सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्‌?

एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई कसरी तालिम दिन्छन्‌?

“तिमीले मबाट जे-जे सुन्यौ, . . . ती कुराहरू विश्‍वासी पुरुषहरूलाई सुम्पिदेऊ।”—२ तिमो. २:२.

१. (क) यहोवाका सेवकहरूले सुरुदेखि नै कुन कुरा बुझ्दै आएका छन्‌? आज हामीले पनि के गर्नुपर्छ? (ख) यस लेखमा हामी के छलफल गर्नेछौं?

 सफल हुन तालिम लिनुपर्छ भन्‍ने कुरा परमेश्‍वरका सेवकहरूले सुरुदेखि नै बुझ्दै आएका छन्‌। हामी किन त्यसो भन्‍न सक्छौं? अब्राम “तालिम पाएका” मानिसहरू लिएर लूतलाई शत्रुहरूको हातबाट छुटाउन गए र तिनीहरू सफल भए। (उत्प. १४:१४-१६) त्यसैगरि, राजा दाऊदको समयमा पनि तालिम पाएका सङ्‌गीतकारहरूले यहोवाको भवनमा उहाँको प्रशंसा गर्थे। (१ इति. २५:७) पहिले-पहिलेका यहोवाका सेवकहरू जस्तै सफल हुन हामीले पनि तालिम लिनु आवश्‍यक छ। किनकि हामी सैतान र त्यसका समर्थकहरूसित लडाइँ गरिरहेका छौं। (एफि. ६:११-१३) त्यसबाहेक हामी यहोवाको नामको महिमा गर्न सकेजति कोसिस गरिरहेका छौं। (हिब्रू १३:१५, १६) आज यहोवाले मण्डलीका एल्डरहरूलाई तालिम दिने जिम्मेवारी सुम्पनुभएको छ। (२ तिमो. २:२) अनुभवी एल्डरहरूले मण्डलीका दाजुभाइहरूलाई जिम्मेवारी सम्हाल्न योग्य हुन कसरी तालिम दिन सक्छन्‌? आउनुहोस्‌, केही तरिकाहरू विचार गरौं।

प्रशिक्षार्थीलाई यहोवासित घनिष्ठ हुन मदत गर्नुहोस्‌

२. कुनै भाइलाई तालिम दिनुअघि एल्डरले के गर्न सक्छन्‌? किन?

एल्डरहरूलाई किसानसित तुलना गर्न सकिन्छ। राम्रो उब्जनीको लागि किसानले बीउ छर्नुअघि जमिनमा मल हाल्नुपर्ने हुन्छ। त्यसैगरि, एल्डरले कुनै भाइलाई तालिम दिनुअघि तिनलाई पोषण दिन सक्ने बाइबल सिद्धान्तहरू पढेर सुनाउन सक्छन्‌। यसो गरेमा तालिमबाट सिकेको कुरा लागू गर्न तिनी तयार हुन सक्छन्‌।—१ तिमो. ४:६.

३. (क) प्रशिक्षार्थीसित कुराकानी गर्दा मर्कूस १२:२९, ३० कसरी चलाउन सक्नुहुन्छ? (ख) एल्डरले गरेको प्रार्थनाले प्रशिक्षार्थीलाई कस्तो असर गर्न सक्छ?

प्रशिक्षार्थीको सोचाइ र व्यवहारलाई परमेश्‍वरको वचनमा पाइने सत्यले कत्तिको प्रभाव पारेको छ भनेर बुझ्न उनलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ, ‘परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेपछि तपाईंको जीवनशैलीमा कस्तो परिवर्तन आयो?’ यस्तो प्रश्‍न सोध्दा यहोवालाई सारा ज्यानले पवित्र सेवा चढाउन के गर्नुपर्छ भन्‍ने सन्दर्भमा प्रोत्साहनदायी कुराकानी सुरु हुन सक्छ। (मर्कूस १२:२९, ३० पढ्‌नुहोस्‌) कुराकानी गरिसकेपछि ती भाइसित बसेर यहोवालाई प्रार्थना गर्न सक्नुहुन्छ। तालिमबाट पूरा लाभ उठाउन ती भाइलाई पवित्र शक्‍ति दिनुहोस्‌ भनेर यहोवालाई बिन्ती गर्न सक्नुहुन्छ। तपाईंले ती भाइको लागि मनैदेखि प्रार्थना गरेको सुन्दा उनले प्रोत्साहन पाउनेछन्‌।

