सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले स्त्रीहरूको कदर गर्नुहुन्छ

यहोवाले स्त्रीहरूको कदर गर्नुहुन्छ

“शुभ समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल हुन्छ।”—भज. ६८:११.

१, २. (क) परमेश्वरले आदमलाई के-के दिनुभयो? (ख) हव्वा किन परमेश्वरले दिनुभएको वरदान थिइन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)

यहोवाले पृथ्वी “आवाद गर्नलाई बनाउनुभयो।” (यशै. ४५:१८) उहाँले आदमलाई बनाउनुहुँदा तिनमा कुनै खोट थिएन। उहाँले आदमलाई सुन्दर बगैंचामा राख्नुभयो। सुन्दर रूखहरू, कलकल बगिरहेका खोलाहरू अनि बुर्लुक-बुर्लुक उफ्रिरहेका जनावरहरू देख्दा आदमलाई कत्ति रमाइलो लाग्थ्यो होला! तर त्यहाँ एउटा कुराको कमी थियो। यहोवाले भन्नुभयो, “मानिस एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।” त्यसपछि परमेश्वरले आदमलाई मस्त निद्रामा पार्नुभयो र तिनको एउटा करङ निकालेर ‘त्यसबाट एउटी स्त्री बनाउनुभयो।’ ब्युँझेपछि खुसी हुँदै आदमले भने, “यो त मेरै हाडको हाड र मासुको मासु हो। उसलाई स्त्री भनिनेछ। किनभने तिनी पुरुषबाट निकालिएकी थिइन्‌।”—उत्प. २:१८-२३.

तिनी आदमको त्रुटिरहित सहयोगी थिइन्‌। साथै तिनले छोराछोरी जन्माउने विशेष सुअवसर पाएकी थिइन्‌। बाइबल भन्छ, “मानिसले आफ्नी पत्नीको नाउँ हव्वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌।” (उत्प. ३:२०) तिनीहरूले त्रुटिरहित छोराछोरी जन्माएर पृथ्वी  भर्ने थिए। हाम्रा प्रथम आमाबुबा र तिनीहरूका छोराछोरीले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउने थिए र अरू प्राणीलाई हेरचाह गर्ने थिए। त्यसैले हव्वा यहोवाले आदमलाई दिनुभएको वरदान थिइन्‌। —उत्प. १:२७, २८.

३. (क) यहोवाको आशिष्‌ पाउन आदम र हव्वाले के गर्नुपर्थ्यो? तर तिनीहरूले के गरे? (ख) हामी यो लेखमा कुन प्रश्नहरूको जवाफ पाउनेछौं?

यहोवाको आशिष्‌ पाउन आदम र हव्वाले उहाँको आज्ञा मान्नुपर्थ्यो र उहाँको अधीनमा बस्नुपर्थ्यो। (उत्प. २:१५-१७) यसो गरेमा मात्र तिनीहरूले परमेश्वरको इच्छा पूरा गर्न सक्थे। तर दुःखको कुरा, तिनीहरूले “पुरानो सर्प” सैतानको कुरा सुने र परमेश्वरको आज्ञा मानेनन्‌। (प्रका. १२:९; उत्प. ३:१-६) यसले गर्दा स्त्रीहरूलाई कस्तो असर पऱ्यो? परमेश्वरको डर मान्ने केही स्त्रीबारे बाइबलले के भन्छ? आज किन ख्रीष्टियन स्त्रीहरूलाई “एक ठूलो दल” भन्न सकिन्छ?—भज. ६८:११.

आज्ञा नमान्दा के भयो?

४. आदम र हव्वा दुवैले गल्ती गरे पनि यहोवाले कसलाई जिम्मेवार ठहराउनुभयो?

