सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तिमीले यहोवा तिम्रा परमेश्वरलाई प्रेम गर्नू’

‘तिमीले यहोवा तिम्रा परमेश्वरलाई प्रेम गर्नू’

“तिमीले यहोवा तिम्रा परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।”—मत्ती २२:३७.

१. बुबा र छोरा बीचको प्रेम किन झन्‌झन्‌ गाढा हुँदै गयो?

यहोवाको छोरा येशूले “बुबालाई म प्रेम गर्छु” भन्नुभयो। (यूह. १४:३१) उहाँले यसो पनि भन्नुभयो, “बुबाले छोरालाई माया गर्नुहुन्छ।” (यूह. ५:२०) यो कुरा थाह पाउँदा हामीले छक्क मान्नु पर्दैन। किनकि पृथ्वीमा आउनुअघि येशूले युगौंसम्म परमेश्वरको “कारिगर”-को रूपमा काम गर्नुभएको थियो। (हितो. ८:३०; NRV) बुबासँगै काम गर्दा येशूले उहाँका थुप्रै गुणबारे सिक्नुभयो अनि बुबालाई प्रेम गर्ने थुप्रै कारण पाउनुभयो। यस्तो घनिष्ठताले गर्दा उहाँहरू बीचको प्रेम झन्‌झन्‌ गाढा हुँदै गयो।

२. (क) प्रेम गर्नुमा के समावेश छ? (ख) हामी कस्ता प्रश्नहरू विचार गर्नेछौं?

प्रेम गर्नुमा कसैलाई गहिरो स्नेह देखाउनु समावेश छ। बाइबलमा यसो भनिएको छ, ‘यहोवा कस्तो कोमल स्नेहले भरिपूर्ण हुनुहुँदो रहेछ।’ (याकू. ५:११) यहोवाले हामीलाई कोमल स्नेह देखाउनुभएकोले हामीले पनि उहाँलाई त्यस्तै स्नेह देखाउनुपर्छ। हामी उहाँप्रति आज्ञाकारी भयौं भने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। (व्यवस्था ७:१२, १३ पढ्नुहोस्) हामी यहोवालाई देख्न सक्दैनौं। तर देख्न सक्दैनौं भन्दैमा उहाँलाई प्रेम गर्नै सक्दैनौं त? यहोवालाई प्रेम गर्नु भनेको के हो? उहाँलाई किन प्रेम गर्नुपर्छ? अनि उहाँलाई प्रेम गरेको कुरा कसरी देखाउन सक्छौं?

 हामी किन परमेश्वरलाई प्रेम गर्न सक्छौं?

३, ४. हामी किन परमेश्वरलाई प्रेम गर्न सक्छौं?

“परमेश्वर अदृश्य व्यक्ति” हुनुभएकोले हामी उहाँलाई देख्न सक्दैनौं। (यूह. ४:२४) तर यहोवालाई प्रेम गर्न सकिन्छ अनि बाइबल हामीलाई त्यो प्रेम व्यक्त गर्ने आज्ञा दिन्छ। उदाहरणको लागि, मोशाले इस्राएलीहरूलाई यसो भने, “तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्तिले प्रेम गर।”—व्यव. ६:५.

हामी किन परमेश्वरलाई गहिरो प्रेम गर्न सक्छौं? परमेश्वरले हामीलाई उहाँको उपासना गर्नुपर्ने आवश्यकतासहित सृष्टि गर्नुभएको छ अनि प्रेम देखाउने क्षमता पनि दिनुभएको छ। यहोवालाई चिन्दै जाँदा उहाँप्रतिको प्रेम बढ्दै जान्छ र हामी आनन्दित हुन सक्छौं। येशूले पनि यसो भन्नुभयो, “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌, किनकि स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३) मानिस एक्लो रहन सक्दैन भन्ने अङ्ग्रेजी किताबमा ए. सी मोरिसनले यसो भने, “सृष्टिकर्ताको खोजी गर्न विश्वभरिका मानिसहरूले कोसिस गरेको देख्दा हामी आश्चर्यचकित हुन्छौं र हाम्रो हृदय श्रद्धाले भरिन्छ।” यी लेखकले जस्तै अरूले पनि यो कुरा मानिलिन्छन्‌: मानिस परमेश्वरबारे जान्ने इच्छासहित सृष्टि भएको छ।

५. परमेश्वरको खोजी गर्दा मेहनत खेर जाँदैन, किन?