४. (क) प्रशिक्षार्थीलाई उन्‍नति गर्न मदत दिने केही बाइबल विवरणहरू बताउनुहोस्‌। (ख) तालिम दिंदा एल्डरहरू कस्तो लक्ष्य राख्छन्‌?

तालिमको सुरु-सुरुमा तपाईं के गर्न सक्नुहुन्छ? प्रशिक्षार्थीलाई इच्छुक, भरोसायोग्य र नम्र हुनु किन आवश्‍यक छ भन्‍ने कुरा बाइबलका केही विवरणहरूबाट बुझाउनुहोस्‌। (१ राजा १९:१९-२१; नहे. ७:२; १३:१३; प्रेषि. १८:२४-२६) मलले बिरुवालाई सप्रन मदत गरेजस्तै यस्ता गुणहरूले प्रशिक्षार्थीलाई छिटो-छिटो उन्‍नति गर्न मदत गर्छ। झाँ-क्लड भन्‍ने फ्रान्सका एक जना एल्डर यसो भन्छन्‌, “मेरो मुख्य लक्ष्य भनेको प्रशिक्षार्थीलाई बाइबलका सिद्धान्तहरूको आधारमा निर्णय गर्न सक्ने मानिस बन्‍न मदत गर्नु हो। प्रशिक्षार्थीले परमेश्‍वरको वचनमा पाइने ‘उदेकका कुराहरू’ बुझ्न सकोस्‌ भनेर तिनलाई कुनै खास शास्त्रपद देखाउने मौका खोज्छु।” (भज. ११९:१८) प्रशिक्षार्थीलाई उन्‍नति गर्न मदत दिने अरू तरिका के-के हुन्‌?

लक्ष्य राख्न मदत गर्नुहोस्‌ र कारण पनि बताउनुहोस्‌

५. (क) प्रशिक्षार्थीसित आध्यात्मिक लक्ष्यहरूबारे कुरा गर्नु किन महत्त्वपूर्ण छ? (ख) एल्डरहरूले भर्खरै किशोर अवस्थामा पाइला टेकेका भाइहरूलाई पनि किन तालिम दिनुपर्छ? (फुटनोट हेर्नुहोस्‌)

प्रशिक्षार्थीलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌ ‘तपाईंले कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?’ यदि तिनले कुनै खास लक्ष्य राखेका छैनन्‌ भने तिनले हासिल गर्न सक्ने कुनै व्यावहारिक लक्ष्य राख्न मदत गर्नुहोस्‌। तपाईंले कस्तो लक्ष्य राख्नुभएको थियो अनि त्यो लक्ष्य पूरा हुँदा कस्तो लाग्यो, त्यसबारे उत्साहित हुँदै बताउनुहोस्‌। यसो हेर्दा यो तरिका सामान्य जस्तो देखिए तापनि धेरै प्रभावकारी छ। अफ्रिकामा एल्डर र अग्रगामीको रूपमा सेवा गरिरहेका भिक्टर यसो भन्छन्‌, “म किशोर छँदा एक जना एल्डरले मलाई मेरो आध्यात्मिक लक्ष्यबारे केही प्रश्‍नहरू सोध्नुभयो। ती प्रश्‍नहरूले मलाई आफ्नो सेवाबारे गहिरिएर सोच्न मदत गऱ्‍यो।” भाइहरू किशोर अवस्थामा छँदै तिनीहरूलाई तालिम दिन सुरु गर्नु महत्त्वपूर्ण छ भनी अनुभवी एल्डरहरू बताउँछन्‌। ती भाइहरूलाई उमेर सुहाउँदो जिम्मेवारी दिएर तालिम दिन सकिन्छ। किशोर अवस्था पार गर्नै लाग्दा तिनीहरूले विभिन्‍न किसिमको चुनौती सामना गर्नुपर्ने हुन्छ। तर सानै उमेरदेखि तालिम पाएका छन्‌ भने जस्तोसुकै चुनौती आइपरे पनि तिनीहरूले आध्यात्मिक लक्ष्यमा ध्यान केन्द्रित गर्न सक्नेछन्‌।भजन ७१:५, १७ पढ्‌नुहोस्‌। a

