सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं भरोसायोग्य भण्डारे हुनुहुन्छ!

तपाईं भरोसायोग्य भण्डारे हुनुहुन्छ!

“आफ्नै शरीरमाथि तिमीहरूको अधिकार छैन।”—१ कोरि. ६:१९.

१. दासत्व भन्‍नेबित्तिकै मानिसहरूको मनमा कस्तो कुरा आउँछ?

 लगभग २,५०० वर्षअघि एक जना ग्रीक नाटककारले यस्तो लेखे: “दासत्वको जुवा बोक्न कोही पनि खुसी हुँदैन।” तिनको भनाइसित आज थुप्रै मानिस सहमत छन्‌। दासत्व भन्‍नेबित्तिकै थिचोमिचो र बन्धनमा परेका मानिसहरूको दृश्‍य मनमा आउँछ। अनि आफ्नो लागि नभई आफूमाथि प्रभुत्व जमाउनेहरूको फाइदाको लागि पसिना बगाउने मानिसहरूलाई सम्झन्छौं।

२, ३. (क) ख्रीष्टका दास वा सेवकहरूले कस्तो अवसर पाउँछन्‌? (ख) भण्डारेबारे कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

येशूले आफ्ना चेलाहरू सेवक अर्थात्‌ दास हुनेछन्‌ भन्‍नुभयो। तर दासको रूपमा साँचो ख्रीष्टियनहरूले अपमान वा अत्याचार सहनु पर्दैन। यी दासहरूले सम्मान, भरोसा र आदर पाउँछन्‌। आफ्नो मृत्युभन्दा केही समयअघि येशूले एउटा “दास”-बारे बताउनुभएको कुरा विचार गर्नुहोस्‌। उहाँले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई महत्त्वपूर्ण काम सुम्पने भविष्यवाणी गर्नुभयो।—मत्ती २४:४५-४७.

लूकाको विवरणमा येशूले “दास” शब्दको सट्टा “भण्डारे” शब्द प्रयोग गर्नुभएको कुरालाई ध्यान दिनुहोस्‌। (लूका १२:४२-४४ पढ्‌नुहोस्‌) अहिले जीवित प्रायजसो साँचो ख्रीष्टियनहरू त्यस विश्‍वासी भण्डारे वर्गका सदस्य होइनन्‌। तर परमेश्‍वरको सेवा गर्ने सबै जना नै एक अर्थमा भण्डारे हुन्‌ भनी बाइबल बताउँछ। हामीले कस्ता जिम्मेवारी पाएका छौं? ती जिम्मेवारीलाई हामीले कसरी हेर्नुपर्छ? जवाफको लागि, प्राचीन समयका भण्डारेहरूको भूमिका विचार गरौं।

भण्डारेको भूमिका

४, ५. प्राचीन समयका भण्डारेहरूलाई कस्तो जिम्मेवारी सुम्पिइएको हुन्थ्यो? केही उदाहरण दिनुहोस्‌।

प्राचीन समयमा, भण्डारे भनेको एक जना भरोसायोग्य दास हुन्थ्यो, जसलाई मालिकले आफ्नो घरको रेखदेख गर्न वा व्यापारिक कारोबार सँभाल्न नियुक्‍त गर्थे। भण्डारेले ठूलो अख्तियार पाएको हुन्थ्यो र घरको सम्पत्ति, पैसा अनि अन्य नोकरहरू उसकै मातहतमा हुन्थे। यसको एउटा उदाहरण एलिएजर हुन्‌। अब्राहामसित भएको प्रशस्त सम्पत्तिको रेखदेख गर्ने जिम्मा उनलाई सुम्पिइएको थियो। अब्राहामले आफ्नो छोरा इसहाकको निम्ति स्वास्नी खोज्न मेसोपोटामिया पठाएका दास पनि एलिएजर नै हुन सक्छन्‌। कत्ति ठूलो जिम्मेवारी!—उत्प. १३:२; १५:२; २४:२-४.

