सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं यहोवासित साँच्चै नजिक हुनुहुन्छ?

के तपाईं यहोवासित साँच्चै नजिक हुनुहुन्छ?

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकू. ४:८.

१. यहोवासित गाँसेको सम्बन्धलाई किन अझ बलियो बनाउनुपर्छ?

 के तपाईं बप्तिस्मा प्राप्त यहोवाको साक्षी हुनुहुन्छ? त्यसोभए तपाईंसित बहुमूल्य धन छ। त्यो हो, यहोवासित तपाईंले गाँसेको सम्बन्ध। तर यो सम्बन्धलाई सैतानको संसारले मात्र होइन, हाम्रै त्रुटिपूर्ण झुकावले पनि कमजोर बनाउन सक्छ र यसबाट कोही पनि अछुतो छैन। त्यसैले यहोवासित गाँसेको सम्बन्धलाई अझ बलियो बनाउनुपर्छ।

२. (क) सम्बन्ध भनेको के हो? (फुटनोट हेर्नुहोस्‌) (ख) यहोवासित गाँसेको सम्बन्ध हामी कसरी बलियो बनाउन सक्छौं?

के तपाईं यहोवासित साँच्चै नजिक हुनुहुन्छ? के तपाईं उहाँसित गाँसेको सम्बन्ध अझ बलियो बनाउन चाहनुहुन्छ? यसो गर्न याकूब ४:८ ले तपाईंलाई मदत गर्नेछ, जहाँ यस्तो लेखिएको छ, “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।” एक हातले ताली बज्दैन भनेझैं यहोवासित हाम्रो सम्बन्ध पनि दुईतर्फी हुनुपर्छ। a यहोवाको नजिक जान हामी केही कदम अघि सऱ्‍यौं भने उहाँ पनि हाम्रो नजिक आउनुहुनेछ। हामी जत्ति धेरै यसो गर्छौं, उहाँसित गाँसेको सम्बन्ध त्यत्ति नै बलियो हुँदै जान्छ। यसले गर्दा उहाँसित हामी साँच्चै नजिक हुन सक्छौं अनि येशूले जस्तै महसुस गर्न सक्नेछौं। उहाँले एकपटक यसो भन्‍नुभएको थियो, “मलाई पठाउने जो हुनुहुन्छ, उहाँ साँच्चै अस्तित्वमा हुनुहुन्छ . . . म उहाँलाई चिन्छु।” (यूह. ७:२८, २९) यहोवासित अझ नजिक हुन तपाईं कस्ता कदमहरू चाल्न सक्नुहुन्छ?

तपाईं कसरी परमेश्‍वरसित कुराकानी गर्न सक्नुहुन्छ? (अनुच्छेद ३ हेर्नुहोस्‌)

३. हामी कसरी यहोवासित दोहोरो कुराकानी गर्न सक्छौं?

यहोवासित अझ नजिक हुन उहाँसित नियमित रूपमा कुराकानी नगरी हुँदैन। उहाँसित तपाईं कसरी कुराकानी गर्न सक्नुहुन्छ? टाढा बस्ने साथीसित तपाईं कसरी कुराकानी गर्नुहुन्छ, त्यसबारे विचार गर्नुहोस्‌ त। तपाईंहरू एकअर्कालाई चिठी लेख्नुहुन्छ होला, इमेल पठाउनुहुन्छ होला अनि फोनमा पनि कुरा गर्नुहुन्छ होला। तपाईंहरू कहिलेकाहीं मात्र होइन, नियमित तवरमा यसरी कुराकानी गर्नुहुन्छ होला। त्यसैगरि नियमित तवरमा यहोवालाई प्रार्थना गरेर तपाईं उहाँलाई आफ्नो कुरा बताउन सक्नुहुन्छ। (भजन १४२:२ पढ्‌नुहोस्‌) त्यसोभए उहाँको कुराचाहिं कसरी सुन्‍न सक्नुहुन्छ? दिनहुँ उहाँको वचन पढेर अनि मनन गरेर। (यशैया ३०:२०, २१ पढ्‌नुहोस्‌) यसरी दोहोरो कुराकानी गर्दा यहोवासित अझ नजिक हुनेछौं अनि उहाँसित गाँसेको सम्बन्ध अझ बलियो हुनेछ। तर कसरी? आजको छलफलमा हामी यो कुरा बुझ्नेछौं।