यहोवाले आदमलाई आज्ञा नमान्नुको कारण सोध्नुभयो। तिनले यस्तो फोस्रो जवाफ दिए, “जुन स्त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो त्यसैले मलाई त्यो रूखको फल दिई, र मैले खाएँ।” (उत्प. ३:१२) आदमले गल्ती गरेर पनि पछुतो मानेनन्‌। बरु तिनले हव्वालाई दोष दिए। तिनलाई माया गरेर पत्नी दिनुहुने यहोवालाई समेत तिनले दोष लगाए। हुन त आदम र हव्वा दुवैले गल्ती गरे तर यहोवाले आदमलाई जिम्मेवार ठहराउनुभयो। त्यसैले बाइबल यसो भन्छ, ‘एकै जना मानिस आदमद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु।’—रोमी ५:१२.

५. मानिसले आफूखुसी गर्न खोज्दा नतिजा कस्तो भएको छ?

सैतानले आदम र हव्वालाई भड्कायो। त्यसैले तिनीहरूले यहोवाको अधीनमा बस्नु जरुरी ठानेनन्‌। आदम र हव्वाले विरोध गरेको हुनाले मानिसजाति परमेश्वरको अधीनमा बस्नुपर्छ कि पर्दैन भन्ने महत्त्वपूर्ण प्रश्न उठ्यो। यो प्रश्नको जवाफ दिन यहोवाले मानिसलाई आफूखुसी गर्न दिनुभयो। यसको नतिजा? परमेश्वरको कुरा नसुनेकोले मानिसहरूले दुःखमाथि दुःख खेप्नुपरेको छ। बितेको सय वर्षमा युद्धले गर्दा लगभग दस करोड मानिसले ज्यान गुमाए। बाइबलले पनि यसो भन्छ, “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।” (यर्मि. १०:२३) त्यसकारण साँचो ख्रीष्टियनहरू यहोवालाई आफ्नो शासकको रूपमा स्वीकार्छन्‌।हितोपदेश ३:५, ६ पढ्नुहोस्।

६. केही देशमा स्त्रीहरूमाथि कस्तो दुर्व्यवहार भइरहेको छ?

सैतानले शासन गरेको यस संसारमा पुरुष तथा स्त्री दुवैले दुःख पाएका छन्‌। (उप. ८:९; १ यूह. ५:१९) स्त्रीहरू हिंसाको सिकार भएका छन्‌। उदाहरणको लागि, विश्वभरि १०० जना स्त्रीमा लगभग ३० ले आफ्नो श्रीमान्‌ वा केटा साथीबाट शारीरिक अथवा लैङ्गिक दुर्व्यवहार भोग्नुपरेको छ। साथै, कुनै-कुनै समाजमा आमाबुबाले छोरीलाई भन्दा छोरालाई बढी माया गर्छन्‌ किनभने छोराहरू हुर्केपछि आफ्ना आमाबुबालाई पाल्छन्‌ र वंश धान्छन्‌ भन्ने सोचाइ छ। केही देशमा छोरीहरूलाई काम नलाग्ने ठानिन्छ अनि गर्भमा छोरी आएको थाह पाउनेबित्तिकै गर्भपतन गरिन्छ।

७. पुरुष र स्त्री दुवैको सुरुवात कस्तो थियो?

स्त्रीहरूलाई गरिने यस्ता दुर्व्यवहार यहोवालाई फिटिक्कै मनपर्दैन। उहाँ तिनीहरूलाई भेदभाव गर्नुहुन्न बरु आदर गर्नुहुन्छ। उहाँले हव्वालाई आदमको दासीको रूपमा सृष्टि गर्नुभएको थिएन। तिनी त्रुटिरहित थिइन्‌ र असल सहयोगीमा हुनुपर्ने धेरै गुण तिनमा थियो। त्यसैकारण सबै कुरा सृष्टि गरिसकेपछि यहोवाले  ‘आफूले बनाएको हरेक कुरा हेर्नुभयो’ र त्यो “साह्रै राम्रो” देख्नुभयो। (उत्प. १:३१) हो, पुरुष र स्त्री दुवैको सुरुवात एकदमै राम्रो थियो।

यहोवाको निगाह पाएका स्त्रीहरू

८. (क) धेरैजसो मानिसको आनीबानी कस्तो छ? (ख) कसले यहोवाको मदत अनि निगाह पाएका छन्‌?

