सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा व्यवस्थित परमेश्वर हुनुहुन्छ

यहोवा व्यवस्थित परमेश्वर हुनुहुन्छ

“परमेश्वर गोलमालका परमेश्वर होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ।”—१ कोरि. १४:३३.

१, २. (क) परमेश्वरको पहिलो सृष्टि को हुनुहुन्थ्यो र यहोवाले उहाँलाई कसरी प्रयोग गर्नुभयो? (ख) स्वर्गदूतहरू व्यवस्थित छन्‌ भनेर केले देखाउँछ?

यस ब्रह्माण्डका सृष्टिकर्ता यहोवा सबै कुरा व्यवस्थित तरिकामा गर्नुहुन्छ। सबैभन्दा पहिला उहाँले आफ्नो प्यारो छोरा येशूलाई सृष्टि गर्नुभयो। बाइबलले येशूलाई “वचन” भन्छ किनकि उहाँ परमेश्वरको मुख्य प्रवक्ता हुनुहुन्थ्यो। यी प्रवक्ताले युगौंदेखि यहोवाको सेवा गर्नुभएको छ। बाइबल यसो भन्छ: “सुरुमा वचन हुनुहुन्थ्यो अनि वचन परमेश्वरसित हुनुहुन्थ्यो।” बाइबलमा येशूबारे यसो पनि भनिएको छ: “सबै थोक उहाँद्वारै [वचन] अस्तित्वमा आए, उहाँविना एउटै थोक पनि अस्तित्वमा आएन।” आजभन्दा लगभग २ हजार वर्षअघि यहोवाले वचनलाई त्रुटिरहित मानवको रूपमा यस पृथ्वीमा पठाउनुभयो। येशूले वफादार हुँदै आफ्नो बुबाको इच्छा पूरा गर्नुभयो।—यूह. १:१-३, १४.

पृथ्वीमा आउनुअघि येशूले वफादार हुँदै परमेश्वरको मुख्य “कारीगर”-को रूपमा सेवा गर्नुभयो। (हितो. ८:३०, NRV) येशूलाई प्रयोग गरेर यहोवाले स्वर्गमा करोडौं स्वर्गदूत सृष्टि गर्नुभयो। (कल. १:१६) यी स्वर्गदूतहरूबारे बाइबल यसो भन्छ: “हजारौं हजारले [यहोवाको] सेवा गर्दथिए। लक्खौं लाख उहाँको सामु खडा भइरहन्थे।” (दानि. ७:१०) यी अनगिन्ती दूतहरूलाई यहोवाका व्यवस्थित “सेना” भनिएको छ।—भज. १०३:२१.

३. तारा तथा ग्रहहरू कतिवटा छन्‌? तिनीहरू कसरी व्यवस्थित छन्‌?

 असङ्ख्य तारा तथा ग्रहबारे चाहिं के भन्न सकिन्छ? टेक्ससको ह्युस्टनबाट निस्कने एउटा अखबारले * वैज्ञानिकहरूको हालैको अध्ययनबारे दिएको रिपोर्टअनुसार अहिले ब्रह्माण्डमा “३० लाख शङ्ख” तारा तथा ग्रह छन्‌। यसको मतलब ३ को पछाडि २३ वटा शून्य। यो वैज्ञानिकहरूको पहिलाको हिसाबभन्दा तीन गुणा बढी हो। के यी तारा तथा ग्रहहरू व्यवस्थित छन्‌? छन्‌। ताराहरूको झुन्ड मिलेर तारापुञ्ज बनेको छ। प्रत्येक तारापुञ्जमा खरबौं-खरब तारा तथा थुप्रै ग्रह छन्‌। प्रायजसो तारापुञ्ज मिलेर तारापुञ्जीय गुच्छहरू बनेका छन्‌ र ती गुच्छहरू पनि अझ ठूलो गुच्छमा व्यवस्थित छन्‌।

४. पृथ्वीमा भएका आफ्ना सेवकहरूलाई परमेश्वर व्यवस्थित गर्नुहुन्छ भनेर किन भन्न सक्छौं?

