सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्

प्रचारकार्यमा सुनौलो नियम पालन गर्नुहोस्

“मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।”—मत्ती ७:१२.

१. प्रचारमा मानिसहरूसित राम्रो व्यवहार गर्दा परिणाम कस्तो हुन्छ? उदाहरण दिनुहोस्। (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

केही वर्षअघि फिजीका एक दम्पती स्मरणार्थको निम्तो दिने अभियानमा भाग लिइरहेका थिए। तिनीहरू एक स्त्रीसित उनको घरबाहिर कुरा गर्दै थिए। त्यति नै बेला पानी पर्न थाल्यो। हाम्रा भाइ र तिनकी श्रीमतीले एउटा छाता आफूले ओढेर अर्कोचाहिं ती स्त्रीलाई दिए। खुसीको कुरा ती स्त्री स्मरणार्थमा आइन्‌। साक्षीहरूले भनेको कुरा त्यति याद नभएको तर तिनीहरूले गरेको व्यवहारचाहिं याद भएको पछि ती स्त्रीले बताइन्‌। हो, ती दम्पतीले सुनौलो नियम पालन गरे।

२. सुनौलो नियम के हो? हामी कसरी त्यो नियम पालन गर्न सक्छौं?

सुनौलो नियम के हो? सुनौलो नियम येशूले दिनुभएको एउटा सल्लाह हो। उहाँले यस्तो सल्लाह दिनुभएको थियो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।” (मत्ती ७:१२) हामी कसरी त्यो नियम पालन गर्न सक्छौं? दुइटा कदम चालेर। पहिलो, हामीले आफैलाई यस्तो प्रश्न गर्नुपर्छ: ‘म अर्को व्यक्तिको ठाउँमा भएको भए आफूलाई कस्तो व्यवहार गरिएको चाहन्थें?’ दोस्रो, अरूले आफूलाई जस्तो व्यवहार गरेको चाहन्छौं, अरूलाई पनि त्यस्तै व्यवहार गर्न सक्दो गर्नुपर्छ।

३, ४. (क) सबै मानिससित व्यवहार गर्दा सुनौलो नियम किन पालन गर्नुपर्छ, व्याख्या गर्नुहोस्। (ख) यस लेखमा के छलफल गर्नेछौं?

 सङ्गी भाइबहिनीसित व्यवहार गर्दा हामी अक्सर सुनौलो नियम पालन गर्छौं। तर येशूले आफ्नो जस्तै विश्वास भएकाहरूसित व्यवहार गर्दा मात्र सुनौलो नियम पालन गर्नुपर्छ भन्नुभएन। हामीले सबै मानिससित, यहाँसम्म कि आफ्ना शत्रुहरूसित समेत कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे बताउँदा येशूले सुनौलो नियम उल्लेख गर्नुभएको थियो। (लूका ६:२७, २८, ३१, ३५ पढ्नुहोस्) शत्रुहरूसित व्यवहार गर्दा त सुनौलो नियम पालन गर्नुपर्छ भने प्रचारमा भेट्ने मानिसहरूसित व्यवहार गर्दा यो नियम झन्‌ कत्ति धेरै पालन गर्नुपर्ला! किनकि उनीहरूमध्ये धेरैजसो “अनन्त जीवन पाउन लायक” हुन सक्छन्‌।—प्रेषि. १३:४८.

प्रचारमा भाग लिंदा मनमा राख्नुपर्ने चारवटा प्रश्नबारे अब विचार गरौं: म कोसित कुरा गर्दै छु? म कहाँ कुरा गर्दै छु? मानिसहरूसित कुरा गर्ने उपयुक्त समय कहिले हो? मानिसहरूसित कसरी कुरा गर्नुपर्छ? यी प्रश्नहरूले प्रचारमा भेटिने मानिसहरू आफूलाई कस्तो व्यवहार गरिएको चाहन्छन्‌ भनेर बुझ्न मदत गर्छ। यसले गर्दा प्रत्येक व्यक्तिसित कुराकानी गर्ने सबैभन्दा राम्रो तरिका बुझ्न सक्नेछौं।—१ कोरि. ९:१९-२३.

कोसित कुरा गर्दै छु?

५. आफैलाई कस्ता प्रश्नहरू गर्नुपर्छ?

