सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं ‘जागा रहनुहुनेछ’?

के तपाईं ‘जागा रहनुहुनेछ’?

“त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।”—मत्ती २५:१३.

१, २. (क) अन्तको दिनबारे येशूले कस्तो भविष्यवाणी गर्नुभयो? (ख) हामी कस्ता प्रश्‍नहरूबारे छलफल गर्नेछौं?

 येशू आफ्ना चेलाहरूसित जैतुन डाँडामा बसिरहनुभएको कल्पना गर्नुहोस्‌। त्यो डाँडाबाट यरूशलेमको मन्दिर प्रस्टै देखिन्छ। उहाँ आफ्ना चेलाहरूलाई एउटा महत्त्वपूर्ण भविष्यवाणी बताउँदै हुनुहुन्छ। त्यो भविष्यवाणी धेरै पछि पूरा हुनेछ। येशूले त्यसबारे बताउँदै गर्नुहुँदा पत्रुस, अन्द्रियास, याकूब र यूहन्‍ना मग्न भई सुनिरहेका छन्‌। दुष्ट युगको अन्तको दिनमा आफूले परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गरिरहेको बेला के-कस्ता घटनाहरू हुनेछन्‌ भनेर येशूले बताउनुहुन्छ। त्यो निर्णायक समयमा “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले पृथ्वीमा येशूले अह्राउनुभएको काम गर्नेथियो र उहाँका सेवकहरूलाई ठीक समयमा पोसिलो आध्यात्मिक भोजन दिनेथियो।—मत्ती २४:४५-४७.

त्यही भविष्यवाणीमा येशूले दस कन्याको दृष्टान्त पनि बताउनुहुन्छ। (मत्ती २५:१-१३ पढ्‌नुहोस्‌) अब हामी यी प्रश्‍नहरूबारे छलफल गर्नेछौं: (१) यस दृष्टान्तले दिन खोजेको मुख्य सन्देश के हो? (२) वफादार अभिषिक्‍त जनहरूले यस दृष्टान्तमा पाइने सल्लाह कसरी लागू गरेका छन्‌ र नतिजा कस्तो भएको छ? (३) येशूको दृष्टान्तबाट हामी कस्तो लाभ उठाउन सक्छौं?

दृष्टान्तले दिन खोजेको मुख्य सन्देश के हो?

३. पहिले-पहिलेका हाम्रा प्रकाशनहरूले दस कन्याको दृष्टान्तमा भएका के-कस्ता कुराहरूको समेत अर्थ खुलाएको थियो? यसले गर्दा के हुन सक्थ्यो?

केही वर्ष अघिदेखि विश्‍वासी दासले बाइबल विवरणहरूको भविष्यसूचक अर्थमा नभई त्यसबाट सिक्न सकिने व्यावहारिक पाठमा जोड दिंदै आएको छ भनेर हामीले यस अघिको लेखमा बुझिसक्यौं। पहिले-पहिलेका हाम्रा प्रकाशनहरूले दस कन्याको दृष्टान्तमा उल्लेख गरिएका दियो, तेल र तेलको भाँडाजस्ता स-साना कुराहरूको समेत अर्थ छ भनेर बताएको थियो। तर यसरी स-साना कुराहरूको समेत अर्थ खुलाएर व्याख्या गर्दा दृष्टान्तले दिन खोजेको सरल र मुख्य सन्देश ओझेलमा पर्ने थिएन होला र? छलफल गर्दै जाँदा यस प्रश्‍नको जवाफ भेट्टाउनेछौं र त्यो जवाफ अत्यन्तै महत्त्वपूर्ण छ।

४. दृष्टान्तका दुलहा र कन्याहरूले क-कसलाई सङ्‌केत गर्छ? यो कुरा हामी कसरी थाह पाउन सक्छौं?

