सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यस संसारको अन्त नजिकिंदै जाँदा एकतामा रहौं

यस संसारको अन्त नजिकिंदै जाँदा एकतामा रहौं

“हामी एउटै शरीरका विभिन्न अङ्ग हौं।”—एफि. ४:२५.

१, २. यहोवा हामी सबैबाट के चाहनुहुन्छ?

युवाहरू यहोवाको विश्वव्यापी मण्डलीका विशेष सदस्य हुन्‌। थुप्रै देशमा बप्तिस्मा गर्नेहरूमध्ये धेरैजसो युवाहरू नै हुन्छन्‌। यत्ति धेरै युवाहरूले यहोवाको सेवा गर्ने निर्णय गरेको देख्दा के हामीले प्रोत्साहन पाउँदैनौं र?

युवाहरू हो, तपाईंलाई आफ्नै उमेरका साथीहरूसित समय बिताउन पक्कै मनपर्छ होला। आफ्नै उमेरका साथीहरूसित समय बिताउन पाउँदा हामी खुसी हुन्छौं। तर हाम्रो उमेर जतिसुकै भए पनि वा हामी जुनसुकै पृष्ठभूमिको भए पनि एक भएर यहोवाको सेवा गर्नुपर्छ। यहोवा पनि हामीले त्यसै गरेको चाहनुहुन्छ। प्रेषित पावलले बताएअनुसार यहोवा “सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्ने चाहनुहुन्छ।” (१ तिमो. २:३, ४) प्रकाश ७:९ मा यहोवाको सेवक बनेका “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” मानिसहरूबारे बताइएको छ।

३, ४. (क) आजका थुप्रै युवाको मनोभाव कस्तो छ? (ख) ख्रीष्टियन युवाहरूको कस्तो मनोभाव एफिसी ४:२५ मा लेखिएको कुरासित मेल खान्छ?

यहोवाको सेवा गर्ने युवाहरू र संसारका युवाहरूबीच आकाश-पातालको भिन्नता छ। यहोवाको सेवा नगर्ने थुप्रै युवा आफूबारे र आफ्नो चाहनाबारे मात्र सोच्छन्‌। केही अनुसन्धानकर्ताहरूले बताएअनुसार  आजका युवाहरू अति स्वार्थी भएका छन्‌। तिनीहरूको बोलीवचन रुखो छ र तिनीहरूको पहिरन अभद्र छ। यसबाट तिनीहरू अरूको, अझ विशेषगरि आफूभन्दा पाको उमेरका व्यक्तिहरूको आदर गर्दैनन्‌ भन्ने देखिन्छ।

संसारको मनोभाव हावासरि फैलिएको छ। त्यसैले त्यस्तो मनोभावलाई तिरस्कार गरेर यहोवालाई मन पर्ने काम गर्न ख्रीष्टियन युवाहरूले धेरै प्रयास गर्नुपर्छ। प्रथम शताब्दीमा समेत पावलले सङ्गी ख्रीष्टियनहरूलाई त्यस्तो मनोभाव नराख्न चेतावनी दिए। पावलले त्यसलाई ‘अहिले अनाज्ञाकारी सन्तानहरूमा काम गरिरहेको मनोभाव’ भनेका छन्‌। (एफिसी २:१-३ पढ्नुहोस्) आज थुप्रै युवाले त्यस्तो मनोभावलाई तिरस्कार गरेका छन्‌ अनि सङ्गी ख्रीष्टियनहरूसित एक भएर परमेश्वरको सेवा गरेका छन्‌। हामी मनैदेखि तिनीहरूको प्रशंसा गर्छौं। तिनीहरूको मनोभाव एफिसी ४:२५ मा पावलले लेखेको कुरासित मेल खान्छ, जहाँ मण्डलीका सदस्यहरूलाई “एउटै शरीरका विभिन्न अङ्ग” भनिएको छ। यस संसारको अन्त नजिकिंदै जाँदा एक भएर यहोवाको सेवा गर्नु झनै आवश्यक छ। हामी किन एकतामा रहनुपर्छ, आउनुहोस् बाइबलका केही उदाहरणहरू विचार गरौं।

उनीहरू एकतामा रहे

५, ६. लूत र तिनका छोरीहरूबाट के सिक्न सक्छौं?

