सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तको दिनमा खराब सङ्‌गतबाट जोगिनुहोस्‌

अन्तको दिनमा खराब सङ्‌गतबाट जोगिनुहोस्‌

“नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरि. १५:३३.

गीत: ७३, ११९

१. हामी कुन समयावधिमा बाँचिरहेका छौं?

 हामी असाध्यै गाह्रो समयमा बाँचिरहेका छौं। बाइबलमा यस समयावधिलाई “अन्तको दिन” भनिएको छ र यो सन्‌ १९१४ देखि सुरु भयो। त्यस वर्षदेखि यता मानिसहरूले पहिला कहिल्यै अनुभव नगरेको दुःखकष्ट झेलिरहेका छन्‌। (२ तिमो. ३:१-५) यस संसारको अवस्था अझ बिग्रँदै जानेछ, किनभने बाइबलमा यस्तो लेखिएको छ: “दुष्ट र जाली मानिसहरू झन्‌-झन्‌ खराब हुँदै जानेछन्‌।”—२ तिमो. ३:१३.

२. अहिलेका मानिसहरू रमाइलोको लागि के-कस्ता कुराहरू गर्छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

अहिलेका मानिसहरू रमाइलोको लागि हिंसा, यौन अनैतिकता वा तन्त्रमन्त्रले भरिएका कुराहरू हेर्छन्‌ र यस्ता कुराहरू गर्नसमेत पछि पर्दैनन्‌। उदाहरणको लागि, इन्टरनेट, टेलिभिजन, फिल्म, पुस्तक वा पत्र-पत्रिकाले हिंसा र यौन अनैतिकता जस्ता कुराहरू राम्रै हुन्‌ भन्‍ने गलत सन्देश फैलाएको छ। पहिले खराब ठानिएका बानीबेहोरालाई समेत अहिले कतिपय ठाउँहरूमा कानुनी मान्यता दिइएको छ। तर यस्ता कुराहरू परमेश्‍वरको नजरमा स्वीकार्य छैन।रोमी १:२८-३२ पढ्‌नुहोस्‌।

३. परमेश्‍वरको स्तरबमोजिम चल्नेहरूलाई मानिसहरू कस्तो नजरले हेर्छन्‌?

प्रथम शताब्दीमा पनि मानिसहरू हिंसा र यौन अनैतिकता जस्ता खराब कुराहरूमा संलग्न थिए। तर येशूका चेलाहरू परमेश्‍वरको उच्च नैतिक स्तर पालन गर्ने भएकोले त्यस्ता कुराहरूबाट अलग्गै रहन्थे। यसले कस्तो नतिजा ल्यायो? प्रेषित पत्रुसले यसो भने: “तिमीहरू तिनीहरूसित यस्तो दुराचारको दलदलमा नबसिरहेको हुनाले तिनीहरू चकित भएका छन्‌ र तिमीहरूको विषयमा दुर्वचन बोल्छन्‌।” (१ पत्रु. ४:४) हो, मानिसहरूले तिनीहरूको खिल्ली उडाए र तिनीहरूलाई दुःख दिए। अहिले पनि परमेश्‍वरको स्तरबमोजिम चल्ने मानिसहरू हाँसोको पात्र भएका छन्‌। त्यतिमात्र होइन, ‘ख्रीष्ट येशूको चेलाको नाताले परमेश्‍वरको भक्‍ति गर्दै जीवन बिताउन चाहनेहरूजति सबैमाथि खेदो आइपरेको छ।’—२ तिमो. ३:१२.

“नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ”

४. हामीले किन संसारलाई प्रेम गर्नु हुँदैन?

परमेश्‍वरको इच्छाअनुसार गर्ने हो भने हामीले “संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम” गर्नु हुँदैन। (१ यूहन्‍ना २:१५, १६ पढ्‌नुहोस्‌) यो संसार ‘यस युगको ईश्‍वर’ अर्थात्‌ सैतानको नियन्त्रणमा छ। त्यसले संसारमा भएका विविध थोकहरू, जस्तै: धर्म, राजनीति, व्यापारिक सङ्‌गठनका साथै सञ्चार माध्यमलाई चलाएर मानिसहरूलाई बहकाउँछ। (२ कोरि. ४:४; १ यूह. ५:१९) त्यसैले हामी यस्ता कुराहरूबाट अलग रहनुपर्छ र बाइबलमा दिइएको यो चेतावनीलाई ध्यान दिनुपर्छ: “नबहकिओ। नराम्रो सङ्‌गतले राम्रो आनीबानीलाई बिगार्छ।”—१ कोरि. १५:३३.

