सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 हाम्रो अभिलेखालयबाट

“युरेका नाटक”-ले थुप्रैलाई बाइबल सत्य भेट्टाउन मदत गऱ्यो

“युरेका नाटक”-ले थुप्रैलाई बाइबल सत्य भेट्टाउन मदत गऱ्यो

“युरेका!” यो शब्दको अर्थ हो, “मैले भेट्टाएँ!” करिब दुई सय वर्षअघिको कुरा हो। अमेरिकाको क्यालिफोर्नियामा सुन भेटिएको खबर पाएपछि एकाएक मानिसहरूको ओइरो लाग्यो। खन्दै जाँदा जब सुन भेट्टिन्थ्यो, मानिसहरू “युरेका” भनेर कराउँथे। तर चार्ल्स टेज रसल र तिनका सङ्गी बाइबल विद्यार्थीले सुनभन्दा बहुमूल्य कुरा भेट्टाएका थिए। त्यो हो, बाइबल सत्य। तिनीहरू यो सत्य अरूलाई बाँड्न चाहन्थे।

सन्‌ १९१४ को गर्मीयामसम्ममा त ठूलठूला सहरमा लाखौं मानिसले “सृष्टिसम्बन्धी फोटो-नाटक” (अङ्ग्रेजी) हेरिसकेका थिए। आठ घण्टा लामो यो चलचित्र अन्तरराष्ट्रिय बाइबल विद्यार्थी सङ्गठनले तयार पारेको थियो। यो नाटकमा मनै हर्ने चलदृश्य, रङ्गीन स्लाइड, रेकर्ड गरिएको आवाज र राम्रो सङ्गीत थियो। बाइबलआधारित यस नाटकमा मानव इतिहासलाई समेट्दै सृष्टिदेखि येशू ख्रीष्टको हजार वर्षीय राज्यको अन्तसम्मको विवरण देखाइएको थियो।—प्रका. २०:४. *

तर साना सहरहरूमा र विकट ठाउँमा बस्ने मानिसहरूले यो नाटक हेर्न पाए त? सत्यको लागि भोकाएका कोही पनि नछुटून्‌ भनेर अगस्त १९१४ मा अन्तरराष्ट्रिय बाइबल विद्यार्थी सङ्गठनले “युरेका नाटक” विमोचन गरे। यो नाटक “फोटो-नाटक”-लाई नै छोट्याएर तयार पारिएको थियो र सजिलै बोकेर लैजान सकिने किसिमको थियो। यसमा “फोटो-नाटक”-मा भएका चलदृश्यहरू थिएनन्‌। यो नाटकको तीनवटा खण्ड थियो। प्रत्येक खण्ड विभिन्न भाषामा तयार पारिएको थियो: युरेका एक्स सेटमा (Eureka X) नेपथ्यकारले भनेका सबै कुरा र सङ्गीत थिए। युरेका वाइ सेटमा (Eureka Y) आवाज, सङ्गीत अनि रङ्गीन स्लाइडहरू थिए। युरेका पारिवारिक नाटक (Eureka Family Drama) भने घरैमा हेर्न सकिन्थ्यो। यसमा नेपथ्यकारले भनेका केही कुरा र राज्य गीत थिए। सस्तो खालको फोनोग्राफ र स्लाइड देखाउन चाहिने साधन अन्तरराष्ट्रिय बाइबल विद्यार्थी सङ्गठनमार्फत किन्न सकिन्थ्यो।

रङ्गीन स्लाइड देखाउन प्रोजेक्टर प्रयोग गरियो

चलचित्र देखाउन चाहिने प्रोजेक्टर र ठूलो पर्दाविनै बाइबल विद्यार्थीहरूले टाढा-टाढाका गाउँ र बस्तीहरूमा समेत यो नाटक देखाए। दर्शकले यो नाटक सित्तैमा हेर्न पाए। यसले गर्दा थुप्रै नयाँ इलाकामा राज्य सन्देश फैलियो। आवाज मात्र भएको “युरेका एक्स” सेट रात वा दिन जुनसुकै समयमा देखाउन सकिन्थ्यो। “युरेका वाइ” सेटको प्रोजेक्टर एसिटिलिन ग्याँसले बल्ने बत्ती प्रयोग गरेर बिजुलीविनै चलाउन सकिन्थ्यो। फिनिश भाषाको प्रहरीधरहरा-मा यस्तो रिपोर्ट थियो, “यी दृश्यहरू जस्तोसुकै ठाउँमा पनि देखाउन सक्छौं।” उक्त भनाइ सोह्रैआना सही थिए।

