तपाईं पवित्र पारिनुभएको छ
“परमेश्वरले . . . तिमीहरूलाई धोएर सफा बनाउनुभएको छ, पवित्र पार्नुभएको छ।” —१ कोरि. ६:११.
१. यरूशलेम फर्कंदा नहेम्याहले के देखे? (शीर्षकसँगैको चित्र हेर्नुहोस्)
यरूशलेमका बासिन्दाहरू स्तब्ध छन्। किन? एक जना कुख्यात विरोधीलाई मन्दिरको एउटा कोठामा बस्न दिइएको छ। लेवीहरूले आफ्नो काम पूरा गरिरहेका छैनन्। उपासनामा नेतृत्व लिनुको सट्टा बूढा-प्रधानहरूले विश्राम-दिनमा व्यापार गरिरहेका छन्। थुप्रै इस्राएलीले गैर-यहूदीहरूसित विवाह गरिरहेका छन्। नहेम्याह यरूशलेम फर्कंदा तिनले देखेका केही समस्या यी हुन्।—नहे. १३:६.
२. इस्राएलीहरू कसरी पवित्र जाति भए?
२ इस्राएल परमेश्वरप्रति समर्पित राष्ट्र थियो। ईसापूर्व १५१३ मा इस्राएलीहरूले यहोवाको आज्ञा मान्ने प्रण गरे। तिनीहरूले भने: “परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी पालन गर्छौं।” (प्रस्थ. २४:३) त्यसैले परमेश्वरले तिनीहरूलाई पवित्र पार्नुभयो अर्थात् आफ्ना चुनिएको जातिको रूपमा छुट्टयाउनुभयो। कत्रो सुअवसर! चालीस वर्षपछि मोशाले तिनीहरूलाई यो कुरा सम्झाए: “परमप्रभु तिमीहरूका परमेश्वरका निम्ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरूमध्येबाट आफ्नो निम्ति एक विशेष जाति बनाउन भनी तिमीहरूलाई छान्नुभयो।”—व्यव. ७:६.
३. नहेम्याह दोस्रो पटक यरूशलेम आउँदा यहूदीहरूको आध्यात्मिक अवस्था कस्तो थियो?
३ दुःखको कुरा, पवित्र जाति हुने सन्दर्भमा इस्राएलीहरूले सुरुमा देखाएको जोस रहिरहेन। परमेश्वरको सेवा गर्ने मानिस नै नभएको त होइन तर प्रायजसो यहूदीहरू यहोवाको आज्ञा पालन गर्न तयार थिएनन्। तिनीहरूले पवित्र भएको स्वाङ मात्र पारिरहेका थिए। नहेम्याह दोस्रो पटक यरूशलेम आउँदा यहूदीहरू सहर पुनर्निर्माण गर्न बेबिलोनबाट फर्केको लगभग सय वर्ष भइसकेको थियो। यहोवाको उपासना फेरि गर्न सकियोस् भनेर तिनीहरूले सहर पुनर्निर्माण गर्न चाहेका थिए। तर नहेम्याह आउन्जेलसम्म तिनीहरूको जोस सेलाइसकेको थियो।
४. हामी कसरी पवित्र रहिरहन र यहोवासामु ग्रहणयोग्य भइरहन सक्छौं?
४ इस्राएलीहरूलाई जस्तै आज यहोवाका साक्षीहरूलाई पनि परमेश्वरले पवित्र पार्नुभएको छ। अभिषिक्त ख्रीष्टियनहरू र “ठूलो भीड” दुवै नै पवित्र छन् अर्थात् पवित्र सेवाको लागि छुट्टयाइएका छन्। (प्रका. ७:९, १४, १५; १ कोरि. ६:११) इस्राएलीहरू पवित्र भइरहेनन्। त्यसैले यहोवासितको सम्बन्ध गुमाए। हामी त्यस्तो चाहँदैनौं। उसोभए हामी कसरी पवित्र रहिरहन र यहोवासामु ग्रहणयोग्य भइरहन सक्छौं? यस लेखमा हामी नहेम्याह अध्याय १३ मा जोड दिइएका चारवटा तरिका विचार गर्नेछौं। ती हुन्: (१) खराब सङ्गतदेखि जोगिनुहोस्; (२) यहोवाको कामलाई समर्थन गर्नुहोस्; (३) यहोवाको सेवालाई पहिलो स्थानमा राख्नुहोस् र (४) आफ्नो ख्रीष्टियन चिनारीलाई जोगाउनुहोस्। आउनुहोस्, यी प्रत्येक तरिकाबारे छलफल गरौं।
खराब सङ्गतदेखि जोगिनुहोस्
५, ६. एल्याशीब र तोबियाह को थिए? एल्याशीबले तोबियाहलाई किन मन्दिरमा बस्न दिए?