प्रचारमा हामी व्यक्तिविशेषसित कुराकानी गर्छौं। प्रत्येक व्यक्तिको पृष्ठभूमि र समस्या फरक-फरक छ। (२ इति. ६:२९) प्रचारमा कसैसित कुराकानी गर्दा आफैलाई यसरी सोध्नुहोस्: ‘म यस व्यक्तिको ठाउँमा भएको भए आफूलाई कस्तो व्यवहार गरेको चाहन्थें? मलाई राम्ररी नचिनीकनै कुनै व्यक्ति गलत निष्कर्षमा पुगेको चाहन्छु कि उक्त व्यक्तिले मलाई राम्ररी चिनेको चाहन्छु?’ यी प्रश्नहरू विचार गर्दा आफूले भेट्ने प्रत्येक व्यक्तिलाई राम्ररी बुझ्न र उनीहरूसित व्यवहार गर्दा सुनौलो नियम पालन गर्न सक्नेछौं।

६, ७. प्रचारमा कुनै व्यक्ति रिसाउँदा वा तिनले रुखो व्यवहार गर्दा के गर्नुपर्छ?

बाइबलको सल्लाह पालन गर्दै दयालु र नम्र भई बोल्न हामी सक्दो गर्छौं। (कल. ४:६) तर हामी त्रुटिपूर्ण छौं। कुनै समस्याले गर्दा हामीलाई दिक्क लागिरहेको हुन सक्छ। त्यसैले पछि गएर पछुताउनुपर्ने बोली बोल्न सक्छौं। (याकू. ३:२) त्यस्तो बेला अरूले हाम्रो समस्या बुझिदिएको चाहन्छौं; हामीलाई रुखो व्यक्ति ठानेको चाहँदैनौं। यो कुरा विचार गर्दा पहिला हामीसित रुखो बोली बोलेको व्यक्ति पनि पछि पछुताउन सक्छन्‌ भनेर बुझ्न सक्छौं।

प्रचारमा भेटेको कुनै व्यक्ति हामीसित रिसाउलान्‌ वा तिनले रुखो व्यवहार गर्लान्‌। त्यतिबेला के तपाईं तिनको समस्या बुझ्ने कोसिस गर्नुहुन्छ? तिनलाई काममा वा स्कूलमा कुनै समस्या परेको छ कि? अथवा तिनी गम्भीर स्वास्थ्य समस्यासित जुधिरहेका छन्‌ कि? धेरैजसो अवस्थामा, साक्षीहरूले नम्रता र आदर देखाउँदै कुरा गरेकोले पहिला रिसाएका व्यक्ति पनि कुरा सुन्न इच्छुक भएका छन्‌।—हितो. १५:१; १ पत्रु. ३:१५.

८. हामीले “सबै किसिमका मानिस”-लाई किन प्रचार गर्नुपर्छ?

हामी सबै किसिमका मानिसलाई प्रचार गर्छौं। प्रहरीधरहरा-को “बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” भन्ने शृङ्खलामा हालसम्म ६० जनाभन्दा धेरै भाइबहिनीको अनुभव छापिएको छ। तीमध्ये केही पहिला चोर, जँड्याहा, गिरोहका सदस्य वा लागूपदार्थ दुर्व्यसनी थिए। अरू भने राजनीतिज्ञ, धर्मगुरु वा आफ्नो करिअरलाई नै बढी महत्त्व दिने व्यक्ति थिए। केहीले चाहिं अनैतिक जीवनशैली बिताइरहेका थिए। तर तिनीहरू सबैले सुसमाचार सुने, बाइबल अध्ययन गर्न थाले, जीवनशैली परिवर्तन गरे र सत्यमा  आए। त्यसैले प्रचारमा जाँदा ‘यो मान्छेले त सत्य स्वीकार्दैन होला’ भनेर अडकल काट्नु राम्रो होइन। (१ कोरिन्थी ६:९-११ पढ्नुहोस्) बरु “सबै किसिमका मानिस” सत्यमा आउन सक्छन्‌ भनेर मानिलिनुपर्छ।—१ कोरि. ९:२२.

कहाँ कुरा गर्दै छु?

९. मानिसहरूको घरमा जाँदा किन शिष्ट व्यवहार गर्नुपर्छ?

हामी मानिसहरूसित अक्सर उनीहरूको घरमै गएर कुरा गर्छौं। (मत्ती १०:११-१३) हाम्रो घर हाम्रो लागि महत्त्वपूर्ण ठाउँ हो। त्यसकारण अरू हाम्रो घरमा आउँदा अशिष्ट व्यवहार गरेको र हाम्रो व्यक्तिगत सरसामानलाई जथाभाबी गरेको हामीलाई मनपर्दैन। हामी कुनै दखलविना घरमा ढुक्कसित बस्न चाहन्छौं। त्यसकारण प्रचार गर्न अरूको घरमा जाँदा हामीले पनि त्यस्ता कुराहरूमा विचार पुऱ्याउनुपर्छ।—प्रेषि. ५:४२.