५, ६. कस्ता मानिसहरूसित हामीले सङ्‌गत गर्नु हुँदैन? किन?

राम्रो आनीबानीलाई नबिगार्ने हो भने खराब काम गर्ने मानिसहरूसित सङ्‌गत गर्नु हुँदैन। हामी यहोवाको सेवा नगर्ने मानिसहरूबाट मात्र होइन, यहोवाको सेवा गरेको दाबी गर्ने तर उहाँको आज्ञा नमान्‍ने मानिसहरूबाट पनि अलग रहनुपर्छ। यदि कुनै ख्रीष्टियनले गम्भीर गल्ती गरेर पनि पश्‍चात्ताप गर्दैनन्‌ भने हामीले तिनीसित सङ्‌गत गर्न छोड्‌नुपर्छ।—रोमी १६:१७, १८.

साथीहरूले जे गर्छन्‌ त्यही गर्ने झुकाव मानिसहरूमा हुन्छ, किनकि तिनीहरू साथीहरूमाझ राम्रो देखिन चाहन्छन्‌। त्यसैले परमेश्‍वरको आज्ञालाई बेवास्ता गर्ने मानिसहरूलाई साथी बनाउँदा हामी पनि तिनीहरू जस्तै हुनेछौं। उदाहरणको लागि, अवैध यौनसम्बन्ध राख्नेहरूसित सङ्‌गत गर्दा थुप्रै मानिस त्यस्तो गलत कार्यमा फसेका छन्‌। त्यस्तो सङ्‌गतले गर्दा यहोवाका केही सेवकहरू पनि अवैध यौनसम्बन्धमा फसेका छन्‌। तिनीहरूमध्ये केहीले आफ्नो गल्तीको पश्‍चात्ताप नगरेकोले बहिष्कार भएका छन्‌। (१ कोरि. ५:११-१३) पश्‍चात्ताप नगरेसम्म तिनीहरूको अवस्था २ पत्रुस २:२०-२२ मा बताइएको जस्तै हुनेछ।—पढ्‌नुहोस्‌।

७. हामीले कसलाई मात्र साथी बनाउनुपर्छ?

हामी सबै मानिससित राम्रो सम्बन्ध राख्न चाहन्छौं, तर परमेश्‍वरको आज्ञा पालन नगर्नेहरूसित घनिष्ठ हुँदैनौं। त्यसैले कुनै अविवाहित भाइ वा बहिनीले यहोवालाई जीवन समर्पण नगरेका र उहाँको स्तरअनुसार नचल्ने मानिससित डेटिङ गर्नु गलत हो। यहोवाको स्तर पालन नगर्ने मानिसहरूलाई रिझाउनुभन्दा यहोवा परमेश्‍वरप्रति वफादार रहनु महत्त्वपूर्ण छ। परमेश्‍वरको स्तरअनुसार चल्ने मानिसहरूलाई मात्र हामीले साथी बनाउनुपर्छ। येशू ख्रीष्टले यसो भन्‍नुभयो: “जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”—मर्कू. ३:३५.

८. खराब सङ्‌गतले इस्राएलीहरूलाई कस्तो असर गऱ्‍यो?

खराब मानिसहरूसित सङ्‌गत गर्दा इस्राएलीहरूले दुःख भोग्नुपरेको थियो। तिनीहरूलाई मिश्रबाट छुटाएर प्रतिज्ञा गरिएको देशतर्फ लैजाँदा यहोवाले तिनीहरूलाई त्यस देशका मानिसहरूसित सङ्‌गत नगर्नू भन्‍नुभएको थियो। उहाँले इस्राएलीहरूलाई यस्तो चेतावनी दिनुभयो: “तिनीहरूका देवताहरूलाई नढोग, तिनीहरूका रीतिअनुसार नगर तर तिनीहरूलाई बिलकुलै नष्ट गर र तिनीहरूका खामाहरूलाई टुक्रा टुक्रा पार। तिमीहरूले परमप्रभु आफ्नो परमेश्‍वरको सेवा गर्नू।” (प्रस्थ. २३:२४, २५) तर धेरैजसो इस्राएलीहरूले परमेश्‍वरको निर्देशनलाई बेवास्ता गरे। (भज. १०६:३५-३९) तिनीहरू परमेश्‍वरप्रति वफादार भएनन्‌। पछि येशूले त्यस जातिलाई यसो भन्‍नुभयो: “हेर, परमेश्‍वरले तिमीहरूको घरलाई त्याग्नुहुनेछ।” (मत्ती २३:३८) यहोवा परमेश्‍वरले तिनीहरूलाई त्याग्नुभयो र भर्खरै स्थापित ख्रीष्टियन मण्डलीलाई छान्‍नुभयो।—प्रेषि. २:१-४.

