सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

“हाम्रो विश्‍वास बढाइदिनुहोस्‌”

“मेरो विश्‍वासलाई अझै बलियो बनाइदिनुहोस्‌!”—मर्कू. ९:२४.

गीत: ८१, १३५

१. हामीमा विश्‍वास हुनु किन महत्त्वपूर्ण छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

 तपाईंले कहिल्यै यस्तो सोच्नुभएको छ: ‘के यहोवाले मलाई महासङ्‌कष्टबाट बचाउनुहोला?’ महासङ्‌कष्टबाट बच्न हामीले केही आवश्‍यकता पूरा गर्नुपर्छ। तीमध्ये एउटा महत्त्वपूर्ण आवश्‍यकताबारे प्रेषित पावलले यसो भने: “विनाविश्‍वास [परमेश्‍वरलाई] खुसी पार्न असम्भव छ।” (हिब्रू ११:६) तर बाइबलले बताएअनुसार “विश्‍वास सबैसित हुँदैन।” (२ थिस्स. ३:२) यी पदहरूबाट विश्‍वासलाई बलियो बनाउनु धेरै महत्त्वपूर्ण छ भनेर बुझ्न सक्छौं।

२, ३. (क) विश्‍वासबारे पत्रुसले के लेखे? (ख) यस लेखमा कस्ता प्रश्‍नहरू छलफल गर्नेछौं?

हामीसित विश्‍वास हुनु महत्त्वपूर्ण छ भनेर प्रेषित पत्रुसले विशेष जोड दिए। हाम्रो विश्‍वास “जाँचिएर अमूल्य साबित” भएको हुनुपर्छ भनी तिनले लेखे। हामीमा यस्तो विश्‍वास छ भने “येशू ख्रीष्ट प्रकट हुँदा प्रशंसा, महिमा अनि आदर” पाउनेछौं। (१ पत्रुस १:७ पढ्‌नुहोस्‌) महासङ्‌कष्ट नजिकै छ। हाम्रो गौरवशाली राजा येशू ख्रीष्ट प्रकट हुँदा हामी उहाँलाई दुःखी बनाउन चाहँदैनौं। त्यसैले आफ्नो विश्‍वास कस्तो छ भनेर हामीले जाँच्नुपर्छ। हामी “विश्‍वास राखेर आफूलाई बचाउने खालका मानिसहरू”-मध्ये हुन चाहन्छौं। (हिब्रू १०:३९) त्यसैले यहोवालाई यस्तो बिन्ती गर्नुपर्छ: “मेरो विश्‍वासलाई अझै बलियो बनाइदिनुहोस्‌!” (मर्कू. ९:२४) अथवा येशूका चेलाहरूले जस्तै हामीले पनि यसो भन्‍नुपर्छ: “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌।”—लूका १७:५.

यस लेखमा हामी निम्न प्रश्‍न छलफल गर्नेछौं: हामी आफ्नो विश्‍वासलाई कसरी बलियो बनाउन सक्छौं? हामीसित विश्‍वास छ भन्‍ने कुरा कसरी देखाउन सक्छौं? विश्‍वास बढाइदिनुहोस्‌ भनेर यहोवालाई बिन्ती गर्दा उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर किन ढुक्क हुन सक्छौं?

यहोवालाई खुसी बनाउने विश्‍वास

४. क-कसको उदाहरणले हामीलाई विश्‍वास बलियो बनाउन मदत गर्छ?

“पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌।” (रोमी १५:४) त्यसैले परमेश्‍वरमाथि विश्‍वास गरेका व्यक्‍तिहरूको उदाहरण पढेर हामी धेरै कुरा सिक्न सक्छौं। अब्राहाम, सारा, इसहाक, याकूब, मोशा, राहाब, गिदोन, बाराक र अन्य व्यक्‍तिहरूको विषयमा पढ्‌दा हामी आफ्नो विश्‍वास कस्तो छ भनेर जाँच्ने प्रोत्साहन पाउँछौं। (हिब्रू ११:३२-३५) आधुनिक समयमा बलियो विश्‍वास प्रकट गर्ने हाम्रा दाजुभाइ दिदीबहिनीको अनुभव पढ्‌दा पनि हामी आफ्नो विश्‍वास बलियो बनाउन उत्प्रेरित हुन्छौं। a

५. एलियाको विश्‍वास बलियो थियो भनेर देखाउने पाँचवटा परिस्थितिबारे बताउनुहोस्‌। एलियाको उदाहरणबारे मनन गर्दा हामी के गर्न उत्प्रेरित हुनुपर्छ?