१०. इलाकाका मानिसहरूलाई ठेस नपुऱ्याउन के गर्न सक्छौं?

१० अहिले संसार अपराधले भरिएको छ। त्यसैले घरमा नौलो मान्छे आउँदा घरधनीको मनमा शङ्का-उपशङ्का आउन सक्छ। (२ तिमो. ३:१-५) अरूको मनमा शङ्का उत्पन्न हुने कुनै पनि काम गर्नुहुँदैन। मानौं, तपाईं एउटा घरमा जानुभयो र ढोका ढकढक्याउनुभयो। तर कोही पनि बाहिर आएनन्‌। त्यतिबेला तपाईंलाई झ्यालबाट चियाउन वा घरधनीलाई खोज्दै घरको चारैतिर जान मन लाग्ला। त्यसो गर्दा घरधनी रिसाउँछन्‌ कि? छिमेकीहरूले त्यसलाई गलत तरिकाले लिन्छन्‌ कि? हुन त धेरै मानिसलाई भेट्न चाहेकोले तपाईं त्यसो गर्नुहोला। (प्रेषि. १०:४२) अनि मानिसहरूले परमेश्वरबारे सत्य कुरा जानेको तपाईं चाहनुहोला। (रोमी १:१४, १५) तैपनि हामी बुद्धिमान्‌ हुनुपर्छ र इलाकाका मानिसहरूलाई ठेस पुग्ने कुनै पनि काम गर्नुहुँदैन। प्रेषित पावलले यस्तो लेखे: “हाम्रो सेवामा कुनै खोट नभेटिओस् भनेर ठेस लाग्ने कुनै कारण हामी दिंदैनौं।” (२ कोरि. ६:३) घरघरको प्रचारमा जाँदा शिष्ट व्यवहार गऱ्यौं भने हाम्रो असल चालचलन देखेर उनीहरू सत्यतर्फ आकर्षित हुन सक्छन्‌।१ पत्रुस २:१२ पढ्नुहोस्।

मानिसहरूको घरमा जाँदा शिष्ट व्यवहार गरौं (अनुच्छेद १० हेर्नुहोस्)

मानिसहरूसित कुरा गर्ने उपयुक्त समय कहिले हो?

११. अरूले हाम्रो समयको कदर गरेको हामी किन चाहन्छौं?

११ हामीमध्ये धेरैजसो व्यस्त छौं। त्यसैले सबै कुराको चाँजोपाँजो मिलाउन पहिल्यै राम्रो योजना र तालिका बनाउनु आवश्यक छ। (एफि. ५:१६; फिलि. १:१०) कुनै कुराले हाम्रो तालिकामा बाधा पुऱ्याएमा हामीलाई रिस उठ्न सक्छ। त्यसकारण अरूले हाम्रो समयको कदर गर्दै लामो कुराकानी नगरेको चाहन्छौं। प्रचारमा भेटिने मानिसहरूको आदर गर्छौं भनी देखाउन सुनौलो नियमले कसरी मदत गर्छ?

१२. मानिसहरूसित कुरा गर्ने सबैभन्दा उपयुक्त समय कसरी पत्ता लगाउन सक्छौं?

१२ मानिसहरूसित कुरा गर्ने सबैभन्दा उपयुक्त समय पत्ता लगाउने कोसिस गर्नुपर्छ। आफैलाई सोध्नुहोस्: ‘हाम्रो इलाकामा मानिसहरू कुन समयमा घरमै हुन्छन्‌? कुन समयमा जाँदा कुरा गर्न सजिलो मान्छन्‌?’ यो कुरा विचार गर्दै आफ्नो तालिकामा छाँटकाँट गर्नु राम्रो हो। केही देशका भाइबहिनीले बिहान सबेरै वा बेलुकीपख घरघरको प्रचारमा जाँदा नतिजा राम्रो भएको अनुभव गरेका छन्‌। यदि तपाईंको इलाका पनि त्यस्तै खालको छ भने त्यही समयमा घरघरको प्रचारमा जाने योजना बनाउन सक्नुहुन्छ कि? (१ कोरिन्थी १०:२४ पढ्नुहोस्) इलाकाका मानिसहरूलाई उपयुक्त हुने समयमा भेट्न हामीले गरेको त्याग यहोवाले देख्नुहुन्छ र हामीलाई आशिष्‌ दिनुहुन्छ।

१३. हामी कसरी घरधनीको आदर गर्न सक्छौं?