अदनको बगैंचामा भएको विद्रोहपछि मानिसहरूले बारम्बार यहोवाको आज्ञा तोडेका छन्‌। केही वर्ष यता धेरैजसो मानिसको आनीबानी झन्‌झनै खराब हुँदै गइरहेको छ। बाइबलले भविष्यवाणी गरेझैं ‘अन्तको दिन असाध्यै कठिन’ भएको छ। (२ तिमो. ३:१-५) सृष्टिको सुरुदेखि नै यहोवालाई भरोसा गर्ने, उहाँको आज्ञा मान्ने अनि उहाँको अधीनमा बस्ने केही पुरुष तथा स्त्रीले उहाँको मदत अनि निगाह पाएका छन्‌।भजन ७१:५ पढ्नुहोस्।

९. जलप्रलयमा कति जना बाँचे? किन?

नूहको समयमा यहोवाले जलप्रलय गराएर दुष्टहरूलाई नाश गर्नुभयो। त्यतिखेर नूहका दिदीबहिनी तथा दाजुभाइ पनि जीवितै थिए होलान्‌ तर तिनीहरू पनि मरे। (उत्प. ५:३०) थोरै मानिस मात्र बाँचे। बाँच्नेहरूमा पुरुष र स्त्री दुवै थिए। पुरुष चार जना थिए भने स्त्री पनि चारै जना थिए—नूह, तिनकी पत्नी, तीन छोरा र तीन बुहारी। यहोवाको आज्ञा मानेकोले तिनीहरू बाँचे। आज संसारमा भएका सबै मानिस ती आठ जनाका सन्तान हुन्‌।—उत्प. ७:७; १ पत्रु. ३:२०.

१०. परमेश्वरमा विश्वास गर्ने केही स्त्रीहरूले किन उहाँको निगाह र सुरक्षा पाए?

१० वर्षौंपछि, परमेश्वरमा विश्वास गर्ने केही स्त्रीहरूले पनि उहाँको निगाह र सुरक्षा पाए। तिनीहरूले आफ्नो जीवनसित असन्तोष व्यक्त गरेनन्‌। त्यसैले यहोवाले तिनीहरूलाई आशिष्‌ दिनुभयो। (यहू. १६) अब्राहामकी पत्नी सारालाई विचार गरौं। ऊरको सुविधा सम्पन्न घर छोडेर पालमा बस्ने आज्ञा यहोवाले दिनुहुँदा उनले असन्तोष व्यक्त गरिनन्‌। बरु उनले “अब्राहामलाई ‘प्रभु’ भनेर पुकार्दै तिनको आज्ञा पालन गर्थिन्‌।” (१ पत्रु. ३:६) रिबेकालाई पनि विचार गरौं। तिनी इसहाकको लागि यहोवाले दिनुभएको वरदान थिइन्‌ र तिनी असल पत्नी साबित भइन्‌। त्यसैले तिनका पति इसहाकले “तिनलाई प्रेम गरे। यसरी आफ्नो आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए।” (उत्प. २४:६७) आज पनि सारा र रिबेकाजस्ता वफादार दिदीबहिनी हाम्रोमाझ हुनु कत्ति खुसीको कुरा!

११. दुई हिब्रू सुँडेनीले कसरी साहस देखाए?

