सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूको प्रश्‍न

पाठकहरूको प्रश्‍न

पहिले-पहिलेका हाम्रा प्रकाशनहरूमा बाइबलको कुनै विवरण, पात्र र वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर बताइएको हुन्थ्यो। तर हालैका वर्षहरूमा त्यसरी तुलना गरिएको पाइँदैन। किन?

सेप्टेम्बर १५, १९५० को प्रहरीधरहरा-मा (अङ्‌ग्रेजी) बाइबलको कुनै विवरण, पात्र र वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर बताइएको थियो। धेरै वर्षअघि हाम्रा प्रकाशनहरूमा दबोरा, एलीहू, यिप्तह, अय्यूब, राहाब र रिबेकालगायत बाइबलका अन्य थुप्रै पात्रहरूले कि अभिषिक्‍त ख्रीष्टियनहरूलाई कि त “ठूलो भीड”-लाई सङ्‌केत गर्छ भनेर बताइएको थियो। (प्रका. ७:९) उदाहरणको लागि, यिप्तह, अय्यूब र रिबेकाले अभिषिक्‍त जनहरूलाई अनि दबोरा र राहाबले ठूलो भीडलाई सङ्‌केत गर्छ भनेर बताइएको थियो। ती पात्रहरूलाई ‘छाया’ भनिन्थ्यो र तिनीहरूले सङ्‌केत गर्ने कुरालाई चाहिं ‘वास्तविकता’ भनिन्थ्यो। तर हालैका वर्षहरूमा त्यसरी तुलना गरिएको पाइँदैन। किन?

छाया

पुरातन इस्राएलमा निस्तार चाडमा चढाइने थुमा छाया मात्र थियो।—गन्ती ९:२

वास्तविकता

पावलले ख्रीष्टलाई “हाम्रो निस्तारको थुमा” भने।—१ कोरि. ५:७

बाइबलका केही पात्रहरूले कुनै महत्त्वपूर्ण कुरालाई सङ्‌केत गर्छ भनेर बाइबलले नै बताउँछ। उदाहरणको लागि, गलाती ४:२१-३१ मा प्रेषित पावलले दुई जना स्त्रीको “लाक्षणिक अर्थ”-बारे बताएका छन्‌। अब्राहामकी नोकर्नी हागारले इस्राएल राष्ट्रलाई सङ्‌केत गर्थ्यो। यस राष्ट्रले मोशाको व्यवस्थाद्वारा यहोवासित सम्बन्ध गाँसेको थियो। त्यसैगरि, “स्वतन्त्र स्त्री” साराले यहोवाको श्रीमती अर्थात्‌ यहोवाको सङ्‌गठनको स्वर्गीय भागलाई सङ्‌केत गर्थ्यो। हिब्रूहरूलाई लेखेको पत्रमा पावलले राजा र पुजारीको रूपमा काम गरेका मल्कीसेदेकलाई येशूसँग तुलना गरेका छन्‌ र दुई जनाबीच भएका केही समानताहरूबारे पनि बताएका छन्‌। (हिब्रू ६:२०; ७:१-३) साथै, उनले यशैयालाई येशूसित र तिनका छोराहरूलाई अभिषिक्‍त चेलाहरूसित तुलना गरेका छन्‌। (हिब्रू २:१३, १४) पावलले यी कुराहरू परमेश्‍वरको प्रेरणा पाएर लेखेका थिए। त्यसैले उनले गरेको तुलना सही हो भन्‍ने कुरामा हामी सहमत छौं।

बाइबलको कुनै पात्रले कसैलाई सङ्‌केत गर्ने भए तापनि तिनीसित सम्बन्धित स-सानो विवरणले वा तिनको जीवनमा घटेको घटनाले कुनै न कुनै कुरालाई सङ्‌केत गर्छ भन्‍ने निष्कर्षमा चाहिं पुग्नु ठीक होइन। उदाहरणको लागि, मल्कीसेदेकले येशूलाई सङ्‌केत गर्छ भनी पावलले लेखेका छन्‌। तर अब्राहामले चार जना राजालाई जितेको खुसीयाली मनाउन मल्कीसेदेक रोटी र दाखमद्य लिएर अब्राहामकहाँ गएको विषयमा भने पावलले बताएका छैनन्‌। त्यसकारण त्यो घटनाले अरू कुनै कुरालाई सङ्‌केत गर्छ भन्‍न सकिने कुनै धर्मशास्त्रीय आधार छैन।—उत्प. १४:१, १८.

येशूको मृत्यु भएको सयौं वर्षपछिका केही लेखकहरू बाइबलको हरेक विवरणले कुनै न कुनै कुरालाई सङ्‌केत गर्छ भन्‍ने सोचाइ राख्थे। ओरिजन, एमब्रोस र जेरोमको शिक्षाबारे एउटा किताब a यसो भन्छ, “धर्मशास्त्रमा उल्लेख गरिएका कुनै-कुनै घटना तथा विवरणहरू त्यति महत्त्वपूर्ण नभए पनि तिनीहरू त्यस्ता कुराहरूको लाक्षणिक अर्थ पत्ता लगाउन खोज्थे अनि भेट्टाउँथे पनि। तिनीहरू साधारण र खासै महत्त्व नराख्ने परिस्थितिहरूको पछाडि समेत गहकिलो सत्य लुकेको हुन्छ भन्‍ने धारणा राख्थे। . . . पुनर्जीवित भएका मुक्‍तिदाता येशू चेलाहरूकहाँ देखा परेको रात चेलाहरूले १५३ वटा माछा समातेका थिए र कसै-कसैले १५३ सङ्‌ख्याको पनि लाक्षणिक अर्थ छ भन्थे।”