विगतमा परमेश्वरका सेवकहरूले कठिन परिस्थितिको सामना गरे। त्यतिबेला उनीहरू एकजुट भए र एकअर्कालाई मदत गरे। त्यसकारण यहोवाले उनीहरूलाई जोगाउनुभयो। चाहे हामी युवा होऔं वा वृद्ध, बाइबल पात्रहरूबाट थुप्रै कुरा सिक्न सक्छौं। अब हामी लूतलाई विचार गरौं।

लूत र तिनको परिवार खतरामा थिए। किनकि तिनीहरू बसोबास गर्ने सहर सदोमलाई परमेश्वरले नाश गर्न लाग्नुभएको थियो। स्वर्गदूतहरूले लूतलाई सहर छोडेर पहाडतिर भाग्न आग्रह गरे। उनीहरूले लूतलाई “आफ्नो ज्यान जोगाउनलाई भाग” भने। (उत्प. १९:१२-२२) तिनले त्यो सल्लाह स्वीकारे अनि तिनका दुई छोरी पनि तिनीसितै सहरबाट भागे। तर तिनको परिवारका अरूले भने त्यो सल्लाह स्वीकारेनन्‌। तिनका छोरीहरूसित मगनी भएका युवकहरूलाई भने वृद्ध भइसकेका लूतले “ठट्टा गरेजस्तो लाग्यो।” सहर नाश हुँदा उनीहरूले जीवन गुमाउनुपऱ्यो। (उत्प. १९:१४) लूत र तिनका छोरीहरू मात्र बाँचे किनकि तिनीहरूले यहोवाको आज्ञा माने र एकतामा रहे।

७. एकजुट भएर मिश्र छोडेका मानिसहरूलाई यहोवाले कसरी मदत गर्नुभयो?

अर्को उदाहरण विचार गरौं। मिश्र छोड्दा इस्राएलीहरूले आ-आफ्नै समूह बनाएनन्‌ अनि आफ्नै तरिकाले यात्रा गरेनन्‌। मोशाले “आफ्नो हात समुद्रमाथि पसारे” अनि यहोवाले समुद्रलाई दुई भाग पार्नुभयो। त्यतिबेला मोशाले आफू एक्लै वा केही इस्राएलीहरूलाई मात्र लिएर समुद्र पार गरेका थिएनन्‌। बरु यहोवाको सुरक्षा पाएर सबै इस्राएलीहरूले समुद्र पार गरे। (प्रस्थ. १४:२१, २२, २९, ३०) ती इस्राएलीहरू एकजुट भएर यात्रा गरे। गैर-इस्राएलीहरूको “एक मिश्रित-दल” पनि तिनीहरूसितै सामेल भयो। (प्रस्थ. १२:३८) त्यतिबेला केही युवाहरूले आफ्नै समूह बनाएर आफूले चाहेको तरिकामा अनि अर्कै बाटो भएर यात्रा गरेको भए नतिजा कस्तो हुन्थ्यो होला, सोच्नुहोस् त! त्यसो गर्नु मूर्खता हुने थियो र तिनीहरूले यहोवाको सुरक्षा पाउने थिएनन्‌।—१ कोरि. १०:१.

८. यहोशापातको समयमा परमेश्वरका सेवकहरू कसरी एकजुट भए?

