सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको साक्षीवचनले तपाईंको हृदयलाई आनन्दित बनाओस्

यहोवाको साक्षीवचनले तपाईंको हृदयलाई आनन्दित बनाओस्

“तपाईंका साक्षीवचनहरू मैले सधैंभरि आफ्नो हक मानिलिएको छु।”भज. ११९:१११.

१. (क) सल्लाहप्रति मानिसहरूले के-कस्ता प्रतिक्रिया देखाउँछन्‌ र किन? (ख) घमन्डी व्यक्तिले सल्लाहप्रति कस्तो प्रतिक्रिया देखाउँछ?

सल्लाह पाउँदा मानिसहरू भिन्नाभिन्नै प्रतिक्रिया देखाउँछन्‌। कसै-कसैले अख्तियारप्राप्त व्यक्तिले दिएको सल्लाहलाई तुरुन्तै स्वीकार्छन्‌ भने आफ्नै उमेरको व्यक्ति वा कम अख्तियार भएको व्यक्तिले दिएको सल्लाहलाई ठाडै इन्कार गर्छन्‌। अनुशासन वा सल्लाह पाउँदा कसैले दुःखित, निराश वा लज्जित महसुस गर्छन्‌ भने कसैले त्यसबाट उत्प्रेरणा पाएर अझ राम्रो गर्न चाहन्छन्‌। किन यस्तो फरक-फरक प्रतिक्रिया? एउटा कारण हो, घमन्ड। सल्लाह पाउँदा घमन्डी व्यक्तिले त्यो आफूमा लागू हुँदैन भनी सोच्छ। त्यसैले सल्लाह ठाडै इन्कार गर्छ र त्यो लागू गर्दा प्राप्त हुने फाइदा अनुभव गर्नदेखि चुक्छ।—हितो. १६:१८.

२. साँचो ख्रीष्टियनहरू बाइबलआधारित सल्लाहको किन मोल गर्छन्‌?

साँचो ख्रीष्टियनहरू भने उपयोगी सल्लाहको मोल गर्छन्‌। सल्लाह बाइबलआधारित छ भने त झनै त्यसो गर्छन्‌। यहोवाको साक्षीवचनले हामीलाई गलत आचरणको खतरा बुझ्न मदत गर्छ। यसले हामीलाई भौतिकवाद, यौन अनैतिकता, लागू पदार्थ तथा मद्यको दुर्व्यसनजस्ता हानिकारक कुराहरूबाट जोगिन मदत गर्छ। (हितो. २०:१; २ कोरि. ७:१; १ थिस्स. ४:३-५; १ तिमो. ६:६-११) साथै परमेश्वरका आज्ञाहरू पालन गरेकोले हाम्रो “हृदयमा आनन्द” हुन्छ।—यशै. ६५:१४.

३. भजनरचयिताको कस्तो मनोभाव हामीले पनि अनुकरण गर्नुपर्छ?

यहोवासितको बहुमूल्य सम्बन्ध जोगाइरहने हो भने उहाँको बुद्धिमानी सल्लाह हामीले सधैं लागू गर्नुपर्छ। हाम्रो मनोभाव पनि भजनरचयिताको जस्तै हुनुपर्छ जसले यस्तो लेखे: “तपाईंका साक्षीवचनहरू मैले सधैंभरि आफ्नो हक मानिलिएको छु। किनकि तिनीहरूनै मेरो हृदयको आनन्दका कारण हुन्‌।” (भज. ११९:१११) यी भजनरचयिताजस्तै के हामी पनि यहोवाको  आज्ञा पालन गर्न खुसी हुन्छौं? वा कहिलेकाहीं असाध्यै गाह्रो पो मान्छौं कि? सल्लाह स्वीकार्न कहिलेकाहीं गाह्रो लाग्छ भने पनि निराश हुनुपर्दैन। यहोवाको आज्ञा पालन गर्दा सधैं आफ्नै हित हुन्छ भन्ने कुरामा हामी आफ्नो भरोसा बलियो बनाउन सक्छौं। भरोसा बलियो बनाउन सक्ने तीनवटा तरिका विचार गरौं।

प्रार्थना गरेर आफ्नो भरोसा बलियो बनाउनुहोस्

४. दाऊदको जीवनमा कहिल्यै परिवर्तन नभएको एउटा कुरा के हो?