५ नहेम्याह १३:४-९ पढ्नुहोस्। हामी अशुद्ध प्रभावहरूले घेरिएका छौं। त्यसैले पवित्र रहिरहन सजिलो छैन। एल्याशीब र तोबियाहलाई विचार गरौं। एल्याशीब प्रधान पुजारी थिए अनि अम्मोनी तोबियाह सायद फारसी राजाका सामान्य कर्मचारी। नहेम्याहले यरूशलेमको पर्खाल पुनर्निर्माण गर्न खोज्दा तोबियाह र तिनका साथीहरूले विरोध गरेका थिए। (नहे. २:१०) व्यवस्थाअनुसार अम्मोनीहरू मन्दिरमा पस्न मिल्दैनथ्यो। (व्यव. २३:३) तर प्रधान पुजारी एल्याशीबले तोबियाहलाई किन मन्दिरको भोजन कक्षमा बस्न दिए?
६ सायद तोबियाह एल्याशीबका साथी थिए। तोबियाह र तिनको छोरा यहोनानले यहूदी स्त्रीहरूसित विवाह गरेका थिए अनि थुप्रै यहूदी तोबियाहको प्रशंसा गर्थे। (नहे. ६:१७-१९) एल्याशीबका नातिले सामरियाका राज्यपाल सम्बलतकी छोरीसित विवाह गरेका थिए। सम्बलत तोबियाहका घनिष्ठ मित्र थिए। (नहे. १३:२८) यस्तो नजिकको सम्बन्धले गर्दा प्रधान पुजारी एल्याशीब परमेश्वरका जनहरूको कामलाई विरोध गर्ने गैर-इस्राएली तोबियाहको प्रभावमा परेको हुनुपर्छ। तर भोजन कक्षबाट तोबियाहको सबै सरसामान फ्याँकिदिएर नहेम्याहले यहोवाप्रति वफादार भएको प्रमाण दिए।
७. एल्डरलगायत परमेश्वरका बाँकी सेवकहरू आफूलाई अपवित्र पार्न सक्ने कुरादेखि कसरी जोगिन्छन्?
७ हामी परमेश्वरका समर्पित सेवकहरू हौं। त्यसैले हामी सधैं यहोवाप्रति वफादार हुनुपर्छ। पारिवारिक सम्बन्धले गर्दा कहिलेकाहीं बाइबल सिद्धान्तहरू बेवास्ता गर्ने प्रलोभनमा पर्न सक्छौं। तर बाइबल सिद्धान्तअनुसार चलेनौं भने यहोवाले हामीलाई अपवित्र ठान्नुहुनेछ। ख्रीष्टियन एल्डरहरू यहोवाको सोचाइअनुसार निर्णय गर्छन्, भावनामा बहेर अथवा आफ्नै सोचाइमा भर परेर होइन। (१ तिमो. ५:२१) यहोवासितको घनिष्ठ सम्बन्धलाई बिगार्न सक्ने कुनै पनि काम गर्नदेखि एल्डरहरू परै बस्छन्।—१ तिमो. २:८.
८. सरसङ्गतको सन्दर्भमा हामीले कुन कुरा बिर्सनुहुँदैन?