अब्राहामका पनाति यूसुफ पोतीफरका भण्डारे थिए। (उत्प. ३९:१, २) पछि यूसुफ आफैले पनि एक जना भण्डारे राखे जसलाई “यूसुफको घरको हर्ताकर्ता” नियुक्‍त गरियो। यस भण्डारेले यूसुफका दस जना दाजुभाइको हेरविचार गरे। अनि “चोरी” गरिएको चाँदीको कचौराको मामिलामा पनि ती भण्डारेले यूसुफले भनेझैं गरे। कुरा स्पष्ट छ, भण्डारेहरूलाई एकदमै भरोसा गरिन्थ्यो।—उत्प. ४३:१९-२५; ४४:१-१२.

६. एल्डरहरूले कस्ता जिम्मेवारी पूरा गर्छन्‌?

सयौं वर्षपछि, प्रेषित पावलले ख्रीष्टियन निरीक्षकहरू “परमेश्‍वरको भण्डारे” हुन्‌ भनी लेखे। (ती. १:७) “परमेश्‍वरको बगाललाई” गोठालोले झैं हेरविचार गर्न नियुक्‍त भएको कारण यी निरीक्षकहरूले डोऱ्‍याउने र मण्डलीमा नेतृत्व लिने काम गर्छन्‌। (१ पत्रु. ५:१, २) हो, सबैले एउटै किसिमको जिम्मेवारी पाएका हुँदैनन्‌। उदाहरणको लागि, आज प्रायजसो ख्रीष्टियन निरीक्षकहरू आफूले सङ्‌गत गरिरहेको कुनै एउटा मण्डलीको सेवा गर्छन्‌। परिभ्रमण निरीक्षकहरूले थुप्रै मण्डलीको सेवा गर्छन्‌। अनि शाखा समितिका सदस्यहरूले देशभित्र रहेको सम्पूर्ण मण्डलीको हेरविचार गर्छन्‌। तर सबैले आ-आफ्नो जिम्मेवारीलाई विश्‍वासी भई पूरा गरेको आशा गरिन्छ। तिनीहरू सबैले “परमेश्‍वरलाई लेखा दिनुपर्छ।”—हिब्रू १३:१७.

७. सबै ख्रीष्टियन एक अर्थमा भण्डारे हुन्‌ भनी हामी कसरी थाह पाउँछौं?

तर निरीक्षकको रूपमा सेवा नगर्ने अन्य थुप्रै वफादार ख्रीष्टियनबारे चाहिं के भन्‍न सकिन्छ? सबै ख्रीष्टियनलाई सम्बोधन गर्दै प्रेषित पत्रुसले यस्तो लेखे: “तिमीहरू हरेकले परमेश्‍वरबाट वरदान पाएका छौ। त्यसैले विभिन्‍न तरिकामा प्रकट भएको परमेश्‍वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एक-अर्काको सेवा गर्नमा चलाओ।” (१ पत्रु. १:१; ४:१०) परमेश्‍वरले आफ्नो असीम अनुग्रहको कारण हामी सबैलाई वरदान, खुबी वा दक्षता दिनुभएको छ। आफ्ना भाइबहिनीहरूलाई मदत गर्न हामी यी कुराहरू प्रयोग गर्न सक्छौं। त्यसैले परमेश्‍वरको सेवा गर्ने सबै जना भण्डारे हुन्‌। परमेश्‍वर हामीलाई भरोसा गर्नुहुन्छ, आदर गर्नुहुन्छ र हामीले भण्डारेको काम राम्रोसित पूरा गरेको आशा गर्नुहुन्छ।

हामी परमेश्‍वरकै हौं

८. भण्डारेको रूपमा हामीले सम्झनुपर्ने एउटा महत्त्वपूर्ण सिद्धान्त के हो?

