सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मोशाको विश्वास अनुकरण गर्नुहोस्

मोशाको विश्वास अनुकरण गर्नुहोस्

“विश्वासैले गर्दा मोशाले आफू हुर्किएपछि मिश्रका राजाकी छोरीको छोरा कहलाइन इन्कार गरे।”—हिब्रू ११:२४.

१, २. (क) मोशा ४० वर्षको हुँदा तिनले कस्तो निर्णय गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) मोशाले किन परमेश्वरका जनहरूसितै दुर्व्यवहार भोग्न रोजे?

मिश्रमा पाइने सुविधाहरूबारे मोशालाई राम्ररी थाह थियो। तिनले धनीहरूको भव्य महल देखेका थिए। तिनी राज घरानामा हुर्केका थिए। साहित्य, इतिहास र भाषासित सम्बन्धित विषयलगायत खगोलविद्या, गणितजस्ता “मिश्रीहरूको सारा विद्यामा मोशा निपुण” थिए। (प्रेषि. ७:२२) मोशाले पाएको धन-दौलत, शक्ति र ओहदा त्यतिबेलाका सामान्य मिश्रीहरूका लागि ‘आकाशको फल आँखा तरी मर्’ भनेझैं थियो।

तर मोशा ४० वर्षको हुँदा तिनले गरेको निर्णय देखेर तिनलाई हुर्काउने मिश्री राज घराना पनि छक्कै परेको हुनुपर्छ। तिनले त्यतिबेलाका “साधारण” मिश्रीहरूको जीवनशैलीसमेत रोजेनन्‌। बरु दासहरूसितै जीवन बिताउन रोजे। किन? विश्वासको कारण। (हिब्रू ११:२४-२६ पढ्नुहोस्) विश्वासले गर्दा मोशाले आफू वरपरको संसारभन्दा अझ टाढाको कुरा देखे। आध्यात्मिक व्यक्ति भएकोले तिनी “अदृश्य परमेश्वर”-मा र उहाँका प्रतिज्ञाहरूमा विश्वास गर्थे।—हिब्रू ११:२७.

३. यस लेखमा कुन तीनवटा प्रश्नबारे छलफल गर्नेछौं?

हामीले पनि आँखाले देख्न सक्नेभन्दा टाढाको कुरा हेर्नुपर्छ। हामी ‘विश्वास राख्ने खालको’ मानिस हुनुपर्छ। (हिब्रू १०:३८, ३९) मोशाबारे हिब्रू ११:२४-२६ मा पाइने विवरण जाँचौं। यस विवरणले हामीलाई विश्वास बलियो बनाउन मदत गर्छ। उक्त विवरण जाँच्दा यी प्रश्नहरूको जवाफ पनि खोज्नुहोस्:  शरीरका अभिलाषाहरू इन्कार गर्न मोशालाई विश्वासले कसरी मदत गऱ्यो? निन्दा गरिंदासमेत आफूले पाएको सुअवसरको कदर गर्न तिनलाई विश्वासले कसरी मदत गऱ्यो? अनि तिनले किन ‘आफूले पाउने इनाममा नजर लगाए’?

तिनले शरीरका अभिलाषाहरूलाई इन्कार गरे

४. ‘पापको सुखभोगबारे’ मोशाले कुन कुरा बुझेका थिए?

मोशामा विश्वास भएको कारण ‘पापको सुखभोग’ क्षणिक मात्र हो भनेर बुझ्न सके। कसै-कसैलाई यस्तो लागेको हुनुपर्छ: ‘यहोवाका जनहरूले दासको रूपमा दुःख भोग्ने तर मूर्तिपूजा र दुष्ट स्वर्गदूतको प्रभाव व्याप्त भएको देशचाहिं विश्वशक्ति हुने! यो त अन्याय भएन र?’ तर यहोवाले परिस्थिति परिवर्तन गर्न सक्नुहुन्छ भनेर मोशालाई थाह थियो। दुष्टहरूको फलिफाप भइरहेको जस्तो देखिए तापनि उनीहरू बिलाएर जानेछन्‌ भन्ने कुरामा मोशा पूर्ण विश्वास गर्थे। त्यसकारण तिनले “पापको क्षणिक सुखभोग गर्न” चाहेनन्‌।

५. “पापको क्षणिक सुखभोग”-लाई कसरी इन्कार गर्न सक्छौं?