११ इस्राएलीहरू मिश्रमा दास भएर बस्नुपरे तापनि तिनीहरूको सङ्ख्या झन्‌झन्‌ बढ्दै गयो। त्यसकारण इस्राएली स्त्रीहरूले छोरा जन्माए भने बच्चालाई तुरुन्तै मार्नू भनी फिरऊनले आदेश दिए। त्यसबेलाका हिब्रू सुँडेनीहरू शिप्रा र पूआलाई विचार गरौं। सायद तिनीहरू सुँडेनीहरूमध्ये प्रमुख थिए। तिनीहरू यहोवासँग डराउँथे। त्यसैले फिरऊनको आदेश पालन नगरेर साहस देखाए। यहोवाले तिनीहरूलाई पनि सन्तान दिनुभयो।—प्रस्थ. १:१५-२१.

१२. दबोरा र याएलले कस्तो विशेष काम गरे?

१२ अब हामी न्यायकर्ताहरूको समयमा जाऔं। यहोवाको निगाह पाएका स्त्रीहरूमध्ये अगमवादिनी दबोरा पनि एक थिइन्‌। उनले बाराकलाई प्रोत्साहन दिइन्‌ र इस्राएलीहरूलाई कनानीहरूको हातबाट छुटाउन मदत गरिन्‌। तर जितको श्रेय बाराकले नभई “एउटी स्त्री”-ले पाउने छिन्‌ भनी दबोराले भविष्यवाणी गरिन्‌। नभन्दै, गैर-इस्राएली याएलले कनानी सेनापति सीसरालाई मारिन्‌।—न्याय. ४:४-९, १७-२२.

१३. अबिगेल कस्ती स्त्री थिइन्‌?

१३ अब हामी ईसापूर्व ११ औं शताब्दीकी अबिगेललाई विचार गरौं। तिनी बुद्धिमती थिइन्‌ तर तिनको पति नाबाल भने निष्ठुर, नीच र मूर्ख थियो। (१ शमू. २५:२, ३, २५) दाऊद  र उनका मानिसहरूले नाबालका मानिसहरूलाई सुरक्षा दिएका थिए। तर पछि उनीहरूले खानेकुरा माग्दा नाबालले उनीहरूलाई ‘हकाऱ्यो’ र रित्तै हात पठायो। यसले गर्दा दाऊदलाई रिस उठ्यो र उनले नाबाल र उसका मानिसहरूलाई मार्ने योजना बनाए। यो कुरा सुनेपछि अबिगेल खानेकुरा र दाखमद्य लिएर दाऊदलाई भेट्न गइन्‌ अनि उनलाई हत्या गर्नबाट रोकिन्‌। (१ शमू. २५:८-१४, १८) उनले भने, “परमप्रभु इस्राएलका परमेश्वर धन्यका होऊन्‌, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो।” (१ शमू. २५:३२) नाबाल मरेपछि दाऊदले अबिगेलसँग विवाह गरे।—१ शमू. २५:३७-४२.

१४. शल्लूमका छोरीहरूले कुन काममा भाग लिए र आज पनि थुप्रै दिदीबहिनीहरूले के गरिरहेका छन्‌?

१४ अब हामी ईसापूर्व ६०७ को घटनालाई विचार गरौं। बेबिलोनी फौजले यरूशलेम र त्यहाँको मन्दिर ध्वस्त पार्दा थुप्रै पुरुष, स्त्री र केटाकेटी मरे। ईसापूर्व ४५५ मा नहेम्याहको निगरानीमा त्यस सहरका पर्खालहरू फेरि बनाइए। ती पर्खालहरू बनाउन मदत गर्नेहरूमध्ये यरूशलेमको आधा जिल्लाका शासक शल्लूमका छोरीहरू पनि थिए। (नहे. ३:१२) ती राजकुमारीहरूले साधारण काम पनि खुसीसित गरे। आज पनि संसारभरि थुप्रै दिदीबहिनीहरूले यस्तै निर्माणकार्यमा खुसीसित भाग लिइरहेका छन्‌। के हामी ती दिदीबहिनीहरूको प्रशंसा गर्दैनौं र?

प्रथम शताब्दीमा परमेश्वरको डर मान्ने स्त्रीहरू

१५. यहोवाले मरियमलाई कस्तो सुअवसर दिनुभयो?

