सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वर्तमान समयका कठिनाइहरूको साहसी भई सामना गर्नुहोस्‌

वर्तमान समयका कठिनाइहरूको साहसी भई सामना गर्नुहोस्‌

“परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ, सङ्‌कष्टमा अति सजिलैसँग पाइने सहायक।”—भज. ४६:१.

१, २. थुप्रैले कस्ता कठिनाइहरूको सामना गरेका छन्‌ तर परमेश्‍वरका सेवकहरू के गर्न चाहन्छन्‌?

 हामी कठिन समयमा बाँचिरहेका छौं। पृथ्वीमा एकपछि अर्को प्राकृतिक प्रकोप गइरहेका छन्‌। भूकम्प, सुनामी, आगलागी, ज्वालामुखी अनि आँधीबेहरीले मानव जीवनमा विध्वंस मच्चाएको छ। साथै व्यक्‍तिगत अनि पारिवारिक समस्याले डर र दुःख निम्त्याएको छ। हामी सबैलाई “समय र अवसरले” अधीन गरेको छ भन्‍नु एकदमै सुहाउँछ।—उप. ९:११.

परमेश्‍वरका सेवकहरूले यस्तो दुःखदायी परिस्थितिमा पनि आनन्दित भई उहाँको सेवा गर्न सकेका छन्‌। यस युगको अन्त नजिकिंदै जाँदा हामी भविष्यमा आउन सक्ने कठिनाइहरूको सामना गर्न तयार हुन चाहन्छौं। यस्ता कठिनाइहरूको सामना गर्दा हामी कसरी आनन्दित भई परमेश्‍वरको सेवा गरिरहन सक्छौं? वर्तमान समयका कठिनाइहरूको साहसी भई सामना गर्न हामीलाई केले मदत गर्नेछ?

साहस देखाएका व्यक्‍तिहरूबाट सिक्नुहोस्‌

३. रोमी १५:४ मा बताइएझैं कठिन समस्याहरूको सामना गर्नुपर्दा हामी कसरी सान्त्वना पाउन सक्छौं?

हुन त कठिन समस्याहरूले अहिले जत्तिको धेरै मानिसलाई पहिला कहिल्यै पिरोलेको थिएन। तैपनि मानिसका लागि यो नौलो कुरा भने होइन। आउनुहोस्‌, परमेश्‍वरका विगतका केही सेवकबाट सिकौं, जसले साहस देखाए।—रोमी १५:४.

४. दाऊदले कस्ता कठिनाइहरू भोगे? त्यसको सामना गर्न तिनलाई केले मदत गऱ्‍यो?

दाऊदलाई विचार गरौं। तिनले थुप्रै कठिनाइ भोगे, जस्तै: राजाको क्रोध, शत्रुहरूबाट आक्रमण, स्वास्नीहरूको अपहरण, आफ्नै मान्छेबाट विश्‍वासघात अनि भावनात्मक पीडा। (१ शमू. १८:८, ९; ३०:१-५; २ शमू. १७:१-३; २४:१५, १७; भज. ३८:४-८) यस्ता कठिनाइहरूले गर्दा दाऊदले कस्तो दुःख भोग्नुपऱ्‍यो, बाइबल बताउँछ। तैपनि यहोवामाथि तिनको विश्‍वास कमजोर भएन। उहाँमाथि पूर्ण भरोसा राख्दै तिनले यसो भने: “परमप्रभुनै मेरो जीवनको किल्ला हुनुहुन्छ, मैले कसको भय मान्‍नु?”—भज. २७:१; भजन २७: ५, १० पढ्‌नुहोस्‌।

५. अब्राहाम र सारालाई कठिनाइको सामना गर्न केले मदत गऱ्‍यो?

