सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“प्रभुको चेलासित मात्र” विवाह—के यो सल्लाह अहिले पनि व्यावहारिक छ?

“प्रभुको चेलासित मात्र” विवाह—के यो सल्लाह अहिले पनि व्यावहारिक छ?

“मण्डलीमा मैले सुहाउँदो जोडी भेट्टाउन सकिनँ। म विवाह नगरी नै बूढी हुने भएँ।”

“केही केटाहरू साक्षी नभए पनि अरूको ख्याल राख्ने, अरूलाई माया गर्ने र समझदार छन्‌। म यहोवाको साक्षी भए पनि उनीहरूलाई कुनै आपत्ति छैन। उनीहरू मण्डलीका कतिपय भाइहरूभन्दा राम्रा छन्‌।”

यहोवाका अरू केही सेवकहरूले पनि यसरी नै आफ्नो भावना व्यक्‍त गरेका छन्‌। “प्रभुको चेलासित मात्र” विवाह गर्नु भन्‍ने पावलको सल्लाह तिनीहरूलाई राम्ररी थाह छ र यो सल्लाह सबै ख्रीष्टियनले पालन गर्नुपर्छ। (१ कोरि. ७:३९) त्यसोभए तिनीहरू किन यसरी गुनासो गर्छन्‌?

कसै-कसैलाई यो सल्लाह किन व्यावहारिक लाग्दैन?

कसै-कसैलाई बाइबलले दिएको सल्लाह व्यावहारिक छैन जस्तो लाग्छ किनकि थुप्रै देशमा भाइहरूको तुलनामा बहिनीहरू धेरै छन्‌। दुइटा देशको तथ्याङ्‌क विचार गरौं। कोरियामा १०० जना अविवाहित साक्षीहरूमध्ये ५७ जना बहिनीहरू हुन्‌ भने ४३ जना भाइहरू। त्यसैगरि, कोलम्बियामा १०० जना साक्षीहरूमध्ये ६६ जना बहिनीहरू हुन्‌ भने ३४ जना भाइहरू।

केही देशहरूमा दुलहाले दुलहीको आमाबुबालाई थुप्रै पैसा वा महँगो उपहार दिने चलन छ। मण्डलीको कुनै भाइले विवाह गर्न चाहलान्‌। तर तिनले विवाह गर्न चाहेको बहिनीको आमाबुबा साक्षी होइनन्‌ भने उनीहरूले ती भाइसित चलनअनुसारै माग गर्न सक्छन्‌। तर ती भाइको आर्थिक अवस्था राम्रो छैन भने तिनलाई उनीहरूको माग पूरा गरिदिन गाह्रो हुन सक्छ। यस्ता चुनौतीहरूबारे विचार गर्दा कुनै बहिनीलाई मण्डलीभित्रै उपयुक्‍त जोडी भेट्टाउन सकिंदैन जस्तो लाग्न सक्छ। तिनको मनमा यस्तो कुरा खेल्न सक्छ, “ख्रीष्टियनहरूमाझ उपयुक्‍त जोडी भेट्टाउन सक्छु भनेर सोच्नु व्यावहारिक हो?” a

यहोवामा भरोसा गर्नु आवश्‍यक छ

तपाईंको मनमा पनि त्यस्तो सोचाइ आएको छ भने यहोवाले तपाईंको अवस्था बुझ्नुहुन्छ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। यस्तो अवस्थामा तपाईं कस्तो महसुस गर्नुहुन्छ भनेर उहाँलाई थाह छ।—२ इति. ६:२९, ३०.

तैपनि प्रभुको चेलासित मात्र विवाह गर्नु भन्‍ने निर्देशन यहोवाले आफ्नो वचनमार्फत हामीलाई दिनुभएको छ। किन? के गर्दा आफ्ना मानिसहरूको भलो हुन्छ भनी उहाँलाई थाह छ। उहाँ आफ्ना जनहरूलाई गलत निर्णय गर्दा भोग्नुपर्ने दुःखदायी नतिजाबाट जोगाउन मात्र चाहनुहुन्‍न, बरु उहाँ तिनीहरू खुसी भएको पनि चाहनुहुन्छ। नहेम्याहको समयमा थुप्रै यहूदीले यहोवाको उपासना नगर्नेहरूसित विवाह गरिरहेका थिए। त्यतिबेला नहेम्याहले विदेशी स्त्रीहरूसित विवाह गरेका सुलेमानबारे बताए। तिनले यसो भने, “के यस्तै स्त्रीहरूको कारण इस्राएलका राजा सुलेमानले पाप गरेका थिएनन्‌? . . . तिनलाई आफ्ना परमेश्‍वरले प्रेम गर्नुभएको थियो।” (नहे. १३:२३-२६) हो, यहोवा आफ्ना जनहरूको भलाइ चाहनुहुन्छ। त्यसैले हामीलाई साँचो उपासकहरूसित मात्र विवाह गर्ने निर्देशन दिनुभएको छ। (भज. १९:७-१०; यशै. ४८:१७, १८) यहोवाले माया गर्नुभएकोमा साँचो ख्रीष्टियनहरू उहाँप्रति आभारी छन्‌ र तिनीहरू उहाँको निर्देशनमा भर पर्छन्‌। यहोवालाई आफ्नो शासकको रूपमा स्वीकारेर तिनीहरू निर्देशन दिने अधिकार उहाँसित मात्र छ भन्‍ने कुरा मानिलिन्छन्‌।—हितो. १:५.

