सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

थुमाको विवाहमा रमाउनुहोस्!

थुमाको विवाहमा रमाउनुहोस्!

“आओ, हामी रमाऔं र असाध्यै खुसी होऔं . . . किनकि थुमाको विवाह हुन लागेको छ।”—प्रका. १९:७.

१, २. (क) कसको विवाहले स्वर्गमा ठूलो रमाहट ल्याउनेछ? (ख) कस्ता प्रश्नहरूबारे हामी छलफल गर्नेछौं?

विवाहको तयारी गर्न समय लाग्छ। तर हामी एउटा विशेष विवाहबारे छलफल गर्नेछौं। त्यो शाही विवाह हो। लगभग २,००० वर्षअघिदेखि त्यस विवाहको तयारी चलिरहेको छ। दुलहा र दुलही एक हुने समय एकदमै नजिक छ। राजाको महल बाजागाजाले भरिनेछ। स्वर्गीय जनहरूले यस्तो गीत गाउनेछन्‌: “हल्लेलूयाह, किनकि हाम्रा सर्वशक्तिमान्‌ परमेश्वर यहोवाले राजाको रूपमा शासन गर्न थाल्नुभएको छ। आओ, हामी रमाऔं र असाध्यै खुसी होऔं अनि उहाँको महिमा गरौं, किनकि थुमाको विवाह हुन लागेको छ र तिनकी दुलहीले आफूलाई तयार पारिसकेकी छिन्‌।”—प्रका. १९:६, ७.

यस पदमा उल्लेख गरिएको “थुमा” येशू ख्रीष्ट हुनुहुन्छ। (यूह. १:२९) उहाँको विवाहले स्वर्गमा रमाहट ल्याउनेछ। विवाहमा उहाँ कस्तो पोसाक लगाउनुहुन्छ? उहाँकी दुलही को हुन्‌? तिनले विवाहको लागि कस्तो तयारी गर्दै छिन्‌? विवाह कहिले हुन्छ? पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएकाहरू पनि स्वर्गमा हुने रमाहटमा सामेल हुनेछन्‌ कि? हामी यी प्रश्नहरूको जवाफ  पाउन उत्सुक छौं। त्यसैले भजन अध्याय ४५ का थप पदहरू जाँचौं।

‘उहाँको पोसाक बास्नादार छ’

३, ४. (क) दुलहाको पोसाकबारे भजनरचयिता के भन्छन्‌? राजा किन झनै हर्षित हुन्छन्‌? (ख) दुलहासँगसँगै रमाउने “राजकुमारीहरू” र “महारानी” को हुन्‌?

भजन ४५:८, ९ पढ्नुहोस्। दुलहा येशू ख्रीष्ट विवाहको शाही पोसाक लगाउनुहुन्छ। उहाँको पोसाकबाट मूर्र र तेजपातजस्ता “मुख्य-मुख्य मसला”-बाट बनिएको अत्तरको मीठो बास्ना आउँछ। प्राचीन इस्राएलमा यी मसलाहरू अभिषेक गर्ने पवित्र तेल बनाउन प्रयोग गरिन्थ्यो।—प्रस्थ. ३०:२३-२५.

दुलहाको महलमा बजाइएका बाजागाजाले गर्दा विवाह नजिकिंदै जाँदा दुलहा झनै हर्षित हुन्छन्‌। परमेश्वरको सङ्गठनको स्वर्गमा रहेको भागलाई बुझाउने “महारानी” पनि दुलहासँगसँगै रमाउँछिन्‌। अनि परमेश्वरको सङ्गठनको यस भागमा “राजकुमारीहरू” अर्थात्‌ पवित्र स्वर्गदूतहरू पनि समावेश छन्‌। तिनीहरू पनि दुलहासँगसँगै रमाउँछन्‌। स्वर्गबाट यस्तो आवाज आउँछ: “आओ, हामी रमाऔं र असाध्यै खुसी होऔं . . . किनकि थुमाको विवाह हुन लागेको छ।”

दुलही विवाहको लागि तयार छिन्‌

५. “थुमाकी दुलही” को हुन्‌?

भजन ४५:१०, ११ पढ्नुहोस्। दुलहा को हुनुहुन्छ भनेर त हामीले बुझ्यौं तर दुलही नि? दुलहीले १ लाख ४४ हजार अभिषिक्त ख्रीष्टियनहरूको समूहलाई बुझाउँछ। अभिषिक्त ख्रीष्टियनहरू मिलेर बनेको यस मण्डलीको शिर येशू हुनुहुन्छ। (एफिसी ५:२३, २४ पढ्नुहोस्) तिनीहरूले मसीही राज्यमा ख्रीष्टसँगसँगै शासन गर्नेछन्‌। (लूका १२:३२) तिनीहरू “थुमा जता-जता जान्छन्‌, त्यतै-त्यतै तिनको पछि लाग्छन्‌।” (प्रका. १४:१-४) तिनीहरू “थुमाकी दुलही” बन्छन्‌ र उहाँको घर स्वर्गमा जान्छन्‌।—प्रका. २१:९; यूह. १४:२, ३.