राजा दाऊदको जीवनमा थुप्रै उतारचढाव आए तर एउटा कुरा भने कहिल्यै परिवर्तन भएन। त्यो हो, यहोवामाथिको पूर्ण भरोसा। तिनले भने: “हे परमप्रभु, म मेरो मन तपाईंतिर उचाल्छु। हे मेरा परमेश्वर, मैले तपाईंकै भरोसा गरेको छु।” (भज. २५:१, २) केले गर्दा तिनले यहोवामा यति धेरै भरोसा गर्न सके?

५, ६. दाऊदको प्रार्थनाबाट यहोवासितको तिनको मित्रताबारे के थाह पाउन सक्छौं?

थुप्रैले गम्भीर समस्यामा पर्दा मात्र परमेश्वरलाई प्रार्थना गर्छन्‌। यस्ता मानिसहरूलाई पैसा चाहिंदा वा कुनै मदत चाहिंदा मात्र तपाईंसित कुराकानी गर्ने साथीसित तुलना गर्न सकिन्छ। त्यस साथीले तपाईंलाई साँच्चै माया गर्छ कि गर्दैन, समय बित्दै जाँदा तपाईंलाई शङ्का लाग्न थाल्छ। तर यहोवासितको दाऊदको मित्रता त्यस्तो थिएन। तिनले गरेका प्रार्थनाहरूबाट दुःखमा होस् या सुखमा, तिनी जहिले पनि यहोवालाई माया गर्थे र उहाँमाथि भरोसा गर्थे भनेर थाह हुन्छ।—भज. ४०:८.

दाऊदले कसरी यहोवाको प्रशंसा गरे र उहाँलाई धन्यवाद चढाए, विचार गर्नुहोस्: “हे प्रभो, हाम्रा परमप्रभु, जसले आफ्नो महिमा स्वर्गमा स्थिर गर्नुभएको छ, सारा पृथ्वीभरि तपाईंको नाउँ कति उत्तम छ!” (भज. ८:१) यी शब्दहरूबाट यहोवा र दाऊदबीचको मित्रता कत्ति गहिरो थियो भनेर थाह पाउन सक्छौं, होइन र? यहोवाको महानता र महिमा देखेर दाऊद असाध्यै प्रभावित भए। तिनले “दिनभरि” यहोवाको प्रशंसा गरे।—भज. ३५:२८.

७. यहोवासित नियमित रूपमा कुराकानी गऱ्यौं भने के फाइदा हुन्छ?

यहोवामाथिको भरोसा बलियो बनाउन हामीले पनि दाऊदले जस्तै नियमित रूपमा यहोवासित कुराकानी गर्नुपर्छ। बाइबल भन्छ: “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” (याकू. ४:८) प्रार्थना गर्दा हामी यहोवासित नजिक हुन्छौं। पवित्र शक्ति पाउने महत्त्वपूर्ण तरिका पनि यही हो।१ यूहन्ना ३:२२ पढ्नुहोस्।

८. प्रार्थना गर्दा हामीले किन जहिले पनि एउटै कुरा दोहोऱ्याउनुहुँदैन?

प्रार्थना गर्दा के तपाईं हरेक पटक एउटै कुरा दोहोऱ्याउनुहुन्छ? त्यसो हो भने प्रार्थनामा के भन्ने, एकैछिन सोच्नुहोस्। साथीलाई भेट्दा तपाईं जहिले पनि एउटै कुरा दोहोऱ्याउनुहुन्छ भने उसलाई कस्तो लाग्ला? सायद ऊ तपाईंको कुरा सुन्न चाहँदैन। हुन त वफादार सेवकले मनैदेखि चढाएको प्रार्थना यहोवा सुन्नुहुन्छ। तर प्रार्थना गर्दा हामीले जहिले पनि एउटै कुरा दोहोऱ्याउनुहुँदैन।

९, १०. (क) हामी के-कस्ता विषयमा प्रार्थना गर्न सक्छौं? (ख) प्रार्थनालाई अर्थपूर्ण बनाउन हामीलाई केले मदत गर्न सक्छ?

