर्नुहुनेछ। (प्रका. १९:११-१६) त्यो “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” अर्थात्‌ आरमागेडोन हुनेछ।—प्रका. १६:१४, १६.

११ त्यस लडाइँबारे इजकिएलमार्फत यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “मेरा सबै पहाडहरूमा म गोगको विरुद्धमा एउटा तरवार पठाउनेछु, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ। हरेक मानिसको तरवार उसकै दाजु-भाइको विरुद्धमा उठ्‌नेछ।” सैतानको पक्षमा लड्‌नेहरू डराएर अलमलिनेछन्‌ अनि एक-अर्काविरुद्ध हातहतियार उठाउनेछन्‌। सैतानको हालत पनि राम्रो हुनेछैन। यहोवा यसो भन्‍नुहुन्छ: म त्यसमाथि, त्यसका सेनाहरूमाथि र त्यससँग भएका जाति-जातिका भीडहरूमाथि घनघोर वर्षा, असिना र जलिरहेको गन्धक बर्साउनेछु।” (इज. ३८:२१, २२, NRV) परमेश्‍वरले यो कदम चाल्दा परिणाम कस्तो हुनेछ?

१२. राष्ट्रहरू कुन कुरा स्वीकार्न बाध्य हुनेछन्‌?

१२ यहोवाले आज्ञा दिनुभएकोले नै यस्तो लज्जास्पद पराजय भोग्नुपरेको हो भनेर राष्ट्रहरूले स्वीकार्नुपर्नेछ। प्राचीन समयमा इस्राएलीहरूलाई लाल समुद्रमा खेद्‌ने मिश्रीहरूजस्तै सैतानको सेना पनि लाचार भएर सम्भवतः यसरी कराउनेछन्‌: “परमप्रभु तिनीहरूका पक्षमा भएर . . . लड्‌दै हुनुहुन्छ।” (प्रस्थ. १४:२५) हो, राष्ट्रहरू यहोवालाई स्वीकार्न बाध्य हुनेछन्‌। (इजकिएल ३८:२३ पढ्‌नुहोस्‌) यी घटनाक्रम सुरु हुने समयको हामी कति नजिक छौं?

अर्को विश्‍वशक्‍ति खडा हुनेछैन

१३. दानियलले वर्णन गरेको मूर्तिको पाँचौं भागबारे हामीलाई के थाह छ?

१३ दानियलको पुस्तकमा बताइएको एउटा भविष्यवाणीले हामी कुन समयावधिमा छौं भनेर बुझ्न मदत गर्छ। दानियल मानिसजस्तो देखिने एउटा मूर्तिबारे बताउँछन्‌, जुन विभिन्‍न धातु मिलेर बनेको छ। (दानि. २:२८, ३१-३३) त्यस मूर्तिको विभिन्‍न भागले विगत र वर्तमानमा परमेश्‍वरका जनमाथि ठूलो प्रभाव पारेका विश्‍वशक्‍तिहरूलाई बुझाउँछ। ती हुन्‌—बेबिलोन, मादी-फारस, ग्रीस, रोम अनि अन्तिमचाहिं हाम्रो समयको विश्‍वशक्‍ति। दानियलको भविष्यवाणी अध्ययन गर्दा त्यस मूर्तिको खुट्टा र औंलाले अन्तिम विश्‍वशक्‍तिलाई चित्रण गर्छ भनेर थाह पाउँछौं। पहिलो विश्‍वयुद्धको बेला बेलायत र अमेरिकाले विशेष गठबन्धन गाँसे। दानियलको मूर्तिको पाँचौं भाग एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति हो। मूर्तिको सबैभन्दा तलको भाग खुट्टा भएकोले अबउसो अर्को मानव विश्‍वशक्‍ति देखा पर्नेछैन भनेर प्रस्ट हुन्छ। त्यो खुट्टा र त्यसका औंलाहरू फलाम र माटो मिसिएर बनेका छन्‌। यस्तो मिसावटले एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍तिको कमजोर अवस्थालाई बुझाउँछ।

१४. आरमागेडोनको युद्ध हुँदा संसारमा कुन विश्‍वशक्‍तिले प्रभुत्व जमाइरहेको हुनेछ?

१४ त्यही भविष्यवाणीमा परमेश्‍वरको राज्यलाई एउटा ठूलो ढुङ्‌गाद्वारा चित्रण गरिएको छ। यो ढुङ्‌गा सन्‌ १९१४ मा एउटा पहराबाट उप्केर आयो। पहराले परमेश्‍वरको सार्वभौमिकतालाई सङ्‌केत गर्छ। पहराबाट उप्किएर तेज रफ्तारमा हुर्रिरहेको त्यो ढुङ्‌गा मूर्तिको खुट्टामा बजारिनेछ। त्यो खुट्टा र पूरै मूर्ति आरमागेडोनमा चकनाचूर हुनेछ। (दानियल २:४४, ४५ पढ्‌नुहोस्‌) यसर्थ, आरमागेडोनको युद्ध हुँदा संसारमा प्रभुत्व जमाइरहेको विश्‍वशक्‍ति एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति हुनेछ। यो भविष्यवाणी पूरा भएको देख्न पाउनु कस्तो रोमाञ्चकारी हुनेछ! b त्यसोभए यहोवाले सैतानलाई चाहिं के गर्नुहुनेछ?

