सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं आध्यात्मिक सम्पदाको मोल गर्नुहुन्छ?

के तपाईं आध्यात्मिक सम्पदाको मोल गर्नुहुन्छ?

“अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्न परमेश्वरले . . . तिनीहरूलाई ध्यान दिनुभयो।”—प्रेषि. १५:१४.

१, २. (क) ‘दाऊदको बासस्थानले’ कसलाई बुझाउँछ र त्यो कसरी फेरि बनाइने थियो? (ख) आज यहोवाका सेवकको रूपमा कसले मिलेर सेवा गरिरहेका छन्‌?

इस्वी संवत्‌ ४९ मा यरूशलेममा भएको परिचालक निकायको सभामा चेला याकूबले यसो भने: “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्न परमेश्वरले कसरी पहिलो चोटि तिनीहरूलाई ध्यान दिनुभयो भनेर शिमियोन [पत्रुस]-ले विस्तृत रूपमा बताइसकेका छन्‌। अनि भविष्यवक्ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ, जस्तो लेखिएको छ, ‘यी कुराहरूपछि म फर्कनेछु र दाऊदको भत्किएको बासस्थान पुनर्निर्माण गर्नेछु; त्यसको भग्नावशेषलाई पुनर्निर्माण गर्नेछु र त्यसलाई फेरि खडा गर्नेछु, ताकि बाँकी रहेका मानिसहरूले सबै गैर-यहूदीहरूसित मिलेर जोडतोडले यहोवाको खोजी गर्न सकून्‌, जसको विषयमा यी सबै काम गर्ने यहोवा भन्नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्‌। यो कुरा उहाँलाई पहिल्यैदेखि थाह थियो।’”—प्रेषि. १५:१३-१८.

‘दाऊदको बासस्थानले’ तिनको वंशबाट आएका राजाहरूलाई बुझाउँछ। राजा सिदकियाह सिंहासनबाट हटाइँदा त्यो बासस्थान ढल्यो। (आमो. ९:११) तर त्यो “बासस्थान” फेरि ‘बनाइने’ थियो। यसको अर्थ दाऊदको वंशबाट आएका येशू स्थायी राजाको रूपमा नियुक्त हुनुहुने थियो। (इज. २१:२७; प्रेषि. २:२९-३६) परिचालक निकायको सभामा याकूबले बताएअनुसार यहूदी र अन्यजातिहरूबाट येशूका सहशासकहरू जम्मा गरिंदा आमोसको भविष्यवाणी पूरा हुने थियो। आज यी अभिषिक्त ख्रीष्टियनहरू र लाखौं सङ्ख्यामा रहेका येशूका “अरू भेडा” मिलेर बाइबल सत्य प्रचार गरिरहेका छन्‌।—यूह. १०:१६.

यहोवाका सेवकहरू चुनौती सामना गर्छन्‌

३, ४. निर्वासित यहूदीहरू कसरी यहोवासित नजिक भइरहन सके?

यहूदीहरूलाई बेबिलोनमा कैद गरेर लगिंदा ‘दाऊदको बासस्थान’ ढलेको स्पष्ट भयो। बेबिलोनमा झूटो धर्म व्याप्त थियो।  तर त्यस्तो अवस्थामा पनि परमेश्वरका सेवकहरू ७० वर्षसम्म (ईसापूर्व ६०७-ईसापूर्व ५३७) कसरी वफादार रहिरहन सके? जसरी आज हामी सैतानको संसारमा वफादार रहेका छौं, त्यसरी नै। (१ यूह. ५:१९) विशेष आध्यात्मिक सम्पदाले यहोवाका सेवकहरूलाई वफादार रहिरहन मदत गरेको छ।

