सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो सफलता हासिल गर्नुहोस्‌

साँचो सफलता हासिल गर्नुहोस्‌

“तेरो सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।”—यहो. १:८.

१, २. (क) थुप्रैको विचारमा सफल हुनु भनेको के हो? (ख) सफलताप्रति आफ्नो दृष्टिकोण पत्ता लगाउने एउटा तरिका के हो?

 सफल हुनु भनेको के हो? मानिसहरूलाई यो प्रश्‍न सोध्नुहोस्‌, तपाईंले फरक-फरक जवाफ पाउनुहुनेछ। उदाहरणको लागि, थुप्रैको विचारमा सफल हुनु भनेको प्रशस्त धनसम्पत्ति कमाउनु, राम्रो जागिर खानु अथवा उच्च शिक्षा हासिल गर्नु हो। अरू भने घर-परिवार, साथीभाइ वा सहकर्मीहरूसितको राम्रो सम्बन्धलाई सफलता ठान्छन्‌। परमेश्‍वरका केही सेवकलाई चाहिं मण्डलीमा कुनै खास जिम्मेवारी पाउनु वा प्रचारकार्यमा राम्रो नतिजा हासिल गर्नु नै सफल हुनु हो जस्तो लाग्न सक्छ।

तपाईंको विचारमा सफल हुनु भनेको के हो? यो पत्ता लगाउन तपाईंको विचारमा सफल व्यक्‍तिहरूको नाम लेख्नुहोस्‌, जसलाई तपाईं एकदमै मन पराउनुहुन्छ र सम्मान गर्नुहुन्छ। उनीहरू कस्ता व्यक्‍ति हुन्‌? के उनीहरू धनी वा प्रख्यात छन्‌? के उनीहरू प्रभावशाली छन्‌? यी प्रश्‍नहरूको जवाफले तपाईंको मनभित्र भएको कुरा प्रकट गर्छ। अनि तपाईंको छनौट र लक्ष्यमा यसले निकै असर गर्न सक्छ।—लूका ६:४५.

३. (क) सफलता हासिल गर्न यहोशूले के गर्नुपर्थ्यो? (ख) अब हामी कुन कुरा विचार गर्नेछौं?

सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाको नजरमा सफल हुनु हो। हामी यहोवाको नजरमा सफल छौं भने मात्र उहाँको अनुमोदन पाउन सक्छौं। यहोवाले यहोशूलाई प्रतिज्ञा गरिएको देशसम्म इस्राएलीहरूलाई डोऱ्‍याउने महत्त्वपूर्ण जिम्मेवारी सुम्पनुभयो। त्यसबेला यहोवाले तिनलाई “दिनरात” मोशाको व्यवस्था पढ्‌नू अनि त्यसमा लेखिएको कुरा होसियारीसाथ पालन गर्नू भन्‍नुभयो। अनि उहाँले तिनलाई यस्तो आश्‍वासन दिनुभयो: “तेरा सबै मार्गहरूमा उन्‍नती गर्नेछस्‌ र सफलता पाउनेछस्‌।” (यहो. १:७, ८) हो, यहोशूले साँचो सफलता हासिल गरे। हामी नि? सफलताप्रति हाम्रो दृष्टिकोण के यहोवाको जस्तै छ? यसको जवाफ पाउन बाइबलमा उल्लेख गरिएका दुई जना व्यक्‍तिको जीवनलाई विचार गरौं।

के सुलेमान सफल थिए?

४. सुलेमान किन सफल भए?