सञ्चार माध्यमबाट आउने कुराहरूदेखि होसियार हुनुहोस्‌

९. यस संसारको सञ्चार माध्यमबाट आउने कुराहरू किन हानिकारक छ?

यस संसारको सञ्चार माध्यमबाट आउने धेरैजसो कुरा हानिकारक छन्‌ र त्यसले यहोवासितको हाम्रो सम्बन्धलाई बिगार्न सक्छ। जस्तै: टेलिभिजन, इन्टरनेट वा पत्र-पत्रिकामा पाइने कुराहरूले हामीलाई यहोवा र उहाँका प्रतिज्ञाहरूमा विश्‍वास राख्न मदत गर्दैन; बरु ती कुराहरूले सैतानको संसारमा भरोसा गर्न उस्काउँछ। त्यसैले “सांसारिक इच्छाहरू” जगाउने कुनै पनि कुरा हेर्नु, पढ्‌नु वा सुन्‍नु ठीक छैन।—ती. २:१२.

१०. यस संसारको सञ्चार माध्यमबाट आउने कुराहरू के हुनेछ?

१० अब चाँडै सैतानको संसार र त्यसको सञ्चार माध्यमबाट आउने हानिकारक कुराहरू नष्ट हुनेछ। परमेश्‍वरको वचनले यस्तो भन्छ: “संसार बितेर जाँदैछ र त्यसको अभिलाषा पनि, तर जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ सधैंभरि रहिरहन्छ।” (१ यूह. २:१७) भजनरचयिताले पनि यसरी गाए: “कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।” त्यसपछि तिनले यसो भने: “नम्रहरूले देश अधिकार गर्नेछन्‌ र प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।” तर कहिलेसम्म? बाइबलले यस्तो जवाफ दिन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌ र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भज. ३७:९, ११, २९.

११. के-कस्ता कुराहरूले हामीलाई यहोवाको सेवा गरिरहन मदत गर्छ?

११ सैतानको संसारले जस्तो नभई यहोवाको सङ्‌गठनले हामीलाई अनन्त जीवनको बाटोमा डोऱ्‍याउँछ। येशूले यहोवालाई प्रार्थनामा यसो भन्‍नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्‍वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।” (यूह. १७:३) यहोवाबारे सिक्न चाहिने सबै कुरा उहाँले आफ्नो सङ्‌गठनद्वारा उपलब्ध गराउँदै हुनुहुन्छ। उहाँको सेवा गरिरहन मदत गर्ने थुप्रै सामग्री हामीसित छन्‌, जस्तै: पुस्तक, पत्रिका, पुस्तिका, भिडियो र वेबसाइट। यहोवाको सङ्‌गठनले संसारभर १ लाख १० हजारभन्दा धेरै मण्डलीमा नियमित तवरमा सभाहरू आयोजना गरिरहेको छ। त्यस्ता सभाहरूका साथै सम्मेलन र अधिवेशनहरूमा सिकाइने बाइबलमा आधारित कुराहरूले हाम्रो विश्‍वास बलियो बनाउँछ।—हिब्रू १०:२४, २५.

“प्रभुको चेलासित मात्र” विवाह गर्नुहोस्‌

१२. “प्रभुको चेलासित मात्र” विवाह गर्नु भनेको के हो?

