सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एल्डरहरू हो, के तपाईं “थकित” भाइबहिनीलाई स्फूर्ति दिनुहुन्छ?

एल्डरहरू हो, के तपाईं “थकित” भाइबहिनीलाई स्फूर्ति दिनुहुन्छ?

अनिता * तीस वर्ष नाघेकी एक्ली बहिनी हुन्‌। एल्डरहरू तिनलाई भेट्न आउँदै छन्‌। तिनलाई अलि डर लागिरहेको छ। ती एल्डरहरूले तिनलाई के पो भन्ने हुन्‌? तिनले केही सभा छुटाएकी छिन्‌। तर दिनभर वृद्धहरूको स्याहारसुसार गरेर घर फर्कंदा तिनी थकित हुन्छिन्‌। दिनदिनैको काम त छँदै छ, आमाको स्वास्थ्यले गर्दा पनि तिनी चिन्तित छिन्‌।

मानौं, तपाईं अनितालाई भेट्न जाँदै हुनुहुन्छ। तपाईं ती “थकित” बहिनीलाई कसरी प्रोत्साहन दिनुहुन्छ? (यर्मि. ३१:२५) गोठालो भेटलाई स्फूर्तिदायी बनाउन तपाईं के-कस्तो तयारी गर्न सक्नुहुन्छ?

भाइबहिनीको परिस्थितिबारे सोच्नुहोस्

कामले गर्दा वा ईश्वरतान्त्रिक जिम्मेवारीले गर्दा कहिलेकाहीं हामी सबै थकित हुन्छौं। जस्तै: आफूले देखेको दर्शनको अर्थ बुझ्न नसक्दा भविष्यवक्ता दानियलको “बल हरायो।” (दानि. ८:२७) अर्को समयमा उनले गब्रिएल स्वर्गदूतबाट मदत पाए। परमेश्वरका ती सन्देशवाहकले दानियलको समझ खोलिदिए, यहोवाले उनको प्रार्थना सुनेको कुरामा विश्वस्त तुल्याए र उनी अझै पनि यहोवाको नजरमा “अति प्रिय” भएको कुरा बताए। (दानि. ९:२१-२३) अर्को स्वर्गदूतले विचार पुऱ्याएर बोलेका शब्दहरूले पछि पनि थकित दानियललाई सान्त्वना दियो।—दानि. १०:१९.

गोठालो भेट गर्नुअघि सँगी भाइबहिनीको परिस्थितिबारे सोच्नुहोस्

त्यसैगरि थकित वा निराश भएका सँगी विश्वासीलाई भेट्न जानुअघि समय लगाएर उनको परिस्थितिबारे सोच्नुहोस्। जस्तै: उनले कस्तो समस्या झेलिरहेका छन्‌? ती समस्याले उनलाई कसरी कमजोर बनाएको छ? उनमा के-कस्ता असल  गुण छन्‌? बीस वर्षभन्दा लामो समयदेखि एल्डरको रूपमा सेवा गरिरहेका रिचर्ड यसो भन्छन्‌: “म भाइबहिनीको राम्रो पक्षमा ध्यान दिने कोसिस गर्छु। भेट्न जानुअघि ती भाइबहिनीको परिस्थितिबारे राम्ररी विचार गर्दा तिनीहरूलाई चाहिएकै प्रोत्साहन दिन सजिलो हुन्छ।” गोठालो भेटमा अर्का एल्डर पनि तपाईंसँगै जाँदै छन्‌ भने ती भाइ वा बहिनीको परिस्थितिबारे सँगै बसेर विचार गरे कसो होला?

भाइबहिनीलाई सजिलो महसुस गराउनुहोस्

एल्डरहरूसामु आफ्नो भावना पोखाउन भाइबहिनीलाई अप्ठेरो लाग्छ भन्ने कुरामा तपाईं सहमत हुनुहुन्छ होला। एउटा उदाहरण विचार गर्नुहोस्: तपाईं भेट्न जानुभएको भाइलाई तपाईंसित खुलस्त कुरा गर्न गाह्रो लाग्न सक्छ। त्यसोभए तपाईं उनलाई कसरी सजिलो महसुस गराउन सक्नुहुन्छ? तपाईंको मीठो मुस्कान अनि सान्त्वनाका केही शब्दले राम्रो प्रभाव पार्न सक्छ। चालीस वर्षभन्दा पहिलेदेखि एल्डरको रूपमा सेवा गरिरहेका माइकल गोठालो भेटमा यसरी कुराकानी थाल्छन्‌: “एल्डरहरूले पाएको एउटा ठूलो सुअवसर भनेको भाइबहिनीलाई घरैमा गएर भेट्न पाउनु अनि उनीहरूलाई अझ राम्ररी चिन्न पाउनु हो। त्यसैले तपाईंलाई भेट्ने दिनको प्रतीक्षा गर्दै थिएँ।”

भेटघाटको सुरुमै सँगै मिलेर प्रार्थना गर्न सक्नुहुन्छ। प्रार्थनामा प्रेषित पावलले जस्तै ती भाइ वा बहिनीको विश्वास, प्रेम वा सहनशीलताजस्ता राम्रा गुणहरूबारे उल्लेख गर्न सक्नुहुन्छ। (१ थिस्स. १:२, ३) यसरी प्रार्थना गर्दा तपाईंले फलदायी कुराकानीको लागि आफ्नो अनि उक्त भाइ वा बहिनीको मन तयार पारिरहनुभएको हुनेछ। प्रार्थनाले उक्त भाइ वा बहिनीलाई ठूलो सान्त्वना पनि दिन सक्छ। रे नामका एक अनुभवी एल्डर भन्छन्‌: “यहोवाको सेवामा आफूले गरिरहेको राम्रो काम कहिलेकाहीं हामी बिर्सन्छौं। त्यही कुरा कसैले सम्झाउँदा स्फूर्ति पाउँछौं।”