बाइबलमा दिइएका थुप्रै उदाहरणमध्ये एउटा एलियाको हो। तिनले यहोवामाथि पूरा भरोसा गरेका थिए भनेर देखाउने पाँचवटा परिस्थिति विचार गरौं: (१) यहोवाले खडेरी ल्याउनुहुनेछ भनेर राजा आहाबलाई सूचना दिनुपर्दा एलियाको मनमा फिटिक्कै शङ्‌का थिएन। त्यसैले त राजा आहाबलाई तिनले यसो भने: “मेरो वचनविना आगामी वर्षहरूमा शीत र पानी केही पर्दैन।” (१ राजा १७:१) (२) खडेरी परेको समयमा यहोवाले तिनको अनि अरूको जीवन बचाउनुहुनेछ भन्‍ने कुरामा एलिया विश्‍वस्त थिए। (१ राजा १७:४, ५, १३, १४) (३) यहोवाले विधवाको छोरोलाई फेरि जीवित पार्नुहुन्छ भन्‍ने कुरामा एलिया ढुक्क थिए। (१ राजा १७:२१) (४) यहोवाले स्वर्गबाट आगो बर्साएर होम बलि स्वीकार्नुहुन्छ भन्‍ने कुरामा एलियालाई अलिकता पनि शङ्‌का थिएन। (१ राजा १८:२४, ३७) (५) यहोवाले खडेरी अन्त गर्न लाग्नुभएको बेला पानी पर्ने कुनै छाँटकाँट नदेखिए तापनि एलियाले आहाबलाई यसो भने: “गएर खानपिन गर्नुहोस्‌, किनभने म ठूलो झरी आइरहेको आवाज सुन्दैछु।” (१ राजा १८:४१) एलियाको उदाहरणबारे मनन गर्दा हामी पनि आफ्नो विश्‍वास तिनको जस्तै बलियो छ कि छैन भनेर जाँच्न उत्प्रेरित हुनुपर्छ।

विश्‍वास बलियो बनाउन के गर्न सक्छौं?

६. विश्‍वास बलियो बनाउन के चाहिन्छ?

हामीले इच्छा गर्दैमा हाम्रो विश्‍वास बलियो हुने होइन। विश्‍वास पवित्र शक्‍तिको फलका विभिन्‍न पक्षमध्ये एउटा हो। (गला. ५:२२) त्यसैले येशूको सल्लाह मान्दै हामीले यहोवासित अझ धेरै पवित्र शक्‍ति माग्नुपर्छ। “बुबाले उहाँसित माग्नेहरूलाई . . . पवित्र शक्‍ति दिनुहुनेछ” भनी येशूले बताउनुभएको छ।—लूका ११:१३.

७. हामी आफ्नो विश्‍वास कसरी बलियो बनाइराख्न सक्छौं? उदाहरणसहित बुझाउनुहोस्‌।

हाम्रो मनमा विश्‍वासले जरा गाडिसकेपछि, हामीले त्यसलाई पोस्दै लैजानुपर्छ। हाम्रो विश्‍वासलाई आगोको ज्वालासित तुलना गर्न सकिन्छ। दाउरामा आगो सल्काएपछि आगो हुरहुर बल्न थाल्छ। तर दाउरा थपिएन भने आगो बिस्तारै निभ्छ र भुङ्‌ग्रोमा परिणत हुन्छ। अन्तमा खरानी बाहेक केही पनि बाँकी रहँदैन। तर दाउरा थपिरह्‍यो भने आगो बलिरहन्छ। हाम्रो विश्‍वास पनि त्यस्तै हो। नियमित रूपमा बाइबल पढ्यौं र मनन गऱ्‍यौं भने हाम्रो विश्‍वास पनि सेलाएर जान पाउँदैन। हामी जति धेरै अध्ययन र मनन गर्छौ, उति नै बाइबलप्रति कदर बढ्‌दै जान्छ र बाइबलको साँचो स्रोत यहोवाप्रतिको प्रेम पनि झन्‌झन्‌ प्रगाढ हुँदै जान्छ। फलस्वरूप, हाम्रो विश्‍वास पहिलेभन्दा झन्‌ बलियो हुन्छ।

८. विश्‍वास बलियो बनाइराख्न हामी के गर्न सक्छौं?