बाइबलको अध्ययन —यहोवाको कुरा सुन्‍ने माध्यम

४, ५. बाइबल पढ्‌दा यहोवा तपाईंसित कसरी कुरा गर्नुहुन्छ? एउटा उदाहरण दिनुहोस्‌।

बाइबलमा पाइने परमेश्‍वरको सन्देश सम्पूर्ण मानिसजातिको लागि हो भन्‍ने कुरामा दुई मत छैन। तर के बाइबलले तपाईंलाई व्यक्‍तिगत रूपमा परमेश्‍वरसित अझ नजिक हुन पनि मदत गर्छ त? पक्कै गर्छ। कसरी? दिनहुँ बाइबल पढ्‌दा र अध्ययन गर्दा यसमा पढेको कुराबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ अनि यो कुरा कसरी लागू गर्न सकिन्छ भनेर विचार गर्नुहोस्‌। यसो गर्दा तपाईंले यहोवाको कुरा सुनिरहनुभएको हुनेछ अनि तपाईं उहाँसित अझ नजिक हुनुहुनेछ।—हिब्रू ४:१२; याकू. १:२३-२५.

यो तरिका कसरी लागू गर्न सकिन्छ, विचार गरौं। “पृथ्वीमा धनसम्पत्ति थुपार्न छोडिहाल” भनेर येशूले दिनुभएको सल्लाह पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌। यो सल्लाह पढिसकेपछि यदि तपाईंलाई आफूले राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिइरहेको छु जस्तो लाग्छ भने यहोवाले तपाईंको प्रशंसा गरिरहनुभएको महसुस हुनेछ। अर्कोतर्फ, राज्यसम्बन्धी गतिविधिलाई पहिलो स्थान दिइरहन आफ्नो जीवन सरल बनाउनुपर्छ जस्तो लाग्छ भने तपाईंले छाँटकाँट गर्नुपर्ने कुरा यहोवाले औंल्याउँदै हुनुहुन्छ। यदि तपाईंले यो सल्लाह पालन गर्नुभयो भने तपाईं उहाँसित अझ नजिक हुन सक्नुहुन्छ।—मत्ती ६:१९, २०.

६, ७. (क) बाइबलको अध्ययन गर्दा यहोवा र हामीबीचको माया कस्तो हुन्छ? (ख) हामीले कुन उद्देश्‍यले बाइबलको अध्ययन गर्नुपर्छ?

बाइबलको अध्ययन गर्दा हामीले उन्‍नति गर्नुपर्ने क्षेत्रहरू देख्न सक्छौं। यति मात्र होइन, यहोवाले माया गरेर हाम्रो लागि गर्नुभएको कामहरू र उहाँको आकर्षक व्यक्‍तित्वबारे पनि थाह पाउन सक्छौं अनि हामी उहाँलाई अझ माया गर्न उत्प्रेरित हुन्छौं। हामी परमेश्‍वरलाई जत्ति माया गर्छौं, उहाँ पनि हामीलाई त्यत्ति नै माया गर्नुहुन्छ। यसरी हाम्रो सम्बन्ध गहिरो हुँदै जान्छ।१ कोरिन्थी ८:३ पढ्‌नुहोस्‌।

परमेश्‍वरको नजिक हुन चाहन्छौं भने हामीले सही उद्देश्‍य राखेर बाइबलको अध्ययन गर्नुपर्छ। यूहन्‍ना १७:३ यसो भन्छ, “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।” हुन त बाइबल पढ्‌दा हामी थुप्रै नयाँ र रोचक कुरा थाह पाउन सक्छौं। तर हाम्रो मुख्य उद्देश्‍य यहोवालाई अझ राम्ररी ‘चिन्‍ने’ हुनुपर्छ।प्रस्थान ३३:१३ पढ्‌नुहोस्‌; भज. २५:४.

८. (क) दोस्रो राजा १५:१-५ मा यहोवाले राजा अजर्याहसित गर्नुभएको व्यवहारबारे पढ्‌दा हामीलाई कस्तो लाग्न सक्छ? (ख) यहोवालाई राम्ररी चिनेका छौं भने उहाँले सही तरिकामा न्याय गर्नुहुन्छ भनेर निश्‍चिन्त हुन सक्छौं, कसरी?

