सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्वरको वचन प्रयोग गर्नुहोस्—यो जीवित छ!

परमेश्वरको वचन प्रयोग गर्नुहोस्—यो जीवित छ!

“परमेश्वरको वचन जीवित र प्रबल . . . छ।”—हिब्रू ४:१२.

१, २. यहोवाले मोशालाई कस्तो आदेश दिनुभयो? उहाँले तिनलाई के भन्नुभयो?

संसारको सबैभन्दा शक्तिशाली शासकको अघि यहोवाका जनहरूको पक्षमा बोल्नुपऱ्यो भने तपाईंलाई कस्तो लाग्छ? तपाईं व्याकुल हुनुहोला, के गरौं कसो गरौं होला अनि चिटचिट पसिना छुट्ला। त्यसोभए तपाईं कस्तो तयारी गर्नुहुन्छ? के तपाईं परमेश्वरले पठाएको व्यक्तिको रूपमा निर्धक्क भएर बोल्न सक्नुहुन्छ?

मोशा पनि ठ्याक्कै त्यस्तै परिस्थितिमा थिए। तिनी “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति” थिए। (गन्ती १२:३) आफ्ना जनहरूलाई मिश्रको दासत्वबाट छुटाउन यहोवाले तिनलाई फिरऊनकहाँ पठाउनुभयो। फिरऊन क्रूर र घमन्डी राजा थिए। (प्रस्थ. ५:१, २) तैपनि यहोवाले मोशालाई एउटा आदेश दिनुभयो। तिनले फिरऊनकहाँ गएर परमेश्वरका जनहरूलाई दासत्वबाट मुक्त गर्ने सन्देश दिनुपर्ने थियो। तर मोशालाई आफू योग्य छैन जस्तो लाग्यो। त्यसैले तिनले यहोवालाई यसो भने, “फिरऊनकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट ल्याउन सक्ने म को हुँ र?” तर यहोवाले तिनलाई साथ दिनुहुनेथियो। त्यसैले उहाँले मोशालाई यसो भन्नुभयो, “निश्चय म तँसित हुनेछु।”—प्रस्थ. ३:९-१२.

३, ४. (क) मोशा किन डराए? (ख) हामीलाई के गर्न गाह्रो लाग्न सक्छ?

मोशा किन डराए? आफूलाई यहोवा परमेश्वरले पठाउनुभएको हो भन्ने कुरा फिरऊनले पत्याउँदैनन्‌ होला भनेर मोशा डराएका हुन सक्छन्‌। साथै,  मिश्रबाट परमेश्वरका जनहरूलाई छुटाउन यहोवाले तिनलाई पठाउनुभएको हो भनेर इस्राएलीहरूले पत्याउलान्‌ कि नपत्याउलान्‌ भनेर पनि तिनी डराए। त्यसकारण मोशाले यहोवालाई यसो भने, “हेर्नुहोस्, तिनीहरूले मलाई पत्याउनेछैनन्‌, तिनीहरूले मेरा कुरा सुन्नेछैनन्‌, किनकि तिनीहरूले भन्नेछन्‌, ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको होइन।’”—प्रस्थ. ३:१५-१८; ४:१.

यहोवाले मोशालाई दिनुभएको जवाफ र त्यसपछिका घटनाहरूबाट हामी महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। हुन त तपाईं सरकारी अफिसरसामु उभिनुपरेको छैन होला। तर इलाकाका मानिसहरूलाई परमेश्वर र उहाँको राज्यबारे बताउन तपाईंलाई गाह्रो लाग्छ कि? त्यसोभए मोशाको अनुभवबाट के सिक्न सक्छौं, विचार गरौं।

“तेरो हातमा के छ?”

५. मोशालाई यहोवाले नै पठाउनुभएको हो भनेर मानिसहरूले कसरी विश्वास गर्न सक्थे? यसले तिनलाई निर्धक्क हुन कसरी मदत गऱ्यो?