परमेश्वरको खोजी गर्दा मेहनत खेर जाने पो हो कि? अहँ, जाँदैन। किनकि हामीले उहाँको खोजी गरेको यहोवा चाहनुहुन्छ। प्रेषित पावलले एथेन्सवासीहरूलाई साक्षी दिंदा यो कुरा स्पष्ट पारे। तिनीहरूमध्ये धेरैलाई एथेना देवीको पूजा गर्न मन्दिर जानुपर्छ भन्ने लाग्थ्यो। तर तिनीहरूले “सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने” सत्य परमेश्वरलाई भेट्टाउन सक्छन्‌ भनेर पावलले बताए। तिनले परमेश्वर मन्दिरमा बास गर्नुहुन्न पनि भने। मानिसहरू जहाँसुकै बसेका किन नहोऊन्‌, परमेश्वरलाई खोजी गर्नेहरूले उहाँलाई भेट्टाउनेछन्‌। त्यसपछि पावलले परमेश्वर “हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्न” भने। (प्रेषि. १७:२४-२७) हो, मानिसहरूले परमेश्वरलाई भेट्टाउन सक्छन्‌। पचहत्तर लाखभन्दा धेरै यहोवाका साक्षीले परमेश्वरलाई भेट्टाएका छन्‌ अनि तिनीहरू उहाँलाई साँच्चै प्रेम गर्छन्‌।

परमेश्वरलाई प्रेम गर्नु भनेको के हो?

६. “सबैभन्दा ठूलो र पहिलो आज्ञा” कुन हो?

यहोवाप्रतिको हाम्रो प्रेम कत्तिको गहिरो हुनुपर्छ? फरिसीले “गुरुज्यू, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञा कुन हो?” भनेर सोध्दा येशूले यस्तो जवाफ दिनुभयो, “‘तिमीले यहोवा तिम्रा परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।’ यो नै सबैभन्दा ठूलो र पहिलो आज्ञा हो।”—मत्ती २२:३४-३८.

७. (क) “सारा मनले” (ख) “सारा ज्यानले” (ग) “सारा दिमागले” परमेश्वरलाई प्रेम गर्नु भनेको के हो?

हामीले परमेश्वरलाई “सारा मनले” प्रेम गर्नुपर्छ भनेर बताउनुहुँदा येशूले के भन्न खोज्दै हुनुहुन्थ्यो? यहोवाप्रतिको प्रेमले हाम्रो चाहना अनि भावनालाई असर गर्नुपर्छ भन्न खोज्दै हुनुहुन्थ्यो। हामीले परमेश्वरलाई “सारा ज्यानले” पनि प्रेम गर्नुपर्छ। यसमा हाम्रो जीवन अनि हामीले गर्ने जुनसुकै कुरा समावेश छ। साथै हामीले परमेश्वरलाई “सारा दिमागले” प्रेम गर्नुपर्छ। यसमा हामी के सोच्छौं अनि कसरी सोच्छौं भन्ने कुरा मुछिएको छ। सारांशमा भन्ने हो भने, हामीले कुनै सर्त नराखी यहोवालाई तनमनले प्रेम गर्नुपर्छ।

८. परमेश्वरलाई प्रेम गरेको कुरा कसरी देखाउन सक्छौं?

परमेश्वरलाई आफ्नो सारा मनले, ज्यानले अनि दिमागले प्रेम गरेको कुरा कसरी देखाउन सक्छौं? परमेश्वरको वचन नियमित रूपमा पढेर, उहाँको आज्ञा मानेर अनि जोसिलो भई राज्यको प्रचार गरेर। (मत्ती २४:१४; रोमी १२:१, २) यहोवालाई साँच्चै प्रेम गरेका छौं भने हामी उहाँसित अझै घनिष्ठ हुनेछौं। (याकू. ४:८) हुन त परमेश्वरलाई प्रेम गर्नुपर्ने कारणहरूको सूची बनाएर साध्य छैन। तैपनि केही कारणबारे विचार गरौं।

 यहोवालाई किन प्रेम गर्नुपर्छ?