अब्राहाम र साराले आफ्नो अधिकांश जीवन पालमा बिताए। तिनीहरू बिरानो भूमिमा प्रवासी भएर बसोबास गरे। तिनीहरूको जीवन सजिलो थिएन। तैपनि अनिकाल पर्दा अनि वरपरका राष्ट्रहरूबाट खतरा आइपर्दा तिनीहरूले साहसी भई त्यसको सामना गरे। (उत्प. १२:१०; १४:१४-१६) तिनीहरूले कसरी त्यसो गर्न सके? अब्राहाम “साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको निर्माता र रचनाकार परमेश्‍वर हुनुहुन्छ” भनी बाइबल बताउँछ। (हिब्रू ११:८-१०) अब्राहाम र सारा आफू वरपर भइरहेको कुरादेखि हताश भएनन्‌, बरु तिनीहरूले परमेश्‍वरको प्रतिज्ञामा ध्यान केन्द्रित गरे।

६. हामी कसरी अय्यूबको उदाहरण अनुकरण गर्न सक्छौं?

अय्यूबले असह्‍य कठिनाइहरू भोगे। आफ्नो जीवनमा दुःखमाथि दुःख थपिंदै जाँदा तिनलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्‌ त। (अय्यू. ३:३, ११) अझ त्यसमाथि आफूलाई यस्तो हुनुको कारणबारे तिनलाई सबै कुरा थाह थिएन। तैपनि तिनले हरेस खाएनन्‌। तिनले परमेश्‍वरप्रति आफ्नो निष्ठा अनि विश्‍वासलाई कायमै राखे। (अय्यूब २:३ पढ्‌नुहोस्‌) हामीले अनुकरण गर्नुपर्ने कस्तो राम्रो उदाहरण!

७. परमेश्‍वरको सेवा गर्दा पावलले कस्ता कठिनाइहरूको सामना गरे तर तिनले साहस देखाउन सक्नुको कारण के थियो?

प्रेषित पावलको उदाहरण पनि विचार गरौं। तिनले ‘सहरको खतरा, उजाडस्थानको खतरा अनि समुद्रको खतरा’ सामना गरे। ‘भोक अनि प्यास, जाडो अनि नग्नता’ खपेको कुरा तिनी बताउँछन्‌। साथै आफू चढेको जहाज क्षतिग्रस्त भएकोले ‘एक रात एक दिन’ समुद्रमा बिताएको कुरा पनि तिनी उल्लेख गर्छन्‌। (२ कोरि. ११:२३-२७) परमेश्‍वरको सेवा गर्दा आफ्नो ज्यान खतरामा परेको घटनाबारे तिनले यसो भने: “हामीले आफैमाथि होइन तर मरेकाहरूलाई ब्यूँताउनुहुने परमेश्‍वरमाथि भरोसा राखोस्‌ भनेर यस्तो भएको थियो। उहाँले हामीलाई मृत्युजस्तो भयानक कुराबाट छुटाउनुभयो र छुटाउनुहुनेछ।” (२ कोरि. १:८-१०) कमैले मात्र पावलले जस्तो कठिन परिस्थितिको सामना गरेका छन्‌। तर हामीमध्ये थुप्रैले कहिलेकाहीं तिनले जस्तै महसुस गरेका छौं। त्यसैले तिनले देखाएको साहसबाट हामी सान्त्वना पाउन सक्छौं।

कठिनाइहरू आइपर्दा विचलित नहुनुहोस्‌

८. अहिलेका समस्याहरूले हामीमाथि कस्तो असर पार्न सक्छ? उदाहरण दिनुहोस्‌।

वर्तमान संसारमा भइरहेको तीन थुप्रो समस्या, कठिनाइ अनि प्राकृतिक प्रकोपले गर्दा थुप्रै मानिस विचलित भएका छन्‌। कोही-कोही ख्रीष्टियनले समेत त्यस्तो महसुस गरेका छन्‌। अस्ट्रेलियामा श्रीमान्‌सँगै पूर्ण-समय सेवा गरिरहेकी लीना a आफूलाई स्तन क्यान्सर भएको कुरा थाह पाउँदा छाँगाबाट खसेझैं भइन्‌। तिनी भन्छिन्‌: “क्यान्सरको उपचारले मलाई झनै गाल्दै लग्यो। मेरो आत्म-विश्‍वासै हरायो।” त्यति मात्र कहाँ हो र, तिनले आफ्नो श्रीमान्‌को पनि हेरचाह गर्नुपऱ्‍यो जसको मेरुदण्डको शल्यक्रिया गरिएको थियो। हामी पनि त्यस्तै अवस्थामा पऱ्‍यौं भने नि?

