सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानव कमजोरीलाई यहोवाले जसरी नै हेर्नुहोस्

मानव कमजोरीलाई यहोवाले जसरी नै हेर्नुहोस्

“शरीरका कमजोर देखिने अङ्गहरू नै वास्तवमा झन्‌ नभई हुँदैन।”—१ कोरि. १२:२२.

१, २. पावलले किन कमजोरहरूको अवस्था बुझ्न सक्थे?

कहिलेकाहीं हामी सबै जना कमजोर हुन्छौं। रुघा-खोकीले ग्रस्त पार्दा हामी कमजोर महसुस गर्छौं; सामान्य कामहरू पनि गर्न सक्दैनौं। अब कल्पना गर्नुहोस्, तपाईं एक-दुई हप्ता मात्र होइन महिनौंसम्म थला पर्नुभयो। त्यस्तो अवस्थामा अरूले तपाईंको अवस्था बुझिदिएको चाहनुहुन्छ नि, हैन?

मण्डली बाहिर र मण्डली भित्रै सहनुपरेको बोझले गर्दा प्रेषित पावलले कमजोर महसुस गरे। कैयौंपटक त तिनलाई सहनै सक्दिनँ जस्तो लाग्यो (२ कोरि. १:८; ७:५) वफादार ख्रीष्टियनको रूपमा जीवन बिताउँदा आफूले भोग्नुपरेको सङ्कष्ट सम्झँदै तिनले यसो भने, “को कमजोर हुँदा मचाहिं कमजोर भइनँ र?” (२ कोरि. ११:२९) पावलले मण्डलीका सदस्यहरूलाई शरीरका विभिन्न अङ्गसित तुलना गर्दै “शरीरका कमजोर देखिने अङ्गहरू नै वास्तवमा झन्‌ नभई हुँदैन” भने। (१ कोरि. १२:२२) तिनले के भन्न खोजिरहेका थिए? कमजोर भाइबहिनीलाई किन यहोवाले जसरी नै हेर्नुपर्छ? अनि यसो गर्दा कस्तो फाइदा हुन्छ?

 मानव कमजोरीलाई यहोवा कसरी हेर्नुहुन्छ?

३. भाइबहिनीप्रति कसरी नकारात्मक दृष्टिकोण राख्न पुग्छौं?

हामी प्रतिस्पर्धाले भरिएको संसारमा बाँचिरहेका छौं। जोसित बल अनि जवानीको जोस छ, संसारले उसलाई नै हाई-हाई गर्छ। थुप्रै मानिस आफ्नो फाइदा हेर्छन्‌; चाहना पूरा गर्न तिनीहरू कमजोरहरूको नाजायज फाइदा उठाउँछन्‌। संसारको यस्तो मनोभावले हामीलाई पनि असर नगर्ला भन्न सकिन्न। मण्डलीमा मदतको खाँचो परिरहने भाइबहिनीप्रति नकारात्मक दृष्टिकोण राख्न पुग्छौं। मण्डलीका प्रत्येक सदस्यलाई हामी कसरी यहोवाले जसरी नै हेर्न सक्छौं?

४, ५. (क) पहिलो कोरिन्थी १२:२१-२३ को उदाहरणअनुसार यहोवा हामी प्रत्येकलाई कसरी हेर्नुहुन्छ? (ख) कमजोरहरूलाई मदत गर्दा कस्तो लाभ उठाउन सक्छौं?

पावलले कोरिन्थीहरूलाई लेखेको पहिलो पत्रमा रेकर्ड गरिएको उदाहरणबाट मानव कमजोरीलाई यहोवा कसरी हेर्नुहुन्छ भनी थाह पाउन सक्छौं। अध्याय १२ मा तिनले शरीरको सबैभन्दा कमजोर देखिने अङ्गहरू नै वास्तवमा नभई हुँदैन भनेका छन्‌। (१ कोरिन्थी १२:१२, १८, २१-२३ पढ्नुहोस्) तर विकासवादमा विश्वास गर्ने मानिसहरू भने शरीरका केही अङ्ग नभए पनि हुन्छ भन्छन्‌। * जस्तै, उनीहरू खुट्टाको कान्छी औंलाको कुनै काम हुँदैन भन्छन्‌। तर यसले हामी उभिंदा शरीरलाई सन्तुलनमा राख्न मदत गर्छ भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्‌।

