परमेश्वरको राज्यप्रति वफादार हुनुहोस्
“तिनीहरू यस संसारका होइनन्।”—यूह. १७:१६.
गीत: ६३, १२९
१, २. (क) ख्रीष्टियनहरू परमेश्वरप्रति वफादार हुनु किन महत्त्वपूर्ण छ? यस सन्दर्भमा तटस्थ रहने कुरा कसरी मुछिएको छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्) (ख) धेरै मानिसहरूले वफादार भएको कुरा कसरी देखाउँछन् तर त्यसको परिणाम कस्तो भएको छ?
यहोवाका सेवकहरू तटस्थ रहन्छन्। तिनीहरू राष्ट्रियता, जातीयता वा परम्परा जस्ता मानिसहरूबीच विभाजन ल्याउने कुराहरूमा मुछिंदैनन्। किन? किनकि तिनीहरू यहोवालाई प्रेम गर्छन्, उहाँप्रति वफादार छन् र उहाँको आज्ञा पालन गर्छन्। (१ यूह. ५:३) तिनीहरू जहाँसुकै बस्ने भए तापनि परमेश्वरको स्तरबमोजिम चल्छन्। तिनीहरू जस्तोसुकै अवस्थामा पनि यहोवा र उहाँको राज्यप्रति वफादार रहन्छन्। (मत्ती ६:३३) त्यसैले तिनीहरू गर्व गर्दै यसो भन्छन्, ‘हामी यस संसारका होइनौं।’—यशै. २:४; यूहन्ना १७:११, १५, १६ पढ्नुहोस्।
२ संसारका मानिसहरू आफ्नो देश, जाति, संस्कृति वा देशको खेलाडी भन्नासाथै हुरुक्क हुन्छन् र त्यसको पक्ष लिएर वफादार भएको देखाउँछन्। यसरी पक्ष विपक्षमा खडा हुँदा मानिसहरूबीच प्रतिस्पर्धा र डाह उत्पन्न हुने गर्छ। यसको परिणामस्वरूप मारकाट अनि जातीय हिंसासमेत भएको छ। यस्ता कुराले हामीलाई पनि असर गर्न सक्छ किनकि हामी यही मानव समाजमा बस्छौं। परमेश्वरले हामीलाई सही र गलत छुट्ट्याउन सक्ने क्षमतासहित सृष्टि गर्नुभएको छ र मानव सरकारले अन्यायपूर्ण कामहरू गर्दा हामीलाई चित्त नबुझ्न सक्छ। (उत्प. १:२७; व्यव. ३२:४) यस्तो अवस्थामा हामी के गर्छौं? के हामी कसैको पक्ष वा कसैको विपक्षमा खडा हुन्छौं? यस्तो अवस्थामा हामी होसियार हुँदै कसैको पनि पक्ष लिंदैनौं।
३, ४. (क) संसारको विवादमा ख्रीष्टियनहरू किन तटस्थ रहन्छन्? (ख) यस लेखमा हामी कुन कुरा विचार गर्नेछौं?
३ संसारमा कुनै विवाद उठ्दा मानिसहरू कसैको पक्ष वा विपक्षमा खडा हुने गर्छन्। तर साँचो ख्रीष्टियनहरू यस्तो कुरामा तटस्थ रहनुपर्छ। हामी राजनैतिक मामिलामा मुछिंदैनौं र युद्धमा भाग पनि लिंदैनौं। (मत्ती २६:५२) यो सारा संसार सैतानको हातमा भएकोले यस संसारको कुनै एउटा पक्ष अर्को भन्दा राम्रो वा नराम्रो भन्ने विवाद उठ्दा हामी बहकिदैनौं। (२ कोरि. २:११) हामी यस संसारको भाग होइनौं भन्ने कुरा सधैं सम्झिन चाहन्छौं।—यूहन्ना १५:१८, १९ पढ्नुहोस्।
४ हामी त्रुटिपूर्ण भएकोले अझै पनि अर्को देश, जाति वा भाषाका मानिसहरूलाई भेदभाव गर्ने झुकाव हटाउन गाह्रो भइरहेको हुन सक्छ। (यर्मि. १७:९; एफि. ४:२२-२४) यस लेखमा यस्तो झुकाव हटाउन मदत गर्ने केही सिद्धान्तहरू विचार गर्नेछौं। परमेश्वरको राज्यप्रति वफादार हुन आफ्नो मन र अन्तस्करणलाई कसरी तयार पार्न सक्छौं भनेर पनि हामी बुझ्नेछौं।
संसारको विवादमा हामी किन कसैको पक्ष लिंदैनौं?
