कुरा गर्न रुचाउनुहुने परमेश्वर—यहोवा
“तपाईं बोल्नुहुँदा ध्यानसित सुन्नु . . . भनी तपाईंले मलाई भन्नुभएको थियो।”—अय्यू. ४२:४.
गीत: ११३, ११४
१-३. (क) परमेश्वरको भाषा र कुराकानी गर्ने क्षमता मानिसहरूको भन्दा उत्कृष्ट छ भनेर हामी किन भन्न सक्छौं? (ख) यस लेखमा के छलफल गर्नेछौं?
यहोवा परमेश्वरले स्वर्गदूतहरू र मानिसहरू सृष्टि गर्नुभयो। उहाँ तिनीहरूको जीवनको स्रोत हुनुहुन्छ र तिनीहरू पनि उहाँजस्तै आनन्दित भएको चाहनुहुन्छ। (भज. ३६:९; १ तिमो. १:११) उहाँको पहिलो सृष्टि अर्थात् उहाँको जेठो छोरा येशूलाई प्रेषित यूहन्नाले “वचन” अनि “परमेश्वरको सृष्टिको सुरुवात” भनेका छन्। (यूह. १:१; प्रका. ३:१४) यहोवा परमेश्वरले आफ्नो जेठो छोरासित मनको कुरा साटासाट गर्नुभयो र आफ्नो विचार बताउनुभयो। (यूह. १:१४, १७; कल. १:१५) प्रेषित पावलले स्वर्गदूतहरूको पनि छुट्टै भाषा हुन्छ भनेर बताएका छन्। उनीहरूको भाषा मानिसको भन्दा उत्कृष्ट छ।—१ कोरि. १३:१.
२ यहोवा परमेश्वरले सृष्टि गर्नुभएका स्वर्गदूतहरू र मानिसहरू अरबौं-अरब छन्। तैपनि उहाँलाई तिनीहरू सबैको एक-एक कुरा थाह छ। संसारभरि छरिएर रहेका थुप्रै भाषाभाषीका मानिसहरूले एउटै समयमा गरेको प्रार्थना पनि उहाँ बुझ्न सक्नुहुन्छ। अनि त्यति नै बेला उहाँ स्वर्गदूतहरूसित पनि कुरा गर्न सक्नुहुन्छ र तिनीहरूलाई आवश्यक निर्देशन दिन सक्नुहुन्छ। उहाँले एउटै समयमा मानिस र स्वर्गदूतसँग कुराकानी गर्न सक्नुको कारण के हो? उहाँसित मानिसहरूको भन्दा उत्कृष्ट विचार, भाषा र कुराकानी गर्ने क्षमता भएकोले नै हो। (यशैया ५५:८, ९ पढ्नुहोस्) त्यसैले त मानिसहरूसित कुरा गर्दा उहाँले सजिलो भाषा प्रयोग गर्नुहुन्छ।
३ यहोवा परमेश्वरले पहिलादेखि नै कसरी मानिसहरूसित कुराकानी गर्दै आउनुभएको छ, त्यस विषयमा यस लेखमा छलफल गर्नेछौं। समय बित्दै जाँदा उहाँले मानिसहरूसित कुराकानी गर्ने तरिकामा कस्तो छाँटकाँट गर्नुभयो, त्यो पनि बुझ्नेछौं।
परमेश्वर मानिसहरूसित कुरा गर्नुहुन्छ
४. (क) मोशा, शमूएल र दाऊदसित कुरा गर्दा यहोवाले कुन भाषा प्रयोग गर्नुभयो? (ख) बाइबलमा हामी कस्ता कुराहरू पाउँछौं?
४ यहोवा परमेश्वरले अदनको बगैंचामा आदमसित कुरा गर्दा मानिसको भाषा प्रयोग गर्नुभयो। सायद त्यतिबेला उहाँले पुरानो हिब्रू भाषा बोल्नुभएको हुन सक्छ। त्यसपछि पनि उहाँले हिब्रू भाषा बोल्ने बाइबल लेखकहरू मोशा, शमूएल अनि दाऊदलाई आफ्नो विचार व्यक्त गर्नुभयो। ती लेखकहरूले आफ्नै भाषाशैलीमा परमेश्वरका विचारहरू जस्ताको तस्तै लेखे। साथै यहोवाले आफ्ना सेवकहरूसित कस्तो व्यवहार गर्नुभयो, उनीहरूले कसरी विश्वास अनि प्रेम जस्ता गुणहरू देखाए, कस्तो गल्ती गरे र परमेश्वरलाई कसरी धोका दिए, त्यो पनि लेखे। हो, बाइबलमा जे-जति कुरा लेखिएका छन्, ती सबै हाम्रै फाइदाका लागि लेखिएका हुन्।—रोमी १५:४.
