सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यस युगको अन्त हुने दिनको बाटो हेर्दै बस्नुहोस्‌!

यस युगको अन्त हुने दिनको बाटो हेर्दै बस्नुहोस्‌!

“त्यो पूरा हुन ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्‌।”—हब. २:३.

गीत: १२८, ४५

१, २. बितेका समयदेखि अहिलेसम्मै यहोवाका सेवकहरूले कस्तो मनोवृत्ति देखाएका छन्‌?

 विगतका यहोवाका सेवकहरूले उहाँले गर्नुभएका भविष्यवाणीहरू कहिले पूरा होला भनेर प्रतीक्षा गरेका थिए। जस्तै: बेबिलोनीहरूको हातबाट यहूदा विनाश हुनेछ भनेर यर्मियाले भविष्यवाणी गरे र यो भविष्यवाणी ईसापूर्व ६०७ मा पूरा भयो। (यर्मि. २५:८-११) बेबिलोनमा निर्वासित जीवन बिताइरहेका यहूदीहरूले छुटकारा पाउनेछ भनेर यशैयाले भविष्यवाणी गरे। तिनले यसो भने: “उहाँको बाटो हेर्नेहरू सबै धन्यका होऊन्‌।” (यशै. ३०:१८) यहोवाका प्रतिज्ञाहरूमा विश्‍वस्त हुँदै मीकाले यस्तो लेखे: “मचाहिं त परमप्रभुतिरै हेर्नेछु।” (मीका ७:७) यहोवाका सेवकहरूले वर्षौंदेखि मसीहसम्बन्धी गरिएका भविष्यवाणी कहिले पूरा होला भनेर पर्खिरहेका थिए।—लूका ३:१५; १ पत्रु. १:१०-१२. a

वर्तमान समयका यहोवाका सेवकहरू पनि मसीही राज्यसित सम्बन्धित भविष्यवाणी कहिले पूरा होला भनेर पर्खिरहेका छन्‌। यस राज्यद्वारा यहोवा परमेश्‍वरले सबै दुःखकष्टको अन्त गर्नुहुनेछ र उहाँका सेवकहरूलाई सैतानको दुष्ट संसारबाट जोगाउनुहुनेछ। (१ यूह. ५:१९) यो संसारको अन्त कुनै पनि बेला हुन सक्ने भएकोले हामी सजग हुनुपर्छ।

३. लामो समयदेखि संसारको अन्त हुने समय कुरिरहेका ख्रीष्टियनहरूको मनमा कस्तो प्रश्‍न उठ्‌न सक्छ?

हामी यहोवाका सेवक हौं र उहाँको इच्छा “जसरी स्वर्गमा पूरा भइरहेको छ, त्यसरी नै पृथ्वीमा पनि पूरा” हुने दिनको बाटो हेर्दै छौं। (मत्ती ६:१०) तर धेरै लामो समयदेखि संसारको अन्त हुने समय कुरिरहेका ख्रीष्टियनहरूको मनमा यस्तो विचार आउन सक्छ: ‘अझै कतिन्जेल पर्खने?’

यस युगको अन्त हुने दिन किन पर्खिरहनुपर्छ?

४. हामी जागा रहनुपर्ने मुख्य कारण के हो?

यस दुष्ट संसारको अन्त हुनै लाग्दा हामीले के गर्नुपर्छ? येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “जागा रहो।” (मत्ती २४:४२; लूका २१:३४-३६) हो, येशूले नै यस्तो आज्ञा दिनुभएकोले हामी सचेत र जागा रहनु महत्त्वपूर्ण छ। यहोवाको सङ्‌गठनले हामीलाई ‘यहोवाको दिनको उपस्थितिलाई सधैं प्रतीक्षा गर्नुपर्छ’ र नयाँ संसारको आशामा ध्यान दिइरहनुपर्छ भनेर बारम्बार सम्झाइरहेको छ।—२ पत्रुस ३:११-१३ पढ्‌नुहोस्‌।

५. हामी सचेत हुनुपर्ने कस्तो विशेष कारण छ?

