सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो उपासनामा एकताबद्ध “प्रवासीहरू”

साँचो उपासनामा एकताबद्ध “प्रवासीहरू”

“विदेशीहरू तेरा हलो जोत्ने र दाखबारीका माली हुनेछन्‌। तर तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ।” —यशै. ६१:५, ६.

१. कसै-कसैले विदेशीप्रति कस्तो सोचाइ राख्छन्‌? तर त्यस्तो सोचाइ राख्नु किन ठीक होइन?

 कसै-कसैले विदेशीलाई मन पराउँदैनन्‌। तिनीहरूभन्दा आफू श्रेष्ठ छु भन्‍ने सोचाइ राख्छन्‌। तर आफ्नो देशको मान्छे अर्को देशको मान्छेभन्दा ठूलो हो भन्‍ने सोचाइ राख्नु गलत हो। एउटा मानिसभन्दा अर्को मानिस ठूलो छैन। जातजातिका मानिसहरू (अङ्‌ग्रेजी) भन्‍ने पुस्तिका यसो भन्छ: “मानिसहरू विभिन्‍न जातजातिका भए तापनि बाइबलले भनेझैं दाजुभाइ हुन्‌।” दाजुभाइ धेरै कुरामा फरक होलान्‌, तर आखिर दाजुभाइ नै हुन्‌।

२, ३. प्राचीन इस्राएलका विदेशीहरूप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्थ्यो?

संसारको जुनसुकै ठाउँमा विदेशीहरू छन्‌। प्राचीन समयमा पनि त्यस्तै थियो। यहोवा परमेश्‍वरले व्यवस्थाको करारद्वारा इस्राएलीहरूसित विशेष सम्बन्ध गाँस्नुभएको थियो। त्यतिबेला गैर-इस्राएलीहरूको अधिकार सीमित थियो। तर इस्राएलीहरूले तिनीहरूसित आदरपूर्वक अनि निष्पक्ष ढङ्‌गमा व्यवहार गर्नुपर्थ्यो। हाम्रो लागि कस्तो राम्रो उदाहरण! साँचो ख्रीष्टियनहरूले एक-अर्कालाई पक्षपात गर्नु पटक्कै मिल्दैन। किन? प्रेषित पत्रुसले यसो भने: “अब मलाई पक्का भयो, कि परमेश्‍वर पक्षपाती हुनुहुन्‍न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।”—प्रेषि. १०:३४, ३५.

प्राचीन इस्राएलका विदेशीहरूले त्यहाँका रैथाने इस्राएलीहरूसित सरसङ्‌गत गर्दा धेरै कुरा सिक्न सक्थे किनभने यहोवाले ती विदेशीहरूलाई स्वीकार्नुभएको थियो। यसैकारण प्रेषित पावलले यहोवाबारे यसो भने: “के उहाँ यहूदीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ? के उहाँ अन्यजातिका मानिसहरूको पनि परमेश्‍वर हुनुहुन्‍न र? हो, उहाँ अन्यजातिका मानिसहरूको पनि परमेश्‍वर हुनुहुन्छ।”—रोमी ३:२९; योए. २:३२.

४. “परमेश्‍वरको इस्राएल”-मा कसैलाई पनि विदेशी ठानिंदैन, किन?

अभिषिक्‍त ख्रीष्टियनहरूको मण्डलीसित परमेश्‍वरले नयाँ करार बाँध्नुभएपछि जन्मजात इस्राएल राष्ट्रले उहाँसितको विशेष सम्बन्ध गुमायो। यसप्रकार अभिषिक्‍त ख्रीष्टियनहरूको मण्डली “परमेश्‍वरको इस्राएल” बन्यो। (गला. ६:१६) अनि पावलले व्याख्या गरेझैं यस नयाँ राष्ट्रमा “न कोही ग्रीक हुन्छ, न कोही यहूदी, न खतनावाल, न बेखतना, न विदेशी, न सिथियन, न दास, न स्वतन्त्र मानिस, तर ख्रीष्ट नै सबै थोक हुनुहुन्छ र सबैमा हुनुहुन्छ।” (कल. ३:११) यस अर्थमा ख्रीष्टियन मण्डलीमा कसैलाई पनि विदेशी ठानिने थिएन।

५, ६. (क) यशैया ६१:५, ६ बारे कस्तो प्रश्‍न उठ्‌न सक्छ? (ख) यशैयाले उल्लेख गरेका “परमप्रभुका पूजाहारी” र “विदेशी” को हुन्‌? (ग) यी दुई समूहबीचको समानता के हो?

