सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवा संसारभर भइरहेको शिक्षणकार्यलाई डोऱ्‍याउनुहुन्छ

यहोवा संसारभर भइरहेको शिक्षणकार्यलाई डोऱ्‍याउनुहुन्छ

“म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।”—यशै. ४८:१७.

१. आधुनिक समयका ख्रीष्टियनहरूले कस्ता चुनौतीहरू सामना गर्नुपरेको छ?

 बाइबल विद्यार्थीहरूले a १३० वर्षअघि प्रचारकार्य सुरु गर्दा तिनीहरूले थुप्रै समस्या झेल्नुपऱ्‍यो। ती बाइबल विद्यार्थीहरूले सुनाएको सन्देश प्रथम शताब्दीमा जस्तै थुप्रै मानिसले मन पराएनन्‌। तिनीहरू थोरै थिए अनि अरूले तिनीहरूलाई त्यत्ति पढे-लेखेका मानिस ठान्दैनथे। त्यति मात्र होइन, तिनीहरूले “असाध्यै रिसाएको” सैतानको पनि सामना गर्नुपर्ने थियो। (प्रका. १२:१२) साथै, तिनीहरूले “अन्तको दिनमा” अर्थात्‌ “असाध्यै कठिन समय”-मा प्रचार गर्नुपर्ने थियो।—२ तिमो. ३:१.

२. आज हाम्रो समयमा सुसमाचार फैलाउन यहोवाले के गरिरहनुभएको छ?

आज हाम्रो समयमा व्यापक रूपमा सुसमाचार प्रचार होस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। उहाँको इच्छा पूरा हुनदेखि कसैले रोक्न सक्दैन। यहोवाले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटाउनुभएजस्तै हामीलाई पनि “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यबाट छुटाउनुभएको छ। (प्रका. १८:१-४) उहाँले हाम्रै फाइदाको लागि हामीलाई सिकाउनुभएको छ, एकअर्कासित शान्तिमा रहन मदत गर्नुभएको छ अनि अरूलाई सिकाउने काममा हामीलाई तालिम दिनुभएको छ। (यशैया ४८:१६-१८ पढ्‌नुहोस्‌) तर यसको अर्थ राज्यको सुसमाचार फैलाउन यहोवा भविष्य हेर्ने आफ्नो क्षमताको दुरुपयोग गर्नुहुन्छ र भविष्यमा हुने हरेक कुरालाई नियन्त्रण गर्नुहुन्छ भन्‍ने होइन। हुन त कुनै खास परिस्थितिको कारण राज्यको सुसमाचार प्रचार गर्न सजिलो भएको छ। तर यहोवाको मदत नपाएको भए सतावट र गाह्रो परिस्थितिको सामना गर्न सक्ने थिएनौं र सैतानले राज्य गरेको यस संसारमा प्रचार गरिरहन सक्ने थिएनौं।—यशै. ४१:१३; १ यूह. ५:१९.

३. साँचो “ज्ञान” कसरी प्रशस्त भएको छ?

अन्तको दिनमा साँचो “ज्ञान” प्रशस्त हुनेछ भनेर यहोवाले भविष्यवक्‍ता दानियलमार्फत बताउनुभयो। (दानियल १२:४ पढ्‌नुहोस्‌ b) यहोवाले बाइबल विद्यार्थीहरूलाई धर्मशास्त्रका महत्त्वपूर्ण शिक्षाहरू बुझ्न मदत गर्नुभयो, जुन शिक्षाहरू चर्चको शिक्षाले गर्दा लामो समयदेखि ओझेलमा परेका थिए। आज यहोवाले आफ्ना मानिसहरू चलाएर सारा पृथ्वीभरि साँचो ज्ञान फैलाउँदै हुनुहुन्छ। दानियलको भविष्यवाणी आज पूरा भइरहेको छ। लगभग ८० लाख मानिसले बाइबलको शिक्षा स्वीकारेका छन्‌ र यसलाई संसारभर फैलाउने काममा भाग लिइरहेका छन्‌। बाइबलको शिक्षा संसारभर फैलाउन मदत पुऱ्‍याएका केही कुरा के हुन्‌, अब हामी छलफल गरौं।

बाइबलको अनुवाद

४. सन्‌ १८०० पछि बाइबलको अनुवाद कत्तिको व्यापक रूपमा भयो?