यस दृष्टान्तले दिन खोजेको मुख्य सन्देश के हो, अब हामी छलफल गरौं। पहिलो, दृष्टान्तका मुख्य पात्रहरूलाई विचार गरौं। यस दृष्टान्तको दुलहा को हो? उहाँ येशू हुनुहुन्छ। दृष्टान्तमा उहाँले आफ्नै विषयमा कुरा गर्दै हुनुहुन्छ। यसअघि पनि येशूले आफैलाई दुलहासित तुलना गर्नुभएको थियो। (लूका ५:३४, ३५) त्यसोभए, कन्याहरू चाहिं को हुन्‌? येशूले बताउनुभएअनुसार दुलहा आउँदा ती कन्याहरू दियो बालेर तम्तयार अवस्थामा बस्नुपर्थ्यो। येशूले “सानो बगाल” अर्थात्‌ अभिषिक्‍त अनुयायीहरूलाई कस्तो निर्देशन दिनुभयो, विचार गर्नुहोस्‌ त। उहाँले यसो भन्‍नुभयो, “तिमीहरू कम्मर कसेर बस अनि तिमीहरूको दियो बलिरहोस्‌। अनि विवाह-भोजबाट फर्केर मालिकले ढोका ढकढक्याउँदा तुरुन्तै खोल्न सकूँ भनी पर्खिरहेका मानिसहरूजस्तो तिमीहरू होओ।” (लूका १२:३२, ३५, ३६) त्यसैगरि, प्रेषित पावल र प्रेषित यूहन्‍ना दुवैले अभिषिक्‍त चेलाहरूलाई चोखो कुमारी भनेका छन्‌। (२ कोरि. ११:२; प्रका. १४:४) त्यसैले दृष्टान्तका कन्याहरूले अभिषिक्‍त अनुयायीहरूलाई सङ्‌केत गर्छ। मत्ती २५:१-१३ मा भएको दृष्टान्तमा पाइने सल्लाह अनि चेतावनी येशूले अभिषिक्‍त अनुयायीहरूलाई दिनुभएको हो भन्‍ने कुरा स्पष्ट छ।

५. दस कन्याको दृष्टान्त लागू हुने समयावधिबारे येशूले के भन्‍नुभयो? व्याख्या गर्नुहोस्‌।

अब हामी दृष्टान्त पूरा हुने समयावधिबारे विचार गरौं। येशूले दिनुभएको सल्लाह कुन समयावधिको लागि थियो? दृष्टान्तको अन्ततिर येशूले त्यस समयावधिबारे यसरी स्पष्ट सङ्‌केत दिनुभयो, “दुलहा आइपुगे।” (मत्ती २५:१०) यस पत्रिकाको जुलाई १५, २०१३ अङ्‌कमा बताइएझैं मत्ती अध्याय २४ र २५ मा पाइने येशूको भविष्यवाणीमा उहाँले आफू ‘आउने’ कुरा आठ पटकसम्म उल्लेख गर्नुभयो। उहाँले आफू ‘आउने’ कुरा बताउनुहुँदा महासङ्‌कष्टको दौडान न्याय गर्न र त्यसपछि सैतानको संसारलाई नाश गर्न आउने कुरालाई सङ्‌केत गर्दै हुनुहुन्थ्यो। त्यसोभए हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? दस कन्याको दृष्टान्त अन्तको दिनमा लागू हुन्छ र यो दृष्टान्त महासङ्‌कष्टको दौडान पूरा हुन्छ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं।

६. दस कन्याको दृष्टान्तको मुख्य सन्देश के हो?

दृष्टान्तको मुख्य सन्देश के हो? यस दृष्टान्तको प्रसङ्‌ग विचार गरौं। यो दृष्टान्त बताउनुअघि येशूले “विश्‍वासी र बुद्धिमान्‌ दास”-बारे चर्चा गर्नुभएको थियो। अन्तको दिनमा ख्रीष्टका चेलाहरूमाझ नेतृत्व लिने अभिषिक्‍त भाइहरूको सानो समूह नै येशूले बताउनुभएको दास हुनेथियो। येशूले तिनीहरूलाई वफादार रहन चेतावनी दिनुभएको थियो। त्यसपछि उहाँले दस कन्याको दृष्टान्तमा अन्तको दिनका सबै अभिषिक्‍त चेलाहरूलाई “जागा रहो” भन्‍नुभयो। (मत्ती २५:१३) यो नै दृष्टान्तको मुख्य सन्देश हो। जागा नरहेमा तिनीहरूले आफ्नो अनमोल इनाम गुमाउने थिए। अब हामी दस कन्याको दृष्टान्तलाई केलाएर हेरौं र यस दृष्टान्तमा पाइने सल्लाह उहाँका अभिषिक्‍त चेलाहरूले कसरी लागू गरेका छन्‌, विचार गरौं।

अभिषिक्‍त जनहरूले दृष्टान्तको सल्लाह कसरी लागू गरेका छन्‌?

७, ८. (क) बुद्धिमती कन्याहरूमा कुन दुइटा गुण थिए? (ख) अभिषिक्‍त जनहरूले आफू तयार रहेको कसरी देखाएका छन्‌?