थुप्रै तरिकामा सुलेमान असाध्यै सफल थिए। किन? किनभने वर्षौंसम्म तिनले यहोवाको डर राखे र उहाँको आज्ञा पालन गरे। अनि उहाँले तिनलाई थुप्रै आशिष्‌ दिनुभयो। सम्झनुहोस्‌ त, यहोवाले ‘के दिऊँ’ भनेर सोध्दा तिनले आफ्नो प्रजालाई डोऱ्‍याउने बुद्धि मागे। त्यसपछि यहोवाले तिनलाई बुद्धि र धन दुवै दिनुभयो। (१ राजा ३:१०-१४ पढ्‌नुहोस्‌) तिनको बुद्धि “पूर्वका सबै मानिसहरू र मिश्र देशका सबै मानिसका बुद्धिलाई माथ गर्ने” खालको थियो। सुलेमानको “ख्याति वरिपरिका सबै जातिहरूका बीचमा फैलियो।” (१ राजा ४:३०, ३१) तिनको धनको कुरा गर्नुपर्दा, वर्षेनी आउने सुनको तौल छ सय छैसट्ठी तोडा अर्थात्‌ २५ टन जति थियो! (२ इति. ९:१३) तिनी सफल कूटनीतिज्ञ र व्यापारी थिए। अनि तिनले थुप्रै सुन्दर-सुन्दर कुरा निर्माण गरे। हो, यहोवाप्रति आज्ञाकारी हुँदा सुलेमान सफल भए।—२ इति. ९:२२-२४.

५. सुलेमानले साँचो सफलताबारे कुन कुरा बुझेका थिए?

सुलेमानले उपदेशकको पुस्तकमा लेखेको कुराले सफलताप्रति तिनको दृष्टिकोण सही थियो भनेर प्रकट गर्छ। तिनले धनी वा प्रभावशाली मानिस मात्र सफल र आनन्दित हुन सक्छन्‌ भन्ठानेनन्‌। यस्तो सोचाइ तिनले पटक्कै राखेनन्‌। तिनले यस्तो लेखे: “जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनुबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्‍वरको दान हो।” (उप. ३:१२, १३) परमेश्‍वरसित राम्रो सम्बन्ध छ भने मात्र मानिसले उपभोग गर्ने सुख र आनन्द साँच्चै अर्थपूर्ण हुन्छ भनेर तिनले बुझेका थिए। सुलेमान यस्तो सही निष्कर्षमा पुगे: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्‌। परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उप. १२:१३.

६. साँचो सफलता के हो भनी बुझ्न सुलेमानको उदाहरणले हामीलाई कसरी मदत गर्छ?

वर्षौंसम्म सुलेमानले यहोवाको भय राख्दै जीवन बिताए। बाइबलले बताएअनुसार तिनी “आफ्ना पिता दाऊदले बनाएका धार्मिक विधानहरूको पालन गर्दै परमप्रभुलाई नै प्रेम गर्थे।” (१ राजा ३:३) त्यो बेला तिनी साँचो अर्थमा सफल थिए। परमेश्‍वरको निर्देशनअनुसार सुलेमानले साँचो उपासनाको लागि भव्य मन्दिर निर्माण गरे र बाइबलका तीनवटा पुस्तक लेखे। हो, हामी सुलेमानले गरेजस्तो गर्न सक्दैनौं। तर तिनी परमेश्‍वरप्रति वफादार रहँदाको उदाहरणले साँचो सफलता के हो अनि सफल हुन के गर्नुपर्छ भनी बुझ्न मदत गर्छ। उदाहरणको लागि, परमेश्‍वरको प्रेरणा पाएर सुलेमानले धनसम्पत्ति, बुद्धि, ख्याति र शक्‍ति व्यर्थ हुन्‌ भनी लेखे। तर धेरै मानिस सफल हुन यी कुराहरू चाहिन्छ भनी सोच्छन्‌। सुलेमानले बताएअनुसार यी कुराहरू प्राप्त गर्न मरिमेट्‌नेहरूले ‘बतासलाई खेदिरहेका’ हुन्छन्‌ अर्थात्‌ तिनीहरूले साँचो आनन्द पाउँदैनन्‌। पैसालाई प्रेम गर्नेहरूलाई जति भए पनि पुग्दैन। आफूसित भएको कुराहरू गुमाउनुपर्ने हो कि भन्‍ने चिन्ताले तिनीहरूलाई सधैं पिरोलिरहन्छ। साथै, तिनीहरूसित भएको धनसम्पत्ति कुनै दिन अरू कसैको हुन्छ।उपदेशक २:८-११, १७; ५:१०-१२ पढ्‌नुहोस्‌।

७, ८.  सुलेमान कसरी अवफादार हुन पुगे र नतिजा कस्तो भयो?