आफ्नो कुरा मानिसहरूले पत्याउँदैनन्‌ होला भनेर मोशा डराएका थिए। त्यसकारण यहोवाले तिनलाई तयार पार्नुभयो। प्रस्थानको किताब यसो भन्छ, “परमप्रभुले [मोशालाई] भन्नुभयो, ‘तेरो हातमा के छ?’ तिनले भने ‘लट्ठी।’ उहाँले भन्नुभयो, ‘त्यो भूइँमा फाल्।’ औ तिनले त्यो भूइँमा फालिदिए, र त्यो एउटा सर्प भयो र मोशा त्यसदेखि डराएर भागे। तब परमेश्वरले मोशालाई भन्नुभयो, ‘तेरो हात लम्काएर त्यसको पुच्छरमा समात्‌।’ अनि तिनले हात लम्काएर च्याप्पै समाते, र त्यो तिनको हातमा लट्ठी नै भइहाल्यो।” त्यसपछि यहोवाले भन्नुभयो, “परमेश्वर तँकहाँ देखा पर्नुभएको हो रहेछ भन्ने तिनीहरूले यही कामबाट पत्याऊन्‌।” (प्रस्थ. ४:२-५) यहोवाको शक्तिले गर्दा त्यो लट्ठी सर्प बन्यो। यो चमत्कार देखेपछि मानिसहरूले मोशालाई परमेश्वरले नै पठाउनुभएको हो भनेर विश्वास गर्ने थिए। यहोवाले तिनलाई भन्नुभयो, “यो लट्ठीचाहिं तेरो हातैमा लैजा। त्यसद्वारा तैंले यी चिन्हका कामहरू गर्नेछस्।” (प्रस्थ. ४:१७) परमेश्वरबाट अख्तियार पाएको प्रमाण आफ्नो हातमा भएकोले तिनी निर्धक्क भएर फिरऊन अनि परमेश्वरका जनहरूको अघि जान सक्थे।—प्रस्थ. ४:२९-३१; ७:८-१३.

६. (क) प्रचार गर्दा हामी के प्रयोग गर्छौं? किन? (ख) “परमेश्वरको वचन” कसरी “जीवित र प्रबल” छ, व्याख्या गर्नुहोस्।

मानिसहरूलाई परमेश्वरको सन्देश सुनाउन जाँदा हामीसँग के हुन्छ? बाइबल हुन्छ र त्यो प्रयोग गर्न हामी उत्सुक हुन्छौं। कसै-कसैलाई बाइबल एउटा सामान्य किताब जस्तो लाग्ला। तर हाम्रो लागि यो एउटा सामान्य किताब मात्र होइन। यहोवा आफ्नो वचन बाइबलमार्फत हामीसित बोल्नुहुन्छ। (२ पत्रु. १:२१) यसमा भविष्यको लागि यहोवाले भन्नुभएका कुराहरू समेटिएका छन्‌। त्यसैकारण प्रेषित पावलले यस्तो लेखे, “परमेश्वरको वचन जीवित र प्रबल . . . छ।” (हिब्रू ४:१२ पढ्नुहोस्) यहोवाका प्रतिज्ञाहरू प्रतिज्ञामै सीमित छैन; ती अवश्य पूरा हुनेछन्‌। उहाँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्न निरन्तर काम गर्दै हुनुहुन्छ। (यशै. ४६:१०; ५५:११) कुनै व्यक्तिले परमेश्वरको वचनबारे यी तथ्यहरू बुझेका छन्‌ भने बाइबलले तिनको जीवनमा गहिरो प्रभाव पार्न सक्छ।

७. हामी कसरी ‘सत्यको वचन ठीकसित प्रयोग गर्न’ सक्छौं?

यहोवाले हामीलाई आफ्नो वचन बाइबल दिनुभएको छ। त्यसैले हाम्रो सन्देश भरपर्दो छ र यो परमेश्वरबाट आएको हो भनी प्रमाणित गर्न सक्छौं। त्यसकारण पावलले तिमोथीलाई ‘सत्यको वचन ठीकसित प्रयोग गर्न’ प्रोत्साहन दिए। (२ तिमो. २:१५) प्रचारमा पढिने शास्त्रपदहरू विचार पुऱ्याएर छान्यौं भने परमेश्वरको वचन ठीकसित प्रयोग गर्न सक्छौं। हामी मानिसहरूको मनसम्म पुग्न चाहन्छौं। सन्‌ २०१३ मा विमोचन गरिएका पर्चाहरूले हामीलाई त्यसो गर्न मदत गर्नेछ।

विचार पुऱ्याएर छानिएका शास्त्रपदहरू पढ्नुहोस्

८. एक सेवा निरीक्षकले नयाँ पर्चाहरूबारे के भन्नुभयो?

