सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हृदयको आशय जाँच्नुहोस्

हृदयको आशय जाँच्नुहोस्

बाइबल यसो भन्छ: “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” (यर्मि. १७:९) हृदयले कुनै कुराको औधी चाह गर्दा के हामी त्यो पाउन अनेकौं बहाना बनाउँदैनौं र?

बाइबल यस्तो चेतावनी दिन्छ: “दुष्ट विचार, हत्या, हर किसिमका यौन दुराचार, चोरी, झूटा साक्षी अनि ईश्वरनिन्दा मनबाटै निस्कन्छ।” (मत्ती १५:१९) हृदयले हामीलाई धोका दिएर परमेश्वरको इच्छा विपरीतको काम गर्न लगाउन सक्छ। अनि मूर्खतापूर्ण काम गरिसकेपछि मात्र होस खुल्न सक्छ। गलत कदम चाल्नुअघि नै हृदयको आशय थाह पाउन हामीलाई केले मदत गर्न सक्छ?

हृदयको आशय थाह पाउने तरिका

दैनिक बाइबल पढाइले हाम्रो हृदयलाई कस्तो असर गर्छ?

दिनहुँ बाइबल पढ्नुहोस् र मनन गर्नुहोस्।

प्रेषित पावलले यस्तो लेखे: “परमेश्वरको वचन जीवित र प्रबल अनि कुनै दुई-धारे तरबारभन्दा धारिलो छ। यसले मानिसको बाहिरी स्वरूप र भित्री मनुष्यत्वलाई अलग पार्छ।” बाइबलमा पाइने परमेश्वरको सन्देशले “मनको विचार र आशय जाँच्न सक्छ।” (हिब्रू ४:१२) बाइबलबाट सिकेका कुराहरूको आधारमा आफूलाई जाँच्यौं भने हृदयको आशय थाह पाउनेछौं। दिनहुँ बाइबल पढ्नु अनि मनन गर्नु असाध्यै महत्त्वपूर्ण छ। यसले हामीलाई यहोवाको जस्तै दृष्टिकोण राख्न मदत गर्नेछ।

बाइबल निर्देशनअनुसार चल्दा अनि यसका सिद्धान्तहरू लागू गर्दा अन्तस्करण अर्थात्‌ ‘साक्षी दिने’ हाम्रो भित्री आवाजले प्रशिक्षण पाउँछ। (रोमी ९:१) अन्तस्करणको आवाजले गलत मार्गलाई सही ठान्नदेखि जोगाउँछ।  साथै बाइबलमा हामी थुप्रै उदाहरण पाउँछौं, जुन हाम्रो “चेतावनीको निम्ति” लेखिएका हुन्‌। (१ कोरि. १०:११) ती उदाहरणहरूबाट पाठ सिक्दा गलत कदम चाल्नदेखि जोगिन सक्छौं। त्यसोभए हामी प्रत्येकले के गर्नुपर्छ?

प्रार्थनाले हृदयको कुरा बुझ्न मदत गर्छ

हृदयको आशय थाह पाउन प्रार्थना गर्नुहोस्।

यहोवा “हृदयको जाँच गर्नुहुन्छ।” (१ इति. २९:१७) उहाँ “हाम्रो मनभन्दा महान्‌ हुनुहुन्छ र उहाँलाई सबै कुरा थाह छ।” (१ यूह. ३:२०) यहोवालाई छल्न असम्भव छ। हामीले आफ्नो चिन्ता, भावना तथा इच्छा खुलस्त रूपमा बतायौं भने यहोवा हामीलाई हृदयको आशय थाह पाउन मदत गर्नुहुन्छ। “ममा शुद्ध हृदय सृजनुहोस्” भनेर हामी परमेश्वरलाई बिन्ती गर्न सक्छौं। (भज. ५१:१०) हृदयको आशय थाह पाउन प्रार्थनाको महत्त्वलाई बेवास्ता गर्नु हुँदैन।

सभाहरूले हृदयको आशय थाह पाउन मदत गर्छ

सभाहरूमा ध्यान दिएर सुन्नुहोस्।

सभाहरूमा प्रस्तुत गरिने कुरा ध्यान दिएर सुन्यौं भने इमानदार भई आफ्नो भित्री मनुष्यत्व अर्थात्‌ हृदय जाँच्न मदत पाउँछौं। हुन त प्रत्येक सभामा नयाँ जानकारी पाउँदैनौं होला तर सभामा उपस्थित हुँदा बाइबल सिद्धान्तहरू अझ राम्ररी बुझ्नुका साथै हृदयको आशय जाँच्न मदत दिने बहुमूल्य सम्झौटाहरू पाउनेछौं। भाइबहिनीको टिप्पणीले पनि हामीलाई धेरै मदत गर्छ। (हितो. २७:१७) नियमित रूपमा मण्डलीका सभाहरूमा जानुको साटो भाइबहिनीबाट अलग्गिएर बस्नु खतरनाक हुनेछ। यसो गर्दा हामी आफ्नै ‘स्वार्थको पछि लाग्न’ सक्छौं। (हितो. १८:१, NRV) त्यसकारण आफैलाई यस्तो प्रश्न गर्नु बुद्धिमानी हुनेछ: ‘के म सबै सभामा उपस्थित हुन्छु र ध्यान दिएर सुन्छु?’—हिब्रू १०:२४, २५.