९. तपाईं यहोवालाई किन प्रेम गर्नुहुन्छ?

यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र हामीलाई चाहिने सबै कुरा जुटाउनुहुन्छ। पावलले यसो भने, “उहाँले गर्दा नै हामीले जीवन पाएका हौं, चलहल गर्छौं अनि अस्तित्वमा छौं।” (प्रेषि. १७:२८) यहोवाले हामीलाई सुन्दर पृथ्वी दिनुभएको छ। (भज. ११५:१६) खानेकुरालगायत जीवन धान्न चाहिने अन्य कुराहरू पनि प्रबन्ध गरिदिनुभएको छ। त्यसैले पावलले लिस्त्राका मूर्तिपूजकहरूलाई यसो भन्न सके, ‘जीवित परमेश्वरले भलो हुने काम गरेर आफ्नो विषयमा साक्षी दिइरहनुभयो अर्थात्‌ उहाँले तपाईंहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुरा अनि आनन्दले तपाईंहरूको मन भरिदिनुभयो।’ (प्रेषि. १४:१५-१७) महान्‌ सृष्टिकर्ता र मायालु प्रबन्धकलाई प्रेम गर्नुपर्ने कत्ति उपयुक्त कारण!—उप. १२:१.

१०. पाप र मृत्यु हटाउन परमेश्वरले गर्नुभएको प्रबन्धबारे सोच्दा तपाईंलाई कस्तो लाग्छ?

१० आदमबाट पाएको पाप र मृत्यु परमेश्वरले हटाउनुहुनेछ। (रोमी ५:१२) “हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।” (रोमी ५:८) साँचो पश्‍चात्ताप गऱ्यौं र येशूको फिरौतीको बलिदानमा विश्वास गऱ्यौं भने पापको क्षमा पाउन सक्नेछौं। उहाँले हामीलाई यत्ति धेरै प्रेम गर्नुभयो, आफ्नो छोरा हाम्रो लागि मर्न पठाउनुभयो। त्यसैले उहाँप्रति हामी निकै कृतज्ञ छौं।—यूह. ३:१६.

११, १२. यहोवाले हामीलाई के-कस्ता आशा दिनुभएको छ?

११ यहोवाले हामीलाई ‘दिनुहुने आशाले खुसी र शान्ति’ दिन्छ। (रोमी १५:१३) परमेश्वरले दिनुहुने आशाले हामीलाई विश्वासको परीक्षा सहन मदत गर्छ। ‘मृत्युसम्मै आफूलाई विश्वासी साबित गर्ने’ अभिषिक्त ख्रीष्टियनहरूलाई “जीवनको मुकुट” दिइनेछ। (प्रका. २:१०) अन्य वफादार सेवकहरू भने प्रतिज्ञा गरिएको सुन्दर पृथ्वीमा सधैंभरि बाँच्न पाउनेछन्‌। (लूका २३:४३) यस्तो आशाबारे सोच्दा तपाईंलाई कस्तो लाग्छ? हाम्रो मन आनन्द र शान्तिले भरिन्छ र “हरेक असल दान र हरेक उत्तम वरदान” दिनुहुने परमेश्वरप्रतिको प्रेम अझ बढ्छ।—याकू. १:१७.

१२ परमेश्वरले पुनर्जीवनको आशा दिनुभएको छ। (प्रेषि. २४:१५) आफूले माया गरेको व्यक्तिको मृत्यु हुँदा हामीलाई पक्कै असह्य पीडा हुन्छ। तर उनीहरू पुनर्जीवित हुने भएकोले हामी ‘आशा नभएकाहरूले जस्तो शोक’ गर्दैनौं। (१ थिस्स. ४:१३) प्रेमको कारण यहोवा मरेकाहरूलाई ब्यूँताउन इच्छुक हुनुहुन्छ, विशेषगरि धर्मी अय्यूबजस्ता वफादार व्यक्तिहरूलाई। (अय्यू. १४:१५) पृथ्वीमा पुनर्जीवित भएकाहरूलाई स्वागत गर्दा कस्तो हर्षोल्लास छाउनेछ! यहोवाले पुनर्जीवनको अद्भुत आशा दिनुभएकोले हाम्रो हृदय उहाँप्रतिको प्रेमले भरिन्छ।

१३. परमेश्वर हाम्रो हेरविचार गर्नुहुन्छ भनी हामी कसरी थाह पाउन सक्छौं?