९, १०. (क) हामीले सैतानलाई के गर्न दिनु हुँदैन? (ख) प्रेषित १४:२२ मा बताइएको कुराबाट कठिनाइहरू सहन हामी कस्तो मदत पाउँछौ?

नबिर्सनुहोस्‌, हामीले भोग्ने कठिनाइहरूद्वारा सैतान हाम्रो विश्‍वासलाई कमजोर पार्न चाहन्छ। तर हामीले त्यसलाई आफ्नो आनन्द खोस्न दिनु हुँदैन। हितोपदेश २४:१०, NRV मा यसो भनिएको छ: “सङ्‌कष्टको दिनमा लरखराइस्‌ भने, तेरो बल कत्ति कम रहेछ!” यस लेखमा छलफल गरिएका बाइबल पात्रहरूको उदाहरणमा मनन गऱ्‍यौं भने कठिनाइहरू आइपर्दा साहसी हुन मदत पाउनेछौं।

१० सबै समस्या हामी हटाउन सक्दैनौं भन्‍ने कुरा पनि नबिर्सौं। अझ भन्‍ने हो भने समस्या त आउने नै छ। (२ तिमो. ३:१२) प्रेषित १४:२२ मा यसो भनिएको छ: “हामी धेरै सङ्‌कष्ट सहेर परमेश्‍वरको राज्यमा पस्नेछौं।” त्यसैले कठिनाइहरू आउँदा निराश हुनुको साटो यहोवामाथि आफ्नो भरोसा देखाउने मौकाको रूपमा लिए कसो होला?

११. जीवनमा कठिनाइहरू आइपर्दा विचलित नहुन हामी के गर्न सक्छौं?

११ हामीले सकारात्मक कुराहरूमा ध्यान दिनुपर्छ। परमेश्‍वरको वचन यसो भन्छ: “प्रसन्‍न हृदयले मुख उज्यालो पार्छ, दु:खित हृदयले आत्मालाई चूर्ण पार्छ।” (हितो. १५:१३) सकारात्मक सोचाइले रोग निवारण गर्न सक्छ भनेर चिकित्सा अनुसन्धानकर्ताहरूले बताउँदै आएको धेरै समय भइसक्यो। रोग निको हुँदै छ भन्‍ने भान पार्ने औषधी खाएका थुप्रै बिरामीले स्वास्थ्यमा सुधार आएको अनुभव गरेका छन्‌। त्यसको विपरीत आफूले खाइरहेको औषधीले झनै स्वास्थ्य बिगार्दै छ भन्‍ने सोचाइ राख्नेहरूको स्वास्थ्यमा नराम्रो असर परेको छ। आफ्नो वशमा नभएको कुराबारे मात्र सोचिरह्‍यौं भने निराशा सिवाय केही हात लाग्दैन। तर यहोवा रोग निको हुँदै छ भन्‍ने भान पार्ने औषधी दिनुहुन्‍न, साँच्चै निको पार्नुहुन्छ। कठिन अवस्था आइपर्दासमेत परमेश्‍वर हामीलाई बाइबलमा पाइने प्रोत्साहन, भाइबहिनीहरूको सहयोग अनि पवित्र शक्‍तिमार्फत पाइने बल दिएर साँचो मदत गर्नुहुन्छ। यस्ता कुराहरूमा ध्यान केन्द्रित गर्दा हाम्रो हौसला बढ्‌छ। कठिन अवस्थाहरूबारे सोचिरहनुको सट्टा समस्याको सामना गर्न व्यावहारिक कदम चाल्नुहोस्‌ अनि आफ्नो जीवनका सकारात्मक पक्षहरूमा ध्यान दिनुहोस्‌।—हितो. १७:२२.