राजा यहोशापातको समयमा भएको घटनालाई विचार गरौं। वरपरको राष्ट्रका “एक ठूलो सैन्य-दल” परमेश्वरका सेवकहरूलाई आक्रमण गर्न आयो। (२ इति. २०:१, २) त्यतिबेला परमेश्वरका सेवकहरूले के गरे? तिनीहरू आफ्नै बलमा नभई यहोवामा भर परे। (२ इतिहास २०:३, ४ पढ्नुहोस्) प्रत्येक इस्राएलीले आफ्नै  तरिकाले समाधान खोज्ने कोसिस गरेनन्‌। बरु तिनीहरू एक ठाउँमा जम्मा भए। बाइबल विवरण यसो भन्छ, “सारा यहूदा, तिनीहरूका अधीनमा रहेका मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालकहरूसमेत त्यहाँ परमप्रभुको सामने खडा भए।” (२ इति. २०:१३) युवा र वृद्धहरू एकजुट भएर यहोवाको निर्देशन खोजे र उहाँले तिनीहरूलाई शत्रुहरूदेखि जोगाउनुभयो। (२ इति. २०:२०-२७) परमेश्वरका सेवकहरू एकजुट छन्‌ भने जस्तोसुकै चुनौती पनि पार गर्न सक्छन्‌ भन्ने कुरा यस उदाहरणले देखाउँछ।

९. प्रथम शताब्दीका ख्रीष्टियनहरूबाट हामी के सिक्न सक्छौं?

अब प्रथम शताब्दीका ख्रीष्टियनहरूलाई विचार गरौं। तिनीहरूले पनि सँगै मिलेर यहोवाको सेवा गरे। ख्रीष्टियन बनेका थुप्रै यहूदी र गैर-यहूदीहरू “प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे, एक-अर्कासित बाँडचुँड गर्थे, एकसाथ भोजन लिन्थे अनि सँगै प्रार्थना गर्थे।” (प्रेषि. २:४२) विशेषगरि खेदो आएको बेला तिनीहरू एक भए। (प्रेषि. ४:२३, २४) खेदोमा पर्दा हामी पनि एक हुनुपर्छ र एकअर्कालाई मदत गर्नुपर्छ।

यहोवाको दिन आउनुअघि नै एकजुट हुनुहोस्

१०. कुन समयमा परमेश्वरका जनहरू एकजुट हुनु झनै आवश्यक पर्नेछ?

१० चाँडै नै मानव इतिहासको सबैभन्दा कठिन समय आउँदैछ। भविष्यवक्ता योएलले त्यस समयलाई “अन्धकार र उदासी दिन” भनेका छन्‌। (योए. २:१, २; सप. १:१४) त्यसबेला परमेश्वरका जनहरू एकजुट हुनु झनै आवश्यक पर्नेछ। येशूले भन्नुभएको यो कुरा कहिल्यै नबिर्सनुहोस्, “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ।”—मत्ती १२:२५.

११. भजन १२२:३, ४ बाट परमेश्वरका सेवकहरूले एकताबारे के सिक्न सक्छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

११ हामीबीच हुनुपर्ने एकतालाई पुरातन यरूशलेमका घरहरूसित तुलना गर्न सकिन्छ। त्यतिबेला घरहरू नजिक-नजिक बनाउने चलन थियो। त्यसैले भजनरचयिताले यरूशलेमलाई “एकै ठाउँमा मिलेर बनिएको शहर” भने। यसले गर्दा त्यहाँका मानिसहरू ढुक्क भएर बस्न सक्थे। किनकि तिनीहरूले एकअर्कालाई सजिलै मदत र सुरक्षा दिन सक्थे। घरहरू नजिक-नजिक बनाइएको कुराले इस्राएलका कुलहरू यहोवाको उपासना गर्न एक ठाउँमा भेला हुँदा इस्राएलीहरूबीच देखिने आध्यात्मिक एकतालाई पनि सङ्केत गर्थ्यो। (भजन १२२:३, ४ पढ्नुहोस्) अहिले र भविष्यमा कठिन परिस्थितिको सामना गर्नुपर्दा हामी पनि “एकै ठाउँमा मिलेर” बस्नुपर्छ।

१२. परमेश्वरका सेवकहरूमाथि हुने आक्रमणबाट जोगिन हामीले के गर्नुपर्छ?