१३ यहोवा हाम्रो हेरविचार गर्नुहुन्छ। (भजन ३४:६, १८, १९; १ पत्रुस ५:६, ७ पढ्नुहोस्) हाम्रो मायालु परमेश्वर विश्वासी व्यक्तिहरूलाई मदत गर्न तयार हुनुहुन्छ भनेर हामीलाई थाह छ। त्यसैले आज पनि हामी सुरक्षित महसुस गर्छौं। (भज. ७९:१३) तर भविष्यमा परमेश्वरले हाम्रो लागि गर्नुहुने कुराबारे पनि सोच्नुहोस् त। उहाँले छान्नुभएको राजा येशू ख्रीष्टले पृथ्वीबाट हिंसा, अत्याचार र दुष्टता हटाउनुहुनेछ। सबै आज्ञाकारी मानिसले शान्ति अनुभव गर्नेछन्‌। परमेश्वरले तिनीहरूलाई जीवनको आनन्द उठाउन सम्पूर्ण कुरा दिनुहुनेछ। (भज. ७२:७, १२-१४, १६) यस्तो आशाबारे मनन गर्दा परमेश्वरलाई आफ्नो सारा मन, ज्यान, बल र दिमागले प्रेम गर्न उत्प्रेरित हुँदैनौं र?—लूका १०:२७.

१४. परमेश्वरले हामीलाई कस्तो विशेष अवसर दिनुभएको छ?

१४ यहोवाले हामीलाई उहाँको साक्षी हुने विशेष अवसर दिनुभएको छ। (यशै. ४३:१०-१२) उहाँको सार्वभौमिकतालाई समर्थन गर्ने र समस्याग्रस्त  संसारमा मानिसहरूलाई साँचो आशा बाँड्ने सुअवसर दिनुभएकोमा हामी परमेश्वरलाई प्रेम गर्छौं। साथै, मानिसहरूलाई सुसमाचार सुनाउन चाहिने विश्वास र साहस हामीले पाएका छौं। हामी किन विश्वस्त भएर सुसमाचार सुनाउन सक्छौं? हामीले सुनाउने सन्देश परमेश्वरको वचन बाइबलमा आधारित छ अनि उहाँका प्रतिज्ञाहरू सधैं पूरा भएका छन्‌। (यहोशू २१:४५; २३:१४   पढ्नुहोस्) यहोवाले हामीलाई दिनुभएका आशिष्‌हरू अनि उहाँलाई प्रेम गर्नुपर्ने कारणहरू गनिसाध्य छैन। तर उहाँलाई प्रेम गरेको कुरा कसरी देखाउन सक्छौं?

परमेश्वरप्रतिको प्रेम कसरी देखाउन सक्छौं?

१५. परमेश्वरको वचन पढ्दा र लागू गर्दा हामी कस्तो मदत पाउन सक्छौं?

१५ परमेश्वरको वचन नियमित रूपमा पढेर अनि लागू गरेर। यसो गर्दा हामी यहोवालाई प्रेम गर्छौं अनि उहाँको वचन हाम्रो “बाटोको निम्ति उज्यालो” भएको चाहन्छौं भन्ने कुरा देखिन्छ। (भज. ११९:१०५) हामी दुःखी छौं भने यस्तो मायालु आश्वासनबाट सान्त्वना पाउन सक्छौं, “हे परमेश्वर, चूर्ण र पूरा पश्‍चात्तापी हृदयलाई तपाईंले तुच्छ ठान्नुहुन्न।” “तपाईंको कृपाले मलाई थाम्यो, हे, परमप्रभु। मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।” (भज. ५१:१७; ९४:१८, १९) कष्ट पाएकाहरूलाई यहोवा दया देखाउनुहुन्छ; येशू पनि मानिसहरूलाई दया देखाउनुहुन्छ। (यशै. ४९:१३; मत्ती १५:३२) बाइबल अध्ययन गर्दा यहोवा हामीलाई प्रेम गर्नुहुन्छ भनी थाह पाउँछौं र उहाँलाई गहिरो प्रेम गर्न उत्प्रेरित हुन्छौं।

१६. प्रार्थनामा लागिरहँदा परमेश्वरप्रतिको प्रेम कसरी बढ्छ?