बुद्धिमती कन्याहरू मूर्ख कन्याहरू जस्ता थिएनन्‌। तिनीहरू दुलहा आउने समयको लागि तम्तयार थिए भनेर येशूले दृष्टान्तमा जोड दिनुभयो। तिनीहरूमा दुइटा महत्त्वपूर्ण गुण थिए। तिनीहरू तयार र चनाखो थिए। दृष्टान्तका कन्याहरूले राती जागा बसेर दुलहा आउने समयलाई पर्खनुपर्थ्यो। त्यो खुसीको घडी नआएसम्म ती कन्याहरूले आफ्नो दियो बालिराख्नुपर्थ्यो र चनाखो रहनुपर्थ्यो। पाँच जना मूर्ख कन्याहरू तयारी अवस्थामा थिएनन्‌ तर पाँच जना बुद्धिमती कन्याहरू भने साँच्चै नै तयारी अवस्थामा थिए। तिनीहरूले दियो मात्र होइन, भाँडोमा तेल पनि ल्याएका थिए। के वफादार अभिषिक्‍त जनहरू पनि तिनीहरूजस्तै तयार छन्‌?

हो, तिनीहरू तयार छन्‌! बुद्धिमती कन्याहरू जस्तै अभिषिक्‍त जनहरू पनि अन्त नआएसम्म वफादार भई आफ्नो जिम्मेवारी पूरा गर्न तयार छन्‌। वफादार भई सेवा गर्न र आफूले पाएको जिम्मेवारी पूरा गर्न संसारले दिन सक्ने भौतिक लाभहरू त्याग्नुपर्छ भनेर तिनीहरूलाई थाह छ। तिनीहरू यहोवामा पूर्णतया समर्पित छन्‌ र उहाँको सेवा गर्छन्‌ तर संसारको अन्त नजिकै छ भन्‍ने डरले गर्दा होइन, यहोवा र उहाँको छोराप्रतिको प्रेम र वफादारीले गर्दा। तिनीहरू परमेश्‍वरप्रति निष्ठावान्‌ छन्‌। तिनीहरू भौतिकवाद, अनैतिकता अनि स्वार्थजस्ता संसारको मनोभावबाट अलग्गै बसेका छन्‌। दुलहाले बियाँलो गरेको जस्तो देखिए तापनि तिनीहरू यसरी तयार रहेका छन्‌ र ज्योतिझैं चम्किरहेका छन्‌।—फिलि. २:१५.

९. (क) निद्राले झुल्न सक्ने खतराबारे येशूले कस्तो चेतावनी दिनुभयो? (ख) दुलहा आइपुग्नै लागेको प्रमाणहरू देखेपछि अभिषिक्‍त जनहरूले के गरेका छन्‌? (फुटनोट पनि हेर्नुहोस्‌)

बुद्धिमती कन्याहरू चनाखो पनि थिए। त्यसैले तिनीहरू तम्तयार रहन सके। तर दृष्टान्तलाई विचार गर्ने हो भने दुलहाले बियाँलो गरेको जस्तो देखिंदा दसै जना कन्याहरू “निद्राले झुल्न थाले र भुसुक्कै निदाए।” त्यसोभए अभिषिक्‍त ख्रीष्टियनहरू पनि निद्राले झुल्ने सम्भावना छ कि? छ। इच्छा भए तापनि शरीर कमजोर भएकोले जागा रहन गाह्रो हुन सक्छ भनेर येशूलाई थाह थियो। आज अभिषिक्‍त जनहरूले दृष्टान्तमा लुकेको चेतावनी स्वीकारेर चनाखो अनि जागा रहन पहिलाभन्दा झन्‌ धेरै प्रयास गरिरहेका छन्‌। मध्यरातमा सुनिएको “दुलहा आइपुग्नै लागे” भन्‍ने सोर सबै कन्याहरूले सुने। तर बुद्धिमती कन्याहरू मात्र दुलहा नआएसम्म जागा रहन सके। (मत्ती २५:५, ६; २६:४१) आज वफादार अभिषिक्‍त जनहरूले पनि के गरेका छन्‌? अन्तको दिनमा तिनीहरूले दुलहा आइपुग्न लागेको स्पष्ट प्रमाणहरू देखेका छन्‌। ती प्रमाणहरूले एक अर्थमा यसो भनिरहेको छ, “दुलहा आइपुग्नै लागे।” यस्ता प्रमाणहरू देखेपछि तिनीहरूले कदम पनि चालेका छन्‌। तिनीहरू तयार छन्‌ र दुलहा आउने समयलाई धैर्य गर्दै पर्खिरहेका छन्‌। a तर दृष्टान्तमा उल्लेख गरिएको यसपछिको घटनाले एउटा खास समयावधिलाई ढाक्छ। हामी किन त्यस्तो निष्कर्षमा पुग्न सक्छौं?