येशूले जौका पाँचवटा रोटी र दुईवटा माछा प्रयोग गरेर ५ हजार जनालाई अघाउन्जेल खुवाउनुभएको घटनाबारे हिप्पोका अगस्टिनले विस्तृत वर्णन गरे। जौका पाँचवटा रोटीले मोशाले लेखेका पाँचवटा किताबलाई बुझाउँछ भनी तिनले बताए। त्यतिबेला जौलाई गहुँभन्दा कमसल ठानिने भएकोले “नयाँ नियम”-को तुलनामा “पुरानो नियम” त्यति महत्त्वपूर्ण छैन भन्‍ने निष्कर्षमा तिनी पुगे। दुईवटा माछालाई चाहिं तिनले केसित तुलना गरे? दुईवटा माछाले राजा र पुजारीलाई बुझाउँछ भनी तिनले बताए। एसावले याकूबलाई एक कचौरा रातो सुरुवाको सट्टामा आफ्नो ज्येष्ठ अधिकार बेचेको कुराले येशूले आफ्नो रातो रगतद्वारा मानिसजातिको लागि स्वर्गीय आशा किन्‍नुभएको कुरालाई सङ्‌केत गर्छ भनेर अर्का शास्त्रविद्‌ले बताए।

त्यस्ता व्याख्याहरू सही हो जस्तो देखिंदैन। त्यसैले बाइबलको कुन विवरण पछि हुने कुराको छाया हो र कुनचाहिं होइन, मानिसलाई थाह हुँदैन भन्‍ने कुरा स्पष्ट छ। त्यसोभए के गर्नु बुद्धिमानी हो त? धर्मशास्त्रले नै कुनै व्यक्‍ति, घटना वा वस्तुले कुनै कुरालाई सङ्‌केत गर्छ भनेर बताउँछ भने हामीले त्यो कुरा स्वीकार्नुपर्छ। तर कुनै धर्मशास्त्रीय आधार छैन भने कुनै व्यक्‍ति वा विवरणको लाक्षणिक अर्थ लगाउनु हुँदैन।

त्यसोभए, धर्मशास्त्रमा पाइने विवरण र उदाहरणहरूबाट हामी कस्तो लाभ उठाउन सक्छौं? रोमी १५:४ मा प्रेषित पावलले यसो भनेका छन्‌, “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌, ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌।” प्रथम शताब्दीका अभिषिक्‍त ख्रीष्टियनहरूलाई धर्मशास्त्रका विवरणहरूबाट तिनीहरूले महत्त्वपूर्ण पाठ सिक्न सक्छन्‌ भनी पावलले बताउँदै थिए। प्रथम शताब्दीका अभिषिक्‍त जनहरूले “पहिले लेखिएका सबै कुरा”-बाट लाभ उठाए। त्यसैगरि “अन्तको दिनमा” बाँचिरहेका अभिषिक्‍त जनहरू र “अरू भेडा”-ले पनि ती विवरणहरूबाट लाभ उठाउन सक्छन्‌।—यूह. १०:१६; २ तिमो. ३:१.

बाइबलका थुप्रै विवरण कि अरू भेडालाई मात्र कि त अभिषिक्‍त जनहरूलाई मात्र लागू हुन्छ अनि ती विवरणहरूले एउटा निश्‍चित समयावधिलाई मात्र ढाक्छ भनेर सोच्नु हुँदैन। बरु ती विवरणहरूबाट जुनसुकै आशा भएका र जुनसुकै समयका परमेश्‍वरका जनहरूले लाभ उठाउन सक्छन्‌ भन्‍ने कुरा हामीले बुझ्नुपर्छ। उदाहरणको लागि, अय्यूबको विवरण प्रथम विश्‍वयुद्धको दौडान अभिषिक्‍त जनहरू सहनशील भएको कुरासित मात्र सम्बन्धित छ भनेर हामी सोच्दैनौं। चाहे हामी पुरुष हौं वा स्त्री, अभिषिक्‍त जन हौं वा ठूलो भीडका सदस्य, हामी सबैले अय्यूबले जस्तै अनुभव गरेका छौं। अय्यूबजस्तै कठिन परिस्थितिमा पर्दा ‘यहोवाले दिनुभएको इनाम देखेका’ छौं अनि “यहोवा कस्तो कोमल स्नेहले भरिपूर्ण अनि कृपालु हुनुहुँदो रहेछ” भनेर अनुभव गरेका छौं।—याकू. ५:११.

यो कुरा विचार गर्नुहोस्‌: आज हाम्रा मण्डलीहरूमा दबोराजस्तै वफादार वृद्धाहरू, एलीहूजस्तै बुद्धिमान्‌ र असल एल्डरहरू, यिप्तहजस्तै साहसी र जोसिला अग्रगामीहरू अनि अय्यूबजस्तै सहनशील र वफादार पुरुष तथा स्त्रीहरू छैनन्‌ र? “हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌” भनेर यहोवाले “पहिले लेखिएका सबै कुरा” अहिलेसम्म जोगाएर राख्नुभएको छ। यसको लागि हामी उहाँप्रति आभारी छौं।

त्यसैले हालैका वर्षहरूमा हाम्रा प्रकाशनहरूले बाइबलको कुनै विवरण, पात्र र वस्तुले कसै न कसैलाई वा कुनै न कुनै चीजलाई सङ्‌केत गर्छ भनेर बताएको पाइँदैन। बरु बाइबलका विवरणहरूबाट सिक्न सकिने पाठमा जोड दिइएको पाइन्छ।

a The International Standard Bible Encyclopaedia