पावलले दिएको उदाहरणले मण्डलीमा प्रत्येक सदस्यको महत्त्व छ भनेर देखाउँछ। हामीले आफूलाई काम नलाग्ने ठानेको सैतान चाहन्छ। तर यहोवा त्यस्तो चाहनुहुन्न। उहाँ आफ्ना सबै सेवकलाई मण्डलीमा ‘नभई नहुने’ व्यक्तिको रूपमा हेर्नुहुन्छ, कमजोरजस्तो देखिने सेवकहरूलाई समेत। (अय्यू. ४:१८, १९) यो कुरा विचार गर्दा मण्डलीमा र यहोवाका विश्वव्यापी सेवकहरूमाझ हाम्रो महत्त्व छ भनेर महसुस गर्न सक्नेछौं। उदाहरणको लागि, मण्डलीको वृद्ध भाइ वा बहिनीलाई मदत गरेको क्षण सम्झन सक्नुहुन्छ कि? तपाईंले मदत गर्दा उक्त भाइ वा बहिनीलाई पक्कै पनि सजिलो भयो। तर तपाईंले पनि लाभ उठाउनुभयो नि, हैन? अरूलाई मदत गर्दा हामी आफै पनि खुसी हुन्छौं, सहनशील हुन सिक्छौं, भाइबहिनीप्रतिको प्रेम अझ बढ्छ र परिपक्व हुन्छौं। (एफि. ४:१५, १६) हामीले कमजोरजस्तो देखिने भाइबहिनीलगायत अरू सबैलाई महत्त्वपूर्ण ठानेको यहोवा चाहनुहुन्छ। यसो गर्दा भाइबहिनीबाट अनावश्यक माग गर्दैनौं र मण्डलीमा न्यानो वातावरण छाउनेछ।

६. पावलले कुन अर्थमा “कमजोर” र “बलिया” शब्द चलाए?

कोरिन्थीहरूलाई लेखेको पत्रमा केही भाइबहिनीबारे उल्लेख गर्दा पावलले “कमजोर” शब्द चलाए। किनकि परमेश्वरमा विश्वास नगर्ने मानिसहरूले ख्रीष्टियनहरूलाई कमजोर ठान्थे। साथै, पावलले आफैलाई पनि “कमजोर” भनेका छन्‌। (१ कोरि. १:२६, २७; २:३) तिनले “बलिया” ख्रीष्टियनहरूबारे बताउँदा उनीहरू अरूभन्दा श्रेष्ठ छन्‌ भन्न खोजिरहेका थिएनन्‌। (रोमी १५:१) बरु, अनुभवी ख्रीष्टियनहरू कम अनुभवी भाइबहिनीप्रति धीरजी हुनुपर्छ भन्न खोज्दै थिए।

हामीले आफ्नो दृष्टिकोण बदल्नुपर्छ कि?

७. भाइबहिनीलाई मदत गर्न किन गाह्रो हुन सक्छ?

यहोवा कमजोरहरूलाई मदत गर्नुहुन्छ र हामीले पनि त्यसै गर्दा उहाँ खुसी हुनुहुन्छ। (भज. ४१:१; एफि. ५:१) तर मदत चाहिएको भाइबहिनीप्रति नकारात्मक दृष्टिकोण राख्यौं भने  मदत गर्न गाह्रो हुन्छ। अथवा ती भाइबहिनीलाई के भन्ने भनेर थाह नभएकोले पनि उनीहरूसित कुरा गर्न अप्ठ्यारो लाग्न सक्छ। कमला * नाम गरेकी बहिनीलाई विचार गरौं। श्रीमान्‌ले छोडेर जाँदा उनलाई मदत चाहिएको थियो। उनी भन्छिन्‌, “भाइबहिनीले तपाईंको वास्तै गरेनन्‌ र नजिकको साथीले जस्तो व्यवहार गरेनन्‌ भने तपाईंलाई पक्कै पनि चोट पुग्छ। समस्याले घेरेको बेला साथमा कोही भइदिए हुन्थ्यो जस्तो लाग्छ।” साथीहरूले त्याग्दा राजा दाऊदले पनि एक्लो महसुस गरे।—भज. ३१:१२.

८. के गऱ्यौं भने आफूलाई भाइबहिनीको ठाउँमा राखेर व्यवहार गर्न सक्छौं?

हाम्रा केही भाइबहिनीले गाह्रो परिस्थितिको सामना गरिरहेका छन्‌। स्वास्थ्य अवस्था नाजुक भएकोले, बेग्लै विश्वास भएका परिवारसित बस्नुपरेकोले वा निराशाले गर्दा उनीहरू कमजोर भएका छन्‌। यो कुरा विचार गऱ्यौं भने आफूलाई उनीहरूको ठाउँमा राखेर व्यवहार गर्न सक्छौं। हामीले पनि त्यस्तो परिस्थिति भोग्नुपर्ने हुन सक्छ। इस्राएलीहरूलाई विचार गरौं। मिश्रको दासत्वमा छँदा उनीहरू गरिब अनि कमजोर थिए। तैपनि प्रतिज्ञा गरिएको देशमा जानुअघि यहोवाले तिनीहरूलाई “निष्ठुर” नहुन सम्झाउनुभयो। हो, इस्राएलीहरूले दुःखमा परेका दाजुभाइलाई मदत गरेको यहोवा चाहनुहुन्थ्यो।—व्यव. १५:७, ११; लेवी २५:३५-३८.