तपाईंलाई परमेश्‍वरबाट तर्काउन सक्ने व्यक्‍तिसित सम्बन्ध गाँसेर ‘एउटै जुवामा नारिन’ तपाईं पक्कै पनि चाहनुहुन्‍न। (२ कोरि. ६:१४) यहोवाले दिनुभएको निर्देशन सही हो भनेर प्रमाणित भइसकेको छ र त्यो निर्देशनअनुसार चल्दा हाम्रै भलो हुन्छ। त्यसैले आज थुप्रै ख्रीष्टियनहरूले उहाँको निर्देशन पालन गरेका छन्‌ र तिनीहरूलाई आफूले गरेको निर्णयमा कुनै पछुतो छैन। तर कसै-कसैले भने बेग्लै किसिमको निर्णय गरेका छन्‌।

अहिले पनि व्यावहारिक छ

अस्ट्रेलियाकी म्यागी b नाम गरेकी एउटी बहिनीले यहोवाको उपासना नगर्ने केटासित डेटिङ गर्न थालिन्‌। तिनी भन्छिन्‌, “ऊसित समय बिताउन मैले धेरै पटक सभाहरू छुटाएँ। यहोवासित गाँसेको मेरो सम्बन्ध खत्तमै भइसकेको थियो।” भारतकी रत्ना भन्‍ने एक जना बहिनीले पनि आफ्नो सहपाठीसित रोमान्टिक सम्बन्ध गाँस्न पुगिन्‌। उनका सहपाठीले बाइबल अध्ययन पनि गर्न थालेका थिए। तर तिनले ती बहिनीसित रोमान्टिक सम्बन्ध गाँस्न मात्र अध्ययन गर्न थालेका रहेछन्‌ भन्‍ने कुरा पछि थाह भयो। दुःखको कुरा, ती बहिनीले यहोवालाई त्यागिन्‌ र ती केटासित विवाह गर्न अर्कै धर्म अँगालिन्‌।

अर्को अनुभव क्यामरूनकी डेन्का भन्‍ने बहिनीको हो। विवाह गर्ने बेला तिनी १९ वर्षकी थिइन्‌। तिनीसित मगनी भएको केटाले विवाहपछि पनि तिनलाई आफ्नो धर्म मान्‍न दिने वाचा गरेका थिए। तर विवाह भएको दुई हप्तामै तिनका श्रीमान्‌ले तिनलाई सभामा जानदेखि रोक लगाए। तिनी भन्छिन्‌, “मेरो आफ्नो भन्‍नु कोही छैन जस्तो लाग्न थाल्यो। भक्कानो फुटेर आउँथ्यो र म नरोई बस्नै सक्दिनथें। मेरो हातमा अब केही पनि छैन जस्तो लाग्यो। जहिले पनि आफ्नो गल्ती सम्झिरहन्थें र आफैलाई धिक्कार्थें।”

हुन त विवाहपछि यहोवाको उपासना नगर्ने श्रीमान्‌ वा श्रीमतीले कठोर व्यवहार नगर्लान्‌ र अव्यावहारिक माग पनि नगर्लान्‌। तैपनि यहोवाको उपासना नगर्ने व्यक्‍तिसित विवाह गर्दा यहोवासित तपाईंले गाँसेको सम्बन्धमा कुनै असर नपर्ला र? यहोवाले दिनुभएको निर्देशन पालन नगरेको कुरा सम्झँदा तपाईंलाई कस्तो लाग्ला? सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईंले त्यस्तो निर्णय गरेकोमा यहोवालाई कस्तो लाग्ला?—हितो. १:३३.

