सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘परमेश्वरको इच्छा पूरा गर्नु नै मेरो भोजन हो’

‘परमेश्वरको इच्छा पूरा गर्नु नै मेरो भोजन हो’

कुन कुराले तपाईंलाई प्रसन्न तुल्याउँछ? वैवाहिक सम्बन्ध, पारिवारिक सम्बन्ध वा साथीहरूसँगको मित्रता जस्ता कुराले हो कि? हित्तचित्त मिल्नेहरूसँगै खाना खान पनि रमाइलो लाग्छ होला। तर परमेश्वरको सेवक भएकोले उहाँको इच्छा पूरा गर्दा, उहाँको वचन अध्ययन गर्दा र प्रचार गर्दा के हामी अझ धेरै आनन्दित हुँदैनौं र?

प्राचीन इस्राएलका राजा दाऊदले सृष्टिकर्ताको प्रशंसा गर्दै यस्तो भजन गाए: “हे मेरा परमेश्वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।” (भज. ४०:८) जीवनमा थुप्रै गाह्रोसाह्रो अवस्था आइपर्दा पनि परमेश्वरको इच्छा पूरा गर्न दाऊद प्रसन्न थिए। तर साँचो परमेश्वरको सेवामा प्रसन्न भएका मानिस दाऊद मात्र त थिएनन्‌।

प्रेषित पावलले भजन ४०:८ का शब्दहरूलाई मसीह अर्थात्‌ ख्रीष्टसँग जोडे। पावलले यसो भने, “जब उहाँ [येशू] संसारमा आउनुभयो तब परमेश्वरलाई यसो भन्नुभयो: ‘बलिदान र भेटी तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर तयार पार्नुभयो। तपाईंले अग्निभेटी र पापभेटी स्वीकार्नुभएन।’ तब मैले भनें, ‘हे परमेश्वर, हेर्नुहोस्, तपाईंको इच्छा पूरा गर्न म आएँ (जस्तो पुस्तकको मुठामा मेरो विषयमा लेखिएको छ)।’”—हिब्रू १०:५-७.

पृथ्वीमा छँदा येशूले सृष्टिमा भएका सुन्दर थोकहरू हेरेर, साथीहरूसँग समय बिताएर अनि अरूसँगै खाना खाएर आनन्द उठाउनुभयो। (मत्ती ६:२६-२९; यूह. २:१, २; १२:१, २) तर उहाँको मुख्य चासोको कुरा र उहाँलाई सबैभन्दा बढी आनन्द दिने कुराचाहिं आफ्नो बुबाको इच्छा पूरा गर्नु थियो। येशूले यसो भन्नुभयो: “मलाई पठाउनुहुनेको इच्छा पूरा गर्नु अनि उहाँले दिनुभएको काम पूरा गर्नु नै मेरो भोजन हो।” (यूह. ४:३४; ६:३८) येशूका चेलाहरूले पनि आफ्ना गुरुबाट साँचो आनन्द पाउने रहस्य सिके। तिनीहरूले आनन्दित हुँदै अनि राजीखुसीसाथ अरूलाई परमेश्वरको राज्यको सन्देश सुनाए।—लूका १०:१, ८, ९, १७.

‘जाओ र चेला बनाओ’

येशूले आफ्ना अनुयायीहरूलाई यस्तो आज्ञा दिनुभयो: “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ, मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ। अनि हेर, यस युगको आखिरी  समयसम्म म सधैंभरि तिमीहरूसितै छु।” (मत्ती २८:१९, २०) उहाँले अह्राउनुभएको काम गर्नुमा के-के समावेश छ? मानिसहरूलाई जहाँ-जहाँ भेटिन्छ, त्यहीं-त्यहीं गएर प्रचार गर्नु, चासो देखाएकाहरूलाई फेरि भेट्न जानु र तिनीहरूसँग बाइबल अध्ययन गर्नु समावेश छ। यसो गर्दा हामी एकदमै आनन्दित हुन सक्छौं।

मानिसहरूले हाम्रो सन्देशलाई वास्तै नगर्दा समेत प्रचार गरिरहन प्रेमले उत्प्रेरित गर्छ

मानिसहरूले हाम्रो सन्देशमा चासो देखाऊन्‌ वा नदेखाऊन्‌, हामीलाई आनन्दित हुन मदत गर्ने मुख्य कुरा भनेको हाम्रो मनोवृत्ति हो। मानिसहरूले हाम्रो सन्देशलाई वास्तै नगर्दा समेत हामी किन प्रचार गरिरहन्छौं? प्रचार गर्नु र चेला बनाउनु भनेको परमेश्वर र छिमेकीलाई प्रेम देखाउनु हो भनेर बुझेकोले। यसमा हाम्रो आफ्नै अनि हाम्रो छिमेकीहरूको जीवन मुछिएको छ। (इज. ३:१७-२१; १ तिमो. ४:१६) अब प्रचार गर्न गाह्रो इलाकामा काम गरिरहेका हाम्रा भाइबहिनीको अनुभव विचार गरौं। उनीहरू कसरी जोसिलो भइरहन सके, त्यसबारे बुझौं।