१२ भविष्यमा हामी “एकै ठाउँमा मिलेर” बस्नु किन आवश्यक पर्नेछ? इजकिएल अध्याय ३८ मा ‘मागोग देशको गोगले’ परमेश्वरका सेवकहरूलाई आक्रमण गर्नेबारे भविष्यवाणी गरिएको छ। त्यसबेला कुनै पनि कुराले हाम्रो एकता तोड्न दिने छैनौं। मदतको लागि यस संसारको मुख ताक्ने छैनौं। बरु मण्डलीका दाजुभाइ दिदीबहिनीसित मिलेर बस्नेछौं। तर हामी यहोवाको सङ्गठनको भाग हुँदैमा विनाशबाट जोगिने त होइन। यहोवाको नाउँ लिनेहरू मात्र त्यस कठिन समयबाट बच्नेछन्‌। (योए. २:३२; मत्ती २८:२०) तपाईंको विचारमा यहोवाले आफ्नो बगालबाट तर्केर गएकाहरूलाई बचाउनुहोला?—मीका २:१२.

१३. भर्खरै छलफल गरेका उदाहरणहरूबाट युवाहरूले के सिक्न सक्छन्‌?

१३ आफ्नै समूह बनाएर अलग्गै संसारमा रमाउन खोज्ने युवाहरूको पछि लाग्नु बुद्धिमानी होइन। चाहे हामी युवा हौं वा वृद्ध, हामी सबैलाई एकअर्काको साथ नभई नहुने समय नजिकै छ। अहिलेदेखि नै हामीले मण्डलीका सदस्यहरूसँगै मिलेर यहोवाको सेवा गर्न र उनीहरूसित एकतामा रहन सिक्नुपर्छ। यसो गऱ्यौं भने भविष्यमा हाम्रो जीवन बच्नेछ।

 “हामी एउटै शरीरका विभिन्न अङ्ग हौं”

१४, १५. (क) यहोवा हामीलाई किन एकतामा रहन तालिम दिंदै हुनुहुन्छ? (ख) हामीलाई एकतामा रहन मदत गर्ने कस्तो सल्लाह यहोवाले हामीलाई दिनुभएको छ?

१४ यहोवा हामीलाई “काँधमा काँध मिलाएर” उहाँको सेवा गर्न मदत गर्दै हुनुहुन्छ। (सप. ३:८, ९, NRV) उहाँले हामीलाई भविष्यको लागि तालिम दिंदै हुनुहुन्छ। भविष्यमा यहोवाले ‘सबै कुराहरूलाई ख्रीष्टमा फेरि जम्मा गर्नुहुनेछ।’ (एफिसी १:९, १० पढ्नुहोस्) उहाँ स्वर्ग र पृथ्वीमा भएका सबैलाई एउटै परिवार बनाउन चाहनुहुन्छ र उहाँको त्यो उद्देश्य अवश्य पूरा हुनेछ। युवाहरू हो, तपाईं पनि त्यो परिवारको सदस्य बन्न सक्नुहुन्छ। त्यसोभए के तपाईं यहोवाको सङ्गठनको भाग भएर उहाँका सेवकहरूसित एकतामा रहन चाहनुहुन्छ?

१५ यहोवा हामीलाई अहिलेदेखि नै एकतामा रहन सिकाउँदै हुनुहुन्छ। यसले हामीलाई नयाँ संसारमा पनि सधैंभरि एकतामा रहन मदत गर्नेछ। ‘एकअर्काको उत्तिकै ख्याल राख्न,’ ‘एक-दोस्रोप्रति कोमल स्नेह देखाउन,’ ‘एक-अर्कालाई सान्त्वना दिइरहन’ र ‘एक-अर्काको उत्थान गर्न’ बाइबलले हामीलाई बारम्बार सल्लाह दिन्छ। (१ कोरि. १२:२५; रोमी १२:१०; १ थिस्स. ४:१८; ५:११) हामी त्रुटिपूर्ण भएकोले कहिलेकाहीं एकतामा रहन गाह्रो हुन सक्छ। त्यसैले “एक-अर्कालाई खुला मनले क्षमा” गर्ने प्रयास गर्नुपर्छ।—एफि. ४:३२.