हाम्रो विश्‍वास बलियो बनाउन र त्यसलाई कहिल्यै कमजोर हुन नदिन हामीले अरू के गर्नुपर्छ? बप्तिस्मा गर्नुअघि बाइबल अध्ययन गर्दा जे-जति कुरा सिक्यौं, त्यत्तिमै चित्त बुझाएर बस्नु हुँदैन। (हिब्रू ६:१, २) बरु बाइबलका कुन-कुन भविष्यवाणीहरू कसरी पूरा भए, त्यसबारे मनन गर्नुपर्छ। यसो गऱ्‍यौं भने आफ्नो विश्‍वासलाई बलियो बनाइराख्नुपर्ने कारण बुझ्नेछौं। बलियो विश्‍वास हुने मानिसहरूमा के-कस्ता कुराहरू हुनुपर्छ, त्यसबारे परमेश्‍वरको वचन बाइबलले बताएको कुरा पढ्‌नुपर्छ। त्यसपछि आफूमा ती कुराहरू छ कि छैन भनेर जाँच्नुपर्छ।याकूब १:२५; २:२४, २६ पढ्‌नुहोस्‌।

९, १०. विश्‍वास बलियो बनाउन यी कुराहरूले कसरी मदत गर्छ: (क) असल सङ्‌गत (ख) मण्डलीका सभाहरू (ग) प्रचारकार्य।

प्रेषित पावलले ख्रीष्टियनहरूलाई “आ-आफ्नो विश्‍वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन” सल्लाह दिए। (रोमी १:१२) मण्डलीका दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गरेर हामी एकअर्काको विश्‍वास बलियो बनाउन सक्छौं। “जाँचिएर प्रमाणित भएको” विश्‍वास भएका दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गर्दा हाम्रो विश्‍वास झन्‌ बलियो हुन्छ। (याकू. १:३) खराब सङ्‌गतले हाम्रो विश्‍वासलाई कमजोर बनाउँछ; तर असल सङ्‌गतले विश्‍वास अझ बलियो बनाउन मदत गर्छ। (१ कोरि. १५:३३) त्यसैले त बाइबलले हामीलाई “एक ठाउँमा भेला” भएर “एकअर्कालाई प्रोत्साहन” दिइरहन सल्लाह दिएको हो। (हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌) सभामा गयौं भने विश्‍वास बलियो बनाउन मदत गर्ने निर्देशनहरू पनि पाउँछौं। प्रेषित पावलले यस्तो लेखेका थिए: “वचन सुनेपछि विश्‍वास पलाउँछ।” (रोमी १०:१७) त्यसोभए के तपाईं नियमित रूपमा सभा जानुहुन्छ?

१० प्रचार गर्दा हाम्रो कुरा सुन्‍ने मानिसहरूको मात्र होइन, हाम्रो आफ्नै विश्‍वास पनि बलियो हुन्छ। प्रथम शताब्दीका ख्रीष्टियनहरूले यहोवामा भरोसा राखे जस्तै हामीले पनि उहाँमा भरोसा राख्न सिक्छौं र जस्तोसुकै परिस्थितिमा साहसी भई बोल्छौं।—प्रेषि. ४:१७-२०; १३:४६.

११. कालेब र यहोशूको विश्‍वास बलियो हुनुको कारण के हो? के गर्दा हाम्रो विश्‍वास बलियो हुन्छ?

११ समस्याहरूको सामना गर्नुपर्दा यहोवाले कसरी मदत गर्नुभयो अनि हाम्रा प्रार्थनाको जवाफ कसरी दिनुभयो भनेर विचार गऱ्‍यौं भने हाम्रो विश्‍वास बढ्‌छ। कालेब र यहोशूले पनि त्यस्तै अनुभव गरे। प्रतिज्ञा गरिएको देश कस्तो रहेछ भनेर सुराकी लिन जाँदा तिनीहरूले यहोवामाथि भरोसा राखे। त्यसपछि पनि यहोवाले जीवनको हरेक मोडमा आफूलाई साथ दिनुभएको तिनीहरूले देखे। त्यसैले तिनीहरूको विश्‍वास बढ्‌दै गयो। यतिसम्म कि यहोशूले विश्‍वस्त भएर यसो भने: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन।” तिनले यसो पनि भने: “यसकारण अब परमप्रभुको भय मान, र निष्कपट र सत्यतासाथ उहाँको सेवा गर . . . म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” (यहो. २३:१४; २४:१४, १५) यहोवाले हाम्रो लागि गर्नुभएको सबै कुरा मनन गर्दा हाम्रो विश्‍वास पनि यहोशूको जस्तै बलियो हुन्छ।—भज. ३४:८.

कामद्वारा विश्‍वास देखाउनुहोस्‌

१२. हाम्रो विश्‍वास बलियो छ भन्‍ने कुरा कसरी देखिन्छ?