१६ परमेश्वरलाई नियमित रूपमा प्रार्थना गरेर। यसो गर्दा हामी “प्रार्थना सुन्नुहुने” परमेश्वरको अझै नजिक हुन्छौं। (भज. ६५:२) उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभएको महसुस गर्दा उहाँप्रतिको प्रेम गहिरो हुन्छ। यहोवाले सहन सक्नेभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्न भनेर हामीले अनुभव गरेका छौं। (१ कोरि. १०:१३) हामी चिन्तित भएको बेला यहोवालाई मदतको लागि उत्कट बिन्ती गऱ्यौं भने “परमेश्वरको शान्ति” महसुस गर्न सक्नेछौं। (फिलि. ४:६, ७) नहेम्याहले जस्तै कहिलेकाहीं हामीले पनि मनमनै प्रार्थना गर्नुपर्ने हुन्छ; यसो गर्दा हामीले जवाफ पाएको  महसुस गर्नेछौं। (नहे. २:१-६) ‘प्रार्थनामा लागिरहँदा’ अनि यहोवाले हाम्रो बिन्ती सुनिरहनुभएको छ भनेर थाह पाउँदा उहाँप्रतिको प्रेम बढ्नेछ। साथै, विश्वासको परीक्षा आइपर्दा उहाँले मदत गर्नुहुन्छ भनेर हामी विश्वस्त हुनेछौं।—रोमी १२:१२.

१७. परमेश्वरलाई प्रेम गर्छौं भने सभा धाउने कुरालाई कसरी हेर्छौं?

१७ सभा, सम्मेलन तथा अधिवेशन धाएर। (हिब्रू १०:२४, २५) यहोवालाई गहिरो आदर गर्न र उहाँले दिनुभएको व्यवस्था पालन गर्न इस्राएलीहरू एक ठाउँमा भेला हुन्थे अनि उहाँबारे सुन्ने र सिक्ने गर्थे। (व्यव. ३१:१२) हामीले परमेश्वरलाई साँच्चै प्रेम गरेका छौं भने उहाँको इच्छाअनुसार गर्न हामीलाई गाह्रो लाग्ने छैन। (१ यूहन्ना ५:३ पढ्नुहोस्) त्यसैले सबै सभा धाउन सकेजति गरौं। सुरु-सुरुमा यहोवाबारे सिक्दा उहाँलाई जत्ति माया गर्थ्यौं, त्यत्ति नै माया गरिरहौं।—प्रका. २:४.

१८. परमेश्वरको प्रेमले हामीलाई के गर्न जुरमुऱ्याउँछ?

१८ “सुसमाचारको सत्य” जोसका साथ बाँडेर। (गला. २:५) परमेश्वरप्रतिको प्रेमले हामीलाई मसीही राज्यबारे अरूलाई बताउन जुरमुऱ्याउँछ। त्यस राज्यको राजा येशूले आरमागेडोनमा ‘सत्यताको निम्ति सवारी गर्नुहुनेछ।’ (भज. ४५:४; प्रका. १६:१४, १६) मानिसहरूलाई परमेश्वरको प्रेमबारे र उहाँले ल्याउनुहुने नयाँ संसारबारे सिकाउन पाउनु कत्ति रमाइलो!—मत्ती २८:१९, २०.

१९. किन एल्डरहरूको कदर गर्नुपर्छ?