बुद्धिमतीहरूले इनाम पाउँछन्‌ भने मूर्खहरूले सजाय

१०. बुद्धिमती कन्याहरू र मूर्ख कन्याहरूबीच भएको कुराकानीले कस्तो प्रश्‍न खडा गर्छ?

१० दृष्टान्तको अन्ततिर बुद्धिमती कन्याहरू र मूर्ख कन्याहरूबीच भएको कुराकानीबारे पढ्‌दा सायद तपाईं अलमल्लमा पर्नुहोला। (मत्ती २५:८, ९ पढ्‌नुहोस्‌) त्यो कुराकानीले यस्तो प्रश्‍न खडा गर्छ, “परमेश्‍वरका वफादार जनहरूले मदत खोज्नेहरूलाई मदत नदिएको समय पनि थियो र?” दृष्टान्तले ढाक्ने समयावधि विचार गर्दा यस प्रश्‍नको जवाफ पाइन्छ। हाम्रो बुझाइमा गरिएको एउटा छाँटकाँटबारे विचार गर्नुहोस्‌। दुलहा अर्थात्‌ येशू महासङ्‌कष्ट अन्त हुने समयतिर न्याय गर्न आउनुहुनेछ भनेर हामीले बुझेका छौं। त्यसैले दृष्टान्तमा बुद्धिमती कन्याहरू र मूर्ख कन्याहरूबीच भएको कुराकानीले येशूले न्याय गर्नुभन्दा ठीक अघि हुने घटनालाई सङ्‌केत गरेको हो जस्तो देखिन्छ। किनकि त्यतिन्जेल अभिषिक्‍त जनहरूले अन्तिम छाप पाइसकेका हुनेछन्‌।

११. (क) महासङ्‌कष्ट सुरु हुनुभन्दा ठीक अघि के हुनेछ? (ख) बुद्धिमती कन्याहरूले मूर्ख कन्याहरूलाई पसलेकहाँ गएर तेल किन्‍न सल्लाह दिएको कुराले केलाई सङ्‌केत गर्छ?

११ महासङ्‌कष्ट सुरु हुनुअघि नै सबै वफादार अभिषिक्‍त ख्रीष्टियनहरूले अन्तिम छाप पाइसकेका हुनेछन्‌। (प्रका. ७:१-४) त्यसपछि तिनीहरूको स्वर्ग जाने आशा पक्का हुनेछ। तर महासङ्‌कष्ट सुरु हुनुभन्दा अघिका वर्षहरूबारे विचार गर्नुहोस्‌। जागा नरहने र आफ्नो निष्ठामा अडिग नरहने अभिषिक्‍त जनहरूलाई के हुनेछ? तिनीहरूले स्वर्ग जाने आशा गुमाउनेछन्‌। तिनीहरूले महासङ्‌कष्ट सुरु हुनुअघि लगाइने अन्तिम छाप पाउने छैनन्‌। महासङ्‌कष्ट सुरु हुँदा तिनीहरूको ठाउँमा अरू वफादार ख्रीष्टियनहरू अभिषेक भइसकेका हुनेछन्‌। महासङ्‌कष्टमा महान्‌ बेबिलोनको विनाश भएको देख्दा तिनीहरूको होस खुल्नेछ। दुलहा आउने समयको लागि आफू तयार रहेनछु भनेर तिनीहरूले बल्ल थाह पाउनेछन्‌। त्यो अन्तिम घडीमा आएर मदत माग्दा के तिनीहरूले मदत पाउलान्‌ त? तिनीहरूले कसैबाट पनि मदत पाउन सक्दैनन्‌। येशूको दृष्टान्तले यो कुरा स्पष्ट पार्छ। बुद्धिमती कन्याहरूले मूर्ख कन्याहरूलाई आफ्नो तेल दिएनन्‌। बरु पसलेकहाँ गएर तेल किन्‍न सल्लाह दिए। तर त्यो “मध्यरात” भएकोले तिनीहरूले तेल किन्‍न सक्ने थिएनन्‌।

१२. (क) महासङ्‌कष्टको बेला के अवफादार अभिषिक्‍त जनहरूले कसैबाट मदत पाउनेछन्‌? (ख) अवफादार अभिषिक्‍त जनहरूको हालत कस्तो हुनेछ?