आध्यात्मिक सम्पदाको रूपमा हामीसित सिङ्गो बाइबल छ। बेबिलोनमा निर्वासित यहूदीहरूसित सिङ्गो बाइबल थिएन तर तिनीहरूलाई दस आज्ञासहितको मोशाको व्यवस्थाबारे भने थाह थियो। तिनीहरूलाई ‘सियोनको गीत’ र थुप्रै उपदेश थाह थियो। तिनीहरूलाई विगतका यहोवाका वफादार सेवकहरूबारे पनि थाह थियो। निर्वासित यहूदीहरू सियोनको यादमा धुरुधुरु रोए र तिनीहरूले यहोवालाई बिर्सेनन्‌। (भजन १३७:१-६ पढ्नुहोस्) बेबिलोनमा झूटा शिक्षा र प्रचलनहरू व्याप्त भए तापनि यस्ता कुराले तिनीहरूलाई यहोवासित नजिक भइरहन मदत गऱ्यो।

त्रिएक नयाँ शिक्षा होइन

५. प्राचीन बेबिलोन र मिश्रमा क-कसलाई त्रिएकको रूपमा उपासना गरिन्थ्यो?

बेबिलोनीहरूको उपासनामा त्रिएकले महत्त्वपूर्ण स्थान ओगटेको थियो। तिनीहरूले उपासना गर्ने त्रिएकमध्ये एउटा सिन (चन्द्रदेव), शमाश (सूर्यदेव) र इश्तार (प्रजनन र युद्धकी देवी) मिलेर बनेको थियो। प्राचीन मिश्रमा, एउटा देवलाई देवीसित विवाह गर्ने पुरुषको रूपमा हेरिन्थ्यो र देवीले देवको लागि छोरा जन्माउँथिन्‌। यसप्रकार “त्रिएक बन्थ्यो, जसमा बुबा सधैं मुख्य हुँदैनथे, तिनले कहिलेकाहीं रानीको पतिको रूपमा मात्र चित्त बुझाउनुपर्थ्यो भने मानिसहरूका लागि देवी नै मुख्य हुन्थिन्‌।” * ओसिरिस देव, आइसिस देवी र तिनीहरूका छोरा होरसलाई पनि मिश्रमा त्रिएकको रूपमा उपासना गरिन्थ्यो।

६. त्रिएक भनेको के हो? यहोवाका सेवकहरू किन त्रिएकको शिक्षामा विश्वास गर्दैनन्‌?

आज चर्चजगत्‌ले पनि त्रिएकको शिक्षा सिकाउँछ। ‘पिता, पुत्र र पवित्र आत्मा एउटै हो’ भनी पादरीहरू भन्छन्‌। तर यो विश्वास यहोवाको सार्वभौमिकतामाथिको आक्रमण हो। यस्तो शिक्षाले यहोवा तीन भागको एक भाग मात्र हुनुभएकोले शक्तिशाली हुनुहुन्न भन्ने भान पार्छ। यहोवाका सेवकहरू यस्तो शिक्षा विश्वास गर्दैनन्‌ किनकि तिनीहरू बाइबलका यी शब्दहरूसित सहमत छन्‌: “हे इस्राएली हो सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ!” (व्यव. ६:४) येशूले पनि त्यही कुरा दोहोऱ्याउनुभयो। अनि साँचो ख्रीष्टियनहरू येशूले भन्नुभएको कुरा विश्वास गर्छन्‌।—मर्कू. १२:२९.

७. त्रिएकमा विश्वास गर्ने व्यक्तिले साँचो ख्रीष्टियनको रूपमा बप्तिस्मा गर्न सक्दैन, किन?

येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ।” (मत्ती २८:१९) यसको अर्थ साँचो ख्रीष्टियन तथा यहोवाको साक्षीको रूपमा बप्तिस्मा गर्न चाहने व्यक्तिले बुबा अर्थात्‌ यहोवा सबैभन्दा शक्तिशाली हुनुहुन्छ अनि येशू परमेश्वरको छोरा हुनुहुन्छ र उहाँ फिरौतीको बलिदान चढाउन पृथ्वीमा आउनुभयो भनेर विश्वास गर्नै पर्छ। बप्तिस्मा गर्न लागेको व्यक्तिले पवित्र शक्ति परमेश्वरको सक्रिय शक्ति हो, त्रिएकको भाग होइन भनेर पनि विश्वास गर्नै पर्छ। (उत्प. १:२) त्रिएकमा विश्वास गर्ने व्यक्तिले साँचो ख्रीष्टियनको रूपमा बप्तिस्मा गर्न सक्दैन। हाम्रो आध्यात्मिक सम्पदाले परमेश्वरको अनादर गर्ने शिक्षाबाट जोगाएकोमा हामी असाध्यै कृतज्ञ छौं!