कुनै भाइलाई केही काम गर्न अह्राउँदा त्यो काम किन गर्ने भनेर पनि बताउनुहोस्‌ अनि त्यो काम पूरा गर्न तिनले गरेको परिश्रमको लागि प्रशंसा गर्नुहोस्‌ (अनुच्छेद ५-८ हेर्नुहोस्‌)

६. तालिम दिंदा येशूले कुन महत्त्वपूर्ण तरिका चलाउनुभयो?

कुन काम गर्ने, त्यो मात्र होइन तर कुनै काम किन गर्ने भनेर बुझ्न प्रशिक्षार्थीलाई मदत गर्नुहोस्‌। यसो गर्दा तिनी सेवा गर्न इच्छुक हुनेछन्‌। कुनै काम किन गर्ने भनेर बताउँदा तपाईंले महान्‌ प्रशिक्षक येशूको देखासिकी गरिरहनुभएको हुनेछ। उदाहरणको लागि, येशूले चेलाहरूलाई प्रचार गर्ने जिम्मेवारी दिनुहुँदा उनीहरूले त्यो आज्ञा किन मान्‍नुपर्छ भनेर पनि बताउनुभयो। उहाँले यसो भन्‍नुभयो, “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ।” त्यसपछि उहाँले यसो पनि भन्‍नुभयो, “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ।” (मत्ती २८:१८, १९) येशूको तरिका तपाईं कसरी लागू गर्न सक्नुहुन्छ?

७, ८. (क) येशूको तरिका एल्डरहरूले कसरी अनुकरण गर्न सक्छन्‌? (ख) प्रशिक्षार्थीको प्रशंसा गर्नु किन महत्त्वपूर्ण छ? (ग) तालिम दिंदा एल्डरहरूले कस्ता सुझावहरू लागू गर्न सक्छन्‌? (“ तालिम दिने तरिकाहरू” भन्‍ने पेटी हेर्नुहोस्‌)

प्रशिक्षार्थीलाई कुनै कामको जिम्मा दिनुहुँदा, त्यो काम किन गर्नुपर्छ भनेर धर्मशास्त्रबाटै कारण पनि बताउनुहोस्‌। यसो गर्दा तपाईंले तिनलाई बाइबलका सिद्धान्तहरू बुझेर काम गर्न सिकाइरहनुभएको हुनेछ। उदाहरणको लागि, राज्यभवनभित्र पस्ने बाटो सफा राख्न र कोही लड्‌ने वा चिप्लने खतरा नहुने अवस्थामा राख्न तपाईंले कुनै भाइलाई अह्राउनुभएको होला। तपाईं तिनलाई तीतस २:१० देखाउन सक्नुहुन्छ र तिनको कामले “हाम्रा उद्धारक, परमेश्‍वरको शिक्षाको शोभा” कसरी बढाउँछ भनेर बुझाउन सक्नुहुन्छ। साथै, तिनको कामले गर्दा मण्डलीका वृद्धहरूलाई कस्तो फाइदा पुग्छ भनेर सोच्न पनि आग्रह गर्न सक्नुहुन्छ। यसो गर्दा प्रशिक्षार्थी नियमबारे सोचेर मात्र होइन, मण्डलीका सदस्यहरूको मायाले गर्दा जिम्मेवारी सम्हाल्न उत्प्रेरित हुनेछन्‌। आफूले गरेको सेवाले गर्दा मण्डलीका दाजुभाइ दिदीबहिनीले लाभ उठाएको देख्दा तिनलाई आनन्द लाग्नेछ।