१२ महासङ्‌कष्टको बेला वफादार अभिषिक्‍त जनहरूले यहोवालाई त्याग्नेहरूलाई मदत गर्न सक्ने छैनन्‌। तिनीहरूले कसैबाट पनि मदत पाउने छैनन्‌। त्यतिखेर ढिलो भइसकेको हुनेछ। तिनीहरूको हालत कस्तो हुनेछ? दृष्टान्तका मूर्ख कन्याहरूको प्रयास बेकार भयो। ती कन्याहरू पसल गएको बेला “दुलहा आइपुगे र तयार भएर बसेका कन्याहरू विवाह-भोजमा सामेल हुन तिनीसँगै भित्र पसे अनि ढोका बन्द भयो।” महासङ्‌कष्टको अन्ततिर येशू आफ्नो गौरवसहित आउनुहुँदा उहाँले वफादार अभिषिक्‍त जनहरूलाई स्वर्गमा जम्मा गर्नुहुनेछ। (मत्ती २४:३१; २५:१०; यूह. १४:१-३; १ थिस्स. ४:१७) अवफादार अभिषिक्‍त जनहरू मूर्ख कन्याहरूजस्तै भएकोले तिनीहरू ढोकाभित्र पस्न पाउने छैनन्‌। सम्भवतः तिनीहरू यसो भन्दै कराउनेछन्‌, “दुलहाराजा, दुलहाराजा, हामीलाई ढोका खोलिदिनुस्‌ न!” न्यायको त्यस घडीमा बाख्राखाले मानिसहरूलाई जस्तै तिनीहरूलाई पनि येशूले यस्तो जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई साँच्चै भन्छु, मैले तिमीहरूलाई चिनेकै छैन।” कस्तो दुःखलाग्दो कुरा!—मत्ती ७:२१-२३; २५:११, १२.

१३. (क) थुप्रै अभिषिक्‍त जनहरू अवफादार हुनेछन्‌ भन्‍ने निष्कर्षमा पुग्नु किन ठीक होइन? (ख) येशू अभिषिक्‍त ख्रीष्टियनहरूलाई भरोसा गर्नुहुन्छ भनेर उहाँको दृष्टान्तबाट कसरी स्पष्ट हुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१३ माथि बताइएका कुराहरू विचार गर्दा हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? के येशूले थुप्रै अभिषिक्‍त जनहरू अवफादार हुनेछन्‌ अनि तिनीहरूको सट्टामा अरूलाई नै अभिषेक गरिनेछ भन्‍न खोज्दै हुनुहुन्थ्यो? त्यसो त होइन। यो दृष्टान्त बताउनुअघि उहाँले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई कहिल्यै दुष्ट दास नहुन चेतावनी दिनुभएको थियो। तर उहाँले तिनीहरू दुष्ट हुनेछन्‌ भन्‍न खोज्नुभएको त थिएन। दस कन्याको दृष्टान्तले पनि जोडदार चेतावनी दिन्छ। दृष्टान्तमा पाँच जना कन्या बुद्धिमती र पाँच जना मूर्ख भएजस्तै हरेक अभिषिक्‍त जनसित पनि तयार र चनाखो हुने कि मूर्ख र अवफादार हुने भनेर छनौट गर्ने मौका छ। प्रेषित पावलले पनि आफूजस्तै अभिषिक्‍त ख्रीष्टियनहरूलाई पत्रमा यस्तै कुरा लेखे। (हिब्रू ६:४-९ पढ्‌नुहोस्‌; व्यवस्था ३०:१९ सित तुलना गर्नुहोस्‌) हुन त पावलले सुरुमा कडा चेतावनी दिए। तर त्यसपछि उनले ती अभिषिक्‍त ख्रीष्टियनहरूले इनाम पाउनेछन्‌ पनि भने। यसरी पावलले तिनीहरूलाई भरोसा गरेको देखाए। येशूको दृष्टान्तमा पाइने चेतावनीमा पनि यस्तै भरोसा झल्किन्छ। हरेक अभिषिक्‍त जन वफादार रहन सक्छन्‌ र उनीहरूले ठूलो इनाम पाउनेछन्‌ भनेर येशूलाई थाह छ।

ख्रीष्टका “अरू भेडा”-ले कसरी लाभ उठाउन सक्छन्‌?