तपाईंलाई थाहै छ, पछि सुलेमान यहोवाप्रति आज्ञाकारी भइरहन सकेनन्‌। बाइबल भन्छ, “तिनी वृद्ध हुँदा तिनका पत्‌नीहरूले तिनको मन अरू देवताहरूतर्फ लगाइदिए, र तिनी आफ्ना पिता दाऊदझैं परमप्रभु आफ्ना परमेश्‍वरका सम्पूर्ण रीतिले भक्‍त भएनन्‌। . . . सुलेमानले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।”—१ राजा ११:४-६.

त्यसैले सुलेमानसित यहोवा अप्रसन्‍न हुनुभयो र यसो भन्‍नुभयो: “मैले तँलाई आज्ञा गरेको अनुसार मेरो करार र धर्म-विधिलाई पालन नगरेको कारण म यो राज्य टुक्राएर तेरो दासलाई दिनेछु।” (१ राजा ११:११) कत्ति दुःखलाग्दो कुरा! थुप्रै कुरामा सुलेमानले सफलता हासिल गरे तर पछि तिनले यहोवालाई अप्रसन्‍न तुल्याए। सबैभन्दा महत्त्वपूर्ण कुरामा अर्थात्‌ यहोवाप्रति वफादार भइरहने सन्दर्भमा सुलेमान चुके। हामी प्रत्येकले आफैलाई सोध्न सक्छौं, ‘के सुलेमानबाट सिकेको पाठले मलाई साँचो सफलता हासिल गर्न मदत गर्नेछ?’

साँच्चै सफल जीवन

९. संसारको नजरमा के पावल सफल थिए? व्याख्या गर्नुहोस्‌।

प्रेषित पावलको जीवन राजा सुलेमानको जीवनभन्दा बिलकुलै फरक थियो। पावलले दरबारको सुखसयल अनुभव गरेनन्‌ वा राजाहरूसित खानपान गरेनन्‌। बरु तिनले भोक, प्यास, जाडो र नग्नता खपे। (२ कोरि. ११:२४-२७) येशूलाई मसीहको रूपमा स्वीकारेपछि पावलले यहूदी धर्ममा पाइरहेको मानसम्मान गुमाए। यहूदी धर्मगुरुहरूले तिनलाई घृणा गरे। तिनलाई झ्यालखानामा थुनियो, कोर्रा लगाइयो, डन्डाले पिटियो र ढुङ्‌गाले हानियो। तिनी र तिनका सङ्‌गी ख्रीष्टियनहरूले गाली खाए, खेदो सहे र बदनामी भोगे। तिनले यसो भने, “हामी अहिलेसम्म संसारको लागि कसिङ्‌गर अनि सबै कुराको कसरझैं भएका छौं।”—१ कोरि. ४:११-१३.

१०. सफल हुने मौकालाई पावलले लत्याए भनी मानिसहरूलाई किन लागेको हुन सक्छ?

