जीवनी
मित्रता ६० वर्ष पुरानो तर भर्खरै गाँसिएजस्तै
सन् १९५१ को ग्रीष्म महिनाको कुरा हो। भर्खरै २० वर्ष नाघेका चार जना युवक मिशिगन, आयोवा र क्यालिफोर्नियामा रहेको आ-आफ्नो परिवारसित कुरा गर्न एकदमै उत्सुक देखिन्थे। तिनीहरू न्यु योर्कस्थित इथाकाको टेलिफोन बुथबाट घरमा सम्पर्क गरेर एउटा खुसीको खबर सुनाउन चाहन्थे।
गिलियड स्कूलको १७ औं कक्षामा उपस्थित हुन १२२ जना अग्रगामी फेब्रुअरी महिनामा न्यु योर्कको साउथ लान्सिङ आइपुगेका थिए। पछि मिसनरी बन्ने उद्देश्यले यस कक्षामा आएकाहरूमध्ये लोवेल टर्नर, विलियम (बिल) कास्टेन, रिचर्ड केल्सी र रामोन टेमपल्टन थिए। लोवेल र बिल मिशिगनका, रिचर्ड आयोवाका अनि रामोन क्यालिफोर्नियाका थिए। यी चार जनाबीच मित्रता गाँसिन धेरै समय लागेन।
लगभग पाँच महिनापछि, यहोवाका साक्षीहरूको मुख्यालयका भाइ नेथन नोर विद्यार्थीहरूलाई भेट्न आउँदै छन् भनेर घोषणा गरिंदा सबैको मुटु ढुकढुक भइरहेको थियो। यी चार जनाले सम्भव भएमा एउटै देशमा सेवा गर्ने इच्छा व्यक्त गरेका थिए। अब भने आफू खटाइने ठाउँबारे सुन्ने पालो भएको थियो!
भाइ नोरले उक्त कक्षाका विद्यार्थीहरू खटाइने ठाउँबारे बताउन थाल्दा विद्यार्थीहरूको मुटुको धड्कन झन्-झनै बढ्यो। मञ्चमा सबैभन्दा पहिला बोलाइनेहरू ती चार जना नै थिए। तिनीहरू असाध्यै आत्तिएका थिए तर आफूलाई खटाइएको ठाउँबारे थाह पाउँदा भने ढुक्क भएर लामो सास ताने। चारै जनालाई एउटै ठाउँमा खटाइयो। कहाँ? जर्मनी। यो सुन्दा सबै जना छक्क परे र निकै लामो समयसम्म ताली बजाइरहे।
सन् १९३३ पछि हिटलरको शासनको दौडान जर्मनीका साक्षीहरूले देखाएको वफादारीबारे सुनेर संसारभरिका यहोवाका साक्षीहरूको मन छोएको थियो। जर्मनीको नाम सुन्ने बित्तिकै थुप्रै विद्यार्थीले दोस्रो विश्वयुद्धपछि युरोपमा भएका सँगी साक्षीहरूको लागि लुगाफाटा अनि केही आर्थिक सहयोग पठाएको घटना सम्झे। जर्मनीमा यहोवाका सेवकहरूले उल्लेखनीय विश्वास, कटिबद्धता, साहस र परमेश्वरमाथि भरोसा देखाएका थिए। आफूलाई जर्मनी खटाइएपछि लोवेलको मनमा यस्तो कुरा आयो, ‘अब हामीले यी प्यारा भाइबहिनीलाई भेटेरै कुरा गर्न पाउने भयौं।’ अब बुझ्नुभयो होला, तिनीहरू किन त्यत्तिको उत्सुक भएर फोन गर्न हतारिएका थिए।
जर्मनीतर्फ
जुलाई २७, १९५१ मा न्यु योर्कको इस्ट नदीबाट जहाज चढेर चारै जना जर्मनीको ११ दिने यात्रामा निस्के। भाइ