५, ६. आफू बसेको राष्ट्र विभाजित भए पनि येशूले के गर्नुभयो र किन?
५ तटस्थ रहन गाह्रो भएमा आफैलाई यसरी सोध्न सक्छौं, ‘मेरो ठाउँमा येशू हुनुभएको भए के गर्नुहुन्थ्यो?’ येशू यस पृथ्वीमा हुनुहुँदा यहूदा, गालील र सामरियाका मानिसहरूबीच मतभिन्नता थियो। (यूह. ४:९) त्यसैगरि फरिसी र सदुकीहरूबीच अनि मानिसहरू र कर उठाउनेहरूबीच पनि मेलमिलाप थिएन। (प्रेषि. २३:६-९; मत्ती ९:११) रब्बीबाट शिक्षा पाएकाहरूले साधारण मानिसहरूलाई तुच्छ ठान्थे। (यूह. ७:४९) रोमीहरूले इस्राएलमा शासन गर्ने भएकोले त्यहाँका स्थानीय बासिन्दाहरू तिनीहरूलाई मन पराउँदैनथे। यस्तो अवस्थामा येशूले के गर्नुभयो? उहाँ परमेश्वरबारे सत्य कुरा सिकाउन जोसिलो हुनुहुन्थ्यो। साथै उहाँले यहूदीहरूबाटै उद्धार आउनेछ भनेर पनि बताउनुभयो। तर उहाँले अरूलाई होच्याउन अनि घृणा गर्न कहिल्यै सिकाउनुभएन। (यूह. ४:२२) बरु सबै मानिसलाई माया गर्न प्रोत्साहन दिनुभयो।—लूका १०:२७.
६ येशूले किन एक जातिलाई अर्कोभन्दा ठूलो ठान्नुभएन? किनकि येशू र यहोवा यस संसारको विवादमा कसैको पक्ष लिनुहुन्न। यहोवाले प्रथम पुरुष र स्त्री सृष्टि गर्नुहुँदा ती दुई मानिसद्वारा पूरै पृथ्वी भरिऊन् भन्ने उहाँको उद्देश्य थियो। (उत्प. १:२७, २८) साथै परमेश्वरले मानिसमा विभिन्न जाति, रङ्ग, वर्णका सन्तान जन्माउन सक्ने क्षमता पनि राखिदिनुभएको थियो। त्यसैले यहोवा र येशू कुनै एक जाति, राष्ट्र वा भाषालाई अर्कोभन्दा विशिष्ट ठान्नुहुन्न। (प्रेषि. १०:३४, ३५; प्रका. ७:९, १३, १४) हामीले पनि उहाँहरूको अनुकरण गर्नै पर्छ।—मत्ती ५:४३-४८.
७, ८. (क) ख्रीष्टियनहरू कुन विवादमा मुछिएका छन्? अनि त्यस विवादमा तिनीहरू कसको पक्ष लिन्छन्? (ख) मानवजातिको समस्या समाधान गर्ने विषयमा ख्रीष्टियनहरूले कुन कुरा बुझ्नुपर्छ?
७ हामी सबै जना एउटा विवादमा मुछिएका छौं। त्यो हो, यहोवाको शासन गर्ने अधिकारलाई स्वीकार्ने कि नस्वीकार्ने। यो विवाद सैतानले पहिलो पटक अदनको बगैंचामा उठाएको थियो। त्यसैले अहिले परमेश्वरको शासनको पक्षमा खडा हुने कि नहुने भनेर हामीले निर्णय गर्नुपर्छ। हामी सबैले आफैलाई यस्ता प्रश्नहरू सोध्नुपर्छ: ‘कुनै काम गर्दा म यहोवाको इच्छाअनुसार गर्छु कि आफ्नै इच्छाअनुसार? मानिसजातिको दुःखकष्टको समाधान परमेश्वरको राज्यले मात्र गर्न सक्छ भनेर के म विश्वस्त छु? अथवा मानिसले नै आफ्नो समस्याको समाधान गर्न सक्छ जस्तो मलाई लाग्छ?’—उत्प. ३:४, ५.
