सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं यहोवाको सङ्गठनसँगसँगै अघि बढ्दै हुनुहुन्छ?

के तपाईं यहोवाको सङ्गठनसँगसँगै अघि बढ्दै हुनुहुन्छ?

“ज-जसले परमेश्वरको स्तरबमोजिम असल काम गर्छन्‌, तिनीहरूमाथि यहोवाको नजर रहन्छ।”—१ पत्रु. ३:१२.

१. इस्राएल राष्ट्रको ठाउँ कुन नयाँ सङ्गठनले लियो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

आज परमेश्वरका सेवकहरूले उहाँलाई खुसी बनाउने तरिकामा उहाँको उपासना गरिरहेका छन्‌। प्राचीन समयमा इस्राएलीहरू यहोवाले चुन्नुभएको जाति थिए। तर तिनीहरू धर्मत्यागी भए। त्यसपछि यहोवाले ख्रीष्टका अनुयायीहरू मिलेर बनेको नयाँ राष्ट्रको सुरुवात गर्नुभयो। त्यो राष्ट्र यहोवाको प्रतिनिधित्व गर्ने सङ्गठन बन्यो। इस्वी संवत्‌ ७० मा यरूशलेम विनाश भयो। तर त्यो सङ्गठन भने रहिरह्यो। (लूका २१:२०, २१) यस अन्तको दिनमा त्यस नयाँ राष्ट्रले यहोवाको प्रतिनिधित्व गरिरहेको छ। सैतानको संसार सधैंको लागि नाश हुँदा यो राष्ट्र भने रहिरहनेछ। (२ तिमो. ३:१) हामी किन यसो भन्न सक्छौं?

२. “महासङ्कष्ट”-बारे येशूले के भन्नुभयो? महासङ्कष्ट कसरी सुरु हुनेछ?

अन्तको दिनमा हुने घटनाबारे येशूले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “त्यतिखेर यस्तो महासङ्कष्ट हुनेछ, जो संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।” (मत्ती २४:३, २१) यहोवाले मानव सरकारहरूलाई चलाएर झूटो धर्मको विश्वसाम्राज्य “महान्‌ बेबिलोन”-माथि विनाश ल्याउनुहुँदा महासङ्कष्ट सुरु हुनेछ। (प्रका. १७:३-५, १६) यो घटनापछि के हुनेछ?

 सैतानको आक्रमणपछि आरमागेडोन सुरु हुनेछ

३. झूटो धर्म नाश भएपछि परमेश्वरका सेवकहरूलाई के हुनेछ?

झूटो धर्म नाश भएपछि सैतान र त्यसको संसारले परमेश्वरका सेवकहरूलाई आक्रमण गर्नेछ। यहोवाका शान्तिप्रिय सेवकहरू त्यसबेला असुरक्षित देखिनेछन्‌। ‘मागोग देशको गोगबारे’ बाइबल यसो भन्छ: “तँचाहिं तूफानझैं बेगसित आउनेछस्। तँ र तेरा सबै सैन्यदलले, अर्थात्‌ मानिसको ठूलो दलले देशलाई बादलले झैं ढाक्नेछस्।” तर परमेश्वरका सेवकहरूलाई आक्रमण गर्नु सैतानको ठूलो भूल हुनेछ।—इज. ३८:१, २, ९-१२.

४, ५. सैतानले यहोवाका सेवकहरूलाई आक्रमण गर्दा उहाँले के गर्नुहुनेछ?

सैतानले यहोवाका सेवकहरूलाई आक्रमण गर्दा उहाँले के गर्नुहुनेछ? उहाँले ब्रह्माण्डको सार्वभौम अधिकार प्रयोग गर्दै आफ्ना सेवकहरूको पक्षमा कदम चाल्नुहुनेछ। आफ्ना सेवकहरूमाथि आक्रमण हुँदा यहोवाले आफूमाथि नै आक्रमण भएको ठान्नुहुनेछ। (जकरिया २:८ पढ्नुहोस्) त्यसकारण हाम्रो उद्धार गर्न झट्टै कदम चाल्नुहुनेछ। त्यसपछि “सर्वशक्तिमान्‌ परमेश्वरको महान्‌ दिनको लडाइँ” अर्थात्‌ आरमागेडोनमा सैतानको संसार पूर्ण रूपमा नाश हुनेछ।—प्रका. १६:१४, १६.