अल्बर्ट श्रोडर गिलियड प्रशिक्षक थिए र पछि तिनी परिचालक निकायको सदस्य भए। तिनले ती चार जनालाई फाट्टफुट्ट जर्मन भाषा सिकाएका थिए। जहाजमा अरू जर्मन यात्रुहरू पनि थिए। त्यसैले तिनीहरूलाई जर्मन भाषा अलि-अलि सिक्न सकिने भयो जस्तो लाग्यो होला। तर ती यात्रुहरूले अलि फरक किसिमको जर्मन भाषा बोल्थे। झनै गोलमाल पो भयो!कठिन समुद्री यात्रापछि अगस्त ७, मङ्गलबार बिहान ती भाइहरू जर्मनीको ह्यामबर्ग पुगे। जर्मनीमा युद्ध टुङ्गिएको छ वर्ष मात्र भएको थियो। त्यहाँ युद्धको तीतो सम्झना गराउने कुराहरू जताततै देख्दा तिनीहरूको मन खिन्न भयो। यस्तो भारी मन लिएर तिनीहरू त्यतिबेलाको शाखा कार्यालय भएको सहर वाइजबाडनतर्फ लागे। त्यहाँसम्म पुग्न तिनीहरूले रातभरि रेलमा यात्रा गरे।
बुधबार सबेरै तिनीहरूले हान्स नाम गरेका भाइलाई भेटे। जर्मनीमा तिनीहरूले भेटेको पहिलो साक्षी तिनी नै थिए। हान्सले ती चार जनालाई रेल स्टेसनबाट बेथेलसम्म लगे। बेथेल पुगेपछि अङ्ग्रेजी पटक्कै नबोल्ने एउटी वृद्धा साक्षीको जिम्मा लगाएर हान्स गए। अलि ठूलो सोरमा बोल्यो भने भाषाको समस्या टरिहाल्छ जस्तो ती वृद्धा साक्षीलाई लागेको थियो। उनले जति नै ठूलो सोरमा बोले तापनि एक अर्काको कुरा बुझ्न सकिएन। पछि शाखा समितिका संयोजक, भाइ एरिक फ्रस्ट आए र अङ्ग्रेजीमा न्यानो अभिवादन गरे। अब भने सजिलो भयो।
अगस्त महिनाको अन्ततिर तिनीहरू चारै जना फ्रांकफर्टमा आयोजित “स्वच्छ उपासना” शीर्षकको अधिवेशनमा उपस्थित भए। यो नै जर्मनीमा तिनीहरूको पहिलो अधिवेशन थियो। त्यहाँ ४७,४३२ जना उपस्थित भए। अनि २,३७३ जनाले बप्तिस्मा गरेको देख्दा यी भाइहरूको मिसनरी जोस र प्रचार गर्ने इच्छा ताजा भयो। तर केही दिनपछि भाइ नोरले तिनीहरू बेथेलमै सेवा गर्नेछन् भनेर बताउनुभयो।
सेवाको दौडान पाएको आनन्दले गर्दा तिनीहरू यस कुरामा विश्वस्त भए—यहोवालाई जत्तिको राम्ररी अरू कसैलाई थाह छैन
रामोनको इच्छा मिसनरी सेवा गर्ने थियो। त्यसैले अमेरिकामै छँदा तिनले बेथेल जाने मौकालाई अस्वीकार गरेका थिए। रिचर्ड र बिलले पनि बेथेल सेवा गर्नेबारे सोचेका थिएनन्। तर सेवाको दौडान पाएको आनन्दले गर्दा तिनीहरू
यस कुरामा विश्वस्त भए—यहोवालाई जत्तिको राम्ररी अरू कसैलाई थाह छैन। त्यसैले उहाँको डोऱ्याइअनुसार चल्नुको साटो आफ्नै इच्छा पूरा गर्न खोज्नु मूर्खता हो! यो पाठ सिक्ने व्यक्ति यहोवाले जुनसुकै ठाउँमा खटाए पनि र जुनसुकै काम गर्नुपरे तापनि खुसी हुन सक्नेछ।फर्बोटेन!