तर कसै-कसैले यशैया ६१ अध्याय देखाउलान्‌। त्यहाँ ख्रीष्टियन मण्डलीमा पूरा भइरहेको भविष्यवाणीबारे बताइएको छ। पद ६ मा “परमप्रभुका पूजाहारी”-बारे उल्लेख गरिएको छ। तर पद ५ मा भने ती “पूजाहारी”-लाई सहयोग गर्ने अनि तिनीहरूसँगसँगै काम गर्ने “विदेशी”-बारे उल्लेख गरिएको छ। यसको अर्थ के हो?

“परमप्रभुका पूजाहारी” अभिषिक्‍त ख्रीष्टियनहरू हुन्‌। तिनीहरूले “पहिलो पुनर्जीवनमा” भाग पाउँछन्‌ र तिनीहरू “परमेश्‍वर अनि ख्रीष्टका पुजारी हुनेछन्‌ र राजाको रूपमा एक हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्‌।” (प्रका. २०:६) यसबाहेक पृथ्वीमा बाँच्ने आशा राखेका वफादार ख्रीष्टियन पनि थुप्रै छन्‌। यिनीहरू स्वर्गमा गएर शासन गर्नेहरूसँगै काम गर्छन्‌ र तिनीहरूसित सरसङ्‌गत गर्छन्‌। पृथ्वीमा बाँच्ने आशा राखेका ख्रीष्टियनहरू “परमेश्‍वरको इस्राएल”-को भाग नभएकोले विदेशीजस्तै छन्‌। उनीहरू “परमप्रभुका पूजाहारी”-लाई समर्थन गर्छन्‌ र तिनीहरूसँगसँगै काम गर्छन्‌। मानौं, उनीहरू ती पुजारीको “हलो जोत्ने र दाखबारीका माली” हुन्‌। उनीहरू परमेश्‍वरको सत्यबारे अरूलाई बताउँछन्‌। यसरी परमेश्‍वरको आदर हुने काम गरेर अभिषिक्‍त ख्रीष्टियनहरूलाई साथ दिन्छन्‌। अभिषिक्‍त ख्रीष्टियन र “अरू भेडा”-ले मानिसहरूलाई बाइबल सत्य सिकाउँछन्‌ र त्यसैअनुसार जिउन मायालुपूर्वक मदत गर्छन्‌।—यूह. १०:१६.

अब्राहामजस्तै “अस्थायी बासिन्दा”

७. आजका ख्रीष्टियनहरू कुन अर्थमा प्राचीन समयका अब्राहाम र अन्य विश्‍वासी व्यक्‍तिजस्तै छन्‌?

यसअघिको लेखमा बताइएझैं साँचो ख्रीष्टियनहरू सैतानको दुष्ट संसारमा विदेशी अर्थात्‌ अस्थायी बासिन्दाजस्तै छन्‌। यस अर्थमा तिनीहरू प्राचीन समयका अब्राहाम र अन्य विश्‍वासी व्यक्‍तिजस्तै छन्‌, जो “आफू बसोबास गरिरहेको भूमिमा परदेशी र अस्थायी बासिन्दा” थिए। (हिब्रू ११:१३) चाहे हाम्रो आशा स्वर्गको होस्‌ या पृथ्वीको, अब्राहामले जस्तै यहोवासित विशेष सम्बन्ध गाँस्न सक्छौं। याकूब भन्छन्‌, “अब्राहामले यहोवामा विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा असल ठहरिए अनि तिनी ‘यहोवाको मित्र’ कहलाइए।”—याकू. २:२३.

८. यहोवाले अब्राहामलाई कस्तो प्रतिज्ञा गर्नुभयो? यसको पूर्तिबारे अब्राहामले कस्तो महसुस गरे?

अब्राहाम र तिनका सन्तानद्वारा एउटा जातिले मात्र होइन, पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो। (उत्पत्ति २२:१५-१८ पढ्‌नुहोस्‌) यो प्रतिज्ञा धेरै पछि मात्र पूरा हुने भए तापनि त्यो पक्कै पूरा हुनेछ भनेर अब्राहाम विश्‍वस्त थिए। तिनी र तिनको परिवारले आफ्नो अधिकांश जीवन एक ठाउँदेखि अर्को ठाउँमा बसाइँ सर्दै बिताए। तर तिनले यहोवासितको मित्रतालाई कहिल्यै तोडेनन्‌।

९, १०. (क) हामी कुन-कुन तरिकामा अब्राहामको उदाहरण पछ्याउन सक्छौं? (ख) हामी अरूलाई कस्तो निम्तो दिन सक्छौं?