आरमागेडोनबारे बाइबलले यस्तो भविष्यवाणी गरेको छ: “‘पृथ्वीको जातिहरूका विरुद्धमा परमप्रभुको अभियोग छ, सब मानिसहरूसित उहाँ मुद्दा लड्नुहुनेछ, औ दुष्टलाई चाहिं उहाँले तरवारले नाश गर्नुहुनेछ,’ परमप्रभु भन्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, ‘हेर, विपत्ति एक जातिदेखि अर्को जातिसम्मै फैलिंदै जानेछ, पृथ्वीको पल्लो भागदेखि एउटा ठूलो तुफान चल्नेछ। त्यस दिन परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्‌। तिनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, नता ती लाशहरूलाई कसैले जम्मा गर्नेछ, न गाड्नेछ। तिनीहरू जमीनमा मल हुनेछन्‌।’” (यर्मि. २५:३१-३३) आरमागेडोनमा सैतानको संसार नाश हुनेछ। तर यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भाग भने रहिरहनेछ।

यहोवाको सङ्गठनमा किन वृद्धि भइरहेको छ?

६, ७. (क) “ठूलो भीड” कसरी बनेको छ? (ख) हालैका वर्षहरूमा परमेश्वरको सङ्गठनमा कस्तो वृद्धि भइरहेको छ?

परमेश्वरको सङ्गठनमा सामेल भएका मानिसहरूले यहोवाको अनुमोदन पाएका छन्‌। त्यसैले यस सङ्गठनमा वृद्धि भइरहेको छ। बाइबल यसो भन्छ: “ज-जसले परमेश्वरको स्तरबमोजिम असल काम गर्छन्‌, तिनीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ।” (१ पत्रु. ३:१२) परमेश्वरको स्तरबमोजिम असल काम गर्नेहरूमा “महासङ्कष्ट पार गरेर” आएको “ठूलो भीड” पनि पर्छ। (प्रका. ७:९, १४) यिनीहरू “भीड” मात्र होइनन्‌, “ठूलो भीड” हुन्‌। ठूलो भीडको सदस्यको रूपमा “महासङ्कष्ट” जिउँदै पार गर्दा तपाईंलाई कस्तो लाग्ला, कल्पना गर्नुहोस् त!

यो ठूलो भीड विभिन्न राष्ट्रबाट आएका मानिसहरू मिलेर बनेको छ। प्रचारकार्यमार्फत यिनीहरूलाई जम्मा गर्ने काम भइरहेको छ। येशूले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) यस अन्तको समयमा सुसमाचार प्रचार गर्नु नै परमेश्वरका सेवकहरूको मुख्य काम हो। विश्वव्यापी रूपमा भइरहेको प्रचारकार्यले गर्दा लाखौं मानिसले “पवित्र शक्तिको  निर्देशनमा अनि सत्यबमोजिम” परमेश्वरको उपासना गर्न सिकेका छन्‌। (यूह. ४:२३, २४) उदाहरणको लागि, सन्‌ २००३ देखि २०१२ भित्र २७ लाख ७ हजारभन्दा धेरै व्यक्तिले बप्तिस्मा गरेर परमेश्वरप्रतिको समर्पण जाहेर गरे। अहिले संसारमा ७९ लाखभन्दा धेरै साक्षी छन्‌ अनि ख्रीष्टको मृत्युको स्मरणार्थ मनाउन हरेक वर्ष अरू लाखौं मानिस भेला हुन्छन्‌। ‘हुर्काउने परमेश्वर नै भएकोले’ हामी सङ्ख्यामा घमन्ड गर्दैनौं। (१ कोरि. ३:५-७) तैपनि यसले हरेक वर्ष नै ठूलो भीडको सङ्ख्या बढ्दै छ भन्ने कुराको प्रमाण दिन्छ।

८. यहोवाको सङ्गठनमा किन उल्लेखनीय वृद्धि भइरहेको छ?