१३ अन्य कुन तरिकामा घरधनीको आदर गरेको देखाउन सक्छौं? हाम्रो सन्देश सुन्न  इच्छुक व्यक्ति भेट्दा राम्ररी साक्षी दिनुपर्छ तर लामो कुरा गर्नुहुँदैन। घरधनीले त्यो समय कुनै जरुरी काम गर्न छुट्टयाएका हुन सक्छन्‌। तिनले आफू व्यस्त भएको कुरा बताएमा “थोरै समय लिन्छु” भन्न सक्छौं; अनि भनेअनुसारै गर्नु पनि पर्छ। (मत्ती ५:३७) कुराकानीको अन्तमा, कुन समयमा फेरि भेट्न सकिएला भनेर घरधनीलाई सोध्न सक्छौं। केही प्रकाशक घरधनीलाई यसो भन्छन्‌: “तपाईंलाई फेरि भेट्न चाहन्छु। तपाईंकहाँ आउनुअघि फोन गर्दा वा मेसेज पठाउँदा कसो होला?” मानिसहरू व्यस्त छन्‌ र उनीहरूको पनि आफ्नै योजना छ भनेर मानिलियौं भने पावलको उदाहरण पछ्याइरहेका हुन्छौं। उनले आफ्नै फाइदा खोजेनन्‌, बरु मानिसहरूले “उद्धार पाउन सकून्‌” भनेर तिनीहरूको ‘फाइदा खोजे।’—१ कोरि. १०:३३.

मानिसहरूसित कसरी कुरा गर्नुपर्छ?

१४-१६. (क) घरधनीलाई हामी आउनुको कारण स्पष्टसित बताउनु किन आवश्यक छ? उदाहरणसहित बताउनुहोस्। (ख) एक जना परिभ्रमण निरीक्षकलाई कस्तो तरिका प्रभावकारी लागेको छ?

१४ कल्पना गर्नुहोस्, कुनै व्यक्तिले तपाईंलाई फोन गऱ्यो तर तपाईंले उसलाई चिन्नुभएन। त्यो अपरिचित व्यक्तिले “तपाईंलाई कस्तो किसिमको खाना मनपर्छ” भनेर सोध्यो। त्यो व्यक्ति को होला अनि किन फोन गरेको होला भनेर तपाईं सोच्न थाल्नुहुन्छ। तपाईं ऊसित रुखो व्यवहार गर्न चाहनुहुन्न। त्यसैले छोटो कुरा गरेर फोन राख्नुहुन्छ। अर्कोतर्फ कल्पना गर्नुहोस्, त्यो व्यक्तिले आफ्नो परिचय दिन्छ। मानिसहरूलाई स्वस्थकर खानेकुरा खान मदत गरिरहेको कुरा बताउँछ। साथै आफूसित केही मदतकारी जानकारी  छ भनेर पनि बताउँछ। तपाईं पक्कै उसको कुरा सुन्न चाहनुहुन्छ। हामीलाई मानिसहरूले स्पष्ट कुरा गरेको मनपर्छ। प्रचारमा भेट्ने मानिसहरूसित हामी पनि कसरी स्पष्ट कुराकानी गर्न सक्छौं?

१५ धेरैजसो इलाकामा, हामीले आफू आउनुको कारण स्पष्ट पार्नुपर्ने हुन्छ। हो, हामीसित घरधनीले सुन्नै पर्ने बहुमूल्य जानकारी छ। तर मानौं तपाईंले आफ्नो विषयमा केही पनि नबताई यस्तो प्रश्न गरेर कुराकानी थाल्नुभयो: “तपाईंसित संसारको समस्या हटाउने क्षमता भएको भए सबैभन्दा पहिला कुन समस्या हटाउनुहुन्थ्यो?” घरधनीको विचार बुझेर कुराकानीलाई बाइबलतर्फ मोड्न हामी त्यस्तो प्रश्न गर्छौं। तर घरधनीलाई भने यस्तो लागिरहेको हुन सक्छ: ‘यो मान्छे को होला अनि मलाई किन यस्तो कुरा सोधेको होला? होइन, यो के कुरा हो?’ घरधनीले हामीसित कुराकानी गर्न सजिलो मानेको हामी चाहन्छौं। (फिलि. २:३, ४) त्यसोभए हामीले के गर्नुपर्छ?