बाइबलको कुनै विवरण पढ्‌दा कहिलेकाहीं हामीलाई यहोवाले किन त्यस्तो व्यवहार गर्नुभयो भनेर बुझ्न गाह्रो हुन सक्छ। तर हामीले यहोवालाई नजिकबाट चिनेका छौं भने त्यो विषयमा अनावश्‍यक चिन्ता गर्नेछैनौं। यहूदाका राजा अजर्याहको विवरण विचार गरौं। यहोवाले तिनीसित गर्नुभएको व्यवहार तपाईंलाई कस्तो लाग्छ? (२ राजा १५:१-५) ‘डाँडाहरूमा भएका पूजा-थानहरूमा मानिसहरूले अझै पनि बलिदान चढाउने र धूप-बाल्ने गर्थे।’ तर अजर्याहले भने “परमप्रभुको दृष्टिमा जे असल थियो त्यही गरे।” तैपनि “परमप्रभुले राजालाई कोरको रोगले प्रहार गर्नुभयो, र तिनी आफ्नो मृत्युको दिनसम्मै त्यस रोगले पीडित भए।” तर यहोवाले किन त्यसो गर्नुभयो? बाइबलको यस विवरणले कारण बताएको छैन। यहोवाले कुनै कारणै विना अजर्याहलाई किन सजाय दिनुभएको होला भनेर सोच्नु वा अनावश्‍यक चिन्ता लिनु ठीक हो? होइन। यहोवाको तौरतरिकाबारे हामीलाई राम्ररी थाह छ भने हामी त्यसो गर्नेछैनौं। उहाँको तौरतरिका थाह पाउनु भनेको उहाँले “ठीक नापले” अनुशासन दिनुहुन्छ भनेर बुझ्नु पनि हो। (यर्मि. ३०:११) यो कुरा बुझेका छौं भने यहोवाले अजर्याहसित त्यस्तो व्यवहार गर्नुको कारण थाह नभए पनि उहाँले सही तरिकामा न्याय गर्नुभयो भन्‍ने कुरामा चाहिं हामी निश्‍चिन्त हुन सक्छौं।

९. अजर्याहले सजाय पाउनुको कारण कुन विवरणबाट अझ स्पष्ट हुन्छ?

बाइबलको अर्को एउटा भागमा यस विवरणबारे थप जानकारी पाइन्छ। राजा अजर्याहलाई राजा उज्जियाह पनि भनिन्थ्यो। (२ राजा १५:७, ३२) तिनको विवरण २ इतिहास २६:३-५, १६-२१ मा पनि पाइन्छ। त्यस विवरणअनुसार उज्जियाहले सुरु-सुरुमा त यहोवाको नजरमा जे असल छ त्यही गरे। तर पछि “तिनको अहंकारले गर्दा तिनको पतन भयो।” तिनले आफ्नो अधिकारमा नभएको काम गर्न खोजे, जुन काम पुजारीले मात्र गर्न मिल्थ्यो। त्यसैले ८१ जना पुजारीले तिनलाई रोक्न निकै प्रयास गरे। तर उज्जियाहले के गरे? तिनी कतिसम्म घमन्डी भएका थिए भन्‍ने कुरा तिनको व्यवहारबाट देखियो। तिनी पुजारीहरूसित “क्रोधित भए।” त्यसपछि यहोवाले तिनलाई कोरले प्रहार गर्नुभयो।

१०. यहोवाले गर्नुभएको हरेक कामको विस्तृत जानकारी खोज्नु किन आवश्‍यक छैन? यहोवा सधैं सही काम गर्नुहुन्छ भनेर हामी कसरी विश्‍वस्त हुन सक्छौं?

१० यस विवरणबाट हामी एउटा पाठ सिक्न सक्छौं। राजा अजर्याहको विवरणबारे त बाइबलमा थप जानकारी दिइएको छ। तर बाइबलमा भएका कुनै-कुनै विवरणबारे भने थप जानकारी दिइएको छैन। त्यस्ता विवरणहरू पढ्‌दा तपाईं के गर्नुहुन्छ? यहोवाले सधैं सही काम गर्ने मात्र होइन, सही र गलतको स्तर तोक्ने अधिकार नै उहाँसित छ अनि यो कुरामा विश्‍वास गर्न सकिने पर्याप्त जानकारी बाइबलमा पाइन्छ भन्‍ने निष्कर्षमा पुग्नुहुन्छ? अथवा यहोवाको न्याय गर्ने स्तरमा शङ्‌का पो गर्नुहुन्छ कि? (व्यव. ३२:४) यहोवालाई जत्ति राम्ररी चिन्दै जान्छौं, उहाँको तौरतरिका हामीलाई त्यत्ति नै मन पर्न थाल्छ र त्यसप्रतिको कदर पनि बढ्‌दै जान्छ। त्यसपछि उहाँले गर्नुभएको हरेक कामको विस्तृत जानकारी नभई हुँदैन जस्तो हामीलाई लाग्दैन। यहोवाको वचन अध्ययन गरेर अनि मनन गरेर उहाँको कुरा सुन्‍न हामी जत्ति धेरै प्रयास गर्छौं, उहाँलाई धन्यवाद दिने त्यत्ति नै धेरै कारण पाउँछौं। (भज. ७७:१२, १३) यसो गरेमा यहोवासित हामी घनिष्ठ हुन सक्छौं अनि उहाँसित गाँसेको सम्बन्ध अझ बलियो हुनेछ।