५. के यहोवाले आफ्ना सेवकहरूसित हिब्रू भाषामा मात्र कुरा गर्नुभयो? व्याख्या गर्नुहोस्।
५ परमेश्वरले मानिसहरूसित सधैं हिब्रू भाषामा मात्र कुरा गर्नुभएन। बेबिलोनको कैदबाट छुटेपछि परमेश्वरका केही सेवकहरूको बोलीचालीको भाषा अरामी हुन थाल्यो। सायद त्यसैले होला, यहोवा परमेश्वरले भविष्यमा हुन लागेको कुराबारे बताउन दानियल, यर्मिया अनि पुजारी एज्रालाई बाइबलका केही भागहरू अरामी भाषामा लेख्न लगाउनुभयो। a
६. हिब्रूबाहेक अरू भाषामा परमेश्वरको वचन कसरी उपलब्ध भयो?
६ महान् सिकन्दरले संसारको थुप्रै इलाकाहरू जितिसकेपछि बोलीचालीको ग्रीक अर्थात् कोइन भाषा नै अन्तरराष्ट्रिय भाषा हुन गयो। थुप्रै यहूदीले यो भाषा बोल्न थालेकोले हिब्रू धर्मशास्त्र ग्रीक भाषामा अनुवाद गरियो। बहत्तर जनाले अनुवाद गरेको यो धर्मशास्त्रलाई सेप्टुआजिन्ट भनिन्छ। यो बाइबलको पहिलो र निकै महत्त्वपूर्ण अनुवाद हो। b यसका अनुवादकहरू धेरै जना भएकोले अनुवाद गर्ने तरिका पनि फरक-फरक भयो। कसैले शब्द-शब्द अनुवाद गरे भने कसैले आफूखुसी। तैपनि ग्रीक भाषा बोल्ने यहूदीहरू अनि अरू ख्रीष्टियनहरूले सेप्टुआजिन्ट-लाई परमेश्वरकै वचनको रूपमा स्वीकारे।
७. चेलाहरूलाई सिकाउँदा येशूले कुन भाषा प्रयोग गरेको हुनुपर्छ?
७ परमेश्वरको जेठो छोराले पृथ्वीमा छँदा हिब्रू भाषा बोल्नुभएको हुन सक्छ अनि अरूलाई सिकाउँदा पनि यही भाषा प्रयोग गर्नुभएको हुनुपर्छ। (यूह. १९:२०; २०:१६; प्रेषि. २६:१४) प्रथम शताब्दीको हिब्रू भाषा अरामी भाषाबाट प्रभावित थियो, त्यसैले येशूले पनि केही अरामी शब्दहरू चलाउनुभएको हुन सक्छ। उहाँलाई मोशा र भविष्यवक्ताहरूले बोल्ने पुरानो हिब्रू भाषा पनि आउँथ्यो किनभने हरेक हप्ता सभाघरहरूमा यही पुरानो भाषामा लेखिएका धर्मशास्त्रका मुठाहरू पढिन्थ्यो। (लूका ४:१७-१९; २४:४४, ४५; प्रेषि. १५:२१) साथै त्यतिबेला इस्राएलमा ग्रीक र ल्याटिन भाषा पनि बोलिन्थ्यो। तर येशूले ती भाषाहरू बोल्नुभयो कि भएन, त्यस विषयमा बाइबलले केही पनि बताएको छैन।
८, ९. ख्रीष्टियन धर्म फैलिंदै गएपछि चेलाहरूको मुख्य भाषा ग्रीक हुनुको कारण के थियो? यसबाट यहोवाबारे कुन कुरा स्पष्ट हुन्छ?