आज थुप्रै मानिससित बाइबल छ। त्यसैले सुसमाचार प्रचार गर्न सजिलो भएको छ। सयौं वर्षसम्म चर्चका पादरीहरूले सर्वसाधारणलाई बाइबल पढ्‌न दिएनन्‌ र बाइबल पढ्‌नेहरूको विरोध गरे। तिनीहरूले बाइबल अनुवाद गर्ने कसै-कसैलाई मृत्युदण्डसमेत दिए। तैपनि सन्‌ १८०० पछि बाइबल सोसाइटीहरूले पूरै वा आंशिक गरी ४०० भाषामा बाइबल अनुवाद गरे। सन्‌ १९०० सम्ममा त मानिसहरूको हात-हातमै बाइबल पुगिसकेको थियो तर तिनीहरूले त्यसमा भएको शिक्षा सही ढङ्‌गले बुझ्न भने सकेका थिएनन्‌।

५. यहोवाका साक्षीहरूले बाइबल अनुवादको क्षेत्रमा कस्तो योगदान पुऱ्‍याएका छन्‌?

प्रचार गर्नु आफ्नो जिम्मेवारी हो भनेर बुझेपछि बाइबल विद्यार्थीहरूले आफूले सिकेको कुरा जोडतोडले प्रचार गरे। यसबाहेक, यहोवाका सेवकहरूले बाइबलका विभिन्‍न संस्करण प्रयोग गरे अनि अरूलाई पनि वितरण गरे। सन्‌ १९५० देखि तिनीहरूले पवित्र बाइबल—नयाँ संसार अनुवाद पूरा वा आंशिक गरेर १२० भन्दा धेरै भाषामा प्रकाशित गरिसकेका छन्‌। सन्‌ २०१३ मा अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद संशोधन गरियो। यसले गर्दा अरू भाषामा बाइबल अनुवाद गर्न सजिलो भएको छ। स्पष्ट र सबैले बुझ्ने भाषाशैली भएको बाइबल प्रयोग गर्दा प्रचार गर्न पनि सजिलो भएको छ।

शान्ति

६, ७. (क) आधुनिक समयमा युद्ध कत्तिको चर्किएको छ? (ख) थुप्रै मुलुकमा केही हदसम्म शान्ति छाएकोले साक्षीहरूलाई कस्तो फाइदा भयो?

तपाईं सोच्नुहोला, ‘संसारमा साँच्चै शान्ति छ र?’ बितेको १०० वर्षदेखि यता युद्धको कारण लाखौंले ज्यान गुमाए, खासगरि दुइटा विश्‍वयुद्धमा। तर १९४२ मा दोस्रो विश्‍वयुद्ध चर्किरहेको बेला यहोवाका साक्षीहरूमाझ नेतृत्व लिइरहेका भाइ नेथन नोरले एउटा अधिवेशनमा “शान्ति-के यो रहिरहनेछ?” भन्‍ने शीर्षकको भाषण दिनुभयो। त्यतिबेला भइरहेको युद्धले आरमागेडोन निम्त्याउने होइन, बरु युद्धपछि केही समय शान्ति छाउनेछ भन्‍ने कुरा भाषणमा प्रकाश अध्याय १७ बाट स्पष्ट पारिएको थियो।—प्रका. १७:३, ११.