प्रथम शताब्दीमा येशूका चेलाहरू जागा रहनु महत्त्वपूर्ण थियो। अहिले हामी जागा रहनु झनै महत्त्वपूर्ण छ। किन? किनभने हामी उहाँको उपस्थितिको दौडान बाँचिरहेका छौं। सन्‌ १९१४ देखि येशू परमेश्‍वरको राज्यको राजा हुनुभयो र “यस युगको आखिरी समय” सुरु भयो। येशूले बताउनु भएझैं अहिले संसारको अवस्था झन्‌झनै खराब हुँदै गएको छ। साथै राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार हुँदै छ। (मत्ती २४:३, ७-१४) तर “यस युगको आखिरी समय” कति लामो हुनेछ भनेर येशूले बताउनुभएन। त्यसैले कुनै पनि बेला अन्त आउन सक्छ भनेर हामी सधैं सचेत र तयार रहनुपर्छ।

६. यस संसारको अवस्था खराब हुँदै जानेछ भनेर हामी किन भन्‍न सक्छौं?

“अन्तको दिनमा” मानिसहरू झन्‌-झनै खराब हुँदै जानेछन्‌ भनेर बाइबलले बताउँछ। (२ तिमो. ३:१, १३; मत्ती २४:२१; प्रका. १२:१२) त्यसैले अहिलेको यो संसार अझ बिग्रँदै जानेछ। त्यसोभए भविष्यमा संसारको अवस्था अझ खराब हुँदा पो “यस युगको आखिरी समय” सुरु हुने हो कि?

७. अन्तको दिनबारे मत्ती २४:३७-३९ ले के बताउँछ?

“महासङ्‌कष्ट” सुरु हुनअघि संसारको अवस्था कुन हदसम्म बिग्रिएला? (प्रका. ७:१४) के सबै देश युद्धमा मुछिएला? भोकमरी र रोगबिमारले सबैलाई सताउने पो हो कि? यदि यस्तो भएमा बाइबलको कुरामा विश्‍वास नगर्ने मानिसहरू समेत बाइबलको भविष्यवाणी पूरा हुँदै छ भनेर स्वीकार्न बाध्य हुनेछन्‌। तर यस विषयमा येशूले के भन्‍नुभएको थियो? मानिसहरू आफ्नो दैनिक कामकुरामै व्यस्त हुनेछन्‌ अनि अन्त आएको तिनीहरूलाई “यादै” हुनेछैन भनेर येशूले बताउनुभएको थियो। (मत्ती २४:३७-३९ पढ्‌नुहोस्‌) त्यसैले “महासङ्‌कष्ट” सुरु हुनअघि यस संसारको अवस्था अत्यन्तै बिग्रनेछ भन्‍ने आशा गर्न मिल्दैन।—लूका १७:२०; २ पत्रु. ३:३, ४.

८. “जागा रहो” भनी येशूले दिनुभएको आज्ञा मान्‍नेहरूले के बुझेका छन्‌?

तर “जागा रहो” भनी येशूले दिनुभएको चेतावनी पालन गर्नेहरूले अन्तको दिनबारे उहाँले दिनुभएको चिन्ह पूरा हुँदै छ भनेर बुझ्ने थिए। (मत्ती २४:२७, ४२) सन्‌ १९१४ देखि येशूले दिनुभएको चिन्हको विभिन्‍न भाग पूरा भइरहेको छ। हो, हामी “यस युगको आखिरी समय”-मा बाँचिरहेका छौं र यो समय सन्‌ १९१४ मा सुरु भएर यस दुष्ट संसारको अन्त नहोउन्जेल चल्नेछ।

९. हामी किन यस युगको अन्त हुने दिनको बाटो हेर्दै बस्छौं?