८ येशूका सुरु-सुरुतिरका चेलाहरू हिब्रू भाषा बोल्थे। तर उहाँको मृत्युपछि उहाँका चेलाहरूले अरू पनि भाषा बोल्न थाले। (प्रेषित ६:१ पढ्नुहोस्) ख्रीष्टियन धर्म फैलिंदै गएपछि तिनीहरूको मुख्य भाषा ग्रीक हुन गयो। येशूको शिक्षा र कामबारे उल्लेख गरिएको मत्ती, मर्कूस, लूका र यूहन्ना जस्ता सुसमाचारका पुस्तकहरूसमेत ग्रीक भाषामै पाइन्थ्यो। त्यसैले येशूका धेरैजसो चेलाहरूको भाषा हिब्रू नभएर ग्रीक हुन पुग्यो। c प्रेषित पावलका पत्रहरू र अरू प्रेरित पुस्तकहरू पनि ग्रीक भाषामै लेखिएका थिए।
९ रोचक कुरा के छ भने, ख्रीष्टियन ग्रीक धर्मशास्त्रका लेखकहरूले हिब्रू धर्मशास्त्रका पदहरू उद्धरण गर्दा सेप्टुआजिन्ट प्रयोग गर्थे। कहिलेकाहीं ती उद्धरणहरू हिब्रू भाषामा लेखिएको वास्तविक कुराभन्दा केही फरक हुन्थ्यो। तैपनि ती अहिले प्रेरित धर्मशास्त्रका भाग भएका छन्। यसरी त्रुटिपूर्ण अनुवादकहरूले गरेको अनुवाद परमेश्वरको प्रेरित वचनको भाग बनेको छ। कुरा स्पष्ट छ, यहोवा कुनै पनि संस्कृति वा भाषालाई काखापाखा गर्नुहुन्न।—प्रेषित १०:३४ पढ्नुहोस्।
१०. यहोवाले मानिसहरूसित गर्ने कुराकानीको सन्दर्भमा हामीले के बुझ्यौं?
१० यहोवाले आवश्यकता अनि परिस्थिति विचार गरेर मानिसहरूसित कुराकानी गर्ने तरिकामा छाँटकाँट गर्नुहुन्छ भन्ने विषयमा हामीले केही कुरा सिक्यौं। उहाँलाई चिन्न अनि उहाँको उद्देश्यबारे थाह पाउन यहोवाले हामीलाई कुनै खास भाषा सिक्ने दबाब दिनुहुन्न भनेर पनि बुझ्यौं। (जकरिया ८:२३; प्रकाश ७:९, १० पढ्नुहोस्) साथै बाइबल लेखकहरूलाई बाइबल लेख्न प्रेरणा दिनुभए तापनि उहाँले तिनीहरूलाई आफ्नै भाषाशैली चलाउने छुट दिनुभयो भनेर पनि हामीले थाह पायौं।
सन्देश सुरक्षित नै रहन्छ
११. थरी-थरीका भाषाले परमेश्वरलाई मानिसहरूसित कुराकानी गर्न बाधा पुऱ्याएको छैन भनेर हामी किन भन्न सक्छौं?
११ थरी-थरीका भाषा र फरक-फरक किसिमको अनुवादले परमेश्वरलाई मानिसहरूसित कुराकानी गर्न बाधा पुऱ्याएको छ कि? यो कुरा बुझ्न एउटा उदाहरण विचार गरौं: पृथ्वीमा छँदा येशूले ठ्याक्कै कुन-कुन शब्द चलाउनुभयो, हामीलाई एक-दुइटा मात्र थाह छ। (मत्ती २७:४६; मर्कू. ५:४१; ७:३४; १४:३६) तर येशूले दिन खोज्नुभएको सन्देशमा भने हामी कुनै फरक पाउँदैनौं। परमेश्वरले येशूको सन्देश ग्रीक भाषामा र पछि अरू भाषामा सुरक्षित राख्नुभयो। पछि यहूदी अनि अरू ख्रीष्टियनले थुप्रै पटक बाइबलका लेखोटहरू सारेर त्यसको प्रतिलिपिहरू बनाए। तर बाइबलले दिन खोजेको सन्देश भने जस्ताको तस्तै रह्यो। ती प्रतिलिपिहरूलाई अरू थुप्रै भाषामा पनि अनुवाद गरियो। इस्वी संवत् चौथौं/पाँचौं शताब्दीतिरका जोन क्रिसोस्टमअनुसार तिनको समयसम्म येशूका शिक्षाहरू सिरिया, मिश्र, भारत, फारस, इथियोपिया अनि अरू थुप्रै ठाउँका मानिसहरूको भाषामा अनुवाद भइसकेको थियो।
१२. बाइबल अनुवाद गरिंदा के-कस्तो विरोध आइपऱ्यो?