कुरा स्पष्ट छ, हामी यहोवासित नजिक हुन चाहन्छौं भने सामान्य विषयमा मात्र प्रार्थना गरेर पुग्दैन। यहोवालाई आफ्नो भित्री भावना जति पोख्छौं, उहाँमाथिको हाम्रो भरोसा त्यति नै बलियो हुन्छ। हामी के-कस्ता विषयमा प्रार्थना गर्न सक्छौं? बाइबल यसो भन्छ: “हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।” (फिलि. ४:६) हो, हाम्रो जीवन वा परमेश्वरसितको हाम्रो मित्रतालाई असर गर्ने जुनसुकै विषयमा प्रार्थना गर्न सक्छौं।

१० विगतका वफादार पुरुष तथा स्त्रीहरूले  गरेको प्रार्थनाबाट हामी थुप्रै कुरा सिक्न सक्छौं। (१ शमू. १:१०, ११; प्रेषि. ४:२४-३१) जस्तै, भजनको पुस्तकमा यहोवालाई मनैदेखि चढाइएका प्रार्थना र भजन थुप्रै पाउँछौं। ती प्रार्थना तथा भजनमा हर किसिमका भाव व्यक्त गरिएका छन्‌। कुनैमा पीडा त कुनैमा आनन्द। यी प्रार्थनाहरू अध्ययन गर्दा आफ्नो प्रार्थना अर्थपूर्ण बनाउन सक्छौं।

परमेश्वरको साक्षीवचनमा मनन गर्नुहोस्

११. बाइबलका सल्लाहहरूमा हामीले किन मनन गर्नुपर्छ?

११ दाऊदले भने: “परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान्‌ तुल्याउने।” (भज. १९:७) हामी निर्बोध अर्थात्‌ अनुभवहीन छौं भने पनि परमेश्वरका आज्ञाहरू पालन गरेर बुद्धिमान्‌ हुन सक्छौं। तर हरेक अवस्थामा वफादार रहिरहन हामीले बाइबलमा पाइने सल्लाहमा मनन गर्नै पर्छ। उदाहरणको लागि, बाइबल सिद्धान्तहरूमा मनन गर्नुभयो भने स्कूल वा काम गर्ने ठाउँमा गलत काम गर्ने प्रलोभन आउँदा वफादार रहिरहन सक्नुहुनेछ। साथै रगत र ख्रीष्टियन तटस्थतासम्बन्धी परमेश्वरको स्तर पालन गर्न र पहिरनको छनौट गर्दा बाइबल सिद्धान्तअनुसार चल्न पनि मदत पाउनुहुनेछ। परमेश्वरका सल्लाहहरूमा मनन गर्दा यस्तो अवस्था आएमा के गर्ने भनेर तयार हुन सक्छौं। यस्तो तयारीले हामीलाई गलत कदम चाल्दा भोग्नुपर्ने पीडादेखि जोगाउँछ।—हितो. १५:२८.

१२. कस्ता प्रश्नहरूबारे विचार गर्दा परमेश्वरको साक्षीवचनबमोजिम चल्न सक्नेछौं?

१२ परमेश्वरको प्रतिज्ञा पूरा हुने समय पर्खंदै बस्दा के हामीले उहाँका प्रतिज्ञाहरूमा विश्वास गरेको र यहोवालाई सबैभन्दा महत्त्वपूर्ण व्यक्ति ठानेको कुरा देखाइरहेका छौं? उदाहरणको लागि, महान्‌ बेबिलोनको विनाश चाँडै हुनेछ भन्ने कुरामा के हामी साँच्चै विश्वास गर्छौं? अनन्त जीवन र पुनर्जीवनको शिक्षा हामीलाई सुरुमा जतिको वास्तविक लाग्थ्यो, अहिले पनि त्यति नै वास्तविक लाग्छ? प्रचारकार्यप्रतिको जोसलाई कायमै राखेका छौं वा आफ्नै इच्छालाई पहिलो स्थान दिइरहेका छौं? यहोवाको नाम पवित्र पार्ने र उहाँको सार्वभौमिकता उच्च पार्ने कुरा के हाम्रो लागि अहिले पनि उत्तिकै महत्त्वपूर्ण छ? यस्ता प्रश्नहरूबारे गहिरिएर विचार गर्दा परमेश्वरको ‘साक्षीवचनलाई सधैंभरि आफ्नो हक’ बनाउन मदत पाउनेछौं।—भज. ११९:१११.