हामी किन यस युगको अन्त हुने दिनको बाटो हेर्दै बस्छौं? किनकि हामी येशूको आज्ञा पालन गर्न चाहन्छौं। साथै येशूको उपस्थितिको चिन्ह पूरा हुँदै छ भनेर पनि बुझेका छौं। हामी अन्धभक्‍त होइनौं। बरु अन्त नजिकै छ भन्‍ने कुराको स्पष्ट प्रमाण हामीले बाइबलबाट पाएका छौं। यसैकारण हामी सचेत र जागा रहँदै यस युगको अन्त हुने समय पर्खन्छौं।

कतिन्जेल पर्खनुपर्ने हो?

१०, ११. (क) येशूले चेलाहरूलाई आफू आउने विषयमा के भन्‍नुभयो? (ख) अन्त आउन आफूले सोचेभन्दा ढिलो भएजस्तो लागे तापनि चेलाहरूले के गर्नुपर्थ्यो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१० हामीमध्ये धेरैले वर्षौंदेखि वफादार भएर यहोवाको सेवा गर्दै यस युगको अन्त हुने दिनको बाटो हेरिरहेका छौं। तर हाम्रो पर्खाइ जतिसुकै लामो भए पनि हरेस नखाऔं। येशू यस युगलाई नाश गर्न आउँदै हुनुहुन्छ। त्यसकारण हामी तयार रहनुपर्छ। उहाँले चेलाहरूलाई यस्तो सल्लाह दिनुभयो: “सधैं सचेत रहो अनि जागा बस, किनकि परमेश्‍वरले तोक्नुभएको समय कुन हो, तिमीहरू जान्दैनौ। यो त त्यो मानिस जस्तै हो, जसले विदेश जानुअघि आफ्ना दासहरूलाई आफ्नो घर जिम्मा लगायो अनि हरेकलाई आ-आफ्नो काम बाँड्‌नुका साथै ढोकेलाई जागा रहने आदेश दियो। त्यसकारण जागा रहो, किनकि घरमालिक साँझमा वा मध्यरातमा वा भाले बास्ने बेलामा वा बिहान सबेरै, कुन बेला आउँछ, तिमीहरूलाई थाह छैन। नत्रता ऊ अकस्मात्‌ आइपुग्दा तिमीहरूलाई निदाइरहेको भेट्टाउनेछ। म तिमीहरूलाई जे भन्छु, त्यही कुरा सबैलाई भन्छु, जागा रहो।”—मर्कू. १३:३३-३७.

११ सन्‌ १९१४ मा ख्रीष्टको उपस्थिति सुरु भयो। त्यो कुरा थाह पाएपछि येशूका चेलाहरू संसारको अन्त कुनै पनि बेला हुन सक्छ भनेर तयार रहे। कसरी? प्रचारकार्यमा जोडतोडले भाग लिएर। येशूले दृष्टान्तमा आफू “भाले बास्ने बेलामा वा बिहान सबेरै” आउँछु भन्‍नुभएको थियो। यसरी उहाँले आफू आउन अलि अबेर हुन सक्ने कुराको सङ्‌केत दिनुभयो। तैपनि उहाँका चेलाहरूले के गर्नुपर्थ्यो? तिनीहरू “जागा” रहनुपर्थ्यो। त्यसकारण लामो समयसम्म कुर्नुपर्दा समेत अन्त आउन ढिलो हुनेछ वा अन्त आउँदैन भन्‍ने सोचाइ राख्नु हुँदैन।

१२. हबकूकले यहोवालाई कुन प्रश्‍न सोधे? परमेश्‍वरले तिनलाई कस्तो जवाफ दिनुभयो?