स्वर्गदूतहरू जस्तै तारा तथा ग्रहहरू पनि अचम्मलाग्दो तरिकामा व्यवस्थित छन्‌। (यशै. ४०:२६) त्यसैले पृथ्वीका आफ्ना सेवकहरूलाई पनि यहोवा व्यवस्थित गर्नुहुन्छ भनेर विश्वास गर्न सक्छौं। ती सेवकहरूले एकदमै महत्त्वपूर्ण काम गर्नुपर्ने भएकोले तिनीहरू व्यवस्थित हुनु अत्यावश्यक छ। आफ्ना सेवकहरूले वफादार भई उपासना गर्न सकून्‌ भनेर यहोवाले तिनीहरूलाई हजारौं वर्षदेखि व्यवस्थित गर्दै आउनुभएको छ। यहोवा आफ्ना सेवकहरूसित हुनुहुन्छ र उहाँ “गोलमालका परमेश्वर होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ” भन्ने कुराका थुप्रै प्रमाण छन्‌।१ कोरिन्थी १४:३३, ४० पढ्नुहोस्।

प्राचीन समयका परमेश्वरका व्यवस्थित सेवकहरू

५. पृथ्वीको लागि परमेश्वरले राख्नुभएको उद्देश्यमा कसरी बाधा पुग्यो?

पहिलो मानव दम्पती सृष्टि गरेपछि यहोवाले तिनीहरूलाई यसो भन्नुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।” (उत्प. १:२८) यहोवाले भएभरका मानिसहरूलाई एकैचोटि सृष्टि गर्नुभएन। आदम र हव्वाले छोराछोरी जन्माउने थिए अनि तिनीहरूका छोराछोरीले पनि सन्तान जन्माउने थिए र यसरी पूरै पृथ्वी मानिसहरूले भरिने थियो। अनि ती मानिसहरूले पूरै पृथ्वीलाई सुन्दर बगैंचामा परिणत गर्ने थिए। आदम र हव्वाले यहोवाको आज्ञा तोडेपछि यहोवाको यो उद्देश्यमा केही समयको लागि बाधा पुग्यो। (उत्प. ३:१-६) आदमका धेरैजसो सन्तानले यहोवाको सेवा गरेनन्‌। पछि “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।” यस्ता कुराहरूले गर्दा परमेश्वरको दृष्टिमा पृथ्वी भ्रष्ट भएको र उपद्रवले भरिएको थियो।” त्यसैले सबै दुष्टता हटाउन परमेश्वरले पृथ्वीभरि जलप्रलय ल्याउने निर्णय गर्नुभयो।—उत्प. ६:५, ११-१३, १७.

६, ७. (क) नूहमाथि किन यहोवाको अनुग्रह भयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) नूहको चेतावनी नसुन्ने मानिसहरू के भए?

जलप्रलयबाट केही मानिस भने बचे। “नूह धर्मी र निर्दोष मानिस थिए” अनि तिनी “परमेश्वरको साथै हिंड्ने गर्थे।” त्यसैले तिनीमाथि “परमप्रभुको अनुग्रह भयो।” यहोवाले तिनलाई एउटा बडेमाको जहाज बनाउने आज्ञा दिनुभयो र आवश्यक सबै निर्देशन पनि दिनुभयो। (उत्प. ६:८, ९, १४-१६) यो जहाज पानीमा तैरिने गरी बनाइने भएकोले जहाजभित्रका मानिस तथा जनावरहरू जीवितै रहने थिए। “परमप्रभुले तिनलाई हुकुम गर्नुभएबमोजिम नूहले सबै गरे।” नूहले परिवारसँग मिलेर जहाज बनाउने काम व्यवस्थित तरिकामा गरे। तिनले जनावरहरूलाई जहाजभित्र हुलेपछि यहोवाले “जहाजको ढोका थुनिदिनुभयो।”—उत्प. ७:५, १६.