यहोवा आफैले आफ्ना साक्षीहरूलाई डोऱ्याइरहनुभएकोले उनीहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भइरहेको छ। (यशैया ४३:१०-१२ पढ्नुहोस्) यस्तो वृद्धिबारे पहिल्यै यसरी भविष्यवाणी गरिएको थियो: “थोरैचाहिं हजार हुनेछ, र तुच्छचाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” (यशै. ६०:२२) कुनै समय पृथ्वीमा अभिषिक्त ख्रीष्टियनहरू “थोरै” मात्र थिए। तर परमेश्वरको सङ्गठनमा अन्य अभिषिक्त ख्रीष्टियनहरू थपिंदै गए र तिनीहरूको सङ्ख्या पनि वृद्धि हुँदै गयो। (गला. ६:१६) यहोवाको आशिष्‌ले गर्दा पृथ्वीमा बाँच्ने आशा भएका मानिसहरूको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ।

यहोवा हामीबाट के चाहनुहुन्छ?

९. परमेश्वरको वचनमा प्रतिज्ञा गरिएको उज्यालो भविष्यको आनन्द उठाउन हामीले के गर्नुपर्छ?

अभिषिक्त जनहरू र ठूलो भीडले पाउने उज्यालो भविष्यबारे परमेश्वरको वचनमा प्रतिज्ञा गरिएको छ। तर त्यस्तो जीवन पाउन हामीले परमेश्वरका आज्ञाहरू पालन गर्नै पर्छ। (यशै. ४८:१७, १८) मोशाको समयका इस्राएलीहरूलाई विचार गरौं। मोशाको व्यवस्थाले तिनीहरूलाई अशुद्ध यौन व्यवहारबाट अलग रहन, व्यापारिक लेनदेनमा इमानदार हुन, छोराछोरीको राम्रो हेरचाह गर्न अनि छिमेकीसँग राम्रो व्यवहार गर्न सिकाउँथ्यो र तिनीहरूको सुरक्षा गर्थ्यो। (प्रस्थ. २०:१४; लेवी १९:१८, ३५-३७; व्यव. ६:६-९) परमेश्वरका आज्ञाहरूले अहिले पनि हाम्रो सुरक्षा गर्छ र हाम्रो जीवन अझै राम्रो बनाउन मदत गर्छ। अनि परमेश्वरका आज्ञाहरू बोझिला छैनन्‌। (१ यूहन्ना ५:३ पढ्नुहोस्) परमेश्वरका आज्ञाहरू पालन गर्दा हाम्रो जीवन अझ आनन्दित हुन्छ अनि हामी “विश्वासमा दह्रो” हुन्छौं।—ती. १:१३.

१०. बाइबल अध्ययन र साँझको पारिवारिक उपासनाको लागि किन समय छुट्टयाउनुपर्छ?

१० परमेश्वरको सङ्गठनको पृथ्वीमा रहेको भाग विभिन्न तरिकामा अघि बढिरहेको छ। जस्तै, यसले हामीलाई बाइबल सत्य अझ राम्ररी बुझ्न मदत गरिरहेको छ। यसबारे बाइबलमा पहिल्यै यसरी बताइएको थियो: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्यदिन नहोउञ्जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्छ।” (हितो. ४:१८) तर हामीले आफैलाई यस्ता प्रश्नहरू गर्नुपर्छ: ‘बाइबल सत्यसम्बन्धी बुझाइमा हालसालै भएका छाँटकाँटलाई के मैले स्वीकारेको छु? के म दिनहुँ बाइबल पढ्छु? के म नयाँ प्रकाशनहरू आउनेबित्तिकै पढ्छु? हरेक हप्ता पारिवारिक उपासनाको लागि एउटा साँझ छुट्टयाएको छु?’ यी कुराहरू गर्न गाह्रो त छैन। तर यसको लागि समय छुट्टयाउनु आवश्यक छ। नियमित रूपमा परमेश्वरको वचन अध्ययन गर्नु, सिकेका कुराहरू लागू गर्नु अनि यहोवाको सङ्गठनसँगसँगै अघि बढ्नु अत्यावश्यक छ। महासङ्कष्ट एकदमै नजिक भएकोले यसो गर्नु अहिले झनै आवश्यक छ।

११. आज परमेश्वरका सेवकहरू किन सभा, सम्मेलन तथा अधिवेशनमा जान्छन्‌?