तन्त्रमन्त्रले अड्डा जमाउन थाल्छ

८. बेबिलोनीहरू देवी-देवता र दुष्ट स्वर्गदूतहरूबारे कस्तो विश्वास राख्थे?

बेबिलोनीहरू आफ्ना देवी-देवतामा मात्र  होइन, दुष्ट स्वर्गदूतहरू र तन्त्रमन्त्रमा समेत विश्वास गर्थे। बाइबलसम्बन्धी एउटा विश्वकोश * यसो भन्छ: “बेबिलोनी धर्ममा देवी-देवतापछिको दोस्रो स्थानमा दुष्ट स्वर्गदूतहरू आउँथे। दुष्ट स्वर्गदूतहरूले मानिसहरूलाई विभिन्न किसिमका शारीरिक तथा मानसिक रोगबिमार लगाउन सक्छन्‌ भन्ने विश्वास गरिन्थ्यो। यी दुष्ट स्वर्गदूतहरूदेखि जोगिन मानिसहरू देवी-देवतालाई पुकार्थे।”

९. (क) बेबिलोनमा छँदा थुप्रै यहूदी कसरी झूटा धार्मिक शिक्षाको सिकार भए? (ख) तन्त्रमन्त्रको खतरादेखि हामी कसरी जोगिएका छौं?

बेबिलोनमा छँदा थुप्रै यहूदी झूटा धार्मिक शिक्षाको सिकार भए। पछि ती यहूदीहरूले दुष्ट स्वर्गदूतहरूले फाइदा पनि पुऱ्याउन सक्छन्‌ भन्ने ग्रीक विचारधारा अपनाउन थाले। तर परमेश्वरले तन्त्रमन्त्रलाई निषेध गर्नुभएको छ। आध्यात्मिक सम्पदाको रूपमा पाएको यस्तो शिक्षाले हामीलाई तन्त्रमन्त्रको खतरादेखि जोगाएको छ। (यशै. ४७:१, १२-१५) तन्त्रमन्त्रप्रति हामी परमेश्वरको जस्तै दृष्टिकोण राख्छौं।व्यवस्था १८:१०-१२; प्रकाश २१:८ पढ्नुहोस्।

१०. महान्‌ बेबिलोनको शिक्षा तथा प्रचलनबारे बताउनुहोस्।

१० प्राचीन समयका बेबिलोनीहरूले जस्तै महान्‌ बेबिलोन अर्थात्‌ झूटो धर्मको विश्व साम्राज्यका समर्थकहरूले पनि तन्त्रमन्त्रमा भाग लिएका छन्‌। (प्रका. १८:२१-२४) यी झूटा धर्महरू प्राचीन बेबिलोनको धर्मजस्तै छन्‌ किनभने झूटा शिक्षा तथा गलत प्रचलनहरूको सुरुवात त्यहींबाट भएको थियो। तन्त्रमन्त्र, मूर्तिपूजा र अन्य पापले भरिभराउ महान्‌ बेबिलोन अहिले पनि अस्तित्वमा छ तर त्यो चाँडै नाश हुनेछ।प्रकाश १८:१-५ पढ्नुहोस्।

११. हाम्रा प्रकाशनहरूमा तन्त्रमन्त्रबारे कस्तो चेतावनी दिइएको छ?