अब हामी भण्डारेको रूपमा सबै ख्रीष्टियनले सम्झनुपर्ने तीनवटा सिद्धान्त विचार गरौं। पहिलो: हामी परमेश्‍वरकै हौं र हामीले उहाँलाई लेखा दिनुपर्छ। पावलले लेखे: “आफ्नै शरीरमाथि तिमीहरूको अधिकार छैन, किनकि तिमीहरू दाम तिरेर किनिएका थियौ।” त्यो दाम ख्रीष्टले हाम्रो पापको लागि चढाउनुभएको जीवन हो। (१ कोरि. ६:१९, २०) हामी परमेश्‍वरकै भएकोले उहाँको आज्ञा मान्‍नै पर्छ अनि ती आज्ञाहरू बोझिला छैनन्‌। (रोमी १४:८; १ यूह. ५:३) हामी ख्रीष्टका पनि दास हौं। प्राचीन समयका भण्डारेहरूले जस्तै हामीले प्रशस्त स्वतन्त्रता पाएका छौं। तर मनपरी गर्ने छुट भने पाएका छैनौं। हामीले निर्देशन पछ्याउनै पर्छ। परमेश्‍वरको सङ्‌गठनमा जतिसुकै जिम्मेवारी पाए तापनि हामी सबै जना परमेश्‍वर र ख्रीष्टको सेवक हौं।

९. मालिक र दासको सम्बन्ध येशूले कसरी बुझाउनुभयो?

येशू एउटा उदाहरणद्वारा मालिक र दासको सम्बन्ध बुझाउनुहुन्छ। एक पटक उहाँले आफ्ना चेलाहरूलाई दिनभरि काम गरेर घर फर्केको दासबारे बताउनुभयो। के मालिकले दासलाई “तुरुन्तै यहाँ आएर खान बस” भन्छ? भन्दैन। बरु उसले यसो भन्छ: “मेरो लागि बेलुकीको खाना तयार पार अनि मैले खानपिन नगरुन्जेल पटुका कसेर मेरो सेवा गर। त्यसपछि मात्र तिमीले खानपिन गर्नू।” येशूले चेलाहरूलाई कस्तो पाठ सिकाउँदै हुनुहुन्थ्यो? उहाँले भन्‍नुभयो: “तिमीहरू पनि जब आफूलाई अह्राइएको सबै काम पूरा गर्छौ, तब यसो भन्‍नू: ‘हामी निकम्मा दासहरू हौं। हामीले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेका हौं।’”—लूका १७:७-१०.

१०. यहोवाको सेवामा हामीले गर्ने प्रयासको उहाँ कदर गर्नुहुन्छ भनेर केले देखाउँछ?

१० यहोवाको सेवामा हामीले गर्ने प्रयासको उहाँ कदर गर्नुहुन्छ। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “तिमीहरूले परमेश्‍वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्‍न।” (हिब्रू ६:१०) यहोवा हामीबाट कहिल्यै अव्यावहारिक माग गर्नुहुन्‍न। उहाँ हामीबाट जे-जति माग गर्नुहुन्छ, ती सबै हाम्रै हितका लागि हुन्‌ अनि ती बोझिला छैनन्‌। तर येशूले उदाहरणमा भन्‍नुभएजस्तै दासले आफैलाई खुसी पार्न खोज्दैन। उसले मालिकको इच्छालाई पहिलो स्थान दिन्छ। त्यसैगरि आफूलाई परमेश्‍वरमा समर्पण गर्दा उहाँको इच्छालाई जीवनमा पहिलो स्थान दिने छनौट गर्छौं, होइन र?

यहोवा हामी सबैबाट के चाहनुहुन्छ?

११, १२. भण्डारेको रूपमा हामीले कुन गुण देखाउनुपर्छ? कस्तो आचरण देखाउनु हुँदैन?