विश्‍वभरका हाम्रा दाजुभाइ दिदीबहिनीले “प्रभुको चेलासित मात्र” विवाह गर्नू भन्‍ने निर्देशन पालन गर्नुजस्तो बुद्धिमानी मार्ग अरू कुनै छैन भनेर आफैले अनुभव गरेका छन्‌। थुप्रै अविवाहित ख्रीष्टियनहरूले यहोवाको उपासना गर्ने व्यक्‍तिसित मात्र विवाह गरेर उहाँलाई खुसी पार्ने सङ्‌कल्प गरेका छन्‌। जापानकी मिचिको भन्‍ने बहिनीको अनुभव विचार गरौं। उनी अविवाहित छँदा उनका नातेदारहरूले उनलाई यहोवाको उपासना नगर्ने व्यक्‍तिसित विवाह गर्न दबाब दिएका थिए। त्यसमाथि, उनका केही साथी र अरू कसै-कसैले मण्डलीभित्रै उपयुक्‍त जोडी पाएको र विवाह गरेको देख्दा उनलाई खल्लो लाग्थ्यो। उनी भन्छिन्‌, “हामीले ‘आनन्दित परमेश्‍वर’ यहोवाको सेवा गर्ने भएकोले अविवाहितै बस्नुपऱ्‍यो भने पनि हाम्रो आनन्द गुम्दैन भनेर आफैलाई सम्झाएँ। उहाँले हाम्रो मनको इच्छा पूरा गरिदिनु हुन्छ भन्‍ने कुरामा पनि ढुक्क छु। त्यसैले विवाह गर्ने चाहना हुँदाहुँदै उपयुक्‍त जोडी पाइएन भने केही समय अविवाहितै रहनु असल हो।” (१ तिमो. १:११) पछि मिचिकोले मण्डलीका एक जना असल साक्षीसित विवाह गरिन्‌। उपयुक्‍त जोडी नपाएसम्म कुर्ने निर्णय गरेकोमा उनी खुसी छिन्‌।

केही भाइहरूले पनि उपयुक्‍त जोडी नपाएसम्म कुर्ने निर्णय गरेका छन्‌। अस्ट्रेलियाको बिल भन्‍ने भाइको पनि त्यस्तै अनुभव छ। हुन त आफू कहिलेकाहीं मण्डली बाहिरका केटीहरूप्रति आकर्षित भएको कुरा उनी स्वीकार्छन्‌। तर उनी ती केटीहरूसित घनिष्ठ भने भएनन्‌। कारण? त्यसरी घनिष्ठ हुँदा यहोवाको सेवा नगर्ने व्यक्‍तिसित ‘एउटै जुवामा नारिने’ हदसम्म पुग्ने सम्भावना धेरै हुन्छ भनेर उनलाई थाह थियो। उनले केही बहिनीहरूलाई पनि मन पराएका थिए तर त्यो एकतर्फी मात्र थियो। उनले ३० वर्षपछि मात्र आफ्नोजस्तै लक्ष्य भएको जीवनसाथी भेट्टाए। बिल भन्छन्‌, “मलाई कुनै पछुतो छैन।” उनी अझ यसो भन्छन्‌, “हामी सँगै प्रचारकार्यमा जान्छौं, सँगै अध्ययन गर्छौं अनि सँगै यहोवाको उपासना गर्छौं। यहोवाबाट ठूलो आशिष्‌ पाएको छु जस्तो लाग्छ। मेरी श्रीमतीका साथीहरूसित भेटघाट गर्न र उनीहरूसित सङ्‌गत गर्न मलाई मन पर्छ किनकि उनीहरू पनि यहोवाका उपासकहरू हुन्‌। वैवाहिक सम्बन्धलाई बलियो बनाउन हामी बाइबलका सिद्धान्तहरू लागू गर्छौं।”

सबै कुरा यहोवाको हातमा छोडिदिनुहोस्‌

सायद तपाईं पनि यहोवामा भरोसा गर्दै उपयुक्‍त जोडीको पर्खाइमा बसिरहनुभएको छ होला। उपयुक्‍त जोडी नपाएसम्म तपाईं के गर्न सक्नुहुन्छ? तपाईंले गर्न सक्ने एउटा कुरा भनेको तपाईं किन अविवाहित हुनुहुन्छ भनेर विचार गर्नुहोस्‌। “प्रभुको चेलासित मात्र” विवाह गर्नु भन्‍ने निर्देशन पालन गर्न अविवाहितै बस्नुभएको हो भने हामी तपाईंको प्रशंसा गर्छौं किनकि तपाईंले परमेश्‍वरको आज्ञा पालन गर्नुभएको छ। तपाईंले उहाँको आज्ञा पालन गर्नुभएकोमा उहाँ तपाईंसित खुसी हुनुहुन्छ। (१ शमू. १५:२२; हितो. २७:११) तपाईं प्रार्थना गरेर उहाँलाई “आफ्नो हृदयको दु:ख” पोखाउन सक्नुहुन्छ। (भज. ६२:८) निष्कपट भएर खुरन्धार बिन्ती गरिरहनुभयो भने तपाईं यहोवासित अझ घनिष्ठ हुनुहुनेछ। विवाह गर्न अरूले दबाब दिंदा र आफैले त्यस्तो दबाब महसुस गर्दा तपाईं अडिग रहनुभयो भने यहोवासित तपाईंको सम्बन्ध दिन प्रतिदिन अझ घनिष्ठ हुँदै जानेछ। सबैभन्दा उच्च परमेश्‍वर यहोवाले आफ्ना सबै वफादार सेवकहरूको ख्याल राख्नुहुन्छ अनि तपाईं उहाँको लागि बहुमूल्य हुनुहुन्छ भन्‍ने कुरामा पनि ढुक्क हुनुहोस्‌। तपाईंको आवश्‍यकता र चाहना यहोवाले बुझ्नुभएको छ। हुन त उहाँले कसैलाई पनि जोडी मिलाइदिने प्रतिज्ञा गर्नुभएको छैन। तैपनि तपाईंलाई साँच्चै विवाह गर्ने इच्छा छ भने तपाईंको इच्छा कसरी पूरा गरिदिने भनेर यहोवालाई राम्ररी थाह छ।—भज. १४५:१६; मत्ती ६:३२.