११ यहोवाले यस्तो भन्नुभयो: “तिमीहरूले मन्त्र-तन्त्र र बोक्सी-विद्या नचलाउनू।” (लेवी १९:२६) उन्नाइसौं शताब्दीमा तन्त्रमन्त्रले अड्डा जमाएको थियो। त्यसैले मे, १८८५ को सियोनको प्रहरीधरहरा-मा (अङ्ग्रेजी) तन्त्रमन्त्रबारे यसो भनियो: “मृतकहरू अर्को संसारमा जीवित छन्‌ भन्ने विश्वास नौलो होइन। यो प्राचीन समयको धार्मिक विश्वास थियो अनि सबै पौराणिक कथा यसै विश्वासमा आधारित थिए।” त्यस लेखले बताएअनुसार ती दुष्ट स्वर्गदूतहरूले मरेको मानिसको ढोङ गरेर जीवित मानिसहरूसित कुराकानी गर्ने प्रयास गर्छन्‌। यसरी दुष्ट स्वर्गदूतहरू धेरै मानिसको सोचाइ तथा व्यवहारलाई प्रभाव पार्न सफल भएका छन्‌। तन्त्रमन्त्रबारे बाइबल के भन्छ? (अङ्ग्रेजी) भन्ने पुरानो पुस्तिकामा अनि हालैका प्रकाशनहरूमा यस्तै चेतावनीमूलक जानकारी पाइन्छ।

मृतकहरूले अर्को संसारमा सास्ती भोगिरहेका छन्‌?

१२. मृतकहरूको अवस्थाबारे सुलेमानले के भने?

१२ “जसले सत्यलाई चिनेका छन्‌,” तिनीहरू सबैले यस प्रश्नको जवाफ दिन सक्छन्‌। (२ यूह. १) सुलेमानको यो भनाइसित हामी सबै सहमत छौं: “जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो। यो कुरो साँचो हो, कि जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझशक्ति, न बुद्धिनै हुन्छ।”—उप. ९:४, ५, १०.

१३. ग्रीक धर्म र संस्कृतिले यहूदीहरूलाई कस्तो प्रभाव पाऱ्यो?

१३ यहूदीहरूलाई मृतकहरूको अवस्थाबारे थाह थियो। तर महान्‌ सिकन्दरका चार सेनापतिले यहूदा र सिरियामाथि अधिकार जमाउँदा तिनीहरूले मानिसहरूलाई ग्रीक धर्म र संस्कृति स्वीकार्न लगाउने प्रयास गरे। परिणामस्वरूप ती यहूदीहरूले मानिसको शरीर मरे पनि आत्मा मर्दैन र त्यसले अर्को संसारमा सास्ती भोगिरहन्छ भन्ने झूटो शिक्षा स्वीकारे। आत्माले अर्को संसारमा सास्ती भोग्छ  भन्ने शिक्षा ग्रीकहरूले सुरु गरेको शिक्षा थिएन। किनभने धर्मसम्बन्धी एउटा पुस्तकअनुसार * बेबिलोनीहरू “बलिया ईश्वर तथा भूतप्रेतहरूले पातालमा मानिसहरूलाई सास्ती दिन्छन्‌” भनेर विश्वास गर्थे। कुरा स्पष्ट छ, बेबिलोनीहरू आत्मा अमर छ भनेर विश्वास गर्थे।

१४. मृत्यु र पुनर्जीवनबारे अय्यूब र अब्राहामलाई कुन कुरा थाह थियो?