१५ प्रथम शताब्दी र त्यसअघिका केही स्त्रीहरूलाई यहोवाले विशेष अवसर दिनुभयो। तिनीहरूमध्ये एक मरियम नाउँ गरेकी कन्या थिइन्‌। उनको यूसुफसित मगनी भएको थियो। तर विवाहअघि नै उनी यहोवाको पवित्र शक्तिद्वारा गर्भवती भइन्‌। यहोवाले किन उनलाई येशूकी आमा हुन छान्नुभयो? किनभने यहोवाको त्रुटिरहित छोरालाई हुर्काउन चाहिने असल गुणहरू उनमा थिए। सबैभन्दा महान्‌ पुरुषको आमा हुन पाउनु कत्ति ठूलो सुअवसर!—मत्ती १:१८-२५.

१६. येशूले स्त्रीहरूसित कस्तो व्यवहार गर्नुहुन्थ्यो, उदाहरण दिनुहोस्।

१६ येशू स्त्रीहरूसित कोमल व्यवहार गर्नुहुन्थ्यो। उदाहरणको लागि, रगत बग्ने व्यथाले चापेको बाह्र वर्ष भइसकेको एक जना स्त्रीलाई विचार गरौं। भीडमा येशूको पछिल्तिर आएर उसले उहाँको लुगा छोई। उसलाई हकार्नुको साटो दयालु भई येशूले भन्नुभयो, “नानी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिम्रो रोग निको भयो।”—मर्कू. ५:२५-३४.

१७. इस्वी संवत्‌ ३३ पेन्तिकोसमा कस्तो घटना भयो?

१७ येशूका चेलाहरूमध्ये केही स्त्रीहरू पनि थिए। तिनीहरूले उहाँ अनि उहाँका प्रेषितहरूको सेवा गरे। (लूका ८:१-३) इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पवित्र शक्ति पाएका लगभग १२० चेलाहरूमध्ये स्त्रीहरू पनि थिए। (प्रेषित २:१-४ पढ्नुहोस्) यहोवाले पहिल्यै यसो भन्नुभएको थियो, “त्यसपछि म मेरो आत्मा सबैमाथि खन्याउनेछु, र तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी कहनेछन्‌ . . . तिमीहरूका दास र तिमीहरूका दासीहरूमाथि पनि म आफ्नो आत्मा खन्याउनेछु।” (योए. २:२८, २९) पेन्तिकोसको दिनमा भएको यो घटना कुन कुराको प्रमाण थियो? यहोवाले धर्मत्यागी इस्राएललाई त्याग्नुभयो अनि पुरुष तथा स्त्रीहरू मिलेर बनेको “परमेश्वरको इस्राएल”-लाई स्वीकार्नुभयो भन्ने प्रमाण थियो। (गला. ३:२८; ६:१५, १६) प्रथम शताब्दीमा प्रचारमा भाग लिएका ख्रीष्टियन स्त्रीहरूमध्ये प्रचारक फिलिपका चार छोरी पनि थिए।—प्रेषि. २१:८, ९

 “स्त्रीहरूको एक ठूलो दल”

१८, १९. (क) पुरुष तथा स्त्री दुवैलाई यहोवाले कस्तो सुअवसर दिनुभएको छ? (ख) सुसमाचार सुनाउने स्त्रीहरूबारे भजनरचयिता के भन्छन्‌?