१९ एल्डरहरूको कदर गरेर। (प्रेषि. २०:२८) यहोवा हाम्रो लागि सधैं उत्तम कुरा चाहनुहुन्छ। त्यसैले हामीलाई ख्रीष्टियन एल्डरहरू दिनुभएको छ। एल्डरहरू हाम्रो लागि “बतासबाट लुक्ने ठाउँ, र आँधीबेह्रीबाट आड लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुन्‌। (यशै. ३२:१, २) हुरीबतास अथवा डरलाग्दो आँधी चलिरहेको बेला सुरक्षित ठाउँ पाउँदा हामी ढुक्क महसुस गर्छौं। अथवा चर्को घामले गर्दा चिटचिट पसिना छुटिरहेको बेला ठूलो चट्टानले छायाँ पारेको ठाउँमा सुस्ताउन पाउँदा हाम्रो मनै रमाउँछ। त्यसरी नै एल्डरहरूले हामीलाई जीवनमा आउने समस्याको बाबजुद यहोवाको सेवा गरिरहन मदत र प्रोत्साहन दिन्छन्‌। अगुवाइ लिनेहरूप्रति आज्ञाकारी हुँदा “वरदानको रूपमा” दिइएका ती “पुरुषहरू”-को कदर गरिरहेका हुन्छौं अनि मण्डलीको शिर ख्रीष्टलाई र परमेश्वरलाई प्रेम गरिरहेका हुन्छौं।—एफि. ४:८; ५:२३; हिब्रू १३:१७.

यहोवाले हाम्रो साँचो चासो राख्ने एल्डरहरूको प्रबन्ध गर्नुभएको छ (अनुच्छेद १९ हेर्नुहोस्)

परमेश्वरप्रतिको प्रेम बढाइरहनुहोस्

२०. परमेश्वरलाई प्रेम गर्नुहुन्छ भने तपाईं के गर्नुहुनेछ?

२० यहोवालाई प्रेम गर्नुभएको छ भने तपाईं ‘वचन पालन गर्नुहुन्छ, सुन्नु मात्र हुन्न।’ (याकूब १:२२-२५ पढ्नुहोस्) ‘वचन पालन गर्ने’ व्यक्तिसित विश्वास हुन्छ। विश्वासको कारण उसले जोसिलो भई प्रचार गर्छ र सभाहरू धाउँछ। तपाईंले परमेश्वरलाई साँच्चै प्रेम गर्नुभएकोले उहाँको “पूर्ण व्यवस्था”-अनुरूप चल्नुहुनेछ। त्यो व्यवस्थामा यहोवाले तपाईंबाट माग गर्नुहुने सबै कुरा पाउनुहुनेछ।—भज. १९:७-११.

२१. निष्कपट प्रार्थनालाई केसित तुलना गर्न सकिन्छ?

२१ यहोवा परमेश्वरलाई प्रेम गरेकोले तपाईं उहाँलाई व्यग्र प्रार्थना गर्नुहुन्छ। इस्राएलमा पुजारीहरूले दिनहुँ यहोवाको लागि धूप बाल्थे। राजा दाऊदले आफ्नो प्रार्थनालाई धूपसित तुलना गर्दै यसरी गाए, “मेरो प्रार्थना तपाईंको [यहोवाको] सामने धूपजस्तै र मैले हात उठाउँदा बेलुकीको बलिजस्तै ठहरिओस्।” (भज. १४१:२; प्रस्थ. ३०:७, ८) यहोवाले दाऊदको प्रार्थना सुन्नुभयो। हामीले विनम्र अनि निष्कपट भएर धन्यवादसहितको प्रार्थना चढायौं भने हाम्रो प्रार्थना धूपजस्तै हुनेछ अनि त्यसले यहोवालाई खुसी बनाउनेछ।—प्रका. ५:८.

२२. अर्को लेखमा के छलफल गर्नेछौं?

२२ हामीले परमेश्वर र छिमेकीलाई प्रेम गर्नुपर्छ भनी येशूले भन्नुभयो। (मत्ती २२:३७-३९) यहोवा र उहाँका सिद्धान्तहरूलाई प्रेम गऱ्यौं भने छिमेकीलाई प्रेम गर्न सक्नेछौं। छिमेकीलाई प्रेम गर्नु भनेको के हो, अर्को लेखमा छलफल गर्नेछौं।