“पापको क्षणिक सुखभोग”-लाई तपाईं कसरी इन्कार गर्न सक्नुहुन्छ? पापको सुखभोग क्षणिक मात्र हो भनेर नबिर्सनुहोस्। ‘संसार र त्यसको अभिलाषा बितेर जाँदैछ’ भन्ने कुरा विश्वासको आँखाले हेर्नुहोस्। (१ यूह. २:१५-१७) पापको पश्‍चात्ताप नगर्नेहरूको भविष्यबारे मनन गर्नुहोस्। तिनीहरू ‘चिप्ला ठाउँहरूमा छन्‌ र तिनीहरू भस्म हुन्छन्‌।’ (भज. ७३:१८, १९) पापी काम गर्ने प्रलोभन आउँदा आफैलाई सोध्नुहोस्, ‘म आफ्नो भविष्य कस्तो भएको चाहन्छु?’

६. (क) मोशाले किन “मिश्रका राजाकी छोरीको छोरा कहलाइन इन्कार गरे”? (ख) मोशाले गरेको निर्णय सही थियो जस्तो तपाईंलाई किन लाग्छ?

मोशाको विश्वासले तिनलाई पेसा छान्ने विषयमा पनि मदत गऱ्यो। “विश्वासैले गर्दा मोशाले आफू हुर्किएपछि मिश्रका राजाकी छोरीको छोरा कहलाइन इन्कार गरे।” (हिब्रू ११:२४) मोशाले यस्तो तर्क गरेनन्‌, ‘राज परिवारको सदस्यको रूपमा परमेश्वरको सेवा गर्छु अनि धनसम्पत्ति र ओहदा इस्राएली दाजुभाइलाई मदत गर्न प्रयोग गर्छु।’ बरु मोशा सम्पूर्ण मनले, सम्पूर्ण प्राणले र सम्पूर्ण शक्तिले यहोवालाई प्रेम गर्न दृढ थिए। (व्यव. ६:५) मोशाको निर्णयले तिनलाई विभिन्न कष्टबाट जोगायो। मिश्र छोड्दा तिनले त्यहाँका धनसम्पत्तिहरू छोडेर आएका थिए। तर पछि इस्राएलीहरूले मिश्रका धनसम्पत्ति लुटे! (प्रस्थ. १२:३५, ३६) फिरऊनले अपमान भोग्नुपऱ्यो र उनी मारिए। (भज. १३६:१५) तर मोशालाई बचाइयो र इस्राएल राष्ट्रलाई सुरक्षितसाथ डोऱ्याउन परमेश्वरले तिनलाई नै प्रयोग गर्नुभयो। तिनको जीवन साँच्चै अर्थपूर्ण थियो।

७. (क) मत्ती ६:१९-२१ अनुसार हामीले किन अनन्त भविष्यको लागि योजना बनाउनुपर्छ? (ख) भौतिक र आध्यात्मिक धनसम्पत्तिबीचको भिन्नता स्पष्ट पार्ने एउटा अनुभव बताउनुहोस्।