तपाईंले दिनुभएको सुझाव मानेकोमा तिनको प्रशंसा गर्न पनि नबिर्सनुहोस्‌। त्यसो गर्नु किन महत्त्वपूर्ण छ? पानी हाल्दा बिरुवा छिटो-छिटो हुर्केजस्तै मनैदेखि प्रशंसा गर्दा प्रशिक्षार्थीले यहोवाको सेवामा अझ उन्‍नति गर्न सक्नेछन्‌।—मत्ती ३:१७ तुलना गर्नुहोस्‌।

अर्को चुनौती

९. (क) सम्पन्‍न मुलुकका एल्डरहरूले कस्तो चुनौती सामना गर्नुपरेको छ? (ख) केही युवाहरूले यहोवाको सेवालाई पहिलो स्थानमा राख्न नसक्नुको कारण के हो?

सम्पन्‍न मुलुकका एल्डरहरूले अर्को चुनौती पनि सामना गर्नुपर्ने हुन्छ। बीस वर्ष नाघिसकेका युवाहरूलाई मण्डलीका जिम्मेवारीहरू सम्हाल्न प्रोत्साहन दिन उनीहरूलाई गाह्रो लाग्न सक्छ। केही युवाहरू मण्डलीमा जिम्मेवारी सम्हाल्नदेखि पछि हट्‌नुको कारण के होला भनेर हामीले २० वटा पश्‍चिमी मुलुकका अनुभवी एल्डरहरूलाई सोधेका थियौं। एउटा जवाफ यस्तो थियो: हुर्कंदै जाँदा तिनीहरूलाई आध्यात्मिक लक्ष्य राख्न प्रोत्साहन दिइएको थिएन। केही युवाहरूले आध्यात्मिक लक्ष्य राखेको भए तापनि तिनीहरूको आमाबुबाले तिनीहरूलाई उच्च शिक्षा हासिल गर्न वा संसारमै नाम-दाम कमाउन प्रोत्साहन दिएका थिए। त्यसैले ती युवाहरूले यहोवाको सेवालाई पहिलो स्थानमा राख्न सकेनन्‌।—मत्ती १०:२४.

१०, ११. (क) कुनै भाइ मण्डलीमा जिम्मेवारी सम्हाल्न त्यत्ति इच्छुक छैनन्‌ जस्तो देखिन्छ भने तिनको सोचाइ बदल्न एल्डरले के गर्न सक्छन्‌? (ख) एल्डरले ती भाइसित छलफल गर्दा के-कस्ता पदहरू देखाउन सक्छन्‌? त्यस्ता पदहरू देखाउँदा के हुन्छ? (फुटनोट हेर्नुहोस्‌)

१० कुनै भाइ मण्डलीमा जिम्मेवारी सम्हाल्न त्यत्ति इच्छुक छैनन्‌ जस्तो देखिन्छ भने तिनको सोचाइ बदल्न तपाईंले निकै प्रयास र धैर्य गर्नुपर्ने हुन्छ। त्यसरी प्रयास गर्नुभयो भने तपाईं सफल पनि हुनुहुनेछ। कुनै-कुनै बोट सुरुमा त्यत्ति बलियो हुँदैन। त्यसकारण किसानले त्यसलाई राम्ररी हुर्काउन टेको लगाउँछ। टेको लगाउँदा त्यो बोट बिस्तारै बलियो हुँदै जान्छ। त्यसैगरि, मण्डलीमा जिम्मेवारी सम्हाल्न नचाहने भाइलाई तपाईंले मदत गर्नुभयो भने समयको दौडान तिनले आफ्नो सोचाइ बदल्न सक्नेछन्‌। तर कसरी?