१२, १३. (क) परमेश्‍वरका सेवकहरूलाई प्रकोपको सामना गर्न केले मदत गरेको छ? उदाहरण दिनुहोस्‌। (ख) जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भनेर प्रकोपको समयमा कसरी प्रकट हुन्छ?

१२ हालसालै केही मुलुक ठूलठूला प्राकृतिक प्रकोपको चपेटामा परे। यस्तो अवस्था सहन सजिलो थिएन, तैपनि त्यहाँका भाइबहिनीहरू शिथिल भएनन्‌। सन्‌ २०१० को सुरुतिर चिलीमा गएको ठूलो भूकम्प अनि सुनामीले थुप्रै भाइबहिनीको घर अनि सर-सम्पत्ति नष्ट गऱ्‍यो अनि कसै-कसैले त जागिरसमेत गुमाउनुपऱ्‍यो। यस्तो गाह्रो स्थितिमा पनि भाइबहिनीहरू यहोवाको सेवामा सक्रिय भइरहे। समूएल नाम गरेका भाइको घर पूरै नष्ट भयो। उनले यसो भने: “यस्तो कठिन अवस्थामा पनि म र मेरी श्रीमतीले सभामा जान अनि प्रचार गर्न कहिल्यै छोडेनौं। यस्तो बानीले नै हामीलाई निराश हुनदेखि बचायो भन्‍ने कुरामा म पूरा विश्‍वस्त छु।” अन्य थुप्रै भाइबहिनीजस्तै उनीहरू पनि प्रकोपको कारण निराश भएनन्‌, बरु यहोवाको सेवामा लागिरहे।

१३ सन्‌ २००९ सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा अविरल वर्षा हुँदा त्यस सहरको ८० प्रतिशतभन्दा बढी भाग जलमग्न भयो। ठूलो क्षति बेहोरेका एक जना धनी मानिसले यसो भने: “बाढीले धनी गरिब केही भनेन।” यसले येशूको यो बुद्धिमानी सल्लाहको सम्झना गराउँछ: “आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार, जहाँ न कीराले न त खियाले नै खान्छ अनि चोरहरूले फोरेर पनि लैजाँदैनन्‌।” (मत्ती ६:२०) क्षणभरमै उडिजाने भौतिक कुराहरूलाई सबैभन्दा महत्त्वपूर्ण ठान्छौं भने अक्सर निराश हुनुपर्छ। त्यसकारण यहोवालाई जीवनमा पहिलो स्थान दिनु बुद्धिमानी हो। यसो गर्दा वरपर जेसुकै होस्‌, यहोवासित नजिक भइरहन सक्छौं।हिब्रू १३:५, ६ पढ्‌नुहोस्‌।

साहस देखाउनुपर्ने कारण

१४. हामीले साहस देखाउनुपर्ने कस्ता कारण छन्‌?

१४ आफ्नो उपस्थितिको दौडान समस्याहरू हुनेछन्‌ भनेर येशूले बताउनुभयो। तर उहाँले यसो पनि भन्‍नुभयो: “नआत्तिओ।” (लूका २१:९) हाम्रा राजा अनि ब्रह्‍माण्डको सृष्टिकर्ताको साथ पाएकोले हामीले साहस देखाउनुपर्ने ठोस कारण छ। पावलले तिमोथीलाई यस्तो प्रोत्साहन दिए: “परमेश्‍वरले दिनुहुने पवित्र शक्‍तिले हामीमा कायरता होइन तर शक्‍ति, प्रेम अनि सुझबुझ जगाउँछ।”—२ तिमो. १:७.

१५. परमेश्‍वरमाथि भरोसा राख्ने सेवकहरूले कस्तो टिप्पणी गरेका छन्‌, उदाहरण दिनुहोस्‌। अनि हामी पनि कसरी त्यस्तै साहस देखाउन सक्छौं?