नयाँ पर्चाहरूको विषय फरक-फरक भए पनि  बनौट एउटै छ। त्यसैले कुनै एउटा पर्चा प्रयोग गर्न सिकेपछि अरू पर्चा पनि त्यसरी नै प्रयोग गर्न सक्छौं। अमेरिकाको हवाई भन्ने ठाउँका एक सेवा निरीक्षकले यस्तो लेख्नुभयो, “नयाँ पर्चाहरू घरघरको प्रचारका साथै सार्वजनिक साक्षीकार्यमा यत्ति प्रभावकारी होला भनेर त सोचेकै थिएनौं।” ती पर्चाहरू प्रस्तुत गर्न किन सजिलो छ? ती भाइको विचारमा पर्चाको बाहिरपट्टि भएको प्रश्न र सम्भाव्य जवाफहरूले गर्दा मानिसहरूले अप्ठ्यारो नमानी आफ्नो कुरा बताउँछन्‌। गलत जवाफ दिइने हो कि भनेर घरधनीले चिन्ता पनि गर्नुपर्दैन। त्यसैले थुप्रै मानिस हामीसित तुरुन्तै कुरा गर्न इच्छुक हुन्छन्‌ भनी उक्त भाइ बताउनुहुन्छ।

९, १०. (क) हाम्रा पर्चाहरूले बाइबल प्रयोग गर्न कसरी मदत गर्छ? (ख) तपाईंलाई कुन पर्चा सबैभन्दा प्रभावकारी लाग्यो र किन?

प्रत्येक पर्चामा विचार पुऱ्याएर छानिएका शास्त्रपदहरू राखिएका छन्‌। हामी ती शास्त्रपदहरू घरधनीलाई पढेर सुनाउन सक्छौं। जस्तै, कहिल्यै दुःखकष्टको अन्त होला? भन्ने पर्चाको बाहिरपट्टि एउटा प्रश्न छ। घरधनीले “हुन्छ” “हुँदैन” वा “खै, थाह छैन” भन्ने जवाफहरूमध्ये एउटा रोज्न सक्छन्‌। घरधनीले जुनसुकै जवाफ रोजे पनि पर्चाको भित्रपट्टि पल्टाउनुहोस् र यसो भन्नुहोस्, “यसबारे पवित्र शास्त्र के भन्छ, हेर्नुहोस् त।” त्यसपछि प्रकाश २१:३, ४ पढेर सुनाउनुहोस्।

१० त्यसैगरि, बाइबल कस्तो किताब हो? भन्ने पर्चा प्रस्तुत गर्दा घरधनीले बाहिरपट्टि दिइएको तीनवटा जवाफमध्ये एउटा रोज्न सक्छन्‌। पर्चाको भित्रपट्टि पल्टाउनुहोस् र यसो भन्नुहोस्, “बाइबलले ‘धर्मशास्त्रमा भएका सबै कुरा परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो’ भनेर बताउँछ।” त्यसपछि यसो पनि भन्न सक्नुहुन्छ, “यही कुरा बाइबलबाटै हेरौं न।” बाइबल खोल्नुहोस् र दोस्रो तिमोथी ३:१६, १७ पढेर सुनाउनुहोस्।

११, १२. (क) प्रचारकार्यबाट तपाईं कसरी सन्तुष्टि पाउन सक्नुहुन्छ? (ख) पुनःभेटमा कसरी पर्चाहरू प्रयोग गर्न सक्छौं?

११ पर्चाबाट कति छलफल गर्ने भन्ने कुरा घरधनीको प्रतिक्रियामा भर पर्छ। तर घरधनीले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि तिनले पर्चाबाट सन्देश पाउनेछन्‌। बाइबलबाट पढेर सुनाउनुहुँदा तपाईंले सन्तुष्टि पाउनुहुनेछ। पहिलो भेटमा एउटा वा दुइटा शास्त्रपद मात्र पढेर सुनाउनुहुन्छ होला। तर फेरि भेटेर छलफल अघि बढाउन सक्नुहुन्छ।