८ “नराम्रो सङ्गतले राम्रो आनीबानीलाई बिगार्छ” भनेर हामीले कहिल्यै बिर्सनुहुँदैन। (१ कोरि. १५:३३) हाम्रा केही आफन्तसमेत हाम्रो लागि नराम्रो सङ्गत हुन सक्छन्। उनीहरूले हामीलाई खराब काम गर्न दबाब दिन सक्छन्। नहेम्याहलाई यरूशलेमको पर्खालको पुनर्निर्माणमा समर्थन गरेर एल्याशीबले राम्रो उदाहरण बसालेका थिए। (नहे. ३:१) तर एल्याशीबको लागि तोबियाह र अरू व्यक्ति नराम्रो सङ्गत साबित भए। उनीहरूले तिनलाई गलत काम गर्न दबाब दिए जसले गर्दा तिनी अपवित्र भए। बाइबल पढ्न, ख्रीष्टियन सभाहरूमा उपस्थित हुन र क्षेत्र सेवामा भाग लिन प्रोत्साहन दिने असल साथीहरूसित हामीले सङ्गत गर्नुपर्छ। हामीलाई सही काम गर्न प्रोत्साहन दिने परिवारका सदस्यहरूप्रति हामी झनै कृतज्ञ हुन्छौं।
यहोवाको कामलाई समर्थन गर्नुहोस्
९. मन्दिरमा के भइरहेको थियो? यस्तो अवस्था सुधार्न नहेम्याहले के गरे?
९ नहेम्याह १३:१०-१३ पढ्नुहोस्। लेवीहरूले मन्दिरमा आफूलाई सुम्पिएको काम गरिरहेका थिएनन्। किन? मानिसहरूले मन्दिरमा थोरै रकम मात्र अनुदान दिइरहेका थिए। त्यसैले आफ्नो परिवारको भरणपोषण गर्न लेवीहरूले आफ्नो खेतमा गएर काम गर्नुपरिरहेको थियो। अनि दशांश सङ्कलन गर्ने जिम्मा पाएका अधिकारीहरूले दशांश सङ्कलन गरिरहेका थिएनन् वा गरेकै भए पनि मन्दिरमा पठाइरहेका थिएनन्। (नहे. १२:४४) त्यसकारण नहेम्याहले दशांश सङ्कलन गर्न आवश्यक कदम चाले। मन्दिरको भण्डारको हेरविचार गर्न र लेवीहरूलाई दशांश वितरण गर्न तिनले भरपर्दा मानिसहरू नियुक्त गरे।
१०, ११. हामी साँचो उपासनालाई कसरी समर्थन गर्न सक्छौं?
१० यसबाट हामी के सिक्न सक्छौं? यहोवाको कामलाई समर्थन गर्न हामीसित भएको धनसम्पत्ति प्रयोग गर्न पाउनु हाम्रो लागि ठूलो सम्मान हो। (हितो. ३:९) यसरी अनुदान दिंदा हामीले उहाँको कुरा उहाँलाई नै दिइरहेका हुन्छौं। (१ इति. २९:१४-१६) यहोवालाई दिन हामीसित खासै त्यस्तो केही छैनजस्तो लाग्न सक्छ। तर इच्छुक मनले दिएको अनुदानको यहोवा मोल गर्नुहुन्छ।—२ कोरि. ८:१२.
११ आठ जना छोराछोरी भएको एउटा ठूलो परिवारले पाको उमेरका एक विशेष अग्रगामी दम्पतीलाई हप्ताको एक पटक सँगै खाना खान बोलाउने गर्थे। त्यस परिवारको आमाचाहिं यसो भन्थिन्, “दस जनालाई पकाउनै पर्छ, अरू दुई जना थपेर के भो र?” हप्ताको एक छाक खुवाउनु ठूलो कुराजस्तो नदेखिए तापनि तिनीहरूले वर्षौंसम्म देखाएको अतिथि सत्कारको लागि त्यस अग्रगामी दम्पती असाध्यै कृतज्ञ थिए। अनि अग्रगामी दम्पती पनि त्यस परिवारलाई राम्रा-राम्रा अनुभवहरू सुनाउँथे र केटाकेटीहरूलाई आध्यात्मिक उन्नति गर्न प्रोत्साहन दिन्थे। पछि त्यस परिवारका आठै जना छोराछोरीले पूर्ण-समय सेवा अँगाले।
१२. नियुक्त पुरुषहरूले मण्डलीमा कस्तो उदाहरण बसालेका छन्?