प्रार्थना —यहोवालाई आफ्नो कुरा बताउने माध्यम

११-१३. यहोवाले तपाईंको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा तपाईं कसरी पक्का हुन सक्नुहुन्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

११ प्रार्थना गर्दा हामी यहोवासित अझ नजिक हुन सक्छौं। प्रार्थनामा हामी यहोवाको प्रशंसा गर्छौं, उहाँलाई धन्यवाद दिन्छौं अनि उहाँको डोऱ्‍याइ पनि माग्छौं। (भज. ३२:८) तर तपाईं यहोवालाई आफ्नो साथी बनाउन चाहनुहुन्छ भने उहाँले तपाईंको प्रार्थना सुन्‍नुहुन्छ भन्‍ने कुरामा तपाईं विश्‍वस्त हुनुपर्छ।

१२ कसै-कसैलाई प्रार्थना भनेको मनको शान्तिको लागि मात्र गरिने कुरा हो जस्तो लाग्छ। तिनीहरू यस्तो तर्क पनि गर्छन्‌, ‘प्रार्थना गर्दा तपाईं आफ्नो विचार शब्दमा व्यक्‍त गर्नुहुन्छ, समस्या पत्ता लगाउनुहुन्छ अनि त्यसको समाधान खोज्न आफ्नो दिमाग चलाउनुहुन्छ। यसो गर्दा समस्या समाधान पनि हुन्छ अनि तपाईंलाई प्रार्थनाको सुनुवाइ भयो जस्तो लाग्छ।’ हुन त प्रार्थनाले हामीलाई यो तरिकामा पनि मदत गर्छ। तर मनैदेखि प्रार्थना गऱ्‍यौं भने यहोवाले साँच्चै हाम्रो प्रार्थना सुन्‍नु पनि हुन्छ। हामी किन त्यसो भन्‍न सक्छौं?

१३ यो कुरा विचार गर्नुहोस्‌: येशू स्वर्गमा हुनुहुँदा यहोवाले मानिसहरूको प्रार्थनाको जवाफ दिनुभएको आफ्नै आँखाले देख्नुभयो। पृथ्वीमा आउनुभएपछि उहाँ आफैले पनि स्वर्गमा बस्नुहुने बुबालाई प्रार्थना गरेर आफ्नो भावना व्यक्‍त गर्नुभयो। कहिलेकाहीं त उहाँ रातभरि प्रार्थना गर्नुहुन्थ्यो। यहोवाले प्रार्थना सुन्‍नुहुन्‍न जस्तो उहाँलाई लागेको भए के उहाँले प्रार्थना गर्नुहुन्थ्यो होला र? (लूका ६:१२; २२:४०-४६) अथवा प्रार्थना भनेको मनको शान्तिको लागि मात्र गरिने कुरा हो जस्तो उहाँलाई लागेको भए के उहाँले चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्थ्यो होला र? प्रार्थना गर्दा हामी साँच्चै यहोवासित कुराकानी गरिरहेका हुन्छौं भनेर येशूलाई थाह थियो। एकपटक उहाँले यसो भन्‍नुभयो, “हे बुबा, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो प्रार्थना सुन्‍नुभएको छ। हो, मलाई थाह थियो, तपाईंले सधैं मेरो प्रार्थना सुन्‍नुहुन्छ।” यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा हामी पनि ढुक्क हुन सक्छौं।—यूह. ११:४१, ४२; भज. ६५:२.

१४, १५. (क) यहोवालाई तोकेरै प्रार्थना गर्दा कस्तो फाइदा हुन्छ? (ख) यहोवालाई प्रार्थना गर्दा एक जना बहिनी कसरी उहाँसित अझ नजिक हुन सकिन्‌?

