सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्

गोठालाहरू हो, सबैभन्दा महान्‌ गोठालाहरूको अनुकरण गर्नुहोस्

“ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो र तिमीहरूले राम्ररी उहाँको पदचिन्ह पछ्याओस् भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो।”—१ पत्रु. २:२१.

१, २. (क) भेडाको राम्रो हेरचाह गरिएको छ भने नतिजा कस्तो हुन्छ? (ख) येशूको समयका मानिसहरू किन गोठालो नभएका भेडाहरू जस्तै थिए?

गोठालोले बगालको राम्रो हेरचाह गरेको छ भने मात्र भेडाहरू स्वस्थ हुन्छन्‌। भेडा पालनसम्बन्धी एउटा पुस्तक यसो भन्छ: “यदि गोठालोले भेडालाई चराउन मात्रै लैजान्छ र अरू केही पनि वास्ता गर्दैन भने त्यो भेडा बिस्तारै कमजोर भएर केही वर्षमै रोगी हुन्छ।” तर प्रत्येक भेडाहरूको राम्रो हेरचाह गरिएको छ भने पूरै बगाल स्वस्थ र निरोगी हुन्छ।

ख्रीष्टियन मण्डलीमा पनि यही कुरा लागू हुन्छ। मण्डलीका गोठालाहरूले यहोवाले सुम्पेका प्रत्येक भेडाको राम्रोसँग हेरचाह गरेका छन्‌ भने पूरै मण्डली स्वस्थ हुन्छ। तपाईंलाई यादै होला, भीडलाई देखेर येशू टिठाउनुभएको थियो। किनभने तिनीहरू “छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।” (मत्ती ९:३६) तिनीहरू किन यस्तो नाजुक अवस्थामा थिए? किनभने तिनीहरूलाई परमेश्वरको वचन सिकाउने जिम्मा पाएका मानिसहरू कठोर, औधी माग गर्ने र ढोंगी थिए। मानिसहरूलाई मदत गर्नु र खुवाउनुको साटो इस्राएलका धर्मगुरुहरूले तिनीहरूलाई “बोझिला नियमहरूको भारी” बोकाएका थिए।—मत्ती २३:४.

३. एल्डरहरूले कुन कुरा बिर्सनु हुँदैन?

अहिले ख्रीष्टियन मण्डलीका गोठालाहरू अर्थात्‌ एल्डरहरूले पनि गम्भीर जिम्मेवारी पाएका छन्‌। भेडाहरू यहोवा र “असल गोठालो” येशूका सम्पत्ति हुन्‌। (यूह. १०:११) प्रत्येक भेडाको लागि येशूले आफ्नो “अमूल्य रगत” बगाउनुभयो र तिनीहरूलाई ‘दाम तिरेर किन्नुभयो।’ (१ कोरि. ६:२०; १ पत्रु. १:१८, १९) आफ्नो भेडालाई उहाँ औधी माया गर्नुहुन्छ। त्यसैले त उहाँले तिनीहरूको लागि आफ्नो जीवनसमेत खुसीसाथ बलिदान दिनुभयो। एल्डरहरूले “भेडाहरूको महान्‌ गोठाला” येशू आफ्नो निरीक्षक हुनुहुन्छ भनेर कहिल्यै बिर्सनु हुँदैन। बगालसँग गर्ने व्यवहारको  लागि तिनीहरू येशूप्रति जबाफदेही छन्‌।—हिब्रू १३:२०.

४. यस लेखमा कुन कुरा छलफल गरिनेछ?

त्यसोभए ख्रीष्टियन गोठालाहरूले बगालसँग कस्तो व्यवहार गर्नुपर्छ? हुन त मण्डलीका सदस्यहरूलाई ‘अगुवाइ लिइरहेकाहरूप्रति आज्ञाकारी होओ’ भनिएको छ। तर अर्कोतर्फ ख्रीष्टियन एल्डरहरूलाई पनि ‘परमेश्वरको सम्पत्तिमाथि हैकम नजमाउन’ चेतावनी दिइएको छ। (हिब्रू १३:१७; १ पत्रुस ५:२, ३ पढ्नुहोस्) त्यसोभए एल्डरहरूले बगालमाथि हैकम नजमाईकन नेतृत्व लिने आफ्नो जिम्मेवारी कसरी पूरा गर्न सक्छन्‌? अर्को शब्दमा भन्नुपर्दा परमेश्वरले दिनुभएको अख्तियारलाई ननाघीकन एल्डरहरूले कसरी भेडाहरूको हेरचाह गर्न सक्छन्‌?

“तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ”

५. यशैया ४०:११ बाट यहोवा परमेश्वरबारे हामी के सिक्न सक्छौं?

यहोवा परमेश्वरको विषयमा भविष्यवक्ता यशैयाले यसो भने: “उहाँले आफ्नो बगाललाई गोठालालेझैं चराउनुहुनेछ। उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माऊलाई चाहिं बिस्तार-बिस्तार डोऱ्याएर उहाँले लैजानुहुनेछ।” (यशै. ४०:११) यहोवाले कमजोरहरूलाई कसरी हेरचाह गर्नुहुन्छ र सुरक्षा चाहिएकाहरूलाई कसरी जोगाउनुहुन्छ भनेर यस पदबाट हामी बुझ्न सक्छौं। जसरी एउटा गोठालोले आफ्नो बगालका प्रत्येक भेडालाई के-कस्तो कुरा चाहिन्छ भनेर थाह पाएको हुन्छ र मदत गर्न तयार हुन्छ, त्यसैगरि यहोवा परमेश्वर पनि मण्डलीका प्रत्येक सदस्यको आवश्यकताप्रति सजग हुनुहुन्छ र आवश्यक मदत गर्न तयार हुनुहुन्छ। भर्खरै जन्मेको पाठोलाई गोठालोले अँगालोमा बोकेझैं “कोमल कृपाका बुबा” यहोवाले पनि परीक्षाको बेला हामीलाई बोक्नुहुन्छ। हो, कठिन अवस्थामा उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र विशेष हेरचाह गर्नुहुन्छ।—२ कोरि. १:३, ४.

६. गोठालोको रूपमा एल्डरहरूले कसरी यहोवाको अनुकरण गर्न सक्छन्‌?

स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवाबाट एल्डरहरूले सिक्नुपर्ने कत्ति राम्रो पाठ! यहोवा जस्तै एल्डरहरू पनि आफ्ना भेडाको आवश्यकताप्रति सजग हुनै पर्छ। भाइबहिनीहरूले कस्ता चुनौती भोगिरहेका छन्‌ भनेर बुझेका छन्‌ भने एल्डरहरूले तिनीहरूलाई चाहिएको प्रोत्साहन र मदत दिन सक्छन्‌। (हितो. २७:२३) यसको लागि एल्डरहरूले भाइबहिनीसँग कुराकानी गर्न र तिनीहरूको कुरा सुन्न समय निकाल्नुपर्छ। हुन त एल्डरहरूले जासुसले जस्तै भाइबहिनीको चियोचर्चो गर्नुहुँदैन तर मण्डलीमा देखेको र सुनेको कुरामा भने ध्यान दिनुपर्छ र “कमजोरहरूलाई मदत” गर्न समय निकाल्नुपर्छ।—प्रेषि. २०:३५; १ थिस्स. ४:११.

७. (क) इजकिएल र यर्मियाको समयमा यहोवाका जनहरूलाई कस्तो व्यवहार गरिएको थियो? (ख) यहोवाले दुष्ट गोठालाहरूको निन्दा गरेको कुराबाट एल्डरहरूले कस्तो पाठ सिक्न सक्छन्‌?