तर दोस्रो विश्‍वयुद्ध सिद्धिने बित्तिकै शान्ति छाएन। एउटा गणनाअनुसार १९४६ देखि २०१३ सम्म ३३१ वटा युद्ध भए र ती युद्धहरूमा लाखौंले ज्यान गुमाए। तैपनि त्यस अवधिमा थुप्रै मुलुकमा केही हदसम्म शान्ति छाएको थियो। यहोवाका साक्षीहरूले त्यस्तो परिस्थितिको सदुपयोग गर्दै जोडतोडले प्रचार गरे। यसको परिणाम? सन्‌ १९४४ मा यहोवाका साक्षीहरूको सङ्‌ख्या संसारभर १ लाख १० हजारभन्दा कम थियो। तर आज लगभग ८० लाख पुगिसक्यो। (यशैया ६०:२२ पढ्‌नुहोस्‌) हो, शान्तिपूर्ण अवस्थामा हामी अझ धेरै मानिसहरूलाई सुसमाचार प्रचार गर्न सक्छौं।

यातायातको सुविधा

८, ९. यातायातको क्षेत्रमा कस्तो उन्‍नति भएको छ? यसले हाम्रो काममा कसरी मदत पुऱ्‍याएको छ?

यातायातको क्षेत्रमा भएको उन्‍नतिले प्रचारकार्यमा मदत पुगेको छ। प्रहरीधरहरा (अङ्‌ग्रेजी) पहिलो पटक प्रकाशित भएको २१ वर्षपछि अर्थात्‌ १९०० मा अमेरिकाभरि जम्मा ८ हजार सवारीसाधन थिए र सवारीसाधन चलाउन मिल्ने सडकहरू पनि केही सय किलोमिटर मात्र थिए। अहिले संसारभर १ अरब ५० करोडभन्दा धेरै सवारीसाधन छन्‌ र लाखौं किलोमिटर पक्की सडकहरू छन्‌। सडक र यातायातको सुविधा भएकोले बाइबलको सन्देश दुर्गम इलाकाहरूमा समेत पुगेको छ। तर हामी यस्ता सुविधाहरू नभएको इलाकामा बस्छौं भने टाढा-टाढासम्म प्रचार गर्न हिंडेरै जानुपर्ने हुन्छ। तैपनि चेला बनाउन हामी सक्दो मेहनत गर्छौं।—मत्ती २८:१९, २०.

यातायातका अन्य सुविधाहरूले पनि प्रचारकार्यमा मदत पुऱ्‍याएका छन्‌। ट्रक, पानीजहाज र रेलको सुविधाले गर्दा बाइबलआधारित साहित्यहरू दुर्गम इलाकामा समेत केही हप्ताभित्रै पुऱ्‍याउन सकिएको छ। क्षेत्रीय निरीक्षकहरू, शाखा समिति सदस्यहरू, मिसनरीहरू र थुप्रै दाजुभाइ दिदीबहिनी अधिवेशनमा उपस्थित हुन वा ईश्‍वरतान्त्रिक जिम्मेवारीहरू सम्हाल्न टाढा-टाढासम्म जानुपर्ने हुन सक्छ। तर हवाईजहाजको सुविधाले गर्दा तिनीहरू छोटो समयमै गन्तव्यमा पुग्न सकेका छन्‌। त्यसका साथै, परिचालक निकायका सदस्यहरू र विश्‍व मुख्यालयका प्रतिनिधिहरू हवाईयात्रा गरेर विभिन्‍न मुलुकका साक्षीहरूलाई प्रोत्साहन दिन र सिकाउन जान्छन्‌। यातायातको सुविधाले गर्दा विश्‍वभरका यहोवाका सेवकहरू अझ नजिक भएका छन्‌।—भज. १३३:१-३.

भाषा

१०. अङ्‌ग्रेजी अन्तरराष्ट्रिय भाषा हो भनेर किन भन्‍न सकिन्छ?