यहोवाको प्रतिज्ञा पूरा हुन कति समय पर्खनुपर्ने हो भनी थाह नभए तापनि उहाँप्रति अब्राहामको प्रेम र भक्‍ति कहिल्यै ढलपल भएन। आफू अस्थायी बासिन्दा हो भन्‍ने कुरा तिनले कहिल्यै बिर्सेनन्‌। त्यसैले तिनी कुनै ठाउँको स्थायी बासिन्दा जसरी बसेनन्‌। (हिब्रू ११:१४, १५) हामीले अब्राहामको उदाहरण पछ्याउँदै सरल जीवन बिताउनुपर्छ। आफ्नो सरसम्पत्ति, सामाजिक ओहदा वा प्रतिष्ठाबारे अचाक्ली चिन्ता गर्नु हुँदैन। यो संसार चाँडै नाश हुन लागेको छ। त्यसैले यस संसारमा सामान्य मानिने जीवन बिताएर के फाइदा? अस्थायी कुरालाई माया गर्नुको कुनै अर्थ छ र? अब्राहामजस्तै हामी पनि उत्तम संसारको बाटो हेर्दैछौं। त्यसैले आफ्नो आशा पूरा नहोउन्जेल धैर्य गरेर त्यसको प्रतीक्षा गर्न तयार छौं।रोमी ८:२५ पढ्‌नुहोस्‌।

१० अब्राहाम र तिनका सन्तानमार्फत आशिष्‌पाउने निम्तो अहिले पनि सबै जातिलाई दिइँदै छ। “परमप्रभुका पूजाहारी” अर्थात्‌ अभिषिक्‍त ख्रीष्टियन र “विदेशी” अर्थात्‌ अरू भेडाले ६०० भन्दा बढी भाषामा संसारभरिका मानिसहरूलाई यो आशिष्‌ पाउने निम्तो दिंदै छन्‌।

सबै जातिका मानिसलाई प्रेम गर्नुहोस्‌

११. सुलेमानले सबै जातिका मानिसलाई के गर्न आग्रह गरे?

११ ईसापूर्व १०२६ मा मन्दिरको समर्पण गर्दा सुलेमानले प्रार्थनामा भनेका कुराहरूबाट सबै जातिका मानिसप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ भनी थाह पाउँछौं। वास्तवमा तिनले सबै जातिका मानिसलाई यहोवाको प्रशंसा गर्न आग्रह गरिरहेका थिए। यसो गरेमा यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञाबाट तिनीहरूले लाभ उठाउन सक्थे। सुलेमानले यस्तो हृदयस्पर्शी प्रार्थना गरे: “तपाईंको प्रजा इस्राएली कुलदेखि बाहिरको कुनै विदेशी तपाईंको ख्याति सुनेर टाढाबाट आए र, (किनभने मानिसहरूले तपाईंको महान्‌ ख्याति र तपाईंका फैलाएका बलिया बाहु र पाखुराको विषयमा सुन्‍नेछन्‌) यस भवनतिर फर्केर प्रार्थना गऱ्‍यो भने, तपाईंको बासस्थान स्वर्गमा त्यो प्रार्थना सुनेर त्यस विदेशीले गरेको पुकाराको प्रत्युत्तर दिनुहोस्‌। यसरी तपाईंको प्रजा इस्राएलझैं पृथ्वीका सबै मानिसहरूले तपाईंको ख्यातिलाई जानून्‌।”—१ राजा ८:४१-४३.

१२. कसै-कसैले यहोवाका साक्षीहरूलाई किन “विदेशी” ठान्छन्‌?