तपाईं जवान ख्रीष्टियन हुनुहुन्छ भने पेसा छनौट गर्न विश्वासले कसरी मदत गर्छ? भविष्यको लागि योजना बनाउनुहोस्। यहोवाका प्रतिज्ञाहरूमाथि विश्वास गर्नुहोस् र अस्थायी भविष्यको लागि होइन, अनन्त भविष्यको लागि योजना बनाउनुहोस्। (मत्ती ६:१९-२१ पढ्नुहोस्) सोफीले पनि त्यस्तै गरिन्‌। तिनी नाच्न (ब्याले नृत्य) सिपालु थिइन्‌। तिनलाई अमेरिकाका विभिन्न नृत्य कम्पनीबाट सित्तैंमा पढाइदिने र कम्पनीमा लोभलाग्दो पद दिने प्रस्ताव पनि आयो। तिनी भन्छिन्‌: “अरूको वाहवाही पाउँदा मेरो खुट्टै भुइँमा थिएन। नढाँटी भन्नुपर्दा, मैले आफूलाई अरू साथीहरूभन्दा उत्कृष्ट ठानें। तैपनि म खुसी थिइनँ।” त्यसपछि सोफीले युवाहरू सोध्छन्‌—म आफ्नो जीवनबाट के चाहन्छु? (अङ्ग्रेजी) भन्ने भिडियो हेरिन्‌। तिनी अझै यसो भन्छिन्‌: “संसारबाट मैले सफलता र मानिसहरूको वाहवाही त पाएँ तर यहोवालाई तनमनको उपासना भने चढाउन सकिनँ। मैले व्यग्र प्रार्थना गरें र आफ्नो पेसा छाडें।” आफूले गरेको निर्णयबारे तिनी के भन्छिन्‌? तिनी भन्छिन्‌: “म कहिल्यै पनि आफ्नो जीवन पहिलाको जस्तै भए हुन्थ्यो भनेर सोच्दिनँ। आज म एकदमै खुसी छु। श्रीमान्‌सँगै अग्रगामी सेवा गर्छु। हामीसित पहिलाको जस्तो ख्याति र सम्पत्ति त छैन। तर हामीसित यहोवा हुनुहुन्छ, बाइबल विद्यार्थीहरू छन्‌; हामीले आध्यात्मिक लक्ष्यहरू पनि राखेका छौं।  आफूले गरेको निर्णयमा मलाई कुनै पछुतो छैन।”

८. जीवनमा के गर्ने भनेर निर्णय गर्न युवाहरूलाई बाइबलको कुन सल्लाहले मदत गर्छ?

के गर्दा तपाईंको हित हुन्छ, यहोवालाई राम्ररी थाह छ। मोशाले भने: “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट चाहनुभएका कुरा यिनै हुन्‌—तिमीहरूले आफ्ना परमप्रभुको डर मान, उहाँका सबै मार्गमा हिंड, उहाँलाई प्रेम गर, औ आफ्नो पूरा मन र प्राणले परमप्रभु तिमीहरूका परमेश्वरको सेवा गर। आज तिमीहरूको हितको लागि मैले तिमीहरूलाई आदेश गरेका परमप्रभुका आज्ञा र विधिहरू मान।” (व्यव. १०:१२, १३) युवाहरू हो, यहोवालाई प्रेम गर्न अनि “आफ्नो पूरा मन र प्राणले” उहाँको उपासना गर्न मदत दिने पेसा छान्नुहोस्। त्यसो गर्नुभयो भने तपाईंकै “हित” हुनेछ।

तिनले आफूले पाएको सुअवसरको कदर गरे

९. आफूले पाएको काम पूरा गर्न मोशालाई किन गाह्रो भएको हुनुपर्छ?