८ यस्ता प्रश्नहरूको जवाफ तपाईं कसरी दिनुहुन्छ त्यसले तपाईंको अडान कस्तो छ भनेर स्पष्टै देखाउँछ। देशका नेताहरू र समाजका विज्ञहरूले यस्ता विवादहरू सुल्झाउन निकै प्रयास गरेका छन्। तिनीहरूले सही मनसाय राखेर नै यसो गरेका हुन सक्छन्। तर हामी यस्तो कुरा यहोवाको हातमै छोडिदिन्छौं। किनभने परमेश्वरको राज्यले मात्र मानिसजातिको समस्या समाधान गर्छ भनेर हामीले बुझेका छौं। हामी आफूलाई जे सही लाग्छ त्यही नगरी यहोवाको निर्देशनअनुसार चल्छौं। यसो गर्दा मण्डलीमा एकता कायम हुन्छ।
९. प्रथम शताब्दीको कोरिन्थ मण्डलीमा कस्तो समस्या उत्पन्न भएको थियो? पावलले तिनीहरूलाई कस्तो प्रोत्साहन दिए?
९ प्रथम शताब्दीको कोरिन्थ मण्डलीमा कस्तो समस्या उत्पन्न भएको थियो? त्यस मण्डलीका ख्रीष्टियनहरूमध्ये “कसैले ‘म पावलको चेला हुँ,’ कसैले ‘म अपोल्लसको चेला हुँ,’ कसैले ‘म केफासको चेला हुँ’ अनि कसैले चाहिं ‘म ख्रीष्टको चेला हुँ’” भनिरहेका थिए। यो समस्या जुनसुकै कारणले उठेको भए तापनि प्रेषित पावललाई यो कुरा ठीक लागेन। यो गम्भीर समस्या भएकोले तिनले यसो भने: “ख्रीष्ट तिमीहरूबीच विभाजित हुनुभएको छ।” यस्तो समस्याको समाधान के थियो? पावलले तिनीहरूलाई यस्तो प्रोत्साहन दिए: “भाइहरू हो, अब म तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको नाममा आग्रह गर्छु कि तिमीहरू सबैले एउटै कुरा बोल र तिमीहरूबीच फूट नहोस् तर तिमीहरूको सोचाइ र विचार एउटै होस्।” आज हाम्रो ख्रीष्टियन मण्डलीमा पनि कुनै किसिमको फूट हुनु हुँदैन।—१ कोरि. १:१०-१३; रोमी १६:१७, १८ पढ्नुहोस्।
१०. ख्रीष्टियनहरू यस संसारको विवादमा तटस्थ रहनुपर्छ भनेर बुझाउन पावलले कस्तो उदाहरण चलाए?
१० पावलले अभिषिक्त ख्रीष्टियनहरूलाई पृथ्वीका कुराहरूमा नभई स्वर्गीय नागरिकतामा ध्यान दिन आग्रह गरे। (फिलि. ३:१७-२०) a तिनीहरूले ख्रीष्टको पक्षमा राजदूतको रूपमा काम गर्नुपर्थ्यो। राजदूत आफू सेवारत देशको आन्तरिक विवादमा मुछिंदैनन्। (२ कोरि. ५:२०) पृथ्वीमा सधैं बस्ने आशा भएकाहरू परमेश्वरको राज्यको प्रजाहरू हुन्। त्यसैले तिनीहरू पनि संसारको विवादमा मुछिंदैनन्।
यहोवाप्रति वफादार हुन आफैलाई तयार बनाउनुहोस्
११, १२. (क) परमेश्वरप्रति वफादार हुन ख्रीष्टियनहरूलाई किन गाह्रो हुन सक्छ? (ख) एक जना बहिनीले कस्तो महसुस गरिन् र तिनले त्यस्तो भावना हटाउन के गरिन्?
११ संसारका कतिपय ठाउँका मानिसहरू एउटै भाषा, संस्कृति र इतिहासले गर्दा एक-आपसमा बाँधिएका हुन्छन् र तिनीहरू यस्तो कुरामा निकै गर्व गर्छन्। यस्तो अवस्थामा तटस्थ रहन ख्रीष्टियनहरूले आफ्नो मन र अन्तस्करण तयार बनाउनुपर्छ। तर कसरी?