परमेश्वरको तर्फबाट केही वरदान दिनुहोस्

पावलले जस्तै तपाईंले पनि “परमेश्वरको तर्फबाट केही वरदान दिन” सक्नुहुन्छ। (रोमी १:११) बाइबलको  एउटा मात्र पद प्रयोग गरेर पनि तपाईं यसो गर्न सक्नुहुन्छ। जस्तै: निराश भएका भाइलाई आफू कुनै मोलको छैन जस्तो लाग्न सक्छ। उनको भावना पनि भजनरचयिताको जस्तै हुन सक्छ, जसले आफूलाई “धुवाँमा रहेको छालाको भाँडा”-सित तुलना गरे। (भज. ११९:८३, १७६) भजनरचयिताका यी शब्दहरू पढेपछि छोटकरीमा व्याख्या गर्न सक्नुहुन्छ। त्यसपछि ती भाइले यहोवाका आज्ञाहरू ‘बिर्सेका छैनन्‌’ भन्ने कुरामा आफू विश्वस्त भएको कुरा बताउन सक्नुहुन्छ।

त्यसैगरि निष्क्रिय भएकी वा यहोवाको सेवामा सेलाएकी बहिनीलाई प्रोत्साहन दिन हराएको सिक्काको दृष्टान्त कसरी प्रयोग गर्न सक्नुहुन्छ? (लूका १५:८-१०) त्यो हराएको सिक्का चाँदीका सिक्काहरू गाँसेर बनाइएको बहुमूल्य हारको हुन सक्छ। उक्त बहिनी ख्रीष्टियन मण्डलीको बहुमूल्य सदस्य हुन्‌ भनेर सम्झन त्यो दृष्टान्तद्वारा तिनलाई मदत गर्न सक्नुहुन्छ। त्यसपछि आफ्नो सानो भेडाको रूपमा यहोवा ती बहिनीको कत्ति धेरै ख्याल गर्नुहुन्छ भनेर बुझ्न तिनलाई मदत गर्न सक्नुहुन्छ।

प्रायजसो भाइबहिनी बाइबलमा आफूले पढेको कुराबारे छलफल गर्न मन पराउँछन्‌। त्यसैले आफू मात्र बोलेको बोल्यै नगर्नुहोस्! उनीहरूको अवस्थासित मिल्ने पद पढेपछि तपाईं त्यसबाट मुख्य शब्द वा वाक्यांश झिक्न सक्नुहुन्छ र त्यसबारे केही बताउन आग्रह गर्न सक्नुहुन्छ। उदाहरणको लागि, २ कोरिन्थी ४:१६ पढेपछि एल्डरले यस्तो प्रश्न सोध्न सक्छन्‌: “यहोवाले तपाईंको भित्री मनुष्यत्वलाई ‘नयाँ’ बनाउनुभएको कुनै अनुभव छ?” यस्तो प्रश्नले “एकअर्कालाई प्रोत्साहन” मिल्ने तरिकामा कुराकानी अघि बढाउन मदत गर्नेछ।—रोमी १:१२.

प्रायजसो भाइबहिनी बाइबलमा आफूले पढेको कुराबारे छलफल गर्न मन पराउँछन्‌

हामीले भेट्न गएका भाइ वा बहिनीको परिस्थितिसित मेल खाने कुनै बाइबल पात्रबारे छलफल गरेर पनि उनलाई स्फूर्ति दिन सक्छौं। निराश भएका ख्रीष्टियनले हन्ना वा इपाफ्रोडाइटसले जस्तै महसुस गरेका हुन सक्छन्‌। तिनीहरू कुनै समय निराश भए तापनि यहोवाको नजरमा बहुमूल्य थिए। (१ शमू. १:९-११, २०; फिलि. २:२५-३०) तपाईंले प्रयोग गर्न सक्ने अरू पनि थुप्रै बाइबल उदाहरण छन्‌।

चासो देखाउन नछोड्नुहोस्

गोठालो भेटपछि पनि भाइबहिनीलाई चासो देखाइरहनुहोस्। (प्रेषि. १५:३६) भेटघाटको अन्तमा, ती भाइ वा बहिनीसित कुनै दिन क्षेत्र सेवामा सँगै जाने प्रबन्ध मिलाउन सक्नुहुन्छ। बर्नार्ड नाम गरेका एक अनुभवी एल्डर हालै गोठालो भेट गरेको भाइ वा बहिनीलाई भेट्दा कुशलतासाथ यसरी सोध्छन्‌: “मैले दिएको सल्लाहले काम गरिरहेको छ?” यसरी चासो देखाउँदा तिनलाई थप मदत चाहिएको छ कि भनेर थाह पाउन सक्नुहुन्छ।

भाइबहिनीले तपाईं उनीहरूको ख्याल राख्नुहुन्छ, उनीहरूलाई बुझ्नुहुन्छ र माया गर्नुहुन्छ भनेर महसुस गर्नु अहिले झनै आवश्यक छ। (१ थिस्स. ५:११) त्यसकारण गोठालो भेट गर्नुअघि समय लगाएर ती भाइ वा बहिनीको परिस्थितिबारे सोच्नुहोस्। यसलाई आफ्नो प्रार्थनामा राख्नुहोस्। उपयुक्त शास्त्रपदहरू छान्नुहोस्। यसो गर्दा “थकित” भाइबहिनीलाई सही शब्द प्रयोग गरेर स्फूर्ति दिन सक्नुहुनेछ।

^ अनु. 2 नामहरू परिवर्तन गरिएका छन्‌।