१२ इतिहासको पाना पल्टाउने हो भने विरोधीहरूले बाइबलको नामोनिसान मेटाउने थुप्रै प्रयास गरेको पाउँछौं। तर ती सबै प्रयास विफल भए। यस्तै दुष्प्रयास गर्ने एक जना रोमी सम्राट् डायोक्लिसियन पनि हुन्। तिनले इस्वी संवत् ३०३ मा भएभरको सबै बाइबल नष्ट गर्न आदेश दिएका थिए तर तिनको यो प्रयास सफल भएन। बाइबलका अनुवादकहरू र त्यो वितरण गर्ने मानिसहरूमाथि पनि थुप्रै आक्रमण गरियो। इस्वी संवत् १६ औं शताब्दीतिर विलियम टिन्डेलले हिब्रू र ग्रीक भाषाको बाइबललाई अङ्ग्रेजीमा उल्था गर्न सुरु गरे। त्यतिबेला तिनले पढेलेखेका एक जना मानिसलाई यसो भनेका थिए: “परमेश्वरको इच्छाले बाँचिरहें भने केही वर्षभित्रै तपाईंहरूभन्दा हलो जोत्ने केटोलाई धर्मशास्त्रमा पोख्त बनाउनेछु।” तर खेदो आएपछि टिन्डेल इङ्गल्यान्ड छोडेर युरोपतिर भागे। तिनले त्यहीं बाइबलको अनुवाद सिध्याए र त्यसलाई छापे। चर्चका ठूलाबडाहरूले भेटेजति सबै बाइबल जलाउने अभियान नै चलाए तापनि टिन्डेलको अनुवाद थुप्रै मानिसको हात-हातमा पुग्यो। तर अन्तमा टिन्डेललाई धोका दिइयो; तिनको घाँटीमा डोरी कसियो र तिनलाई जलाइयो। तर तिनको अनुवाद भने जीवितै रह्यो। सबैभन्दा धेरै चलेको बाइबल किङ जेम्स तयार पार्दा टिन्डेलको अनुवादबाट निकै मदत लिइएको थियो।—२ तिमोथी २:९ पढ्नुहोस्।
१३. पुराना प्रतिलिपिहरूको अध्ययनले के देखाउँछ?
१३ अहिले हामीसित भएका पुराना बाइबलहरूमा केही गल्ती र भिन्नताहरू छन्। तर बाइबलको मुख्य सन्देशमा भने कुनै फरक परेको छैन। हामी किन त्यसो भन्न सक्छौं? बाइबल विज्ञहरूले पपाइरसका हजारौं टुक्रा, पाण्डुलिपिहरू अनि पुराना अनुवादहरू आपसमा तुलना गरेर अनि गहन अध्ययन गरेर यो कुरा पत्ता लगाएका हुन्। यहोवाले सुरुमा बाइबल लेखकहरूलाई लेख्न लगाउनुभएको कुरा अहिले पनि सुरक्षित छ भनेर यस्ता अध्ययनहरूबाट स्पष्ट हुन्छ। अनि बाइबलका जेहनदार विद्यार्थीहरू पनि यो कुरामा विश्वस्त छन्।—यशै. ४०:८. d
१४. बाइबल कतिको लोकप्रिय छ?
१४ बाइबलले धेरै विरोध खप्नुपरेको छ। तैपनि मानव इतिहासमै सबैभन्दा धेरै अनुवाद भएको किताब बाइबल नै हो। अहिले यो किताब पूरा वा आंशिक गरी २,८०० भन्दा धेरै भाषामा उपलब्ध छ। ईश्वरमा विश्वास नगर्ने अहिलेको जमानामा समेत बाइबल सबैभन्दा धेरै वितरण हुने किताब बन्न पुगेको छ। अरू कुनै पनि किताब यत्ति धेरै वितरण र उपलब्ध भएको छैन। कुनै-कुनै बाइबल अनुवाद त्यति स्पष्ट र भरपर्दा छैनन्। तैपनि ती अनुवादहरूमा परमेश्वरले मानिसहरूलाई दिन चाहनुभएको आशा र अनन्त जीवनको सन्देश भने पाइन्छ।
नयाँ अनुवादको खाँचो
१५. (क) भाषाले पुऱ्याएको अवरोध कसरी हटेको छ? (ख) हाम्रा प्रकाशनहरू सुरुमा किन अङ्ग्रेजी भाषामा लेखिन्छ?