१२ उदाहरणको लागि युगोस्लाभियामा बस्ने एमीलाई b लिनुहोस्। तिनलाई सानैदेखि सर्बियालीहरूलाई घृणा गर्नुपर्छ भनेर सिकाइएको थियो। पछि तिनले यहोवा कसैको पक्षपात गर्नुहुन्न भनेर सिकिन्। साथै जातीय घृणाको कारण सैतान रहेछ भनेर पनि बुझिन्। त्यसैले आफ्नो मनबाट त्यस्तो घृणा हटाउन तिनले कडा प्रयास गरिन्। तर एक पटकको कुरा हो, तिनी बसेको ठाउँमा जातीय हिंसा चर्कंदा तिनमा पहिलेको जस्तै सोचाइ आयो। यसले गर्दा सर्बियालीहरूलाई प्रचार गर्नसमेत तिनलाई गाह्रो लाग्यो। यस्तो नकारात्मक भावना हटाउन केही न केही गर्नै पर्छ भन्ने तिनले महसुस गरिन्। त्यसैले यस्ता भावना हटाउन अनि अग्रगामी गरेर आफ्नो सेवाको काम बढाउन तिनले यहोवालाई प्रार्थना गरिन्। तिनी यसो भन्छिन्: “प्रचार गर्दा म यहोवाजस्तै मायालु हुन सक्दो कोसिस गर्छु। त्यसैले नकारात्मक भावना हटाउने सबैभन्दा राम्रो तरिका नै प्रचारमा भाग लिनु रहेछ।”
१३. (क) कुन कुराले गर्दा सोफीलाई नरमाइलो लाग्यो तर तिनले के गरिन्? (ख) सोफीको अनुभवबाट हामी के सिक्न सक्छौं?
१३ अर्को उदाहरण पनि विचार गरौं। मेक्सिकोबाट आएकी सोफी अहिले युरोपको मण्डलीमा सङ्गत गर्दै छिन्। ल्याटिन अमेरिकाका केही भाइहरूले सोफीको देश, त्यहाँको चलन र सङ्गीतजस्ता विषयमा अपमानजनक टिप्पणी गरे। यस्तो टिप्पणी सुनेर तिनलाई नरमाइलो लाग्यो। तर आफ्नो मनमा उब्जिएका नकारात्मक भावना हटाउन तिनले यहोवासित मदत मागिन्। ती बहिनीको ठाउँमा तपाईं हुनु भएको भए कस्तो महसुस गर्नुहुन्थ्यो? कसैले हाम्रो ठाउँ वा संस्कृतिबारे घोचपेच गर्दा आफ्नो भावना काबूमा राख्न गाह्रो हुन सक्छ। तर यस्तो अवस्थामा आफूलाई सम्हाल्नुपर्छ। हाम्रा दाजुभाइ दिदीबहिनीलाई अप्ठ्यारोमा पार्ने अथवा भेदभाव गरेको जस्तो महसुस हुने कुनै पनि कुरा नभन्न हामी होसियार हुनै पर्छ। हामी विभाजन ल्याउने कुनै पनि कुरा गर्न चाहँदैनौं।—रोमी १४:१९; २ कोरि. ६:३.
१४. वफादार रहने सन्दर्भमा ख्रीष्टियनहरूले आफ्नो मन र अन्तस्करणलाई कसरी तयार बनाउनुपर्छ?
१४ तपाईं हुर्किएको समाज वा परिवेशले तपाईंलाई आफ्नो जात वा राष्ट्रप्रति वफादार रहन सिकाएको थियो कि? के त्यस्तो भावना तपाईंको मनमा अझै छ? यस्तो भावनाले अरूसित गर्ने व्यवहारमा असर पर्न दिनु हुँदैन। तर तपाईंमा अझै पनि अर्को देश, संस्कृति, भाषा वा जातिका मानिसहरूप्रति नकारात्मक भावना रहेको पाउनुभयो भने के गर्ने? यहोवाले सबै मानिसजातिलाई कसरी हेर्नुहुन्छ भनी मनन गर्नुहोस्। व्यक्तिगत अध्ययन वा पारिवारिक उपासनामा यस्ता विषयहरूमा अनुसन्धान गर्न सक्नुहुन्छ। साथै यहोवाको जस्तै दृष्टिकोण राख्न उहाँसित मदत मागे कसो होला?—रोमी १२:२ पढ्नुहोस्।
१५, १६. (क) हामी परमेश्वरप्रति वफादार रहँदा मानिसहरूले के-कस्ता नकारात्मक प्रतिक्रिया देखाउन सक्छन्? (ख) छोराछोरीलाई तटस्थ रहन गाह्रो हुँदा आमाबाबुले तिनीहरूलाई कसरी मदत गर्न सक्छन्?