११ ती भाइसित घनिष्ठ हुन कोसिस गर्नुहोस्‌। मण्डलीलाई तिनको खाँचो छ भनेर बुझ्न तिनलाई मदत गर्नुहोस्‌। अनि समय बित्दै जाँदा तिनलाई आफ्नो समर्पणबारे सोच्न मदत गर्ने बाइबलका केही पदहरू देखाउँदै तिनीसित छलफल गर्नुहोस्‌। (उप. ५:४; यशै. ६:८; मत्ती ६:२४, ३३; लूका ९:५७-६२; १ कोरि. १५:५८; २ कोरि. ५:१५; १३:५) छलफलको दौडान तिनलाई यस्ता प्रश्‍नहरू सोध्नुभयो भने तिनी अझ बढी यहोवाको सेवा गर्न जुरमुरिनेछन्‌, ‘यहोवालाई जीवन समर्पण गर्दा तपाईंले कस्तो भाकल गर्नुभएको थियो? तपाईंले बप्तिस्मा गर्दा यहोवालाई कस्तो लागेको थियो होला? (हितो. २७:११) त्यतिखेर सैतानलाई चाहिं कस्तो लागेको थियो होला?’ (१ पत्रु. ५:८) राम्ररी सोचविचार गरेर छानिएका शास्त्रपदहरूले ती भाइको मनमा गहिरो छाप पार्न सक्छ भनेर नबिर्सनुहोस्‌।हिब्रू ४:१२ पढ्‌नुहोस्‌। b

प्रशिक्षार्थीहरू हो, वफादार हुनुहोस्‌

१२, १३. (क) एलीशाले कस्तो मनोभाव देखाए? (ख) यहोवाले एलीशालाई कस्तो इनाम दिनुभयो?

१२ युवाहरू हो, मण्डलीलाई तपाईंको खाँचो छ। सफल हुन तपाईंले कस्तो मनोभाव देखाउनुपर्छ? यस प्रश्‍नको जवाफ पाउन एक जना प्रशिक्षार्थीको जीवनमा घटेका केही घटनाहरू विचार गरौं।

१३ झन्डै ३,००० वर्षअघि भविष्यवक्‍ता एलियाले युवावस्थाका एलीशालाई आफ्नो सहयोगी हुन बोलाए। एलीशा तुरुन्तै एलियाको पछि लागे र सानो जस्तो देखिने जिम्मेवारी पनि स्वीकारेर वफादार भई ती वृद्ध मानिसको सेवा गरे। (२ राजा ३:११) एलियाले एलीशालाई छ वर्षसम्म तालिम दिए। इस्राएलमा एलियाको सेवा पूरा हुनै लागेको थियो। त्यसैले उनले राम्ररी तालिम पाइसकेका एलीशालाई आफ्नो पछि नलाग्न आग्रह गरे। तर एलीशाले उनलाई तीन पटकसम्म यसो भने, “म तपाईंलाई छोड्‌नेछैनँ।” एलीशा आफ्ना प्रशिक्षकसित अझ धेरै समय बिताउन चाहन्थे। तिनी आफ्ना प्रशिक्षकप्रति वफादार भएकोले यहोवाले तिनलाई इनाम दिनुभयो। यहोवाले एलियालाई आँधीबेहरीद्वारा उठाएर लैजानुहुँदा तिनले त्यो अचम्मलाग्दो दृश्‍य हेर्ने मौका पाए।—२ राजा २:१-१२.

१४. (क) प्रशिक्षार्थीहरूले कसरी एलीशाको देखासिकी गर्न सक्छन्‌? (ख) प्रशिक्षार्थीहरू वफादार हुनु किन महत्त्वपूर्ण छ?