१२ विवाह गर्ने इच्छा भएका ख्रीष्टियनहरू सङ्‌गतको विषयमा होसियार हुनु अझ आवश्‍यक छ। परमेश्‍वरको वचनमा यस्तो सल्लाह पाइन्छ: “विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ, किनकि यस्तो जोडा मिल्दैन। सुकर्म र कुकर्मबीच के मेल? वा अन्धकारसित ज्योतिको के साझेदारी?” (२ कोरि. ६:१४) परमेश्‍वरले आफ्ना सेवकहरूलाई “प्रभुको चेलासित मात्र” अर्थात्‌ बाइबलको स्तरअनुरूप चल्ने ख्रीष्टियनसित मात्र विवाह गर्न स्पष्ट निर्देशन दिनुभएको छ। (१ कोरि. ७:३९) यो निर्देशन पालन गर्दा तपाईंले परमेश्‍वरलाई प्रेम गर्ने व्यक्‍ति पाउनुहुनेछ जसले तपाईंलाई यहोवाप्रति वफादार रहन पनि मदत गर्नेछ।

१३. यहोवाले इस्राएलीहरूलाई विवाहसम्बन्धी कस्तो आज्ञा दिनुभयो?

१३ के गर्दा हाम्रो हित हुन्छ, त्यो यहोवा जान्‍नुहुन्छ। विवाहसम्बन्धी उहाँले दिनुभएको आज्ञा हाम्रै भलाइको लागि हो र यो आज्ञा नयाँ पनि होइन। यहोवाले इस्राएलीहरूलाई पनि मूर्तिपूजकहरूसित विवाह नगर्न सल्लाह दिनुभयो। मोशामार्फत उहाँले यस्तो आज्ञा दिनुभयो: “तिनीहरूसँग बिहेबारी नगर्नू। तिमीहरूका छोराछोरीहरूले तिनीहरूका छोराछोरीहरूका बीच बिहेबारीको सम्बन्धै नराखून्‌। किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताका पूजा गर्न लाउनेछन्‌। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ, र उहाँले तिमीहरूलाई तत्कालै नाश पार्नुहुनेछ।”—व्यव. ७:३, ४.

१४, १५. यहोवाको आज्ञा नमान्दा सुलेमानले कस्तो नतिजा भोग्नुपऱ्‍यो?

१४ दाऊदको छोरा सुलेमानले आफ्नो शासनको सुरुतिर यहोवासित बुद्धि मागे र उहाँले तिनलाई ज्ञान-बुद्धि दिनुभयो। पछि सुलेमान समृद्ध राष्ट्रको बुद्धिमान्‌ शासक भनेर चिनिए। शबाकी रानीले सुलेमानको बुद्धिका कुरा सुन्दा चकित हुँदै यसो भनिन्‌: “साँच्चै, त्यो त मलाई आधा पनि सुनाएको रहेनछ। तपाईंको बुद्धि र तपाईंको ऐश्‍वर्य मैले सुनेको भन्दा त धेरै ज्यादा रहेछन्‌।” (१ राजा १०:७) तर सुलेमानको जीवनबाट यहोवाको सेवा नगर्ने व्यक्‍तिसित विवाह गर्दा नतिजा नराम्रो हुन्छ भन्‍ने कुरा पनि स्पष्ट हुन्छ।—उप. ४:१३.

१५ यहोवाले सुलेमानलाई धेरै आशिष्‌ दिनु भए तापनि तिनले यहोवाको आज्ञा मानेनन्‌। सुलेमान “स्त्री प्रेमी” थिए र तिनले “धेरै विदेशी स्त्रीहरू” विवाह गरे; तिनका सात सय पत्नी र तीन सय उप-पत्नी थिए। त्यसको परिणाम के भयो? सुलेमान “वृद्ध हुँदा तिनका पत्‌नीहरूले तिनको मन अरू देवताहरूतर्फ लगाइदिए, . . . यसरी सुलेमानले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।” (१ राजा ११:१-६) सुलेमान बुद्धिमान्‌ भए तापनि खराब सङ्‌गतमा फसे र यहोवाबाट तर्किए। त्यसैले यहोवाको सेवा नगर्ने व्यक्‍तिसित विवाह गर्ने विचार राख्नु राम्रो होइन।

१६. तपाईंको पति वा पत्नी यहोवाको साक्षी होइनन्‌ भने बाइबलको कुन सल्लाह पालन गर्नुपर्छ?

