सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘यहोवाको शोभा हेर्नुहोस्’

‘यहोवाको शोभा हेर्नुहोस्’

कठिन परिस्थितिले हाम्रो जीवनमा नराम्रो असर पार्न सक्छ। आफूले भोगिरहेको समस्यामा मात्र ध्यान जान सक्छ, कमजोर हुन सक्छौं र जीवनप्रतिको हाम्रो दृष्टिकोण नै बदलिन सक्छ। पुरातन इस्राएलका राजा दाऊदले पनि थुप्रै कठिनाइ भोगे। तिनले कसरी ती कठिनाइको सामना गर्न सके? मनै छुने शैलीमा दाऊदले यसो भने: “उच्च स्वरमा म परमप्रभुलाई पुकार्छु, मेरो उच्च स्वरले म परमप्रभुमा अन्तरबिन्ती गर्छु। म मेरो दुःखपुकार उहाँकै सामने राख्छु, म मेरो दुःख उहाँलाई देखाउँछु। मेरो आत्मा मभित्र खिन्न हुँदा तपाईंले मेरो बाटो जान्नुहुन्छ।” हो, दाऊदले नम्र हुँदै मदतको लागि यहोवालाई प्रार्थना गरे।—भज. १४२:१-३.

कठिन परिस्थितिमा दाऊदले नम्र हुँदै यहोवालाई प्रार्थना गरे

अर्को भजनमा दाऊदले यसो भने: “एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु, कि परमप्रभुको शोभा हेर्न, र उहाँको मन्दिरमा [“कृतज्ञ भई,” NW] ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाऊँ।” (भज. २७:४) दाऊद लेवी थिएनन्‌। तैपनि तिनी बासस्थान नजिकैको पवित्र चोकबाहिर उभिरहेको कल्पना गर्नुहोस्। दाऊद यत्ति धेरै कृतज्ञ छन्‌, तिनी जीवनभर त्यहीं बसेर ‘यहोवाको शोभा हेर्न’ चाहन्छन्‌।

“शोभा” भन्ने शब्दले यहोवाको महिमा र भव्यतालाई बुझाउँछ। उपासनाको सन्दर्भमा यहोवाले मिलाउनुभएको प्रबन्धप्रति दाऊद सधैं कृतज्ञ थिए। हामीले आफैलाई यस्तो प्रश्न गर्नुपर्छ, ‘के म पनि दाऊदजस्तै कृतज्ञ छु?’

यहोवाको प्रबन्धप्रति ‘कृतज्ञ हुनुहोस्’

अहिले यहोवासित नजिक हुन उहाँले मिलाउनुभएको प्रबन्ध भौतिक संरचना मात्र होइन। यसमा विशाल आध्यात्मिक मन्दिर अर्थात्‌ साँचो उपासनाको लागि मिलाइएको पवित्र प्रबन्ध समावेश छ। * यहोवाको प्रबन्धप्रति ‘कृतज्ञ भयौं’ भने हामीले पनि ‘उहाँको शोभा हेर्न’ सक्छौं।

बासस्थान बाहिर राखिएको तामाको होम-वेदी पनि विचार गर्नुहोस्। (प्रस्थ. ३८:१, २; ४०:६) येशूले दिनुहुने बलिदान स्वीकार्न यहोवा इच्छुक हुनुभएको कुरा त्यस वेदीले सङ्केत गर्थ्यो। (हिब्रू १०:५-१०) यसले हाम्रो लागि कस्तो अर्थ राख्छ? प्रेषित पावलले यस्तो लेखे: “हामी शत्रु छँदै उहाँको छोराको मृत्युले गर्दा परमेश्वरसित हाम्रो मिलाप भयो।” (रोमी ५:१०) येशूले हाम्रै लागि रगत बगाउनुभएको हो भन्ने कुरामा विश्वास गरेर हामी परमेश्वरको मित्र बन्न सक्छौं। परमेश्वरको मित्रको रूपमा हामीले उहाँको निगाह पाउँछौं र उहाँको भरोसा जित्न सक्छौं। परिणामस्वरूप हामी ‘यहोवासित घनिष्ठ’ हुन्छौं।—भज. २५:१४.

हाम्रो ‘पाप मेटिएकोले’ हामीले ‘यहोवाबाट स्फूर्ति प्राप्त गरेका छौं।’ (प्रेषि. ३:१९) हाम्रो अवस्था एक जना कैदीको जस्तै छ, जसले मृत्युदण्ड कुर्दै गर्दा विगतमा गरेको गल्तीको लागि पश्‍चात्ताप गर्छ र जीवनशैली परिवर्तन गर्छ। यो देखेर एक जना दयालु न्यायाधीश त्यस कैदीलाई मृत्युदण्डदेखि जोगाउन उत्प्रेरित हुन्छन्‌। त्यो कैदी कत्ति खुसी होला, कल्पना गर्नुहोस् त! ती न्यायाधीशजस्तै यहोवा पनि पश्‍चात्ताप गर्नेहरूमाथि निगाह देखाउनुहुन्छ र उनीहरूलाई मृत्युदेखि जोगाउनुहुन्छ।