१४ तपाईं कसरी एलीशाको देखासिकी गर्न सक्नुहुन्छ? मण्डलीमा सानोजस्तो देखिने जिम्मेवारी दिइँदा पनि त्यो तुरुन्तै स्वीकार्नुहोस्‌। तपाईंको प्रशिक्षकलाई साथी सम्झनुहोस्‌ अनि तिनले तपाईंको लागि गरेको परिश्रमको तपाईं कदर गर्नुहुन्छ भन्‍ने कुरा बताउनुहोस्‌। यसो गर्दा तपाईंले आफ्नो प्रशिक्षकलाई एक अर्थमा यसो भनिरहनुभएको हुनेछ, “म तपाईंलाई छोड्‌नेछैनँ।” सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले पाएको जिम्मेवारी वफादार भई पूरा गर्नुहोस्‌। त्यसो गर्नु किन महत्त्वपूर्ण छ? किनकि तपाईं वफादार र भरोसायोग्य हुनुभयो भने मात्र यहोवाले तपाईंलाई थप जिम्मेवारी दिन चाहनुभएको रहेछ भनेर एल्डरहरू ढुक्क हुन सक्छन्‌।—भज. १०१:६; २ तिमोथी २:२ पढ्‌नुहोस्‌।

मनैदेखि आदर गर्नुहोस्‌

१५, १६. (क) एलीशाले आफ्ना प्रशिक्षकलाई आदर गरेको कसरी देखाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) अरू भविष्यवक्‍ताहरूले एलीशालाई किन भरोसा गर्न सके?

१५ एलियाको उत्तराधिकारी एलीशाको अनुभवबाट मण्डलीका दाजुभाइहरूले अनुभवी एल्डरहरूलाई कसरी आदर गर्न सक्छन्‌ भन्‍ने कुरा पनि बुझ्न सकिन्छ। यस विवरणका बाँकी घटनाहरू विचार गरौं। यरीहोमा भविष्यवक्‍ताहरूको दललाई भेटेपछि एलिया र एलीशा यर्दन नदीतिर गए। नदीको किनारमा पुगेपछि “एलियाले आफ्नो खास्टो उतारे, र त्यो बेहेरेर यर्दन नदीको पानीलाई त्यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो।” सुख्खा जमिनमा हिंडेर नदी पार गरेपछि “उनीहरू बात गर्दै अगि बढ्‌न लागे।” आफ्नो प्रशिक्षक आफूसित होउन्जेल उनले भनेको एक-एक कुरा एलीशाले ध्यान दिएर सुने। लामो समयदेखि तालिम पाएकोले तिनले आफूलाई सबै कुरा थाह छ भन्‍ने सोचाइ राखेनन्‌। त्यसपछि एलियालाई आँधीबेहरीले उठाइ लग्यो। त्यहाँबाट फर्कने क्रममा एलीशा यर्दन नदीमा पुगे र एलियाको खास्टोले पानीलाई हिर्काएर यसो भन्दै कराए, “परमप्रभु, एलियाका परमेश्‍वर कहाँ हुनुहुन्छ?” पानी फेरि दुई भाग भयो।—२ राजा २:८-१४.

१६ एलीशाले गरेको पहिलो चमत्कार ठ्याक्कै एलियाले गरेको अन्तिम चमत्कारजस्तै थियो। के तपाईंले त्यो कुरा याद गर्नुभयो? यसबाट के सिक्न सकिन्छ? अब सबै कुरा आफ्नै हातमा भएकोले एलीशाले आफ्नै तरिकामा कामकुरा सम्हाल्न सक्थे। तर तिनले त्यसो गरेनन्‌। एलीशाले आफ्ना प्रशिक्षक एलियाकै तरिकामा कामकुरा सम्हालेर उनलाई आदर गरेको देखाए। यसले गर्दा अरू भविष्यवक्‍ताहरूले पनि तिनलाई भरोसा गर्न सके। (२ राजा २:१५) एलीशाले भविष्यवक्‍ताको रूपमा ६० वर्ष सेवा गरे। त्यस दौडान यहोवाको मदत पाएर तिनले एलियाले भन्दा धेरै चमत्कार गर्न सके। यसबाट तपाईं प्रशिक्षार्थीहरूले के सिक्न सक्नुहुन्छ?

१७. (क) प्रशिक्षार्थीहरूले कसरी एलीशाको जस्तै मनोभाव देखाउन सक्छन्‌? (ख) समय आएपछि यहोवाले प्रशिक्षार्थीहरूलाई कसरी चलाउन सक्नुहुन्छ?