मोशाले “मिश्रका धनसम्पत्तिलाई भन्दा ख्रीष्टको नाताले निन्दा सहनुलाई बढी मोलको ठाने।” (हिब्रू ११:२६) तिनलाई “ख्रीष्ट” अर्थात्‌ “अभिषिक्त जनको” रूपमा नियुक्त गरियो। यसको अर्थ इस्राएलीहरूलाई मिश्रबाट छुटाउन यहोवाले मोशालाई रोज्नुभयो। यो काम पूरा गर्न अत्यन्तै गाह्रो हुनेछ भनेर मोशालाई थाह थियो। तिनले “निन्दा” अर्थात्‌ विरोधसमेत सहनुपर्ने थियो। धेरै पहिला एक जना इस्राएलीले तिनलाई यसरी गिल्ला गरेका थिए: “कसले तिमीलाई हाम्रो मालिक र न्यायकर्ता तुल्यायो?” (प्रस्थ. २:१३, १४) पछि मोशाले यहोवालाई यसरी सोधे: ‘फिरऊनले कसरी मेरो कुरा सुन्लान्‌ र?’ (प्रस्थ. ६:१२) विरोधको लागि तयार हुन मोशाले आफ्नो मनको कुरा यहोवालाई पोखे। यो गाह्रो काम पूरा गर्न यहोवाले मोशालाई कसरी मदत गर्नुभयो?

१०. जिम्मेवारी पूरा गर्न यहोवाले मोशालाई कसरी सुसज्जित पार्नुभयो?

१० पहिलो, यहोवाले मोशालाई यस्तो आश्वासन दिनुभयो: “म तँसित हुनेछु।” (प्रस्थ. ३:१२) दोस्रो, यहोवाले आफ्नो नामको अर्थ खुलाएर तिनलाई विश्वस्त पार्नुभयो: “म हुँ जो म हुँ।” * (प्रस्थ. ३:१४) तेस्रो, मोशालाई पठाउने आफू नै हो भनेर प्रमाणित गर्न यहोवाले तिनलाई चमत्कार गर्ने शक्ति दिनुभयो। (प्रस्थ. ४:२-५) चौथो, यहोवाले हारूनलाई मोशाको सहयोगी र प्रवक्ताको रूपमा छान्नुभयो। (प्रस्थ. ४:१४-१६) यहोवा आफ्ना जनहरूलाई जस्तोसुकै जिम्मेवारी पूरा गर्न सुसज्जित पार्नुहुन्छ भनेर मोशा ढुक्क थिए। त्यसैले जीवनको अन्ततिर आफ्नो उत्तराधिकारी यहोशूलाई तिनले निर्धक्क भई यसो भन्न सके: ‘यहोवा तिम्रो अगिअगि जानुहुनेछ। उहाँ तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई निराश पार्नुहुनेछैन, तिमीलाई त्याग्नुहुनेछैन। नडराऊ, निरुत्साहित नहोऊ।’—व्यव. ३१:८.

११. मोशाले किन आफूले पाएको जिम्मेवारीको कदर गरे?

११ यहोवाको मदत पाएर मोशाले आफूले पाएको गम्भीर जिम्मेवारीको कदर गर्न सके। तिनले आफ्नो जिम्मेवारीलाई “मिश्रका धनसम्पत्तिलाई भन्दा” बहुमूल्य ठाने। हुन पनि महान्‌ परमेश्वरको सेवालाई फिरऊनको सेवासित कहाँ तुलना गर्न सकिन्थ्यो र? “ख्रीष्ट” अर्थात्‌ अभिषिक्त जनको रूपमा काम गर्ने सुअवसरलाई मिश्रको राजकुमार हुने सुअवसरसित कहाँ दाँज्न सकिन्थ्यो र? आफूले पाएको सुअवसरलाई कदर गरेकोमा मोशाले इनाम पाए। तिनी यहोवासित घनिष्ठ भए र इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशसम्म पुऱ्याउन यहोवाले तिनलाई “प्रबल शक्ति” दिनुभयो।—व्यव. ३४:१०-१२.

१२. यहोवाले हामीलाई कस्ता सुअवसरहरू दिनुभएको छ?