इजकिएल र यर्मियाको समयका गोठालाहरूलाई यहोवाले किन हप्काउनुभयो, विचार गर्नुहोस्। आफूले राम्ररी हेरविचार गर्नुपर्ने मानिसहरूको वास्ता नगरेकोले यहोवाले ती गोठालाहरूको निन्दा गर्नुभयो। कसैले पनि हेरचाह नगरेको कारण ती मानिसहरू शत्रुको शिकार भएका थिए र तितरबितर भइरहेका थिए। यहोवाका भेडाहरूलाई खुवाउनुको साटो ती गोठालाहरूले तिनीहरूको शोषण गरिरहेका थिए र ‘आफैलाई मात्र पोष्याइरहेका’ थिए। (इज. ३४:७-१०; यर्मि. २३:१) परमेश्वरले यस्ता गोठालाहरूको निन्दा गर्नुभएको छ। अहिले यो कुरा चर्च जगत्‌का नेताहरूलाई लागू हुन्छ। तर यस कुराले यहोवाको बगालको उचित तरिकाले हेरचाह गर्नु र मायालु चासो देखाउनु कत्ति महत्त्वपूर्ण छ भनेर एल्डरहरूलाई पनि सम्झाउँछ।

‘मैले तिमीहरूका लागि नमुना बसालें’

८. येशूले आफ्ना चेलाहरूलाई सच्याउनुभएको तरिकाबाट एल्डरहरूले के सिक्न सक्छन्‌?

त्रुटिपूर्ण भएको कारण मण्डलीका कोही-कोही भाइबहिनीहरूले यहोवाले तिनीहरूबाट चाहेको कुरा  तुरुन्तै नबुझ्न सक्छन्‌। तिनीहरूले बाइबल सिद्धान्तअनुसार मेल नखाने निर्णय गर्न सक्छन्‌ अथवा तिनीहरूको निर्णयले तिनीहरू परिपक्व भएका छैनन्‌ भनेर देखाइरहेको हुन सक्छ। त्यतिबेला एल्डरहरूले के गर्नुपर्छ? तिनीहरू येशू जस्तै धीरजी हुनुपर्छ। परमेश्वरको राज्यमा आफूहरूमध्ये सबैभन्दा ठूलो को हुनेछ भनेर चेलाहरूले पटक-पटक विवाद गरेका थिए। तर येशूले तिनीहरूलाई नरिसाईकन सल्लाह दिनुभयो। (लूका ९:४६-४८; २२:२४-२७) चेलाहरूको खुट्टा धोइदिएर उहाँले नम्रताको पाठ सिकाउनुभयो। अहिले एल्डरहरू पनि नम्र हुनै पर्छ।यूहन्ना १३:१२-१५ पढ्नुहोस्; १ पत्रु. २:२१.

९. येशूले चेलाहरूको कस्तो मनोवृत्ति सच्याउनुभयो?

गोठालो भएपछि अरूमाथि हैकम जमाउन पाइन्छ भनेर येशूका चेलाहरू याकूब र यूहन्नाले सोचेका थिए। त्यसैले परमेश्वरको राज्यमा आफूलाई मुख्य स्थान दिइयोस् भनेर तिनीहरूले येशूलाई आग्रह गरे। तर येशूले तिनीहरूको मनोवृत्ति यसरी सच्याउनुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्‌। तिमीहरूबीच भने यस्तो नहोस् तर तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।” (मत्ती २०:२५, २६) ती प्रेषितहरूले सँगी चेलाहरूमाझ ‘हैकम चलाउने’ वा आफू वरपरका मानिसहरूमाथि ‘अख्तियार जमाउने’ झुकाव हटाउनुपर्थ्यो।

१०. एल्डरहरूले बगाललाई कस्तो व्यवहार गरेको येशू चाहनुहुन्छ? पावलले कस्तो उदाहरण बसाले?