१६ तपाईं विवाहपछि यहोवाको साक्षी हुनुभएको हो तर तपाईंको विवाहित जोडी अझै साक्षी भएका छैनन्‌ भने तपाईंले के गर्नुपर्छ? बाइबलमा यस्तो लेखिएको छ: “हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस, ताकि तिनीहरूमध्ये कसै-कसैले परमेश्‍वरको वचन नमाने तापनि तिमीहरूको असल चालचलनद्वारा विनावचन तिनीहरूलाई मनाउन सकियोस्‌।” (१ पत्रु. ३:१) यो सल्लाह ख्रीष्टियन पत्नीहरूलाई दिइएको भए तापनि यही सिद्धान्त पतिहरूलाई पनि लागू हुन्छ। यसैले असल जीवनसाथी बन्‍नुहोस्‌ र वैवाहिक जीवनको लागि बाइबलमा दिइएको सल्लाह लागू गर्नुहोस्‌। तपाईंको असल चालचलनले गर्दा तपाईंको जीवनसाथी पनि यहोवाको सेवा गर्न उत्प्रेरित हुन सक्छन्‌। थुप्रै दम्पतीको जीवनमा पनि यो कुरा सही साबित भएको छ।

यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुहोस्‌

१७, १८. नूह जलप्रलयबाट र प्रथम शताब्दीका ख्रीष्टियनहरू यरूशलेमको विनाशबाट जोगिनुको कारण के थियो?

१७ खराब सङ्‌गतले हामीलाई यहोवादेखि तर्काउन सक्छ भने राम्रो सङ्‌गतले हामीलाई यहोवाको सेवा गरिरहन मदत गर्छ। नूहलाई विचार गर्नुहोस्‌। तिनले आफू वरपर बस्ने खराब मानिसहरूलाई साथी बनाएनन्‌। त्यतिबेला “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो।” (उत्प. ६:५) त्यसैले त्यस दुष्ट संसारलाई परमेश्‍वरले जलप्रलय ल्याएर नाश गर्ने निर्णय गर्नुभयो। तर सबै मानिस खराब भए तापनि नूह भने ‘धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे।’—उत्प. ६:७-९.

१८ यहोवालाई प्रेम नगर्ने मानिसहरूसित नूह घुलमिल भएनन्‌। नूह र तिनको परिवार जहाज बनाउनमै व्यस्त भइरहे। साथै नूहले “परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार” पनि गरे। (२ पत्रु. २:५) नूह र तिनको परिवार एकआपसमा घनिष्ठ थिए र तिनीहरू मिलेर यहोवालाई मन पर्ने काम गर्थे। त्यसैले तिनीहरू जलप्रलयबाट बचे। हामी तिनीहरूप्रति आभारी छौं किनकि हामी तिनीहरूकै सन्तान हौं। त्यस्तैगरि प्रथम शताब्दीका वफादार अनि आज्ञाकारी ख्रीष्टियनहरू पनि आफू वरपरका खराब व्यक्‍तिहरूबाट अलग्गै बसे र इस्वी संवत्‌ ७० मा यरूशलेमको विनाश हुँदा जोगिए।—लूका २१:२०-२२.

ख्रीष्टियन दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गर्दा अहिल्यै नयाँ संसारमा छु जस्तो लाग्नेछ (अनुच्छेद १९ हेर्नुहोस्‌)

१९. के गऱ्‍यौं भने यहोवाप्रति वफादार रहिरहन सक्नेछौं?

१९ हामी यहोवाका उपासकहरूले नूह, तिनको परिवार अनि प्रथम शताब्दीका आज्ञाकारी ख्रीष्टियनहरूको अनुसरण गर्नुपर्छ। हामी यस दुष्ट संसारबाट अलग्गै बस्नुपर्छ र हामीमाझ भएका दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गर्नुपर्छ। यहोवाको निर्देशनअनुसार चल्ने हाम्रा दाजुभाइ दिदीबहिनीसित घनिष्ठ सम्बन्ध गाँस्दा ‘विश्‍वासमा दह्रो भएर बस्न’ मदत पाउँछौं। (१ कोरि. १६:१३; हितो. १३:२०) साथै भविष्यको आशाबारे पनि मनन गर्नुपर्छ। खराब सङ्‌गतबाट अलग बस्यौं भने यस दुष्ट संसारको विनाश हुँदा हामी जोगिनेछौं र नयाँ संसारमा सधैंभरि जीवन बिताउन पाउनेछौं।