१० प्रथम शताब्दीमा रोमी साम्राज्यका धेरै मानिसले बोलीचालीको ग्रीक भाषा अर्थात्‌ कोइन चलाउँथे। हाम्रो समयमा धेरैजसो मानिसले बोल्ने भाषा कुन हो? धेरैको विचारमा त्यो अङ्‌ग्रेजी भाषा हो। एउटा किताब c यसो भन्छ, “संसारको जनसङ्‌ख्याको चार भागको एक भाग मानिसहरूले अङ्‌ग्रेजी भाषा खरर्र बोल्न वा लेख-पढ गर्न सक्छन्‌।” व्यापारिक होस्‌ वा राजनैतिक, वैज्ञानिक होस्‌ वा प्राविधिक, सबै क्षेत्रमा अङ्‌ग्रेजी भाषा नै चलाइन्छ। त्यसैले संसारका धेरैजसो देशहरूमा यो भाषा पढाइन्छ।

११. साँचो उपासनालाई अघि बढाउन अङ्‌ग्रेजी भाषाले कसरी मदत गरेको छ?

११ अङ्‌ग्रेजी भाषा व्यापक रूपमा प्रयोग गरिने भएकोले साँचो उपासनालाई अघि बढाउन सजिलो भएको छ। वर्षौंसम्म प्रहरीधरहरा र बाइबलआधारित अरू प्रकाशन सुरुमा अङ्‌ग्रेजीमै छापिन्थ्यो। यहोवाका साक्षीहरूको विश्‍व मुख्यालयमा अङ्‌ग्रेजी भाषा नै चलाइन्छ। न्यु योर्कको प्याटर्सनमा रहेको वाचटावर शैक्षिक केन्द्रमा पनि विद्यार्थीहरूलाई अङ्‌ग्रेजी भाषामै पढाइन्छ।

१२. यहोवाका साक्षीहरूले बाइबलआधारित साहित्यहरू कति वटा भाषामा अनुवाद गरेका छन्‌? प्रविधिले गर्दा अनुवादको काम कसरी सजिलो भएको छ?

१२ हामीले सबै जातिका मानिसलाई सुसमाचार प्रचार गर्ने सुअवसर पाएका छौं। त्यसैले हाम्रा साहित्यहरू लगभग ७०० भाषामा अनुवाद गरिएका छन्‌। मेप्स (MEPS) d भन्‍ने कम्प्युटर प्रोग्रामलगायत प्रविधिको क्षेत्रमा भएको अरू थुप्रै उन्‍नतिको कारण अनुवादको काम सजिलो भएको छ। अनुवादको क्षेत्रमा गरिएको यस्तो प्रयासले गर्दा विश्‍वभरि राज्यको सुसमाचार प्रचार गर्न सम्भव भएको छ। त्यतिमात्र होइन, विश्‍वभरका हाम्रा दाजुभाइ दिदीबहिनीबीच एकता कायम गर्न पनि मदत पुगेको छ। तर त्योभन्दा पनि मुख्य कुरा, हामी सबैले धर्मशास्त्रमा आधारित सत्य अर्थात्‌ “शुद्ध भाषा” बोल्ने भएकोले हामीबीच एकता छ।सपन्याह ३:९ पढ्‌नुहोस्‌।

नियम-कानुन

१३, १४. देशको नियम-कानुनले गर्दा ख्रीष्टियनहरूलाई कस्तो फाइदा भएको छ? अदालती फैसलाहरूबाट यहोवाका साक्षीहरूले कस्तो लाभ उठाएका छन्‌?