१० पावल जवान छँदा शावल नामले चिनिन्थे। थुप्रैको नजरमा त्यसबेला तिनी हर कुराले सम्पन्‍न थिए। सायद तिनी गण्यमान्य परिवारमा जन्मेका थिए। अनि तिनले प्रतिष्ठित गुरु गमलिएलबाट शिक्षा पाएका थिए। पछि पावलले यस्तो लेखे: “आफ्नै जातिका मेरा दौंतरीहरूले भन्दा मैले यहूदी धर्ममा धेरै उन्‍नति गरें।” (गला. १:१४) तिनी हिब्रू र ग्रीक भाषामा पोख्त थिए। तिनीसित रोमी नागरिकता भएकोले तिनले ठूलठूला मौका तथा सुविधा पाएका थिए। संसारले दिने सफलता हासिल गर्नमै लागिरहेका भए सायद तिनी अझ धनी र अझ प्रतिष्ठित व्यक्‍ति हुन सक्थे। तर तिनले रोजेको जीवनशैली अरूको नजरमा, सायद आफ्नै नातेदारहरूको नजरमा समेत मूर्खतापूर्ण थियो। किन?

११. पावल कस्ता कुराको मोल गर्थे र तिनको लक्ष्य के थियो? किन?

११ पावल यहोवालाई प्रेम गर्थे र उहाँको अनुमोदन पाउन चाहन्थे। तिनी धनी बन्‍न र ख्याति कमाउन चाहँदैनथे। सत्यको सही ज्ञान हासिल गरेपछि पावलले फिरौतीको बलिदान, ख्रीष्टियन सेवा, स्वर्गीय जीवनको आशाजस्ता कुराहरूको मोल गर्न थाले। यी कुराहरू संसारका धेरैजसो मानिसका लागि महत्त्वहीन छन्‌। सैतानले जो-कोहीलाई पनि परमेश्‍वरको सेवा गर्नबाट तर्काउन सक्छु भनी दाबी गरेको थियो। यो कुरा पावललाई थाह थियो। तिनी सैतानलाई गलत साबित गर्न चाहन्थे। (अय्यू. १:९-११; २:३-५) त्यसैले जस्तोसुकै परीक्षा भोग्नुपरे तापनि परमेश्‍वरप्रति वफादार भइरहन र साँचो उपासनामा लागिरहन पावल दृढ थिए। आज संसारमा सफल ठानिएका थुप्रै मानिस यसलाई आफ्नो लक्ष्य बनाउनदेखि चुकेका छन्‌।

१२. तपाईंले किन परमेश्‍वरमा आशा राख्ने छनौट गर्नुभयो?

१२ के तपाईंको लक्ष्य पनि पावलको जस्तै छ? वफादार भएर जीवन बिताउनु सधैं सजिलो छैन। तर यसो गर्दा यहोवाको आशिष्‌ र अनुमोदन पाइन्छ। अनि यसले नै हामीलाई साँचो सफलता दिन्छ। (हितो. १०:२२) हामी अहिल्यै र भविष्यमा अझ धेरै आशिष्‌ पाउने आशा गर्न सक्छौं। (मर्कूस १०:२९, ३० पढ्‌नुहोस्‌) त्यसैले आफ्नो आशा “अस्थिर धनसम्पत्तिमा होइन तर हाम्रो आनन्दको लागि हामीलाई सबै कुरा प्रशस्तसित दिनुहुने परमेश्‍वरमा” राख्नुपर्छ। यसो गरेमा ‘भविष्यको लागि राम्रो जग बसाल्न र साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछौं।’ (१ तिमो. ६:१७-१९) हामी यस कुरामा ढुक्क हुन सक्छौं: अबको एक सय वर्ष, एक हजार वर्ष वा त्योभन्दा पछि पनि हामीले विगत सम्झेर यसो भन्‍न सक्नेछौं, “मेरो जीवन साँच्चै सफल भएको छ!”

तपाईंको धनसम्पत्ति कहाँ छ?

१३. धनसम्पत्ति थुपार्नेबारे येशूले कस्तो सल्लाह दिनुभयो?

१३ धनसम्पत्तिबारे येशूले यसो भन्‍नुभयो: “आफ्नो निम्ति पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल, जहाँ त्यसलाई कीरा र खियाले खान्छ अनि चोरहरूले फोरेर लैजान्छन्‌। बरु, आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार, जहाँ न कीराले न त खियाले नै खान्छ अनि चोरहरूले फोरेर पनि लैजाँदैनन्‌। किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीं तिम्रो मन पनि हुन्छ।”—मत्ती ६:१९-२१.