९. कुनै भाइ वा बहिनी कमजोर भएको छ भने हामीले सबैभन्दा पहिला के गर्नुपर्छ? उदाहरण दिनुहोस्।

भाइबहिनीहरूले भोग्नुपरेको समस्या उनीहरूकै कारणले आइपरेको हो अथवा आफू उनीहरूभन्दा असल छु भनेर सोच्नु हुँदैन। बरु उनीहरूलाई मदत गर्नुपर्छ। (अय्यू. ३३:६, ७; मत्ती ७:१) कल्पना गर्नुहोस्, कुनै व्यक्ति मोटरसाइकल दुर्घटनामा पऱ्यो र उसलाई अस्पताल लगियो। अस्पताल पुऱ्याएपछि डाक्टर र नर्सहरूले के गर्छन्‌? कसले गर्दा दुर्घटना भयो भनेर छलफल गर्न थाल्छन्‌ र? अहँ, त्यसो गर्दैनन्‌। बरु तुरुन्तै घाइते व्यक्तिको उपचार गर्छन्‌। त्यसैगरि हाम्रो सङ्गी भाइ वा बहिनी व्यक्तिगत समस्याले गर्दा कमजोर भएको छ भने सबैभन्दा पहिला आध्यात्मिक मदत दिनुपर्छ।१ थिस्सलोनिकी ५:१४ पढ्नुहोस्।

१०. केही भाइबहिनी कमजोरजस्तो देखिए तापनि कसरी “विश्वासमा धनी” छन्‌?

१० केही भाइबहिनी कमजोरजस्तो देखिन्छन्‌। तर उनीहरूको परिस्थितिबारे राम्ररी सोच्यौं भने वास्तवमा उनीहरू कमजोर छैनन्‌ भनेर बुझ्नेछौं। श्रीमान्‌ विश्वासमा नभएको बहिनीहरूलाई कत्ति गाह्रो हुन्छ होला, सोच्नुहोस् त! अथवा छोराछोरीको पालनपोषण गर्दै नियमित रूपमा सभा धाउने एक्ली आमा देख्दा तपाईंलाई कस्तो लाग्छ? स्कूलमा हरेक दिन आउने दबाबको बाबजुद सत्यमा अडिग रहेका किशोरकिशोरीबारे पनि सोच्नुहोस्। यहोवाको सेवा गर्न हाम्रा भाइबहिनीले गरिरहेको प्रयासबारे सोच्दा उनीहरू कमजोरजस्तो देखिए तापनि “विश्वासमा धनी” छन्‌ भनेर बुझ्न मदत पुग्छ।—याकू. २:५.

यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्

११, १२. (क) मानव कमजोरीबारे आफ्नो दृष्टिकोणमा छाँटकाँट गर्न केले मदत गर्छ? (ख) यहोवाले हारूनलाई किन क्षमा दिनुभयो? यसबाट तपाईंले के सक्नुभयो?

११ यहोवाले विगतका केही सेवकसित गर्नुभएको व्यवहारबारे विचार गर्दा उहाँ मानव कमजोरीलाई कसरी हेर्नुहुन्छ भनेर बुझ्न सक्नेछौं र आफ्नो दृष्टिकोण बदल्न मदत पाउनेछौं। (भजन १३०:३ पढ्नुहोस्) सुनको बाछा बनाउनुको कारणबारे हारूनले मोशालाई सफाइ दिइरहेको बेला तपाईं पनि त्यहीं भएको कल्पना गर्नुहोस्! तपाईं हारूनबारे के सोच्नु हुनेथियो? (प्रस्थ. ३२:२१-२४) हारूनले आफ्नी दिदी मरियमको कुरा सुनेर मोशालाई विदेशी स्वास्नी ल्याएकोमा आलोचना गरेको देख्दा तपाईंलाई कस्तो लाग्ने थियो? (गन्ती १२:१, २) यहोवाले इस्राएलीहरूको लागि  पहराबाट पानी निकाल्दा हारून र मोशाले यहोवाको महिमा नगरेको देख्दा नि?—गन्ती २०:१०-१३.