११ दोस्रो सिद्धान्त हो: हामी सबैले एउटै स्तर पालन गर्नुपर्छ। हुन त हो, मण्डलीमा कुनै-कुनै जिम्मेवारी केही व्यक्‍तिलाई मात्र सुम्पिइएको हुन्छ। तर प्रायजसो जिम्मेवारी भने हामी सबैले पाएका हुन्छौं। जस्तै: ख्रीष्टका चेला र यहोवाका साक्षीको रूपमा हामीले एक-अर्कालाई प्रेम गर्नुपर्छ। साँचो ख्रीष्टियनहरूको चिनारी प्रेम हो भनी येशूले बताउनुभयो। (यूह. १३:३५) हामी ख्रीष्टियन भाइबहिनीलाई मात्र होइन, अरू मानिसलाई पनि प्रेम गर्ने कोसिस गर्छौं। यो हामी सबैले गर्न सक्छौं अनि गर्नुपर्ने कुरा पनि हो।

१२ साथै, हाम्रो आचरण असल हुनुपर्छ। परमेश्‍वरको वचनले निषेध गरेको आचरण र जीवनशैली अपनाउनु हुँदैन। पावलले लेखे: “अवैध यौनसम्बन्ध राख्नेहरू, मूर्तिपूजकहरू, आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नेहरू, अस्वाभाविक यौनसम्बन्धका लागि राखिएका पुरुषहरू, पुरुषहरूसित यौनसम्बन्ध राख्ने पुरुषहरू, चोरहरू, लोभीहरू, पियक्कडहरू, निन्दकहरू, लुटाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (१ कोरि. ६:९, १०) परमेश्‍वरले तोक्नुभएको सही स्तरअनुसार चल्नु सजिलो कुरा होइन। त्यसको लागि प्रयास चाहिन्छ तर त्यस्तो प्रयास खेर जाँदैन। जस्तै: हाम्रो स्वास्थ्य राम्रो हुन्छ, अरूसित सुमधुर सम्बन्ध कायम हुन्छ अनि परमेश्‍वरसितको मित्रता बलियो हुन्छ।यशैया ४८:१७, १८ पढ्‌नुहोस्‌।

१३, १४. सबै ख्रीष्टियनले गर्नुपर्ने काम के हो? त्यसप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

१३ नबिर्सनुहोस्‌, भण्डारेले आफूले पाएको काम पूरा गर्नुपर्थ्यो। हामीले पनि गर्नुपर्छ। परमेश्‍वरले हामीलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। त्यो हो, उहाँबारे सही ज्ञान। हामीले यो ज्ञान अरूलाई बाँडेको परमेश्‍वर चाहनुहुन्छ। (मत्ती २८:१९, २०) पावलले लेखे: “मानिसहरूले हामीलाई ख्रीष्टको अधीनमा बसेर काम गर्ने सेवक अनि परमेश्‍वरको पवित्र रहस्यका भण्डारे ठानून्‌।” (१ कोरि. ४:१) आफूलाई “पवित्र रहस्य” अर्थात्‌ बाइबलको सत्य ज्ञान सुम्पिइएको छ भनेर पावललाई थाह थियो। अनि मालिक येशू ख्रीष्टले अह्राएबमोजिम तिनले त्यो ज्ञान अरूसित बाँड्‌नुपर्थ्यो।—१ कोरि. ९:१६.

१४ अरूलाई बाइबल सत्य बताउनु भनेको उनीहरूप्रति प्रेम देखाउनु हो। सबै ख्रीष्टियनको अवस्था फरक-फरक छ। सबैले प्रचारकार्यमा एकनासको सेवा चढाउन सक्दैनन्‌। यहोवा त्यो बुझ्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा हो—हामीले यथासक्दो गर्नुपर्छ। यसरी हामी परमेश्‍वर र छिमेकीप्रति निःस्वार्थ प्रेम देखाउँछौं।

विश्‍वासयोग्य हुनुको महत्त्व

१५-१७. (क) भण्डारे किन विश्‍वासयोग्य हुनै पर्छ? (ख) विश्‍वासयोग्य नभएमा भोग्नुपर्ने परिणामलाई येशूले कसरी प्रस्ट पार्नुभयो?