१३ अघिल्लो लेखमा रोमी कानुनले सुरु-सुरुका ख्रीष्टियनहरूलाई कसरी मदत पुऱ्‍यायो भनेर पढ्यौं। आजका ख्रीष्टियनहरूले पनि कानुनी व्यवस्थाबाट लाभ उठाएका छन्‌। उदाहरणको लागि, हाम्रो विश्‍व मुख्यालय भएको राष्ट्र अमेरिकाको संविधानले धार्मिक स्वतन्त्रता, विचार र अभिव्यक्‍तिको स्वतन्त्रता अनि भेला हुने स्वतन्त्रताको हकलाई सुरक्षित गरेको छ। त्यसैले त्यहाँ साक्षीहरू एक ठाउँमा भेला भएर बाइबलको छलफल गर्न र आफ्नो विश्‍वासबारे अरूलाई बताउन स्वतन्त्र छन्‌। तर कुनै-कुनै अधिकारलाई भने कानुनी तवरमै स्थापना गर्नुपर्ने भएकोले यहोवाका साक्षीहरू अदालतसम्म पुग्नुपऱ्‍यो। (फिलि. १:७) अमेरिकामा यहोवाका साक्षीहरू विरुद्ध थुप्रै पटक कानुनी कदम चालियो र ती साक्षीहरूले उच्च अदालतमा अपिल गरे। तीमध्ये धेरैजसो मुद्दा त यहोवाका साक्षीहरूले नै जिते र प्रचार गर्ने तिनीहरूको अधिकार सुरक्षित भयो।

१४ अरू देशका अदालतहरूले पनि उपासना गर्ने हाम्रो स्वतन्त्रता र आफ्नो विश्‍वासबारे अरूलाई बताउने हाम्रो अधिकारलाई मान्यता दिएका छन्‌। कुनै-कुनै देशमा हामीले मुद्दा हारेका छौं। तर हामीले अन्तरराष्ट्रिय अदालतहरूमा मुद्दा दायर गरेका छौं। उदाहरणको लागि, सन्‌ २०१४ को जूनसम्ममा यहोवाका साक्षीहरूले मानवअधिकारसम्बन्धी युरोपेली अदालतबाट ५७ वटा मुद्दा जितिसके। अदालतले दिएको आदेश युरोपका सबैजसो मुलुकले पालन गर्नुपर्ने भयो। हामी “सबै जातिहरूमाझ घृणाको पात्र” भए पनि थुप्रै देशका अदालतहरूले साँचो उपासना गर्ने हाम्रो अधिकारको पक्षमा फैसला सुनाएका छन्‌।—मत्ती २४:९.

सुसमाचार फैलाउन मदत गर्ने अन्य कुराहरू

संसारभरका मानिसहरूले बाइबलआधारित साहित्य पढ्‌न पाइरहेका छन्‌

१५. छपाइको क्षेत्रमा कस्तो उन्‍नति भएको छ? यस्तो उन्‍नतिले गर्दा हाम्रा प्रकाशनहरूको उत्पादनमा कस्तो फाइदा पुगेको छ?

१५ छपाइको क्षेत्रमा भएको उन्‍नतिले पनि विश्‍वव्यापी प्रचारकार्यलाई मदत पुऱ्‍याएको छ। सन्‌ १४५० मा योहानस गुटनबर्गले छपाइ प्रविधिको आविष्कार गरे। तिनको आविष्कारले छपाइको क्षेत्रमा सयौं वर्षसम्म योगदान पुऱ्‍यायो। तर बितेको २०० वर्षदेखि यता छपाइको क्षेत्रमा ठूलठूला परिवर्तनहरू भएका छन्‌। अहिले ठूलठूला अनि द्रुत गतिमा चल्ने अत्याधुनिक प्रेसहरू छन्‌। कागजको उत्पादन तथा किताबको बाइन्डिङ पनि सस्तो भएको छ। अफसेट प्रिन्टिङको आविष्कारले गर्दा छिटो-छिटो छाप्न सम्भव भएको छ र चित्रहरूको गुणस्तर पनि बढेको छ। यस्तो उन्‍नतिले गर्दा हाम्रा प्रकाशनहरूको उत्पादनमा कस्तो फाइदा पुगेको छ? यो कुरा विचार गर्नुहोस्‌: प्रहरीधरहरा-को पहिलो अङ्‌क (जुलाई १८७९) ६ हजार प्रति मात्र छापिएको थियो। त्यस पत्रिकामा चित्रहरू थिएनन्‌ र अङ्‌ग्रेजी भाषामा मात्र प्रकाशित भएको थियो। तर आज १३६ वर्षपछि प्रहरीधरहरा-को प्रत्येक अङ्‌क ५ करोडभन्दा धेरै प्रति छापिन्छ र वितरण हुन्छ। यस पत्रिकामा रङ्‌गीन चित्रहरू छन्‌ र यो २०० भन्दा धेरै भाषामा उपलब्ध छ।