१६, १७. (क) ख्रीष्टियन सभाहरूको एउटा उद्देश्य के हो? (ख) युवाहरूले येशूबाट के सिक्न सक्छन्‌?

१६ मण्डलीका सभाहरूद्वारा पनि यहोवा हामीलाई एकतामा रहन मदत गर्नुहुन्छ। हिब्रू १०:२४, २५ मा दिइएको सल्लाह हामी अक्सर सुन्ने गर्छौं। सभाहरूको एउटा उद्देश्य हामीलाई “आपसमा गहिरो चासो राखेर . . . एक-अर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित” बनाउनु हो। साथै, ‘एकअर्कालाई प्रोत्साहन दिइरहन, अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौं, झन्‌ बढी त्यसो गरिरहन’ मण्डलीका सभाहरूले हामीलाई मदत गर्छ।

१७ यहोवाले गर्नुभएका प्रबन्धहरूको मोल गर्ने विषयमा येशूले राम्रो उदाहरण बसाल्नुभयो। बाह्र वर्षको छँदा उहाँ आफ्ना आमाबुबासित मन्दिरमा भएको एउटा ठूलो जमघटमा जानुभएको थियो। तर उहाँ हराउनुभयो। उहाँ अरू युवाहरूसित रमाइलो गर्दै हुनुहुन्थ्यो कि? त्यो त होइन। बरु यूसुफ र मरियमले उहाँलाई मन्दिरमा शिक्षकहरूसित धर्मशास्त्रबारे छलफल गरिरहेको भेट्टाए।—लूका २:४५-४७.

१८. प्रार्थनाले हाम्रो एकताको गाँठोलाई कसरी बलियो बनाउन सक्छ?

१८ मण्डलीका दाजुभाइ दिदीबहिनीको लागि  तोकेरै प्रार्थना गरेर पनि हाम्रो एकताको गाँठोलाई बलियो बनाउन सक्छौं। हामीले उनीहरूको ख्याल राखेकोले नै उनीहरूको निम्ति प्रार्थना गर्छौं। हामीले मण्डलीका सदस्यहरूलाई माया गर्नुपर्छ, सभामा जाँदा उनीहरूलाई प्रोत्साहन दिनुपर्छ र उनीहरूको लागि प्रार्थना गर्नुपर्छ। युवाहरू हो, मण्डलीमा आउने सबैलाई साथी बनाउन के तपाईंले पनि त्यसै गर्दै हुनुहुन्छ? विनाशबाट जोगिन मण्डलीका दाजुभाइ दिदीबहिनीसित नजिक हुनुपर्छ, सैतानको संसारसित होइन।

हामी सबैले मण्डलीका दाजुभाइ दिदीबहिनीको लागि प्रार्थना गर्न सक्छौं (अनुच्छेद १८ हेर्नुहोस्)

हामी “एकअर्कामा गाँसिएका अङ्गहरू हौं” भनेर देखाऔं

१९-२१. (क) हामी “एकअर्कामा गाँसिएका अङ्गहरू हौं” भनेर कसरी देखाउन सक्छौं? केही उदाहरण दिनुहोस्। (ख) प्रकोपको समयमा एकअर्कालाई मदत गरेका दाजुभाइ दिदीबहिनीबाट तपाईंले के सिक्नुभयो?

१९ परमेश्वरका सेवकहरू रोमी १२:५ मा पाइने सिद्धान्तअनुसार चल्छन्‌, जहाँ यसो भनिएको छ, “हामी . . . एकअर्कामा गाँसिएका अङ्गहरू हौं।” हाम्रा दाजुभाइ दिदीबहिनीहरू प्राकृतिक प्रकोपको शिकार हुँदा हामी उनीहरूको पीडा महसुस गर्छौं र उनीहरूलाई मदत गर्छौं। डिसेम्बर २०११ मा समुद्री आँधीले गर्दा फिलिपिन्सको मिन्दनाउ टापुमा ठूलो बाढी आयो। एकै रातमा ४० हजारभन्दा धेरै घर तहसनहस भए। हाम्रा थुप्रै दाजुभाइ दिदीबहिनी घरबारविहीन भए। शाखा कार्यालयले दिएको रिपोर्टअनुसार “राहत समितिका दाजुभाइहरूले आफ्नो काम थाल्नुअघि नै अरू ठाउँका दाजुभाइ दिदीबहिनीले प्रकोप पीडितहरूका लागि राहत सामग्री पठाउन थालिसकेका थिए।”