१२ यी गल्तीहरूको लागि यहोवाले हारूनलाई तुरुन्तै सजाय दिन सक्नुहुन्थ्यो। तर हारून खराब मान्छे होइनन्‌ भनेर यहोवालाई थाह थियो। परिस्थितिको वशमा परेकोले र खराब मानिसहरूको कुरा सुनेकोले हारून सही काम गर्नदेखि चुके। तर हारूनले आफ्नो गल्ती स्वीकारे र यहोवाको निर्देशन पछ्याए। (प्रस्थ. ३२:२६; गन्ती १२:११; २०:२३-२७) यहोवाले हारूनको विश्वास र पश्‍चात्तापी मनोवृत्ति याद गर्नुभयो। सयौं वर्षपछिसम्म पनि हारून र तिनका सन्तान परमेश्वरसित डराउने मानिसहरू भनेर चिनिए।—भज. ११५:१०-१२; १३५:१९, २०.

१३. हामी कसरी आफ्नो दृष्टिकोण बदल्न सक्छौं? उदाहरण दिनुहोस्।

१३ यहोवाको जस्तै दृष्टिकोण राख्न हामीले के गर्नुपर्छ? कमजोरजस्तो देखिने भाइबहिनीलाई हामी कसरी हेर्छौं भनेर विचार गर्नुपर्छ। (१ शमू. १६:७) जस्तै, कुनै किशोर वा किशोरी मनोरञ्जन छान्ने सन्दर्भमा होसियार नहुँदा तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? आलोचना गरिहाल्नुको साटो उसलाई परिपक्व हुन मदत गर्ने तरिकाबारे विचार गरे कसो होला? भाइबहिनीलाई यसरी मदत गर्दा हामी उनीहरूप्रति धीरजी हुन सक्नेछौं र उनीहरूप्रतिको प्रेम पनि बढ्नेछ।

१४, १५. (क) एलिया डराएको देख्दा यहोवालाई कस्तो लाग्यो? (ख) यहोवाले एलियालाई मदत गर्नुभएको तरिकाबाट हामी के सिक्न सक्छौं?

१४ निराश भएकाहरूलाई यहोवा कसरी हेर्नुहुन्छ? निराश भएका एक जना सेवकलाई यहोवाले कसरी मदत गर्नुभयो, विचार गरौं। तिनी एलिया हुन्‌। एलिया परमेश्वरका भविष्यवक्ता थिए र तिनले साहसी भएर बालका ४५० भविष्यवक्तालाई चुनौती दिएका थिए। तर आफूलाई  रानी ईजेबेलले मार्न खोज्दै छिन्‌ भनेर थाह पाएपछि एलिया भागे। लगभग १५० किलोमिटर यात्रा गरेर तिनी बेर्शेबा पुगे र उजाड-स्थानभित्र पसे। यात्राले गर्दा तिनी अति नै थकित भएका थिए। तिनी यत्ति निराश भए, मर्न पाए हुन्थ्यो समेत भने।—१ राजा १८:१९; १९:१-४.

यहोवाले एलियाको सीमितता बुझ्नुभयो र तिनलाई प्रोत्साहन दिन स्वर्गदूत पठाउनुभयो (अनुच्छेद १४, १५ हेर्नुहोस्)

१५ एलिया डराएको र निराश भएको देख्दा यहोवालाई कस्तो लाग्यो? के यहोवाले तिनलाई त्याग्नुभयो? अहँ, त्याग्नुभएन। बरु, एलियाको सीमितता बुझ्नुभयो र मदत गर्न स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले दुई पटकसम्म एलियालाई खानेकुरा दिए। यसले गर्दा तिनी फेरि यात्रा गर्न बलियो भए। (१ राजा १९:५-८ पढ्नुहोस्) हो, कुनै निर्देशन दिनुअघि यहोवाले ती भविष्यवक्ताको कुरा सुन्नुभयो र तिनलाई चाहिएको मदत दिनुभयो।

१६, १७. हामी कसरी यहोवाको अनुकरण गर्न सक्छौं?