१५ सन् १९१९ मा बाइबल विद्यार्थीहरूको एउटा सानो समूह “विश्वासी र बुद्धिमान् दास”-को रूपमा नियुक्त भयो। त्यतिबेला उनीहरू “आफ्नो घरका अरू दासहरू”-लाई आध्यात्मिक भोजन दिन प्रायजसो अङ्ग्रेजी भाषा प्रयोग गर्थे। (मत्ती २४:४५) तर अहिले ती दासहरू धेरैभन्दा धेरै भाषामा बाइबल साहित्यहरू अनुवाद गर्न लागिपरेका छन्। फलस्वरूप, अहिले ७०० भन्दा धेरै भाषामा हाम्रा प्रकाशनहरू उपलब्ध छन्। प्रथम शताब्दीमा कोइन भनिने ग्रीक भाषा चलनचल्तीको भाषा भएजस्तै अहिले व्यापार जगत्मा अनि शिक्षण सङ्घ-संस्थाहरूमा अङ्ग्रेजी भाषा व्यापक रूपमा चलाइन्छ। त्यसैले हाम्रा प्रकाशनहरू पनि सुरुमा अङ्ग्रेजी भाषामा लेखिन्छ र पछि अरू भाषामा अनुवाद गरिन्छ।
१६, १७. (क) यहोवाका सेवकहरूलाई कुन कुराको खाँचो छ जस्तो लाग्यो? (ख) उनीहरूको यो खाँचो कसरी पूरा भयो? (ग) अङ्ग्रेजी भाषाको नयाँ संसार अनुवाद-को पहिलो खण्ड विमोचन गर्दा भाइ नोरले के भन्नुभयो?
१६ हाम्रा सबै पत्रपत्रिका तथा किताबहरू बाइबलमा आधारित छन्। बीसौं शताब्दीको बीचतिर धेरैजसोले १६११ मा प्रकाशित भएको किङ जेम्स भर्सन भन्ने अङ्ग्रेजी बाइबल प्रयोग गर्थे। तर त्यसमा प्रयोग गरिएको भाषा एकदमै पुरानो भइसकेको थियो। बाइबलका पुराना लिपीहरूमा हजारौं पटक यहोवा भन्ने नाम उल्लेख गरिएको भए तापनि यो बाइबलमा चाहिं केही ठाउँमा मात्र उल्लेख गरिएको थियो। यसको कुनै-कुनै अनुवाद गलत पनि थियो। अनि पुराना लिपीमा नभएका केही कुराहरू यसमा थपथाप गरिएका थिए। अरू बाइबल अनुवादहरूमा पनि यस्तै त्रुटिहरू थिए।
१७ त्यसैले अब चलनचल्तीको भाषामा बाइबलको नयाँ अनि सही अनुवाद चाहियो। यसको लागि हाम्रो सङ्गठनले नयाँ संसार बाइबल अनुवाद समिति गठन गऱ्यो। यो समितिले १९५० देखि १९६० भित्र बाइबल अनुवादको छ वटा खण्ड निकाल्यो। सन् १९५० अगस्त २ मा पहिलो खण्डको विमोचन गर्दा भाइ नेथन एच. नोरले उपस्थित श्रोताहरूलाई यसो भन्नुभएको थियो: “अहिले हामीलाई चलनचल्तीको भाषा प्रयोग गरिएको अनुवाद चाहिएको छ। त्यो अनुवाद सही र बुझ्न सजिलो हुनुपर्छ। अनि मानिसहरूले बाइबलको सत्य अझ राम्ररी बुझोस् भनेर मौलिक बाइबलको भाव जस्ताको तस्तै उतारिएको पनि हुनुपर्छ। येशूका चेलाहरूले लेखेको कुरा त्यतिबेलाका सर्वसाधारणले सजिलै बुझेजस्तै आधुनिक समयका पाठकहरूले पनि त्यो अनुवाद सजिलै बुझ्न सक्ने हुनुपर्छ।” यस्ता कुराहरू मनमा राखेर अनुवाद गरिएको नयाँ संसार अनुवाद-ले लाखौं मानिसलाई यहोवासित नजिक हुन मदत गरोस् भनेर भाइ नोरले आफ्नो इच्छा व्यक्त गर्नुभयो।
१८. बाइबल अनुवादको काम कसरी अघि बढ्यो?