१२ यरूशलेमको विनाशबारे घोषणा गर्ने जिम्मा पाएका भविष्यवक्‍ता हबकूकलाई विचार गरौं। तिनी अघिका भविष्यवक्‍ताहरूले पनि त्यो सहर विनाश हुने विषयमा चेतावनी दिइसकेका थिए। हबकूकको समयसम्ममा त अवस्था झनै बिग्रिसकेको थियो। त्यति बेला ‘दुष्टहरूले धर्मीहरूलाई घेरिरहेका थिए’ अर्थात्‌ दुःख दिइरहेका थिए अनि ‘न्यायको दुरुपयोग भइरहेको थियो।’ त्यसकारण हबकूकले यहोवालाई यस्तो प्रश्‍न सोध्नु अचम्मलाग्दो कुरा होइन: “हे परमप्रभु, कहिलेसम्म तपाईं मेरो दोहाइ सुन्‍नुहुन्‍न?” यहोवाले त्यो प्रश्‍नको जवाफ सीधै दिनुभएन। बरु विनाश आउन ‘ढिलो हुनेछैन’ भनेर आश्‍वासन दिनुभयो। साथै, परमेश्‍वरले हबकूकलाई “त्यसको बाटो हेर्दै” बस्ने सल्लाह दिनुभयो।हबकूक १:१-४; २:३ पढ्‌नुहोस्‌।

१३. हबकूकको मनमा कस्तो सोचाइ आउन सक्थ्यो? त्यस्तो सोचाइ राखेमा के हुन्थ्यो?

१३ हबकूकले निराश भएर यस्तो सोचेको भए के हुन्थ्यो होला: ‘यरूशलेमको विनाश हुन्छ भन्‍ने सुनेको वर्षौं भइसक्यो। खै! कहिले हुने हो? विनाश भोलि नै होला जस्तो गरी के प्रचार गर्नु? मैले नै प्रचार गर्नुपर्छ भन्‍ने छ र?’ हबकूकले आफ्नो मनमा त्यस्तो कुरा खेलाएको भए तिनले यहोवाको अनुमोदन पाउने थिएनन्‌ अनि बेबिलोनीहरूको हातबाट आफ्नो जीवन गुमाउन पनि सक्थे।

१४. यहोवाको बाटो हेर्दै बस्यौं भने हामी किन निराश हुनुपर्ने छैन?

१४ नयाँ संसारमा प्रवेश गरेपछि यस युगको अन्तबारे बाइबलमा बताइएको सबै कुरा पूरा भयो भन्‍न सक्नेछौं। यहोवाले परिस्थितिलाई कसरी मोडिदिनुभयो भनेर त्यतिबेला मनन गर्दा उहाँमाथि हाम्रो भरोसा बढ्‌नेछ अनि बाँकी भविष्यवाणीहरू पनि अवश्‍य पूरा हुन्छ भनेर विश्‍वस्त हुन सक्नेछौं। (यहोशू २३:१४ पढ्‌नुहोस्‌) यहोवाले सबै कुराको ‘समय तोक्नुभएको छ’ र हामीलाई “सबै कुराको अन्त नजिक आइपुगेको छ” भनेर चेतावनी दिइरहनुभएको छ। यस कुराको लागि नयाँ संसारमा हामी उहाँप्रति अझ धेरै आभारी हुन सक्नेछौं।—प्रेषि. १:७; १ पत्रु. ४:७.

प्रचारकार्यमा जोडतोडले भाग लिएर बाटो हेर्दै बसौं

के तपाईं जोसका साथ सुसमाचार प्रचार गर्दै हुनुहुन्छ? (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५, १६. अहिलेको समयमा प्रचार गर्नु किन महत्त्वपूर्ण छ?

१५ यहोवाको सङ्‌गठनले हामीलाई परमेश्‍वरको सेवा जोडतोडले गर्न बारम्बार सम्झाइरहेको छ। यसको कारण के हो? यहोवाको सेवामा व्यस्त बनाउन मात्र होइन। बरु ख्रीष्टको उपस्थितिको चिन्ह पूरा भइरहेको छ भन्‍ने कुरामा सजग गराउन पनि हो। अहिले हामीले गर्नै पर्ने काम के हो? प्रचारकार्यमा जोसका साथ भाग लिंदै यहोवाको राज्य र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहनु हो।—मत्ती ६:३३; मर्कू. १३:१०.