१२ अर्को पाठ हो: नहेम्याहले जस्तै नियुक्त पुरुषहरूले यहोवाको कामलाई समर्थन गर्ने सन्दर्भमा नेतृत्व लिनुपर्छ। तिनीहरूको उदाहरणबाट मण्डलीका अरू भाइबहिनीले सिक्छन्। एल्डरहरू प्रेषित पावलको पनि अनुकरण गर्छन्। पावलले साँचो उपासनालाई समर्थन गरे अनि अनुदान दिने सन्दर्भमा थुप्रै व्यावहारिक सुझाव दिए।—१ कोरि. १६:१-३; २ कोरि. ९:५-७.
यहोवाको सेवालाई पहिलो स्थानमा राख्नुहोस्
१३. केही यहूदीले विश्राम-दिनमा के गरिरहेका थिए?
१३ नहेम्याह १३:१५-२१ पढ्नुहोस्। जतिखेर पनि भौतिक चिजबीजबारे सोच्छौं र ती प्राप्त गर्नमै घोटिन्छौं भने यहोवासितको हाम्रो सम्बन्ध बिग्रन थाल्छ। प्रस्थान ३१:१३ अनुसार हरेक हप्ता मनाइने विश्राम-दिनले इस्राएलीहरूलाई आफूहरू पवित्र जाति हौं भनेर सम्झना गराउँथ्यो। विश्राम-दिनलाई पारिवारिक उपासना, प्रार्थना र परमेश्वरको व्यवस्थामा मनन गर्न छुट्टयाउनुपर्थ्यो। तर नहेम्याहका समयका केही मानिसका लागि विश्राम-दिन पनि हप्ताका अरू दिनजस्तै व्यापार-व्यवसाय गर्ने दिन भएको थियो। परमेश्वरको उपासनालाई महत्त्व दिइएको थिएन। त्यसैले विश्राम-दिन सुरु हुनुअघि नै नहेम्याहले विदेशी व्यापारीहरूलाई सहरबाट धपाएर यरूशलेमका मूल-ढोकाहरू थुन्ने व्यवस्था मिलाए।
१४, १५. (क) पैसा कमाउनमै व्यस्त भयौं भने के हुन सक्छ? (ख) हामी कसरी परमेश्वरको विश्राममा प्रवेश गर्न सक्छौं?
१४ नहेम्याहको उदाहरणबाट हामी के सिक्न सक्छौं? एउटा पाठ हो, पैसा कमाउनमै अलमलिनुहुँदैन। काममै मग्न छौं भने हाम्रो ध्यान खलबलिन सक्छ। हामी दुई मालिकको दास बन्न सक्दैनौं भनेर येशूले भन्नुभएको कुरा सम्झनुहोस्। (मत्ती ६:२४ पढ्नुहोस्) नहेम्याहले प्रशस्त कमाउन सक्थे; सोरवासी र अरूसित व्यापार गर्न सक्थे। तर के तिनले त्यसो गरे? (नहे. ५:१४-१८) अहँ, गरेनन्। बरु आफ्ना भाइहरूलाई मदत गर्न र यहोवाको नाम पवित्र पार्न कडा परिश्रम गरे। आज पनि ख्रीष्टियन एल्डर तथा सहायक सेवकहरू मण्डलीलाई मदत गर्न आफ्नो समय र शक्ति खर्च गर्छन्। यसकारण मण्डलीका सदस्यहरू तिनीहरूलाई माया गर्छन्। परिणामस्वरूप परमेश्वरका सेवकहरूबीच शान्ति, सुरक्षा र प्रेम छ।—इज. ३४:२५, २८.