नूहले जलप्रलय आउँदै छ भनेर मानिसहरूलाई चेतावनी दिए। तर धेरैजसो मानिसले तिनको कुरा  सुनेनन्‌। (२ पत्रु. २:५) ईसापूर्व २३७० मा आएको जलप्रलयले गर्दा ‘सबै प्राणी मासिए।’ तर नूह र तिनको परिवार भने जहाजभित्र सुरक्षित थिए। (उत्प. ७:२३) आज पृथ्वीमा भएका सबै जना नूह र तिनको परिवारका सन्तान हुन्‌। नूहको चेतावनी नसुनेकोले जहाजबाहिर भएका कोही पनि जलप्रलयबाट बच्न सकेनन्‌।

सबै काम व्यवस्थित तरिकामा गरेकोले आठ जना मानिस जलप्रलयबाट बचे (अनुच्छेद ६, ७ हेर्नुहोस्)

८. यहोवाले इस्राएलीहरूलाई कसरी व्यवस्थित पार्नुभयो?

जलप्रलयको ८०० वर्षभन्दा पछि यहोवाले इस्राएल राष्ट्रलाई व्यवस्थित पार्नुभयो। उहाँले इस्राएलीहरूको जीवनको हरेक पक्षलाई, अझ विशेषगरि उनीहरूको उपासनालाई व्यवस्थित पार्नुभयो। जस्तै, यहोवाले उनीहरूमध्ये केहीलाई लेवी र पुजारीको रूपमा काम गर्ने जिम्मेवारी दिनुभयो। केही स्त्रीलाई “भेट हुने पालको ढोकामा सेवा” गर्न खटाउनुभयो। (प्रस्थ. ३८:८) यहोवाले इस्राएलीहरूलाई कनान देशमा जाने आदेश दिंदा उनीहरू डराए र जान मानेनन्‌। त्यसकारण यहोवाले उनीहरूलाई यसो भन्नुभयो: “यपून्नेको छोरो कालेब र नूनको छोरो यहोशू बाहेक गणना भएका र मेरो विरुद्धमा गनगनाउने . . . कोही पनि त्यो प्रतिज्ञाको देशमा जान पाउने छैन।” प्रतिज्ञा गरिएको देशमा भेद लिन जाँदा यहोशू र कालेबले मात्र राम्रो खबर ल्याएका थिए। (गन्ती १४:३०, ३७, ३८) पछि यहोवाले यहोशूलाई इस्राएलीहरूको नाइके नियुक्त गर्नुभयो। (गन्ती २७:१८-२३) यहोशूले इस्राएलीहरूलाई कनानमा लैजानै लाग्दा यहोवाले तिनलाई यसो भन्नुभयो: “बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”—यहो. १:९.

९. यहोवा र उहाँका मानिसहरूप्रति राहाबको भावना कस्तो थियो?

यहोशू जहाँ गए पनि यहोवा तिनको साथमा हुनुहुन्थ्यो। इस्राएलीहरू कनानको यरीहोमा पाल टाँगेर बस्दा के भयो, विचार गरौं। ईसापूर्व १४७३ मा यहोशूले दुई जनालाई यरीहोमा जासुसी गर्न पठाए। ती जासुसहरूले त्यहाँ राहाब वेश्यालाई भेटे। यरीहोका राजाले पठाएका मानिसहरूबाट जोगाउन राहाबले ती जासुसहरूलाई आफ्नो घरको कौसीमा लुकाइन्‌। राहाबले ती जासुसहरूलाई यसो भनिन्‌: ‘मलाई थाह छ यो देश यहोवाले तपाईंहरूलाई दिनुभएको छ। तपाईंहरू मिश्र देशबाट निस्केर  आउनुहुँदा तपाईंहरूका सामने यहोवाले लाल समुद्रको पानी सुकाइदिनुभएको र एमोरीहरूका दुवै राजालाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीले सुनेका छौं।’ तिनले अझै यसो भनिन्‌: “परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ।” (यहो. २:९-११) राहाबले त्यतिबेलाको यहोवाको सङ्गठनलाई समर्थन गरिन्‌। त्यसकारण यरीहो सहर नाश गर्दा यहोवाले तिनी र तिनको परिवारलाई जोगाउनुभयो। (यहो. ६:२५) राहाबले विश्वास देखाइन्‌ अनि यहोवा र उहाँका मानिसहरूलाई आदर गरिन्‌।