अमेरिकीहरूसित अङ्ग्रेजी भाषाको अभ्यास गर्न पाइने भयो भनेर जर्मनी बेथेल परिवारका थुप्रै सदस्य दङ्ग थिए। तर एक दिन डाइनिङ रूममा तिनीहरूको आशा चकनाचुर भयो। भाइ फ्रस्ट सधैं उत्साहित भएर बोल्थे। त्यस दिन पनि त्यसरी नै एउटा गम्भीर विषयमा जर्मन भाषामा बोल्न थाले। अधिकांश सदस्य चुपचाप आ-आफ्नो प्लेटमा टोलाएर हेरिरहेका थिए। भर्खरै आएका ती चार जनाले के भइरहेको छ भनेर बुझ्न सकेनन्। तर त्यो कुराकानी तिनीहरूकै विषयमा थियो भनेर बिस्तारै चाल पाए। त्यसैले भाइ फ्रस्टले एकदम ठूलो सोरमा “फर्बोटेन!” (“निषेध!”) भनेर दोहोऱ्याइ तेहऱ्याइ भन्दा एक प्रकारको सन्नाटा छायो। यो सबै हुनुको कारण के थियो?
भोजन खाइसकेपछि सबै जना हतारिंदै आ-आफ्नो कोठातिर गए। पछि एक जना भाइले भने: “हामीलाई मदत गर्नको लागि तपाईंहरूले जर्मन भाषा बोल्नुपर्छ। त्यसैले तपाईंहरूले जर्मन भाषा नसिकुन्जेल तपाईंहरूसित अङ्ग्रेजीमा बोल्न भाइ फ्रस्टले फर्बोटेन भन्नुभयो।”
बेथेल परिवारले सल्लाह मानिहाल्यो। यसले गर्दा ती नयाँ व्यक्तिहरूले जर्मन भाषा छिटो सिके। साथै मायालु भाइले दिएको सल्लाह लागू गर्न सुरुमा गाह्रो भए तापनि त्यो अक्सर आफ्नै फाइदाको लागि हुन्छ भनेर बुझे। भाइ फ्रस्टको उक्त सल्लाहले यहोवाको सङ्गठनको हितप्रति तिनको चासो र आफ्ना भाइहरूप्रतिको प्रेम प्रकट गऱ्यो। a यसपछि ती चार जनाले भाइ फ्रस्टलाई झनै माया गर्न थाले!
साथीहरूबाट सिक्ने
परमेश्वरको डर राख्ने साथीहरूबाट हामी अमूल्य पाठ सिक्न सक्छौं। फलस्वरूप, हामी यहोवाको अझ राम्रो मित्र बन्न सक्छौं। ती चार जनाले वफादार जर्मन भाइबहिनीहरूबाट धेरै कुरा सिके। ती सबैको नाम लिइरहन सम्भव छैन। तर तिनीहरूले एकअर्काबाट पनि धेरै कुरा सिके। रिचर्ड भन्छन्: “लोवेललाई अलि-अलि जर्मन आउँथ्यो तर हामी तीन जनालाई भने धौधौ परिरहेको थियो। हामीमध्ये ऊ सबैभन्दा जेठो थियो। त्यसैले भाषाको कुरामा र नेतृत्व लिने सन्दर्भमा हामी उसमै भर पर्थ्यौं।” रामोन भन्छन्: “यहाँ एक
वर्ष बिताइसकेपछि हामीले आफ्नो पहिलो छुट्टी स्वीट्जरल्याण्डमा मनाउने विचार गऱ्यौं। एक जना स्वीस भाइले स्वीट्जरल्याण्डमा भएको तिनको सानो घरमा बस्न हामीलाई प्रस्ताव राखे। यो सुनेर मेरो खुसीको सीमा रहेन! दुई हप्तासम्म जर्मन भाषाबाट पनि छुट्टी पाइने भयो भनेर ढुक्क भएँ! तर लोवेलले हरेक बिहान जर्मन भाषामै दैनिक पद पढ्नुपर्छ भन्न थाल्यो! मैले जति नै नाइँनास्ति गरे पनि लोवेल डेग चलेन। तर हामीले महत्त्वपूर्ण पाठ सिक्यौं। कहिलेकाहीं आफूलाई चित्त नबुझे तापनि आफ्नो भलो चाहने व्यक्तिले भनेको कुरा मान्नुपर्छ। यस्तो मनोभाव राखेकोले समय बित्दै जाँदा हाम्रो हित भयो र ईश्वरतान्त्रिक निर्देशनबमोजिम चल्न सजिलो भयो।”