१४. “अरू भेडा”-ले पनि दस कन्याको दृष्टान्तबाट लाभ उठाउन सक्छन्‌, किन?

१४ येशूले दस कन्याको दृष्टान्तमा अभिषिक्‍त जनहरूलाई सम्बोधन गर्नुभएको छ। तर यसबाट ख्रीष्टका “अरू भेडा”-ले पनि लाभ उठाउन सक्छन्‌ त? पक्कै सक्छन्‌। (यूह. १०:१६) यस दृष्टान्तले दिन खोजेको सन्देश “जागा रहो” भन्‍ने हो। के येशूले अभिषिक्‍त चेलाहरूलाई मात्र यस्तो आग्रह गर्नुभएको हो? उहाँले एक पटक यसो भन्‍नुभएको थियो, “म तिमीहरूलाई जे भन्छु, त्यही कुरा सबैलाई भन्छु, जागा रहो।” (मर्कू. १३:३७) आफ्ना सबै चेलाहरू वफादार भई सेवा गर्न तम्तयार रहेको र जागा रहेको येशू चाहनुहुन्छ। त्यसकारण अभिषिक्‍त जनहरूले जस्तै सबै ख्रीष्टियनहरूले यहोवाको सेवालाई जीवनमा पहिलो स्थानमा राख्छन्‌। दृष्टान्तलाई विचार गर्ने हो भने मूर्ख कन्याहरूले बुद्धिमती कन्याहरूसित तेल मागे तर तिनीहरूको प्रयास व्यर्थ भयो। यो कुरा विचार गर्दा हामी एउटा महत्त्वपूर्ण पाठ सिक्न सक्छौं। त्यो हो, यहोवाप्रति वफादार रहनु, उहाँको बाटोमा हिंड्‌नु र जागा रहनु हरेक व्यक्‍तिको आफ्नै जिम्मेवारी हो। यहोवाले नियुक्‍त गर्नुभएको असल न्यायाधीशलाई हामी सबैले लेखा दिनुपर्छ। येशू चाँडै न्याय गर्न आउँदै हुनुहुन्छ। त्यसैले तयार रहौं।

बुद्धिमती कन्याहरूले मूर्ख कन्याहरूलाई तेल किन्‍न पठाएको कुरा विचार गर्दा वफादार रहनु र जागा रहनु हरेक व्यक्‍तिको आफ्नै जिम्मेवारी हो भनेर थाह पाउन सक्छौं

१५. येशूको विवाहबाट हामी सबैले कस्तो लाभ उठाउन सक्छौं?

१५ यस दृष्टान्तमा उल्लेख गरिएको विवाहबाट सबै ख्रीष्टियनहरूले लाभ उठाउन सक्छन्‌। हामी सबै भविष्यमा हुने त्यो विवाहको लागि उत्सुक छौं। त्यतिबेला येशूले अभिषिक्‍त ख्रीष्टियनहरूलाई स्वर्गमा जम्मा गरिसक्नुभएको हुनेछ। आरमागेडोनको युद्धपछि तिनीहरू ख्रीष्टकी दुलही बन्‍नेछन्‌। (प्रका. १९:७-९) स्वर्गमा हुने त्यस विवाहबाट पृथ्वीमा बस्ने सबैले लाभ उठाउनेछन्‌। त्यो विवाहपछि सबै मानिसहरूले त्रुटिरहित सरकार पाउनेछन्‌। हाम्रो आशा स्वर्ग जाने होस्‌ वा पृथ्वीमै बस्ने, दस कन्याको दृष्टान्तले सिकाएझैं सधैं आफ्नो मन तयार राखौं, वफादार रहौं र चनाखो रहौं। यसो गरेमा हाम्रो लागि यहोवाले साँचेर राख्नुभएको इनाम पाउनेछौं।

a यस दृष्टान्तमा, “दुलहा आइपुग्नै लागे” (पद ६) भन्‍ने आवाज सुनिएको समयदेखि दुलहा साँच्चै आउने समयसम्म (पद १०) केही समय बित्छ। यस अन्तको दिनमा चनाखो रहेका अभिषिक्‍त जनहरूले येशूको उपस्थितिको चिन्ह ठम्याएका छन्‌। उहाँले राजाको रूपमा शासन गरिरहनुभएको छ भनेर तिनीहरूले बुझेका छन्‌। तर उनीहरू महासङ्‌कष्टको दौडान येशू नआएसम्म जागा रहनुपर्छ।