कुनै पनि मौका नगुमाउनुहोस्

प्रचारमा सुहाउँदो प्रश्न चलाउँदा अक्सर राम्रो नतिजा प्राप्त हुन्छ। एक बिहानी अमालिया नामकी बहिनीले पार्कमा एक जना मानिसले अखबार पढिरहेको देखिन्‌। तिनी नजिकै गइन्‌ र पत्रिकामा कुनै राम्रो समाचार छ कि भनेर सोधिन्‌। छैन भन्ने जवाफ पाएपछि अमालियाले यसो भनिन्‌: “मैले परमेश्वरको राज्यबारे राम्रो समाचार ल्याएको छु।” यसले गर्दा ती मानिसमा चासो जाग्यो र उनी बाइबल अध्ययन गर्न राजी भए। अमालियाले त्यही पार्कमा तीनवटा बाइबल अध्ययन सुरु गर्न सकिन्‌।

जेनिसले काम गर्ने ठाउँलाई प्रचारको इलाका बनाएकी छिन्‌। एक जना सुरक्षा गार्ड र आफूसँगै काम गर्ने एउटी महिलाले प्रहरीधरहरा-मा प्रकाशित एउटा लेखप्रति चासो देखाएकाले उनले तिनीहरूलाई नियमित रूपमा पत्रिका दिन थालिन्‌। प्रहरीधरहरा ब्यूँझनुहोस्!-मा विभिन्न विषयका लेखहरू देखेर एकदमै छक्क मानेका अर्का एक जना सहकर्मीलाई पनि उनले नियमित रूपमा पत्रिका दिन थालिन्‌। पछि अर्की सहकर्मीले पनि हाम्रा पत्रिकाहरू मागिन्‌। जेनिस भन्छिन्‌: “यो त यहोवाकै आशिष्‌ हो!” उनी आफूसँगै काम गर्ने ११ जनालाई नियमित रूपमा पत्रिकाहरू दिन्छिन्‌।

हार नमान्नुहोस्

घर-घरको प्रचारमा जाँदा अर्को दिन आउँछु मात्र भनेर कुरा नटुङ्ग्याउन एक जना परिभ्रमण निरीक्षकले सुझाव दिए। बरु घरधनीलाई यस्ता प्रश्नहरू सोध्न तिनले सुझाव दिए: “कसरी बाइबल अध्ययन गरिन्छ भनेर देखाऊँ कि?” वा “यसबारे थप कुरा बताउन म कुन दिन र कुन समयमा आऊँ?” उक्त तरिका प्रयोग गर्दा आफूले भ्रमण गरेको एउटा मण्डलीले एक हप्तामा ४४ वटा बाइबल अध्ययन सुरु गर्न सकेको कुरा ती परिभ्रमण निरीक्षकले रिपोर्टमा बताए।

पहिलो भेट गरेको केही दिनमै पुनःभेट गर्नु एकदमै प्रभावकारी हुन सक्छ। किन? किनकि यसो गर्दा असल हृदय भएका मानिसहरूलाई बाइबलबारे बुझाउन हामी साँच्चै इच्छुक छौं  भनेर देखिन्छ। यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न किन राजी हुनुभयो भनेर सोध्दा एउटी महिलाले यसो भनिन्‌, “तिनीहरूले मलाई साँचो चासो र प्रेम देखाएकोले।”

घरधनीलाई यसरी सोध्न सक्नुहुन्छ, “कसरी बाइबल अध्ययन गरिन्छ भनेर देखाऊँ कि?”

अग्रगामी सेवा स्कूलमा भाग लिएको केही समय नबित्दै माडाइले १५ जनासित बाइबल अध्ययन थालिन्‌ र अरू पाँचवटा अध्ययन अन्य प्रकाशकलाई दिइन्‌। तिनका थुप्रै बाइबल विद्यार्थी नियमित रूपमा सभा आउन थाले। यति धेरै बाइबल अध्ययन सञ्चालन गर्न तिनलाई केले मदत गऱ्यो? चासो देखाएको व्यक्तिलाई घरमा भेटिएन भने पनि गइरहनुपर्छ भनेर अग्रगामी स्कूलमा सिकेको कुराले। थुप्रैलाई बाइबल सत्य सिक्न मदत गरेकी अर्की साक्षी यसो भन्छिन्‌: “यहोवाबारे सिक्न इच्छुक मानिसहरूलाई मदत गर्ने मुख्य तरिका लगनशील भएर पुनःभेट गर्नु हो।”

जतिसक्दो छिटो पुनःभेट गर्दा बाइबल सत्य सिक्न चाहनेहरूको हामी साँच्चै चासो लिन्छौं भनेर देखाइरहेका हुन्छौं

पुनःभेट गर्न र बाइबल अध्ययन सञ्चालन गर्न अथक प्रयास चाहिन्छ। त्यसो गरेमा एकदमै ठूलो इनाम पाउँछौं। प्रचारकार्यमा व्यस्त हुँदा अरूलाई “सत्यको सही ज्ञान” लिन मदत गर्न सक्छौं। यसप्रकार तिनीहरूले उद्धार पाउन सक्छन्‌। (१ तिमो. २:३, ४) अनि हामीले पनि अरू कुनै कुराले दिन नसक्ने सन्तुष्टि र आनन्द पाउनेछौं।