६. अभिषिक्त ख्रीष्टियनहरूलाई किन “राजकुमारी” भनिएको छ? तिनीहरूलाई किन ‘आफ्ना मानिसहरूलाई बिर्सन’ सल्लाह दिइएको छ?

यी दुलहीलाई “राजकुमारी” भनिएको छ। (भज. ४५:१३) त्यसोभए ती राजकुमारीका बुबा अर्थात्‌ राजा को हुनुहुन्छ? उहाँ यहोवा हुनुहुन्छ। अभिषिक्त ख्रीष्टियनहरूलाई यहोवाले आफ्नो “सन्तान”-को रूपमा स्वीकार्नुभएको छ। (रोमी ८:१५-१७) तिनीहरू स्वर्गमा दुलही हुने भएकोले तिनीहरूलाई यस्तो सल्लाह दिइएको छ: “तिम्रो आफ्नै मानिसहरू र तिम्रा पिताको घरलाई पनि बिर्स।” तिनीहरूले ‘माथिका कुराहरूमा ध्यान दिइरहनुपर्छ, पृथ्वीका कुराहरूमा होइन।’—कल. ३:१-४.

७. (क) ख्रीष्ट आफ्नी भावी दुलहीलाई कसरी तयार पार्दै हुनुहुन्छ? (ख) दुलहीलाई आफ्नो भावी पति कस्तो लाग्छ?

सयौं वर्षदेखि ख्रीष्टले आफ्नी भावी दुलहीलाई स्वर्गमा हुने विवाहको लागि तयार पार्दै हुनुहुन्छ। प्रेषित पावलले यस्तो लेखे: “ख्रीष्टले . . . मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो, ताकि त्यसलाई परमेश्वरको वचनको पानीले धोएर पवित्र पार्न सकियोस् र मण्डलीलाई त्यसको वैभवसहित आफूसामु यस्तो रूपमा प्रस्तुत गर्न सकियोस्, जसमा कुनै दाग लागेको वा चाउरी परेको वा कुनै किसिमको खोट लागेको नहोस्, बरु पवित्र अनि निष्खोट होस्।” (एफि. ५:२५-२७) पावलले प्राचीन कोरिन्थका अभिषिक्त ख्रीष्टियनहरूलाई यसो भने: “म ईश्वरीय डाहले तिमीहरूको निम्ति डाही भएको छु, किनकि एक जना पुरुषसित विवाह गराइदिन म आफैले तिमीहरूको मगनी गरिदिएको छु, ताकि तिमीहरूलाई एउटी चोखो कुमारी केटीलाई जस्तै गरी ख्रीष्टलाई सुम्पन सकूँ।” (२ कोरि. ११:२) दुलहीले गर्ने उपासना शुद्ध र परमेश्वरको नजरमा ग्रहणयोग्य भएकोले दुलहा येशू ख्रीष्ट तिनलाई सुन्दरी ठान्नुहुन्छ। अनि दुलही पनि उहाँलाई आफ्नो “स्वामी”-को रूपमा स्वीकार्छिन्‌ र आफ्नो भावी पति मानेर उहाँलाई “दण्डवत्‌” गर्छिन्‌।

 दुलहीलाई ‘राजाकहाँ पुऱ्याइन्छ’

८. दुलहीलाई “अति शोभायमान” भन्नु किन उचित छ?

भजन ४५:१३, १४क पढ्नुहोस्। दुलही “दुलहाको लागि सिंगारिएकी” छिन्‌ र शाही विवाहको लागि “अति शोभायमान” देखिन्छिन्‌। प्रकाश २१:२ मा दुलहीलाई एउटा सहर अर्थात्‌ नयाँ यरूशलेमसित तुलना गरिएको छ। स्वर्गमा भएको यो सहर “परमेश्वरको महिमाले” भरिपूर्ण छ र यसको “चमक मणिभझैं चम्कने बहुमूल्य रत्न यशवमणिको जस्तो” छ। (प्रका. २१:१०, ११) नयाँ यरूशलेमको सौन्दर्यबारे प्रकाशको पुस्तकमा राम्ररी वर्णन गरिएको छ। (प्रका. २१:१८-२१) त्यसकारण भजनरचयिताले दुलहीलाई “अति शोभायमान” भन्नु उचित छ। यो विवाह स्वर्गमा हुने भएकोले हामी यस्तै आशा गर्न सक्छौं।

९. दुलहीलाई कसकहाँ पुऱ्याइन्छ? तिनको पोसाक कस्तो छ?

