सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको अन्धविश्‍वासी प्रयोग गर्नदेखि होसियार!

बाइबलको अन्धविश्‍वासी प्रयोग गर्नदेखि होसियार!

“परमेश्‍वरको वचन जीवित र प्रबल . . . छ।” (हिब्रू ४:१२) परमेश्‍वरको वचनमा मानिसको मन छुने अनि जीवन परिवर्तन गर्ने शक्‍ति छ भनेर प्रेषित पावलले उक्‍त शब्दहरूद्वारा जोड दिए।

प्रेषितहरूको मृत्युपछि भविष्यवाणी गरिएझैं धर्मत्याग सुरु भयो। त्यसपछि बाइबल सन्देशको शक्‍तिबारे मानिसहरूको धारणा अस्पष्ट हुन थाल्यो। (२ पत्रु. २:१-३) समय बित्दै जाँदा चर्चका पादरीहरूले परमेश्‍वरको वचनमा जादु गर्ने शक्‍ति छ भन्‍न थाले। प्राध्यापक ह्‍यारी वाइ ग्याम्बलले “बाइबल पदहरूको जादुगरी प्रयोग”-बारे लेखे। तिनले उल्लेख गरेअनुसार तेस्रो शताब्दीमा चर्चका पादरी ओरिगेनले यसो भने: “पवित्र शब्दहरू सुन्दा शुभ हुन्छ: गैर-इसाई शब्दहरू त शक्‍तिशाली हुन्छन्‌ भने बाइबलका पवित्र शब्दहरू झन्‌ कत्ति शक्‍तिशाली होलान्‌।” चौथो शताब्दीको अन्ततिरका जोन क्रिसोस्टमले यस्तो लेखे: “सुसमाचारको पुस्तक भएको घरमा पस्न सैतानले हिम्मत गर्नेछैन।” कसै-कसैले सुसमाचारको पुस्तकको केही अंश जन्तरको रूपमा घाँटीमा झुण्ड्याउँछन्‌ भनेर पनि उनले बताए। प्राध्यापक ग्याम्बलअनुसार “टाउको दुखेको बेला सिरानीमुनि यूहन्‍नाको पुस्तक राखेर सुतेमा निको हुन्छ” भनी क्याथोलिक धर्मविद्‌ अगस्टिनले सिकाए। बाइबललाई यसरी चमत्कार गर्न प्रयोग गरिन्थ्यो। के तपाईं बाइबललाई दुष्टबाट जोगाउने जन्तर ठान्‍नुहुन्छ?

मानिसहरू विभिन्‍न तरिकामा बाइबलको दुरुपयोग गर्छन्‌। एउटा सामान्य तरिका हो: शकून-अपशकून हेर्नका लागि बाइबलको प्रयोग। यसको मतलब, बाइबल पल्टाउने बित्तिकै जुन पदमा आँखा पर्छ, त्यही पदमा भएको कुराअनुसार चल्ने। उदाहरणको लागि, प्राध्यापक ग्याम्बलअनुसार एक पटक अगस्टिनले आफ्नो छिमेकीको घरबाट बच्चाको यस्तो आवाज सुने: “लिएर पढ्‌नुहोस्‌, लिएर पढ्‌नुहोस्‌।” अगस्टिनले उक्‍त आवाजलाई बाइबल पल्टाउन अनि पल्टाउनेबित्तिकै जुन पदमा आँखा पऱ्‍यो, त्यही पद पढ्‌न परमेश्‍वरले निर्देशन दिनुभएको भन्ठाने।

बाइबल पल्टाउनेबित्तिकै जुन पदमा आँखा पर्छ, त्यही पदले समस्या सामना गर्न मदत गर्छ भनेर विश्‍वास राख्ने मानिसहरूबारे के तपाईंले सुन्‍नुभएको छ? हुन त तिनीहरूको मनसाय राम्रो होला तर ख्रीष्टियनहरूले बाइबलबाट निर्देशन खोज्ने तरिका त्यो होइन।

येशूले आफ्ना चेलाहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “मदतगार अर्थात्‌ पवित्र शक्‍तिले तिमीहरूलाई बाँकी अरू कुरा सिकाउनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा स्मरण गराउनेछ।” (यूह. १४:२६) तर शकून-अपशकून हेर्नका लागि बाइबलको प्रयोग गर्ने हो भने परमेश्‍वरको ज्ञानको आवश्‍यकता नै हुनेथिएन।

शकून-अपशकून हेर्न अनि अन्य अन्धविश्‍वासी कुरामा बाइबलको प्रयोग गर्ने चलन सामान्य भइसक्यो। तर परमेश्‍वरको वचनले शकून-अपशकून हेर्नुलाई निन्दा गर्छ। (लेवी १९:२६; व्यव. १८:९-१२; प्रेषि. १९:१९) हो, “परमेश्‍वरको वचन जीवित र प्रबल . . . छ।” तर हामीले यसलाई निपुणतासाथ प्रयोग गर्नुपर्छ। बाइबलको अन्धविश्‍वासी प्रयोगले होइन, सही ज्ञानले मानिसको जीवनमा राम्रो परिवर्तन ल्याउँछ। सही ज्ञानले थुप्रैलाई नैतिक तवरमा सफा रहन, खराब जीवनशैली त्याग्न, पारिवारिक बन्धन बलियो पार्न अनि बाइबलको ग्रन्थकारसित व्यक्‍तिगत सम्बन्ध गाँस्न मदत गरेको छ।