१२ प्रत्येक पर्चाको पछाडि “यसबारे सोच्नुहोस्” भन्ने शीर्षकमुनि पुनःभेटमा छलफल गर्न सकिने एउटा प्रश्न र शास्त्रपदहरू राखिएका छन्‌।  हाम्रो भविष्य कस्तो होला? भन्ने पर्चामा पुनःभेटको लागि यस्तो प्रश्न राखिएको छ, “परमेश्वरले हाम्रो संसारलाई कसरी राम्रो बनाउनुहुनेछ?” पर्चामा मत्ती ६:९, १० र दानियल २:४४ उल्लेख गरिएका छन्‌। के मरिसकेकाहरू फेरि बाँच्नेछन्‌? भन्ने पर्चामा यस्तो प्रश्न राखिएको छ, “हामी किन बूढो हुन्छौं र मर्छौं?” उक्त पर्चामा उत्पत्ति ३:१७-१९ र रोमी ५:१२ उल्लेख गरिएका छन्‌।

१३. बाइबल अध्ययन सुरु गर्न कसरी पर्चाहरू चलाउन सक्छौं, व्याख्या गर्नुहोस्।

१३ बाइबल अध्ययन सुरु गर्न पनि तपाईं यी पर्चाहरू चलाउन सक्नुहुन्छ। घरधनीले पर्चाको पछाडि भएको कोड (QR code) * स्क्यान गर्दा एउटा भिडियो खुल्नेछ। त्यस भिडियोले बाइबल अध्ययन गर्न प्रोत्साहन दिन्छ। प्रत्येक पर्चाले परमेश्वरबाट आएको सुसमाचार! पुस्तिकाको सम्बन्धित पाठतर्फ ध्यान खिच्छ। उदाहरणको लागि, संसार कसको हातमा छ? भन्ने पर्चाले सुसमाचार! पुस्तिकाको पाठ ५ तर्फ ध्यान खिच्छ। परिवार सुखी बनाउन के चाहिन्छ? भन्ने पर्चाले पाठ ९ तर्फ ध्यान खिच्छ। हामीलाई पहिलो भेट र पुनःभेटमा बाइबल चलाउन मदत दिने उद्देश्यले यी पर्चाहरू तयार पारिएका हुन्‌। यसरी हामी बाइबल अध्ययन सुरु गर्न सक्छौं। प्रचारकार्यमा परमेश्वरको वचन ठीकसित चलाउन हामी अझै के गर्न सक्छौं?

मानिसहरूलाई चासो लाग्ने विषयमा कुरा गर्नुहोस्

१४, १५. हामी कसरी पावलको मनोवृत्ति अनुकरण गर्न सक्छौं?

१४ प्रचारमा जाँदा पावल सकेसम्म “धेरै जना”-को विचार बुझ्ने प्रयास गर्थे। (१ कोरिन्थी ९:१९-२३ पढ्नुहोस्) पावल ‘यहूदीहरूलाई, व्यवस्थाको अधीनमा भएकाहरूलाई, व्यवस्था नभएकाहरूलाई र कमजोरलाई हासिल गर्न चाहन्थे।’ तिनी “कसै-कसैलाई हर हालतमा बचाउन सकूँ भनेर सबै किसिमका मानिसहरू”-कहाँ पुग्न चाहन्थे। (प्रेषि. २०:२१) इलाकामा भेटिने “सबै किसिमका मानिसहरू”-लाई सत्य बताउन तयार हुँदा हामी कसरी पावलको मनोवृत्ति अनुकरण गर्न सक्छौं?—१ तिमो. २:३, ४.

१५ प्रत्येक महिना हाम्रो राज्य सेवा-मा प्रस्तुतिहरू छापिन्छन्‌। क्षेत्रमा ती प्रस्तुतिहरू चलाउनुहोस्। तर इलाकाका मानिसहरूलाई अरू नै विषयमा चासो छ भने आफैले रोचक प्रस्तुतिहरू तयार पार्नुहोस्। तपाईंको इलाका, त्यहाँका मानिसहरू र उनीहरूलाई चासो लाग्ने विषयबारे सोच्नुहोस्। त्यसपछि विषयसित सम्बन्धित शास्त्रपद पनि रोज्नुहोस्। आफू र आफ्नी श्रीमतीले कसरी बाइबलतर्फ ध्यान खिच्न सके भन्नेबारे एक क्षेत्रीय निरीक्षक यसो भन्नुहुन्छ, “हामीले छोटो कुरा गऱ्यौं र आफूले भन्न खोजेको कुरा स्पष्टसित बतायौं भने घरधनी एउटा मात्र पद भए पनि सुन्न राजी हुन सक्छन्‌। हामी घरधनीलाई अभिवादन गर्छौं र बाइबल पद देखाइहाल्छौं।” हाम्रो इलाकामा प्रभावकारी हुन सक्ने विषय, प्रश्न र शास्त्रपदहरूबारे यसपछिका अनुच्छेदहरूमा छलफल गर्नेछौं।