१५ ढिलो वा चाँडो यहोवाका सबै सेवकले तटस्थ रहनुपर्ने अवस्थाको सामना गर्नुपर्छ। त्यतिबेला हामी आफ्नो साथी, छरछिमेकी, नातेदार वा अरू मानिसहरूमाझ कागको बीचमा बकुल्लाझैं देखिन सक्छौं। (१ पत्रु. २:१९) तैपनि हामीले लाज मान्नु पर्दैन। हामी भिन्नै हुँदा संसारले घृणा गर्छ भने पनि छक्क मान्नुपर्ने कुनै कारण छैन। किनकि यस्तो हुनेछ भनेर येशूले पहिल्यै बताउनुभएको थियो। हामी किन तटस्थ रहन्छौं अनि त्यसमा कस्ता विवाद मुछिएका छन्, विरोध गर्नेहरूले बुझेका छैनन्। तर हामी तटस्थ रहनु महत्त्वपूर्ण छ।
१६ मानिसहरूले हाम्रो तटस्थता तोड्न विभिन्न तरिकामा डर देखाउन वा धम्की दिन सक्छन्। तर जस्तोसुकै अवस्था आए पनि हामी ढलपल नभई परमेश्वरप्रति वफादार भइरहन चाहन्छौं। (दानि. ३:१६-१८) अरूले के भन्लान् वा के गर्लान् भन्ने डरले सबैलाई असर गर्छ। तर विशेषगरि युवा वर्गलाई यस्तो डरको सामना गर्न अझ गाह्रो हुन सक्छ। तपाईंका छोराछोरीलाई स्कुलमा राष्ट्रिय गान गाउन वा अन्य चाडपर्व मनाउन दबाब आइरहेको छ कि? छ भने त्यस्ता दबाब आउनुको कारण के हो र त्यसलाई कसरी सामना गर्ने भनेर तिनीहरूलाई पारिवारिक उपासनाको बेला बुझाउनुहोस्। तिनीहरूलाई आफ्नो विश्वासबारे बताउन सिकाउनुहोस्। (रोमी १:१६) आवश्यक छ भने तिनीहरूका स्कुलका शिक्षकसित कुरा गर्नुहोस्।
यहोवाको सृष्टिमा भएको विविधताको मोल गर्नुहोस्
१७. हामीले कस्तो झुकाव राख्नु हुँदैन र किन?
१७ हामी सबैलाई आफू हुर्के-बढेको ठाउँ, आफ्नो भाषा, संस्कृति, रहनसहन प्यारो लाग्छ; यस्तो लाग्नु स्वाभाविकै हो। तर हामीले “यही नै सबैभन्दा राम्रो हो” भन्ने झुकाव राख्नु हुँदैन। यहोवाले हाम्रो आनन्दको लागि थरीथरीका कुरा सृष्टि गर्नुभएको छ। (भज. १०४:२४; प्रका. ४:११) त्यसैले आफ्नो ठाउँ, भाषा, संस्कृति र रहनसहन नै सबैभन्दा राम्रो हो भनेर किन ढिपी कस्ने?
१८. यहोवाको डोऱ्याइअनुसार चल्दा कस्तो आशिष् पाउँछौं?
१८ परमेश्वर सबै किसिमका मानिसहरूले सत्यको सही ज्ञान लिऊन् र अनन्त जीवन पाऊन् भन्ने चाहनुहुन्छ। (यूह. ३:१६; १ तिमो. २:३, ४) हामीमाझ भएको विविधतालाई ठूलो मनको भएर स्वीकार्दा ख्रीष्टियन एकतालाई जोगाउन सक्छौं। यहोवाप्रति वफादार रहेकोले हामी संसारको विवादमा मुछिंदैनौं। हाम्रो सङ्गठनमा विभाजन ल्याउने कुराहरूको लागि कुनै ठाउँ छैन। अहिले सैतानको संसारमा जताततै फूट, घमन्ड र प्रतिस्पर्धा छ। यहोवाले हामीलाई यस्ता कुराबाट स्वतन्त्र बनाउनु भएकोमा हामी खुसी छौं। हाम्रो मनोभाव पनि भजनरचयिताको जस्तै हुनुपर्छ जसले यसो भने: ‘समाजका दाजुभाइहरू आपसमा एकतामा बस्नु कत्ति असल र मनोहर कुरा हुन्छ!’—भज. १३३:१.