१३. प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई कुनै-कुनै कुरा बुझ्न किन गाह्रो भयो? एउटा उदाहरण दिनुहोस्।

१३ बाइबलका केही कुरा हामी अहिले राम्रोसँग बुझ्न सक्दैनौं किनकि ती कुरा स्पष्ट पार्ने यहोवाको समय आइसकेको छैन। येशूले प्रेषितहरूलाई आफूले भोग्नुपर्ने दुःख र मृत्युबारे बारम्बार बताउनुभयो। (मत्ती १२:४०; १६:२१ पढ्नुहोस्) तर प्रेषितहरूले उहाँको कुरा बुझेनन्‌। पुनर्जीवित भएर चेलाहरूकहाँ देखा परेपछि र आफूबारे गरिएका भविष्यवाणीहरूको अर्थ खोलिदिएपछि मात्र तिनीहरूले उहाँको कुरा बुझे। (लूका २४:४४-४६; प्रेषि. १:३) इस्वी संवत्‌ ३३, पेन्तिकोसको दिनमा पवित्र शक्ति पाएपछि मात्र ख्रीष्टका अनुयायीहरूले परमेश्वरको राज्यले स्वर्गबाट शासन गर्नेछ भनेर बुझे।—प्रेषि. १:६-८.

१४. बीसौं शताब्दीको सुरुतिरका ख्रीष्टियनहरूले हाम्रो लागि कस्तो उदाहरण बसाले?

१४ त्यसैगरि २० औं शताब्दीको सुरुतिर साँचो ख्रीष्टियनहरूले “अन्तको दिनमा” हुने घटनाबारे गलत सोचाइ राखेका थिए। (२ तिमो. ३:१) जस्तै, सन्‌ १९१४ मा केही ख्रीष्टियनले चाँडै स्वर्ग जाने आशा गरेका थिए। तर तिनीहरूको आशा साकार भएन। तिनीहरूले बाइबललाई पुनः केलाएर हेरे र पहिले व्यापक रूपमा प्रचार गर्नुपर्छ भनेर बुझे। (मर्कू. १३:१०) त्यसैले त्यसबेला प्रचारकार्यको नेतृत्व लिइरहेका जे. एफ. रदरफोर्डले सन्‌ १९२२ मा अमेरिकाको ओहायोस्थित सिडार प्वाइन्टमा आयोजित अन्तरराष्ट्रिय अधिवेशनमा  यसो भने: “हाम्रो राजाले शासन गर्न थालिसक्नुभएको छ! अनि तपाईंहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्, विज्ञापन गर्नुहोस्, विज्ञापन गर्नुहोस्।” त्यसबेलादेखि यहोवाका सेवकहरू “राज्यको सुसमाचार” सुनाउने मानिसहरूको रूपमा परिचित छन्‌।—मत्ती ४:२३; २४:१४.

१५. यहोवाले आफ्ना सेवकहरूसित गरेका प्रतिज्ञाहरूमा मनन गर्नु किन राम्रो हो?