१४. पृथ्वीमा धनसम्पत्ति थुपार्नु किन बुद्धिमानी होइन?

१४ मानिसको धनसम्पत्ति पैसा मात्र नहुन सक्छ। मानिसहरूले मूल्यवान्‌ ठानेका र सुलेमानले लेखेका जुनसुकै कुरा यसमा पर्न सक्छ। जस्तै: प्रतिष्ठा, ख्याति वा शक्‍ति। सुलेमानले उपदेशकको पुस्तकमा भनेको जस्तै कुरा येशूले पनि बताउनुभयो। पृथ्वीमा थुपारेको धनसम्पत्ति सधैंभरि रहँदैन। संसारमा भएका यी सबै थोक नाश हुन र सजिलै गुम्न सक्छन्‌। यस्तो सम्पत्तिबारे प्राध्यापक एफ. डेल ब्रुनरले यसरी लेखे: ‘ख्याति भनेको पानीको बाफजस्तै हो। आज सबैको वाहवाही पाएको व्यक्‍तिलाई भोलि सबैले बिर्सन सक्छन्‌। यो वर्ष एकदमै सफल भएको व्यापार भोलि गएर टाट पल्टन सक्छ। येशू मानिसहरूलाई प्रेम गर्नुहुन्छ। उहाँ बिलाएर जाने महिमा खोज्दा हुने निराशाबाट जोगिन सल्लाह दिनुहुन्छ। आफ्ना चेलाहरू निराश भएको येशू चाहनुहुन्‍न। आजको हिरो भोलिको जिरो बन्‍न सक्छ।’ यी लेखकको भनाइसित धेरै मानिस सहमत छन्‌। तर यस भनाइको यथार्थ बुझेको चाहिं कति जनाले देखाउँछन्‌? तपाईं नि?

१५. हामीले कस्तो प्रकारको सफलता हासिल गर्ने प्रयास गर्नुपर्छ?

१५ केही धर्मगुरुले सफल हुन प्रयास गर्नु गलत हो भनेर प्रचार-प्रसार गरेका छन्‌। तर येशूले त्यसो भन्‍नुभएन। उहाँले चेलाहरूलाई सही प्रकारको सफलता हासिल गर्न प्रोत्साहन दिनुभयो। उहाँले “स्वर्गमा धनसम्पत्ति” थुपार्न सल्लाह दिनुभयो। हाम्रो मुख्य चासो यहोवाको नजरमा सफल हुन प्रयास गर्नु हो। येशूका शब्दहरूले देखाएअनुसार छनौट हाम्रै हातमा छ। वास्तविकता के हो भने, हाम्रो मनमा जे छ अनि हामी जुन कुराको मोल गर्छौं, त्यही कुराको पछि लाग्छौं।

१६. कुन कुरामा हामी पूरा भरोसा राख्न सक्छौं?

१६ यहोवालाई खुसी पार्न सक्दो गरेमा हामीलाई चाहिने कुराहरू उहाँले दिनुहुनेछ भनी पक्का हुन सक्छौं। प्रेषित पावलले जस्तै कहिलेकाहीं हामीले पनि भोक वा प्यासको अनुभव गर्नुपर्ने हुन सक्छ। (१ कोरि. ४:११) तर येशूको यस सल्लाहमा हामी पूरा भरोसा राख्न सक्छौं: “‘हामी के खाऔंला?’ कि ‘के पिऔंला?’ कि ‘के लगाऔंला?’ भनेर कहिल्यै चिन्ता नगर। किनकि अन्यजातिका मानिसहरू यिनै कुराका लागि दौडधूप गर्छन्‌। तर यी सब कुरा तिमीहरूलाई चाहिन्छ भनेर स्वर्गमा बस्नुहुने तिमीहरूका बुबालाई थाह छ। यसकारण उहाँको राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै कुरा तिमीहरूलाई दिइनेछ।”—मत्ती ६:३१-३३.