ती चार जना साथीले फिलिप्पी २:३ मा भनिएझैं एकअर्काको राम्रो गुणको कदर गर्न सिके। त्यस पदमा यसो भनिएको छ: “विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।” कुनै खास मामिला सँभाल्न उपयुक्त व्यक्ति बिलजस्तो लाग्दा तिनलाई नै उक्त मामिला सँभाल्न दिएर बाँकी तीन जनाले बिलप्रति आदर देखाए। लोवेल भन्छन्, “कुनै गाह्रो कुराको सामना गर्न अप्रिय कदम चाल्नुपर्दा हामी त्यो कुरा बिलको काँधमा छोडिदिन्थ्यौं। किनभने हामीसित त्यो काम गर्ने आँट, क्षमता हुँदैनथ्यो। तर बिल भने सबै कुरा ठिक्क मिलाएर गर्न खप्पिस थियो।”
सुखद वैवाहिक जीवन
एकपछि अर्को गर्दै चारै जनाले विवाह गर्ने निर्णय गरे। तिनीहरूको मित्रता यहोवाप्रति र पूर्ण-समय सेवाप्रतिको प्रेममा बाँधिएको थियो। त्यसैले तिनीहरू यहोवालाई प्राथमिकता दिने जीवनसाथी भेट्टाउन चाहन्थे। पूर्ण-समय सेवामा लागेको हुँदा लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ अनि आफ्नो इच्छालाई भन्दा परमेश्वरको राज्यसम्बन्धी कामकुरालाई पहिलो स्थान दिनुपर्छ भनेर तिनीहरूले सिकेका थिए। त्यसैले तिनीहरूले यस्ता ख्रीष्टियन बहिनीहरू रोजे, जो आफै अग्रसर भएर पूर्ण-समय सेवामा लागेका थिए। परिणामस्वरूप चारै जना सफल वैवाहिक बन्धनमा बाँधिए।
कुनै मित्रता वा वैवाहिक बन्धन दिगो बन्नको लागि यहोवाको भूमिका अपरिहार्य छ। (उप. ४:१२) हुन त बिल र रामोनका श्रीमतीको मृत्यु भयो तर वफादार पत्नीले दिने आनन्द र सहयोग दुवैले अनुभव गर्न पाए। लोवेल र रिचर्डले आफ्ना श्रीमतीहरूबाट त्यस्तो साथ अझै पाइरहेका छन्। बिलले फेरि विवाह गरे तापनि बुद्धिमानी छनौट गरे जसले गर्दा पूर्ण-समय सेवालाई निरन्तरता दिन सके।
वर्षहरू बित्दै जाँदा असाइनमेन्टको सिलसिलामा तिनीहरू विभिन्न ठाउँ पुगे। जस्तै: जर्मनी, अस्ट्रिया, लक्जमबर्ग, क्यानाडा र अमेरिका। यसले गर्दा ती चार जना साथीले आफूले चाहेजति समय सँगै बिताउन सकेनन्। तर एक-अर्काभन्दा टाढा भए तापनि एक-अर्काको सुखमा रमाउँदै, दुःखमा रुँदै तिनीहरूले आपसमा सम्पर्क गरिरहे। (रोमी १२:१५) यस्ता मित्रहरूलाई कहिल्यै हल्कासित लिनु हुँदैन र तिनीहरूको मोल गर्नुपर्छ। तिनीहरू यहोवाका अनमोल उपहार हुन्। (हितो. १७:१७) आजको संसारमा साँचो मित्रहरू भेट्टाउन असाध्यै गाह्रो छ। तर सबै साँचो ख्रीष्टियनले त्यस्ता मित्रहरू पाउन सक्छन्। यहोवाका साक्षीहरू भएको नाताले हामी संसारभरिका सङ्गी उपासकहरूसित मित्रता गाँस्न सक्छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवा परमेश्वर र येशू ख्रीष्टसित मित्रता गाँस्न सक्छौं।