१४ अय्यूबसित बाइबल नभए तापनि तिनलाई मृतकहरूको अवस्थाबारे सही कुरा थाह थियो। आफ्नो मृत्यु भएमा मायालु परमेश्वर यहोवाले पुनर्जीवित पार्ने इच्छा गर्नुहुन्छ भनेर पनि तिनले बुझेका थिए। (अय्यू. १४:१३-१५) अब्राहाम पनि पुनर्जीवनमा विश्वास गर्थे। (हिब्रू ११:१७-१९ पढ्नुहोस्) यदि आत्मा अमर हुने हो भने पुनर्जीवनको आवश्यकतै हुने थिएन। त्यसैले प्राचीन समयका परमेश्वरका सेवकहरूले आत्मा अमर हुन्छ भन्ने कुरामा विश्वास गरेनन्‌। मृतकहरू कुन अवस्थामा छन्‌ भनेर बुझ्न र पुनर्जीवनमा विश्वास गर्न अय्यूब र अब्राहामलाई परमेश्वरको पवित्र शक्तिले मदत गऱ्यो। मृत्यु र पुनर्जीवनबारे यी सत्य पनि हाम्रो सम्पदाका भाग हुन्‌।

“फिरौतीद्वारा मुक्त” हुनु अत्यावश्यक

१५, १६. पाप र मृत्युबाट हामीले कसरी छुटकारा पायौं?

१५ आदमबाट पाएको पाप र मृत्युबाट परमेश्वरले हामीलाई कसरी छुटकारा दिनुभएको छ, त्यसबारे सत्य प्रकट गर्नुभएकोमा हामी उहाँप्रति कृतज्ञ छौं। (रोमी ५:१२) हामीलाई थाह छ, येशू “सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” आउनुभयो। (मर्कू. १०:४५) “ख्रीष्ट येशूले तिर्नुभएको फिरौतीद्वारा मुक्त” भएका छौं भनेर थाह पाउनु कत्ति खुसीको कुरा!—रोमी ३:२२-२४.

१६ प्रथम शताब्दीका यहूदी तथा अन्यजातिहरूले पापको निम्ति पश्‍चात्ताप गर्दै येशूको फिरौतीको बलिदानमा विश्वास गर्नुपर्थ्यो। अन्यथा तिनीहरूले क्षमा पाउने थिएनन्‌। आज पनि कुरा त्यही  हो। (यूह. ३:१६, ३६) कुनै व्यक्तिले त्रिएक र अमर आत्माजस्ता झूटा शिक्षामा विश्वास गर्छ भने फिरौतीको बलिदानबाट लाभ उठाउन सक्दैन। तर हामी भने सक्छौं किनभने परमेश्वरको छोराले “तिर्नुभएको फिरौतीद्वारा हामी मुक्त भयौं अर्थात्‌ हामीले आफ्ना पापहरूको क्षमा पायौं” भनेर हामीलाई थाह छ।—कल. १:१३, १४.

यहोवाको नामको लागि छानिएको व्यक्तिको रूपमा अघि बढ्नुहोस्!

१७, १८. हाम्रो इतिहासबारे उपयोगी जानकारी कहाँ पाउन सक्छौं? त्यसबारे सिक्नु किन लाभदायी छ?

१७ हामीले विश्वास गरेको साँचो शिक्षा, परमेश्वरको सेवकको रूपमा हामीले बटुलेको अनुभव र हामीले पाएको आध्यात्मिक तथा भौतिक आशिष्‌बारे बयान गरेर साध्य छैन। वार्षिक पुस्तक-मा (अङ्ग्रेजी) संसारका विभिन्न ठाउँका भाइबहिनीको आध्यात्मिक गतिविधिबारे रोमाञ्चक विवरण पाउँछौं। क्रियाशील विश्वास (अङ्ग्रेजी) भन्ने भिडियोको भाग १ र २ बाट अनि यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू-जस्ता (अङ्ग्रेजी) प्रकाशनहरूबाट हाम्रो इतिहासबारे सिक्न सक्छौं। अनि हाम्रा पत्रिकाहरूमा प्यारा भाइबहिनीको अनुभव पनि छापिने गर्छ।