१५ आफ्ना सेवकहरूसित गरेका प्रतिज्ञाहरू यहोवाले विगतमा कसरी पूरा गर्नुभयो र अहिले कसरी पूरा गर्दै हुनुहुन्छ, त्यसबारे मनन गर्नु राम्रो हो। यसो गर्दा यहोवा आफ्नो उद्देश्य पूरा गर्न सक्षम हुनुहुन्छ भन्ने कुरामा अझ विश्वस्त हुन सक्छौं। परमेश्वरका प्रतिज्ञाहरूमा मनन गर्दा ती प्रतिज्ञाहरू पूरा हुने समय अझ उत्साहित भएर कुर्छौं र ती पूरा हुनेछन्‌ भन्ने कुराप्रतिको हाम्रो भरोसा अझ बढ्छ।

परमेश्वरको उपासना गर्दै उहाँमाथिको भरोसा बढाउनुहोस्

१६. परमेश्वरको सेवामा सक्दो गर्दा कस्तो आशिष्‌ पाउँछौं?

१६ यहोवा हात बाँधेर बस्नुहुन्न, उहाँ सक्रिय हुनुहुन्छ। भजनरचयिताले भने: “हे परमप्रभु, तपाईंजस्तो शक्तिशाली को छ र?” त्यसपछि तिनले भने: “तपाईंको हात बलियो छ, र तपाईंको दाहिने बाहुली अल्गो छ।” (भज. ८९:८, १३) यहोवा आफै पनि सक्रिय परमेश्वर हुनुभएकोले हामीले उहाँको सेवामा सक्दो गर्दा उहाँ खुसी हुनुहुन्छ र हामीलाई आशिष्‌ दिनुहुन्छ। पुरुष होस् या स्त्री, बालक होस् या वृद्ध, उहाँका सेवकहरू “परिश्रम विनाको कमाइ” खाँदैनन्‌। तिनीहरू मेहनती छन्‌। (हितो. ३१:२७) यहोवाको सेवामा व्यस्त हुँदा हामीले उहाँको अनुकरण गरिरहेका हुन्छौं। उहाँको सेवामा सक्दो गर्दा हामी आनन्दित हुन्छौं अनि यहोवा पनि आनन्दित हुनुहुन्छ।भजन ६२:१२ पढ्नुहोस्।

१७, १८. यहोवाको निर्देशन पछ्याउँदा उहाँमाथिको हाम्रो भरोसा कसरी बलियो हुन्छ? उदाहरण दिनुहोस्।

 १७ विश्वासले उत्प्रेरित भएर गरेका कामहरूले यहोवामाथिको हाम्रो भरोसालाई कसरी बलियो बनाउँछ? इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पुग्नुअघि के भयो, विचार गर्नुहोस्। यहोवाले करारको सन्दुक बोकेका पुजारीहरूलाई यर्दन नदीमा टेक्न अह्राउनुभएको थियो। तर इस्राएलीहरू नदीको किनारमा पुग्दा तिनीहरूले नदी उर्लेको र पानीको बहाब बढेको देखे। अब तिनीहरूले के गर्नेथिए? पानी नघटेसम्म तीरमा पाल टाँगेर हप्तौं कुरेर बस्नेथिए? अहँ, त्यसो गर्ने थिएनन्‌। बरु तिनीहरूले यहोवामा पूरा भरोसा राखे र उहाँले अह्राएबमोजिम गरे। परिणाम के भयो? बाइबल भन्छ: “जब . . . पूजाहारीहरूका खुट्टा किनारको पानीमा पऱ्यो तब माथिबाट आएको पानी . . . थामिएर एउटा रास भएर अड्यो।” त्यसपछि इस्राएलीहरू सबैले “यर्दन पार नगरूञ्जेलसम्म परमप्रभुको करारको सन्दुक बोक्ने पूजाहारीहरू यर्दनको बीचमा ओबानो जमिनमा स्थिर भई खडा रहे।” (यहो. ३:१२-१७) तीव्र गतिमा बगिरहेको पानी टक्क अडिंदा इस्राएलीहरू कत्ति ढुक्क भए होलान्‌, कल्पना गर्नुहोस् त। यहोवाको निर्देशन पछ्याएकोले तिनीहरूको विश्वास बलियो भयो।

के तपाईं यहोशूको समयका इस्राएलीहरूले जस्तै यहोवामा भरोसा राख्नुहुन्छ? (अनुच्छेद १७, १८ हेर्नुहोस्)