प्रथम शताब्दीका ख्रीष्टियनहरू व्यवस्थित थिए

१०. येशूले यहूदी धर्मगुरुहरूलाई के भन्नुभयो र किन?

१० यहोशूको नेतृत्वमा इस्राएलका मानिसहरूले एकपछि अर्को गर्दै थुप्रै सहरलाई जिते र कनान देश कब्जा गरे। तर पछि के भयो? लगभग १,५०० वर्षसम्म इस्राएलीहरू बारम्बार यहोवाप्रति अवफादार भए। येशू पृथ्वीमा आउँदा त इस्राएलीहरू यहोवा र उहाँका भविष्यवक्ताहरूप्रति अति नै अनाज्ञाकारी भइसकेका थिए। त्यसकारण येशूले यरूशलेमका इस्राएलीहरूलाई ‘भविष्यवक्ताहरूको हत्यारा’ भन्नुभयो। (मत्ती २३:३७, ३८ पढ्नुहोस्) यहूदी धर्मगुरुहरू अवफादार भएकोले यहोवाले तिनीहरूलाई त्याग्नुभयो। येशूले तिनीहरूलाई यसो भन्नुभयो: “परमेश्वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ।”—मत्ती २१:४३.

११, १२. (क) यहोवाले प्रथम शताब्दीमा इस्राएल राष्ट्रको साटो नयाँ सङ्गठनलाई अनुमोदन दिनुभएको कुरा कसरी स्पष्ट भयो? (ख) यो नयाँ सङ्गठनको भाग हुने मौका क-कसले पाए?

११ प्रथम शताब्दीमा यहोवाले अवफादार इस्राएल राष्ट्रलाई त्याग्नुभयो। तर ख्रीष्ट र उहाँका शिक्षाहरूलाई स्वीकार्ने वफादार मानिसहरू मिलेर बनेको सङ्गठन भने अझै बाँकी थियो। इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिनदेखि यहोवाले इस्राएल राष्ट्रको साटो नयाँ सङ्गठनलाई अनुमोदन दिनुभयो। त्यतिबेला लगभग १२० जना चेलाहरू एकै ठाउँमा भेला भएका थिए। “अकस्मात्‌ ठूलो बतास चलेकोजस्तो आवाज आयो र तिनीहरू बसिरहेको घरभरि गुन्जियो।” त्यसपछि “तिनीहरूले जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू देखे र ती छुट्टिएर हरेकमाथि एउटा-एउटा बस्यो। तिनीहरू सबै जना पवित्र शक्तिले भरिपूर्ण भए अनि पवित्र शक्तिले तिनीहरूलाई जुन-जुन भाषामा बोल्ने क्षमता दियो, तिनीहरू त्यही-त्यही भाषामा बोल्न थाले।” (प्रेषि. २:१-४) यहोवाले ख्रीष्टका चेलाहरू मिलेर बनेको यस सङ्गठनलाई समर्थन गर्दै हुनुहुन्छ भन्ने कुरा त्यस घटनाले स्पष्ट पाऱ्यो।