१४ हुन त कहिलेकाहीं यहोवाले प्रार्थनाको जवाफ दिनुभएको स्पष्ट नदेखिएला। तर तपाईंले कुनै विषयमा तोकेरै प्रार्थना गर्नुभएको छ भने यहोवाले तपाईंको प्रार्थनाको जवाफ दिनुभएको अनुभव गर्नुहुनेछ। प्रार्थनाको जवाफ पाउँदा तपाईंलाई यहोवा अझ वास्तविक लाग्नेछ। यति मात्र होइन, तपाईं यहोवालाई आफ्नो मनको कुरा जत्ति खोल्नुहुन्छ, उहाँले तपाईंलाई त्यत्ति नै आफूतर्फ खिच्नुहुन्छ।

१५ कोपिला b नाम गरेकी बहिनीको अनुभव विचार गरौं। उनी नियमित रूपमा प्रचारकार्यमा जान्थिन्‌। तर त्यत्ति आनन्द उठाउन भने सकिरहेकी थिइनन्‌। उनी भन्छिन्‌, “मलाई प्रचार गर्न मन लाग्दैनथ्यो। साँच्चै हो, मलाई फिटिक्कै मन पर्दैनथ्यो। मैले कामबाट अवकाश पाएपछि एक जना एल्डरले मलाई नियमित अग्रगामी सेवा गर्न प्रोत्साहन दिनुभयो। उहाँले फारमसमेत मेरो हातमा थमाइदिनुभयो। मैले अग्रगामी सेवा गर्ने निर्णय गरें। मलाई प्रचार गर्न मन लागोस्‌ भनेर यहोवालाई हरेक दिन प्रार्थना पनि गर्न थालें।” के यहोवाले उनको प्रार्थना सुन्‍नुभयो? हो, सुन्‍नुभयो। उनी भन्छिन्‌, “मैले अग्रगामी सेवा गर्न थालेको तीन वर्ष भइसक्यो। प्रचारकार्यमा लामो समय बिताएकीले अनि अरू सिपालु दिदीबहिनीबाट पनि प्रचार गर्ने विभिन्‍न तरिकाहरू सिकेकीले प्रचार गर्ने मेरो सीप तिखारिंदै छ। अहिले मलाई प्रचार गर्न असाध्यै मन पर्छ। त्योभन्दा पनि ठूलो कुरा, म यहोवासित अझै नजिक भएकी छु।” कोपिलाले प्रार्थनाको जवाफ पाइन्‌ र यहोवासित उनको सम्बन्ध अझ बलियो भयो।

हामीले के गर्नुपर्छ?

१६, १७. (क) यहोवासित घनिष्ठ भइरहन हामीले के गर्नै पर्छ? (ख) अर्को लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१६ यहोवासित घनिष्ठ भइरहन हामीले जीवनभर प्रयास गर्नुपर्छ। यहोवा हाम्रो नजिक आउनुभएको चाहन्छौं भने उहाँको नजिक जान हामीले पनि केही न केही कदम चाल्नै पर्छ। त्यसैले बाइबलको अध्ययन गरेर अनि प्रार्थना गरेर यहोवासित नियमित रूपमा कुराकानी गरिरहौं। यसो गरेमा यहोवासित गाँसेको सम्बन्ध गहिरो हुँदै जान्छ अनि जस्तोसुकै परीक्षा आइपरे पनि त्यसको डटेर सामना गर्न सक्छौं।

१७ तर व्यग्र प्रार्थना गर्दागर्दै पनि कहिलेकाहीं हाम्रो समस्या ज्युँका त्युँ रहिरहन सक्छ। त्यस्तो अवस्थामा यहोवामाथि हाम्रो विश्‍वास डगमगाउन सक्छ। उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्‍न वा उहाँ हामीसित सम्बन्ध गाँस्न चाहनुहुन्‍न भन्‍ने शङ्‌का हाम्रो मनमा उब्जिन सक्छ। तपाईंको मनमा पनि यस्तै शङ्‌का उब्जिन थाल्यो भने के गर्न सक्नुहुन्छ? यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

a सम्बन्ध भनेको दुई जना व्यक्‍तिबीचको नाता हो। दुई जना व्यक्‍तिबीच सम्बन्ध छ भने उनीहरूमा एकअर्काको लागि गहिरो भावना हुन्छ र त्यो तिनीहरूको व्यवहारमा पनि देखिन्छ। सम्बन्ध बलियो बनाइराख्न दुवैले कुनै न कुनै कदम चाल्नुपर्छ।

b नाम परिवर्तन गरिएको छ।