 ११ परमेश्वरको सङ्गठनले हामीलाई पावलको यो सल्लाह पालन गर्न प्रोत्साहन दिन्छ: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔं, कसै-कसैलाई बानी परेजस्तै हामी एक ठाउँमा भेला हुन नछोडौं, बरु एकअर्कालाई प्रोत्साहन दिइरहौं, अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौं, झन्‌ बढी त्यसो गरिरहौं।” (हिब्रू १०:२४, २५) इस्राएलीहरू परमेश्वरको उपासना गर्न र उहाँबाट निर्देशनहरू पाउन एक ठाउँमा भेला हुन्थे। नहेम्याहको समयको झुप्रोबासको चाड पनि आनन्द मनाउने एउटा अवसर थियो। (प्रस्थ. २३:१५, १६; नहे. ८:९-१८) सभा, सम्मेलन तथा अधिवेशनबाट हामी त्यस्तै लाभ उठाउँछौं। हामीलाई यहोवासित नजिक बनाउने र उहाँको सेवा गर्दा आनन्दित भइरहन मदत गर्ने यी प्रबन्धहरूबाट पूरापूर लाभ उठाऔं।—ती. २:२.

१२. प्रचारकार्यलाई हामीले कसरी हेर्नुपर्छ?

१२ परमेश्वरको सङ्गठनको सदस्य भएकोले हामीले “परमेश्वरको सुसमाचार घोषणा गर्ने पवित्र काममा” भाग लिने सुअवसर पाएका छौं। (रोमी १५:१६) यो “पवित्र काममा” भाग लिंदा “पवित्र” परमेश्वर यहोवाको “सहकर्मी” भइरहेका हुन्छौं। (१ कोरि. ३:९; १ पत्रु. १:१५) सुसमाचार प्रचार गर्दा परमेश्वरको नाम पवित्र पार्ने काममा भाग लिइरहेका हुन्छौं। “आनन्दित परमेश्वर”-ले सुम्पनुभएको काम गर्न पाउनु हाम्रो लागि ठूलो सुअवसर हो।—१ तिमो. १:११.

१३. के गऱ्यौं भने हाम्रो हित हुन्छ?

१३ यहोवा हाम्रो हित चिताउनुहुन्छ। त्यसैले हामी उहाँ र उहाँको सङ्गठनसँग नजिक भएको चाहनुहुन्छ। मोशाले इस्राएलीहरूलाई यसो भने: “आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूको सामने साक्षी राख्तछु, कि मैले तिमीहरूका अगि जीवन र मृत्यु, आशिष र सराप राखेको छु। यसकारण जीवन नै रोज र तिमीहरू र तिमीहरूका भावी पुस्ता जिउनेछौ। परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्दै उहाँका आज्ञा मान्दै र उहाँसँगै लीन बन्दै बाँचिरहो किनकि यसो गर्नु नै तिमीहरूका निम्ति जीवन हो, र तिमीहरू दीर्घायु हुनेछौ। औ तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकूबसित परमप्रभुले तिमीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू निवास गर्नेछौ।” (व्यव. ३०:१९, २०) त्यसैले जीवन रोज्नुहोस्। यहोवालाई प्रेम गर्नुहोस्, उहाँको आज्ञा मान्नुहोस् र उहाँमै लीन भइरहनुहोस्।

१४. यहोवाको सङ्गठनको दृश्य भागप्रति एक भाइले कस्तो महसुस गरे?

१४ यहोवाप्रति वफादार रहेका र उहाँको सङ्गठनसँगसँगै अघि बढेका भाइ प्राइस ह्युजले यस्तो लेखे: “सन्‌ १९१४ अघिदेखि यहोवाका उद्देश्यहरूबारे बुझ्न पाएकोले म कृतज्ञ छु। . . . यहोवाको सङ्गठनको दृश्य भागसित नजिक हुनु नै मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मेरो अनुभवले मलाई मानव सोचाइमा भर पर्नु कस्तो मूर्खता रहेछ भनेर सिकायो। यो कुरा बुझेपछि वफादार भई यहोवाको सङ्गठनमा रहने निधो गरें। परमेश्वरको अनुग्रह र आशिष्‌ पाउने अरू कुनै तरिका छ र?”