१० येशूले आफ्नो बगाललाई जस्तो व्यवहार गर्नुभयो अहिले एल्डरहरूले पनि त्यस्तै व्यवहार गरेको येशू चाहनुहुन्छ। एल्डरहरू भाइबहिनीको मालिक हुने होइन तर तिनीहरूको सेवा गर्न तयार हुनुपर्छ। प्रेषित पावल पनि नम्र थिए। किनभने तिनले एफिससका एल्डरहरूलाई यसो भने: “तपाईंहरूलाई थाहै छ, एसिया प्रान्तमा पाइला टेकेको दिनदेखि हरबखत तपाईंहरूसितै रहेर मैले ज्यादै विनम्रतासाथ प्रभुको सेवा गरें।” एफिससका एल्डरहरू पनि नम्र होऊन्‌ र तिनीहरूले भाइबहिनीको खातिर कडा मेहनत गरून्‌ भन्ने पावल चाहन्थे। तिनले भने: “मैले तपाईंहरूलाई हरतवरले देखाएको छु, कि कसरी तपाईंहरूले पनि मेहनत गरेर कमजोरहरूलाई मदत गर्नुपर्छ।” (प्रेषि. २०:१८, १९, ३५) कोरिन्थीहरूलाई लेखेको पत्रमा पनि पावलले आफू तिनीहरूको विश्वासको मालिक होइन भनेर बताए। बरु तिनीहरूको आनन्दको निम्ति सहकर्मी हुँ भने। (२ कोरि. १:२४) आजका एल्डरहरू पनि नम्र हुनुपर्छ र तिनीहरूले कडा मेहनत गर्नुपर्छ भनेर पावलले कत्ति राम्रो उदाहरण बसाले!

‘विश्वासयोग्य वचनलाई दह्रोसित पक्रिराख’

११, १२. निर्णय गर्नको लागि एल्डरहरूले भाइबहिनीलाई कसरी मदत गर्न सक्छन्‌?

११ एल्डरहरूले अरूलाई सल्लाह दिंदा आफ्नै तरिकाले दिनुहुँदैन। बाइबलमा पाइने “विश्वासयोग्य वचन”-मा आधारित भएर दिनुपर्छ। (ती. १:९) साथै तिनले यस्तो सल्लाह “नम्रताको मनोभाव”-सहित दिनुपर्छ। (गला. ६:१) असल गोठालाले यस्तै गर्नुपर्छ भनेर कसैलाई दबाब दिंदैनन्‌। बरु यहोवा र उहाँको वचनप्रतिको प्रेमको आधारमा भाइबहिनी आफैले सही निर्णय गर्न सकोस् भनेर मायालु तरिकामा मदत गर्छन्‌। कुनै भाइबहिनीले गम्भीर निर्णय गर्नुपरेको छ भने एल्डरले तिनीसँग बाइबलको सिद्धान्त वा त्यस विषयमा प्रकाशित कुनै लेख छलफल गर्न सक्छन्‌। ती भाइ वा बहिनीले गर्ने निर्णयले यहोवासँग तिनको सम्बन्धमा कस्तो असर पर्छ भनेर सोच्न आग्रह गर्न सक्छन्‌। निर्णय गर्नुअघि प्रार्थना गरेर परमेश्वरको डोऱ्याइ खोज्नुपर्छ भन्ने कुरालाई जोड दिन सक्छन्‌। (हितो. ३:५, ६) तर छलफल गरिसकेपछि निर्णय गर्ने जिम्मा भने भाइबहिनीहरूकै हातमा छोडिदिनेछन्‌।—रोमी १४:१-४.

१२ धर्मशास्त्रीय आधारमा बाहेक आफ्नै विचारले सल्लाह दिने अधिकार ख्रीष्टियन एल्डरहरूले  पाएका छैनन्‌। त्यसैले तिनीहरूले बाइबल कौशलतापूर्वक चलाउनुपर्छ र सल्लाह दिंदा सधैं बाइबलमा आधारित हुनुपर्छ। त्यसो गर्दा एल्डरहरू परमेश्वरले तिनीहरूलाई दिएको अख्तियारभन्दा बाहिर गइरहेका हुँदैनन्‌। वास्तवमा एल्डरहरू उपगोठाला मात्र हुन्‌। अनि मण्डलीका हरेक भाइबहिनीहरू आफूले गरेको निर्णयको लागि आफै यहोवा र येशूप्रति जबाफदेही छन्‌।—गला. ६:५, ७, ८.