१६ एक जना परिभ्रमण निरीक्षक घरधनीलाई अभिवादन गरेपछि आफ्नो परिचय दिन्छन्‌ अनि के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? भन्ने पर्चा उनको हातमा थमाउँछन्‌। त्यसपछि तिनी यसो भन्छन्‌: “तपाईंको छिमेकमा सबैलाई भेटेर यो पर्चा दिंदै छु। यसमा थुप्रै मानिसको मनमा उठ्ने छवटा प्रश्नबारे छलफल गरिएको छ।” आफू आउनुको कारण स्पष्ट पार्दा धेरैले सजिलो महसुस गरेको र कुराकानीलाई निरन्तरता दिन सकेको कुरा ती भाइ बताउँछन्‌। तिनी घरधनीलाई फेरि यसरी सोध्छन्‌: “तपाईंको मनमा पनि यीमध्ये कुनै प्रश्न उठेको थियो कि?” घरधनीले कुनै प्रश्न छानेमा ती भाइ पर्चा खोल्छन्‌ र त्यस प्रश्नको जवाफ बाइबलले कसरी दिएको छ भनेर छलफल गर्छन्‌। तर घरधनीले प्रश्न नछानेमा उनलाई अप्ठ्यारोमा नपारी आफै प्रश्न छान्छन्‌ र छलफल सुरु गर्छन्‌। हो, कुराकानी थाल्ने थुप्रै तरिका छन्‌। कुनै-कुनै ठाउँमा भने घरधनीसित केही समय भलाकुसारी गरेपछि मात्र कुराकानी थाल्न सकिन्छ। मानिसहरू हाम्रो कुरा सुन्न इच्छुक होऊन्‌ भनेर आफ्नो प्रस्तुति छाँटकाँट गर्नु आवश्यक छ।

प्रचारकार्यमा सुनौलो नियम पालन गरिरहनुहोस्

१७. यस लेखमा प्रचारकार्यमा सुनौलो नियम पालन गर्न सक्ने के-कस्ता तरिकाहरू विचार गऱ्यौं?

१७ प्रचारकार्यमा सुनौलो नियम पालन गर्न सक्ने के-कस्ता तरिकाहरू हामीले विचार गऱ्यौं? हामी आफूले भेट्ने प्रत्येक व्यक्तिलाई राम्ररी बुझ्छौं। मानिसहरूको घरमा जाँदा शिष्ट व्यवहार गर्छौं। मानिसहरूलाई घरमै भेटिने र कुरा गर्न सजिलो लाग्ने समयमा प्रचारमा भाग लिने प्रयास गर्छौं। अनि मानिसहरू हाम्रो कुरा सुन्न इच्छुक हुने तरिकामा प्रस्तुति ढाल्छौं।

१८. अरूले हामीलाई जस्तो व्यवहार गरेको चाहन्छौं, प्रचारमा भेट्ने मानिसहरूलाई पनि त्यस्तै व्यवहार गर्दा कस्तो फाइदा हुन्छ?

१८ मानिसहरूले हामीलाई जस्तो व्यवहार गरेको चाहन्छौं, तिनीहरूलाई पनि त्यस्तै व्यवहार गर्दा थुप्रै फाइदा हुन्छ। दयालु र विचारशील हुँदै व्यवहार गर्दा हामीले आफ्नो ज्योति चम्काइरहेका हुन्छौं, बाइबल सिद्धान्तहरू पालन गरेको देखाइरहेका हुन्छौं र स्वर्गका बुबाको महिमा गरिरहेका हुन्छौं। (मत्ती ५:१६) मानिसहरूको आदर गर्दा उनीहरू बाइबल सत्य सिक्न इच्छुक हुन सक्छन्‌। (१ तिमो. ४:१६) प्रचारमा भेट्ने मानिसहरूले राज्य सन्देश स्वीकारून्‌ वा नस्वीकारून्‌, सेवाको काम राम्ररी पूरा गर्दै छु भनेर विचार गर्दा सन्तुष्टि पाउँछौं। (२ तिमो. ४:५) हामी प्रत्येकले प्रेषित पावलको अनुकरण गरौं, जसले यस्तो लेखे: “अरूलाई सुसमाचार बाँड्न सकूँ भनेर यसको खातिर म सब थोक गर्छु।” (१ कोरि. ९:२३) आउनुहोस्, प्रचारकार्यमा सुनौलो नियम पालन गरिरहौं।