१६ एक जना बहिनीले यसो भनिन्‌: “परमेश्‍वरको राज्यबारे प्रचार गरेर हामी मानिसहरूलाई आउनै लागेको विनाशबाट बचाउन सक्छौं।” सन्‌ १९४५ मा ‘भील्हेल्म गुस्टलफ’ भन्‍ने समुद्री जहाजको दुर्घटना हुँदा ती बहिनी र तिनका श्रीमान्‌ बचेका थिए। ज्यानै गुम्ने अवस्था आइपर्दा समेत मानिसहरू साँच्चै महत्त्वपूर्ण कुरा के हो, छुट्याउन नसक्दा रहेछन्‌। तिनीसँगै जहाजमा भएकी एक महिला यसरी चिच्याइरहेको कुरा ती बहिनी सम्झन्छिन्‌: “लौ न नि! मेरो झोला। मेरो सर्वस्व गुम्यो। भएभरको गरगहना त्यसमै थियो।” अर्कोतर्फ, थुप्रै यात्रुले मानिसको जीवन महत्त्वपूर्ण छ भनेर बुझेकोले अरूलाई बचाउन सक्दो प्रयास गरे। ती निस्स्वार्थ यात्रुहरूजस्तै हामी पनि मानिसहरूलाई बचाउन सक्दो प्रयास गर्छौं। अहिले नै मानिसहरूलाई प्रचार गर्नु अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने कुरा सधैं मनमा राखौं अनि समय छँदा नै मानिसहरूलाई आउनै लागेको विनाशबाट बच्न मदत गरौं।

के तपाईंको निर्णयले प्रचारकार्य महत्त्वपूर्ण छ भनेर देखाउँछ? (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. हामी किन अन्त जुनसुकै बेला आउन सक्छ भनेर पक्का छौं?

१७ संसारमा भइरहेका घटनाहरूले बाइबल भविष्यवाणीहरू पूरा हुँदै छ र यस दुष्ट युगको अन्त नजिकै छ भन्‍ने कुरा स्पष्ट पार्छ। त्यसकारण प्रकाश १७:१६ मा उल्लेख गरिएको “दस वटा सिङ” र “जङ्‌गली जनावरले” अब चाँडै महान्‌ बेबिलोन अर्थात्‌ झूटो धर्मको विश्‍व साम्राज्यमाथि आक्रमण गर्नेछ। परमेश्‍वरले नै “तिनीहरूको मनमा यो कुरा हालिदिनुहुनेछ” अनि यो घटना जुनसुकै समयमा पनि हुन सक्छ। (प्रका. १७:१७) यस युगको अन्त नजिकै छ। त्यसैले येशूको यो चेतावनी मनमा राखौं: “तिमीहरू आफ्नो विषयमा होसियार बस, ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको मनलाई दबाउन नपाओस्‌, नत्रता त्यो दिन तिमीहरूमाथि अचानक पासोझैं आइपर्नेछ।” (लूका २१:३४, ३५; प्रका. १६:१५) “उहाँको बाटो हेर्नेहरू”-लाई यहोवाले बचाउनुहुनेछ भन्‍ने कुरा मनमा राख्दै जोडतोडले उहाँको सेवा गरिरहौं।—यशै. ६४:४.

१८. अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?

१८ यस दुष्ट युगको अन्त नजिकिंदै जाँदा चेला यहूदाले दिएको सल्लाह पालन गरौं: “हे प्रियहरू हो, तिमीहरूचाहिं आफ्नो अति पवित्र विश्‍वासलाई बलियो बनाएर अनि पवित्र शक्‍तिको डोऱ्‍याइमुताबिक प्रार्थना गरेर आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख अनि प्रभु येशू ख्रीष्टको कृपाले तिमीहरूका निम्ति अनन्त जीवन पाउने बाटो खुलोस्‌ भनी आशा गर।” (यहू. २०, २१) नयाँ संसारको बाटो हेर्दै छौं भन्‍ने कुरा के हाम्रो काममा पनि देखिन्छ? यसबारे अर्को लेखमा पढ्‌ने छौं।

a मसीहसम्बन्धी गरिएका केही भविष्यवाणीहरू बाइबलले वास्तवमा के सिकाउँछ? किताबको पृष्ठ २०० मा पाउन सक्नुहुन्छ।