१२ हामीले पनि एउटा जिम्मेवारी पाएका छौं। प्रेषित पावल र अरूलाई जस्तै यहोवाले हामीलाई पनि आफ्नो छोरामार्फत सेवाको काम सुम्पनुभएको छ। (१ तिमोथी १:१२-१४ पढ्नुहोस्) हामी सबैले सुसमाचार प्रचार गर्ने सुअवसर पाएका छौं। (मत्ती २४:१४; २८:१९, २०) केहीले पूर्ण-समय  सेवा गर्छन्‌। परिपक्व भाइहरूले सहायक सेवक र एल्डरको रूपमा मण्डलीमा अरूको सेवा गर्छन्‌। तर परिवारका बेग्लै धर्म मान्ने सदस्यले वा अरूले यस्ता सुअवसरको महत्त्वबारे प्रश्न उठाउन सक्छन्‌। यहोवाको सेवा गर्न तपाईंले गर्नुभएको त्यागको लागि तपाईंको निन्दासमेत गर्न सक्छन्‌। (मत्ती १०:३४-३७) तिनीहरूले गर्दा निराश हुनुभयो भने व्यर्थमा त्याग गरेछु वा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दिनँ भन्ने सोचाइ आउन सक्छ। यस्तो अवस्थामा यहोवाको सेवा गरिरहन विश्वासले कसरी मदत गर्छ?

१३. आफ्नो जिम्मेवारी पूरा गर्न यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

१३ यहोवामा पूर्ण विश्वास राख्दै उहाँसित मदत माग्नुहोस्। आफ्नो चिन्ता र फिक्री उहाँलाई पोखाउनुहोस्। यहोवाले नै तपाईंलाई जिम्मेवारी दिएकोले त्यो पूरा गर्ने बल पनि उहाँले नै दिनुहुनेछ। कसरी? मोशालाई जसरी मदत गर्नुभयो, त्यसरी नै। पहिलो, यहोवाले तपाईंलाई यस्तो प्रतिज्ञा गर्नुभएको छ: “म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु, म मेरो धार्मिकताको दाहिने हातले तँलाई सम्हाल्नेछु।” (यशै. ४१:१०) दोस्रो, आफ्ना प्रतिज्ञाहरू भरपर्दा छन्‌ भनेर उहाँ तपाईंलाई यसरी सम्झाउनुहुन्छ: “मैले यो अभिप्राय गरेको छु। र म त्यो गर्नेनै छु।” (यशै. ४६:११) तेस्रो, यहोवाले तपाईंलाई सेवाको काम पूरा गर्न “असाधारण शक्ति” दिनुहुन्छ। (२ कोरि. ४:७) चौथो, आफ्नो जिम्मेवारी पूरा गर्न मदत दिन यहोवा तपाईंलाई विश्वभरिका साँचो उपासकहरूको साथ दिनुहुन्छ। यिनीहरू ‘एक-अर्कालाई सान्त्वना दिइरहन्छन्‌ अनि एक-अर्काको उत्थान गरिरहन्छन्‌।’ (१ थिस्स. ५:११) यहोवाले तपाईंलाई जिम्मेवारी पूरा गर्न मदत दिंदा तपाईंको विश्वास अझ बलियो हुन्छ। फलस्वरूप, तपाईंले यस संसारले दिन सक्ने कुराहरूको होइन, आफूले पाएको सुअवसरको कदर गर्नुहुनेछ।

“आफूले पाउने इनाममा तिनले आफ्नो नजर लगाए”

१४. इनाम पाउने कुरामा मोशा किन ढुक्क थिए?

१४ मोशाले “आफूले पाउने इनाममा . . . नजर लगाए।” (हिब्रू ११:२६) मोशालाई भविष्यबारे धेरै कुरा थाह थिएन। तर जति थाह थियो, त्यसकै आधारमा तिनले निर्णयहरू गरे। आफ्ना पुर्खा अब्राहामजस्तै तिनी पनि मरेकाहरूलाई यहोवाले जीवित पार्नुहुनेछ भनेर ढुक्क थिए। (लूका २०:३७, ३८; हिब्रू ११:१७-१९) मोशाले भविष्यको आशालाई मनमा राखेका थिए। त्यसैले ४० वर्षसम्म भगुवाको रूपमा बिताएको जीवनलाई र ४० वर्षसम्म उजाडस्थानमा बिताएको जीवनलाई तिनले समयको बर्बादीको रूपमा हेरेनन्‌। यहोवाले आफ्ना सबै प्रतिज्ञा कसरी पूरा गर्नुहुनेछ भनेर मोशालाई एक-एक  विवरण थाह थिएन। तैपनि विश्वासको आँखाले तिनले भविष्यमा पाउने इनाम देख्न सके।