यहोवाको सङ्गठनसँगसँगै अघि बढिरहनुहोस्

१५. हाम्रो बुझाइमा छाँटकाँट गरिंदा के गर्नुपर्छ भनेर बुझ्न मदत गर्ने बाइबल उदाहरण बताउनुहोस्।

१५ यहोवाको अनुमोदन र आशिष्‌ पाउन हामी प्रत्येकले उहाँको सङ्गठनलाई समर्थन गर्नुपर्छ र कुनै शिक्षासम्बन्धी हाम्रो बुझाइमा छाँटकाँट गरिंदा स्वीकार्नुपर्छ। प्रथम शताब्दीमा केही यहूदी ख्रीष्टियनले अझै पनि व्यवस्था पालन गरिरहेका थिए। (प्रेषि. २१:१७-२०) तर पावलले ती ख्रीष्टियनहरूलाई  सुधारे र जनावरको बलिदानले नभई येशूको बलिदानले गर्दा पापको क्षमा पाउन सम्भव भयो भनेर बुझ्न मदत गरे। (हिब्रू १०:५-१०) खुसीको कुरा, ती यहूदी ख्रीष्टियनमध्ये धेरैले पावलको सल्लाह स्वीकारे र आफ्नो सोचाइ परिवर्तन गरे। हामीले पनि बाइबल र बाइबलआधारित प्रकाशनहरू राम्रोसँग पढ्नुपर्छ र यहोवाको सङ्गठनले कुनै छाँटकाँट गर्दा नम्र भई स्वीकार्नुपर्छ।

१६. (क) नयाँ संसारमा जीवन किन रमाइलो हुनेछ? (ख) तपाईं नयाँ संसारमा पाइने कुन आशिष्‌ पर्खंदै हुनुहुन्छ?

१६ यहोवा र उहाँको सङ्गठनप्रति वफादार रहिरहनेहरूले उहाँको आशिष्‌ पाउनेछन्‌। अभिषिक्त जनहरूले येशूसित स्वर्गमा राजाको रूपमा शासन गर्नेछन्‌। (रोमी ८:१६, १७) पृथ्वीमा बस्ने आशा भएकाहरूले नयाँ संसारमा अनन्त जीवन पाउनेछन्‌। संसारभरका परमेश्वरका सेवकहरूले यस्तो आशाबारे मानिसहरूलाई बताउने विशेष सुअवसर पाएका छन्‌। (२ पत्रु. ३:१३) “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌” भनी भजन ३७:११ मा बताइएको छ। “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌” र “आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।” (यशै. ६५:२१, २२) अत्याचार र थिचोमिचो हुनेछैन। कोही पनि गरिब हुनेछैन र खानेकुरा प्रशस्त हुनेछ। (भज. ७२:१३-१६) झूटो धर्मले मानिसहरूलाई परमेश्वरबारे झूटो कुरा सिकाउन पाउनेछैन किनकि त्यो नाश भइसकेको हुनेछ। (प्रका. १८:८, २१) मरेकाहरू पुनर्जीवित हुनेछन्‌ र पृथ्वीमा सधैंभरि बाँच्नेछन्‌। (यशै. २५:८; प्रेषि. २४:१५) परमेश्वरलाई जीवन समर्पण गर्ने लाखौं मानिसका लागि कत्ति राम्रो आशा! यहोवासितको सम्बन्ध बलियो बनायौं र उहाँको सङ्गठनसँगसँगै अघि बढिरह्यौं भने हामीले पनि यी आशिष्‌हरू पाउनेछौं।

के तपाईं आफू नयाँ संसारमा भएको कल्पना गर्नुहुन्छ? (अनुच्छेद १६ हेर्नुहोस्)

१७. यहोवा र उहाँको सङ्गठनप्रति हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?

१७ सैतानको संसार चाँडै अन्त हुनेछ। विनाशबाट बच्न हामीले आफ्नो विश्वास बलियो बनाउनुपर्छ र यहोवाको सङ्गठनसँगै मिलेर वफादार भई उहाँको उपासना गर्नुपर्छ। हामी पनि दाऊदको जस्तै मनोवृत्ति राख्छौं, जसले यसरी गाए: “एउटै कुरा मैले परमप्रभुसित मागेको छु, म त्यसैको खोजी गर्नेछु, कि परमप्रभुको शोभा हेर्न, र उहाँको मन्दिरमा ध्यान दिन जीवनभर म परमप्रभुको भवनमा रहन पाऊँ।” (भज. २७:४) हामी प्रत्येक नै यहोवाको नजिक भइरहौं र उहाँको सङ्गठनसँगसँगै अघि बढिरहौं।