१५ परमेश्‍वरमाथि बलियो भरोसा राख्ने उहाँका सेवकहरूले कस्तो टिप्पणी गरेका छन्‌, विचार गरौं। दाऊदले भने: “परमप्रभु मेरो शक्‍ति र मेरो ढाल हुनुहुन्छ, मेरो हृदयले उहाँमा भरोसा राखेको हुनाले मैले सहायता पाएको छु। यसकारण मेरो हृदय ज्यादै रमाउँछ।” (भज. २८:७) पावलले आफ्नो अटल भरोसाबारे यसो भने: “हामीलाई प्रेम गर्नुहुनेको मदतद्वारा यी सबै कुराहरूमाथि हामी पूरै विजयी भएका छौं।” (रोमी ८:३७) येशूले पनि कठिन अवस्था नजिकिंदै जाँदा परमेश्‍वरसितको आफ्नो सम्बन्ध ढलपल भएको छैन भनेर देखाउन चेलाहरूलाई यसो भन्‍नुभयो: “म एक्लो छैन, किनकि बुबा मसित हुनुहुन्छ।” (यूह. १६:३२) यी अभिव्यक्‍तिहरूले के प्रकट गर्छन्‌? यहोवामाथिको अटल भरोसा। हामीले पनि परमेश्‍वरमाथि भरोसा गरेमा जुनसुकै कठिनाइ आइपर्दा साहस देखाउन सक्छौं।भजन ४६:१-३ पढ्‌नुहोस्‌।

साहसी भइरहन मदत गर्ने प्रबन्धहरूबाट लाभ उठाउनुहोस्‌

१६. परमेश्‍वरको वचन अध्ययन गर्नु हाम्रो लागि किन महत्त्वपूर्ण छ?

१६ साहसी हुनु भनेको आफैमा भरोसा राख्नु होइन। यहोवालाई अझ राम्ररी चिन्यौं अनि उहाँमा भर पऱ्‍यौं भने मात्र साहसी हुन सक्छौं। अनि यसो गर्नको लागि हामीले उहाँको लिखित वचन बाइबल अध्ययन गर्नुपर्छ। डिप्रेसनको सिकार भएकी एक बहिनी आफूलाई मदत गरेको कुराबारे यसो भन्छिन्‌: “म बाइबलमा पाइने सान्त्वनादायी विवरणहरू दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढ्‌छु।” नियमित रूपमा पारिवारिक उपासना गर्नको लागि दिइएको निर्देशन के हामीले लागू गरेका छौं? लागू गर्दा हामीले पनि भजनरचयिताको जस्तै मनोभाव राख्न सक्नेछौं जसले यसो भने: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।”—भज. ११९:९७.

१७. (क) साहस देखाउन मदत गर्ने अर्को प्रबन्ध के हो? (ख) हाम्रा प्रकाशनमा दिइएको जीवनीले तपाईंलाई मदत गरेको कुनै एउटा अनुभव बताउनुहोस्‌।

१७ यहोवामाथिको भरोसा बलियो पार्न मदत दिने बाइबलआधारित प्रकाशनहरू पनि छन्‌। हाम्रा पत्रिकाहरूमा दिइएका जीवनीहरूबाट थुप्रै भाइबहिनीले मदत पाएका छन्‌। एसियाकी एउटी बहिनी एक प्रकारको डिप्रेसनको सिकार भएकी थिइन्‌। पहिले मिसनरी सेवा गरेका भाइको अनुभव पढेपछि तिनले प्रोत्साहन पाइन्‌ किनभने आफ्नो जस्तै समस्या भए तापनि ती भाइले विश्‍वासी भई परमेश्‍वरको सेवा गरिरहेका थिए। उक्‍त बहिनीले यस्तो लेखिन्‌: “यो अनुभव पढेपछि मैले आफ्नो समस्या बुझें अनि मेरो मनोबल बढ्यो।”

१८. प्रार्थना गर्ने प्रबन्धको हामीले किन सदुपयोग गर्नुपर्छ?