१५, १६. (क) हामीले किन इनाममा नजर लगाउनुपर्छ? (ख) तपाईं परमेश्वरको राज्यमा कस्तो आशिष्‌ पाउन इच्छुक हुनुहुन्छ?

१५ के तपाईं ‘आफूले पाउने इनाममा नजर लगाउनुहुन्छ’? मोशालाई जस्तै हामीलाई पनि परमेश्वरका प्रतिज्ञाहरू कसरी पूरा हुन्छन्‌ भनेर सबै कुरा थाह छैन। उदाहरणको लागि, महासङ्कष्टको लागि यहोवाले “तोक्नुभएको समय” हामीलाई थाह छैन। (मर्कू. १३:३२, ३३) तर नयाँ संसारको विषयमा हामीलाई मोशालाई भन्दा धेरै थाह छ। परमेश्वरको राज्यमा जीवन कस्तो हुनेछ, त्यसबारे उहाँले थुप्रै प्रतिज्ञा गर्नुभएको छ। त्यसैले हामी परमेश्वरको राज्यमा ‘नजर लगाउन’ सक्छौं अर्थात्‌ नयाँ संसारको स्पष्ट चित्र मनमा कोर्न सक्छौं। मनमा यस्तो स्पष्ट चित्र छ भने हामी पहिले परमेश्वरको राज्य खोजी गर्न उत्प्रेरित हुनेछौं। कसरी? यसबारे सोच्नुहोस्: कुनै घरको विषयमा तपाईंलाई अलिअलि मात्र थाह छ भने के तपाईं त्यो घर किन्नुहुनेछ? निश्चय पनि किन्नुहुनेछैन! त्यसैगरि हामी धमिलो आशाको पछि दौडदैनौं। विश्वासले हामीलाई परमेश्वरको राज्यमा पाइने जीवनको स्पष्ट चित्र देख्न मदत गर्नुपर्छ।

मोशाजस्ता विश्वासी सेवकहरूसित कुराकानी गर्नु कत्ति रमाइलो हुनेछ (अनुच्छेद १६ हेर्नुहोस्)

१६ मनमा परमेश्वरको राज्यको स्पष्ट चित्र कोर्न त्यसबेला तपाईंको जीवन कस्तो हुनेछ, त्यसमा ‘नजर लगाउनुहोस्।’ आफ्नो कल्पनाशक्ति प्रयोग गर्नुहोस्। जस्तै, येशूभन्दा पहिलेका बाइबल पात्रहरूको जीवनी अध्ययन गर्दा नयाँ संसारमा उनीहरूलाई के सोध्ने भनेर सोच्नुहोस्। अन्तको समयमा तपाईंले बिताएको जीवनबारे उनीहरूले के सोध्लान्‌, कल्पना गर्नुहोस्। सयौं वर्षअघिदेखिका आफन्तहरूलाई भेटेर परमेश्वरले तिनीहरूको लागि गर्नुभएको कुराहरूबारे बताउँदा तपाईं कत्ति रमाउनुहोला, सोच्नुहोस्। शान्त वातावरणमा थुप्रै जङ्गली जनावरलाई हेरेर तिनीहरूबारे सिक्दा कत्ति रमाइलो होला, कल्पना गर्नुहोस्। बिस्तारै त्रुटिरहित हुँदै जाँदा यहोवासित कत्ति घनिष्ठ भएको महसुस गर्नुहोला, त्यसबारे मनन गर्नुहोस्।

१७. भविष्यमा पाइने इनामको स्पष्ट चित्र मनमा उतार्दा कस्तो मदत पाउँछौं?