१८ येशूले यस्तो भविष्यवाणी गर्नुभएको थियो, “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) सन्‌ १८७५ देखि केही पुरुष तथा स्त्रीले साँचो उपासनामा गहिरो चासो देखाए र सुसमाचार प्रचार गर्न थाले। येशूले गर्नुभएको भविष्यवाणी यसरी पूरा हुन थाल्यो।

१९ बाइबल विद्यार्थीको त्यो सानो समूह बढेर आज ८० लाखभन्दा धेरै भएको छ। सन्‌ २०१३ मा एक करोड दस लाखभन्दा धेरै आगन्तुक येशूको मृत्युको वार्षिकीमा उपस्थित भए। उपस्थित भएकाहरूमध्ये स्त्रीहरू धेरै थिए। विश्वभरि दस लाखभन्दा बढी पूर्ण-समय सेवकहरू छन्‌। तिनीहरूमध्ये धेरैजसो दिदीबहिनीहरू हुन्‌। यहोवाले विश्वासी स्त्रीहरूलाई सुसमाचार सुनाउने सुअवसर दिनुभएको छ। भजनरचयिताले लेखेको यो कुरा पूरा भएको छ, “परमेश्वरले वचन दिनुहुन्छ। शुभ समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल हुन्छ।”—भज. ६८:११.

सुसमाचार सुनाउने स्त्रीहरूको साँच्चै एउटा “ठूलो दल” छ (अनुच्छेद १८, १९ हेर्नुहोस्)

परमेश्वरको डर मान्ने स्त्रीहरूले पाउने ठूलो इनाम

२०. अध्ययनको बेला कस्ता विवरणहरू पढ्न सक्छौं?

२० बाइबलमा बताइएको सबै वफादार स्त्रीहरूबारे छलफल गर्न सम्भव छैन। तर हाम्रा प्रकाशन अनि बाइबलमा तिनीहरूबारे पढ्न सक्छौं। उदाहरणका लागि, हामी रूथको वफादारीबारे मनन गर्न सक्छौं। (रूथ १:१६, १७) एस्तरको किताब अनि एस्तरबारे लेखिएका लेखहरू पढ्दा हाम्रो विश्वास बलियो हुन्छ। पारिवारिक उपासनाको बेला यस्ता विवरणहरू पढ्न सक्छौं। यदि हामी एक्लै बस्छौं भने यी विवरणहरू व्यक्तिगत अध्ययनको बेला पढ्न सक्छौं।

२१. गाह्रो समयमा विश्वासी स्त्रीहरूले कसरी वफादारी देखाएका छन्‌?

२१ विभिन्न किसिमको सङ्कष्ट अनि खेदो आइपरेको बेलामा समेत हाम्रा ख्रीष्टियन दिदीबहिनीहरू प्रचार गर्न छोड्दैनन्‌। यहोवाले पक्कै पनि यस्ता दिदीबहिनीहरूलाई आशिष्‌ दिनुहुन्छ र तिनीहरूलाई परीक्षा सहन मदत गर्नुहुन्छ। जस्तै, तानाशाही शासनको बेला यहोवाले हाम्रा दिदीबहिनीहरूलाई वफादार रहिरहन मदत गर्नुभयो। परमेश्वरको आज्ञा पालन गरेकोले तिनीहरूमध्ये धेरैले दुःख भोग्नुपऱ्यो, कतिपयले त ज्यानसमेत गुमाउनुपऱ्यो। (प्रेषि. ५:२९) विगतमा जस्तै आज पनि हाम्रा दिदीबहिनीहरू लगायत यहोवाका सबै उपासकहरू उहाँको अधीनमा बसेका छन्‌। त्यसैकारण इस्राएलीहरूको समयमा जस्तै यहोवा तिनीहरूको दाहिने हात समाएर यसो भन्नुहुन्छ, “नडरा, म तँलाई सहायता गर्नेछु।”—यशै. ४१:१०-१३.

२२. हामीले भविष्यमा कस्ता सुअवसर पाउनेछौं?

२२ परमेश्वरको डर मान्ने पुरुष तथा स्त्रीहरूले भविष्यमा पृथ्वीलाई सुन्दर बगैंचा बनाउनेछन्‌ र ब्युँतेर आएका लाखौं मानिसलाई यहोवाका उद्देश्यहरूबारे सिकाउनेछन्‌। त्यतिन्जेल हामी सबैले “काँधमा काँध मिलाएर” यहोवाको सेवा गरौं।—सप. ३:९, NRV.