१२ हाम्रो विश्‍वास बलियो छ भनेर कसरी देखाउन सक्छौं? चेला याकूबले यस्तो जवाफ दिए: “म आफ्ना कामहरूद्वारा मेरो विश्‍वास प्रकट गर्नेछु।” (याकू. २:१८) हो, हाम्रो विश्‍वास बलियो छ कि छैन भन्‍ने कुरा हाम्रो कामबाट देखिन्छ। अब केही उदाहरणबारे विचार गरौं।

जोडतोडले प्रचारकार्यमा लागेर आफ्नो विश्‍वास कामद्वारा देखाउनुहोस्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. प्रचारमा भाग लिंदा यहोवामा विश्‍वास गरेको कसरी देखिन्छ?

१३ प्रचारमा भाग लिंदा हाम्रो विश्‍वास बलियो छ भन्‍ने कुरा देखिन्छ। कसरी? यस युगको अन्त अब चाँडै हुन्छ, “त्यसले ढीलो गर्नेछैन” भन्‍ने कुरामा हामी आफै विश्‍वास गर्दैनौं भने मानिसहरूलाई त्यसबारे बताउन सक्दैनौं। (हब. २:३) प्रचारको काम गर्न हामी कुन हदसम्म तयार छौं, त्यसबाट पनि हाम्रो विश्‍वास कत्तिको बलियो छ भनेर देखिन्छ। हामी आफैलाई निम्न प्रश्‍नहरू सोध्न सक्छौं: ‘के म तनमन लगाएर प्रचार गर्दै छु? प्रचारको काममा अझ धेरै भाग लिन के म नयाँ-नयाँ तरिका खोज्छु?’ (२ कोरि. १३:५) हो, उद्धारको सन्देश “जनसमक्ष घोषणा गरेर” हामी आफ्नो विश्‍वास बलियो छ भनेर देखाउन सक्छौं।रोमी १०:१० पढ्‌नुहोस्‌।

१४, १५. (क) हामी दैनिक जीवनमा कसरी आफ्नो विश्‍वास देखाउन सक्छौं? (ख) कामद्वारा विश्‍वास देखाएको एउटा परिवारको अनुभव बताउनुहोस्‌।

१४ हरेक दिन आइपर्ने समस्याहरूको डटेर सामना गर्दा पनि हाम्रो विश्‍वास बलियो छ भन्‍ने कुरा देखिन्छ। रोगबिमार, नैराश्‍य, आर्थिक समस्या वा अन्य कठिनाइको सामना गर्नुपर्दा यहोवा र येशूले “चाहिएकै बेला मदत” गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क छौं। (हिब्रू ४:१६) हामी आध्यात्मिक कुराको लागि मात्र होइन, भौतिक कुराको लागि पनि यहोवालाई प्रार्थना गर्न सक्छौं। येशूले आफ्ना चेलाहरूलाई “दिनभरिको आवश्‍यकताअनुसार भोजन दिनुहोस्‌” भनेर प्रार्थना गर्न सिकाउनुभएको थियो। (लूका ११:३) यहोवाले हाम्रा आवश्‍यकताहरू पूरा गरिदिनुहुन्छ भनेर देखाउने उदाहरणहरू बाइबलमा पाइन्छ। जस्तै: इस्राएलमा खडेरी लाग्दा यहोवाले एलियालाई खानेकुरा र पानी जुटाइदिनुभयो। “कागहरूले तिनलाई बिहान र बेलुकी रोटी र मासु ल्याइदिए र तिनले खोलाको पानी पिएर बसे।” (१ राजा १७:३-६) यहोवाले हाम्रो आवश्‍यकता हामीले सोच्दै नसोचेको तरिकामा पूरा गरिदिनुहुन्छ भनेर हामी विश्‍वास गर्छौं।

समस्याहरूको डटेर सामना गर्दा हाम्रो विश्‍वास बलियो छ भन्‍ने कुरा देखिन्छ (अनुच्छेद १४ हेर्नुहोस्‌)