१५ हुन त ख्रीष्टियनहरूले प्रत्येक हप्ता विश्राम-दिन मान्नुपर्दैन। तैपनि पावल हामीलाई “परमेश्वरका जनहरूका लागि विश्राम-दिनको आराम बाँकी नै छ” भन्छन्। तिनी थप्छन्: “परमेश्वरको विश्राममा प्रवेश गरेको मानिसले आफ्ना कामहरूबाट विश्राम लिएको हुन्छ, जसरी परमेश्वरले पनि आफ्ना कामहरूबाट विश्राम लिनुभयो।” (हिब्रू ४:९, १०) यहोवाप्रति आज्ञाकारी भएर अनि उहाँको उद्देश्य अनुरूप चलेर हामी उहाँको विश्राममा प्रवेश गर्न सक्छौं। के तपाईं र तपाईंको परिवारले पारिवारिक उपासना, सभा अनि क्षेत्र सेवालाई पहिलो स्थानमा राखिरहनुभएको छ? काम गर्ने ठाउँका हाम्रा हाकिम वा सहकर्मीहरूलाई यी कुरा महत्त्वपूर्ण हुन् जस्तो नलाग्ला। त्यसैले हाम्रो लागि यहोवाको काम नै सबैभन्दा महत्त्वपूर्ण हो भन्ने हाम्रो अडानबारे स्पष्ट पार्नै पर्छ। यसो गर्नु भनेको नहेम्याहले सोरवासीहरूलाई धपाएर सहरको मूल-ढोका बन्द गरेझैं हो। तिनले यहोवालाई पहिलो स्थानमा राखेका थिए। परमेश्वरका पवित्र सेवकहरू भएकोले हामीले आफैलाई सोध्नुपर्छ, ‘मेरो जीवनशैलीबाट मैले यहोवालाई पहिलो स्थानमा राखेको छु भन्ने देखिन्छ?’—मत्ती ६:३३.
आफ्नो ख्रीष्टियन चिनारीलाई जोगाउनुहोस्
१६. नहेम्याहको समयका इस्राएलीहरूले परमेश्वरको पवित्र सेवकहरूको रूपमा आफ्नो चिनारी कसरी गुमाउन लागेका थिए?
१६ नहेम्याह १३:२३-२७ पढ्नुहोस्। नहेम्याहको समयमा इस्राएली पुरुषहरूले विदेशी स्त्रीहरूसित विवाह गर्दैथिए। पहिलो पटक यरूशलेम जाँदा नहेम्याहले त्यहाँका सबै बूढा-प्रधानहरूलाई लिखित सम्झौता गर्न लगाएका थिए। उक्त सम्झौताअनुसार कुनै पनि यहूदी पुरुषले विदेशी स्त्रीसित विवाह गर्न पाउँदैनथ्यो। (नहे ९:३८; १०:३०) तर दोस्रो पटक यरूशलेम जाँदा नहेम्याहले के भेट्टाए? इस्राएली पुरुषहरूले विदेशी स्त्रीहरूसित विवाह गरेका मात्र होइनन्, परमेश्वरको पवित्र सेवकहरूको रूपमा आफ्नो चिनारीसमेत गुमाउन लागेका थिए। विदेशी स्त्रीका तर्फबाट जन्मेका सन्तानहरूले हिब्रू भाषा पढ्न वा बोल्न जान्दैनथे। के तिनीहरूले हुर्किसकेपछि आफूलाई इस्राएली भनेर चिनाउने थिए? अथवा आफूलाई अश्दोदी, अम्मोनी वा मोआबी पो ठान्ने थिए कि? हिब्रू भाषा नै नबुझ्ने भएकोले तिनीहरूले परमेश्वरको व्यवस्था बुझ्न सक्ने कुरै थिएन। साथै आमापट्टिका झूटा देवताहरूको उपासना गर्नुको सट्टा यहोवालाई चिनेर उहाँको उपासना गर्न पनि तिनीहरूलाई गाह्रो हुनेथियो। इस्राएलीहरूको चिनारी जोगाउन नहेम्याहले तुरुन्तै कदम चाले।—नहे. १३:२८.
१७. आमाबाबुले छोराछोरीलाई यहोवासित नजिक हुन कसरी मदत गर्न सक्छन्?