१८ हो, यहोवा आज आफ्ना सेवकहरूका लागि यस्तो प्रकारको चमत्कार गर्नुहुन्न। तर हामीले विश्वास देखायौं र उहाँका निर्देशनहरू पछ्यायौं भने उहाँले आशिष्‌ दिनुहुन्छ। हामी यहोवाका साक्षीहरूले संसारभरि प्रचार गर्ने आदेश पाएका छौं र यो काम पूरा गर्न पवित्र शक्तिले हामीलाई साहस दिन्छ। अनि यहोवाको प्रमुख साक्षी येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यो महत्त्वपूर्ण काम पूरा गर्न मदत गर्ने आश्वासन दिनुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।” त्यसपछि उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: “यस युगको आखिरी समयसम्म म सधैंभरि तिमीहरूसितै छु।” (मत्ती २८:१९, २०) अरूसित कुराकानी गर्न डराउने वा लजाउने साक्षीहरूले पनि नचिनेका मानिसहरूलाई प्रचार गर्न सकेका छन्‌। पवित्र शक्तिको मदत पाएर नै उनीहरूले त्यसो गर्न सकेका हुन्‌।भजन ११९:४६; २ कोरिन्थी ४:७ पढ्नुहोस्।

१९. परमेश्वरको सेवा चाहेजति गर्न सकेका छैनौं भने पनि हामी कुन कुरामा ढुक्क हुन सक्छौं?

१९ केही भाइबहिनीले बिमारी वा वृद्धावस्थाको कारण परमेश्वरको सेवा चाहेजति गर्न सकेका छैनन्‌। तर “कोमल कृपाका बुबा र सबै सान्त्वनाका परमेश्वर”-ले तिनीहरूको अवस्था बुझ्नुहुन्छ भनेर तिनीहरू ढुक्क हुन सक्छन्‌। (२ कोरि. १:३) उहाँको सेवामा हामी जे-जति गर्छौं, यहोवा त्यसको मोल गर्नुहुन्छ। अनि हामीले यो कुरा बिर्सनुहुँदैन, ख्रीष्टको फिरौतीको बलिदानमा विश्वास गर्नुमा नै हाम्रो उद्धार निर्भर छ।—हिब्रू १०:३९.

२०, २१. यहोवामाथि भरोसा राखेका छौं भनेर देखाउने केही तरिका के हुन्‌?

२० परमेश्वरको उपासना गर्नुमा सकेजति समय, शक्ति र सम्पत्ति खर्च गर्नु समावेश छ। हो, हामी प्रचारकार्यमा तनमन लगाउन चाहन्छौं। (२ तिमो. ४:५) अरूलाई “सत्यको सही ज्ञान” दिन पाउँदा हामीलाई खुसी लाग्छ। (१ तिमो. २:४) यहोवाको आदर र प्रशंसा गर्दा हामी आध्यात्मिक रूपमा धनी हुन्छौं। (हितो. १०:२२) अनि यसले हामीलाई जस्तोसुकै अवस्थामा पनि सृष्टिकर्तामाथि पूर्ण भरोसा राख्न मदत गर्छ।—रोमी ८:३५-३९.

२१ हामीले बुझिसक्यौं, यहोवाको निर्देशनमाथि हाम्रो भरोसा बलियो बनाउन मेहनत गर्नुपर्छ। त्यसैले प्रार्थना गरेर उहाँमाथिको भरोसा बलियो बनाउनुहोस्। विगतमा यहोवाले आफ्ना प्रतिज्ञाहरू कसरी पूरा गर्नुभयो र भविष्यमा कसरी पूरा गर्नुहुनेछ, त्यसबारे मनन गर्नुहोस्। अनि परमेश्वरको उपासना गरेर उहाँमाथिको भरोसा बलियो बनाइरहनुहोस्। यो कुरा कहिल्यै नबिर्सनुहोस्, यहोवाको साक्षीवचन सधैंभरि रहिरहन्छ। अनि यी साक्षीवचनमा ध्यान दिनुभयो भने तपाईं पनि सधैंभरि रहिरहनुहुनेछ!