२० भुइँचालो र त्यसपछि आएको सुनामीले गर्दा पूर्वी जापानका साक्षीहरूले धेरै दुःख खप्नुपऱ्यो। तिनीहरूमध्ये कसै-कसैले त आफूसित भएको सबै गुमाए। उदाहरणको लागि, राज्यभवनबाट ४० किलोमिटर टाढा बस्ने योसिकोले सुनामीले गर्दा आफ्नो घर गुमाइन्‌। तिनी यसो भन्छिन्‌, “भुइँचालो गएको भोलिपल्टै क्षेत्रीय निरीक्षक एक जना भाइसँग हामीलाई भेट्न आउनुभयो। यो देख्दा हामीलाई धेरै खुसी लाग्यो।” तिनी मुस्कुराउँदै यसो भन्छिन्‌, “मण्डलीले हाम्रो आध्यात्मिक आवश्यकता पूरा गरिदियो र यसको हामी धेरै कदर गर्छौं। हामीले कोट, जुत्ता, झोला र सुत्नेबेला लाउने लुगा पनि पायौं।” राहत समितिका एक सदस्य यसो भन्छन्‌, “जापानभरिका साक्षीहरूले एकजुट भएर एकअर्कालाई मदत गरे। अमेरिकाका साक्षीहरूसमेत मदत गर्न आए। तपाईंहरू किन यत्ति टाढासम्म आउनुभयो भनेर सोध्दा तिनीहरूले यस्तो जवाफ दिए, ‘हामी जापानका दाजुभाइ दिदीबहिनीबाट धेरै टाढा छौं। तैपनि हामी एउटै परिवार हौं। त्यसैले तिनीहरूलाई मदत गर्न आयौं।’” आफ्ना सदस्यहरूको यत्ति धेरै ख्याल राख्ने सङ्गठनको भाग हुन पाएकोमा के तपाईं गर्व गर्नुहुन्न र? यस्तो एकता देख्दा यहोवा कत्ति खुसी हुनुहुन्छ होला, सोच्नुहोस् त!

२१ एकतामा रह्यौं भने भविष्यमा गाह्रो परिस्थितिको सामना गर्न तयार हुनेछौं। कारणवश अरू देशका दाजुभाइ दिदीबहिनीसित सम्पर्क हुन सकेन भने पनि हामी स्थानीय दाजुभाइ दिदीबहिनीसित एकतामा रहिरहने छौं। जापानमा शक्तिशाली आँधीको शिकार भएकी बहिनी फुमिको यसो भन्छिन्‌, “अन्त सँघारमै छ। हामी कुनै पनि किसिमको प्रकोप नहुने समय पर्खंदै छौं। त्यो समय नआउन्जेल हाम्रा दाजुभाइ दिदीबहिनीलाई मदत गरिरहौं।”

२२. एकतामा रह्यौं भने हामीलाई कस्तो लाभ हुन्छ?

२२ अहिले एकतामा रहन प्रयास गरिरहेका युवा तथा वृद्धहरूले वास्तवमा भविष्यमा सैतानको संसारमाथि आइपर्ने विनाशको लागि आफूलाई तयार पार्दै छन्‌। विगतमा जस्तै यहोवाले भविष्यमा पनि आफ्ना जनहरूको उद्धार गर्नुहुनेछ। (यशै. ५२:९, १०) यहोवाको एकताबद्ध परिवारको भाग बन्नुभयो भने तपाईं पनि उद्धार पाउनेहरूमध्ये हुनुहुनेछ। अहिले आफूले पाएको कुराको लागि हामी किन आभारी हुनुपर्छ, अर्को लेखमा छलफल गर्नेछौं।