१२ विदेशी भनेको आफ्नो देशमा नभई अरूको देशमा बस्ने व्यक्‍ति हो। यहोवाका साक्षीहरू विदेशीजस्तै छन्‌। तिनीहरू संसारभरि विभिन्‍न ठाउँमा बसोबास गर्छन्‌ तर स्वर्गमा स्थापित परमेश्‍वरको राज्य र त्यसको राजा येशू ख्रीष्टलाई समर्थन गर्छन्‌। मानिसहरूलाई अनौठो लागे तापनि तिनीहरू आफू बसोबास गर्ने देशको राजनैतिक मामिलामा तटस्थ रहन्छन्‌।

१३. (क) अरूलाई “विदेशी” ठान्‍नु मानिसको धारणाको कुरा मात्र हो भनेर किन भन्‍न सक्छौं? (ख) यहोवाको सुरुको उद्देश्‍यमा विदेशी भन्‍ने धारणा थियो? व्याख्या गर्नुहोस्‌।

१३ विदेशीहरू अक्सर तिनीहरूको भाषा, चलन, रूपरङ, पहिरन, कोरीबाटीजस्ता कुराले गर्दा फरक देखिन्छन्‌। तर विभिन्‍न देशका मानिसहरूबीचको भिन्‍नताभन्दा तिनीहरूबीचको समानता उल्लेखनीय छ। कुनै-कुनै पक्षमा आफूभन्दा फरक भएकोले मात्र मानिसहरूले विदेशी ठानेका हुन्‌। यस्ता भिन्‍नतालाई ध्यान दिएनौं भने “विदेशी” शब्दको खास अर्थ रहँदैन। पृथ्वीका सबै मानिस एउटै सरकार वा एउटै देशको नागरिक भएका भए कसैलाई विदेशी ठान्‍न मिल्दैनथियो। हुन पनि यहोवाको सुरुको उद्देश्‍य सबै मानिस उहाँको शासनअन्तर्गत एउटै परिवारको रूपमा एकताबद्ध होऊन्‌ भन्‍ने थियो। पृथ्वीका सबै मानिसले एक-अर्कालाई विदेशी नठान्‍ने समय आउला र?

१४, १५. यहोवाका साक्षीहरूले समूहको रूपमा के गर्न सकेका छन्‌?

१४ आज धेरैजसो मानिस स्वार्थी छन्‌ र अरूको भन्दा आफ्नो देश ठूलो हो भन्‍ने सोचाइ राख्छन्‌। तर सबै जातिका मानिसहरूलाई प्रेम गर्ने मानिसहरू देख्न पाउनु कत्ति उत्तम! मानिसहरूप्रतिको सोचाइ परिवर्तन गर्नु सजिलो कुरा त होइन। सी एन एन टेलिभिजन नेटवर्कका संस्थापक टेड टर्नरले विभिन्‍न देशका निपुण मानिसहरूसित काम गर्दाको अनुभव यसरी बताए: “यी मानिसहरूसितको भेटघाटले मेरो जीवनमा ठूलो प्रभाव पाऱ्‍यो। अरू देशका मानिसहरू ‘विदेशी’ होइनन्‌, बरु यस धर्तीका सङ्‌गी नागरिक हुन्‌ भनेर बुझ्न सकें। ‘विदेशी’ भन्‍ने शब्दले मानिसको अपमान गर्छ जस्तो लाग्यो। त्यसैले सी एन एन-मा कार्यक्रम प्रसारण गर्दा वा अफिसमा एक-अर्कासित कुराकानी गर्दा ‘विदेश’ भन्‍ने शब्द प्रयोग गर्न निषेध गऱ्‍यौं। यसको सट्टा ‘अन्तरराष्ट्रिय’ भन्‍ने शब्द प्रयोग गर्छौं।”

१५ परमेश्‍वरको जस्तो सोचाइ राख्ने समूह विश्‍वमा यहोवाका साक्षीहरू मात्र हुन्‌। यहोवाको जस्तै दृष्टिकोण राख्दा तिनीहरूले सबै देशका मानिसहरूप्रतिको धारणा बदल्न सकेका छन्‌। तिनीहरू अरू मुलुकका मानिसहरूलाई घृणा गर्दैनन्‌ अनि उनीहरूलाई भरोसा गर्न सकिंदैन भन्‍ने सोचाइ राख्दैनन्‌। विभिन्‍न मानिसमा पाइने विविधतालाई कदर गर्छन्‌। एउटा समूहको रूपमा यहोवाका साक्षीहरूले यसो गर्न सक्नु कस्तो अनमोल कुरा हो, होइन र? अनि यसले अरूसितको सम्बन्धमा पारेको राम्रो प्रभावलाई पनि विचार गर्नुहोस्‌ त!