हामी सबैले जस्तै ती चार जना मित्रले पनि जीवनमा अनेक उतारचढाव पार गरे। जस्तै: श्रीमती गुमाउँदाको पीडा, गम्भीर रोगको सिकार हुँदाको तनाव, वृद्ध आमाबुबाको हेरचाह गर्ने चिन्ता, पूर्ण-समय सेवामा लाग्दै बच्चा हुर्काउनुको चुनौती, नयाँ ईश्वरतान्त्रिक असाइनमेन्ट स्वीकार्नुपर्दाको चिन्ता अनि ढल्कँदो उमेर। तर तिनीहरूले आफ्नो अनुभवबाट के पनि सिके भने, यहोवालाई प्रेम गर्ने मित्रहरू नजिक होऊन् या टाढा, जुनसुकै समस्याको सफलतापूर्वक सामना गर्न तिनीहरूले मदत दिन सक्छन्।
अनन्तकालीन मित्रता
लोवेल, रामोन, बिल र रिचर्डले क्रमशः १८, १२, ११ र १० वर्षको उमेरमा यहोवालाई आफ्नो जीवन समर्पण गरे। अनि सबैले १७ देखि २१ वर्षबीचको उमेरमा पूर्ण-समय सेवा सुरु गरे। कत्ति राम्रो! तिनीहरूले उपदेशक १२:१ मा भनिएझैं गरे, जहाँ यस्तो लेखिएको छ: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर्।”
तपाईं जवान ख्रीष्टियन पुरुष हुनुहुन्छ र सम्भव छ भने, पूर्ण-समय सेवा सुरु गर्ने यहोवाको निमन्त्रणा स्वीकार्नुहोस्। अनि उहाँको असीम अनुग्रहले गर्दा ती चार जना साथीले जस्तै तपाईंले यी विभिन्न सेवा गर्दा पाइने आनन्द अनुभव गर्न सक्नुहुनेछ। जस्तै: क्षेत्र, जिल्ला वा प्रान्तीय काममा सेवा गर्ने; बेथेलमा, शाखा समितिमा सेवा गर्ने; राज्य सेवा स्कूल र अग्रगामी सेवा स्कूलमा प्रशिक्षक हुने; साना ठूला अधिवेशनहरूमा भाषण दिने। आफ्नो क्रियाकलापद्वारा हजारौंले लाभ उठाए भनेर थाह पाउँदा ती चार जना कत्ति हर्षित हुन सके! ती चारै जनाले तनमनले यहोवाको सेवा गर्ने निमन्त्रणा जवान छँदै स्वीकारेको हुँदा यी सब सम्भव भयो।—कल. ३:२३.
अहिले लोवेल, रिचर्ड र रामोन जर्मनीको सेल्टर्समा अवस्थित शाखा कार्यालयमा सँगै सेवा गर्दै छन्। दुःखको कुरा, अमेरिकामा विशेष अग्रगामीको रूपमा सेवा गर्दै गर्दा सन् २०१० मा बिलको मृत्यु भयो। ती चार जनाबीचको झन्डै ६० वर्ष लामो मित्रतालाई मृत्युले बिछोड गरिदियो! तर हाम्रो परमेश्वर यहोवा आफ्ना साथीहरूलाई कहिल्यै बिर्सनुहुन्न। परमेश्वरको राज्यले शासन गर्दा, मृत्युको कारण बिछोड हुनुपरेका साथीहरूसित फेरि मिलाप गर्न पाउनेछौं भनेर ढुक्क हुन सक्छौं।
“हामीले मित्रता गाँसेको ६० वर्ष भइसक्यो, तैपनि कुनै नमीठो सम्झना छैन”
मृत्यु हुनुभन्दा अलिक समयअघि बिलले लेखे: “हामीले मित्रता गाँसेको ६० वर्ष भइसक्यो, तैपनि कुनै नमीठो सम्झना छैन। हामीबीचको मित्रता मेरो लागि सधैं अनमोल रहेको छ।” यो मित्रता नयाँ संसारसम्मै रहिरहनेछ भन्ने कुरामा ढुक्क हुँदै बाँकी तीन जना थप्छन्: “हाम्रो मित्रता भर्खरै गाँसिएजस्तै छ।”
a भाइ फ्रस्टको रोचक जीवनी अप्रिल १५, १९६१ को प्रहरीधरहरा (अङ्ग्रेजी), पृष्ठ २४४-२४९ मा छापिएको थियो।