दुलहीलाई तिनको दुलहा अर्थात्‌ मसीही राजाकहाँ पुऱ्याइन्छ। दुलहाले तिनलाई “परमेश्वरको वचनको पानीले धोएर” पवित्र पार्नुभएको छ र तयार पार्नुभएको छ। दुलही “पवित्र अनि निष्खोट” छिन्‌। (एफि. ५:२६, २७) तिनले पनि विवाहमा उपयुक्त पोसाक लगाएकी छिन्‌। तिनको पोसाकमा सुन जडिएको छ। अनि कार्चोप” अर्थात्‌ बुट्टा भरिएको पोसाकमा ‘तिनी राजाकहाँ पुऱ्याइनेछिन्‌।’ थुमाको विवाहको लागि “दुलहीलाई उज्यालो, सफा मलमलको लुगा लगाउन दिइएको छ, किनकि मलमलको लुगाको अर्थ पवित्र जनहरूले परमेश्वरको स्तरबमोजिम गरेका असल कामहरू हुन्‌।”—प्रका. १९:८.

“विवाह हुन लागेको छ”

१०. थुमाको विवाह कहिले हुनेछ?

१० प्रकाश १९:७ पढ्नुहोस्। थुमाको विवाह कहिले हुनेछ? प्रकाश १९:७ मा “तिनकी दुलहीले आफूलाई तयार पारिसकेकी छिन्‌” भनिए तापनि त्यसपछिका पदहरूमा विवाहबारे वर्णन गरिएको छैन। बरु ती पदहरूमा महासङ्कष्टको अन्तिम चरणमा हुने घटनाहरूबारे व्याख्या गरिएको छ। (प्रका. १९:११-२१) के यसको मतलब दुलहा राजाले आफ्नो विजययात्रा पूरा गर्नुअघि नै विवाह हुनेछ भन्ने हो? होइन। प्रकाशको पुस्तकमा भविष्यवाणी गरिएका घटनाहरू ती घटना हुने क्रमअनुसार लेखिएका छैनन्‌। भजन अध्याय ४५ मा बताइएअनुसार राजा येशू ख्रीष्टले तरबार भिर्नुहुन्छ र आफ्ना शत्रुहरूमाथि विजय हासिल गर्नुहुन्छ। त्यसपछि मात्र शाही विवाह सम्पन्न हुन्छ।—भज. ४५:३, ४.

११. येशूले कुन क्रमअनुसार आफ्नो विजययात्रा पूरा गर्नुहुनेछ?

११ घटनाक्रम यस्तो हुनेछ भन्ने निष्कर्षमा हामी पुग्न सक्छौं: पहिला, “महावेश्या” अर्थात्‌ झूटो धर्मको विश्वसाम्राज्य महान्‌ बेबिलोनलाई नामेट पारिनेछ। (प्रका. १७:१, ५, १६, १७; १९:१, २) त्यसपछि सैतानको दुष्ट संसारको बाँकी भागलाई ख्रीष्टले “सर्वशक्तिमान्‌ परमेश्वरको महान्‌ दिनको लडाइँ” आरमागेडोनमा नाश गर्नुहुनेछ। (प्रका. १६:१४-१६; १९:१९-२१) अन्तमा सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई अगाध खाडलमा हुर्ऱ्याएर मृत्युसरी अवस्थामा पुऱ्याउनुहुनेछ। यसरी उहाँको विजययात्रा पूरा हुनेछ।—प्रका. २०:१-३.

१२, १३. (क) थुमाको विवाह कहिले हुनेछ? (ख) थुमाको विवाहमा स्वर्गमा क-कसले आनन्द मनाउनेछन्‌?