१७ हामीले आफ्ना छोराछोरीलाई ख्रीष्टियन चिनारी प्राप्त गर्न मदत गर्नुपर्छ। आमाबाबु हो, आफैलाई सोध्नुहोस्, ‘मेरा छोराछोरीले बाइबल सत्यको “शुद्ध भाषा” कत्तिको राम्ररी बोल्छन्? (सप. ३:९) मेरा छोराछोरीको कुराकानीबाट उनीहरू कसको प्रभावमा परेका देखिन्छन्–परमेश्वरको वा सैतानको?’ छोराछोरीले उन्नति गर्नुपर्ने क्षेत्र देख्नुभयो भने तुरुन्तै हार नमान्नुहोस्। भाषा सिक्न गाह्रो हुन्छ, त्यसमा पनि अलमलाउने कुरा थुप्रै छन् भने त झनै समय लाग्छ। तपाईंका छोराछोरीले परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने दबाब भोगिरहेका छन्। त्यसैले धैर्य गर्नुहोस् र पारिवारिक उपासनालगायत अन्य अवसरमा छोराछोरीलाई यहोवासित नजिक हुन मदत गर्नुहोस्। (व्यव. ६:६-९) सैतानको संसारबाट अलग रहँदा कस्तो लाभ हुन्छ, उनीहरूलाई बुझाउनुहोस्। (यूह. १७:१५-१७) अनि उनीहरूको मनसम्म पुग्न प्रयास गर्नुहोस्।
१८. छोराछोरीलाई यहोवाप्रति समर्पित हुन मदत दिन सक्ने सबैभन्दा राम्रो व्यक्ति ख्रीष्टियन आमाबाबु नै हुन्, किन?
१८ तर परमेश्वरको सेवा गर्ने कि नगर्ने भनेर निर्णय गर्नुपर्ने आखिरमा छोराछोरीले नै हो। तैपनि आमाबाबुले थुप्रै तरिकामा मदत गर्न सक्छन्। जस्तै, तपाईं राम्रो उदाहरण बसाल्न सक्नुहुन्छ, स्पष्ट सीमा तोकिदिन सक्नुहुन्छ अनि छोराछोरीलाई उनीहरूले गर्ने निर्णयको परिणाम कस्तो हुन्छ भनेर बताउन सक्नुहुन्छ। छोराछोरीलाई यहोवाप्रति समर्पित हुन मदत दिन सक्ने सबैभन्दा राम्रो व्यक्ति तपाईं नै हुनुहुन्छ। ख्रीष्टियन चिनारी प्राप्त गर्न र त्यसलाई जोगाउन उनीहरूलाई तपाईंको मदत चाहिन्छ। हो, हामी सबैले आफ्नो ख्रीष्टियन चिनारीलाई जोगाउनुपर्छ अर्थात् परमेश्वरको स्तरबमोजिम जीवन बिताउनुपर्छ र उहाँले रुचाउने खालको व्यक्ति हुनुपर्छ।—प्रका. ३:४, ५; १६:१५.
यहोवाले हाम्रो असल कामलाई सम्झनुहुनेछ
१९, २०. हाम्रो असल कामको निम्ति यहोवाले हामीलाई सम्झेको चाहन्छौं भने के गर्नुपर्छ?
१९ यहोवाले “उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरू”-लाई सम्झनुहुन्छ र तिनीहरूको “नाउँ सम्झनाको पुस्तकमा” लेख्नुहुन्छ भनेर नहेम्याहकै समयका भविष्यवक्ता मलाकीले बताए। (मला. ३:१६, १७) यहोवाले उहाँसित डराउने र उहाँको नामलाई प्रेम गर्नेहरूलाई कहिल्यै बिर्सनुहुनेछैन।—हिब्रू ६:१०.
२० नहेम्याहले यसरी प्रार्थना गरे: “हे परमेश्वर मेरो हितको निम्ति यस कामको सम्झना रहोस्।” (नहे. १३:३१) खराब सङ्गतदेखि जोगिएर बसिरह्यौं, यहोवाको कामलाई समर्थन गरिरह्यौं, उहाँको सेवालाई पहिलो स्थानमा राखिरह्यौं र ख्रीष्टियन चिनारीलाई जोगाइरह्यौं भने हाम्रो नाम पनि परमेश्वरको सम्झनाको पुस्तकमा लेखिनेछ। हामी ‘विश्वासमा छौं कि छैनौं भनी जाँचिरहौं।’ (२ कोरि. १३:५) यहोवासितको पवित्र सम्बन्धलाई कायमै राख्यौं भने उहाँले हामीलाई कहिल्यै बिर्सनुहुनेछैन।