कहिलेकाहीं तपाईंले पनि भजनरचयिता दाऊदले जस्तै महसुस गर्नुहुन्छ होला। तिनले यसो भने, “मलाई जवाफ दिन चाँडो गर्नुहोस्‌। हे परमप्रभु, आफ्नो मुख मबाट नलुकाउनुहोस्‌, नत्रता मेरो आत्मा निराश हुन्छ।” (भज. १४३:५-७, १०) त्यस्तो अवस्थामा यहोवामा भरोसा राख्नुहोस्‌। समय आएपछि तपाईंको लागि उहाँको इच्छा के छ भनेर थाह पाउनुहुनेछ। बाइबल पढेर र पढेको कुराबारे मनन गरेर उहाँको कुरा सुन्‍नुहोस्‌। यसो गर्नुभयो भने उहाँका आज्ञाहरू थाह पाउनुहुनेछ र विगतमा उहाँले आफ्ना जनहरूको खातिर के-कस्ता कामहरू गर्नुभयो भनेर बुझ्नुहुनेछ। यहोवाको कुरा सुन्‍नुभयो भने उहाँको आज्ञा पालन गरिरहने तपाईंको चाहना अझ बढ्‌नेछ।

अविवाहितहरू मण्डलीको लागि अनमोल छन्‌, तिनीहरू परिवार र साना केटाकेटीहरूलाई मदत गर्छन्‌

अविवाहित छँदा आनन्दित हुन अनि त्यो समयको सदुपयोग गर्न तपाईं के गर्न सक्नुहुन्छ? यहोवासित अझै घनिष्ठ हुन, उदार, परिश्रमी र मित्रैलो हुन, परमेश्‍वरको भक्‍ति गर्न अनि राम्रो नाम कमाउन प्रयास गर्नुहोस्‌। परिवार सुखी बनाउन यी गुणहरू आवश्‍यक छ। (उत्प. २४:१६-२१; रूथ १:१६, १७; २:६, ७, ११; हितो. ३१:१०-२७) प्रचारकार्यमा अनि यहोवाको सेवासित सम्बन्धित अन्य गतिविधिमा पूरापूर भाग लिएर परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्‌। यसो गर्नुभयो भने गलत निर्णय गर्नदेखि जोगिनुहुनेछ। माथि उल्लेख गरिएका भाइ बिलले आफू अविवाहित रहेको समयबारे यसो भने, “ती दिनहरू बितेको मैले पत्तै पाइनँ। मैले यहोवाको सेवामा अझ धेरै समय बिताउन अग्रगामी सेवा गरें।”

हो, “प्रभुको चेलासित मात्र” विवाह गर्नु भन्‍ने सल्लाह अहिले पनि व्यावहारिक छ। यो सल्लाह पालन गर्नुभयो भने यहोवाको महिमा हुनेछ र तपाईं सधैं खुसी हुन सक्नुहुनेछ। बाइबलले पनि यसो भन्छ, “त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा प्रसन्‍न हुन्छ। त्यसको घरमा धन-सम्पत्ति रहन्छ, र त्यसको धार्मिकता सदा रहिरहन्छ।” (भज. ११२:१, ३) त्यसैले “प्रभुको चेलासित मात्र” विवाह गर्नु भन्‍ने यहोवाको आज्ञा सधैं पालन गर्ने सङ्‌कल्प गर्नुहोस्‌।

a यस लेखमा हामी विषयवस्तुलाई एक जना बहिनीको दृष्टिकोणबाट छलफल गर्नेछौं। तर यो सिद्धान्त भाइलाई पनि लागू हुन्छ।

b केही नामहरू परिवर्तन गरिएका छन्‌।