१२ यस अन्तको दिनमा, मृत्युसम्मै वफादार रहेका अभिषिक्त ख्रीष्टियनहरू पुनर्जीवित भएर स्वर्ग जानेछन्‌। महान्‌ बेबिलोनलाई नाश गरेको केही समयपछि येशूले दुलही वर्गका बाँकी सदस्यहरूलाई स्वर्गमा जम्मा गर्नुहुनेछ। (१ थिस्स. ४:१६, १७) त्यसकारण आरमागेडोनको युद्ध सुरु हुनुअघि नै “दुलही” वर्गका सबै सदस्य स्वर्ग गइसकेका हुनेछन्‌। त्यस युद्धपछि थुमाको विवाह सम्पन्न हुनेछ। त्यो कत्ति रमाइलो क्षण हुनेछ! प्रकाश १९:९ भन्छ: “आनन्दित हुन्‌ तिनीहरू, जसले थुमाको विवाहको प्रीतिभोजको निम्तो पाएका छन्‌।” दुलही वर्गका १ लाख ४४ हजार  सदस्य निश्चय पनि आनन्दित हुनेछन्‌। अनि सबै अभिषिक्त सङ्गीहरूलाई आफूसितै स्वर्गमा देख्न पाउँदा दुलहा अत्यन्तै हर्षित हुनुहुनेछ। (लूका २२:१८, २८-३०) तर थुमाको विवाहमा आनन्द मनाउनेहरू दुलहा र दुलही मात्र हुनेछैनन्‌।

१३ हामीले पहिल्यै पढेअनुसार स्वर्गीय जनहरूले यस्तो गीत गाउनेछन्‌: “आओ, हामी रमाऔं र असाध्यै खुसी होऔं अनि उहाँको [यहोवाको] महिमा गरौं, किनकि थुमाको विवाह हुन लागेको छ र तिनकी दुलहीले आफूलाई तयार पारिसकेकी छिन्‌।” (प्रका. १९:६, ७) पृथ्वीमा भएका यहोवाका सेवकहरूबारे चाहिं के भन्न सकिन्छ? के तिनीहरू पनि सँगसँगै रमाउनेछन्‌?

“आनन्दसित तिनीहरू डोऱ्याइनेछन्‌”

१४. भजन ४५ मा उल्लेख गरिएको “कुमारी सहेलीहरू” को हुन्‌?

१४ भजन ४५:१२, १४ख, १५ पढ्नुहोस्। अन्तको समयमा सबै जातिका मानिसहरू अभिषिक्त ख्रीष्टियनहरूप्रति कृतज्ञ हुँदै सेवा गर्नेछन्‌ भनेर जकरियाले भविष्यवाणी गरे। तिनले लेखे: “ती दिनमा सबै जातिका विभिन्न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंसित हुनुहुन्छ।’” (जक. ८:२३) यी प्रतीकात्मक “दश जना मानिस”-लाई भजन ४५:१२ मा “टायरकी राजकुमारी” र “प्रजाहरूमा धनीहरू” भनिएको छ। अभिषिक्त ख्रीष्टियनहरूलाई साथ दिन तिनीहरू उनीहरूकहाँ जान्छन्‌ र उनीहरूबाट आध्यात्मिक मदत पाउन अथक प्रयास गर्छन्‌। सन्‌ १९३५ देखि यी अभिषिक्त ख्रीष्टियनहरूले लाखौं मानिसलाई “सत्य मार्गमा” डोऱ्याएका छन्‌। (दानि. १२:३) अभिषिक्त ख्रीष्टियनहरूका यी वफादार सङ्गीहरूले आफूलाई झूटो उपासनाबाट अलग राखेर शुद्ध  पारेका छन्‌। त्यसकारण तिनीहरूलाई दुलहीका “कुमारी सहेलीहरू” भनिएको छ। तिनीहरूले आफ्नो जीवन यहोवामा समर्पण गरेका छन्‌ र आफूलाई राजा येशू ख्रीष्टको वफादार प्रजा प्रमाणित गरेका छन्‌।

१५. “कुमारी सहेलीहरू”-ले अभिषिक्त ख्रीष्टियनहरूसँगै मिलेर कसरी काम गरिरहेका छन्‌?

१५ “कुमारी सहेलीहरू”-ले सारा पृथ्वीभरि ‘राज्यको सुसमाचार’ प्रचार गर्न जोसिलो हुँदै मदत गरेकोमा अभिषिक्त ख्रीष्टियनहरू तिनीहरूप्रति कृतज्ञ छन्‌। (मत्ती २४:१४) “पवित्र शक्ति अनि दुलहीले” मात्र होइन, ‘जसले सुन्छ, उसले यसो भनिरहेको छ: “आऊ!”’ (प्रका. २२:१७) हो, दुलही वर्गले “आऊ!” भनिरहेको “अरू भेडा”-ले सुनेको छ र तिनीहरूले पनि दुलही वर्गसितै मिलेर पृथ्वीभरिका मानिसहरूलाई “आऊ!” भनिरहेका छन्‌।—यूह. १०:१६.

१६. यहोवाले अरू भेडालाई कस्तो सुअवसर दिनुभएको छ?