“बगालको उदाहरण”

प्रचारको लागि तयारी गर्न एल्डरहरू आफ्नो परिवारलाई मदत गर्छन्‌ (अनुच्छेद १३ हेर्नुहोस्)

१३, १४. एल्डरहरूले राम्रो उदाहरण बसाल्न के-के गर्नै पर्छ?

१३ बगालमा ‘हैकम नजमाउने’ सल्लाह दिइसकेपछि प्रेषित पत्रुसले प्रथम शताब्दीका एल्डरहरूलाई “बगालको उदाहरण” हुन आग्रह गरे। (१ पत्रु. ५:३) एल्डरहरू कसरी बगालको उदाहरण हुन सक्छन्‌? “निरीक्षक बन्न अघि बढिरहेको” कुनै भाइले पूरा गर्नै पर्ने दुइटा योग्यताबारे विचार गर्नुहोस्। पहिलो, तिनी “सुझबुझ भएको” हुनुपर्छ। दोस्रो, तिनले आफ्नो “घरपरिवारको राम्ररी अगुवाइ” लिएको हुनुपर्छ। यदि कुनै एल्डरको परिवार छ भने तिनले आफ्नो परिवारमा उदाहरणीय भएर अगुवाइ लिइरहेको हुनुपर्छ। “हुन पनि, आफ्नै घरपरिवारको अगुवाइ लिन नजान्ने पुरुषले कसरी परमेश्वरको मण्डलीको हेरचाह गर्न सक्छ र?” (१ तिमो. ३:१, २, ४, ५) कुनै निरीक्षक सुझबुझ भएको व्यक्ति हुनुपर्छ भन्नुको अर्थ तिनले बाइबल सिद्धान्तहरू राम्ररी बुझेको हुनुपर्छ र त्यसलाई कसरी आफ्नो जीवनमा लागू गर्ने भनेर जानेको हुनुपर्छ। तिनी गाह्रो अवस्थामा पनि शान्त हुन सक्ने हुनुपर्छ, हतार-पतार निर्णय गर्ने खालको हुनुहुँदैन। एल्डरहरूमा यस्ता योग्यता छन्‌ भने भाइबहिनीहरू तिनीहरूलाई भरोसा गर्न उत्प्रेरित हुन्छन्‌।

१४ प्रचारमा नेतृत्व लिएर पनि एल्डरहरूले भाइबहिनीहरूमाझ असल उदाहरण बसाल्छन्‌। यस क्षेत्रमा येशूले एल्डरहरूको लागि राम्रो उदाहरण बसाल्नुभयो। पृथ्वीमा हुनुहुँदा सुसमाचार प्रचार गर्नु येशूको जीवनको अभिन्न भाग थियो। प्रचार कसरी गर्नुपर्छ भनेर उहाँले आफ्ना चेलाहरूलाई देखाउनुभयो। (मर्कू. १:३८; लूका ८:१) अहिले हाम्रो समयमा पनि एल्डरहरूसँगै प्रचारमा जान पाउँदा भाइबहिनीहरू खुसी हुन्छन्‌। तिनीहरूले जीवन बचाउने काममा एल्डरहरूको जोस देख्न पाउँछन्‌ र उनीहरूको सिकाउने तरिका हेरेर आफैले पनि सिक्ने मौका पाउँछन्‌। यो प्रोत्साहनदायी कुरा होइन र! व्यस्त भए पनि एल्डरहरूले सुसमाचार प्रचार गर्न जोसिलो भएर आफ्नो समय र शक्ति लगाउँदा नतिजा कस्तो हुन्छ? त्यो देखेर मण्डलीका सबै भाइबहिनीहरू पनि हौसिन्छन्‌। एल्डरहरूले सभाको तयारी गरेर, टिप्पणी दिएर, राज्यभवनको सरसफाइ र मर्मत-सम्भारमा भाग लिएर पनि असल उदाहरण बसाल्छन्‌।—एफि. ५:१५, १६; हिब्रू १३:७ पढ्नुहोस्।

एल्डरहरू प्रचारकार्यमा असल उदाहरण बसाल्छन्‌ (अनुच्छेद १४ हेर्नुहोस्)

‘कमजोरहरूलाई मदत गर’

१५. एल्डरहरूले किन गोठालो भेट गर्नुपर्छ?