नाटक देखाउन बाइबल विद्यार्थीहरूले ठूलठूला हलहरू भाडामा लिनुको सट्टा पैसा नतिरिकनै चलाउन सकिने ठाउँहरू प्रयोग गर्थे,  जस्तै: स्कूलको कक्षा कोठा, सरकारी भवनहरू, रेल स्टेसन र ठूलठूला घरहरूको बैठक कोठा। नाटक प्रायजसो खुला ठाउँमा देखाइन्थ्यो। खेतमा भएको अन्न राखिने घर छेउमा सेतो पर्दा टाँगिन्थ्यो र नाटक देखाइन्थ्यो। एन्थोनी ह्यामबकले यस्तो लेखे, “नाटक हेर्न किसानहरूले आफ्नो फलफूल बगानमा ठाउँ तयार पार्थे। दर्शकहरू मुढामा बसेर नाटकको आनन्द लिन्थे।” “युरेका” टोलीले नाटक देखाउने उपकरण, झोला, पाल र पकाउने सरसामान बोक्न बग्गी प्रयोग गर्थे।

“युरेका नाटक” हेर्ने दर्शकहरू मुठीभरदेखि सयौंसम्म हुन्थे। अमेरिकाको एउटा सहरमा स्कूलको कक्षा कोठामा नाटक देखाइएको थियो। जम्मा १५० जना मात्र बसोबास गर्ने त्यस सहरमा नाटक हेर्न ४०० जना आए। अर्को एउटा ठाउँमा “युरेका नाटक” हेर्न मानिसहरूले आउन-जान गरी १६ किलोमिटर यात्रा गरे। स्वीडेनमा सार्लट आलबर्ग भन्ने बहिनीको सानो घरमा छिमेकीहरू जम्मा भए र आवाज र सङ्गीत सुने। त्यसले उनीहरूको “मनै छोयो।” अस्ट्रेलियाको एउटा गाउँमा पनि नाटक हेर्न १,५०० जना उपस्थित भए। प्रहरीधरहरा-ले दिएको रिपोर्टअनुसार केही स्कूल तथा कलेजका “प्राध्यापक र विद्यार्थीहरूलाई नाटकका दृश्यहरू र आवाज र सङ्गीत एकदमै आकर्षक लाग्यो।” चलचित्र हलहरू भएको ठाउँमा समेत “युरेका नाटक”-ले निकै नाम कमायो।

सत्यको बीउ छर्ने

त्यतिखेर बाइबल विद्यार्थीको नयाँ कक्षा सुरु गर्न एक जना वक्तालाई पठाउने चलन थियो। यसलाई “कक्षा विस्तार कार्य” भनिन्थ्यो। “युरेका नाटक” त्यस्ता कक्षाहरूमा पनि प्रभावकारी भयो। “युरेका नाटक” कति जनाले हेरे भनी तोकेरै भन्न सकिंदैन। थुप्रै टोलीले बारम्बार नाटक देखाएको हुनुपर्छ। तैपनि १९१५ मा ८६ “नाटक” टोलीमध्ये १४ वटा टोलीले मात्र नियमित रिपोर्ट बुझाइरहेका थिए। तोकेरै बताउन नसकिए पनि वर्षको अन्तसम्ममा दस लाखभन्दा धेरैले “नाटक” हेरिसकेका थिए। तिनीहरूमध्ये लगभग ३० हजारले बाइबल साहित्य मगाए।

हुन त “युरेका नाटक”-ले इतिहासमा धेरै ख्याति कमाएन। तर अस्ट्रेलियादेखि अर्जेन्टिनासम्म, दक्षिण अफ्रिकादेखि बेलायत, आयरल्याण्ड र ती देशहरूको वरपर भएका स-साना टापुहरूसम्म अनि भारत र क्यारेबियन क्षेत्रमा लाखौं मानिसले यो नाटक हेरे। तिनीहरूमध्ये थुप्रैले सुनभन्दा बहुमूल्य बाइबल सत्य भेट्टाए र तिनीहरू “युरेका” भनेर कराउन सक्थे।

^ अनु. 4 प्रहरीधरहरा, फेब्रुअरी १५, २०१४, पृष्ठ ३०-३२ मा भएको “हाम्रो अभिलेखालयबाट—विश्वास बढाउने १०० वर्ष पुरानो चलचित्र” भन्ने लेख हेर्नुहोस्।