हृदयले कसरी झुक्याउन सक्छ?

छली हृदयले हामीलाई विभिन्न तरिकामा झुक्याउन सक्छ। तीमध्ये चार तरिका विचार गरौं: भौतिक धनसम्पत्तिको चाह, रक्सीको प्रयोग, सङ्गत र मनोरञ्जन।

भौतिक धनसम्पत्तिको चाह।

गाँस, बास र कपास हाम्रो आधारभूत आवश्यकता हुन्‌ र यी कुराको चाह गर्नु गलत होइन। तर येशूले भौतिक कुरालाई बढी नै महत्त्व दिनुचाहिं गलत हो भनेर चेतावनी दिनुभयो। येशूले एक जना धनी मानिसको दृष्टान्त बताउनुभयो। त्यस मानिसको धनसारमा प्रशस्त अन्न थियो। त्यसैले ऊसित अर्को पटकको उब्जनी राख्ने ठाउँ थिएन। उसले धनसार भत्काएर अझ ठूलो बनाउने विचार गऱ्यो। उसले मनमनै यसो भन्न थाल्यो: “मेरा सबै अनाज र सरसम्पत्ति त्यहीं राख्छु। अनि आफूलाई भन्नेछु: ‘तँसित वर्षौंलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्।’” तर त्यस धनी मानिसले यो वास्तविकता बिर्सिरहेको थियो:- त्यही रात उसको ज्यान गयो भने ऊसित भएको सबै कुरा व्यर्थ हुने थियो।—लूका १२:१६-२०.

बुढेसकालले छुँदै जाँदा पैसाको जोहो गर्ने कुरामा असाध्यै चिन्ता लाग्न सक्छ, जसले गर्दा सभाको दिनमा ओभरटाइम गर्न वा ख्रीष्टियन जिम्मेवारीहरूलाई बेवास्ता गर्न बहाना बनाउन सक्छौं। के हामी त्यस्तो बहाना बनाउनदेखि  जोगिनुपर्दैन र? अथवा अहिले हामी जवान छौं होला अनि पूर्ण-समय सेवामा लाग्नु नै जीवनको सर्वोत्तम मार्ग हो भनेर थाह छ होला। तर पहिला टन्न पैसा कमाउनुपर्छ भन्दै अग्रगामी सेवालाई पन्छयाउने गर्छौं कि? परमेश्वरको नजरमा धनी हुन सक्दो गर्ने समय अहिल्यै होइन र? भोलि के हुन्छ, कसलाई के थाह?

रक्सीको प्रयोग।

हितोपदेश २३:२० यसो भन्छ: ‘मतवालाको सङ्गत नगर्।’ कसैलाई रक्सी पिउन असाध्यै मन पर्छ भने उसले पिउन अनेक बहाना खोजिरहन्छ। उसले यस्तो तर्क गर्न सक्छ: ‘मात्तिनलाई खाएको हो र, रमाइलोको लागि पो खाएको त!’ रमाइलो गर्न तपाईंलाई रक्सी नै चाहिन्छ भने इमानदार भएर हृदयको आशय जाँच्नुहोस्।

सङ्गत।

स्कूलमा, काम गर्ने ठाउँमा अनि प्रचारमा यहोवाको सेवा नगर्ने मानिसहरूलाई नभेटी सुखै छैन। तर ती मानिसहरूसित बढी नै समय बिताउनु वा तिनीहरूलाई घनिष्ठ साथी बनाउनु गलत हो। आफूले सङ्गत गरिरहेको व्यक्ति असल छ भन्दै के हामी तिनीसित सङ्गत गर्न बहाना बनाउँछौं? बाइबल यस्तो चेतावनी दिन्छ: “नबहकिओ। नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ।” (१ कोरि. १५:३३) सफा पानीमा थोरै मात्र फोहोर पानी मिसिएमा त्यसले पूरै पानी फोहोर बनाइदिन्छ। त्यसरी नै परमेश्वरको सेवा नगर्नेहरूलाई साथी बनाउँदा यहोवासितको हाम्रो सम्बन्ध बिग्रन्छ। अनि हाम्रो सोचाइ, पहिरन, बोलीचाली र व्यवहार संसारका मानिसहरूको जस्तै हुन सक्छ।