१५ तेस्रो सिद्धान्त हो: हामी विश्‍वासयोग्य र भरोसायोग्य हुनै पर्छ। भण्डारेसित थुप्रै असल गुण र क्षमता भए तापनि आफूखुसी गर्छ वा आफ्नो मालिकप्रति वफादार हुँदैन भने त्यसको कुनै अर्थ रहँदैन। प्रभावकारी अनि सफल भण्डारे बन्‍नको लागि विश्‍वासयोग्य हुनै पर्छ। पावलले लेखेको यो कुरा सम्झनुहोस्‌ त: “भण्डारेहरूमा खोजिने कुरा के हो भने, उनीहरू विश्‍वासयोग्य हुनुपर्छ।”—१ कोरि. ४:२.

१६ विश्‍वासयोग्य भयौं भने परमेश्‍वरले इनाम दिनुहुनेछ भन्‍ने कुरामा पक्का हुन सक्छौं। तर भएनौं भने क्षति भोग्नुपर्नेछ। येशूले तोडाबारे भन्‍नुभएको दृष्टान्तले उक्‍त बुँदा प्रस्ट पार्छ। “व्यापार” गर्ने विश्‍वासयोग्य दासहरूले मालिकको स्याबासी अनि धेरै इनाम पाए। तर तोडा सदुपयोग नगर्ने दासलाई मालिकले “दुष्ट,” “अल्छे” र “निकम्मा” ठहराए। उसलाई दिइएको तोडा खोसियो र उसलाई बाहिर अन्धकारमा फालियो। मत्ती २५:१४-१८, २३, २६, २८-३० पढ्‌नुहोस्‌।

१७ विश्‍वासयोग्य नभएमा भोग्नुपर्ने परिणामलाई येशूले अर्को दृष्टान्तमा पनि प्रस्ट पार्नुभयो। उहाँले भन्‍नुभयो: “कुनै धनी मानिसको एक जना भण्डारे थियो र उसले सम्पत्ति हिनामिना गर्दैछ भन्‍ने खबर तिनको कानमा पऱ्‍यो। त्यसैले तिनले उसलाई बोलाएर भने: ‘म यो के सुन्दैछु? लौ, मलाई एक-एक हिसाब बुझाऊ। अब उसो तिमीले मेरो कारोबार सम्हाल्नेछैनौ।’” (लूका १६:१, २) भण्डारेले मालिकको सम्पत्ति हिनामिना गरेको हुँदा उसलाई कामबाट निकालियो। हाम्रो लागि कस्तो सशक्‍त पाठ! परमेश्‍वरले हामीबाट माग्नुहुने कुराप्रति हामी सधैं विश्‍वासयोग्य हुनुपर्छ।

आफूलाई अरूसित तुलना गर्नु बुद्धिमानी हो?

१८. आफूलाई किन अरूसित तुलना गर्नु हुँदैन?

१८ हामी प्रत्येकले आफूलाई यो प्रश्‍न सोध्न सक्छौं: ‘म कस्तो किसिमको भण्डारे हुँ?’ आफूलाई अरूसित तुलना गर्नु बुद्धिमानी होइन। बाइबल यस्तो सल्लाह दिन्छ: “हरेकले आफ्नो काम जाँचोस्‌, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।” (गला. ६:४) आफ्नो कामलाई अरूले गरेको कामसित तुलना गर्नुको साटो आफूले अझ राम्रो गर्ने प्रयास गर्नुपर्छ। यसो गऱ्‍यौं भने हामी घमन्डले फुल्नेछैनौं वा निराश हुनेछैनौं। हामीले सम्झनुपर्ने एउटा कुरा हो: हाम्रो परिस्थिति सधैं एउटै रहँदैन। स्वास्थ्य समस्या, ढल्कँदो उमेर वा अन्य दायित्वहरूले गर्दा हामी पहिलेजति गर्न सक्दैनौं होला। अर्कोतर्फ, अहिले गरिरहेको भन्दा अझ बढी गर्न पो सक्छौं कि? त्यसो हो भने अझ धेरै गर्ने प्रयास गरे कसो होला?

१९. कुनै खास सुअवसर नपाउँदा हामी किन निराश हुनु हुँदैन?