१८ इस्राएलीहरूले परमेश्वरबाट पाएको मदतबारे मनन गरेर लाभ उठाएझैं यहोवाका साक्षीहरूको इतिहासबारे मनन गरेर हामी पनि लाभ उठाउन सक्छौं। (प्रस्थ. १२:२६, २७) परमेश्वरका अद्भुत कार्यहरू देखेका मोशाले वृद्धावस्थामा इस्राएलीहरूलाई यस्तो आग्रह गरे: “उहिले-उहिलेका दिनको स्मरण गर्, युग-युगअघिका पुस्ताका बारेमा सोच्, तेरा बाबुलाई सोध्, उनले तँलाई बताउनेछन्‌। बूढा-पाकाहरूलाई सोध् र तिनीहरूले तँलाई भन्नेछन्‌।” (व्यव. ३२:७) ‘यहोवाको प्रजा र उहाँको खर्कका भेडा’ भएकोले हामी सबै जना रमाउँदै उहाँको प्रशंसा गर्छौं र उहाँका शक्तिशाली कामहरूबारे अरूलाई बताउँछौं। (भज. ७९:१३) हाम्रो इतिहासबाट सिकेको पाठले हामीलाई यहोवाको सेवा गरिरहन मदत गर्नेछ।

१९. आध्यात्मिक ज्योति पाएकोले हामीले के गर्नुपर्छ?

१९ हामी अन्धकारमा भौंतारिएका छैनौं, हामीले आध्यात्मिक ज्योति पाएका छौं। यसको लागि हामी कृतज्ञ छौं। (हितो. ४:१८, १९) त्यसैले लगनशील भई परमेश्वरको वचन अध्ययन गरौं र जोसका साथ प्रचार गरौं। हामी भजनरचयिताले जस्तै अनुभव गर्छौं, जसले यसो भने: “परमप्रभु परमेश्वरको शक्तिशाली कार्य लिएर म आउनेछु। म तपाईंको मात्र धार्मिकताको प्रशंसा गर्नेछु। हे परमेश्वर, बाल्यकालदेखिनै तपाईंले मलाई शिक्षा दिनुभएको छ, र अहिलेसम्म पनि तपाईंको उदेकको कार्यहरू मैले घोषणा गरेको छु। हे परमेश्वर, म बूढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्। जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईंको सामर्थ्य र शक्तिको घोषणा गरिसक्तिनँ।”—भज. ७१:१६-१८.

२०. तपाईंलाई कस्ता विवादहरू थाह छ र ती विवाद थाह भएकोले तपाईं के गर्न उत्प्रेरित हुनुहुन्छ?

२० यहोवाप्रति समर्पित सेवकहरू भएकोले हामीलाई सार्वभौमिकतासम्बन्धी विवाद र सत्यनिष्ठासम्बन्धी विवाद थाह छ। यहोवाप्रति वफादार भएर उहाँ नै ब्रह्माण्डको सार्वभौम हुनुहुन्छ र उहाँ हाम्रो तनमनको भक्ति पाउन योग्य हुनुहुन्छ भनी प्रमाणित गर्छौं। (प्रका. ४:११) परमेश्वरको शक्ति पाएर हामी नम्रहरूलाई सुसमाचार सुनाउँछौं, मन भाँचिएकाहरूलाई निको पार्छौं र विलाप गर्नेहरूलाई सान्त्वना दिन्छौं। (यशै. ६१:१, २) परमेश्वरका सेवकहरू र सबै मानिसजातिमाथि प्रभुत्व जमाउन सैतानले जति नै प्रयास गरे तापनि हामी आफ्नो आध्यात्मिक सम्पदाको गहिरो मोल गर्छौं। साथै परमेश्वरप्रतिको सत्यनिष्ठा कायमै राख्ने अनि अहिले र सधैंभरि सार्वभौम प्रभु यहोवाको सेवा गर्ने सङ्कल्प गर्छौं।भजन २६:११ *; ८६:१२ पढ्नुहोस्।

^ अनु. 5 New Larousse Encyclopedia of Mythology

^ अनु. 8 The International Standard Bible Encyclopaedia

^ अनु. 13 The Religion of Babylonia and Assyria

^ अनु. 20 भजन २६:११ (NW): “मचाहिं आफ्नो सत्यनिष्ठामा हिंड्नेछु।”