साँचो उपासनामा रमाउनुहोस्

दाऊदले यहोवाको घरमा साँचो उपासनासित सम्बन्धित थुप्रै गतिविधि देख्न सक्थे। जस्तै: सङ्गी इस्राएलीहरू एक ठाउँमा भेला भएको; पुजारी तथा लेवीहरूले व्यवस्था पढेर सुनाएको र व्याख्या गरेको, मन्दिरमा धूप बालेको अनि पवित्र  सेवा चढाएको। (प्रस्थ. ३०:३४-३८; गन्ती ३:५-८; व्यव. ३१:९-१२) पुरातन इस्राएलमा साँचो उपासनाको लागि गरिने यी गतिविधि र हाम्रो समयमा साँचो उपासनाको लागि गरिने गतिविधिबीच केही समानता छन्‌।

पुरातन समयमा जस्तै अहिले पनि भाइबहिनीहरू “आपसमा एकतामा भएर बस्नु कत्ति असल र मनोहर कुरा!” (भज. १३३:१) विश्वभरि नै भाइबहिनीहरूको सङ्ख्या तीव्र गतिमा बढ्दै छ। (१ पत्रु. २:१७) हाम्रा सभाहरूमा परमेश्वरको वचन पढिन्छ र व्याख्या गरिन्छ। आफ्नो सङ्गठनमार्फत यहोवाले हामीलाई प्रशस्त मात्रामा निर्देशन दिइरहनुभएको छ। व्यक्तिगत र पारिवारिक अध्ययनमा प्रयोग गर्नको लागि प्रशस्त मात्रामा साहित्यहरू छापिएका छन्‌। परिचालक निकायका एक सदस्यले यसो भने: “हरेक दिन यहोवाको वचन मनन गर्दा, पढेका कुराहरूको अर्थबारे गहिरिएर सोच्दा अनि अन्तरदृष्टि र समझ खोज्दा प्रशस्त आध्यात्मिक भोजन पाएको र सन्तुष्ट भएको महसुस गर्छु।” हो, ‘ज्ञानले हाम्रो हृदयलाई आनन्दित’ बनाउन सक्छ।—हितो. २:१०.

यहोवा हरेक दिन आफ्ना जनहरूको प्रार्थना सुन्नुहुन्छ। यहोवा आफ्ना जनहरूको प्रार्थनालाई धूपको मीठो बास्नाजस्तै ठान्नुहुन्छ। (भज. १४१:२) हामीले नम्र हुँदै प्रार्थना गरेको देख्दा यहोवालाई खुसी लाग्छ भन्ने कुरा विचार गर्दा हामी सन्तुष्टि पाउँछौं।

मोशाले यसरी प्रार्थना गरे: “हाम्रा परमप्रभु परमेश्वरको सुन्दरता हामीमा रहोस्, र हाम्रा हातका कामहरू . . . स्थिर गर्नुहोस्।” (भज. ९०:१७) जोसिलो भई क्षेत्र सेवामा भाग लिंदा यहोवा हाम्रो काममा आशिष्‌ दिनुहुन्छ। (हितो. १०:२२) हामीले कसैलाई सत्य सिक्न मदत गऱ्यौं होला। भावशून्यता, स्वास्थ्य समस्या, भावनात्मक पीडा वा सतावटको बाबजुद वर्षौंसम्म सुसमाचार प्रचार गरिरह्यौं होला। (१ थिस्स. २:२) यस्तो परिस्थितिमा के हामीले ‘यहोवाको शोभा’ देखेनौं र? हाम्रो प्रयास देखेर यहोवा अति प्रसन्न हुनुहुन्छ भनी महसुस गरेनौं र?

दाऊदले यसरी गाए: “परमप्रभु नै मेरो अधिकारको हिस्सा र कचौराको भाग हुनुहुन्छ। तपाईंले मेरो भाग कायम राख्नुहुन्छ। नापको जञ्जीर मलाई मनपर्ने ठाउँमा परेको छ।” (भज. १६:५, ६) दाऊद आफ्नो “हिस्सा” पाएकोमा अर्थात्‌ यहोवाको निगाह र उहाँको सेवा गर्ने सुअवसर पाएकोमा कृतज्ञ थिए। दाऊदले जस्तै हामीले पनि कठिनाइहरू भोग्नुपर्ने हुन सक्छ। तर हामीले थुप्रै आशिष्‌ पाएका छौं। त्यसकारण साँचो उपासनामा रमाइरहौं र यहोवाको प्रबन्धप्रति ‘कृतज्ञ भइरहौं।’

^ अनु. 6 जुलाई १, १९९६ को प्रहरीधरहरा, पृष्ठ १४-२४ हेर्नुहोस्।