१७ भविष्यमा पाइने इनामको स्पष्ट चित्र मनमा उतार्दा धैर्य गर्न, आनन्दित हुन र अनन्त जीवनलाई ध्यानमा राखेर निर्णय गर्न मदत मिल्छ। पावलले अभिषिक्त ख्रीष्टियनहरूलाई यस्तो लेखे: “यदि हामी जे कुरा देख्दैनौं त्यसको आशा गर्छौं भने धैर्य गरेर त्यसको प्रतीक्षा पनि गरिरहन्छौं।” (रोमी ८:२५) तर यो सल्लाह अभिषिक्त ख्रीष्टियनहरूलाई मात्र होइन, अनन्त जीवनको आशा भएका सबै ख्रीष्टियनलाई लागू हुन्छ। हामीले अहिलेसम्म इनाम पाएका छैनौं। तैपनि हाम्रो विश्वास यति बलियो छ, हामी धैर्य गर्दै ‘इनाममा नजर लगाउँछौं।’ मोशाजस्तै हामी पनि यहोवाको सेवामा बिताएका वर्षहरूलाई समयको बर्बादी ठान्दैनौं। बरु “देखिने कुराहरू अस्थायी हुन्छन्‌ तर नदेखिने कुराहरू चिरस्थायी हुन्छन्‌” भनेर विश्वास गर्छौं।२ कोरिन्थी ४:१६-१८ पढ्नुहोस्।

१८, १९. (क) विश्वास बलियो बनाइरहन हामीले किन सङ्घर्ष गर्नै पर्छ? (ख) अर्को लेखमा केबारे छलफल गर्नेछौं?

१८ विश्वासले “नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण” बुझ्न मदत गर्छ। (हिब्रू ११:१) सांसारिक सोचाइ राख्ने मानिसले परमेश्वरको सेवा गर्नुको महत्त्व बुझ्दैन। यो सुअवसर उसको लागि “मूर्खता” हुन्छ। (१ कोरि. २:१४) तर हामीचाहिं सधैंभरि बाँच्ने र मरेका मानिसहरू जीवित भएको हेर्ने आशा राख्छौं। संसारका मानिसहरूका लागि यो कल्पनै गर्न नसकिने कुरा हो। पावललाई “बकबके” भन्ने दार्शनिकहरूजस्तै आजका धेरैजसो मानिस हामीले सुनाउने सन्देशलाई बकबास ठान्छन्‌।—प्रेषि. १७:१८.

१९ हामी अविश्वासी संसारमा छौं। त्यसैले आफ्नो विश्वास बलियो बनाइरहन सङ्घर्ष गर्नै पर्छ। आफ्नो “विश्वास नडगमगाओस्” भनेर यहोवालाई बिन्ती गर्नुहोस्। (लूका २२:३२) मोशाले जस्तै पापको नतिजाबारे पहिल्यै विचार गर्नुहोस् अनि यहोवाको सेवा गर्दा पाइने सम्मान र अनन्त जीवनको आशालाई आफ्नो मनमा उतार्नुहोस्। तर मोशाबाट सिक्न सकिने पाठ यति मात्र हो? होइन। तिनको विश्वासले “अदृश्य परमेश्वरलाई” देख्न कसरी मदत गऱ्यो, अर्को लेखमा त्यसबारे छलफल गर्नेछौं।—हिब्रू ११:२७.

^ अनु. 10 प्रस्थान ३:१४ बारे एक जना बाइबलविद्ले यसो भने: “आफ्नो इच्छा पूरा गर्न उहाँलाई कुनै पनि कुराले रोक्न सक्दैन . . . यो नाम (यहोवा) इस्राएलीहरूका लागि किल्लाजस्तै हुनुपर्थ्यो; आशा र सान्त्वना दिने भण्डारसरह हुनुपर्थ्यो।”