१५ भेडा घाइते भयो वा बिरामी भयो भने असल गोठालोले उसलाई मदत गर्न तुरुन्तै कदम चाल्छ। त्यसैगरि एल्डरहरूले पनि दुःख भोगिरहेका र सल्लाह वा प्रोत्साहन चाहिएका भाइबहिनीहरूलाई  मदत गर्न बियाँलो गर्नुहुँदैन। वृद्ध र बिरामी परेकाहरूको घरायसी काममा सघाउपघाउ गर्नुपर्ने हुन सक्छ। तर तिनीहरूलाई विशेष गरी प्रोत्साहन र बाइबल आधारित सान्त्वना चाहिन्छ। (१ थिस्स. ५:१४) मण्डलीका युवा-युवतीहरूले “युवावस्थामा उत्पन्न हुने इच्छाहरू” विरुद्ध सङ्घर्ष गरिरहेका हुन सक्छन्‌। (२ तिमो. २:२२) गोठालो भेट गरेर एल्डरहरूले मण्डलीका सबैलाई मदत गर्छन्‌। यस्तो भेटमा तिनीहरू भाइबहिनीहरूले भोगिरहेका चुनौतीहरू बुझ्ने प्रयास गर्छन्‌ र बाइबलआधारित प्रोत्साहन दिन्छन्‌। यसरी तुरुन्तै मदत दिंदा समस्या ठूलो हुन पाउँदैन।

१६. कुनै भाइबहिनीलाई आध्यात्मिक मदत चाहिएको छ भने एल्डरहरूले के गर्नुपर्छ?

१६ कुनै भाइबहिनी गम्भीर समस्यामा परेका छन्‌ र यहोवासँगको तिनको सम्बन्ध नै खतरामा परेको छ भने नि? बाइबल लेखक याकूबले यसो भने: “के तिमीहरूमध्ये कोही बिरामी छ? उसले मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाओस् अनि तिनीहरूले उसको लागि प्रार्थना गरिदेऊन्‌ र यहोवाको नाममा तेल घसिदेऊन्‌। अनि विश्वाससहित गरिएको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ र यहोवाले उसलाई उठाउनुहुनेछ। उसले पाप गरेकै रहेछ भने पनि उसलाई क्षमा दिइनेछ।” (याकू. ५:१४, १५) आध्यात्मिक रूपमा बिरामी परेको कुनै भाइबहिनीले यदि “मण्डलीका एल्डरहरूलाई आफूकहाँ” बोलाएन भने पनि एल्डरहरूले तिनको समस्या थाह पाउनासाथ मदत गरिहाल्नुपर्छ। भाइबहिनीसँगै बसेर तिनीहरूको लागि प्रार्थना गर्दा र गाह्रो अवस्थामा मदत गर्दा एल्डरहरूले आफूलाई असल गोठालो साबित गरिरहेका हुन्छन्‌। यसरी तिनीहरूले भाइबहिनीहरूलाई प्रोत्साहन दिइरहेका र आनन्दसाथ यहोवाको सेवा गर्न मदत गरिरहेका हुन्छन्‌।यशैया ३२:१, २ पढ्नुहोस्।

१७. एल्डरहरूले “महान्‌ गोठाला”-को अनुकरण गर्दा मण्डली कस्तो हुन्छ?

१७ एल्डरहरूले “महान्‌ गोठाला” येशू ख्रीष्टको अनुकरण गर्दै यहोवाको सङ्गठनमा पाएको सबै जिम्मेवारी पूरा गर्छन्‌। यी जिम्मेवार भाइहरूले मण्डलीलाई बलियो बनाउँछन्‌ र विश्वासी भएर यहोवाको सेवा गरिरहन भाइबहिनीलाई मदत गर्छन्‌। यस्ता मायालु गोठालाहरू पाएकोमा हामी औधी खुसी छौं र हाम्रा महान्‌ गोठालो यहोवालाई मुरीमुरी धन्यवाद दिन्छौं।