के तपाईं बाइबल र पर्चाहरू प्रभावकारी तरिकामा चलाउँदै हुनुहुन्छ? (अनुच्छेद ८-१३ हेर्नुहोस्)

१६. प्रचारमा यशैया १४:७ कसरी प्रयोग गर्न सक्छौं, व्याख्या गर्नुहोस्।

१६ तपाईं अपराध र हिंसाले भरिएको इलाकामा बस्नुहुन्छ भने घरधनीलाई यसो भन्न सक्नुहुन्छ, “अखबारको पहिलो पानामा यस्तो राम्रो समाचार छापियो भने तपाईंलाई कस्तो लाग्छ? ‘पृथ्वीभरि शान्ति! मानिसहरू खुसीले कराउँदै छन्‌!’ यशैया १४:७ मा त्यस्तै कुरा बताइएको छ। शान्तिमय संसारबारे परमेश्वरले गर्नुभएको थुप्रै प्रतिज्ञा बाइबलमा पाइन्छ।” त्यसपछि बाइबलको कुनै एउटा प्रतिज्ञा पढेर सुनाउनुहोस्।

१७. हामी प्रचारमा मत्ती ५:३ कसरी प्रयोग गर्न सक्छौं?

१७ तपाईंको इलाकाका मानिसहरू धनी छन्‌ कि? अथवा थुप्रैलाई परिवारको पालनपोषण गर्न गाह्रो छ कि? त्यसोभए तपाईं यसरी कुरा थाल्न सक्नुहुन्छ, “भौतिक सर-साधन र पैसाले मात्र हामीलाई आनन्द दिन्छ होला?” घरधनीको जवाफ सुन्नुहोस् र यसो भन्नुहोस्, “मानिसहरूसित जतिसुकै धन भए तापनि सन्तुष्ट हुन सकेका छैनन्‌। त्यसोभए परिवार सुखी बनाउन  के चाहिन्छ होला?” त्यसपछि मत्ती ५:३ पढ्नुहोस् र बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्।

१८. अरूलाई सान्त्वना दिन यर्मिया २९:११ कसरी चलाउन सक्छौं?

१८ तपाईंको इलाकाका मानिसहरू हालसालै कुनै प्रकोपको शिकार भएका छन्‌ कि? त्यसोभए यसरी कुराकानी सुरु गर्न सक्नुहुन्छ, “तपाईंलाई सान्त्वना दिऊँ कि भनेर आएको। (यर्मिया २९:११ पढ्नुहोस्) यो पदमा परमेश्वरले हाम्रो लागि चाहनुहुने तीनवटा कुरा याद गर्नुभयो कि? परमेश्वर हाम्रो “भलाइ” चाहनुहुन्छ; हाम्रो “भविष्य सुधार्न” र हामीलाई “आशा दिन” चाहनुहुन्छ। हामी आनन्दित भएको परमेश्वर चाहनुहुन्छ भनेर थाह पाउँदा खुसी लाग्दैन र? तर यो कसरी सम्भव होला?” त्यसपछि सुसमाचार! पुस्तिकाको कुनै उपयुक्त पाठ देखाउनुहोस्।

१९. धर्ममा आस्था राख्ने मानिसहरूलाई कस्ता पदहरू देखाउन सक्नुहुन्छ?