परमेश्‍वरको नजरमा सफल हुनुहोस्‌

१७, १८. (क) साँचो सफलता केमा भर पर्छ? (ख) सफलता केमा भर पर्दैन?

१७ सम्झनुपर्ने मुख्य कुरा हो: साँचो सफलता संसारमा हामीले हासिल गरेका उपलब्धि वा हाम्रो ओहदामा भर पर्दैन। साथै, मण्डलीमा पाएको जिम्मेवारीमा पनि भर पर्दैन। साँचो सफलता परमेश्‍वरप्रति आज्ञाकारी र वफादार हुँदा मात्र हासिल गर्न सकिन्छ। यहोवाले यसो भन्‍नुभएको छ: “भण्डारेहरूमा खोजिने कुरा के हो भने, उनीहरू विश्‍वासयोग्य हुनुपर्छ।” (१ कोरि. ४:२) अनि हामी पनि विश्‍वासयोग्य हुनुपर्छ। येशूले यसो भन्‍नुभयो: “जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ।” (मत्ती १०:२२) उद्धार पाउनु भनेको सफलता हासिल गर्नु होइन र?

१८ साँचो सफलता परमेश्‍वरप्रति वफादार हुनुमा भर पर्छ। हाम्रो अवस्था जस्तोसुकै भए तापनि हामी सबै नै उहाँप्रति वफादार हुन सक्छौं। हाम्रो वफादारी हामीले हासिल गरेको ख्याति, शिक्षा वा पैसामा भर पर्दैन। अनि हाम्रो बौद्धिक क्षमता, खुबी वा दक्षतामा पनि भर पर्दैन। प्रथम शताब्दीमा, परमेश्‍वरका केही सेवक धनी थिए त केही गरिब। धनी ख्रीष्टियनहरूलाई पनि पावलले ‘भलाइको काम गर्न, असल काममा धनी हुन, उदारचित्तका हुन, बाँडचुँड गर्न तत्पर हुन’ सल्लाह दिए। धनी र गरिब दुवैले “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” सक्नेथिए। (१ तिमो. ६:१७-१९) आज पनि कुरा त्यही हो। हामी सबैसित उस्तै मौका र उस्तै जिम्मेवारी छ। त्यो हो: हामी वफादार हुनुका साथै “असल काममा धनी” हुनै पर्छ। अनि मात्र हाम्रा सृष्टिकर्ताको नजरमा सफल हुनेछौं र उहाँलाई आनन्दित तुल्याइरहेको कुरा थाह पाउँदा रमाउन सक्नेछौं।—हितो. २७:११.

१९. सफल हुन तपाईं के गर्नुहुनेछ?

१९ संसारले हामीलाई हेर्ने दृष्टिकोणलाई हामी परिवर्तन गर्न नसकौंला तर आफ्नो अवस्थाप्रति हाम्रो दृष्टिकोणलाई भने परिवर्तन गर्न सक्छौं। तपाईंको अवस्था जस्तोसुकै होस्‌, वफादार भइरहने प्रयास गर्नुहोस्‌। प्रयास खेर जाँदैन। यहोवाले अहिले र सदाको लागि प्रशस्त आशिष्‌ वर्षाउने कुरामा विश्‍वस्त हुनुहोस्‌। येशूले अभिषिक्‍त ख्रीष्टियनहरूलाई भन्‍नुभएका यी शब्दहरू कहिल्यै नबिर्सनुहोस्‌: “मृत्युसम्मै आफूलाई विश्‍वासी साबित गर अनि म तिमीलाई जीवनको मुकुट दिनेछु।” (प्रका. २:१०) साँचो सफलता यही नै हो!

[पृष्ठ ६-मा भएको चित्र]

 

[पृष्ठ ७-मा भएको चित्र]