१२ त्यसै दिन “लगभग तीन हजार जना” यहोवाको नयाँ सङ्गठनको सदस्य भए। “उद्धार पाउनेहरूलाई यहोवाले दिनहुँ तिनीहरूको गन्तीमा थप्दै लानुभयो।” (प्रेषि. २:४१, ४७) प्रथम शताब्दीका ख्रीष्टियनहरू प्रचारकार्यमा सफल भए। “परमेश्वरको वचन फैलँदै गयो र यरूशलेममा चेलाहरूको सङ्ख्या झन्‌-झन्‌ बढ्दै गयो।” असल मन भएका थुप्रैले, पुजारीहरूले समेत ख्रीष्टको शिक्षा स्वीकारे। (प्रेषि. ६:७) यहोवाले “अन्यजातिका मानिसहरू”-लाई पनि ख्रीष्टियन मण्डलीमा ल्याएर नयाँ सङ्गठनलाई समर्थन गरेको कुरा देखाउनुभयो।प्रेषित १०:४४, ४५ पढ्नुहोस्।

१३. परमेश्वरको नयाँ सङ्गठनको काम के थियो?

१३ ख्रीष्टका अनुयायीहरू आफूले गर्नुपर्ने काम के होला भनेर अलमल्लमा पर्नु आवश्यक थिएन। येशू आफैले उनीहरूको लागि उदाहरण बसाल्नुभएको थियो। बप्तिस्मा गरेको केही समयमै येशूले “स्वर्गको राज्य”-बारे प्रचार गर्न थाल्नुभयो। (मत्ती ४:१७) उहाँले आफ्ना अनुयायीहरूलाई पनि त्यही काम गर्न सिकाउनुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) ख्रीष्टका अनुयायीहरूलाई आफूले गर्नुपर्ने काम राम्रोसँग थाह थियो। जस्तै, “पिसिदियाको एन्टिओक”-मा  छँदा पावल र बर्णाबासले यहूदी विरोधीहरूलाई साहसी भएर यसो भने: “परमेश्वरको वचन सर्वप्रथम तपाईंहरूलाई सुनाउनु आवश्यक थियो। तर तपाईंहरूले त्यसलाई इन्कार गर्नुभयो र आफैलाई अनन्त जीवन पाउन अयोग्य साबित गर्नुभयो। त्यसैले हेर्नुहोस्, अब हामी अन्यजातिका मानिसहरूकहाँ जाँदै छौं। भनौं भने, यहोवाले हामीलाई यस्तो आज्ञा दिनुभएको छ, ‘मानिसहरूको उद्धार गर्ने मेरो माध्यमबारे पृथ्वीको कुना-कुनासम्म गएर घोषणा गर्न मैले तिमीलाई जाति-जातिका मानिसहरूको ज्योति नियुक्त गरेको छु।’” (प्रेषि. १३:१४, ४५-४७) प्रथम शताब्दीदेखि नै यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागले मानिसहरूलाई उद्धारको सन्देश सुनाइरहेको छ।

थुप्रै नाश भए तर यहोवाका सेवकहरू बचे

१४. प्रथम शताब्दीमा यरूशलेमलाई के भयो तर कोचाहिं बचे?

१४ थुप्रै यहूदीले सुसमाचार स्वीकारेनन्‌। येशूले यरूशलेममाथि आइपर्ने बज्रपातबारे बताउँदा उनीहरूको कानमा बतास लागेन। येशूले आफ्ना चेलाहरूलाई यस्तो चेतावनी दिनुभएको थियो: “जब यरूशलेमलाई सैनिकहरूले घेरेको तिमीहरूले देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ। अनि यहूदियामा हुनेजति डाँडाहरूतिर भाग्न थालून्‌, सहरभित्र हुनेहरू निस्किजाऊन्‌ र बाहिर हुनेहरू त्यसभित्र नपसून्‌।” (लूका २१:२०, २१) येशूले भन्नुभएको कुरा पूरा भयो। यहूदीहरूले रोमीहरूविरुद्ध विद्रोह गरे र इस्वी संवत्‌ ६६ मा सेस्टियस ग्यालसको नेतृत्वमा आएका रोमी सैनिकहरूले यरूशलेमलाई घेरे। तर अचानक ती सैनिकहरू त्यहाँबाट फर्के। येशूका अनुयायीहरूले यरूशलेम र यहूदाबाट भाग्ने मौका पाए। थुप्रै मानिस यर्दन नदी पार गरेर पहाडहरूतिर भागे। इस्वी संवत्‌ ७० मा सेनापति टाइटसको नेतृत्वमा रोमी सैनिकहरू फर्के र यरूशलेमलाई विनाश गरे। तर येशूको चेतावनी सुनेकोले वफादार ख्रीष्टियनहरू बचे।