१९ के तपाईं धर्ममा आस्था राख्ने मानिसहरू भएको इलाकामा बस्नुहुन्छ? घरधनी चर्च जान्छन्‌ भने यसो भन्नुहोस्, “स्वर्गदूत तपाईंकहाँ आए भने तपाईं तिनको कुरा सुन्नुहुन्न र? (प्रका. १४:६, ७) यहाँ स्वर्गदूतले परमेश्वरसित ‘डराओ’ भनेका छन्‌। तिनले कुन परमेश्वरबारे कुरा गर्दै छन्‌ होला? ‘आकाश र पृथ्वी बनाउनुहुने’ परमेश्वरबारे। त्यसोभए उहाँ को हुनुहुन्छ?” त्यसपछि प्रकाश ४:११ पढेर सुनाउनुहोस्, जहाँ यसो भनिएको छ, “हे यहोवा हाम्रा परमेश्वर, तपाईं महिमा, आदर अनि शक्ति ग्रहण गर्न योग्य हुनुहुन्छ, किनकि तपाईंले नै सबै थोक सृष्टि गर्नुभयो र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए अनि सृजिए।” यहोवाबारे थप कुरा बताउन सकिन्छ कि भनेर सोध्नुहोस्। धर्ममा आस्था राख्ने मानिसहरूलाई अन्य कस्ता पद देखाउन सक्नुहुन्छ?याकूब १:५ पढ्नुहोस्; फिलि. ४:६, ७.

२०. (क) कसैलाई परमेश्वरको नाम बताउन हितोपदेश ३०:४ कसरी चलाउन सक्छौं? (ख) तपाईंले प्रचारमा कुन पद प्रभावकारी पाउनुभएको छ?

२० युवाहरूसित यसरी कुराकानी थाल्न सक्नुहुन्छ, “एउटा महत्त्वपूर्ण प्रश्न सोधिएको पद तपाईंलाई देखाउन चाहन्छु। (हितोपदेश ३०:४ पढ्नुहोस्) यो पदमा बताएको काम कुनै मानिसले त गर्न सक्दैन। त्यसकारण यसले पक्कै पनि हाम्रो सृष्टिकर्ताबारे बताउँदै छ। * तपाईंलाई पवित्र शास्त्रबाट सृष्टिकर्ताको नाम देखाऊँ?”

परमेश्वरको प्रबल वचन प्रयोग गर्नुहोस्

२१, २२. (क) विचार पुऱ्याएर छानिएको शास्त्रपदले मानिसको जीवन परिवर्तन गर्न सक्छ, कसरी? (ख) यो लेख पढेर तपाईं के गर्न उत्प्रेरित हुनुभयो?

२१ विचार पुऱ्याएर छानिएको शास्त्रपदले मानिसहरूमा कस्तो प्रभाव पार्छ? एउटा अनुभव विचार गरौं। अस्ट्रेलियाका दुई साक्षी भाइले घरघरको प्रचारमा एक स्त्रीलाई भेटे। ती भाइहरूमध्ये एक जनाले उनलाई यस्तो प्रश्न सोधे, “तपाईंलाई परमेश्वरको नाम थाह छ?” त्यसपछि भजन ८३:१८ पढेर सुनाए। ती स्त्री यसो भन्छिन्‌, “म त तीनछक परें! ती भाइहरू गएपछि ५६ किलोमिटर टाढा पर्ने पुस्तकालयमा गएँ अनि बाइबलको अरू अनुवादमा पनि परमेश्वरको नाम छ कि छैन भनेर हेरें। शब्दकोशमा पनि यहोवा नाम देखें। परमेश्वरको नाम यहोवा नै हो भन्ने कुरामा पक्का भएँ। तर मैले अझ धेरै कुरा बुझ्न बाँकी छ जस्तो लाग्यो।” त्यसको लगत्तै उनी र उनका हुनेवाला श्रीमान्‌ले बाइबल अध्ययन गर्न थाले र दुवैले बप्तिस्मा पनि गरे।

२२ परमेश्वरको वचनमा मानिसको जीवन परिवर्तन गर्न सक्ने शक्ति छ। कुनै व्यक्तिले बाइबल पढ्यो भने परमेश्वरका प्रतिज्ञाहरूमाथि उसको विश्वास अझ बढ्छ। (१ थिस्सलोनिकी २:१३ पढ्नुहोस्) तीनथुप्रो कुरा बताउनुभन्दा परमेश्वरको वचन प्रयोग गर्नु अझ प्रभावकारी हुन्छ; मानिसहरूको मनसम्म पुग्न सकिन्छ। त्यसकारण हरेक मौकामा परमेश्वरको वचन प्रयोग गरौं। यो जीवित छ!

^ अनु. 13 यो कोड डेन्सो वेभ (Denso Wave) कम्पनीको कानुनी तवरमा दर्ता गरिएको ट्रेडमार्क हो।