१९ हामीले कस्ता जिम्मेवारीहरू पाइरहेका छौं अनि कस्ता जिम्मेवारीहरू पाउने चाह गर्छौं, यस सन्दर्भमा पनि आफूलाई अरूसित तुलना गर्नु हुँदैन। उदाहरणको लागि, कुनै भाइ मण्डलीमा एल्डरको रूपमा सेवा गर्न चाहलान्‌ अथवा सम्मेलन र अधिवेशनमा भाषण दिन चाहलान्‌। त्यस्ता सुअवसरहरूको लागि योग्य हुन प्रयास गर्नु राम्रो हो। तर आशा गरेको समयमा त्यस्ता सुअवसरहरू नपाउँदा निराश हुनु हुँदैन। आफूले बुझ्न नसकेको केही कारणले गर्दा सोचेभन्दा निकै ढिलो मात्र सुअवसर पाउन सक्छौं। मोशाको घटना सम्झनुहोस्‌ त। इस्राएलीहरूलाई मिश्रबाट निकाल्न तिनलाई आफू तयार छु जस्तो लागेको थियो। तर तिनले ४० वर्षसम्म पर्खनुपऱ्‍यो। त्यतिन्जेल तिनले हठी र विद्रोही इस्राएलीहरूको नेतृत्व गर्न चाहिने गुणहरू विकास गर्न सके।—प्रेषि. ७:२२-२५, ३०-३४.

२०. जोनाथनको अनुभवबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

२० कुनै-कुनै सुअवसर भने हामीले कहिल्यै नपाउन पनि सक्छौं। जोनाथनले त्यस्तै अनुभव गरे। तिनी शाऊलका छोरा भएकोले इस्राएलको राजगद्दीका उत्तराधिकारी थिए। तर परमेश्‍वरले जोनाथनभन्दा निकै कान्छो दाऊदलाई राजा बन्‍न छान्‍नुभयो। जोनाथनले कस्तो प्रतिक्रिया देखाए? तिनले परमेश्‍वरको निर्णय स्वीकारे अनि आफ्नो ज्यानको खतरा मोलेर दाऊदलाई साथ दिए। तिनले दाऊदलाई यसो भने: “तपाईं इस्राएलका राजा हुनुहुनेछ, र मचाहिं तपाईंका मनि दोस्रो दर्जामा हुनेछु।” (१ शमू. २३:१७) यसबाट तपाईं कस्तो पाठ सिक्नुहुन्छ? जोनाथनले आफ्नो अवस्थाबारे गनगन गरेनन्‌। अनि आफ्नो बुबा शाऊलले जस्तो दाऊदको डाह गरेनन्‌। त्यसैगरि अरूले सुअवसर पाउँदा ईर्ष्या गर्नुको साटो हामीले पनि आफूलाई दिइएको जिम्मेवारी राम्ररी पूरा गर्न सक्दो प्रयास गर्नुपर्छ। नयाँ संसारमा यहोवाले आफ्ना सबै सेवकका जायज इच्छाहरू पूरा गरिदिनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं।

२१. भण्डारेको कामलाई हामीले कस्तो ठान्‍नुपर्छ?

२१ हामी परमेश्‍वरका विश्‍वासयोग्य भण्डारे हौं, निर्दयी मालिकको अत्याचार र दमन सहनुपर्ने दास होइनौं भनेर कहिल्यै नबिर्सौं। यहोवा हामीलाई भरोसा गर्नुहुन्छ र उहाँले हामीलाई फेरि कहिल्यै नदोहोरिने महत्त्वपूर्ण काम सुम्पनुभएको छ। त्यो हो, यस युगको अन्तको समयमा सुसमाचार घोषणा गर्ने। अनि आफूलाई सुम्पिइएको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा हामीले स्वतन्त्रता पाएका छौं। त्यसैले विश्‍वासयोग्य भण्डारे होऔं अनि ब्रह्‍माण्डको सर्वोच्च परमेश्‍वरको सेवा गर्ने सुअवसरलाई ठूलो सम्मान ठानौं।