परमेश्‍वरको प्रमुख शत्रुलाई के गरिनेछ?

१५. आरमागेडोनपछि सैतान र त्यसका दूतहरूलाई के गरिनेछ?

१५ सर्वप्रथम, सैतानले पृथ्वीमा भएको आफ्नो सङ्‌गठन आफ्नै आँखाअगाडि विनाश भएको देख्नेछ। त्यसपछि पालो सैतानको हो। सैतानलाई के गरिनेछ भनी प्रेषित यूहन्‍ना बताउँछन्‌। (प्रकाश २०:१-३ पढ्‌नुहोस्‌) ‘अगाध खाडलको साँचो भएको स्वर्गदूत’ अर्थात्‌ येशू ख्रीष्टले सैतान र त्यसका दूतहरूलाई पक्रेर अगाध खाडलमा हुर्ऱ्याउनुहुनेछ र त्यहाँ एक हजार वर्षसम्मका लागि बाँधेर राख्नुहुनेछ। (लूका ८:३०, ३१; १ यूह. ३:८) यो कदम सर्पको शिर कुच्याउने पहिलो चरण हुनेछ। cउत्प. ३:१५.

१६. “अगाध खाडलमा” हुर्ऱ्याइएपछि सैतानको अवस्था कस्तो हुनेछ?

१६ सैतान र त्यसका दूतहरू हुर्ऱ्याइने “अगाध खाडल” के हो? यूहन्‍नाले प्रयोग गरेको ग्रीक शब्द अबिसोस-ले “एकदमै गहिरो वा अथाह” भन्‍ने अर्थ बुझाउँछ। त्यसैले अगाध खाडल भनेको यहोवा र उहाँले नियुक्‍त गर्नुभएको स्वर्गदूत, जससित “अगाध खाडलको साँचो” छ, उहाँहरूबाहेक अरू कोही पुग्न नसक्ने ठाउँ हो। “राष्ट्रहरूलाई नबहकाओस्‌” भनेर सैतानलाई मृत्युसरि निष्क्रिय अवस्थामा राखिनेछ। हो, त्यो “गर्जने सिंह” अब चूपचाप बस्नुपर्नेछ!—१ पत्रु. ५:८.

शान्ति छाउनुअघि हुने घटनाहरू

१७, १८. (क) भविष्यमा हुने कस्ता घटनाबारे हामीले छलफल गऱ्‍यौं? (ख) यी घटनापछि कस्तो समय आउनेछ?

१७ संसारलाई हल्लाउने उल्लेखनीय घटनाहरू चाँडै हुनेछन्‌। “शान्ति र सुरक्षा!”-को घोषणा कसरी हुनेछ, त्यो हेर्न हामी उत्सुक छौं। त्यसपछि महान्‌ बेबिलोनको विनाश, मागोगको गोगको आक्रमण, आरमागेडोनको लडाइँ अनि सैतान र त्यसका दूतहरूलाई अगाध खाडलमा हुर्ऱ्याइएको देख्नेछौं। यसरी सबै दुष्टता अन्त भएपछि ख्रीष्टको हजार वर्षीय शासन सुरु हुनेछ र हामीले पहिला कहिल्यै अनुभव नगरेको “प्रशस्त शान्ति”-को आनन्द उठाउनेछौं।—भज. ३७:१०, ११.

१८ यस लेखमा छलफल गरिएका पाँचवटा घटनाको अलावा हामीले “आफ्नो नजर” राख्नुपर्ने “नदेखिने कुराहरू” अरू पनि छन्‌। यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

b दानियल २:४४ मा उल्लेख गरिएको “यी सबै राज्यहरू”-ले त्यस मूर्तिको विभिन्‍न भागले चित्रण गर्ने राज्य अर्थात्‌ विश्‍वशक्‍तिहरूलाई बुझाउँछ। तर अर्को बाइबल भविष्यवाणीले “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिन”-मा “पृथ्वीभरिका राजाहरू” यहोवाविरुद्ध खडा हुनेछन्‌ भनेर बताउँछ। (प्रका. १६:१४; १९:१९-२१) त्यसैले त्यस मूर्तिले प्रतिनिधित्व गर्ने राज्यहरू मात्र होइन तर यस संसारका अरू राज्यहरू पनि आरमागेडोनमा विनाश हुनेछन्‌।

c सर्पको शिर कुच्याउने अन्तिम चरणचाहिं हजार वर्षको अन्तपछि सैतान र त्यसका दूतहरूलाई “आगो र गन्धकको कुण्डमा” हुर्ऱ्याइँदा हुनेछ।—प्रका. २०:७-१०; मत्ती २५:४१.