मनोरञ्जन।

आधुनिक प्रविधिले हरेक किसिमको मनोरञ्जन सम्भव बनाएको छ। तर तीमध्ये धेरैजसो मनोरञ्जन ख्रीष्टियनको लागि उपयुक्त छैनन्‌। पावलले यस्तो लेखे: ‘तिमीहरूमाझ हरकिसिमका अशुद्धपनको नामसमेत नलिइओस्।’ (एफि. ५:३) अशुद्ध कुरा हेर्न वा सुन्न मन लाग्दा हामी यस्तो तर्क गरौंला: ‘अलि-अलि रमाइलो त गर्नै पऱ्यो नि अनि कस्तो मनोरञ्जन गर्ने भन्ने कुरा त निजी कुरा हो।’ तर पावलको सल्लाह मनमा राखौं अनि अशुद्ध कुरा हेर्ने वा सुन्ने नगरौं।

परिवर्तन सम्भव छ

हामी छली हृदयको सिकार भएका छौं र हामीमा गलत कामलाई सही ठान्ने झुकाव छ भने पनि हामी आफूमा परिवर्तन ल्याउन सक्छौं। (एफि. ४:२२-२४) आधुनिक समयका दुइटा उदाहरण विचार गरौं।

माइकलले * भौतिक सर-साधनबारे आफ्नो सोचाइ छाँटकाँट गर्नुपऱ्यो। तिनी यसो भन्छन्‌: “म, मेरी श्रीमती र छोरा अत्याधुनिक सर-साधन अनि सुखसुविधालाई बढी नै महत्त्व दिइने देशमा बस्छौं। भौतिकवादी नभईकनै सुखसुविधाका साधनहरू हासिल गर्न सकिन्छ भन्ने सोचेर एक समय ती कुराहरूकै पछि लागें। तर भौतिक कुराहरूको पछि लाग्नु भनेको कहिल्यै नटुङ्गिने बाटोमा हिंड्नुजस्तै रहेछ। मैले प्रार्थनामा यहोवालाई आफ्नो मनको कुरा बताएँ। सम्पूर्ण परिवार मिलेर तनमनले सेवा गर्न चाहेको कुरा पनि बताएँ। हामीले जीवन सरल बनाउने अनि आवश्यकता बढी भएको ठाउँमा बसाइँ सर्ने निर्णय गऱ्यौं। केही समयमै अग्रगामी सेवा सुरु गऱ्यौं। आनन्दित हुन सम्पन्न हुनुपर्छ भन्ने छैन भनेर बुझ्यौं।”

इमानदार भई आत्मपरीक्षण गर्दा खराब सङ्गतबाट अलग रहन सकेका विक्रमको उदाहरण विचार गर्नुहोस्। विक्रम यसो भन्छन्‌: “कामको सिलसिलामा विभिन्न देशका व्यापारीहरूलाई भेटिरहन्थें। त्यस्तो भेटघाटमा बेसरी रक्सी खाइन्छ भनेर थाह हुँदाहुँदै पनि मलाई त्यहाँ जान रमाइलो लाग्थ्यो। थुप्रै पटक त मैले मात्तिने गरी खाएँ तर पछि पछुतो लाग्थ्यो। मैले आफैलाई जाँच्नुपर्ने महसुस गरें। बाइबलको सल्लाह अनि एल्डरहरूको सुझावले मैले परमेश्वरलाई माया नगर्ने मानिसहरूसित सङ्गत गर्न खोजिरहेको रहेछु भनेर बुझ्न मदत गऱ्यो। अहिले म सकेसम्म फोनबाटै कारोबार गर्छु। अनि व्यापारीहरूलाई सकेसम्म कम भेट्छु।”

हामीले इमानदार हुँदै हृदयको आशय जाँच्नु आवश्यक छ। यसको लागि ‘हृदयका गुप्त कुरा जान्नुहुने’ यहोवालाई प्रार्थना गरेर मदत माग्नुपर्छ। (भज. ४४:२१) यहोवाले हामीलाई बाइबल पनि दिनुभएको छ, जुन ऐनाजस्तै हो। (याकू. १:२२-२५) ख्रीष्टियन प्रकाशनहरू अनि सभाहरूमार्फत प्राप्त हुने सम्झौटा तथा निर्देशन पनि बहुमूल्य छन्‌। यस्ता कुराले हामीलाई आफ्नो हृदय सुरक्षित राख्न अनि परमेश्वरलाई मन पर्ने काम गरिरहन मदत गर्छ।

^ अनु. 18 नामहरू परिवर्तन गरिएका छन्‌।