विदेशीविनाको संसार

१६, १७. प्रकाश १६:१६ र दानियल २:४४ को पूर्तिले तपाईंको लागि कस्तो अर्थ राख्छ?

१६ चाँडै सबै राष्ट्रले आरमागेडोनको युद्धमा परमेश्‍वरको शासनविरुद्ध निर्णायक लडाइँ लड्‌नेछन्‌। (प्रका. १६:१४, १६; १९:११-१६) सम्पूर्ण मानव सरकारले भोग्ने परिणामबारे भविष्यवक्‍ता दानियलले २,५०० वर्षअघि नै बताइसकेका थिए। तिनले लेखे: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्यचाहिं सदासर्वदै रहिरहनेछ।”—दानि. २:४४.

१७ यस भविष्यवाणीको पूर्तिले तपाईंको लागि कस्तो अर्थ राख्छ? एक अर्थमा अहिले हामी सबै विदेशी हौं किनभने सबै राष्ट्रको आ-आफ्नै सीमाना छ। तर आरमागेडोनपछि ती सीमाना रहनेछैनन्‌। हुन त त्यतिबेला पनि सबै मानिस एकै किसिमका हुनेछैनन्‌ तर तिनीहरूबीचको भिन्‍नताले परमेश्‍वरको सृष्टिमा पाइने अद्‌भुत विविधतालाई झल्काउनेछ। यस्तो रोमाञ्चकारी भविष्यबारे सोच्दा हामी सबै जना हाम्रा सृष्टिकर्ता यहोवा परमेश्‍वरको प्रशंसा र आदर गरिरहन उत्प्रेरित हुनुपर्ने हो।

मानिसले कोरेको कुनै सीमाना नहुने अनि “विदेशी” भन्‍ने धारणा हराउने समयको के तपाईं प्रतीक्षा गर्नुहुन्छ?

१८. यहोवाका साक्षीहरूमाझ “विदेशी” भन्‍ने धारणा हट्‌दै छ भनेर हालैका कस्ता घटनाहरूले देखाउँछ?

१८ संसारभरि नै त्यस्तो परिवर्तन हुनेछ भनेर आशा गर्नु के अव्यावहारिक हो? अहँ, होइन। यो पक्कै हुनेछ भनेर विश्‍वस्त हुन सक्छौं। यहोवाका साक्षीहरूमाझ “विदेशी” भन्‍ने धारणा लगभग हटिसकेको छ। तिनीहरू एक-अर्काको राष्ट्रियतालाई महत्त्वपूर्ण ठान्दैनन्‌। उदाहरणको लागि, हालै केही साना शाखा कार्यालय समायोजन भए। यसले गर्दा अझ प्रभावकारी ढङ्‌गमा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न सम्भव भएको छ। (मत्ती २४:१४) कानुनले देउन्जेल सीमानाको वास्ता नगरेर समायोजन कार्य गरियो। यहोवाले नियुक्‍त गर्नुभएको राजा येशू ख्रीष्टले मानव सीमाना तोड्‌नुभएको यो अर्को प्रमाण हो। अनि उहाँले चाँडै सबै सीमाना नामेट गरेर पूर्णतया “विजय” हासिल गर्नुहुनेछ।—प्रका. ६:२.

१९. सत्यको शुद्ध भाषाले कुन कुरा सम्भव बनाएको छ?

१९ यहोवाका साक्षीहरू विभिन्‍न मुलुकका छन्‌ र उनीहरूको भाषा फरक-फरक छ। तर तिनीहरू सत्यको शुद्ध भाषाले एकताबद्ध छन्‌। यो एकता कसैले तोड्‌न सक्दैन। (सपन्याह ३:९ पढ्‌नुहोस्‌) यहोवाका साक्षीहरू एउटा अन्तरराष्ट्रिय परिवारमा बाँधिएका छन्‌। तिनीहरू सैतानको संसारमा भए तापनि त्यसको भाग होइनन्‌। यस एकताबद्ध परिवारले आउँदै गरेको नयाँ संसारको पूर्वझलक दिन्छ—विदेशीहरूविनाको संसार! त्यसबेला यस लेखको सुरुमा उद्धरण गरिएको यथार्थलाई सबैले खुसीसाथ स्वीकार्नेछन्‌: “मानिसहरू विभिन्‍न जातजातिका भए तापनि बाइबलले भनेझैं दाजुभाइ हुन्‌।”—जातजातिका मानिसहरू।