१७ मण्डलीमा कुनै जिम्मेवारी पाउनासाथ त्यो काम पहिला गरिनेभन्दा बिलकुलै नयाँ तरिकामा गर्नुपर्छ भन्‍ने सोचाइ कसै-कसैले राख्न सक्छन्‌। तर त्यस्तो सोचाइ राख्नु ठीक होइन। तपाईंलाई कुनै परिवर्तन गर्न मन लाग्यो भन्दैमा परिवर्तन गरिहाल्न मिल्दैन। मण्डलीलाई साँच्चै नै त्यो परिवर्तनको खाँचो छ वा परमेश्‍वरको सङ्‌गठनबाट कुनै निर्देशन आएको छ भने मात्र परिवर्तन गर्नुपर्छ। एलीशाले आफू अघिका भविष्यवक्‍ता एलियाले अपनाएको तरिकामा कामकुरा सम्हालेर उनलाई आदर गरेको देखाए। यसले गर्दा अरू भविष्यवक्‍ताहरूले तिनलाई भरोसा गर्न सके। त्यसैगरि, तपाईंले पनि अनुभवी एल्डरहरूले अपनाएको बाइबलआधारित तरिकाअनुसारै कामकुरा गर्नुभयो भने तपाईंले ती एल्डरहरूलाई आदर गरिरहनुभएको हुनेछ। यसो गर्दा मण्डलीका दाजुभाइ दिदीबहिनीले पनि तपाईंलाई भरोसा गर्नेछन्‌। (१ कोरिन्थी ४:१७ पढ्‌नुहोस्‌) तपाईं अनुभवी हुँदै जाँदा यहोवाको सङ्‌गठनले गरेको परिवर्तनहरू लागू गर्न मण्डलीलाई मदत दिन सक्नुहुन्छ। तपाईं वफादार रहनुभयो भने समय आएपछि यहोवाले एलीशालाई जस्तै तपाईंलाई पनि तपाईंको प्रशिक्षकलाई भन्दा धेरै जिम्मेवारी दिनुहुनेछ।—यूह. १४:१२.

१८. मण्डलीका दाजुभाइहरूलाई तालिम दिनु किन अत्यावश्‍यक छ?

१८ यस लेखमा र यस अघिको लेखमा दिइएका सुझावहरूले थुप्रै एल्डरहरूलाई तालिम दिन समय निकाल्न उत्प्रेरित गर्नेछ भन्‍ने हामी आशा गर्छौं। योग्य दाजुभाइहरूले पनि खुसीसाथ त्यस्तो तालिम स्वीकारेको र तालिमबाट सिकेका कुराहरू लागू गर्दै यहोवाका भेडाहरूको राम्ररी हेरचाह गरेको पनि हामी आशा गर्छौं। यसो गर्दा संसारभरका मण्डलीहरू बलियो हुनेछ र आउनै लागेको कठिन समयमा मण्डलीका हरेक सदस्य वफादार रहन सक्नेछन्‌।

a यदि कुनै किशोर आध्यात्मिक रूपमा परिपक्व छन्‌, नम्र छन्‌ अनि तिनले धर्मशास्त्रमा तोकिएका योग्यताहरू पूरा गरेका छन्‌ तर २० वर्ष पुगिसकेका छैनन्‌ भने पनि एल्डरहरूले तिनलाई सहायक सेवकको रूपमा सिफारिस गर्न सक्छन्‌।—१ तिमो. ३:८-१०, १२; मे २००० को हाम्रो राज्य सेवकाई, पृष्ठ ८ हेर्नुहोस्‌।

b छलफलको लागि अप्रिल १५, २०१२ को प्रहरीधरहरा, पृष्ठ १४-१६, अनुच्छेद ८-१३“आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख” किताबको अध्याय १६, अनुच्छेद १-३ मा पाइने जानकारीहरू चलाउन सक्नुहुन्छ।