१६ हाम्रो मायालु बुबाको अनुकरण हामी कसरी गर्न सक्छौं? हामीले सल्लाह दिन हतार गर्नु हुँदैन। (हितो. १८:१३) व्यक्तिगत परिस्थितिले गर्दा आफूलाई ‘आदरयोग्य नठान्ने’ भाइबहिनीको कुरा सुन्नुपर्छ र आफूले तिनलाई माया गरेको कुरा व्यक्त गर्नुपर्छ। (१ कोरि. १२:२३) यसो गऱ्यौं भने तिनलाई कस्तो मदत चाहिएको हो, ठम्याउन सक्छौं र तिनलाई मदत गर्न सक्छौं।

१७ माथि उल्लेख गरिएको कमलालाई विचार गर्नुहोस्। उनको श्रीमान्‌ले उनलाई र दुई छोरीलाई छोडेर गए। उनीहरूले एक्लो महसुस गरे। केही भाइबहिनीले उनीहरूलाई कसरी मदत गरे? उनी भन्छिन्‌, “भाइबहिनीलाई फोन गरेर श्रीमान्‌ले छोडेर जानुभएको कुरा बताएँ। पैंतालीस मिनेटभित्रै उहाँहरू हाम्रो घरमा आइपुग्नुभयो। उहाँहरूको आँखा रसाएको थियो। दुई-तीन दिनसम्म त उहाँहरूले हामीलाई एकछिन पनि छोड्नुभएन। हामीले राम्ररी खाना नखाएको र निराश भएको देखेर उहाँहरूले हामीलाई आफ्नै घरमा लैजानुभयो।” यो अनुभव पढ्दा तपाईंलाई याकूबले भनेको यो कुरा याद आयो होला, “यदि कुनै भाइ वा बहिनीसित लुगा छैन वा दिनभरि खान पुग्ने भोजन छैन र तिमीहरूमध्ये कोही उसलाई ‘शान्तिसित जाऊ, न्यानो गरी बस अनि पेटभरि खाऊ’ भन्छौ तर उसको शरीरलाई चाहिने कुराचाहिं दिंदैनौ भने त्यसबाट के फाइदा हुन्छ र? विश्वास पनि त्यस्तै हो, यदि कामबाट प्रकट हुँदैन भने त्यो मरेको हुन्छ।” (याकू. २:१५-१७) भाइबहिनीबाट आवश्यक मदत पाएकोले त्यो पीडादायी घटना भएको छ महिनापछि नै कमला र उनकी छोरीहरूले सहायक अग्रगामी गर्न सके।—२ कोरि. १२:१०.

धेरैले लाभ उठाउँछन्‌

१८, १९. (क) कमजोर भएकाहरूलाई कसरी मदत गर्न सक्छौं? (ख) कमजोरहरूलाई मदत गर्दा क-कसले लाभ उठाउँछन्‌?

१८ लामो समयसम्म बिरामी भएपछि पूरै निको हुन समय लाग्छ। त्यसैगरि व्यक्तिगत समस्या वा गाह्रो परिस्थितिले गर्दा कमजोर भएको ख्रीष्टियनलाई आध्यात्मिक रूपमा बलियो हुन पक्कै समय लाग्छ। हुन त विश्वास बलियो बनाउन तिनी आफैले व्यक्तिगत अध्ययन र प्रार्थना गर्नुपर्छ अनि ख्रीष्टियन गतिविधिमा भाग लिनुपर्छ। तर तिनलाई हाम्रो मदत पनि चाहिन्छ। तिनी आध्यात्मिक रूपमा बलियो हुँदै जाँदा हामी धीरजी हुनुपर्छ। हामी तिनलाई माया गर्छौं र मण्डलीमा तिनको महत्त्व छ भनेर देखाइरहनुपर्छ।—२ कोरि. ८:८.

१९ भाइबहिनीलाई मदत गरिरह्यौं भने दिंदा पाइने आनन्द अनुभव गर्न सक्नेछौं। आफूलाई अरूको ठाउँमा राखेर व्यवहार गर्न सिक्नेछौं र हामी आफै पनि धीरजी हुनेछौं। तर यसरी मदत दिंदा हामीले मात्र लाभ उठाउने त होइन। मण्डलीको वातावरण पनि न्यानो हुन्छ र प्रेम छाउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, ‘कमजोरहरूलाई मदत गर्दा’ यहोवाको अनुकरण गरिरहेका हुन्छौं। हाम्रा मायालु बुबाले प्रत्येक व्यक्तिलाई अनमोल ठान्नुहुन्छ।—प्रेषि. २०:३५.

^ अनु. 4 मानिसको सुरुवात (अङ्ग्रेजी) नामक किताबमा चार्ल्स डार्विनले शरीरका कतिपय अङ्गको कुनै काम छैन भनेका छन्‌। उनका एक समर्थकले पनि शरीरका दर्जनौं अङ्गको कुनै खास काम छैन भन्ने दाबी गरेका छन्‌। जस्तै, एपेन्डिक्स (ठूलो आन्द्राको पुछारनिर हुने सानो अङ्ग) र थाइमस ग्रन्थी।

^ अनु. 7 नाम परिवर्तन गरिएको छ।