१६ अभिषिक्त ख्रीष्टियनहरू अरू भेडालाई माया गर्छन्‌। यहोवाले अरू भेडालाई पनि थुमाको विवाहमा सँगसँगै रमाउने सुअवसर दिनुभएकोमा अभिषिक्त ख्रीष्टियनहरू खुसी छन्‌। यी “कुमारी सहेलीहरू” ‘खुसी र आनन्दसाथ डोऱ्याइनेछन्‌’ भनेर भविष्यवाणी गरिएको थियो। हो, स्वर्गमा थुमाको विवाह हुँदा ब्रह्माण्डभरि हुने रमाहटमा पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका अरू भेडा पनि सामेल हुनेछ। प्रकाशको किताबले “ठूलो भीड”-लाई “सिंहासन र थुमाको अगाडि उभिरहेका” व्यक्तिहरूको रूपमा चित्रण गरेको छ। तिनीहरू आध्यात्मिक मन्दिरको पार्थिव चोकमा यहोवा लाई पवित्र सेवा चढाउँछन्‌।—प्रका. ७:९, १५.

थुमाको विवाहमा दुलहीका “कुमारी सहेलीहरू” रमाउनेछन्‌ (अनुच्छेद १६ हेर्नुहोस्)

“तिम्रा पुर्खाका सट्टामा तिम्रा छोराहरू हुनेछन्‌”

१७, १८. थुमाको विवाहले नयाँ संसारमा कस्तो लाभ ल्याउनेछ? हजार वर्षीय शासनमा ख्रीष्ट कसको बुबा हुनुहुनेछ?

१७ भजन ४५:१६ पढ्नुहोस्। थुमाको विवाहले नयाँ संसारमा ल्याएका लाभहरू देख्दा दुलहीका “कुमारी सहेलीहरू”-ले आनन्दित हुने थप कारण पाउनेछन्‌। दुलहा राजाले पृथ्वीका आफ्ना “पुर्खा”-लाई पुनर्जीवित पार्नुहुनेछ। ख्रीष्टले उनीहरूलाई फेरि जीवन दिने भएकोले ती “पुर्खा” उहाँका “छोराहरू” हुनेछन्‌। (यूह. ५:२५-२९; हिब्रू ११:३५) ख्रीष्टले ती “छोराहरू”-मध्ये केहीलाई “सारा पृथ्वीभरिका राजकुमार” तुल्याउनुहुनेछ। आजका वफादार एल्डरहरूमध्ये केहीलाई पनि येशूले नयाँ संसारमा नेतृत्व लिन प्रयोग गर्ने आशा गर्न सक्छौं।—यशै. ३२:१.

१८ हजार वर्षीय शासनमा येशू अरूको पनि बुबा हुनुहुनेछ। कसरी? येशूको फिरौतीको बलिदानमा विश्वास गर्नेहरू पृथ्वीमा सधैंभरि बाँच्नेछन्‌। (यूह. ३:१६) त्यसपछि ख्रीष्ट उनीहरूको “सनातनका पिता” हुनुहुनेछ।—यशै. ९:६, ७.

राजाको ‘नाम पुस्तौंसम्म सम्झने तुल्याउन’ उत्प्रेरित

१९, २०. भजन अध्याय ४५ मा उल्लेख गरिएका रोमाञ्चक घटनाहरूले कसरी सबै ख्रीष्टियनलाई असर गर्छ?

१९ भजन ४५:१, १७ पढ्नुहोस्। भजन अध्याय ४५ मा उल्लेख गरिएका घटनामा सबै ख्रीष्टियनले चासो राख्नुपर्छ। पृथ्वीमा बाँकी रहेका अभिषिक्त ख्रीष्टियनहरू आफ्ना भाइहरूसित र दुलहासित स्वर्गमा एक हुन एकदमै उत्सुक छन्‌। अरू भेडा महिमित राजाको अधीनमा बस्न उत्प्रेरित भएको छ र दुलही वर्गका बाँकी सदस्यसँगै काम गर्न पाउँदा कृतज्ञ छ। विवाहपछि ख्रीष्ट र उहाँकी दुलहीले मानिसजातिलाई दिने आशिष्‌ हामीले कल्पना गरेको भन्दा कता हो कता धेरै हुनेछ।—प्रका. ७:१७; २१:१-४.

२० मसीही राजासम्बन्धी भविष्यवाणी पूरा हुने समयको प्रतीक्षा गर्दा हामी पक्कै पनि मानिसहरूमाझ उहाँको ‘नाम पुस्तौंसम्म सम्झने तुल्याउन’ उत्प्रेरित हुन्छौं। त्यसैले आउनुहोस्, सबै मिलेर “सदासर्वदा” राजाको प्रशंसा गरिरहौं!