१५. कस्तो समस्याको बाबजुद थुप्रै मानिस ख्रीष्टियन भए?

१५ प्रथम शताब्दीमा ख्रीष्टियनहरूले सतावट र परीक्षाको सामना गर्नुपऱ्यो। तैपनि थुप्रै मानिस ख्रीष्टियन भए। (प्रेषि. ११:१९-२१; १९:१, १९, २०) यो कसरी सम्भव भयो? ख्रीष्टियन मण्डलीले यहोवाको आशिष्‌ पाएकोले।—हितो. १०:२२.

१६. आफ्नो विश्वास बलियो बनाइराख्न प्रत्येक ख्रीष्टियनले के गर्नुपर्थ्यो?

१६ आफ्नो विश्वास बलियो बनाइराख्न प्रत्येक ख्रीष्टियनले प्रयत्न गर्नुपर्थ्यो। धर्मशास्त्र अध्ययन गर्नु, नियमित रूपमा सभा जानु र राज्य प्रचारकार्यमा जोसिलो भई लाग्नु अत्यावश्यक थियो। त्यतिबेलाका मण्डलीहरू व्यवस्थित थिए। मण्डलीमा एल्डर तथा सहायक सेवकहरू थिए। ती भाइहरूको कडा मेहनतले गर्दा पूरै मण्डलीले लाभ उठाउँथ्यो। (फिलि. १:१; १ पत्रु. ५:१-४) साथै, पावलजस्ता परिभ्रमण निरीक्षकहरू मण्डलीको भ्रमण गर्न आउँदा मण्डलीले थुप्रै लाभ उठाउँथ्यो। (प्रेषि. १५:३६, ४०, ४१) आज हामीले उपासना गर्ने तरिका र प्रथम शताब्दीका ख्रीष्टियनहरूले उपासना गर्ने तरिकाबीच समानता हुनु रोचक कुरा हो। यहोवाले प्रथम शताब्दीमा र अहिले पनि आफ्ना सेवकहरूलाई व्यवस्थित गर्नुभएको छ। त्यसैले हामी उहाँप्रति धन्यवादी छौं। *

१७. अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?

१७ हामी अन्तको दिनमा बाँचिरहेका छौं। सैतानको संसार अब छिट्टै अन्त हुनेछ। तर यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागचाहिं पहिलाभन्दा झनै छिटो अघि बढिरहेको छ। के तपाईं पनि यहोवाको सङ्गठनसँगसँगै अघि बढ्दै हुनुहुन्छ? हामी कसरी त्यसो गर्न सक्छौं, अर्को लेखमा छलफल गर्नेछौं।

^ अनु. 3 Chronicle

^ अनु. 16 जुलाई १५, २००२ को प्रहरीधरहरा-मा भएको “मसीहीहरूले आत्मा र सत्यतामा उपासना गर्छन्‌” अनि “तिनीहरू सत्यमा हिंडिरहन्छन्‌” भन्ने लेखहरू हेर्नुहोस्। यहोवाको सङ्गठनको पृथ्वीमा रहेको भागबारे विस्तृत जानकारी आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌? भन्ने पुस्तिकामा दिइएको छ।