१८ नभन्दै भाइ नोरको इच्छा पूरा भयो। सन् १९६३ मा बाइबलको मत्तीदेखि प्रकाशसम्मको नयाँ संसार अनुवाद डच, फ्रान्सेली, जर्मन, इटालियन, पोर्चुगिज र स्पेनिशगरि जम्मा छ वटा भाषामा अनुवाद गरियो। अनि बाइबल अनुवादकहरूलाई मदत गर्न सन् १९८९ मा यहोवाका साक्षीहरूको परिचालक निकायले मुख्यालयमा एउटा विभाग नै खडा गऱ्यो। त्यसपछि सन् २००५ मा प्रहरीधरहरा पत्रिका अनुवाद गर्ने सबै भाषा समूहलाई बाइबल अनुवादको कामलाई प्राथमिकता दिन प्रोत्साहन दिइयो। त्यसैले अहिले नयाँ संसार अनुवाद पूरा वा आंशिक गरी १३० भन्दा धेरै भाषामा उपलब्ध छ।
१९. सन् २०१३ किन अविस्मरणीय रह्यो? अर्को लेखमा हामी के छलफल गर्नेछौं?
१९ अङ्ग्रेजी नयाँ संसार अनुवाद-को पहिलो संस्करण विमोचन भएदेखि यता अङ्ग्रेजी भाषामा थुप्रै परिवर्तन भइसक्यो। त्यसैले एकपटक फेरि चलनचल्तीको भाषामा लेखिएको नयाँ संस्करणको आवश्यकता पऱ्यो। सन् २०१३, अक्टोबर ५ र ६ मा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ पेन्सिलभेनियाले १२९ औं वार्षिक सभा आयोजना गऱ्यो। त्यस सभामा ३१ देशका १४ लाख १३ हजार ६ सय ७६ जना दाजुभाइ-दिदीबहिनी प्रत्यक्ष वा इन्टरनेटद्वारा कार्यक्रम सुन्न भेला भएका थिए। उक्त वार्षिक सभामा परिचालक निकायका एक सदस्यले अङ्ग्रेजी भाषाको नयाँ संसार अनुवाद-को नयाँ संस्करण विमोचन गर्दा सबै जना खुसीले गद्गद भए। परिचारकहरूले नयाँ बाइबल बाँड्दा धेरै जनाको आँखा रसाएको थियो। वक्ताले नयाँ संस्करणबाट बाइबल पदहरू पढ्दा श्रोताहरूलाई त्यसमा लेखिएका कुराहरू पढ्न र बुझ्न असाध्यै सजिलो लाग्यो। अङ्ग्रेजी भाषाको यो नयाँ संस्करणबारे यसपछिको लेखमा छलफल गर्नेछौं। साथै, यसबाट कसरी अरू भाषामा अनुवाद गरिंदै छ, त्यो पनि चर्चा गर्नेछौं।
a एज्रा ४:८–६:१८, ७:१२-२६; यर्मिया १०:११ अनि दानियल २:४ख–७:२८ सुरुमा अरामी भाषामा लेखिएको थियो।
b सेप्टुआजिन्ट-को अर्थ “सत्तरी” हो। इजिप्टमा सुरु गरिएको यो अनुवादको काम ईसापूर्व ३०० देखि सुरु भएर ईसापूर्व १५० मा सकिएको अनुमान गरिन्छ। अस्पष्ट हिब्रू शब्द र विभिन्न पदहरूको अर्थ बुझ्न विज्ञहरूले अहिले पनि सेप्टुआजिन्ट प्रयोग गर्ने भएकोले यो अनुवादको महत्त्व अझै पनि घटेको छैन।
c मत्तीले लेखेको सुसमाचारको पुस्तक सुरुमा हिब्रू भाषामा लेखिएको थियो तर पछि सायद तिनी आफैले ग्रीक भाषामा अनुवाद गरेका थिए भन्ने धारणा केही मानिसहरूमा पाइन्छ।
d सन् २०१३ मा विमोचन भएको अङ्ग्रेजी भाषाको नयाँ संसार अनुवाद-को अतिरिक्त लेख क३ (Appendix A3) हेर्नुहोस्; साथै सबैका लागि उपयोगी किताब भन्ने पुस्तिकाको पृष्ठ ७-९ मा भएको “यो किताब कसरी अहिलेसम्म अस्तित्वमा रह्यो?” भन्ने लेख पनि हेर्नुहोस्।