१६. कस्ता आविष्कारहरूले गर्दा पृथ्वीभरि प्रचार गर्न सजिलो भएको छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

१६ बितेका २०० वर्षभित्र आविष्कार भएका विभिन्‍न सरसाधनले गर्दा सुसमाचार प्रचार गर्न सजिलो भएको छ। हामीले गाडी, रेल र हवाईजहाजबारे त चर्चा गरिसक्यौं। तर चेला बनाउने काममा मदत पुऱ्‍याएका अन्य सरसाधन पनि छन्‌। जस्तै: साइकल, टाइपराइटर, ब्रेल उपकरण, टेलिग्राफ, टेलिफोन, क्यामरा, अडियो-भिडियो रेकर्ड गर्ने साधन, रेडियो, टेलिभिजन, चलचित्र, कम्प्युटर र इन्टरनेट। आफ्ना सेवकहरूले ‘जातिहरूका दूध चुस्नेछन्‌’ भनेर यहोवाले भविष्यवाणी गर्नुभएको थियो। यो भविष्यवाणीअनुसारै हामीले मानिसहरूले आविष्कार गरेका आधुनिक प्रविधिहरू प्रयोग गरेर विभिन्‍न भाषामा बाइबल अनि बाइबलआधारित साहित्यहरू उत्पादन गरेका छौं।यशैया ६०:१६ पढ्‌नुहोस्‌।

१७. (क) हामी कुन कुरामा पक्का हुन सक्छौं? (ख) यहोवाले हामीलाई किन आफ्ना “सहकर्मीहरू” हुने सुअवसर दिनुभएको छ?

१७ माथि उल्लेख गरिएका कुराहरूलाई विचार गर्दा यहोवाले हामीलाई आशिष्‌ दिइरहनुभएको छ भन्‍ने कुरामा पक्का हुन सक्छौं। हुन त आफ्नो उद्देश्‍य पूरा गर्न यहोवालाई हाम्रो मदतको खाँचो छैन। तैपनि हामीलाई माया गर्ने भएकोले उहाँले हामीलाई आफ्ना “सहकर्मीहरू” हुने सुअवसर दिनुभएको छ। यहोवासँगै काम गर्दा हामीले उहाँलाई र छिमेकीलाई प्रेम गरेको देखाउने मौका पाउँछौं। (१ कोरि. ३:९; मर्कू. १२:२८-३१) अहिले पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण काम सुसमाचार प्रचारकार्यमा भाग लिने मौकाको सदुपयोग गरौं। अहिले संसारभर भइरहेको शिक्षणकार्यलाई यहोवाले डोऱ्‍याउनुभएको छ र आशिष्‌ दिनुभएको छ। त्यसैले उहाँप्रति आभारी भएको देखाऔं।

a बाइबल विद्यार्थीहरू १९३१ देखि यहोवाका साक्षीहरू भन्‍ने नामले चिनिए।—यशै. ४३:१०.

b दानियल १२:४ (NRV): “तर तिमीचाहिं, हे दानियल, यस चर्मपत्रका मुट्ठाका वचनहरू अन्तको समयसम्म बन्द गरी मोहोर लगाएर राख। धेरै जना ज्ञान बढाउनलाई यता र उता जानेछन्‌।”

c English as a Global Language

d Multilanguage Electronic Publishing System