१८ प्रार्थनाले जुनसुकै अवस्थामा पनि मदत गर्छ। यसको महत्त्वबारे ध्यान खिच्दै प्रेषित पावलले यसो भने: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्‍वरसमक्ष जाहेर गर। अनि परमेश्‍वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।” (फिलि. ४:६, ७) कठिनाइहरू भोग्नुपर्दा साहसी हुन मदत गर्ने यस प्रबन्धबाट के हामी पूरापूर लाभ उठाउँछौं? लामो समयदेखि डिप्रेसनको समस्या भोगिरहेका बेलायतका एलेक्स नाम गरेका भाइले यसो भने: “प्रार्थना गरेर यहोवासँग कुरा गर्नु अनि बाइबल पढेर उहाँको कुरा सुन्‍नु नै मेरो बाँच्ने आधार भएको छ।”

१९. सभामा उपस्थित हुनुलाई हामीले कसरी हेर्नुपर्छ?

१९ हामीलाई मदत गर्ने अर्को महत्त्वपूर्ण प्रबन्ध हो, सभाहरू। भजनरचयिताले यस्तो लेखे: “परमप्रभुका दरवारका निम्ति मेरो आत्माले अति इच्छा गर्छ, मुर्छा पनि खान्छ।” (भज. ८४:२) के हामी पनि त्यस्तै महसुस गर्छौं? अगाडि उल्लेख गरिएकी लीना ख्रीष्टियन सङ्‌गतिबारे यसो भन्छिन्‌: “मेरो लागि सभामा उपस्थित हुनु भनेको मन लागे जाने, मन नलागे नजाने कुरा थिएन। यहोवाबाट मदत पाउने हो भने सभामा उपस्थित हुनै पर्छ भनेर मलाई थाह थियो।”

२०. प्रचारकार्यमा भाग लिंदा हामी कस्तो मदत पाउँछौ?

२० राज्य प्रचारकार्यमा सक्रिय भएर पनि हामी साहसी हुन सक्छौं। (१ तिमो. ४:१६) थुप्रै समस्या भोगेकी अस्ट्रेलियाकी एक बहिनी यसो भन्छिन्‌: “प्रचार गर्न मलाई पटक्कै मन पर्दैनथ्यो तर एक जना एल्डरले मलाई उहाँसित प्रचार गर्न बोलाउनुभयो। म गएँ। पक्कै यहोवाले मलाई मदत गर्नुभएको हुनुपर्छ किनकि हरेक पटक प्रचारमा भाग लिंदा मलाई असाध्यै रमाइलो लाग्न थाल्यो।” (हितो. १६:२०) अरूलाई परमेश्‍वरमाथि विश्‍वास गर्न मदत गर्दा आफ्नो विश्‍वास पनि बलियो भएको थुप्रैले अनुभव गरेका छन्‌। यसो गर्दा तिनीहरूले आफ्ना समस्याहरूलाई बिर्सेर अझ महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न सकेका छन्‌।—फिलि. १:१०, ११.

२१. कठिनाइहरू आइपर्दा हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

२१ वर्तमान समयका कठिनाइहरूको साहसी भई सामना गर्न यहोवाले थुप्रै प्रबन्ध मिलाउनुभएको छ। यी सबै प्रबन्धबाट लाभ उठाउँदा अनि परमेश्‍वरका साहसी सेवकहरूको राम्रा उदाहरण मनन अनि अनुकरण गर्दा कठिनाइहरूमाथि विजयी हुने कुरामा ढुक्क हुन सक्छौं। हुन त यस युगको अन्त नजिकिंदै जाँदा थुप्रै नराम्रा कुरा भोग्नुपर्ने हुन सक्छ। तैपनि पावलजस्तै हामी यस्तो महसुस गर्न सक्छौं: “हामी लोटेका छौं तर नाश भएका छैनौं। . . . हामी हरेस खाँदैनौं।” (२ कोरि. ४:९, १६) यहोवाको मदत पाएर हामी वर्तमान समयका कठिनाइहरूको साहसी भई सामना गर्न सक्छौं।२ कोरिन्थी ४:१७, १८ पढ्‌नुहोस्‌।

a केही नाम परिवर्तन गरिएका छन्‌।