१५ बाइबलको सिद्धान्तअनुसार जीवन बितायौं भने परिवारको आवश्‍यकता पूरा गर्न सक्छौं। एसियामा बस्ने रेबेका नाम गरेकी विवाहित बहिनी र उनको परिवारलाई लिनुहोस्‌। परमेश्‍वरको राज्यलाई पहिलो स्थानमा राखेर अनि भौतिक आवश्‍यकता पूरा गर्न परिश्रम गरेर उनीहरूले मत्ती ६:३३ र हितोपदेश १०:४ मा पाइने सिद्धान्त लागू गरेका छन्‌। आफूले जागिर खाइरहेको ठाउँमा गर्नुपर्ने कामको किसिम र धेरै समय खट्‌नुपर्ने भएकोले यहोवासितको सम्बन्धलाई असर गर्ने देखेर रेबेकाको श्रीमान्‌ले जागिरबाट राजीनामा दिए। तर तिनीहरूले चार जना छोराछोरीको पालनपोषण गर्नुपर्थ्यो। तिनीहरूले के गरे? रेबेका यसो भन्छिन्‌: “हामीले मिठाई बनाएर बेच्न थाल्यौं। यो काम गर्न थालेको वर्षौं भइसक्यो। यहोवाले सधैं हाम्रो देखभाल गर्नुभएको छ। हामी एकदिन पनि भोकै सुत्नुपरेको छैन।” बाइबलले हामीलाई ठीक बाटोमा डोऱ्‍याउँछ भनेर के तपाईंले पनि अनुभव गर्नुभएको छ?

१६. परमेश्‍वरमा विश्‍वास गऱ्‍यौं भने के हुन्छ?

१६ यहोवाले देखाउनुभएको बाटोमा हिंड्‌दा हाम्रो नोक्सानी हुने हो कि भनेर शङ्‌का गर्नु हुँदैन। हबकूकले लेखेका शब्दहरू उद्धरण गर्दै पावलले यसो भने: “परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने मानिस विश्‍वासद्वारा नै जिउनेछ।” (गला. ३:११; हब. २:४) त्यसैले यहोवाले हामीलाई साँच्चै मदत गर्नुहुन्छ भनेर हामीले विश्‍वास गर्नुपर्छ। यहोवाको “शक्‍तिले हामीभित्र काम गरिरहेको छ” अनि उहाँ “हामीले मागे वा सोचेभन्दा कता हो कता धेरै गर्न सक्नुहुन्छ” भनी पावलले लेखे। (एफि. ३:२०) हामी यहोवाको इच्छा पूरा गर्न तनमन लगाउँछौं। तर आफ्नो सीमितता स्वीकार्दै उहाँमा भरोसा पनि राख्छौं। हाम्रा परमेश्‍वरको साथ पाएकोमा के हामी खुसी छैनौं र?

चेलाहरूको प्रार्थनाको जवाफ

१७. (क) यहोवाले चेलाहरूको प्रार्थनाको जवाफ कसरी दिनुभयो? (ख) यहोवाले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेर किन विश्‍वस्त हुन सक्छौं?

१७ यी कुराहरूबारे छलफल गरिसकेपछि तपाईंले पनि येशूका चेलाहरूले जस्तै महसुस गर्नुभयो होला। तिनीहरूले यसो भने: “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌।” (लूका १७:५) इस्वी संवत्‌ ३३ मा यहोवाले तिनीहरूको प्रार्थनाको जवाफ दिनुभयो। त्यस दिन यहोवाले ती चेलाहरूलाई पवित्र शक्‍ति दिनुभयो। त्यसपछि तिनीहरूले यहोवाको उद्देश्‍य अझ राम्ररी बुझ्न सके। तिनीहरूको विश्‍वास बलियो भयो र तिनीहरू जोडतोडले प्रचारकार्यमा लागे। (कल. १:२३) विश्‍वास बढाइदिनुहोस्‌ भनेर प्रार्थना गर्दा के यहोवाले हाम्रो बिन्ती सुन्‍नुहुन्छ? बाइबलले यस्तो जवाफ दिन्छ: “परमेश्‍वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।”—१ यूह. ५:१४.

१८. विश्‍वासलाई बलियो बनायौं भने कस्तो इनाम पाउँछौं?

१८ सधैं यहोवामाथि पूरा भरोसा राखौं। किनकि हामीले त्यसै गरेको उहाँ चाहनुहुन्छ। विश्‍वास बढाइदिनुहोस्‌ भनेर निरन्तर बिन्ती पनि गरिरहौं। यहोवाले हाम्रो बिन्ती पक्कै सुन्‍नुहुन्छ र हाम्रो विश्‍वास झन्‌झन्‌ बढ्‌दै जान्छ। हामीसित त्यस्तो बलियो विश्‍वास छ भने “परमेश्‍वरको राज्य हासिल गर्न योग्य” ठहरिन्छौं।—२ थिस्स. १:३, ५.

a प्रहरीधरहरा-बाट यी दाजुभाइ दिदीबहिनीको जीवनी पढ्‌नुहोस्‌: युरी काप्टोला (सेप्टेम्बर १, २००५), मार्चे डे योङ्‌ग भान डेन होभेल (जनवरी १५, २०११) र त्रोफिम आर. सोम्बा (अप्रिल १५, २०१५)।